चौथो अंग : नेपालका अधिकांश रिपोर्टरमा समूहमा काम गर्ने बानी नै छैन,मेरो भाग खोसिन्छ भन्ने गलत सोचाई हावी छ

चौथो अंग : नेपालका अधिकांश रिपोर्टरमा समूहमा काम गर्ने बानी नै छैन,मेरो भाग खोसिन्छ भन्ने गलत सोचाई हावी छ

एक वर्षअघि बेलायतमा मौसमी कामदार पठाउन कसरी अवैध शुल्क असुलिन्छ भन्नेबारे तीन जना मिलेर रिपोर्टिङ गरियो। भिसा र प्लेनको खर्च मात्र लिन पाउनेमा एक जना कामदारसँग ५ देखि ७ लाखसम्म अवैध शुल्क बुझाइरहेको तथ्य फेला पर्यो।

कृषि फार्ममा काम गर्न भनेर गएका नेपालीबाट अवैध शुल्क लिएको आरोपमा बेलायत सरकारले त्यहाँको कामदार आपूर्ति गर्ने संस्थामाथि छानबिन थालेको  थियो। त्यहाँको हेरफोर्डशरस्थित कोब्रे फार्ममा काम गर्न लगभग १ सय ५० जना नेपाली कामदारले यस्तै अवैध शुल्क तिरेको हुनसक्ने देखियो।

यहाँको कामदारको मैले र त्यहाँको अवस्थाबारे एमिलियानो मेलिनो र पिट प्याटिसन मिलेर रिपोर्टिङ गरेका थियौँ। बेलायतको ब्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिज्म र द गार्डियन पत्रिकाको संयुक्त खोज थियो यो रिपोर्ट।

ब्युरो अफ इन्भेष्टिगेटिभ यहाँको खोज पत्रकारिता केन्द्र भनेको जस्तै संस्था हो। बाहिरको मिडिया-मिडियाबीच अनि पत्रकारहरुबीच संयुक्त काम भइरहेको हुन्छ। यहाँ यसरी संयुक्त रिपोर्टिङको वातावरण छैन। यता त ‘मेरो भाग नै खोस्न आयो’ झैँ व्यवहार हुन्छ। उता यस्तो नहुने रहेछ।

एउटै रिपोर्टमा धेरैले काम गर्दा जर्नल पढ्ने, फिल्ड रिपोर्टिङ गर्ने, स्रोत भेट्नेदेखि अन्तर्वार्ता लिनेसम्मका कामहरू, आफूले गर्न लागेका विषयहरूको पुराना समाचारहरू पढ्ने, तथ्याङ्कमा काम गर्ने अनि तथ्य जाँच गर्ने जस्ता रिर्पोटिङमा अनिवार्य लाग्ने कामहरू सहजै गर्न सकिन्छ।

हाम्रोमा समस्या के भयो भने, जति ठूलो रिपोर्टिङ भए पनि एक्लैले गर्नुपर्ने बाध्यता। समन्वय गराउने बिचको स्टोरीको मेन्टर भनौँ या सम्पादकले हो।

नेपालमा पनि केही सम्पादकले पुलको काम गरेर समन्वयमा स्टोरी गराइरहेका त छन्। तर यो पर्याप्त हुन सकेको छैन।

मेन्टरसिपको ग्याप

सन् २००९  देखि हो मैले पत्रकारिता सुरु गरेको। दि हिमालयन टाइम्सबाट पत्रकारिता गरेको मैले त्यहाँ त्रिविका पूर्व उपकुलपति तीर्थ खनियाँको बौद्धिक चोरीबारे समाचार लेखेको थिएँ। उनको बौद्धिक चोरीको सुइँको पाएपछि खोजी गर्दा अनलाइनमा उपलब्ध हुनसक्ने स्थानमा डिलिट गरिएको रहेछ। प्रिन्ट जर्नल नै खोजी गरियो। त्यसमा बकाइदा अर्कैको लेख उनले आफ्नो नाममा छपाएको पाइयो। यसबाट मैले बुझेँ, ‘खोजे भेटिने रहेछ’।

पत्रकारिता भनेको खोज्नु हो। जति खोज्यो उत्ति गहिराइमा पुगिन्छ। छिद्रछिद्र केलाउन सक्ने हुनुपर्छ पत्रकार। त्यसपछि विभिन्न मिडियामा काम गरे पनि मेरो चासो खोज पत्रकारिता कसरी गर्ने भन्नेमै भयो।

खोज पत्रकारिता गर्ने हुटहुटीले मलाई खोज पत्रकारिता केन्द्र पुर्यायो।  त्यसपछि मेन्टर के हो, कसरी समन्वय गर्ने रैछन् भन्ने कुरा पनि बुझेँ। नेपालका केही सम्पादक अथवा सिनियर पत्रकारहरूको मेन्टरसिप अति नै राम्रो छ। उनीहरू रिपोर्टर सँगसँगै रिर्पोटिङमा त नजालान् तर क्रिटिकल इश्युहरुमा काम गरिरहेका रिपोर्टरलाई के गर्ने, के नगर्ने, कसरी सूचना तान्ने, कहाँ-कहाँ यो सम्भावित ठाउँ हुनसक्छ, कसरी प्रस्तुति गर्ने, भेरिफाई कसरी गर्ने भन्नेसम्मको काम सिकाउँछन्। यसमा रिपोर्टरलाई उत्साहित बनाउँछ।

तर केही नेतृत्वकर्तामा भने जे ल्याउँछन् त्यही छाप्ने, खोज पत्रकारिता भन्दा पनि अपडेटमै अल्झाउने, तथ्याङ्कमा जोड नगर्नेहरू पनि छन्। त्यसैले रिपोर्टरले आफू कस्तो काम गर्न चाहेको हो भन्ने सोचेर कस्तो सम्पादक रोज्ने भन्ने बेलैमा सोच्नु राम्रो हुन्छ।

नेपाली  ठुला मिडियामा स्टोरी मेन्टरसिपको ग्याप देखिन्छ। सम्पादक र रिपोर्टरबीचको पुल डेस्क इडिटर भएता पनि स्टोरीमा कमै छलफल हुने र एङगलिङमा एकदमै कम काम भएको देखिन्छ।

मेरो अनुभवमा रिपोर्टर र मेन्टरको भेटै नभई स्टोरी छापिनु हुँदैन। रिपोर्टरले स्टोरी पठाउँछन्, कपी इडीटर अथवा डेस्कले स्टोरी हेर्छन् अनि छाप्छन्। यो राम्रो तरीका होइन।

कुनै विषयमा रिपोर्टिङको असाइन भएको छ भने स्टोरीलाई गाइड दिने व्यक्ति पनि खटाइनुपर्छ, जसले रिपोर्टरलाई अप्ठ्यारो पर्दा सहयोग हुन सक्छ। समाचारबारे जति छलफल भयो उत्ति सम्भावित स्रोतबारे खुल्न सक्छ। समाचार बलियो बन्न सक्छ।

काम गर्ने संस्कारको विकास गरौँ

पत्रकारिता भनेको दैनिक अपडेट गर्नु त हुँदै हो त्यतिमै रिपोर्टरलाई सीमित राख्नु चाहिँ होइन। केही वर्षपछि फर्केर हेर्दा मैले के चाहिँ काम गरेँ त भनेर सम्झिँदा सम्झनयोग्य काम  गर्नुपर्छ, चाहे त्यो मिडिया हाउसको लगानीमा होस् या फेलोसिपमा होस्। कुनै यस्ता समाचार हुन्छन् जसले नयाँ तथ्य उजागर हुन सक्छ।

ठेक्कामा म्याच फिक्सीगं भनेर २०७४ सालमा खोज पत्रकारिता केन्द्रको लागि रिपोर्टिङ गरेको थिएँ। त्यो रिपोर्टमा नेपालमा ६ जना ठेकेदारले सिङ्गो निर्माण प्रशासन र राजनीतिक क्षेत्रलाई मिलाएर राखेको, अनि ठुला ठुला ठेकेदारबीच कसरी मिलेमतो हुन्छ भन्ने समाचारको विषय थियो।

त्यो सरकारी रिपोर्टले नै खुलासा गरेको तर त्यो रिपोर्ट बाहिर आएको थिएन। सार्वजनिक खरिद ऐन परिवर्तनको लागि अर्थ समितिमा छलफलमा पुगेको र ठेकेदारहरूले ऐन आफू अनुकूल परिवर्तन गराउन कसरी सफल भए भन्ने तथ्य पनि लेखिएको थियो।

यो समाचारले सार्वजनिक खरिदमा भएको चरम अनियमितता उजागर त गर्यो नै, सांसदले नै विदेश भ्रमणको लोभमा राष्ट्रलाई घाटा हुने काम गरिरहेको तथ्य सार्वजनिक भयो।

यस्ता स्टोरी गर्दा रिपोर्टरको पछाडि केही सहयोगी त हुनै पर्छ। त्यसमाथि अन्य रिपोर्टर साथी भए भने पनि राम्रो। म चाहिँ ग्रुपमा काम गर्न रुचाउँछु। ग्रुपमा काम गर्दा साथीले भ्याएन भने पनि त्यो काम आफैँ गर्छु। जसले आफूलाई धेरै कुरा थाहा हुन्छ।

नेपालका अधिकांश रिपोर्टरमा समूहमा काम गर्ने बानी छैन। स्टोरी त एक्लै गर्ने हो, नत्र त मेरो भाग खोसिन्छ भन्ने गलत सोचाई हामी छ। समूहमा काम गर्ने, अझ सकिन्छ भने मिडिया हाउसहरुबीचमै समन्वय गरेर रिपोर्टिङ गर्न सक्ने हो भने झनै राम्रो हुन्छ भन्ने अनुभवै भएन।

मेन्टरले रिपोर्टरलाई देखि नसहने, अनि रिपोर्टरले मेन्टरलाई देखि नसहने प्रकारको वातावरण पनि हुनु भएन। दुई जनाबीच व्यापक छलफल हुनुपर्यो। रिपोर्टरले पनि आफूले गर्न लागेको रिपोर्टमा घण्टौँ बसेर छलफल गर्ने, नबुझेको कुरा भन्ने अनि मेन्टरले सुनेर आफूले जानेको भन्ने गर्दा स्टोरी गतिलो हुन्छ।

सम्पादक वा जसले स्टोरीमा समन्वय गरिरहेको हुन्छ उसले ‘तिम्रो स्टोरीमा यो पुगेन’ भन्न झिँजो मान्न भएन। अनि रिपोर्टरले पनि मेन्टरले दिएको सुझाव गम्भीर रूपमा लिने बानी बसाल्नु राम्रो हुन्छ। दुवैको उद्देश्य स्टोरी बलियो बनाउने त हो। यसमा सहकार्य अनिवार्य हुन्छ।

मेरो अनुभवमा हामी काम चैं कम गर्ने तर गफ बढी गर्ने भइरहेका छौँ। हुनुपर्ने चैँ काम बढी गर्ने अनि गफ कम गर्ने हो।  

बिट पत्रकारिताको विकास भएसँगै रिपोर्टहरू झन् राम्रो आउनु पर्ने हो। तर नेपालमा आइरहेकै छैनन्। समाचारमा निखरता आउन बिट पत्रकारिताको विकास भएको हो। समाचार नआउन वा स्वार्थ अनुसारको मात्र समाचार लेख्न हैन।

एक्सपर्टको अभाव

२०७३ सालमा सेना सम्बन्धी रिपोर्टिङ गरिरहेको थिएँ। नेपाली सेना पूर्वाधार विकास र नाफामूलक व्यवसायमा अस्वाभाविक रूपमा आकर्षित हुँदै गएको तर संविधानले भने ऐन र राष्ट्रिय सुरक्षाको मात्रै काम गर्ने परिकल्पना गरेको रिपोर्टिङको विषय थियो। सेनालाई विश्लेषण गरेर बोल्ने मान्छे पूर्व सेना मात्र भएर भएन। मिहिन ढंगले बोल्ने मान्छे चाहियो।

नेपालमा हत्तपत्त सेनाबारे टिप्पणी हुँदैन। प्राध्यापक तथा डाक्टर ध्रुवकुमारले यसबारे बोल्नुहुन्छ भन्ने थाहा पाएँ। उहाँलाई इमेल गरेँ तर बोल्दिन भन्नुभयो। फेरि उहाँकै घर गएँ। उहाँले फ्याट्ट ‘नेपाली सेना पाकिस्तानी मोडलमा गएको छ’ भन्नुभयो।

वास्तवमा नेपाली सेनाले जसरी लगानी गरिरहेको छ यो संविधान सम्मत थिएन, छैन। यसरी सत्तासँग निरपेक्ष भएर टिप्पणी गर्ने एक्सपर्टहरू नै भेटिँदैनन् नेपालमा। यस्ता एकाध मात्रै छन्।

सत्तालाई निरपेक्ष भएर हेर्ने अर्थात् आलोचनात्मक तरीकाले हेर्ने विश्लेषकहरू भेट्नै गाह्रो भइसक्यो। अर्थतन्त्रबारे बोल्ने अर्थशास्त्री, राजनीतिशाष्त्री, परराष्ट्रविज्ञ, घण्टौँ प्रधानमन्त्री कार्यालयमा बसेर आउने तर बाहिर आएर सरकारको पक्ष लाग्ने धेरै नै भेटिन्छन्।

अर्थतन्त्रलाई राम्रोसँग केलाउने अर्थविद्, राजनीतिलाई आलोचनात्मक केलाउन सक्ने राजनीतिशाष्त्री त्यस्तै अन्य विज्ञहरू विश्वविद्यालयले उत्पादन गर्नुपर्ने हो तर सकिरहेका छैनन्।

सैद्धान्तिक धेरै, अभ्यास कम गराउँछन् हाम्रा विश्वविद्यालय। अर्थशास्त्र पढेकाले अर्थतन्त्र विश्लेषण गर्न नसक्ने, राजनीति पढेकाले राजनीतिको विश्लेषण गर्न नसक्ने भएका छन्। कम्तीमा एउटा विषयमा त पोख्त बनाउनु पर्छ आफ्ना विद्यार्थीलाई ! त्यसमा विश्वविद्यालयको ध्यान गएको देखिँदैन। आरोप प्रत्यारोप गर्यो, बस्यो। यो तरीकाले एक्सपर्टहरू जन्मिँदैनन्।

जुन देशमा एक्सपर्टहरू जन्मिँदैनन् त्यो देशको विश्वविद्यालयको असफलता हो। विश्वविद्यालयहरुले यो विषयमा यति एक्सपर्ट निकाल्छु भन्ने हिसाबले पढाउनु पर्यो न की कोर्स सक्न।

ठ्याक्कै पत्रकारिताको पढाइको कुरा गरौँ, पत्रकारितामा स्नातकोत्तर गर्दै गरेको विद्यार्थीले सूचनाको हक कसरी प्रयोग गर्ने भन्ने पनि जान्दैनन्। यो सिकाउनु पर्दैन? नमुनाको रूपमा सूचनाको हक प्रयोग गर्न लगाएर सूचना माग्न लगाउनु पर्छ की पर्दैन विश्वविद्यालयले?

एउटा उदाहरण दिन्छु, खरिद सम्बन्धी रिपोर्टिङ गर्दा सूचना मागेको थिएँ। त्यो निकायले पहिलो प्रक्रिया अनुसार पत्रिकामा सूचना नै ननिकालेर दोस्रो प्रक्रियामा प्रवेश गरेको थाहा भयो।

सूचना माग्दा पनि टेक्निक लगाउनु पर्छ। सबै एकै पटक माग्नु हुँदैन । एकै पटक माग्दा हाम्रो इन्टेन्सन उनीहरूले थाहा पाउँछन् र नदिन सक्छन्। त्यसकारण स्टेप अनेक चाल्नुपर्ने हुन्छ। यो कुरा रिपोर्टरले कहाँ सिक्ने? विश्वविद्यालयमा होइन?

पत्रकारिताको पढाइ त थ्यौरी २० प्रतिशत प्राक्टीकल ८० प्रतिशत गरे हुन्छ। अहिले जसरी पढाइ भइरहेको छ यो ठिक भइरहेको छैन। विश्वविद्यालयले घोकन्ते शिक्षा होइन आलोचनात्मक चेत भएको जनशक्ति बनाउन सक्नु पर्यो।

जति राजनीतिक हस्तक्षेप भनेर उम्कन खोजे पनि कक्षा कोठामा यो पढाऊ अनि नपढाऊ भनेर राज्यले भनेको छैन भने काम किन हुँदैन? अरूलाई  दोष लगाएर मात्रै हुँदैन।

पत्रकार आफैँमा एक्सपर्ट होइनन्। उनीहरूले अरूलाई सोधेर,बुझेर, खोजेर लेख्ने हुन्। सोध्दै जाँदा, खोज्दै जाँदा, कालान्तरमा उनीहरू विषय विज्ञ हुन सक्छन् तर पत्रकारको काम भनेको अनेक थरी अवधारणालाई पर्गेल्ने नै हो।

हाम्रा विज्ञलाई केही सोध्यो भने एक सर्टमै सरसर्ती भनिदिन्छन्। जब की केही समय लिनुपर्ने हो त्यो भएको देखिँदैन। एक्सपर्ट नभएर धेरै काम हुन सकेको छैन।

(दि हिमालयन टाइम्सरिपब्लिकिकाखोज पत्रकारिता केन्द्रमा काम गरेका पंगेनी अहिले फ्रिलान्सर हुन् उनसँग नेपाली पत्रकारितामा मेन्टरसिपको भूमिका’ विषयमा केन्द्रित भएर उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला 

११ बैशाख, २०८१, १७:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।