प्रुफ रिडरसँग बहस गर्न सक्ने सम्पादक छैनन्, अनि कसरी सुध्रन्छ भाषा ?

प्रुफ रिडरसँग बहस गर्न सक्ने सम्पादक छैनन्, अनि कसरी सुध्रन्छ भाषा ?

नेपाली पत्रकारितामा भाषाको कुरा गर्नुभन्दा पहिले दुई ठुला दैनिक पत्रिकाको हालसालैको सम्पादकीय हेरौँ।

फागुन ९ गतेको सम्पादकीयमा पहिलो वाक्य छ, ‘किसानको सम्मान र कृषि कर्मलाई प्रतिष्ठित नबनाएसम्म नेपाल साँचो अर्थमा कृषिप्रधान देश हुन सक्दैन।’

किसानको सम्मान र कृषि कर्मलाई प्रतिष्ठित नबनाएसम्म रे! कृषि कर्मलाई प्रतिष्ठित बनाउनु त ठिकै हो। सम्मानलाई पनि प्रतिष्ठित बनाउने ? सम्मान त आफैमा प्रतिष्ठित हो नि हैन र ?

यहाँ लेख्नेलाई सम्पादकीयमा के बिग्रियो भन्ने पनि बोध छैन। यो भनेको भाषाप्रतिको बेवास्ता हो। नेपाली सम्पादकीयमा भाषा सँगसँगै व्याकरण र हिज्जेप्रतिको बेवास्ता पनि उस्तै छ। यो गम्भीर लापरबाही हो। वाक्य गठन नै हास्यास्पद भएपछि शब्दहरू राम्रो राखेर के गर्नु।  

त्यही सम्पादकीयको तलतिरको वाक्य छ, ‘सरकारले कुनै पनि कृषि लायक जग्गा बाँझो राख्न नपाउने नीति बनाएर कृषिलाई राष्ट्रिय प्राथमिकता दिएको छ।’

यसको अर्थ अनुसार कृषि गर्न लायक जग्गा बाँझो राख्न नपाउने नीति बन्ने बित्तिकै राष्ट्रिय प्राथमिकतामा कृषि पुग्यो भन्ने अर्थ लाग्यो। लेख्ने नै के आशय प्रकट गर्न खोजेको हो, प्रस्ट छैन।

अर्को एकदमै चर्चित पत्रिकाको सम्पादकीय हेरौँ, ‘खानेपानी पिउनकै लागि पानी अभाव हुने स्थानमा थोरै पशुपालन गर्न पनि कठिन पर्छ।’

यो भन्न खोजेको के हो ?

पिउनको लागि कठिन छ भने त थोरै मात्र हैन, कत्ति पनि पशुपालन गर्न सकिन्न नि, हैन ? यो वाक्य त साइकल नै किन्न नसक्ने मान्छेलाई मोटरसाइकल चढ्न गाह्रो हुने रहेछ भनेजस्तै हो।

नेपाली पत्रकारितामा अहिले यस्ता वाक्य यत्रतत्र पाइन्छन्।

अर्को वाक्य हेरौँ। त्यही सम्पादकीयमा लेखिएको छ, ‘वर्षा याममा घैँटोमा पानी सकिएपछि उनीहरूको जीवन कष्टकर बनिरहेको छ।’

यो छापिएको छ फागुन ९ गते।

वर्षा याममा भनेको असार–साउन हो। यो वाक्यले त एक घैँटो पानीले आजसम्म पनि पुग्छ भन्ने अर्थ दिन्छ। यत्रो महिना एक घैँटो पानीले पुग्छ त?

यसले देखाउँछ– लेख्नेलाई के लेखिरहेको छु मतलबै छैन। पढ्नेलाई पनि के पढिरहेको छु वास्तै छैन।

अरूसम्म त ठिकै थियो, व्याकरण नै नआउनेहरूले सम्पादकीय लेखिरहेका छन्। त्यही सरकारी दैनिक पत्रिकाको उदाहरण लिउ, ‘आधुनिक कृषि प्रणाली विस्तारका लागि स्वदेशी तथा विदेशी संस्थाको सहयोग निरन्तर हुँदै आएका छन्।’

यो बहुवचनमा कसरी गयो ? विदेशतिरका पत्रकारले यो हदसम्मको गल्ती गर्लान् ? त्यसमाथि पत्रकारले यस्तो व्याकरण नै नमिलेको सम्पादकीय लेख्ला ? यस्तो सम्पादकीय डेस्कबाट पास होला ? रोएर पनि चित्त नबुझ्ने यति दयनीय अवस्थामा पुगेको छ हाम्रो पत्रकारिताको भाषा।  

साँच्चै भन्ने हो भने नाम चलेका २० जना पत्रकारमा एक जनाले पनि राम्रो लेख्छन् भन्नेमा शङ्का छ मलाई। पत्रकारहरूले के लेखिरहेको छु भन्ने पनि नबुझ्ने, लेखिसकेपछि नपढ्ने वा आफैँले लेखेको पढेर पनि नबुझ्नेको संख्या धेरै छ।

नेपाली भाषाको बहस

पत्रकारिताको भाषा कस्तो छ भन्नेतिर जानुभन्दा पहिले नेपालमा भाषाबारे भएको बहसहरूबारे छोटकरीमा कुरा गरौँ। किनभने जसरी सरकारी निकायले लेख्ने भन्छ, सोही अनुसार लेख्नु पत्रकारको काम हो।
भाषा यो अनुसार लेख्ने नभनीकन लेख्न थाल्ने हो। बोलिँदै गइन्छ। सोही अनुसार लेखिँदै गइन्छ।

घर व्यवहारका कुराहरू, साहित्य, वाङ्मय, दर्शनहरू, राज्यका नियमहरू लेखिँदै जान्छन्। यी सबै विषयहरूमा आफ्नै किसिमले लेखिँदै आएको थियो। भाषालाई थोरै भए पनि  परिष्कृत र सरल बनाउने कार्य १९९१ सालदेखि भयो। मृगेन्द्र शमशेर, बालकृष्ण शमशेरले ५ पेजको पुस्तिका नै बनाए।

ठूलो व्याकरण पनि हैन, ह्रस्व–दीर्घ कस्तो हुने भन्नेमा केन्द्रित थियो त्यो। १९९२ देखि यही पुस्तिका अनुसार ह्रस्व–दीर्घ जाँच गरिनेछ भन्ने उल्लेख थियो। राणा शासन भएकाले उर्दी नै जारी गरिएको थियो त्यो बेला।

२०१३ सालमा झर्राेवादी आन्दोलन भयो। यो आन्दोलनको मुख्य आशय नेपाली भाषालाई अरू भाषाबाट मुक्त राख्ने भन्ने थियो। अन्य भाषाको शैली र वाक्य गठनबाट पनि मुक्त बनाउने र नेपाली शब्द पाएसम्म अरू नराख्ने भन्ने थियो।

झर्राेवादी आन्दोलनको नेतृत्व बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कोषराज रेग्मी लगायतले गर्नुभयो। बालकृष्ण पोखरेलको नेतृत्वमा २०४० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले शब्दकोश निकाल्यो।

पोखरेल त्यसको मुख्य व्यक्ति हुनुहुन्थ्यो। उहाँ भाषा शास्त्रीहरूका पनि गुरु हुनुहुन्थ्यो। झर्राेवादी आन्दोलनका कारण विकृतिहरू थपिँदै गए, भाषामा विकृति भयो। पछि बालकृष्ण पोखरेलले पनि गर्न नहुने काम गरिएछ भन्नुभएको थियो।

झर्राेवादी आन्दोलनले संस्कृतबाट आएको शब्दहरूको हकमा सुरुमा र बीचमा ह्रस्व बनाउने, ‘श’ छ भने ‘स’ बनाउने, ‘व’ छ भने ‘ब’ बनाउने भन्ने आयो। सुझ न बुझको हुइँया चल्यो।

शब्दको आफ्नै किसिमको व्यक्तित्व, अर्थ र व्युत्पत्ति हुन्छ। त्यसरी बनेका शब्दहरूलाई आफू अनुकूल बनाउनु भनेको शब्दको अर्थ र व्यक्तित्व मार्नु हो। आगन्तुक शब्दलाई नाक–कान काटेर खुट्टा काटेर बनाउँदा अर्थ न बर्थको हुने भयो।

नेपालमा धेरै भाषा बोलिन्छन्। ती भाषाहरू नेपालीमा आउनु भनेको नेपाली भाषा समृद्ध हुनु हो। जति धेरै शब्द आयो, भाषा उति धेरै समृद्ध हुने हो।

उदाहरणको लागि : पहिले ‘कानून’, ‘शहीद’, ‘शहर’, ‘खुशी’ लेखिन्थ्यो। तर, पछि ‘कानुन’, ‘सहिद’, ‘सहर’ र ‘खुसी’ लेख्न थालियो। हिज्जे नै बिग्रियो। यति धेरै पनि बिग्रिएको थिएन। शब्दकोशमा दुवै ‘श’ र ‘स’ प्रयोग भएका शब्दहरू राखिएको हुनाले ठिकै थियो।

शब्दकोशको एउटा शैली हुन्छ। मूल शब्द हुन्छ। त्यसको अर्थ लेखेको हुन्छ र त्यसपछि अपभ्रंश भएर बनेको शब्द पनि राखिन्छ। झर्रोवादी आन्दोलनले पुराना शब्दलाई दोस्रो प्राथमिकतामा राखेर अपभ्रंश भएका शब्दहरूलाई दोस्रो तहमा राखेको थियो।

२०५८ सालतिर शब्दकोशको नयाँ संस्करण आयो। यसमा ठुलो अपराध भयो। बालकृष्ण पोखरेलले २०४० सालमा भाषा परिमार्जन गरेर पाप गरे भन्नुभएको थियो। तर, २०५८ सालमा अपराध नै भयो। यसअघि ‘शहर’ जस्ता शब्दहरूलाई दोस्रो दर्जामा राखेर पातलो ‘स’लाई पहिलो दर्जामा राखिएको थियो। अब जुन शब्दहरूलाई दोस्रो दर्जामा राखिएको थियो, ती शब्दहरू नै हटाइयो।

यो काम किन पनि अपराध हो भने शब्दकोशमा परम्परादेखि चलिआएको शब्दहरू कतै पनि हटाउने चलनै छैन। तर, यहाँ हटाइयो। जबरजस्ती घाँटी नक्याँकेर अशुद्ध लेख्नुपर्ने बनाइयो।

एक जना मित्रले अरुले नमाने पनि जोड गरेर हटाउन लगाउनुभयो रे। ठुलो विडम्बना ! अन्तर्राष्ट्रिय सञ्जाल बनाएर भाषाको उद्धार गर्ने म हुँ भनेर हिँड्नुभएको छ अहिले।

मूल शब्द नै नराखेपछि बबन्डर सुरु भयो। पहिलाको कृतिहरूको हिज्जे बिग्रियो। कविताको छन्द पनि नमिल्ने भयो। ठुलो गडबडी भयो। पछि बनाइएको शब्दलाई दोस्रो तहमा राखेको भए र पहिलोलाई नचलाएको भए केही बिग्रने थिएन।

संसारमा कहीँ पनि पहिलेदेखि मान्यता पाएको शुद्ध शब्दलाई चलाइन्न। महत्त्वहीन बनाएर बिग्रेको अपभ्रंशलाई मूल बनाउने काम कसैले पनि गर्दैनथ्यो। एउटाले गर्न नहुने काम गरेपछि जो आउँछ, उसले पनि मन लागेको गर्ने भयो। यसरी हाम्रो भाषामाथि आक्रमण सुरु भयो।

२०६९ सालमा फेरि अर्को बबन्डर मच्चाइयो। ‘विद्या’ लेख्नुकाे पर्यो भने ‘विद्+या’ लेख्नुपर्ने। अर्थात् संयुक्त अक्षरलाई संयुक्त रूपमा नलेख्ने रे ! धन्न त्यति बेला आन्दोलन भयो र यो भाषामाथिको अपराध हुनबाट रोकियो। यदि आन्दोलन नभएको भए ८/१० वर्षभित्रमा देवनागरीमा लेख्नै बन्द हुन्थ्यो।

नेपाली भाषा हरेक पटक आक्रमणमा पर्नुमा भाषाको जिम्मा लिएर बसेकाहरूको आडम्बर र अंहकारका कारण हो जस्तो लागेको थियो। तर, एउटा कार्यक्रममा उहाँहरूबीच बाँझाबाँझ हुँदा ‘यो प्रोजेक्टको नाममा र त्यो प्रोजेक्टको नाममा’ काम गरेको हैन भनेको सुनेपछि भने झसङ्ग भएँ।

त्यति बेला मैले सुनेँ, खम्पा विद्रोहलाई जुन आइएनजिओले सहयोग गरेको थियो, नेपाली भाषालाई बिगार्न पनि सोही आइएनजिओले फण्डिङ गरेको थियो रे। त्यतातिर धेरै नजाऊँ।

त्यसको प्रभाव पत्रकारितामा पनि पर्ने नै भयो। २०६० सालदेखि मूल शुद्ध शब्द नै हटाएपछि अशुद्ध नै लेख्नु पर्ने भयो। पत्रकारितामा भाँडभैलो भयो। अहिलेको नेपाली शब्द कोष चूडामणि गौतमले हेर्नुभएको आठ सयभन्दा बढी गल्तीहरू नोट गर्नुभएको छ रे। यसले देखाउँछ अहिलेको एकेडेमीको शब्दकोश छलछामको दस्ताबेज मात्र भएको छ।

२०४६ सालभन्दा अघि निजी पत्रिका एकदमै कम थिए। सरकारी पत्रिका गोरखापत्र थियो। गोरखापत्रको भाषा प्रमाणिक मानिन्थ्यो त्यो बेला। त्यति खेर व्यक्तिहरू शुद्धतामा बडो ध्यान दिन्थे।

२०४६ पछि मिडियामा निजी क्षेत्र आयो। ठुलो लगानीमा मिडिया हाउस खुल्न थाले। २०४१ देखि भाषाको तालिम दिन थालिएको हो नेपालमा। सुरुमा मैले नै भाषाको तालिम दिएको थिएँ। व्यवस्थित र मिहिनेत गरेर लेख्नेहरू पनि आएँ। पत्रकारितामा अपडेट भइरहनुपर्ने, लेखेको लेख्यै गर्नुपर्ने भएकाले नयाँ–नयाँ शब्दहरू पनि मूलधारको पत्रकारितामा सम्प्रेषणीय बन्दै गयो।

पहिलेका अखबारी लेखनमा संस्कृतका धेरै शब्द प्रयोग हुन्थ्यो। पढ्न अलि गाह्रो हुन्थ्यो। अहिले जनबोलीका शब्दहरू लेख्न थालिएको छ। वाक्य गठन, स्पष्ट लेख्ने, छोटो लेख्ने चलन बढ्दै गए पनि भाषालाई पहिलेका पत्रकारले जस्तो अहिलेका पत्रकारहरूले वास्ता गरेको भने पाउँदिनँ। सबैलाई भनेको भने हैन। अपवाद त जहाँ पनि हुन्छ।

साहित्यमा पत्रकारिता, पत्रकारितामा साहित्य

अहिले पत्रकारिताले नेपाली भाषालाई अघि बढाएको छ। त्यसको प्रभाव साहित्यमा पनि परेको छ। अहिले साहित्यमा पत्रकारिताको जस्तो भाषा देखिन थालेको छ। यो पत्रकारिताको जित हो। तर, साहित्यको हार हो।
भाषाको गन्जागोलको प्रभाव पत्रकारितामा पनि परेको छ। भाषामा वास्ता गर्नुपर्ने रहेनछ, लेखिदिए हुने रहेछ भन्ने धारणा बढ्दो छ। हिज्जे धेरै गिजोलिएको छ। यसको दोष म पत्रकारलाई दिन्नँ। धन्न ! यतिको पत्रकारिता भइरहेको छ।

यसको सम्पूर्ण दोष त नेपाली पढाउने गुरु अनि सरकारले राखेका एकेडेमी र  विश्वविद्यालयमा प्रा.डा.हरूको हो।

स्कुलदेखि विश्वविद्यालयसम्म नेपाली भाषामा पढ्नेले स्नातक सक्दासम्म पनि एक पाना शुद्ध नेपाली लेख्न नसक्ने कसले बनायो ?
म दावाका साथ भन्छु, जसको मातृभाषा नेपाली नै हो, जसले राम्रो नेपाली बोल्न सक्छ अनि जो स्नातक छ, उसले ० दशमलव ०१ प्रतिशत पनि शुद्ध नेपाली लेख्न सक्दैन।

अब भाषामा यस्तो विकृति आएपछि त्यसको प्रभाव पत्रकारितामा पर्ने नै भयो।  

भाषा बिग्रेको थाहा पाउने सम्पादक छैनन्
अब पत्रकारितामा केन्द्रित हौँ। 

माथि नै भने, पहिले–पहिले गोरखापत्रको भाषा, व्याकरण र हिज्जेलाई आधिकारिक मानिन्थ्यो। अहिले भने यसकोचाहिँ भाषा, व्याकरण र हिज्जे आधिकारिक हुन्छ भन्न सकिने अवस्था छैन।

पत्रकारिताको नेतृत्वदायी भूमिकामा रहन र सम्पादक हुनुलाई भाषाको स्थिति राम्रो भएको, पढेको र लेख्न सक्ने आवश्यक हुनुपर्ने हो। हाम्रो मिडियामा यही कमजोरी छ।

केही अपवादबाहेक पत्रकारिताको नेतृत्व तहमा बसेकाहरूमा भाषाको ज्ञान छैन। केहीलाई भाषा मिलेन कि क्या हो भन्ने लागे पनि कहाँ बिग्रेको हो, कसरी बिग्रियो अनि सुधार कसरी गर्ने भन्ने ज्ञानै छैन। ज्ञान हुनेमा आँट छैन।
हाम्रो विडम्बना ! आफैले सम्पादन गरेको समाचारको भाषा कहाँ बिग्रियो भन्ने भेउ पाउने सम्पादकको सङ्ख्या कम छ। हिचकिचाहट , सरकारी आदेश अनि बिगार्न बसेकाहरूबाट प्रभावित भएकाहरू पनि देखिन्छन् नै।

बिग्रेको विषयमा प्रश्न उठाउने पत्रकारले हो। अब ऊ आफैले गल्ती लेख्ने अनि गल्ती गरेको पनि पत्तो नपाउने भएपछि अब भाषामाथि भइरहेको अपराधबारे कसले प्रश्न गर्ने ?

भाषाको तालिम खोइ ?

भाषा जान्नु भनेको शुद्ध लेख्नु मात्रै हैन। भाषा भनेको त शुद्ध शब्द, वाक्य गठन, अनि व्याकरण पनि मिल्नु हो। तर, हामी धेरै नै ह्रस्व र दीर्घमा अल्झेका छौँ।

पत्रकारितामा भाषाको तह निश्चित हुनु पर्दैन ? कानुन तथा साहित्यमा भाषाको तह हुनुपर्नेझैँ पत्रकारिताको पनि एउटा तह त हुनुपर्छ।

तर, सामान्य वाक्य लेख्न नसक्नेहरू पनि पत्रकारितामा छन्। अनि पत्रकारितामा भाषाको तालिम पनि छैन। अन्त हेर्ने हो भने पत्रकारितामै लागेकाहरू पनि १५–२० वर्षसम्म पनि भाषाको तालिम लिइरहेका हुन्छन्। हाम्रोमा त सिकारुले पनि तालिम लिनु पर्दैन भाषाको।

यसमा म प्रकाशकको दोष देख्दिनँ। दोष समाचार कक्षको लिडरको हो। सम्पादकको हो। रिपोर्टर छान्ने त सम्पादकले हो नि। यसरी छान्दा भाषामा कस्तो दखल छ भन्ने मात्र ध्यान दिने हो भने पनि सुधार हुन सक्छ।

ड्राइभर राख्ने। तर, ड्राइभर राख्नुअगाडि उसलाई गाडी चलाउन आउँछ, आउँदैन नै परीक्षण नगरेपछि के हुन्छ ? लेख्ने काम गर्नुपर्ने तर लेख्नै नआउने रिपोर्टर राखेपछि के हुन्छ ? भएको यही हो।

कमसेकम तीन–चार वर्षमा एक पटक भाषाको तालिम दिन सकिन्छ नि। यसले निखारता ल्याउँछ। तर, कसलाई चासो तालिममा?

नेपाली पत्रकारिताको भाषा बिग्रनुको कारण यस्तै त हो।

भाषामा कतिसम्म दखल भएकोलाई रिपोर्टरमा राख्ने भनेर सम्पादकले  निर्णय गर्ने भएकाले नेपाली पत्रकारितामा बिग्रँदै गएको भाषाको जिम्मेवारी सम्पादककै हो। भाषाको न्यूनतम स्तर अर्कोले तोक्ने हैन, सम्पादक आफैले तोक्ने हो। भाषाको न्यूनतम ज्ञान पनि नभएको व्यक्ति त सम्पादक हुनै भएन नि।

व्याकरणमा ध्यानै छैन
म केही छापा र अनलाइन मिडियाका समाचार र फिचर स्टोरीहरू हेर्छु। भाषाको शुद्धता र वाक्य संरचना ध्वस्तै देख्छु। अनलाइन मिडियाले त ध्यानै दिएका छैनन्। नाम चलेका पत्रिकाको अवस्था पनि दयनीय नै छ भाषामा।

अब हिज्जे नै गलत लेख्ने भएपछि व्याकरण कसरी मिलोस् ? भाव कसरी मिलोस् अनि शब्दको ध्वनि कसरी मिलोस् ?

भाषामा राम्रो दखल भएका जति पनि पत्रकार छन्, तिनको भाषा सम्पादकले बनाइदिएका हैनन्। उनीहरू आफैले मिहिनेत गरेर बनाएको हो। सम्पादकले भाषा परिष्कृत गरिदिने चलन भए पो उनीहरूको सुधारमा सम्पादकले जस पाउनु।

अति नाटकीकरण

भाषागत समस्या त भइनै गयो। अर्को समस्या थपिएको देख्छु म अति नाटकीकरण।

समाचारको गुरुत्व कति छ ? कहाँसम्म जान्छ ? कति महत्त्वपूर्ण हो ? सान्दर्भिक हो कि हैन ? दिन खोजेको एंगल कुन हो ? कस्तो प्रभाव पार्ने उद्देश्य हो ? यति विषयमा प्रस्ट भएर समाचार लेखे, लेख्नेले पनि बुझ्थे, पढ्नेले पनि बुझ्थे।

अनावश्यक भावुकता, अनावश्यक विवरणको भारी, लामो लेखाइ, अनावश्यक बिम्बको प्रयोग बढ्दो छ नेपाली पत्रकारितामा।
तथ्याङ्क नै नचाहिने समाचारमा तथ्याङ्क किन राख्नु ? अर्को समस्या हार्ड न्युजमा पनि ‘फाइभडब्लुवनएच’ हराउँदै गयो।

एउटा ‘ह्वाट’भित्र सयौँ ‘ह्वाट’हरू हुन सक्छन् नि। एउटै समाचारमा धेरै पटक ‘ह्वाइ’ आएको हुन सक्छ। समाचार लेख्दा खोइ ध्यान दिएको ? एकातिर आउनुपर्ने समाचार पनि नआउने अनि अर्कोतिर अनावश्यक विवरण थोपरेर, अति नाटकीय बनाएर पढ्दै दिक्क बनाउने प्रचलन बढेको छ।

अहिले सामाजिक सञ्जालले पत्रकारितालाई चुनौती दिएको छ। अब कहाँ के भइरहेको छ भनेर पत्रकारितासँग सरोकारै नभएकाले पनि लाइभ दिन थालेका छन्। त्यसैको समस्या हो अति समाचारमा शुरू भएको अति नाटकीयकरण।

औपचारिक समाचारमा थप विवरण हुँदैन। अनि के गर्ने ? नाटकीयकरण गर्यो, नयाँ समाचारजस्तो बनायो। अरूभन्दा मेरो समाचार भिन्न छ नि भन्ने भ्रम छर्न नाटकीय बनाउने गलत काम भइरहेको छ। 

दैनिक पत्रिकामा यो समस्या अलि बढी देखिन्छ। कारण उही। सबै समाचार अनलाइनमा आइसकेका हुन्छन्। अनि समाचारमा नयाँ के छ भनेर सोध्यो भने उत्तर दिन पनि बढी नाटकीय बनाउने गरेको देख्छु म।
समाचार बिकाउन पनि नाटकीयता दिने काम भइरहेका छन्। समाचार अब सूचनाको स्रोत मात्र भएन। यो व्यापार भयो। यसमाचाहिँ प्रकाशक हाबी भए। जसरी होस् बिकाउनु परेको छ।

भाषाको प्राज्ञिक हैसियत सम्पादकमा छैन
हाम्रो दिमागले भाषा बनाएको हैन, भाषाले हाम्रो दिमाग बनाएको हो। यो किन नबुझेको हो, छक्कै पर्छु। अन्य जनावरभन्दा हामी केमा फरक छौँ ? यही भाषा हैन र ? भाषा नभएको भए चिम्पान्जीभन्दा बढी हुँदैनथ्यौ हामी। आजसम्म भएका ज्ञान विज्ञानको प्रगति हुँदैनथ्यो।

मानव चेतनाको मूल आधार नै भाषा हो। पेसा हेर्ने हो भने पत्रकारले जति भाषा कुन पेसामा भएकाले खेलाउन पाउँछन् ? नयाँ शब्द उनीहरूले नै प्रयोग गर्न पाउँछन्। अरूले त पछि हो नि प्रयोग गर्ने।
तर, यसको फाइदा नेपाली पत्रकारले लिएको खोइ त ?

दृश्यको भाषा हेर्ने हो भने त बिजोग छ। टेलिभिजन पत्रकारितामा शब्दको उच्चारण पनि क्षमता होला नि ? खोइ ध्यान दिएको ?

छापा र अनलाइन मिडियाले पछिल्लो समय डेस्क इडिटर राख्न थालेका छन्। तर, भाषा र शुद्धाशुद्धि दुवै हेर्नुपर्छ उनीहरूले। डेस्क इडिटरले भाषा संरचना हेर्ने कि शुद्धाशुद्धि हेर्ने ? यो त फरक विषय हो नि । अर्को समस्या प्रिन्ट मिडियाको भाषा सम्पादकको नियन्त्रणमै छैन, प्रुफ रिडरको हातमा छ।

प्रुफ रिडर पनि जड सूत्रमा चलेका छन्। चलिआएका नियम मात्र हेर्छन्। समस्या यो हैन भनेर उनीहरूले भनेपछि किन हैन भनेर सोध्ने क्षमता भएकाहरू समाचार कक्षमै छैनन्।

सम्पादक भनेपछि त प्राज्ञिक ज्ञान पनि त हुनुपर्यो नि। सम्पादक नियुक्त गर्दा उसमा विषयको ज्ञानसँगै भाषाको ज्ञान कति छ भनेर कसले हेर्छ ? विषयको ज्ञान मात्र हुनु त रिपोर्टरको योग्यता हो। सम्पादक हुन सबै पक्षको ज्ञान चाहिन्छ। प्रुफ रिडरले यो दीर्घ हो भन्दा हैन ‘ह्रस्व’ हो भन्न पनि नसक्ने कसरी सम्पादक ?

भाषामा प्रश्न गर्दा प्रुफ रिडरले किन हैन भन्यो भने यसरी हो भन्न सक्ने क्षमता नभएको सम्पादक भएपछि कसरी सुध्रिन्छ पत्रकारिताको भाषा ?

गेट किपर हो डेस्क इडिटर
अहिलेको अर्को समस्या डेस्क हो। डेस्कले सम्पादन आधा प्रतिशत पनि हेर्दैन। एक त डेस्कमा बस्ने दक्ष जनशक्ति नै छैन। अर्को रिपोर्टरले लेखेको समाचार यति गन्जागोल हुन्छ कि मिलाउनै समस्या हुन्छ।

क्रम पनि मिलेको हुन्न। लिड नै मिल्दैन। के भन्न खोजेको हो समाचारमा खुल्दैन। उत्पादनको सङ्ख्याको आधारमा हेर्नुपर्ने हुन्छ। एउटै समाचार बनाउँदा २–३ घण्टा खाइदिन्छ। अरू समाचार पनि हेर्ने दायित्व हुन्छ। अनि उसले गर्ने भनेको सम्पादन हैन, नजर लगाउने त हो। अनि भाषा कसरी मिठो होस् ? कसरी जाँच्ने समाचारको तथ्य ?

रिपोर्टरलाई यो-यो पुगेन भनेर सोध्ने हो भने समस्या सुरु भइहाल्छ। जे लेख्यो त्यही सत्य जस्तो वातावरण देखिन्छ, न्युजरुमहरूमा।

डेस्क इडिटर भनेको गेट किपर हो। त्यसले प्रवेशको अनुमति दिएपछि हो सामग्री प्रकाशन-प्रसारण हुने। तर, उनीहरूको निर्णय कति चल्छ समाचार कक्षमा ?

खाली सम्पादकको आलोचना गरेझैँ होला। तर, समाचार कक्षको लिडर भएकाले यी समस्याको जिम्मेवारी लिनु त पर्यो।यसका लागि पनि समाचार कक्षको लिडर छान्दा प्राज्ञिक ज्ञान हेर्नपर्छ।

‘तिमी’ लेख्नु गलत हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई भाषा बिगारेर ‘तँ’, ‘तिमी’ र ‘तपाईँ’को उचित प्रयोग गरेनन् भनेर आरोप लगाउँदै आएका छन्। यसमा आंशिक सत्यता छ।

पत्रकारिता भनेको समाजको ऐना पनि हो। समाजमा जस्ता शब्द जसलाई प्रयोग गरिन्छ नेपाली पत्रकारिताले पनि त्यही भाषा प्रयोग गर्नुपर्ने हो। तपाईँ भन्ने भए सबैलाई तपाईँ भन्नु पर्याे।

यसमा अब के चोरलाई पनि चोर्नुभयो भनेर लेख्ने भन्ने नक्कली तर्क पनि सुन्छु। तर, यो तर्क ठिक हैन। नेपाली भाषामा ‘तँ’, ‘तिमी’, ‘तपाईँ’, ‘हजुर’ छन् त।

यदि कोही विदेशीले नेपाली मिडियामा लेखिएको भाषालाई शोध बनाएर अनुसन्धान गर्याे भने त नेपालमा सबैले सबैलाई ‘तिमी’ मात्रै भन्ने रहेछन् भनेर बुझ्ने भयो नि। के यो सत्य हो त ? सत्य हैन।

आफूचाहिँ बोल्दा तँ, तिमी, तपाईँ सबै प्रयोग गर्ने अनि लेख्दाचाहिँ तिमी मात्र लेख्छु भन्न मिल्दैन। जो पत्रिकाको मात्र भाषा पढेर हुर्किन्छ, त्यसले त सम्बोधनको शब्द तिमी मात्र जान्ने भए नि। अङ्ग्रेजीमा ‘यु’ भनिन्छ भनेर नेपालीमा पनि त्यसैको अनुकरण गर्न मिल्दैन।

हिमालमा हामीले प्रधानमन्त्रीलाई तपाईँ र अन्य मन्त्रीलाई तिमी शब्दको प्रयोग गरेका थियौँ। समस्या आएको थिएन त!

समाधान छ
आफ्नो भाषामा ध्यान दिएर लेख्नु पर्यो अब। आफूले लेखेको विषय ध्यान दिएर पढ्ने हो भने, दोहोर्याएर हेर्ने हो भने कहाँ बिग्रियो थाहा हुन्छ। 

वाक्य संरचना मिल्यो, मिलेन ? व्याकरण के भएको छ ? हिज्जेको प्रयोगदेखि समाचारको संरचनासम्म ध्यान दिने हो भने त्रुटि थाहा हुन्छ।

यसका लागि पहिला भाषालाई माया गर्नुपर्छ। श्रद्धाभाव राख्नुपर्छ भाषामा। भाषाप्रति श्रद्धा भएन भने सुधार सम्भव छैन। जस्तो लेखे पनि भइहाल्छ नि भन्ने धारणाले भाषाको हत्या भइरहेको छ। यसमा सुधार गर्नै पर्छ।

भाषाको शिक्षा महत्त्वपूर्ण हो। विद्यालयस्तर हुँदै विश्वविद्यालयमा पुगेकाहरूले त्यतै भाषा सिके, भाषालाई माया गर्न सिकेभने समाचार कक्षको समस्या आधा समाधान हुन्छ।

तर, विद्यालय र विश्वविद्यालयका शिक्षक र प्राध्यापकले भाषामा खेलाँची गरे भनेर हामीले पनि समाचार कक्षमा खेलाँची गर्न सुहाउँछ त ?


( उकेराको नियमित स्तम्भ चौथो अङ्गका लागि नेपाली भाषाविद् शरच्चन्द्र वस्तीसँग उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित।) 

११ फागुन, २०७७, ००:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।