सेनापति त सम्पादक हो, रिपोर्टरलाई किन दोष ?

सेनापति त सम्पादक हो,  रिपोर्टरलाई किन दोष ?
तस्बिर : कृष्पा श्रेष्ठ।

पञ्चायतकालमा म्यागजिन खासै थिएनन्। गोरखापत्रले साहित्यिक पत्रिका ‘मधुपर्क’ निकाल्थ्यो। ‘रूपरेखा’ निजी थियो। यिनीहरू विशुद्ध साहित्यिक थिए। 

कहिलेकाहीँ निकाल्न खोजेको जस्तो देखिन्थ्यो। त्यो पनि निजी क्षेत्रको प्रयासबाट। एक–दुई अंक आउँथ्यो, बन्द हुन्थे। २०४६ सालसम्म म्यागजिनहरू खुल्ने–बन्द हुने क्रम रह्यो। 

त्यतिबेला ‘इकोनोमिस्ट’ पत्रिकाका पाठक थोरै थिए। भारतबाट ‘टाइम्स अफ इण्डिया’को ग्रुपले निकाल्ने ‘दिनमान’ म्यागजिन थियो। यो म्यागजिन राजनीति गर्नेहरूले नछुटाई पढ्थे। साप्ताहिक फम्यार्टकाे याे म्यागजिनमा फोटो कम हुन्थे, टेक्स्टमा गहिरो विश्लेषण हुन्थ्यो। 

‘न्युज विक’, ‘टाइम’ म्यागजिन पनि आइरहेका हुन्थे। तर, महँगो थिए। ‘दिनमान’ धेरैले पढ्थे। सस्तो पनि भयो। भाषाको पहुँच पनि भयो। त्यस्तै, अन्य म्यागजिनहरू ‘इण्डिया  टुडे’, ‘सनडे’, ‘रविवार’ र ‘माया’ पनि आउँथ्यो। 
मनोरञ्जन क्षेत्रका ‘मनोहर कहानिया’, ‘सरिता’, ‘माधुरी’जस्ता फिल्मी म्यागजिन पनि थिए। हामी अहिले केन्द्रित भएको मुलधारको म्यागजिनमा हो। 

नेपाली म्यागजिनका पाठकहरूले म्यागजिनको स्वाद विदेशीहरूबाट पाइसकेका थिए। त्यसकारण नेपालमा म्यागजिनहरू आउने र बन्द हुने क्रम निरन्तर चल्यो। २०४६ सालको परिवर्तनपछि टर्टलले ठूलै लगानी गरेर म्यागजिन निकाल्यो। यो म्यागजिन व्यावसायिक कमै थियो। बजार पाउन सकेन। लोकप्रिय भएको देखिनँ। बन्द भयो। 

२०५५–२०७२ सालका पाठक भाग्यमानी

म्यागजिनको पाटोबाट हेर्ने हो भने २०५५ देखि २०७२ सम्मका पाठक निकै भाग्यमानी हुन्। उनीहरूले यो समयमा गुणस्तरीय सामग्रीसँगै छनोटको सुविधा पनि पाए। 

म म्यागजिनको पक्षमा पहिलेदेखि नै थिएँ। २०५३ सालतिर साप्ताहिक पत्रिकामा काम गर्थें। विविध कारणवश त्यताबाट निस्केर बसेको थिएँ। 

टीकाराम राईले म्यागजिन निकाल्ने कुरा गर्नुभयो। मैले उहाँलाई सहयोग गर्ने वचन दिएँ। उहाँले आँट्नुभयो। म सल्लाहकार बसें। 

म्यागजिनको नाम ‘काठमाडौं टुडे’ थियो। उक्त म्यागजिनले एकदमै छोटो समयमा राम्रो प्रभाव पार्याे। पछि म फेरि ‘देशान्तर’मा फर्किएँ। म्यागजिनमा पनि मद्दत गरिरहेको थिएँ। 

म म्यागजिनको कन्टेनको पार्ट हेर्थें। त्यही बीचमा कनकमणी दिक्षितहरूसँग कुराकानी भयो। उनीहरूले लगानी गर्ने भए। उनीहरूले अंग्रेजी माध्यमको म्यागजिन त निकालिरहेका थिए। २०५५ सालमा कुरा भएर तयारीका साथ २०५६ वैशाख १ गतेबाट ‘हिमाल’ निकालियो। 

‘हिमाल’ सुरु भएको केही समयपछि ‘काठमाडौं टुडे’ बन्द भयो। 

हिमाल सुरु गर्दाको मुल उद्देश्य नेपाली पाठकलाई स्तरीय कन्टेन, छपाइ र भाषा दिनु थियो। नेपाली पाठकहरूलाई स्तरीय भाषामा स्तरीय विश्लेषण, सत्यतथ्य जाँच गरिएको सूचना र तथ्यपरक सामग्री दिनुपर्छ। पाठकलाई इज्जत गर्नुपर्छ, हेपेर काम हुँदैन भन्ने मान्यतामा ‘हिमाल’ निस्किएको थियो।

राम्रो लगानीसँगै राम्रो टिम पनि थियो। पत्रिकाको प्रकार न्युजको भएर हिमाल खबर पत्रिका राखियो। न्युजलाई नेपालीमा खबर पत्रिका भनेर अनुवाद गरेर राखेको हो। 

पत्रिका पाक्षिकरूपमा निकाल्न थाल्यौं। जे सोचेर निकालेका थियौं। सम्पादकको हकमा भन्दा, सोचेभन्दा छिटो लोकप्रिय भयो। ३० हजार सर्कुलेसन तीन वर्षमा पुग्ला भन्ने अपेक्षा थियो, ६ महिना नै पुग्यो। 

२०५७ सालतिर नयाँ प्रेसले नपुगेर तीन ठाउँबाट छापिन्थ्यो। तीनै ठाउँको एक ठाउँमा ल्याएर कभर गरिन्थ्यो। त्यतिबेला ठूलो मेसिनहरू प्रतिघन्टा १० हजार इम्प्रेसन हान्थे।  

२०५७ सालमा ४० हजार प्रतिघन्टा पत्रिका तयार बनाएर निकाल्ने मेसिन ल्याइयो। त्यतिबेला मलाई बताए अनुसार एउटा अंक ६० हजारसम्म छापिन्थ्यो। 

‘हिमाल’ छापेको एक वर्ष पुग्दा नपुग्दै कान्तिपुरले ‘नेपाल’ साप्ताहिक निकाल्न थाल्यो। हिमालको स्तम्भकार विजयकुमार पाण्डेलाई सम्पादक बनाइयो।  युवराजजी (युवराज घिमिरे)हरूले ‘समय’ सुरु गर्नुभयो। तीनवटा म्यागजिन भइसकेपछि राम्रो प्रतिष्पर्धा भयो। ‘समय’ सुरुमा नै साप्ताहिकमा आयो। त्यतिबेला स्वस्थ अध्ययन सामग्री पाएका थिए पाठकले। 

त्यसैले २०५५ सालदेखि २०७२ सम्म पत्रिका पढ्ने पाठकहरूलाई भाग्यमानी मान्नुपर्छ। किनभने त्यो पुस्ताले म्यागजिन पढ्न पाए। 

त्यतिबेला निस्केका म्यागजिनले स्वस्थ समाचार पस्केका थिए। न त्योभन्दा अघि म्यागेजिन थियो न त अहिले छ। 

चौथो अङ्ग : कमजोर सम्पादक, ठेस लाग्ने पत्रकारिता

म्यागजिन बन्द हुनुका कारण 

अहिले प्रभावशाली म्यागजिनहरू बन्द भए। सबै आर्थिक अभाव भएर बन्द भएका हैनन्। व्यवस्थापकीय र सम्पादकीय कमजोरीले पनि बन्द भएका हैनन्। सबैका आ–आफ्ना कारण छन्। एउटै कारण मात्रै खोजेर हुन्न। 

‘नेपाल’ बन्द गर्ने पहिलेदेखि हल्ला सुनेको थिएँ। कोरोना ‘अवसर’ भइदियो। ‘समय’ पनि बन्द भयो।

अन्नपूर्णले ‘अन्नपूर्ण टुडे’ किन ल्यायो ? यसको कारण मैले पहिल्याउन सकेको छैन।

दिक्षितहरूले सोचविचार गरेर ‘हिमाल’ बन्द गरेजस्तो देखिन्छ। ठूलै प्रेस ल्याए। कम्पलेक्स बनाए। अहिले प्रेस बेचे। सम्पादकलाई पनि बिदा गरे। यसको अर्थ कर्मसियल मिडियाबाट बाहिर निस्कँदैछन् भन्ने देखिन्छ। 

यी पत्रिकाहरू रिभाइभ हुने सम्भावना आजको स्थितिसम्म देखेको छैन। तर, अन्य व्यक्तिहरूले लगानी गरेर म्यागजिन आउन त सक्छ नि। 

पाठकले पैसा तिर्न तयार हुनुपर्छ

म्यागजिनमा कन्टेन मेरो बेला यस्तो थियो अहिले यस्तो भयो भनेर म भन्दिनँ। पहिले र अहिलेको म्यागजिन तुलना गर्ने जिम्मा पाठकलाई। 

तर, म्यागजिन पत्रकारितामा मेरो लगाव र विश्वास हिजो जस्तो थियो आज पनि त्यस्तै छ। हिमाल छोडेको १७ वर्ष भयो। म दुई वर्ष प्रेस काउन्सिलमा बसें। त्यसपछि ‘शिक्षक’ सम्पादन गर्दैछु। 

‘हिमाल’मा छँदा गरेको राम्रो कामलाई ‘शिक्षक’मा पनि प्रयोग गरें। नराम्रोलाई गरिनँ। ‘हिमाल’ निकाल्ने प्रेसबाटै निकाल्थे। प्रेसका साथीहरूले ‘हिमाल’भन्दा धेरै सर्कुलेसन हुन्छ भन्थे। ‘शिक्षक’ले राम्रै गर्याे।

हिमालमा ६/७ वर्ष सम्पादन गर्दा र प्रेस काउन्सिलमा बस्दा प्रेस स्वतन्त्रताको पाटोलाई अझ बढी रियलाइज गरें। 

शिक्षक’ मासिक निकाल्दा म प्रस्ट थिएँ। ठूलो लगानी भएपछि धेरै पत्रकार चाहियो। विज्ञापन पनि धेरै चाहियो।

विज्ञापनदाताले पनि आफूले पैसा दिएपछि मात्रै पत्रकारले तलब पाउने भन्ने बुझेको छ। 

उसले नबोली एक सन्देश दिन्छ– म बदमासी गर्छु। तैले समाचार छाप्दैनस्। त्यसबापत तैले विज्ञापन पाउँछस्। 

मैले यो बुझेको थिएँ। 

साच्चै स्वतन्त्र सम्पादकीय नीति कार्यान्वयन गर्न राज्यको कानुनबाट स्वतन्त्रता पाएर मात्र हुँदो रहेनछ। बजारले पनि निर्धारण गर्दाे रहेछ स्वतन्त्रता। पूरै विज्ञापनदातामा भर गरेर मिडिया सञ्चालन गर्दा गुणस्तरीय विश्लेषण दिन सकिँदैन। त्यसैले गुणस्तरीय सामग्री पढ्ने हो भने त्यसका लागि पाठकले पैसा तिर्न तयार हुनुपर्छ। न्यूनतम शुल्क तिर्नैपर्छ। 

‘शिक्षक’ मासिकमा सुरुको मूल्य २५ रूपैयाँ थियो। कागजको मूल्य बढ्दै जाँदा पत्रिकाको मूल्य ७५ रूपैयाँ भयो। अब निस्कियो भने १०० रूपैयाँ पुग्न सक्छ। 

अहिले अनलाइन समाचार पोर्टल चलाउनेहरूले सित्तैमा समाचार दिइरहेका छन्। पत्रिका त सित्तैमा दिँदैनथे नि। अनलाइनले अब पाठकसँग न्यूनतम शुल्क उठाउन सक्नुपर्छ। 

‘सेतोपाटी’ले सब्सक्राइबर बनाउने कुरा गरेको थियो। तर, सकेन। मैले ‘शिक्षक’ मासिकमा भने प्रयोग गरेको थिएँ। गत माघमा हामीले एप सुरु गर्याैं। ५ सय तिर्नुपर्ने वर्षको। वेबसाइटमा पढ्नेलाई वेबसाइट पनि। पत्रिका पढ्नेलाई पत्रिका पनि। 

एप डाउनलोड इ–सेवा अटोमेटिक पे गर्ने सिस्टम अपनाएका थियौं। एक महिनामा १ सय ५० जना ग्राहक पनि भएका थिए। म आशावादी थिएँ। पत्रिका र एप समानान्तर जाने सोचमा थिएँ। १० हजार पुर्याउनेे लक्ष्य थियो। अवस्था फेरियो अर्कै कुरा हो। 

प्रविधिमैत्री भएनन् म्यागजिन

म्यागजिन जर्नालिजम अहिले पनि संसारमा चलेको छ। तर, प्रविधिको हस्तक्षेप भयो। पाठकहरू प्रविधिमैत्री भएका छन्। तर हाम्रोतिरको म्यागजिनहरू प्रविधिमैत्री नभएकै हुन्। पाठकहरू यतातिर जानु त ग्लोबल फेनामेना हो। नेपालमा म्यागेजिन बन्द भएका कारण प्रविधिमैत्री हुन नसकेर हो। कोरोनाले अपजस पाएको मात्रै हो। 

त्यसो भन्दैमा सिद्धिने नै त हैन। इन्टरनेट त माध्यम पो हो। जुन माध्यम सहज छ, त्यही पुर्याउनुपर्छ सामग्री। 

अझै छ सम्भावना 

म्यागजिन चाहिन्छ। र, यसको सम्भावना छ। बाहिरतिरको कुरा गर्दा, प्रिन्टको जमाना सिद्धियो भनेर समाचार पनि पढियो। ‘इकोनोमिस्ट’जस्ता पत्रिकाहरूले  डिजिटल पाटो र प्रिन्टलाई समानान्तररूपमा लगे। सन् २००८ र २०१२ को समयमा सर्कुलेसन झन् बढ्यो। १ मिलियन क्रस गर्याे। 

सन् २०१६ मा ‘न्युयोर्क टाइम्स’मा पढे अनुसार प्रिन्टको र इन्टरनेटको आम्दानी बराबर भयो। इन्टरनेट आउनुभन्दा अगाडि उसको सर्कुलेसन ६/७ लाखभन्दा गएन। आज १६ लाख पुगेको छ। 

यसले देखाउँछ– पाठकहरु हिजोभन्दा आज पढ्ने भएका छन्। क्रयशक्ति बढेको छ। हिजोका दिनमा इकोनोमिस्टको पढ्ने एक मुठी हुन्थे भने लकडाउन हुनुभन्दा अघि १ सय ५० कपी आउँथ्यो नेपालमा नै। यही त बढेको छ भने विश्वबजार बढेन र ! 

प्रिन्टको आनन्द डिजिटलले नदिन सक्छ। कागजको स्मेल लिनुको मज्जै बेग्लै भन्नेहरू पनि छन्। केही समयअघि ‘नेपाली टाइम्स’ पनि बन्द भयो। ट्रायल इस्यु भनेर दसैंताका निस्कियो। बजार प्रतिक्रिया राम्रो आएपछि जनवरीदेखि आउन थाल्यो। पाठकले हार्ड कपी छोड्दा रहेनछन् भन्ने यसले पनि देखायो। 

अनलाइनबाट सूचना लिए पनि इन्जोयमेन्ट त पत्रिकाबाट आउने रहेछ नि। यसको अर्थमा प्रविधिले पाठक खोसेको मात्रै हैन। नयाँ पाठक पनि थपेको छ। 

हामी अलि बढी आत्तियौं होला वा हाम्रो ढंग भएन। छापाका पाठक र डिजिटल पाठकलाई कसरी पहुँच पुर्याउने भन्नेमा हामीले मिहिनेत गरेनौं।

उही कुरा यताको उता, उताको यता गरेपछि पाठकले दिक्क भएर छोड्नु स्वभाविक पनि हो। तर, म्यागजिनको बजार अहिले पनि छ। नेपालमा म्यागजिनको सम्भावना छ। म्यागजिन निकाल्दा अडियन्स को हो? कसका लागि? भन्नेमा भने प्रस्ट हुनुपर्छ। 

म्यागजिन निकालेर पाठकलाई बेच्नै नै हो। कमजोर सामग्री, ठूला–ठूला विज्ञापन मात्र राखेर किनेर पढ भनेर कसले पढ्छ ?

‘द इकोनोमिस्ट’ ७ सय रूपैयाँ तिरेर पढ्छु। उसले विज्ञापन दिन्छ। तर, सुहाउँदो। राम्रो रिसर्च सामग्री दिन्छ। सानो गल्ती भयो भने यति लामो माफी माग्छ। त्यो विनम्रता पनि छ। 

हाम्रोमा किन यस्तो संस्कारको सुरुवात हुन सक्दैन ?

लेख्नुपर्ने, पढाउनुपर्ने विषय धेरै छन्। सम्भावना छ नेपालमा। माध्यममा छापा पढ्नेलाई छापा, इन्टरनेट पढ्नेलाई इन्टरनेट। तर, सित्तैमा कसैलाई दिनुहुँदैन। विज्ञापनमा मात्र पूर्ण निर्भर हुँदा स्वतन्त्रता कायम रहन सक्दैन। पाठकलाई गुणस्तरीय सामग्री दिएवापत केही शुल्क लिनैपर्छ। 

तर, यो कपी पेस्टको कल्चरबाट हुँदैन। एउटै समाचार यताको उता, उताको यता हाल्ने अनि ल पैसा तिर भनेर पाठकले पैसा तिर्दैनन्।

म्यागजिन फम्यार्टको सामग्री अलिकति खोजमूलक हुन्छ। खोजमूलक समाचारको पाठक ब्रेकिङ न्युजको जस्तो हुँदैन। थोरै हुन सक्छन्। तर, क्वालिटीको पाठक हुन्छन्।

पत्रिकाको सम्पादकीय धेरैले पढ्दैनन्। तर, पनि लेखिन्छ नि किन ? त्यसको अर्थ छ। आफ्नो पोजिसन क्लियर राख्नलाई त्यसको महत्त्व छ नि। 

‘दि गार्जियन’मा शिक्षाको राम्रो फिचर आइरहन्छ। प्रत्येक शुक्रबार यो हप्ताको लामो स्टोरी कहिलेकाहीँ पडकास्ट आउँछ।

यो संसारमा पत्रकारिता भइरहेको छ। सहयोग गर खोजमूलक समाचार पढ भनिरहेका छन्। उनीहरूलाई पाठकसँग सहयोग माग्न लाज भएन। हामीचाहिँ  लाज मान्ने ?

म्यागेजिनले देखाउने बाटो

हाम्रो देश दिशाहीन भएको अवस्था छ अहिले। कहाँ पुग्छ थाहा छैन। त्यसलाई बाहिर निकालेर सही दिशातिर डोर्याउन पनि म्यागजिनको एकदमै ठूलो भूमिका हुन्छ। 

म्यागजिनको सम्पादकले फुर्सदले सोच्न पाउँछ। दैनिकको सम्पादकले त्यसरी सोच्न भ्याउँदैनन्। दैनिक घटनाले समय लिन्छ। 

एउटा उदाहरण दिउँ : २०५९ सालमा नेपाली कांग्रेसमा अहिलेको नेकपाभित्र जस्तै द्वन्द्व थियो। शेरबहादुर देउवाले मलाई यसो गर्ने हो भने संसद् विघटन गर्छु भनेका थिए। नभन्दै जेठ ८ मा संसद् विघटन गरेर कात्तिकमा चुनाव घोषणा भयो। 

गिरिजाप्रसाद कोइरालाहरूले विरोध गरेका थिए। सरकारले कात्तिकमा चुनाव गराउन सकेन। कांगेस फुट्यो। त्यो अवस्थामा म ‘हिमाल’को सम्पादक थिए। जेठ ८ गते संसद् विघटन, १६ गते पत्रिका निस्कने।

त्यो बीचमा मैले घोरिएर विश्लेषण गरें। निष्कर्षमा पुगेँ– ‘देउवाले बर्बाद गरे’।

अघिल्लो वर्ष दरबार हत्याकाण्ड हुनु, माओवादीले मान्छे मारेको मार्यै हुनु। यस्तो अवस्थामा चुनाव कसरी हुन्छ? २००७ सालमा सरेको चुनाव २०१५ सालमा पुग्यो। यसरी नै डेमोक्रेसी संकटमा गयो। कभर स्टोरी यसैमा आयो।

केही समयपछि त ‘चुनाव गराउन सक्दिनँ’ भनेर चैतमा सारियो। त्यसपछि डेमोक्रेसी जोगाउनु छ भने संसद् पुनःस्थापना गर भनेर लेखे। 

चुनाव गराउन नसकेपछि फिर्ता माग्ने जनताको अधिकार हो। पहिलो दुई वर्षमा ‘हिमाल’ एक्लै थियो संसद् पुनःस्थापना हुन्छ भन्ने लाइनमा। 

आखिरमा २०६३ मा पुनःस्थापना भयो। हामीले सम्पादकीय लेखेको ६ महिनापछि गिरिजाप्रसादले त्यो मुद्दालाई लिए। स्वतन्त्र वामपन्थीहरूले पनि गरे। सबै सहमत भए।

यो कुरा राजेन्द्र दाहालले गरेको हैन। ‘हिमाल’ले बोलेको हो। राजेन्द्र दाहालले फोरम क्रिएट गरेको हो। त्यसमा सबैको सहयोग भयो। यसले देखाउँछ– राजनीतिलाई बाटो देखाउनको लागि पनि म्यागेजिनले काम गर्छन्। 

युद्ध जित्ने सेनापतिको निर्देशनले हो

अहिले रिपोर्टर कमजोर भए भन्ने पनि सुन्छु। तर, रिपोर्टर समस्या हैनन्। सम्पादकसँग स्पष्ट भिजन हुनुपर्छ। सेनापति त सम्पादक हो नि। युद्ध जित्ने हो भने सेनापति नै बलियो हुनुपर्छ।रिपोर्टरलाई त ग्रुम गर्ने हो।

भाषिक सीप, एक्सप्रेस गर्न सक्ने खुबी, शब्दमा उतार्न सक्ने रुचि हुनुपर्यो। बाँकी कुरा त सिकाउनुपर्छ। राम्रो सम्पादकले सिकाउँछ पनि। सेनापति त सम्पादक हो, रिपाेर्टरलाई किन दोष ?

त्यसैले अहिले रिपोर्टरको कारणले पत्रकारिता कमजोर भएको हैन। रिपोर्टरलाई ठीक ढंगले गाइड भएको छैन। परिचालन नै गरिएको छैन। परिचालन गर्नसक्ने हो भने समस्या देख्दिनँ।
 

(हरेक मंगलबार प्रकाशित हुने ‘चौथो अंग’ स्तम्भका लागि दाहालले उकेराकर्मी प्रजु पन्तसँग गरेको कुराकानीमा आधारित।) 

२० माघ, २०७७, २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।