निर्देशक ज्ञानेन्द्र देउजाको हिजोका कुरा : ‘राष्ट्र बैंकमा जागिर छँदै छ नि!’ भनेर ‘मुनामदन’ निर्देशन गर्दा एक पैसा दिएनन्

निर्देशक ज्ञानेन्द्र देउजाको हिजोका कुरा : ‘राष्ट्र बैंकमा जागिर छँदै छ नि!’ भनेर ‘मुनामदन’ निर्देशन गर्दा एक पैसा दिएनन्

नेपाली चलचित्र उद्योगमा स्थापित नाम हो- निर्देशक ज्ञानेन्द्र देउजा।

सरकारी जागिर र चलचित्र निर्देशनको पाटोलाई समानान्तर रूपमा अगाडि बढाएका उनी २०५२ सालतिर ‘रक्षक’ जस्तो एक्सन चलचित्रबाट निर्देशनमा होमिए। उनले ‘गोर्खाली’, ‘हामी ट्याक्सी ड्राइभर’, ‘देवर बाबु’ हुँदै हालैको हिट चलचित्र ‘झिँगे दाउ’सम्म आइपुग्दा नेपाली सिनेमालाई थुप्रै स्मरणीय कृतिहरू दिएका छन्।

चलचित्र क्षेत्रमा सफल निर्देशकका रूपमा चिनिएका देउजाको अर्को पाटो पनि छ- उनी नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त अधिकृत हुन्। सरकारी सेवामा लगातार ३० वर्ष खटिएर अवकाश पाएका उनले आफ्नो जागिर, पढाइ र सिनेमाको भोकलाई एकैसाथ डोहोर्याए।

परिवारको चाहना उनी आर्मी बनून् भन्ने थियो, तर उनको जीवनको गोरेटो सैन्य क्याम्पतिर नभई क्यामेरा र लाइटतिर मोडियो। सुरुमा पर्दामा देखिने ‘हिरो’ बन्ने सपना बोकेर यस क्षेत्रमा प्रवेश गरेका देउजा कालान्तरमा पर्दा पछाडिका ‘रियल हिरो’ अर्थात् प्राविधिक र निर्देशक बन्न पुगे।

उनले आफ्ना विगतका रोचक अनुभवहरू हालै ‘उकेरा’को कोमल हिजासँगको कुराकानीमा यसरी साटेका छन्:

कपनको खेतैखेतदेखि बौद्धको भिडियो हलसम्म
मेरो जन्म वि.सं. २०२५ सालमा काठमाडौंको उत्तरी भेग, बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित कपनमा भएको हो। पञ्चायतकालको त्यो समयमा यो ठाउँ कपन गाउँ पञ्चायत वडा नम्बर ५ अन्तर्गत पर्थ्यो।

अहिलेको जस्तो गगनचुम्बी घरहरू र कंक्रिटको जंगल त्यतिबेला थिएन, जता हेर्यो उतै खेतबारी र हरियाली मात्र हुन्थ्यो। मेरो घरको छेवैमा एउटा स्कुल त थियो, तर मलाई त्यहाँ पढ्न पटक्कै मन लागेन। त्यसैले म पशुपति मित्र माविमा पढ्न आउँथेँ।

त्यतिबेला चाबहिलबाट हाम्रो घर कपन जाने गतिलो बाटो समेत थिएन। अहिलेको गोपीकृष्ण हल भएको ठाउँ अगाडिको खेतको आलीआली हुँदै कुद्दै स्कुल पुग्नुपर्थ्यो। कहिलेकाहीँ आर्मीमा कार्यरत बुबा अफिस जाने बेलामा मलाई बाटोमा छोडिदिनुहुन्थ्यो।

मैले २०४१ सालमा पशुपति स्कुलबाटै एसएलसी उत्तीर्ण गरेँ। त्यसपछि उच्च शिक्षाका लागि नेपाल कमर्स क्याम्पस (एनसीसी) मा भर्ना भएँ। त्यहाँ पढ्न पाउनुको पनि छुट्टै रमाइलो कथा छ। त्यो समयमा एसएलसीमा प्राप्त प्राप्ताङ्क (प्रतिशत) नपुगेमा कलेजमा नाम निकाल्न निकै मुस्किल हुन्थ्यो।

मेरो एक वर्ष खेर जाने डरले मैले त्रिचन्द्र, एनसीसी लगायतका कलेजहरूमा प्रवेश परीक्षा (इन्ट्रान्स) दिएँ। कतै नाम निस्कियो, कतै निस्किएन, तर नेपाल कमर्स क्याम्पसमा भने पहिलो नम्बरमै मेरो नाम निस्कियो। त्यसपछि मेरो कलेजको पढाइ त्यहीँबाट अघि बढ्यो।

आर्मी बन्ने पारिवारिक दबाब र हिरो बन्ने भूत
मेरो घरपरिवारका अधिकांश सदस्यहरू आर्मीमा जागिरे हुनुहुन्थ्यो। बुबा नै आर्मीमा भएका कारण छोरो पनि आर्मीमै भर्ती होस् भन्ने परिवारको तीव्र चाहना थियो।

एक दाजु, एक दिदी र एक बहिनीको बीचमा म घरको कान्छो छोरो भएकाले अलिक बढी नै पुलपुलिएको थिएँ। मेरो समय घरभित्र भन्दा बढी घरबाहिर नै बित्थ्यो। 

एसएलसी दिएर रिजल्ट नआउन्जेलको खाली समयमा म भात खायो कि घरबाट हिँडिहाल्थेँ। त्यसबेला अहिलेको जस्तो टोलटोलमा फिल्म हल थिएनन्। भक्तपुर मामाघर जाँदा बाटोमा हल पर्थ्यो। तर, मेरो दैनिकी भने बौद्धमा रहेको एउटा भिडियो फिल्म देखाउने ठाउँमा बित्न थाल्यो।

त्यहाँ दुई-तीन रुपैयाँ तिरेपछि एउटा फिल्म हेर्न पाइन्थ्यो। मेरो कामै फिल्म हेर्न जाने र घर फर्किने मात्र हुन थाल्यो। म यति नियमित भइसकेको थिएँ कि भिडियो फिल्म देखाउने मान्छेले मलाई मज्जाले चिन्न थालिसकेको थियो। पछि त उसले एउटा फिल्मको पैसा तिरेपछि मलाई तीनवटासम्म फिल्म हेर्न छुट दिन थाल्यो।

त्यहाँ बसेर निरन्तर हिन्दी फिल्म हेर्दाहेर्दै मेरो मनमा पनि सिनेमाको हिरो बन्ने रहरले जरा गाड्न थाल्यो। अमिताभ बच्चन र राजेश खन्नाका फिल्महरूले मलाई निकै प्रभाव पारेका थिए। कहिलेकाहीँ विश्वज्योति हलमा गएर पनि फिल्म हेरिन्थ्यो। त्यो समयमा हलमा फिल्म हेर्न आउने दर्शकहरू अलिक दादा र सादा प्रकृतिका हुन्थे।

समाज त्यति स्वतन्त्र नभइसकेका कारण पुरुषको तुलनामा महिला दर्शकहरूको उपस्थिति हलमा निकै न्यून हुन्थ्यो। यिनै फिल्महरू हेर्दाहेर्दै मलाई हिरो बन्ने भूत सवार भइसकेको थियो। त्यतिबेला नेपाली चलचित्रहरू वर्षमा ४-५ वटा मात्र बन्ने गर्थे।

आवास विभागको जागिर र रङ्गमञ्चको यात्रा
एसएलसी सकेपछि मैले लोकसेवा आयोगको परीक्षा दिएँ र त्यतिबेलाको ‘आवास तथा भवन विभाग’मा सरकारी जागिरे भएँ। जागिर खाएपछि मैले एउटा साइकल किनेँ।

मेरो दैनिकी निकै व्यस्त तर रोमाञ्चक थियो- बिहान कलेज जाने, दिउँसो त्यही साइकलमा हुइँकिएर अफिस पुग्ने र अफिस सकेपछि फिल्म हेर्न असन पुग्ने। जागिरले मलाई फिल्म हेर्ने रहरबाट कहिल्यै रोक्न सकेन।

यसैबीच फिल्म खेल्ने रहर पूरा गर्न म नाट्य संस्थातिर पनि जोडिएँ। सुरेशनाथ शर्मा, सुवर्ण क्षेत्री, रामराजा क्षेत्री लगायतले पद्मोदय स्कुलमा ‘हिमालय कल्चर’ नामक नाट्य संस्था खोल्नुभएको थियो। त्यहाँ ट्रेनिङ लिने क्रममा म, हेमन्त बुढाथोकी, सुशील पोखरेल र रत्न थापा (फेरि भेटौँलाका हिरो) एउटै ग्रुपमा थियौँ।

तर, दुई-चार महिनामै त्यो संस्था बन्द भयो। त्यसपछि सुशील पोखरेल र रत्न थापा हरिहर शर्माको ट्रेनिङमा गए भने म चाहिँ सुनील पोखरेलको ‘आरोहण गुरुकुल’तिर लागेँ। त्यहाँ सरोज खनाल लगायतका कलाकारहरूसँग भेट भयो र हामी मिल्ने साथी बन्यौँ। 

गुरुकुलमा सुनील पोखरेल, बद्री अधिकारी र शैलेश आचार्य मेरा गुरु हुनुहुन्थ्यो। म खासमा नाटकभन्दा पनि फिल्म खेल्ने उद्देश्यले त्यहाँ गएको थिएँ। त्यतिबेला नेपालमा बल्ल टेलिफिल्महरू बन्न थालेका थिए। मैले बद्री अधिकारीले निर्माण गरेको टेलिफिल्म ‘कोरस’ लगायतमा स-साना अभिनयहरू गरेँ।

बिहान कलेज, दिउँसो जागिर र बेलुका नाटक- मेरो दैनिकी यस्तै थियो। घरको कान्छो छोरो, बुबा र अरू सदस्य पनि जागिरे भएकाले सम्पन्न परिवार थियो। मैले घरमा पैसा दिनुपर्दैनथ्यो, न त मलाई पैसाको अभाव नै हुन्थ्यो।

हिरो बन्ने रहरबाट प्राविधिक बन्ने मोडसम्म
नाटक र टेलिफिल्ममा यताउता गरिरहेको समयमा मेरो जीवनमा एउटा महत्वपूर्ण मोड आयो। मेरो काकाबुबा नेपाल बैंकमा म्यानेजर हुनुहुन्थ्यो र उहाँले लोन (कर्जा) को कारोबार हेर्नुहुन्थ्यो।

त्यसबेला विश्व बस्नेतको चलचित्र ‘अन्याय’ बैंकबाट लोन लिएर निर्माण गरिएको रहेछ। त्यही काकाको सर्कलबाट एकजना मान्छेले मलाई चलचित्र निर्माता उद्धव पौडेलको घरमा पुर्याइदियो। मेरो सिनेमा यात्राको औपचारिक जग उद्धव पौडेलको घरबाटै बस्यो। उहाँ नै मलाई चलचित्र क्षेत्रमा डोर्याउने वास्तविक अभिभावक हुनुहुन्छ।

त्यहाँ बाल कार्यक्रम लगायतका विभिन्न टेलिभिजन सामग्रीहरू निर्माण हुन्थे। सोही क्रममा मेरो भेट निर्देशक रेश आचार्यसँग भयो। म हिरो बन्ने रहरले त्यहाँ पुगेको थिएँ, तर त्यहाँ भइरहेको सुटिङ, क्यामेराको सञ्चालन र अन्य प्राविधिक कुराहरूले मलाई अचम्मले तान्यो।

विस्तारै मलाई पर्दामा देखिने हिरोभन्दा पर्दा पछाडि बसेर काम गर्ने प्राविधिक बन्नुपर्छ भन्ने लाग्न थाल्यो। त्यसपछि मैले केही टेलिफिल्म र चलचित्रहरूमा सहायक निर्देशक (असिस्टेन्ट) का रूपमा काम गर्न थालेँ। त्यतिबेलाका वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठले मलाई टेलिफिल्मतिर अझ बढी संलग्न गराउनुभयो।

यतिन्जेलसम्म मेरो भवन विभागको जागिर चलिरहेकै थियो। त्यहाँ २ वर्ष काम गरेपछि २०४५ सालमा नेपाल राष्ट्र बैंकमा मेरो खरिदार लेभलमा नाम निस्कियो। म आवास विभाग छोडेर राष्ट्र बैंकतिर सरेँ। यता काम गर्दै गर्दा नेपाल टेलिभिजनको विकल्पमा इमेज च्यानल खुल्यो, जहाँ मैले ‘गोलमाल’ नामक सिरियल बनाएँ।

कडा अनुशासनको सहायक निर्देशन र निर्देशकको फड्को
मैले ‘टुहुरो’, ‘बन्धन’, ‘आमा’ लगायतका चर्चित चलचित्रहरूमा मुख्य सहायक निर्देशक (चिफ असिस्टेन्ट डिरेक्टर) भएर काम गरेँ। त्यो समयमा असिस्टेन्ट भएर काम गर्दा सुटिङ स्पटमा एकदमै कडा अनुशासनमा बस्नुपर्थ्यो। अहिलेको जस्तो सजिलो र लचिलो वातावरण थिएन।

यति धेरै काम गरिसक्दा मैले चलचित्रको प्राविधिक पक्षको गहिरो ज्ञान हासिल गरिसकेको थिएँ। कसरी सट लिने, मनिटर कसरी हेर्ने भन्ने प्राविधिक पाटोमै मेरो ध्यान केन्द्रित भयो र हिरो बन्ने भूत सदाका लागि हराएर गयो। केही टेलिफिल्महरूमा फाट्टफुट्ट अभिनय गरे पनि व्यावसायिक रूपमा म अभिनयमा लागिनँ।

यही निरन्तरको सिकाइ र सङ्घर्षको बीचमा मैले चलचित्र ‘रक्षक’ निर्देशन गर्ने स्वर्णिम अवसर पाएँ। अरुण मल्ल लगायतले यस चलचित्रमा काम गर्ने वातावरण मिलाइदिनुभएको थियो। ‘रक्षक’ नेपाली चलचित्रको इतिहासमै पहिलो पटक पानीमुनि (अन्डरवाटर) द्वन्द्व दृश्य छायाङ्कन गरिएको फिल्म थियो। यो चलचित्रको सफलतापछि मैले ‘धर्म सङ्कट’, ‘गोर्खाली’, ‘मुनामदन’ लगायत थुप्रै हिट चलचित्रहरू निर्देशन गरेँ।

निर्देशक भइसकेपछि मैले कसैसँग काम माग्न जानु परेन। म एकातिर राष्ट्र बैंकको सुरक्षित जागिरे थिएँ, त्यसैले फिल्म पाए पनि ठीक, नपाए पनि ठीक भन्ने अवस्थामा थिएँ। तर, मेरो काम र इमानदारिता देखेर निर्माताहरू आफैँ मलाई खोज्दै आउनुहुन्थ्यो। मेरो जीवनमा सहायक निर्देशक हुँदा सङ्घर्ष छ, तर निर्देशक भइसकेपछि कामको लागि सङ्घर्ष गर्नु परेन।

जागिर र निर्देशनको सन्तुलन
राष्ट्र बैंकमा काम गर्दागर्दै पनि मैले फिल्म निर्देशनका लागि समय निकालेँ। म जागिर मात्र खाइरहेको थिइनँ, सँगसँगै डिग्रीको पढाइ पनि अघि बढाइरहेको थिएँ। सुरुवाती दिनहरूमा राष्ट्र बैंकमा कर्मचारीलाई विभिन्न सुविधाहरू दिइन्थ्यो र अहिलेको जस्तो असाध्यै कडा नियम थिएन।

प्रशासन विभागमा हुँदा साँझ ५ बजेसम्म बस्नैपर्ने हुन्थ्यो। तर अरू बेला चेकको काम साढे २ बजेसम्म हुन्थ्यो। अरूले काम सकेपछि त्यो रुजु गर्ने जिम्मा हाम्रो हुन्थ्यो। त्यो काम भोलिपल्ट बुझाउँदा पनि हुने भएकाले समय मिलाएर सुटिङमा निस्किने गर्थेँ।

जसरी अहिले आर्मी वा प्रहरीमा जागिर खानेहरूलाई राष्ट्रिय स्तरका खेलकुद (फुटबल, भलिबल) मा सहभागी हुन विशेष छुट दिइन्छ, हामीलाई पनि कला क्षेत्रमा काम गर्न त्यस्तै अप्रत्यक्ष छुट र सद्भाव थियो। त्यतिबेला हातैले लेखेर काम गर्नुपर्ने युग थियो, अहिले त प्रविधिले सबै कुरा फरक बनाइसक्यो।

जब मैले ‘छविलाल कन्जुस छैन’ भन्ने चलचित्र निर्माण गरेँ, त्यतिबेलासम्म म राष्ट्र बैंकको अधिकृत (अफिसर) भइसकेको थिएँ। बिस्तारै बैंकको नियम कडा हुन थाल्यो र जिम्मेवारी पनि थपियो। समय निकाल्न नसकेपछि मैले केही समयका लागि फिल्म निर्देशन नै चटक्कै छोडिदिएँ।

हिजोको सुटिङको मिठास र आजको सकस
पहिले र अहिले चलचित्र छायाङ्कन गर्दाको अनुभवमा आकाश-जमिनको फरक आइसकेको छ। त्यतिबेला काठमाडौं निकै खुल्ला र सुन्दर थियो।

सुटिङ गर्न जाँदा स्थानीय मानिसहरू आफैँ आएर ‘हाम्रै घरमा सुटिङ गरिदिए पनि हुन्थ्यो’ भनेर प्रस्ताव राख्थे। हामीलाई स्वागत गरिन्थ्यो। 'सिमाना' फिल्मको सुटिङ भैँसेपाटीको उकालोमा भएको थियो, जुन ठाउँमा अहिले मन्त्री क्वार्टर बनेको छ। ‘गोर्खाली’ फिल्मका अधिकांश दृश्यहरू चाँगुनारायण र त्यसकै वरपर खिचिएका हुन्।

तर आज अवस्था फेरिएको छ। अहिले सुटिङ गर्छु भन्दा कसैले सजिलै आफ्नो ठाउँ दिँदैनन्। गाउँको परिवेश देखाउनुपर्यो भने काठमाडौंबाट धेरै टाढा पुग्नुपर्छ। काठमाडौंमा पुरानो शैलीको घर भेट्टाउनै मुस्किल छ, भेटिहाले पनि घरधनीले आनाकानी गर्छन्। पैसा तिर्छु भन्दा समेत सुटिङ गर्न घर वा लोकेसन पाउन गाह्रो छ।

प्राविधिक रूपमा पनि पहिले र अहिले धेरै भिन्नता छ। पहिले गीत रेकर्ड गर्न वा फिल्मको फाइनल मिक्सिङ गर्न मुम्बई (इन्डिया) नै जानुपर्थ्यो। अहिले नेपालमै सबै प्रविधि उपलब्ध छ, तर नयाँ प्रविधि र उपकरणहरू आए पनि कामको गुणस्तरमा पहिलेको तुलनामा अलिक कच्चापन हो कि जस्तो महसुस हुन्छ।

कागजी सम्झौताविनाको युग र पारिश्रमिकको पीडा
त्यो समयमा प्राविधिक वा निर्देशकले पारिश्रमिक लिनु फलामको चिउरा चपाउनु सरह हुन्थ्यो। अहिलेको जस्तो लिखित सम्झौता (कन्ट्र्याक्ट पेपर) गर्ने चलन नै थिएन। सबै काम मौखिक विश्वासको भरमा हुन्थ्यो। निर्मातासँग पैसा माग्यो, दियो भने खल्तीमा हाल्यो, दिएन भने चित्त बुझाएर बस्यो। 

मैले अत्यन्तै मिहिनेत गरेर निर्देशन गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित चलचित्र ‘मुनामदन’बाट मैले एक रुपैयाँ पनि पारिश्रमिक पाइनँ। एक लाख २५ हजार रुपैयाँमा निर्देशन गर्ने सहमति भएको थियो। चलचित्र उत्कृष्ट बन्यो, तर मेरो हात रित्तै भयो।

कतिपय चलचित्रमा २०-२५ हजारदेखि ५० हजारसम्म पारिश्रमिक तोकिन्थ्यो, तर अन्तिम किस्ताको पैसा कहिल्यै हात पर्दैनथ्यो। सुटिङ सकिँदासम्म निर्माताको सबै पैसा सकिइसकेको हुन्थ्यो।

अझ मेरो हकमा त निर्माताहरूले ‘यसको त राष्ट्र बैंकमा राम्रो जागिर छँदै छ नि, यसलाई के पैसा चाहियो र!’ भनेर तर्क गर्थे र पैसा दिन अनकनाउँथे। अहिलेको जस्तो कानुनी सम्झौता र व्यवस्थित प्रणाली भएको भए त्यस्तो अन्याय सायदै हुन्थ्यो होला।

जेठ १, २०८३ शुक्रबार ०९:२४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।