स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा सिइओ पक्राउ परेपछि एनआइएमबी बैंकले भन्यो 'कानुन अनुसार नै लिलाम गरेका हौँ'

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा सिइओ पक्राउ परेपछि एनआइएमबी  बैंकले भन्यो 'कानुन अनुसार नै लिलाम गरेका हौँ'

काठमाडौं : सरकारी सम्पत्तिलाई धितो मानेर लिलाम गरेको आरोपमा सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कानुनले दिएको अधिकार अनुसार नै स्मार्ट टेलिकमको धितो लिलाम गरिएको दाबी गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार बेलुका बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई पक्राउ गरेको थियो। यस अगाडि नै यही घटनामा तीन जना प्रहरी हिरासतमा छन्। पाण्डे पक्राउ परेपछि बैंकले विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था ऐन, २०७३ तथा सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकार अनुसार कर्जा असुली प्रक्रियाअन्तर्गत स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गरेको उल्लेख गरेको छ। 

बैंकले निक्षेपकर्ताको रकम सुरक्षित गर्ने कानुनी दायित्व अनुसार उक्त प्रक्रिया अघि बढाइएको थप दाबी गरेको छ। सरकारले स्मार्ट टेलिकमको स्वामित्व लिइसकेपछि पनि बैंकले टेलिकमको सम्बन्धित विभिन्न उपकरण तथा सामग्री लिलामीका लागि २०८१ असोज ३ गते सूचना प्रकाशित गरिएको थियो। सो लिलामी एनसेलले ४ अर्ब ६० करोडमा लिलामी स्विकारेको थियो। सो रकममध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा भुक्तानीमा प्रयोग गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ। बाँकी रहेको करिब ३८ करोड रुपैयाँ 'अर्नेस्ट मनी अक्सन एकाउन्ट' मा राखिएको बैंकको दाबी छ

उक्त रकम दूरसञ्चार सेवासँग सम्बन्धित उपकरण जडान भएका घरजग्गा धनीहरूको बाँकी घरभाडा तथा विद्युत् महसुल भुक्तानीका लागि छुट्टाइएको बैंकको दाबी छ। 

वैशाख ३०, २०८३ बुधबार २३:३८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।