राजनीतिक नियुक्तिमा पूर्वसैनिकलाई ‘प्रिय’ : बागमती सभ्यतामा महासेनानी भाट नियुक्त, वायुसेवामा बाँस्तोला सिफारिस

राजनीतिक नियुक्तिमा पूर्वसैनिकलाई ‘प्रिय’ : बागमती सभ्यतामा महासेनानी भाट नियुक्त, वायुसेवामा बाँस्तोला सिफारिस

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राजनीतिक नियुक्तिमा पूर्वसैनिक अधिकारीहरूलाई प्राथमिकता दिएको छ। पछिल्लो दुई दिनमा सरकारले दुई वटा महत्त्वपूर्ण निकायको उच्च पदमा पूर्वसैन्य अधिकारीहरूलाई व्यवस्थापकीय जिम्मेवारी दिएको हो।

वैशाख ३० गते पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा डा. आनन्द सिंह भाटलाई नियुक्त गरेको छ। उनी नेपाली सेनाका पूर्व महासेनानी हुन्।

नवनियुक्त कार्यकारी अध्यक्ष भाटले आफू २०७६ मा नेपाली सेनाको महासेनानी पदबाट अवकाश पाएको उकेरालाई बताए।

‘२०७६ सालसम्ममा म नेपाली सेनामा कार्यरत थिएँ,’ उनले भने, ‘केही दिनअघि मात्रै बागमती सभ्यतामा नियुक्ति भएको हुँ।’

यस्तै, सरकारले वैशाख ३१ गते नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा डा. दीपक प्रसाद बाँस्तोलालाई नियुक्तीका लागि सिफारिस गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार बाँस्तोला पूर्व उपरथी हुन्। उनी एरोनोटिक इन्जियिनर समेत हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको निगममा उनी एक नम्बरमा सिफारिस भएका छन्।

सूचना सच्याएर भाटको नियुक्ती
सुनिल लम्साल मन्त्री रहेको पूर्वाधार विकास मन्त्रालयले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षका लागि खुला आव्हान गरेको थियो। २०८२ चैत १६ मा आनन्द सिंह भाटसहित १६ जना अन्तर्वार्ता र प्रस्तुतीका लागि छानिएका थिए।

मन्त्रालयले बैशाख १४ मा अन्तर्वार्ता र प्रस्तुतीको आधारमा तीन जनाको नाम सिफारिस गर्यो। त्यसको पहिलो नम्बरमा थिए डा विकास अधिकारी। दोस्रोमा भाट र तेस्रोमा संगिता यादव। तर मन्त्रालयले सार्वजनिक सिफारिस अनुसार प्रक्रिया अगाडि बढाएन।

१६ मा सिफारिस सम्बन्धी सूचना संशोधन गरेर दोस्रो नम्बरमा सिफारिस भएका भाटलाई पहिलो नम्बरमा र पहिलो नम्बरमा सिफारिसमा परेका डा अधिकारीलाई दोस्रो नम्बरमा झारियो। अनि त्यही अनुसार भाटको नियुक्ती भयो।
मन्त्री लम्साल प्रधानन्त्री वालेन्द्रको कोर टिमका सदस्य हुन्। क्याम्पसदेखिकै एकै कक्षामा पढेका उनीहरु काठमाडौं महानगरपालिकामा समेत संगै थिए।

उता संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि प्रधानमन्त्री वालेन्द्र निकट खडक राज पौडेल (गनेस) मन्त्री छन्। उनी नेतृत्वको मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समितीको सदस्यका लागि आवेदन आव्हान गरेर बैशाख २५ मा व्यवसायीक कार्ययोजना र अन्तर्वार्तका लागि २४ जनाको नाम छनोट गर्यो। त्यसपछि बैशाख ३१ मा नियुक्ति लिन पाँच दिनको समय दिएर पाँच जनाको नाम सार्वजनिक गर्यो। यसमा पहिलो नम्बरमा बास्तोलाको नाम थियो।

जेठ ४, २०८३ सोमबार ११:५२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।