माओवादी उम्मेदवार नभएपछि प्रचण्डले सुहाङलाई गरे बेवास्ता, अघिल्लोपटक कांग्रेसलाई दिएका थिए बलियो साथ

माओवादी उम्मेदवार नभएपछि प्रचण्डले सुहाङलाई गरे बेवास्ता, अघिल्लोपटक कांग्रेसलाई दिएका थिए बलियो साथ

काठमाडौं : इलाम २ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनको प्रचारप्रसार गर्ने आज बुधवार अन्तिम दिन थियो। एमालेले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा विशेष महत्वका साथ चुनावी सभा सम्पन्न गर्यो। अन्य दलहरूले पनि प्रतिष्ठाको रूपमा यस निर्वाचनलाई हेरिरहेको हुँदा सकेसम्म चुनाव जित्ने कसरत गरिरहेको देखियो। 

नेपाली कांग्रेस अनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले अन्तिम दिन मतदातालाई फकाउन सक्दो प्रयास गरे। तर, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने यो उपनिर्वाचन लागेन। उनले यसबीचमा न चुनावी सभालाई सम्बोधन गरे न त कुनै उम्मेदवारलाई मत मागे। 

माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङ्गलाई समर्थन गरेको छ।  आफ्नो पार्टीको उम्मेदवार नभएर पनि हुनसक्छ, उनले उपनिर्वाचनलाई नै वेवास्ता गरिदिए। 

यसअघिको उपनिर्वाचनमा कांग्रेससँग सहकार्य गरिरहेको बेला तत्कालीन प्रधानमन्त्रीको हैसियतमा प्रचण्डले गठबन्धन उम्मेदवार जिताउन सक्दो कोसिस गरेका थिए। यसअघि ०७९ वैशाख १० गते चितवन, बारा र तनहुँमा भएको उपनिर्वाचनमा उनको सक्रियता देखिन्थ्यो। अझ चितवनमा  तत्कालीन गठबन्धनको चुनावी सभालाई सम्बोधन नै गरेका थिए। 

तर, यसपटक भने उनलाई उपनिर्वाचनले छोएन। सत्ता साझेदारी गरिरहेको दल एमालेले विशेष शाख जोगाउन महत्व दिइरहेको यस उपनिर्वाचनलाई अध्यक्ष ओलीले सक्दो मेहनत गरिरहेका छन् , सुहाङलाई जिताउन।  उनी वैशाख ५ गते इलामको चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए भने आज प्रचारप्रसारको अन्तिम दिन पनि इलाम पुगेर सुहाङको लागि भोट मागे। तर, प्रचण्डले साथ दिएनन्।  

प्रचण्डले आफ्नै उम्मेदवार हुँदा पनि बझाङ १ (१) को उपनिर्वाचनलाई पनि त्यस्तो महत्व दिएको देखिएन। त्यसैले पनि बझाङको निर्वाचनलाई कुनै पनि दलले महत्व दिएका छैनन्। इलामको चुनावी गर्मीमा बझाङ ओझेलमा पर्यो।

१२ बैशाख, २०८१, १९:१०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।