धन्न ! प्रकाशकका सन्तानले पत्रकारितामा रुचि देखाएनन्, नत्र सम्पादक पनि उनीहरू नै हुन्थे

धन्न ! प्रकाशकका सन्तानले पत्रकारितामा रुचि देखाएनन्, नत्र सम्पादक पनि उनीहरू नै हुन्थे
तस्बिर : कृष्पा श्रेष्ठ।

पत्रकारिता क्षेत्रमा प्रकाशकले किन लगानी गरे ? उनीहरू किन प्रकाशक भए ? प्रकाशक हुनुअगाडि उनीहरू कुन पेशामा थिए ? अनि अन्य व्यवसाय गर्नु र सञ्चार गृह सञ्चालन गर्नुबीचको भिन्नता के हो ?

यसमा प्रकाशकहरू प्रष्ट छैनन्।  

अहिले नेपाली सञ्चार क्षेत्रमा जे–जति समस्या देखिएका छन् त्यसको मुल कारण यही अस्पष्टता हो। यही अस्पष्टताले नेपाली सञ्चार क्षेत्र प्रभावित बनेको छ। यसको प्रभाव बढ्दो छ। नेपाली माध्यमको पत्रकारिता भनौं वा अंग्रेजी दुवैलाई यो समस्याले गाँजेको छ अहिले।

अहिले नेपाली पत्रकारिता सञ्चार गृहले लिने ‘लाइन’का कारण समेत समस्यामा परेको छ। यसको विश्वसनियतामा ह्रास आउनुको मुल कारण त्यही ‘लाइन’ हो।
हामी अरुलाई प्रश्न गर्ने पेशामा छौं। तर, आफैं कति जिम्मेवार छौं ?

सञ्चारकर्मीले कानुनले तोकेको न्यूनतम पारिश्रमिकसमेत पाएका छैनन्। कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण तलव कटौती भएको छ। कटौतीको आधार प्रष्ट छैन। कैयौंको रोजगारी गुम्यो। प्रकाशन बन्द भए। तर बन्द गर्दा अपनाउनु विधि अपनाइयो त ?

मितव्ययिता अपनाउने भन्दै सञ्चारकर्मी निकाल्नु भनेको आफ्नै व्यापार खुम्चाउनु हो भनेर प्रकाशकले बुझेनन्। आफ्नो सञ्चारमाध्यमको प्रभाव घटाउनु हो भनेर प्रकाशकले बुझेनन्। सम्पादकले बुझाउन सकेनन्।

सञ्चार गृहमा देखिएको अर्को समस्या यो फेमिली बिजनेसझैं भयो। बा अध्यक्ष, आमा निर्देशक, छोरा–छोरी सिइओ। साढुदाइ उपाध्यक्ष, जेठीसासू, साला–साली, भतिजा–भतिजी बजार व्यवस्थापक यस्तै यस्तै।
धन्न प्रकाशकका सन्तानले पत्रकारिता गर्न रुचि देखाएका छैनन् अहिलेसम्म। नभए सम्पादक पनि प्रकाशकको परिवारबाटै बन्थे।

के मिडिया यस्तो प्रकृतिको क्षेत्र हो र?

मिडियाको संख्या बढेसँगै विभिन्न पृष्ठभूमिकाहरू प्रकाशकको रूपमा आए। कतिपय त अत्यन्तै विवादास्पद पृष्ठभूमिका पनि आए। उनीहरूले आफ्नो बचाउका लागि पत्रकारितामा लगानी गरे, व्यापार, व्यवसाय, ठेक्का, दलाली गर्न चौथो अंगमा लगानी भयो। मिडियाबाट पैसा कमाए अनि त्यो पैसा जग्गामा लगानी गरे !

नियमित तलब, सुविधाबाहेक नाफाको कुनै अंश संचार गृहको लगानी भएन। अनुसन्धान र विकासमा, पत्रकारलाई तालिम, पत्रकार जन्माउने विश्वविद्यालय, पत्रकारिता विकासका लागि  संघ, संस्था बलियो बनाउन लगानी भयो त कुनै प्रकाशन गृहबाट ?

छैन।

पत्रकारले जे–जति तालिम पाएका छन् ती सबै विदेशी सहायता, अनुदानका हुन्। मिडिया हाउस भइसकेपछि यी काम गर्ने जिम्मेवारी उनीहरूको हैन र ?

अंग्रेजी पत्रकारिता नेपालीको छाया मात्र


अंग्रेजी माध्यमको पत्रकारिता छुट्टैजस्तो भए पनि यो समग्र पत्रकारिताको एक पाटो मात्र हो। अंग्रेजी माध्यमको पत्रिकाको कुरा गर्दा समग्र नेपाली पत्रकारितालाई एकातिर पन्छाएर जान सकिँदैन।

यसको विकासक्रम हेर्दा सन् १९६५ मा ‘दि राइजिङ नेपाल’ सुरु हुनुअघि नेपालमा दुई वटा अंग्रेजी पत्रिका थिए। ‘मदरल्याण्ड’ र ‘द कमनर’। यी पत्रिका साप्ताहिक र दैनिक थिए।

‘दि राइजिङ नेपाल’ राजा महेन्द्रले स्थापना गराए। त्यो सुरु गर्नुको उद्देश्य नेपालमा सरकारले गरेको कामबारे अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी दिने नै थियो।

राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई माटो सुहाउँदो व्यवस्था मानेका थिए। यसैलाई अन्तराष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने ध्येयले नै ‘दि राइजिङ नेपाल’ सुरु भएको हो।

देब शमशेर राणा प्रधानमन्त्रीमध्ये अलि उदारवादी मानिन्थे। उनले नागरिकलाई सूचना दिने हिसाबले ‘गोरखापत्र’ सुरुवात गरे। तर, ‘दि राइजिङ नेपाल’ सुरुवातको उद्देश्य सुुसूचित गराउने भन्दा ‘हामी उदार छौं’ भन्ने शासकको इन्ट्रेस्ट अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने थियो। पञ्चायती व्यवस्था नराम्रो हैन भनेर बुझाउने उद्देश्य थियो।

मिडिया प्रोपोगाण्डाको टुल्स पनि हो। यसरी हेर्ने हो भने पञ्चायतको त्यही प्रोपोगाण्डाको टुल्स थियो, ‘दि राइजिङ नेपाल’।

मैले १० वर्ष ‘दि राइजिङ नेपाल’मा काम गरें। यसको आधारमा हेर्दा सन् १९९२ देखि २००२ सम्म गोरखापत्रको तुलनामा ‘दि राइजिङ नेपाल’मा सरकारी हस्तक्षेप कम थियो।

आधारभूतरूपमा ‘गोरखापत्र’ र ‘दि राइजिङ नेपाल’ सरकारी मुखपत्र भए पनि ‘दि राइजिङ नेपाल’मा सरकारी हस्तक्षेप कम हुन्थ्यो, जस्तो : राजालाई सम्बोधन गर्दा ‘श्री ५ महाराजधिराज वीर विक्रम शाहदेव’ सम्बोधन गरिन्थ्यो। तर, मैले ‘राजा वीरेन्द्र’ भनेर ‘दि राइजिङ नेपाल’मा लेखेको छु। तर, ‘हिज मेजिस्ट्री’ भनेर लेख्नु परेन। त्यो ‘गोरखापत्र’मा सम्भव थिएन।

अर्काे उदाहरण :
एक जना पत्रकारले भुटानी शरणार्थीबारे रिपोर्टिङ गर्न भने। उहाँले सरकारीमा त्यस्तो रिपोर्ट के छापिएला र भन्नुभयो। मैले आफै धारणा नबनाउनु रिपोर्ट छापिन्छ भनेपछि उहाँले रिपोर्टिङ गर्नुभयो। यसले देखाउँछ– ‘दि राइजिङ नेपाल’ सरकारी मुखपत्र भए पनि अलिक स्वतन्त्र थियो।

यसको कारण शासक उदार भएर हैन। उनीहरूको लक्ष्य अन्तर्राष्ट्रिय समुदायले नै ‘दि राइजिङ नेपाल’ हेरेर धारणा बनाउँदा त्यो बेलाको शासकको राम्रो छाप परोस् भन्ने हो।

‘दि राइजिङ नेपाल’ उमेरले परिपक्व भयो। तर, विचारले परिपक्व भएन। पछि अन्य अंग्रेजी माध्यमका पत्रिका पनि खुले। जसरी ‘दि राइजिङ नेपाल’ खोल्दा शासकको इन्ट्रेस्ट थियो पछि अन्य अंग्रेजी माध्यमका पत्रिका आउँदा पनि कुनै न कुनै अन्य लक्ष्य बोकेर आए। जनतालाई सुसूचित गराउने लक्ष्य छायामा पर्यो।

त्यसैले अंग्रेजी माध्यमको पत्रिकाका पाठक बढ्दै गए पनि पत्रिकाको प्रभाव भने बढेन। लगानी बढेन। प्रकाशकको प्राथमिकतामै परेन। अंग्रेजी पत्रिका निकाल्नु भनेको विदेशी नियोगकालाई ‘हाम्रो अंग्रेजीको पत्रिका पनि छ है’ भन्ने देखाउनै सीमित भए-गराइयो।

यसका पनि पाठक छन्। अंग्रेजी माध्यमलाई सहजताकासाथ लिने पुस्ता तयार भइसक्यो। उनीहरूलाई सूचित गराउने जिम्मेवारी हाम्रो हो भन्ने भावनाले स्थान पाउन सकेन। अंग्रेजी माध्यमको पत्रकारिता नेपाली माध्यमको सेटेलाइट मात्र भयो। स्वतन्त्र हुन सकेन-दिइएन।

प्रायः अंग्रेजी पत्रिकाका सामग्री हेर्ने हो भने नेपाली पत्रिकाकै छायाकपी जस्तै त छन्। एउटा हाउसले दुवै माध्ययममा निकाल्ने पत्रिका हेरौं न। अनुवाद गरेर राखेका सामग्रीभन्दा फरक केही देखिन्छ ?

जसले अनुवादभन्दा आफ्नै स्टोरीमा जोड दिए, उनीहरूको बजारमा प्रभाव राम्रै छ। तर, बिग हाउसबाट प्रकाशित हुने अधिकांश अंग्रेजी माध्ययका पत्रिकामा नेपाली माध्यमको भन्दा के फरक सामग्री हुन्छ ?

यसो हुनुमा एक पक्ष मात्र दोषी छैन। पहिला रिपोर्टरकै मूल्यांकन गरौं न। अंग्रेजी माध्यममा काम गर्ने अधिकांश रिपोर्टरहरूका लागि यो पार्टटाइम भइदियो। नेपाली माध्यममा काम गर्ने केहीमा पत्रकारिताप्रति ‘प्यासन’ देखिन्छ। अंग्रेजी माध्ययमा काम गर्नेमा त्यो प्यासनै देख्दिनँ।

फिल्डमा एकदमै कम जाने। ‘दाइ’को पछि मात्र लाग्ने। कतिसम्म भने ‘कोड’समेत नेपाली माध्यममा काम गर्ने उही बिटका रिपोर्टरसँग माग्ने। पाए समाचारै मागेर अनुवाद गर्ने। रिपोर्टिङमा निस्किए सँगै जाने ? यो इथिक्सभित्र पर्छ र ?

भाषाका आधारमा अंग्रेजी माध्यममा काम गर्ने रिपोर्टरहरूले अली बढी अवसर पाउँछन्। आउने अफर उनीहरूका लागि सञ्चारमाध्यमले दिनेभन्दा राम्रो हुन्छ। उनीहरू त्यसैमा बढी अल्झन्छन्। मिडिया हाउसबाट पनि काम अनुसारको दामको नीति हुन्न।

अनि उनीहरू बाहिरका अनुवाद हुन्छ कि रिपोर्ट राइटिङको काम पाइन्छ भनेर अवसर खोज्न थाल्छन्। कन्टेन्ट निर्माणमा अंग्रेजी माध्यमका सम्पादकको पनि थुप्रै कमजोरी छन्। सम्पादकै बजार ‘चर्न’ थालेपछि रिपोर्टरले ‘चर्ने’ भइहाले। नेपाली माध्यमभन्दा भिन्न बनाउने उद्देश्य नै छैन।

कतिपय मिडिया हाउसमा त सिनियर रिपोर्टरहरूलाई ‘असाइन’ गराएर आफ्नै स्टोरी बनाउन प्रेरित गर्नुको साटो ‘दिनको यति शब्दको समाचार चाहिन्छ, आफैं लेख कि अनुवाद गर। मतलव छैन’ भन्ने गरेको पनि सुने।

सम्पादकहरू अलि ठूलो स्थानमा ‘चर्न’ गए। रिपोर्टरहरू आफू अनुसारको स्थानमा ‘चर्न’ गए। आइएनजिओहरूको रिपोर्ट लेख्नेमा उनीहरूको दिन बित्छ अनि कसरी आउँछ फरक समाचार ? दिनभरी बजार ‘चरेर’ न्युजरुममा आएपछि समाचार हुँदैन। अनि नेपाली माध्यमका साथी, दाइले लेखेको समाचार माग्यो, अनुवाद गर्यो, छाप्यो।

किन यस्तो गरेको ? कसले प्रश्न गर्ने ? प्रश्न नआउने भएपछि किन मिहिनेत गर्ने ?

साच्चै भन्दा नेपालमा धेरै कम प्रकाशक मात्रै व्यावसायिक छन्। एक त अंग्रेजी माध्यमको कन्टेन्ट बुझ्ने नै कम छन्। भएकालाई पनि यसलाई नेपाली माध्यमभन्दा फरक गराउनु नै छैन।

फरक गराउन त रिपोर्टरमाथि लगानी गर्नुपर्यो। नेपाली माध्यमबाट बजारमा जसरी प्रभाव पार्न सकिन्छ, त्यसरी अंग्रेजी माध्यमबाट प्रभाव पर्दैन भन्ने भ्रम पनि छ प्रकाशकमा। निश्चित इन्ट्रेस्टका लागि प्रभाव पार्ने लक्ष्य हो भने प्रभाव नदेखिएला।

किनभने ती स्थानमा अंग्रेजीभन्दा नेपाली नै प्राथमिकतामा पर्छ। तर, पाठकको दृष्टिकोणले हेर्ने हो भने नेपाली माध्यमको तुलनामा अंग्रेजी माध्यमको पाठक बढेका छन्। राम्रो समाचार दिन सके प्रभाव पर्छ। पाठकलाई पढाउनेभन्दा अलग ‘इन्ट्रेस्ट’ पूरा हुन्छ-हुन्न, त्यो अलग कुरा भयो।

तर, राम्रो प्रयास भएकै छैन भनेको हैन। प्रयास भएका छन्। तर, जसले प्रयास गरेका छन्, तिनलाई प्रोत्साहन छैन। प्रोत्साहनै नभएपछि बेकारमा किन दुःख गर्नु भन्ने जसलाई पनि लागिहाल्छ नि !

पाठक एकै हैनन्

कतिपयमा नेपाली र अंग्रेजी माध्यममा पाठक एकै त हुन्, किन दुवै माध्यममा लगानी बढाउने वा फरक समाचार दिने भ्रमले बलियो प्रभाव पारेको देख्छु।

जसरी विभिन्न माध्यममा पाठक फरक हुन्छन् त्यसरी नै दैनिक पत्रिका भए पनि यी माध्यममा पाठक फरक छन्, हुन्छन्। भाषागत सहजतासँगै हुर्काइको पृष्ठभूमिले समेत पुस्ताको सोच निर्माण गर्छ। अंग्रेजी माध्यममा पनि नेपाली माध्यमकै स्कुलिङबाट हुर्किएकाहरूको प्रभाव भएकाले फरक पाठक देख्न नसकिएको मात्र हो।

आज बाले किनेको पत्रिका भोलि छोरा–छोरीले पनि त्यही किन्छन् भन्ने छैन। आज सन्तान बासँग आर्थिकरूपमा निर्भर हुँदासम्म मात्र हो यस्तो हुने। भोलि उसले आफू जेमा सहज हुन्छ, उही माध्यम छान्छ।
दोस्रो समस्या पाठकको दृष्टिकोणले कहिल्यै अध्ययन र अनुसन्धानसमेत भएको छैन।

यसले पनि दुवै माध्यमको पाठक एकै त हुन् भन्ने जरो हल्लन सकेन। पाठक फरक हो भन्नलाई कसैले आधार सोध्यो भने भनिने पाठकको पृष्ठभूमि मात्रै हो आधार।

आज अंग्रेजी माध्यमलाई सहजताका साथ स्वीकार गर्नेको संख्या बढेको छ भन्ने मात्र हो। तर, भाषामा सहजता हुँदैमा नेपाली र अंग्रेजी माध्यमका पाठक फरक कसरी भन्ने प्रश्नको गहकिलो उत्तर दिन कुनै अध्ययन प्रतिवेदन छैन। प्रतिवेदन वा अध्ययन नभए पनि पाठक फरक हुन्। तर, हामीले यसलाई अझै स्वीकार गर्न सकेका छैनौं। यहाँ हामी भन्नाले प्रकाशक, सम्पादक अनि रिपोर्टर हुन्।

एक पटक ‘दि हिमालयन टाइम्स’ले अनुसन्धान गर्दा युवा पाठकको रुचि अंग्रेजी माध्यममा बढी रहेको देखिएको थियो। त्यही अनुसार कन्टेन्ट प्लानिङ पनि भएको थियो। त्यसको नतिजा सकारात्मक आएको पनि हो। तर, अध्ययनले निरन्तरता नपाउँदा पाठकको वर्ग र रुचि बदलियो वा उस्तै छ भन्ने यकिन गर्न कठिन भयो।

अंग्रेजी र नेपाली भाषाका पाठकको सोच्ने तरिका नै फरक देख्छु म। उनीहरूको स्कुलिङ नै फरक हुन्छ। एकै विषयमा नेपाली र अंग्रेजी रुचाउने पाठकको सोचाइ एकै हुन्न। रुचि, हेर्ने दृष्टिकोणै फरक छ। तर, पत्रिका भनौं वा अनलाइन, उनीहरूका लागि दुवै पाठक एकै हुन्।

नेपालमा अंग्रेजी माध्यमका पाठकको संख्या पाँच लाख हाराहारी छ। यसका केही आधार छन्।

सेनापति त सम्पादक हो, रिपोर्टरलाई किन दोष ?

अंग्रेजी पत्रकारिताको पहिलो लक्ष्य नेपालमा बस्ने नेपाली नै हुन्। दोस्रो डायोस्पराका नेपाली। तेस्रो नेपालप्रति रुचि राख्ने अन्य देशका नागरिक। अहिले बसाई सरेर स्थायीरूपमा बस्ने गरी विदेश पुगेकाहरूको दोस्रो पुस्ताको रुचि आफ्नोतिर फर्किएको छ।

पहिलो पुस्ताले उतैको समाजमा भिज्न मिहिनेत गर्याे। दोस्रो पुस्ता आफ्नो पुर्खाको देश बुझ्नतिर फर्किएका छन्। नेपालमै अंग्रेजी माध्यममा अध्ययन गरेका पुस्ताको संख्या बढेका छ, जसका लागि अंग्रेजी नेपालीभन्दा पनि सहज बनिरहेको छ।

यस्तै, नेपालप्रति चासो राख्ने अन्तर्राष्ट्रिय पाठक पनि बढेका छन्। तर, उनीहरूका लागि सामग्री खै ?

पाठकलाई नेपाली माध्यमको कपी समाचारको सट्टा पाठकलक्षित सामग्री पस्कने हो। निश्चित क्षेत्रकाहरूसँग सम्बन्ध स्थापना अनि ‘हाम्रो अंग्रेजी पत्रिका पनि छ नि’ भन्ने उद्देश्य त्यागेर पाठकलक्षित पत्रकारिता सुरु नभएसम्म अंग्रेजी माध्यमको पत्रकारिताको अवस्था सुध्रिन सक्दैन।

कम्पनीले पाठकको लागि भन्दा पनि आफ्नो लागि पत्रिका निकालेसम्म समस्या समाधान सम्भव छैन।
अनलाइन पनि उस्तै

कुनै समय गैरनेपाली भाषीका लागि नेपालबारे जानकारी लिने एक मात्र आधार नेपालन्युजडटकम थियो। त्यो राम्रैसँग चलेको थियो। त्यसपछि अंग्रेजी माध्यमको मात्रै कमै अनलाइन पोर्टल छन्।

नेपाली भाषालाई प्राथमिकता दिएर प्रकाशन सुरु भएका केही अनलाइनले अंग्रेजी माध्यम पनि सुरु गरे। तर, उनीहरूको पारा बिजोग देख्छु।

नेपाली माध्यमको पत्रिका निकाल्ने प्रकाशन गृहका जस्तो सोच छ, उनीहरूको पनि उस्तै छ। कन्टेन्टबाटै देखिन्छ– उनीहरूको इन्ट्रेस्ट पाठकमैत्री हैन, निश्चित क्षेत्र र वर्गका अंग्रेजी भाषीसँग परिचित हुने मात्र हो। अब ‘इन्ट्रेस्ट’ नै यस्तो भएपछि कसको के लाग्छ र !

अहिले अंग्रेजी भाषालाई प्राथमिकता दिएर अनलाइन न्युज पोर्टल सुरु हुने हो भने नेपाली भाषालाई प्राथमिकता दिएर बजारमा प्रभाव जमाएकाहरू बराबरको प्रभाव बनाउन सम्भव छ। यसका लागि निश्चित वर्ग र क्षेत्रको ‘इन्ट्रेस्ट’ बोक्यो भने सम्भव हुन्न। पाठक केन्द्रित उद्देश्य बनाए गाह्रो छैन।

तर भविष्य छ
अलि बढि निरासाका कुरा मात्र भए जस्तो लाग्यो। निरास बनाउने उद्देश्य हैन। जे समस्या हो, त्यही देखाउने प्रयास हो। किनकी समस्याबारे मन्थन नगरी सम्भावना देखिन्न।
अब केही सकारात्मक पाटो पनि हेरौं।

अहिले अंग्रेजी माध्यमको पत्रकारिता नेपाली माध्यमको पत्रकारिताको छायाजस्तो देखिए पनि अबको १० वर्षमा यसले आफ्नै आकार लिने निश्चित छ। पाठक र प्रभाव दुवैको हिसाबले नेकटुनेक हुने पक्का छ।
यसका केही आधार छन्। अहिले २२–२५ वर्षका युवाहरू जो नेपालीमा भन्दा अंग्रेजीमा बढी सहज महसुस गर्छन्, अबको १० देखि १५ वर्षमा उनीहरू समाजको ‘कि पोजिसन’मा पुग्छन्।

चौथो अङ्ग : कमजोर सम्पादक, ठेस लाग्ने पत्रकारिता

आर्थिक, सामाजिक, राजनीतिक निर्णयमा उनीहरू निर्णायक भएपछि उनीहरू जुन भाषामा सहज हुन्छन् त्यसको प्रभाव त पर्छ नै। अहिले जसरी नेपाली भाषाको प्रभाव नीतिगत तहमा छ, त्यो बेला अंग्रेजी भाषाको पनि उत्तिकै प्रभाव स्थापित हुनेछ।

नेपाली डायस्पोरामा नेपालप्रतिको मोह बढ्दो छ। उनीहरू नेपाल बुझ्न चाहन्छन्। भाषागतरूपमा उनीहरूको खोजी अंग्रेजी नै हुनेछ। नेपाल भनेको सगरमाथा र कुमारी जस्तै भए पनि नेपालको समाज, राजनीति र संस्कृतीप्रति चासो राख्नेहरू विश्वमा बढिरहेका छन्। उनीहरूको रोजाई पनि अंग्रेजी नै हुनेछ।

तर, यसका लागि केही त गर्नैपर्छ

व्यक्तिले चाहेको सूचना त जसरी पनि लिन्छ। तथ्यगत हो वा मनोगत भन्ने त हो। नेपालबारे तथ्यगत सूचनाका लागि नेपालकै सञ्चारमाध्यमको प्रभाव बढाउनुपर्छ। अब कुनै क्षेत्र विशेष हैन, पाठक केन्द्रित भएर सोही अनुसारको खुलापन र लगानीका लागि प्रकाशक तयार हुनुपर्छ। अहिलेका प्रकाशले समयमै नीति र सोच नबदले नयाँ प्रकाशक आउँछन्।

भाषाका आधारमा अंग्रेजी माध्यममा काम गर्नेहरू अहिले पनि कमजोर छन्। भोलिको पुस्तासँगको प्रतिष्पर्धामा टिक्ने हो भने उनीहरूले भाषा सुधार गर्नैपर्छ।

अंग्रेजी माध्यमको पत्रकारिता शौख हैन, करिअर हो भन्ने भावको विकास गर्न सम्पादक र प्रकाशक दुवै गम्भीर हुनैपर्छ। आर्थिक र सामाजिक रूपमा जबसम्म जनशक्तिले सुरक्षित महसुस गर्न सक्दैनन् जति मौका आए पनि केही हुन्न।

अंग्रेजी माध्यमका सम्पादकहरूले नेपाली माध्यमको समाचार अनुवादमै चित्त बुझाएर बस्नु भएन। आफ्नो सम्पादकीय शक्ति र सोचको उपयोग गर्नुपर्याे।

सम्पादक–प्रकाशकको इन्ट्रेस्ट वरिपरि घुमेर भएन। आर्थिक बाहेकको इन्ट्रेस्टमा सम्पादकले चाहे सुधार गर्न सक्छन्। सम्पादकले सधैं, सबै विषयमा प्रकाशकसँग जोरी खोजेर बस्न सक्दैन। यो सत्य हो।

जुन बेला प्रकाशकको इन्ट्रेस्टमा चोट पुग्छ त्यस बेला सम्पादकको स्वतन्त्रता समाप्त हुन्छ। यो भन्दैमा सधैं खुम्चिएर बस्नु मात्र समस्याको समाधान हैन। कुनै न कुनै विन्दुमा प्रकाशक र सम्पादकको इन्ट्रेस्ट बाझिन्छ नै।
त्यो बेला सम्पादकले प्रयोग गर्ने अधिकार भनेको राजीनामा त हो। यो अधिकार प्रयोग गर्न कसले रोक्न सक्छ र !

(मंगलबार प्रकाशित हुने उकेराको नियमित स्तम्भ ‘चौथो अंग’का लागि 'दि हिमालयन टाइम्स' का पूर्व  सम्पादक रिमालले प्रजु पन्तसँग गरेको कुराकानीमा आधारित।)

२७ माघ, २०७७, १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।