नाबालिग बलात्कार अभियुक्त पलको नखरा, सञ्जालमा अटेन्सन खोज्दा ‘पूजार सार्की’ मारमा

नाबालिग बलात्कार अभियुक्त पलको नखरा, सञ्जालमा अटेन्सन खोज्दा ‘पूजार सार्की’ मारमा

काठमाडौं : नेपालसँगको पाँच खेलको टी२० सिरिज खेल्न वेस्ट इन्डिजको ए टोली बुधबार नेपाल आइपुगेपछि नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोद दास लगायतका पदाधिकारीले टोलीलाई खादा लगाएर स्वागत गरे।

स्वागतपछि उनीहरूले आफ्नो किटब्याग पिकअप गाडीमा राखे। उनीहरूका लागि भने एसी बसको व्यवस्था गरियो। खेलाडीहरूको किटब्याग पिकअप गाडीमा राखेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएसँगै अहिले पक्ष-विपक्षमा चर्को बहस भइरहेको छ।

‘खेलाडीको किटब्याग पिकअप गाडीमा हालियो’ भन्दै क्रिकेट फ्यानहरू क्यानका पदाधिकारीसँग रिसाएका छन्।

नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनोद दासले किटब्याग र खेलाडीलाई एउटै सवारीमा हाल्न सम्भव नभएको भन्दै त्यसका लागि पिकअप ट्रक बोलाइएको बताए।

अन्तर्राष्ट्रिय खेलहरूमा पनि खेलाडी र किट ब्यागलाई फरक-फरक गाडीमा लगिन्छ। १५ देखि २० जना खेलाडीको किटब्याग र खेलाडी एउटै गाडीमा लैजान सम्भव पनि हुँदैन। अहिलको यो घटनाबारे तातो बहस शुरू भएपछि सन् २०२३ मा पाकिस्तानी खेलाडीहरूले मालवाहक ट्रकबाट किटब्याग झिकेको तस्बिर पनि सामाजिक सञ्जालमा आइरहेको छ।

उसो त नेपाली खेलाडीहरू कुनै देशको भ्रमणमा जाँदा वा त्यहाँबाट फर्कँदा पनि क्यानले यसरी नै किटब्यागहरू ओसारिरहेको हुन्छ। यति मात्र हैन, नेपाली टोली भारतबाट एसीसी प्रिमियर कप खेल्न ओमान जाँदा पनि यसरी नै किट ब्यागहरूलाई मालवाहक गाडीमा नै हालेर लगिएको हो।

यो एउटा साधारण प्रक्रिया हो र त्यसलाई साधारण रूपमै लिनुपर्छ। तर, यही प्रक्रियालाई नागरिकले मात्रै हैन कलाकार अनि आफूलाई सामाजिक अभियन्ता भन्नेहरूले नै उछालिरहेका छन्।

यसैमा मिसिन आइपुगे नाबालिग बलात्कारका अभियुक्त पल शाह। उनले यही तस्बिर सामाजिक सञ्जालमा राखेर वेस्ट इन्डिज टोलीलाई नेपालले गरेको स्वागत देखेर लज्जित भएको लेखे।

उनले राखेको तस्बिरमा स्वागत गरिएको थिएन। स्वागत त्यसअघि नै भइसकेको थियो। स्वागतपछि खेलाडीहरूले आफ्नो किटब्याग गाडीसम्म लिएर जाँदाको तस्बिर सञ्जालमा राखेर उनले आफू लज्जित भएको उल्लेख गरे।

करिब १० लाख फलोअर्स भएको पेजबाट लाजै नमानी भ्रम फैलाएर उनी भन्दै थिए, ‘टेस्ट क्रिकेट खेल्ने राष्ट्र वेस्ट इन्डिजलाई नेपालले गरेको स्वागत देख्दा हामी लज्जित छौँ।’

यी शाह उनै कलाकार हुन् जो विवाहको प्रलोभनमा पारेर १५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा जेल बसे। पीडितलाई होस्टायल बनाएर बयान बदल्न लगाएर कारागारबाट बाहिरिए। अहिले कला क्षेत्रमा फर्कने प्रयासमा छन्। उनी त्यतिबेला भने लज्जित भएनन्।

शाहले जिल्लाबाट सफाई पाएका हुन्। तर, अहिले पनि पूर्णत: अभियोगमुक्त भइसकेका छैनन्। उनीमाथिको मुद्दा सर्वोच्च अदालतले ब्यूँताइसकेको छ। सर्वोच्चले जे आधारमा टेकेर मुद्दा ब्युताएको छ, त्यसका नजिरहरू हेर्ने हो भने पलको कला यात्राको आयु त्यति लामो देखिँदैन।

पीडितले दिएको एक अन्तर्वार्तामा दया लागेर बयान बदलेको बताइसकेकी छिन्। यो भिडियो नै होस्टायल बनाएर मुद्दा प्रभावित बनाएको प्रमाणित गर्न काफी छ।

अहिले पलले अभिनय गरेको फिल्म ‘पूजार सार्की’ प्रदर्शनको तयारीमा छ। फिल्म निर्माण टिम कतै बलात्कारको मुद्दा विचाराधीन रहेका पलका कारण फिल्म फ्लप हुने त हैन भन्ने त्रासमा छन्। पल भने नचाहिने अनि सामान्य विषयमा सामाजिक सञ्जालमा अटेन्सन खोजेर बसेका छन्।

लज्जा त जेलमा हुनुपर्ने नाबालिग बलात्कारको अभियुक्त कलाकार बन्दा समाजलाई भइरहेको छ, सामान्य प्रक्रिया अनुसार वेष्ट इन्डिजका खेलाडीको किटब्याग पिकअप गाडीमा राखेको तस्बिरले हैन।

१३ बैशाख, २०८१, ११:१७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।