प्रधानमन्त्री वालेन्द्रको विकल्प खोज्न रास्वपासँग गतिशील लोकतान्त्रिक पार्टीको माग

प्रधानमन्त्री वालेन्द्रको विकल्प खोज्न रास्वपासँग गतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौं : गतिशील लोकतान्त्रिक पार्टीले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहको विकल्प खोज्न सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माग गरेको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष दिनेश प्रसाईले सरकारको नीति तथा कार्यक्रम र प्रधानमन्त्रीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै नेतृत्व परिवर्तनको माग गरेका हुन्।

राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्रीले बीचमै छोडेर हिँडेको विषयलाई पार्टीले 'अशोभनीय' र संसदीय प्रणालीको मूल्य-मान्यता विपरीत भनेको छ।

‘प्रधानमन्त्रीको यस्तो व्यवहार र संविधानको धारा ८१ अनुसार राष्ट्रपतिलाई समसामयिक परिस्थिति र विदेश मामिलाबारे सूचित नगरेकाले हालका प्रधानमन्त्रीको विकल्प खोजिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ।

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भए पनि धेरैजसो ‘कर्मकाण्डी’ भएको टिप्पणी गरिएको छ।

व्यवसाय दर्ता ३० दिनभित्र गर्ने, स्टार्टअप पोर्टल मार्फत एकै दिनमा कम्पनी दर्ता, १० वर्षलाई रोजगार प्रवर्द्धन दशक घोषणा र डिजिटल सुशासनका लागि एक पटकको विवरण सबैमा जस्ता कार्यक्रमलाई पार्टीले स्वागत गरेको छ।

विदेशमा रहेका नेपालीका लागि दूतावासहरूमा द्रूत उद्धार इकाइगठन गर्ने कार्यलाई पनि पार्टीले उपयुक्त मानेको छ।

उसले काठमाडौं र तराईमा उच्च क्षमताका डाटा सेन्टर बनाउने योजनाले पानी र बिजुलीको संकट बढ्न सक्ने भन्दै पार्टीले सचेत गराएको छ।

त्यस्तै, ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य बजार सुनिश्चितता बिना सम्भव नभएको र आयोजना प्रभावितलाई मुआब्जाको सट्टा ‘शेयर’ मात्र दिने कुरा संवैधानिक हक विपरीत भएको ठहर गरेको छ।

यस्तै पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत र चीनसँग प्रधानमन्त्रीले कूटनीतिक मौनता साधेको र यसले राष्ट्रिय हित संरक्षण नगर्ने पार्टीको दाबी छ।

विज्ञप्तिमा निजामती ट्रेड युनियन खारेजीको प्रयासलाई ‘अनुपयुक्त’ भनिएको छ। साथै, प्रधानमन्त्रीले संघीयतालाई केवल चुनावी मसलाको रूपमा प्रयोग गरेको र संघीयता मजबुत बनाउने विषयमा नीति तथा कार्यक्रम मौन रहेको आरोप समेत लगाइएको छ।

वैशाख ३०, २०८३ बुधबार १०:०५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।