अनिलको दोस्रो परीक्षा : दया र सौगातको मित्रतामा मितज्यूको कथा
काठमाडौं : व्यावसायिक रूपमा सफल फिल्म ‘घर ज्वाइँ’का निर्देशक अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
६ करोड रुपैयाँको घरेलु व्यापार गरेको डेब्यु फिल्म ‘घर ज्वाइँ’पछि निर्देशक मगरले नेपाली समाजको मौलिक परम्परामा आधारित नयाँ फिल्म ल्याउन लागेका हुन्।
फिल्मको सार्वजनिक ट्रेलरमा ग्रामीण भेगमा प्रचलित ‘मित’ लगाउने संस्कार र त्यसले सिर्जना गर्ने सम्बन्धको वरिपरि कथा बुनेको देखिन्छ। विशेषगरी एउटै युवतीका कारण दुई मितबीच उत्पन्न हुने द्वन्द्व र मित्रतामा आउने उतारचढावलाई फिल्मको विषय बनाइएको देखिन्छ।
फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई र तेरिया मगर मुख्य भूमिकामा छन्। साथै खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायतका कलाकारहरूको अभिनय रहेको छ।
निर्माता जनक घर्ती मगरले फिल्ममा कथाका साथै मनोरञ्जन, प्रेम र द्वन्द्वको संयोजन गरिएको बताएका छन्। उनले भने, “हामीले आफ्नै परिवेशको कथालाई दर्शकले रुचाउने गरी तयार पारेका छौं, यसले दर्शकको मन जित्नेमा हामी विश्वस्त छौं।”
शिशिर बिशंखेको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्मले नेपाली ग्रामीण संस्कृति र रहनसहनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ।
वैशाख ३०, २०८३ बुधबार १९:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।