चौथो अंगमा दिपेश घिमिरे : पत्रकारिताले होस गुमाउँदा ठूला काण्ड ओझेल, दोषीलाई उन्मुक्ति

चौथो अंगमा दिपेश घिमिरे : पत्रकारिताले होस गुमाउँदा ठूला काण्ड ओझेल, दोषीलाई उन्मुक्ति
तस्बिर : कृष्पा श्रेष्ठ

समाज र पत्रकारिताको कुरा गर्नुअघि नेपाली मिडियाले सुशासनको मामिलामा किन ध्यान दिएको छैन भन्ने विषयमा केही उदाहरण दिन्छु।

नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिटेन्स (विप्रेषण)ले धानेको छ। लाखौँ युवा विदेशमा काम गर्छन्। उनीहरुले पठाएको रकमले देशको अर्थतन्त्र चलेको छ। तर जुन-जुन देशमा हाम्रा युवा श्रमको लागि गएका छन्, ती देशमा औपचारिक च्यानलबाट नेपालमा रेमिट्यान्स आउँछ त?  हाम्रा मिडियाले यसबारे रिपोर्टिङ गरेका छन्? 

कोरियामा नेपालले कति कामदार पठाउँछ, त्यहाँ काम गर्ने नेपाली कामदारको न्यूनतम आम्दानी कति हुन्छ, सरकारसँग तथ्यांक हुन्छ। १० वर्ष अघिदेखि औपचारिक रुपमा नेपाली जान थालेको कोरियामा दुई वर्षअघि मात्रै औपचारिक च्यानल बनाइयो रकम पठाउने। त्यसअघि अनौपचारिक च्यानलबाट पठाइन्थ्यो।

त्यसो हुँदा देशको अर्थतन्त्र डामाडोल भएन? यसबारे हाम्रो मिडियाले रिपोर्टिङ किन गरेनन्? औपचारिक च्यानल हुँदा पनि ३० प्रतिशत मात्रै औपचारिक च्यानलबाट आउँछ। ७० प्रतिशत कता जान्छ?

अझ औपचारिक च्यानल नभएका तर हाम्रा श्रमिक भएका देशबाट आउने रकमको लेखाजोखा कसले गर्ने? हुण्डीबाट आउँछ रकम। यसले त अर्थतन्त्रलाई असर पारेन र? सुशासनको मामिलामा हाम्रा मिडियाको रिपोर्टिङ एकदमै कमजोर भयो। 

विरोधाभाषी नेपाली समाज
नेपाली समाज मलाई विरोधाभाषी लाग्छ। यसका केही उदाहरण दिन्छु। हामी भ्रष्टाचार नहोस् भन्ने चाहन्छौँ। तर नामुद भ्रष्टलाई भोट हाल्छौँ। नेताले व्यक्तिको होइन, समाजको काम गरोस् भन्ने चाहन्छौँ। तर मेरो काम चाहिँ यसले गरिदिनुपर्छ भन्ने मान्यता राख्छौँ।

समाजवादको कुरा गर्छौं तर आफ्नै निजी शैक्षिक संस्था र निजी स्वास्थ्य संस्थामा लगानी गर्छौं। प्रजातन्त्रको पक्षधर हुन्छौँ तर प्रजातान्त्रिक स्वभाव हुँदैन। आफूलाई बाहिर राखेर अरुलाई इमानदारीताको कसीमा राख्न चाहन्छौँ हामी। 

उदारहणको लागि, हामी आफैंले बनाएको कानुनले भन्छ, नाबालिग भएपछि सहमतिमा नै यौनसम्बन्ध भए पनि त्यो बलात्कार हो। अहिले एक नाबालिग गायिकालाई एक अभिनेताले बलात्कार गरेको आरोप लागेको छ। यो घटनालाई मैले नजिकबाट हेरेको छु।

यस्ता घटना सितिमिति बाहिर नै आउँदैनन्। तर ती नाबालिगमाथि वर्षा भएको कमेन्ट हेरौँ त! के हामी आफ्नै बहिनी-छोरीलाई भएको भए यसरी सोच्थ्यौँ त?

यस्तै घटना अमेरिकामा भयो भने प्रहरी आफैंले अनुसन्धान गर्छ। दुई वर्षअघि अमेरिका बस्ने एक नेपाली युवकले नाबालिगलाई यौन आसय जनाउने म्यासेज गरेछन्। अमेरिकी प्रहरीसम्म त्यो कुरा पुग्यो। त्यहाँको प्रहरीले त्यो युवकसँग आफैं बालिका बनेर बोल्यो र पक्राउ गर्यो। जबकी, त्यो नेपाली युवकले ती नाबिलगलाई देखेकै छैन। अमेरिकामा आसय जनाउन समेत पाइँदैन। यहाँ त उनले जाहेरी नै दिएकी छिन्। यो घटना गम्भीर होइन? 

कसैले गरेको अपराध अपराध हो भन्न नचिनेकै मान्छे हुनुपर्ने हाम्रो समाज विरोधाभाषी देखिन्छ। भ्रष्टचारको विरोध गर्ने तर वरपर भ्रष्टचारी नै राख्ने हाम्रो समाजको चरित्र पो देखिन थाल्यो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक अर्बभन्दामाथि २ सय ३२ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका रहेछन्। तर यहाँ त सबै भ्रष्टचारको विरोध गर्छन् नि हैन? हाम्रो समाज नै विरोधाभाषी देखिएको योभन्दा ठूलो प्रमाण के हुन्छ? नेपाली शासक सुरुदेखि नै भ्रष्ट भए पनि नेपाली समाज भ्रष्ट थिएन। तर अहिले नेपाली समाज पनि भ्रष्ट हुँदै गइरहेको छ।

समाज नै विरोधाभाषी भएका कारण पत्रकारितामा पनि त्यसको प्रभाव देखिन्छ। आफूले आस्था राखेको पार्टीले गल्ती गर्दा र आस्था नराखेके पार्टीको गल्ती गर्दा समाचार सम्प्रेषण गर्ने तरिका नै फरक गर्छ पत्रकारले।

नेपालका राजनीति दलहरु सत्तामा बस्दा एउटा, बाहिर बस्दा अर्को कुरा गर्छन्। एमसिसीको सवालमा कांग्रेसबाहेक अन्यको चरित्र दोहोरो देखिएकै हो। 

पत्रकारिताले भ्रष्टाचारका ठूला-ठूला काण्ड सार्वजनिक त गर्छ तर त्यसलाई निष्कर्षमा पुर्याएको देखिँदैन। विरोधाभाषको सिकार भइरहेको छ नेपाली पत्रकारिता। पत्रकारिताले होस गुमाउँदा ठूला काण्ड बाहिर आउनै पाउँदैनन्। आइहाले पनि दोषीले उन्मुक्ति पाउँछन्। यद्यपि, नेपाली पत्रकारिताको राम्रो पक्ष पनि नभएको भने होइन। 

व्यावसायिक पत्रकारितामा उत्कृष्ट
नेपाली पत्रकरितालाई सांगोपांगो हेर्नेभन्दा पनि चिरफार गर्न जरुरी छ। संसारका थोरै मात्र देश छन् जहाँ प्रभावकारी मिडिया छ। खुसीको कुरा के भने, हामी त्यो थोरै देशमध्येका एक हौँ। दक्षिण एसियामा नेपाल जत्तिको व्यावसायिक पत्रकारिता अन्य देशको छैन। 

नेपाली मिडियाले व्यावसायिक पत्रकारिताबाट जुन इमानदार भूमिका निर्वाह भएको छ, मिडियाले जति सत्ताका केस सार्वजनिक गरेका छन्, प्रतिपक्षी दलले समेत ती विषय उठाएका छैनन्। सत्ताको इमानदार प्रतिपक्षी नेपाली मिडिया हो। उदाहरणको लागि, वाइड बडीमा सत्ता पक्ष र सरकार पक्ष दुवै मिल्दा मिडियाले बाहिर ल्याएको हो यो काण्ड। हाम्रा मिडिया प्रभावकारी छन्।

दोस्रो, नेपालमा अल्छी पत्रकारिता पनि उत्तिकै मौलाइरहेको छ। कपी-पेस्ट गर्ने जमात बढेको छ। सत्य-तथ्य जाँच नै नगरी एउटै समाचार ५० भन्दा बढी अनलाइनमा देखिन्छन्। पहिले केही साप्ताहिक थिए, जसले पत्रकारिताभन्दा स्क्यान्डल बढी रच्थे। अहिले त्यस्ता मिडिया अनलाइनमा रुपान्तरित भए तर चरित्र बदलेनन्। 

तेस्रो, दलीय पत्रकारिता धेरै भए। विरोधाभाष मुलत: दलीय पत्रकारिताले देखाइरहेको छ। आफ्नो पार्टीले गलत काम गर्यो भने वास्तै नगर्ने, अर्को पार्टीले त्यही गल्ती गर्दा विष वमन गर्नेको जमात सानो छैन नेपाली पत्रकारितामा। 

चौँथो, हामीले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अधिकतम उपयोग गरिरहेका छौँ। तर हाम्रा मिडियाको गुणात्मक वृद्धि हुन सकेन। आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा कमजोर भए पत्रकार।

हुन त, हाम्रो देशको अवस्थालाई विकसित देशसँग तुलना गरेको होइन। तर जापानमा पत्रकार पेमेन्ट सेवा-सुविधा धेरै छ। हाम्रोमा त महिनावारी तलब पनि नपाउने स्थिति छ।। जसले गर्दा प्रस्तुतिमा गुणात्मक वृद्धि हुन सकेन। 

पाँचौँ, हामीले जिल्लातिर कसरी काम भइरहेको छ, हेरेकै छैनौँ। सीमित भयो हाम्रो घेरा। पत्रकारले तालिमको अभावमा काम सिक्नै पाएका छैनन्। ग्रामीण भेगमा पत्रकारिताको कुनै संहिता पालना नगरेका युट्युबरलाई आइडल मानिरहेका छौँ। तालिम नहुँदा आला-काँचाकारिता बढेको देखियो। विज्ञापन दिँदा अपराध नै गरे पनि ढाकछोप हुने, नदिँदा केही नगरे पनि जे पनि लेख्ने हतियारको रुपमा प्रयोग भइरहेको छ। 

फलोअपमा कमजोर हाम्रो मिडिया 
नेपाली मिडियामा भ्रष्टाचारको काण्ड सार्वजनिक भए पनि कर छलीको बारेमा एकदमै कम समाचार आएका छन्। उदाहरणका लागि, एक जना पत्रकारले अर्बपति विनोद चौधरीले कर छली गरेको कुरा उठाउनुभयो। ठोस प्रमाण नै नपुगी त्यो समाचार त्यसै सकियो। अन्य मिडियाले त्यसलाई फलो गरेर हो कि होइन भन्ने निष्कर्ष दिन चुके।

राजस्व अनुसन्धान विभागको रणनीति बनाउने बेला एक जना सचिवसँग सहकार्य गरेर काम गर्ने अवसर पाएको थिएँ मैले। हाम्रो विभागमा अहिले जुन प्रकारले राजस्व छली भइरहेको छ, त्यो हेर्नसक्ने संयन्त्र नै छैन। ब्रिफकेसमा पैसा बोकेर आउ-जाउ गरेर कर छली हुने होइन। अहिले त अंकमा हेरफेर हुने पैसा भौतिक हुँदैन। यो संयन्त्र बुझ्ने न मिडियाले दक्ष जनशक्ति बनाएका छन् न त हाम्रो संयन्त्र नै छ। संयन्त्रको लागि मिडियाले दबाब दिनुपर्ने हो। यहाँ त्यही कमजोरी देखिन्छ। 

कर छली रोक्न हाम्रो ल्याकत पुगेको देखिँदैन। मिडिया हाउसले कति सहयोग गर्छन् त्यसैमा भर पर्छ। कर छलीको विषयमा मात्रै नभएर अन्य सामाजिक इस्युमा पनि लगानीको आवश्यकता पर्छ। त्यो लगानी भएको देखिँदैन।

उदाहरणको लागि, 'गार्जियन' पत्रिकाले कतारमा मृत्यु भएका दाङका नेपालीबारे स्टोरी लेख्दा कतारदेखि दाङसम्म पछ्याउँदै आएका थिए। हाम्रो क्षमता त्यो बराबरको छैन। सीमितताको बाबजुद पनि नेपाली मिडियामा जुन काम भइरहेको छ त्यो भने सराहनीय छ। 

मुद्दामा कमजोर, घटनाप्रधान बढी 
दुई वर्षअघि रुकुममा कथित उपल्लो जातकी महिलासँग प्रेम गर्दा कथित तल्ला जातका पुरुषहरुको सामूहिक हत्या भयो। फगत जातको निहुँमा उनीहरुको हत्या भयो। छाउपडी प्रथाले महिलाहरु गोठमा बस्न बाध्य हुनु, सर्पले टोकेर मृत्यु हुनु अनि दाइजोको निहुँमा जिउँदै जलाइनु, यस्तो क्रुरता सभ्य समाजमा परिकल्पना गर्न सकिन्छ?

हाम्रो मिडियाले कोही जिउँदै जलाइयो, बलात्कृत भयो, हत्या भयो भने समाचार त लेख्छ तर यसलाई मुद्दाको रुपमा उठाएको छ? भलै स्तम्भकारले यस्ता विषय उठाए पनि मुद्दाको रुपमा उठाएको छैन। जातको निहुँमा, लिंगका नाउँमा हुने हिंसा त सभ्य समाजको कलंक होइन? 

नाबालिग गायिकामाथि भएको हिंसालाई पनि मिडियाले स्थान त दिए तर १८ वर्ष मुनिकालाई बलात्कार गर्नु त परको कुरा, यौन हिंसा जनाउने आसय व्यक्त गर्नु पनि अपराध हो भनेर पढाउनुपर्ने मिडियाले हैन?

यसो भन्दै गर्दा नेपाली मिडियाले बिट वाइज पत्रकारितालाई सिंगल अनलाइनमा भविष्य देखेको छ। अर्थ, अपराध, राजनीति, शिक्षा, स्वास्थ्यका फरक-फरक छन्, जसले गर्दा अहिले भएका कमजोरी हटाउने आशा गर्ने ठाउँ भने छ।

नेपाली मिडियाले सुशासनको मामिलामा काम गर्नुपर्ने देखिन्छ। केन्द्रमा बस्नेले रिपोर्ट गरे पनि स्थानीय तहमा के भइरहेको छ, ठूलो रकम केही सानो काममा खर्च भएको देखिन्छ, यसमा रिपोर्टिङ भएका छैनन्। 

अहिले खारेज भएको सांसद विकास कोषको रकम व्यापक दुरुपयोग भएको समाचार बाहिरिए। तर खास दुरुपयोग भएको समाचार आएन। त्यो काम त्यहीँको पत्रकारले गर्नुपर्ने हो, तर गरेको देखिँदैन।

काठमाडौँमा मात्रै सीमित भए पत्रकार। ठूला-ठूला भ्रष्टाचारका काण्ड स्थानीय तहमा नहुने होइन। तर ती समाचार बाहिरिएका छैनन्। यद्यपि, केन्द्रमा भएका काण्ड भने सार्वजनिक धेरै भएका छन्। 

साहसी छन् नेपाली पत्रकार
सीमित स्रोत-साधनका बाबजुद पनि हाम्रा पत्रकारले गरेको कामलाई तुलना गर्नुपर्ने हुन्छ। स्रोत र साधनको व्यापक प्रयोग गरेका पत्रकारसँग तुलना गर्नु हुँदैन। 

हामी जुन स्रोत र साधनले काम गरिरहेका छौँ, त्यो निकै सराहनीय छ। धन्न नेपालमा ठूलो थ्रेट छैन। कुटपिट मात्रै नभएर हेट स्पिचको हिंसा पत्रकारले भोगिरहेका छन्।

माओवादी विद्रोह हुँदा त आँखैअघि सहकर्मीको घाँटी रेटिँदा समेत पत्रकारले आफ्नो पेसा छाडेनन्। अफगानिस्तानमा अहिले ७० प्रतिशतले पेसा छाडे। नेपालका पत्रकारले राज्य र विद्रोही दुवै पक्षबाट प्रताडित हुँदा समेत धर्म छोडेका छैनन्। 

सम्पादकले जुन आँट दिन्छन् त्यो पनि सराहनीय छ। नामुद हत्याराको बारेमा लेख्ने पत्रकार पनि असुरक्षित छैन। यसको एउटा कारण त दोषीलाई कारबाही नहुने भएर पनि हो। अर्को आँट पनि हो पत्रकारको। तर सधैं यस्तै रहन्छ भन्ने छैन। 

कोरोनाको बेलामा धेरै सञ्चारगृहले पत्रकार निकाले। ठूला भनिएका मिडियाले पनि आम्दानी अन्यत्र लगानी गर्दा दक्ष पत्रकार पलायन भए। ठूला मिडिया नै भर्खर पत्रकारिता सुरु गरेका व्यक्तिले धानेका छन् अनि कसरी आउँछन् ठूला-ठूला काण्ड। मलाई डर लाग्छ, यही ताल रह्यो भने ५/६ वर्षपछि ठूला-ठूला काण्ड सार्वजनिक नै हुँदैनन् कि!

पत्रकारको पेसा असुरक्षित हुँदै गएको देखिन्छ। आर्थिक सुरक्षा नभएकै कारण जुनियरबाट काम चलाएका छन् ठूला मिडियाले। दक्ष रिपोर्टर गुमाउनु भनेको राम्रो होइन लोकतन्त्रको लागि।

आर्थिक असुरक्षा भएकै कारण कुशल पत्रकार व्यवस्थापक हुन पुगेका छन्। व्यवस्थापकका आफ्नै सीमा हुन्छन्, जसले गर्दा पनि ठूला-ठूला काण्ड सार्वजनिक हुँदैनन्। टप लेभलका रिपोर्टर स्थापित मिडियाले गुमाइरहेका छन्। पाँच वर्ष काम गरेको र २०औँ वर्ष काम गरेकोले लेख्ने समाचार त फरक हुन्छ नै। 

सिनियर पत्रकारसँग सिक्न पाए पो सिक्छन् जुनियरले। जुनियरले सिक्ने अवसर पनि गुमाएका छन्। स्किलले मात्रै हुँदैन। पत्रकार सामाजिक, सांस्कृतिक, भौतिक रुपमा सुरक्षित हुन सकेनन्। 

समाज एकातिर, पत्रकारिता अर्कोतिर
समाज र पत्रकारिताको लिंकेज मिलेको छ त? कतै समाज एकातिर, पत्रकारिता अर्कोतिर त भएको छैन? समाजले सुशासन चाहेको छ, हामीले सुशासनको मामिलामा कति कलम चलाएका छौँ? आर्थिक समृद्धि चाहेको छ समाजले, यसलाई सहयोग हुने काम कति गरेका छौँ हामीले? 

उदाहरणका लागि, मध्यपमहाडी लोकमार्ग ३८ अर्बको काम हो। एक खर्बभन्दा माथि पुग्यो त्यसको लागत। त्यस्तै अपर तामाकोशीको खर्च ३५ अर्ब थियो। ७५ अर्ब पुग्यो किन? यस्तो हुन्छ? छिपछिपे रुपमा यी समाचार त बाहिरिए तर चिरफार भयो त? 

एमसिसीमा विवाद गर्नुमा पनि कुनै तुक देख्दिनँ म। अर्को, चीनको ऋणले बनाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। छोराले ठेक्का पायो तर यो आउँदा कसलाई ‘फाइदा’? यो एंगलबाट हाम्रोमा समाचार आए र? एकपक्षीय मात्रै गयौँ कि हामी? जति पनि काण्ड सार्वजनिक गर्छौं, त्यसको समाप्ती नभई छाड्छौँ। समाजको अपेक्षा पूरा गर्न सकेको छैन नेपाली पत्रकारिताले। 

अहिलेको हतियार सूचना हो
अहिलेको हतियार सूचना हो। लेखक युवल नोह हरारीले भनेका छन्, सूचना अब शक्तिशाली छ। तर हामीले यसको प्रयोग पर्याप्त गरेका छौँ? सूचनाको पहुँचमा पत्रकारहरु छन्। यसलाई कसरी सम्प्रेषण गर्ने उनीहरुका हातमा हुन्छ तर अपेक्षा अनुसार भएको छ? समाजलाई परिवर्तन गराउने अहं भूमिका पनि पत्रकारको रहन्छ। त्यो पूरा भएको छ त? 

नेपाली समाज कस्तो बनाउने राजनीतिज्ञ, शिक्षक र पत्रकारको हातमा पनि हुन्छ। मिडियाले यसमा अपेक्षाकृत रोल खेल्न आवश्यक देखिन्छ। 

फेरि त्यही नाबालिग गायिकाबारे कुरा गर्छु। घटनाबारे ती बच्चीको नामसहित लेखेका छन् मिडियाले। सेलिब्रिटी भन्दैमा उसको अधिकार हनन गर्न मिल्छ? ऊ त बच्चा हो नि पहिले। 

उनको अन्तर्वाता हेरेको थिएँ, उनले महिनाको ५ लाख आम्दानी हुने बताएकी थिइन्। विद्यालय पनि नियमित नजाने रहिछिन्। त्यो त उनको बाल अधिकार हनन भयो नि। भाँडा माझ्नु मात्रै बालश्रम हो? विद्यालय नै छुटाएर गीत गाउन लगाउनु बाल श्रम होइन? उनलाई त के गर्न हुन्छ, के गर्न हुन्न केही थाहै हुँदैन नि। अभिभावकले ध्यान दिनुपर्ने होइन? यस्ता विषयमा मिडियाले छलफल गर्नुपर्ने हुन्छ। 

तसर्थ, व्यावसायिक नेपाली पत्रकारिताले जुन ढंगले काम गरिरहेको छ, यसलाई निरन्तर अघि बढाएर दायरा फराकिलो बनाउनुको विकल्प छैन। 

(लामो समय पत्रकारिता गरेका घिमिरे त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्। घिमिरेसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)।

*गार्जियन हुनुपर्नेमा गार्डेन भएकोमा सच्याइएको छ

चौथो अंगका पुराना श्रृंखला

१७ फागुन, २०७८, १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।