भेरी अस्पतालको अनुमानै गर्न नसकिने दृश्य
हाम्रो न्युज रुममा ‘खास अवस्था के छ, फिल्डमै गएर रिपोर्टिङ गर्नुपर्छ’ भन्ने विषयमा छलफल भयो। वैशाख ११ गते म र फोटोपत्रकार चन्द्रबहादुर आले नेपालगञ्ज पुग्यौं। बाँकेको भेरी अस्पताल पुगेपछि दिमाग शून्य भयो। अवस्था अनुमान गरेभन्दा भयावह रहेछ। अब त्यहाँको अवस्थालाई कसरी प्रस्तुत गर्ने भन्ने मुख्य चुनौती रह्यो।
नयाँ ठाउँमा गएर डेडलाइनको प्रेसरमा काम गर्दा यथार्थनजिक नपुगिने हो कि भन्ने डर थियो। पत्रकारितामा ‘प्यारासुट जर्नालिजम’बारे पढेको थिएँ। सकेसम्म त्यस्तो नहोस् भनेर जानुअघि नै सचेत भएको थिएँ। पहिले त्यहाँ कार्यरत फ्रन्टलाइनरका कुरा सुन्ने मानसिकताका साथ म फिल्डमा थिएँ।
कोरोना संक्रमितलाई उपचार गर्ने आइसियु तथा वार्डमा बिरामी कुरुवा राख्ने कुरा त्यतिबेला कल्पनाको विषय नै थिएन। काठमाडौंबाट गएका रिपोर्टरलाई त्यही ठूलो समाचार थियो। भलै अहिले काठमाडौंका अस्पतालको अवस्था पनि त्यही छ। तर सवाल न्यूजको मात्र थिएन, स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको बाध्यताको थियो।
हामी सुरुमा भेरी अस्पतालको आइसियु वार्ड बाहिर गएका थियौँ। त्यहाँ आइसियु वार्डमा कुरुवाले संक्रमितलाई घोप्टो पारेर ढाडमा थपथपाइरहेका थिए। कोही पंखाले हम्किइरहेका थिए भने कोही रक्तसञ्चार अवरुद्ध नहोस् भनेर मालिस गरिरहेका र कोही बिरामीको होस नगुमोस् भनेर झक्झक्याइरहेका थिए।

यस्ता दृश्यहरु काठमाडौंमा हिँड्दा कल्पना गरिएको थिएन। अक्सिजन मनिटरको चर्को आवाज, संक्रमित र कुरुवाको अत्यासलाग्दो चित्कार, बेडबाटै भुइँमा खस्लान्झैं लाग्ने संक्रमितको अनियन्त्रित छट्पटाहट मेरो मानसिकता विक्षिप्त पार्न पर्याप्त थियो।
आइसियु भित्र जस्तै बाहिर पनि बेड नपाएर संक्रमित छटपटाइरहेका थिए। सुन्दा अप्रिय सुनिए पनि एक जनाको मृत्यु भएपछि मात्र बेड खाली भएर अर्को संक्रमितले भर्ना पाउने अवस्था थियो।
यी दृश्यहरु शब्दमा लेखेर मात्र पर्याप्त होलाजस्तो लागेन। किनकी, त्यहाँ जनशक्ति र बेडको अभावले संक्रमितको धेरै मृत्यु भइरहेको थियो। यो विषय काठमाडौंमा सरकारले थाहा पाउनुपर्ने थियो।
हामीसँग पिपिई थिएन। फोटोपत्रकार साथी आलेलाई आइसियुभित्र छिर्ने हो? भनेर सोधें, उनले नाई भनेनन्। सामान्य सर्जिकल मास्क लगाएर हामी आइसियुभित्र प्रवेश गर्यौं।
अफिसले जोखिम नमोल्नु भनेर निर्देशन दिए पनि रिपोर्टर मन मानेन। ‘तपाईंहरु संक्रमित हुनुहुन्छ, कृपया नछिर्नूस्’ भनेर त्यहाँका फ्रन्टलाइनरले नभनेको होइन। तर उहाँहरु संक्रमित भएरै बिरामीको सेवा गरिरहनुभएको थियो। संक्रमितका कुरुवा सर्जिकल मास्कमै थिए। आइसियु बाहिर जे-जति मानिस भेटिएका थिए, संक्रमित नै थिए। त्यसैले अब संक्रमित भइन्छ भन्ने मानसिकता बनाएरै हामी आइसियु छिरेका थियौं।
आइसियु शय्यामा एक अधबैंसे महिला ‘मेरो मुटुको टुक्रा, मेरो मुटुको टुक्रा’ भनेर चिच्याइरहेकी थिइन्। तिनले हामीलाई देख्नासाथ रुँदै आफ्नो छोराको फोटो खिचिदिन आग्रह गरिन्। अन्दाजी २०/२५ वर्षका उनका छोरा बाँच्नको लागि संघर्ष गरिरहेका थिए।
फोटोपत्रकार साथी आलेले उनको फोटो खिचिदिए। त्यो दृश्य र आमाको भावभंगी देख्दा उनले आफ्नो सन्तानसँगको अन्तिम क्षण कैद गर्न चाहेको जस्तो लागिरहेको थियो।
भर्खरै २१ वर्ष पुगेकी छोरी गुमाएका एक पिता आफ्नी श्रीमती आइसियुमा भएकाले कुरुवा बसेका थिए। तिनको विक्षिप्त मानसिकताले हामीलाई त्रसित बनाएको थियो।

जसोतसो हामीले पहिलो रिपोर्टिङ सक्यौं। आइसियुको भिडियो र समाचार बाहिरिएपछि कतिले त हिरो बन्नलाई आइसियु छिरेको भनेर सञ्जालमै लेखे। तर समाचार आएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले ६० जना जनशक्ति भेरी अस्पताललाई पठाउने र लुम्बिनी प्रदेश सरकारले ५० लाख अस्पताललाई सहयोग गर्ने निर्णय गर्यो।
यसका अलावा विभिन्न संघ-संस्थाले भेरी अस्पतालाई सहयोगको घोषणा पनि गरे। भेरी अस्पतालका फ्रन्टलाइनर र प्रशासनका कर्मचारीले तपाईंहरुले हाम्रो समस्याको गहिराइ बुझेर समाचार लेख्नुभयो भनेर प्रतिक्रिया दिँदा खुसीको सीमा रहेन।
भेरी अस्पताल, कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज र जमुनाहा नाकाको रिपोर्टिङ गरेर हामी ५ दिनपछि काठमाडौं आयौं। त्यही बेला मलाई सिएनएन मिडियाकी पत्रकार रेबिका राइटले सम्पर्क गरिन्। र, हामीले भेरी अस्पतालमा खिचेको दृश्य सिएनएन मिडियाले पनि प्रसारण गर्यो। संयोग भनौं, नेपालको महामारीको चपेटामा परेको दृश्य विदेशी मिडियाले त्यही दिनबाट चासोको साथ प्रसारण गर्न थाले। यो नेपालगञ्जको रिपोर्टिङ सम्झना हो।
संकटका बेला पत्रकारको परीक्षा
स्वास्थ्य पत्रकारिता गर्ने भएकाले म महामारीको सुरुवाती चरणदेखि कोभिड महामारीमा केन्द्रित भएर पत्रकारिता गरिरहेको छु। कोभिड महामारी सुरु हुँदैगर्दा मेरा तत्कालीन सम्पादक अरुण बरालले भन्नुभएको कुरा बेलबेलामा याद आइरहन्छ। उहाँले भन्न्नुभएको थियो, ‘संकटको बेला हो पत्रकारको परीक्षा हुने। संकटको बेला मैदान बाहिर बसेर गरिने पत्रकारिताको त्यति धेरै महत्व हुँदैन।’ म आजसम्म ‘वर्क फ्रम होम’ भनेर घर बसेको छैन।
कोभिड महामारीले स्वास्थ्य पत्रकारितालाई हेर्ने दृष्टिकोण बदलेको कुरामा आंशिक सत्यता छ। स्वास्थ्य पत्रकारिता टेक्निकल र अलिक धेरै अध्ययन गर्नुपर्ने विषय भन्ने कुरा स्वास्थ्य पत्रकारमा स्थापित हुँदै जान थालेको छ। स्वास्थ्य पत्रकारिता स्रोत या विज्ञको मात्र भर परेर गर्न नसकिने रहेछ भन्ने बुझाइ बढ्दै गएको छ।
यसअघि न्युज रुममा स्वास्थ्य बिटलाई कम प्राथमिकता दिइने गरेको साँचो हो। यसो हुनुमा केही दोषी सम्पादक र धेरै दोषी रिपोर्टर नै हुन्। धेरै स्वास्थ्य रिपोर्टर ‘टिप्स पत्रकारितामा’ रमाइरहेको देखिन्छ। स्वास्थ्यको नीतिगत विषयमा धेरै रिपोर्टिङ हुँदैन। डाक्टर प्रोफाइल र ‘फलानो रोग लाग्दा के खाने र के नखाने’ भन्ने टिप्स लेख्ने रिपोर्टरसँग न्युज रुमले पनि धेरै अपेक्षा नगर्दो रहेछ।
रिपोर्टरले खोजेर कुनै पनि विषयमा राम्रो समाचार सामग्री ल्यायो भने सम्पादकले ‘टिप्स नै लेखेर बस’ भन्दैनन् होला। यद्यपि, हाम्रो नेपाली मिडियामा राजनीतिबाहेक अन्य समाचारलाई प्रमुखताका साथ छापेको पाइँदैन। स्वास्थ्यलाई सामाजिक बिट अन्तर्गत राखिने भएकाले पनि योतर्फ प्रायः मिडियामा ध्यान गएको देखिँदैन। सम्पादकहरु नै राजनीतिक पृष्ठभूमिका भएकाले हुनसक्छ स्वास्थ्य सम्बन्धी विषयहरु थाहा नै पाउँदैनन्।
हिजो स्वास्थ्यका नीतिगत र राम्रा स्टोरी गर्ने अग्रजहरुले हामीलाई सकरात्मक सहयोग गरिरहेका छन्। स्वास्थ्यमा राम्रो गर्ने पत्रकार हिजो पनि कम थिए र अहिले पनि कम छन्। तर राम्रो लेख्ने र लेख्न कोशिस गर्नेहरुको संख्या बढ्दै पनि गएको छ। त्यसैले स्वास्थ्य पत्रकारिता सही बाटोमै छ र अगाडि बढिनै रहेको छ।
स्वास्थ्य बिटमै समस्याभन्दा पनि स्वास्थ्य पत्रकारहरुमा समस्या छ। हामी अध्ययनशील छैनौं। धैर्यता र उत्सुकता हामीमा हराउँदै गएको छ। हामी स्रोतसम्म त पुग्छौ तर उसले भनेको कुरा सूक्ष्म रुपले सुन्ने बानी नभएकाले व्याख्या-विश्लेषण गरेर खास समाचार लेख्न सक्दैनौं। भन्न खोजेको कुरा सुनेर टिपोट नगरेपछि विषयको गहिराइमा पुग्न सकिँदैन। एक जना स्रोत या एक जना विज्ञको भर पर्दा रिपोर्टर निष्कर्षमा नपुग्न सक्छ।
विषयगत ज्ञानको कमी छ, स्वास्थ्य पत्रकारमा
महामारीको बेला इन्फोडेमिक फैलाउनमा पत्रकार पनि जिम्मेवार छन् भनेर विज्ञहरु भनिरहेका छन्। यो कुरामा सत्यता किन छ भने, हामी एकदम अल्छी छौं। सम्बन्धित विषयमा विज्ञ को हो भनेर पहिचान नगरी भाइरल विज्ञको स्टाटस कपी–पेस्ट गरेर समाचार बनाउने ट्रेन्ड छ। कुन विषयमा कुन विज्ञलाई सोध्ने भन्ने जानकारी नहुँदा भ्रमित पार्ने खालका समाचार आइरहेका छन्।
पत्रकार-न्युज रुममा पनि हेल्थ लिट्रेसीको अभाव छ। यो स्वभाविक पनि हो किनकी पत्रकारिता पढेर आएको मानिसले स्वास्थ्य जस्तो संवेदनशील विषय सर्लक्कै बुझ्न कठिन नै हुन्छ। तर चाहने र जिज्ञासा राख्ने हो भने धेरै गाह्रो पनि छैन।
हामी सधैं हतारमा छौं। यो हतार केका लागि र किन भन्ने थाहा छैन। न त यो हतारको मूल्य के हुन्छ भनेर हामी संवेदनशील हुन्छौं। स्वास्थ्य पत्रकारले जे–जति गल्ती गरिरहेका छन्, त्यसमा विषयगत ज्ञानको कमीसँगै हतार पनि कारण हो।
स्वभाविक रुपमा न्युज रुममा प्रेसर हुन्छ। अनलाइन माध्यममा त झन् छिटोछिटो समाचार दिनुपर्ने बाध्यता छ। जतिसुकै राम्रो समाचार लेखे पनि उसको बिटको सामान्य समाचार पनि नछुटोस् भन्ने न्युज रुमको चाहना हुन्छ। क्वान्टिटीको प्रेसरले सिर्जनशीलता मरिरहेको म आफैंले महसुस गरिरहेको छु।

नाईं भन्न नसक्नु पनि रिपोर्टरहरुको कमजोरी हो जस्तो लाग्छ। हामी स्रोतले केही विषय दिएर समाचार लेख भन्दा चित्त नबुझे पनि नाईं भन्न सक्दैनौं। न्युज रुममा प्रकाशक/सम्पादकले दिएको इस्यु इस्यु जस्तो नलागे पनि नाईं भन्न सक्दैनौं। विषयवस्तुको ज्ञान र प्रश्न नभएकाले यस्ता समस्या आउँछन्। ज्ञान हुने हो भने त्यहाँ प्रश्न/प्रतिप्रश्न भएर बहस हुन्छ। त्यसपछि समाचार लेख्ने-नलेख्ने निचोड निस्कन्छ। हाम्रो न्युज रुममा छलफलको ट्रेन्ड नभएकाले पनि यस्तो समस्या आएको जस्तो लाग्छ।
समस्या अन्य बिटका रिपोर्टरमा पनि छ
स्वास्थ्य बिटमा मात्र होइन, अरु बिटका पत्रकारमा पनि समस्या छ। म नियमितजसो विदेशी सञ्चारमाध्यम हेरिरहेको हुन्छु। ती मिडियामा आउने विषयवस्तु, प्रस्तुतीकरण, तथ्य र भावनाको बेजोड संयोजन र मल्टिमिडियाको प्रयोगले लोभ्याउँछ।
लामा–लामा फिचर र रिपोर्ट हाम्रा मिडियामा बिरलै मात्र पाइन्छ। त्यस्तो काम गर्न हामी रिपोर्टर र सम्पादकलाई केले छेकिरहेको छ भन्ने जवाफ मसँग छैन। तर कहिलेकाहीँ त्यस्तो काम गर्न पाए हुन्थ्यो भन्ने चाहना चाहिँ हुन्छ। तर त्यो लेभलको धैर्यता हामीमा छ र?
हामीलाई सधैं घटना पछ्याउँदैमा फुर्सद हुँदैन। आज एउटा घटना, भोलि अर्को र पर्सि अर्को। हाम्रो समय घटना टिपोट गर्दैमा बितिरहेको छ। त्यो घटना पछाडिका कारण र नीतिगत कुरामा व्याख्या-विश्लेषण गरेर लेखिएका समाचार बिरलै पाइन्छन्।
मैले धेरै सम्पादकसँग काम गर्न पाएको छैन। जति सम्पादकसँग काम गरें, उहाँहरुबाट राम्रो सहयोग नै भयो। माथि नै भनिसकें, घटनाको पछाडि दौडिरहेको नेपाली पत्रकरितालाई सम्पादक एक्लैले बदल्न सक्दैन। विषयवस्तु बुझेको र प्रश्न गर्न सक्ने रिपोर्टरले कुनै इस्युमा सम्पादकलाई पनि कन्भिन्स गराउन सक्छ।
विषयवस्तुमा मतान्तर भए पनि समाचार लेख्ने कुरामा सम्पादकबाट असहयोग भएको मैले महसुस गरेको छैन। अझ भनौं, पूरै न्युज रुमबाट नै सहयोग पाएकाले काम गर्न सजिलो भएको छ। पत्रकारिता टिम वर्क हो भन्ने बुझाइ भएको न्युज रुम भएकाले मलाई काम गर्न सहज नै छ।
महामारीको बेला स्वास्थ्य पत्रकार संगठन निष्क्रिय
स्वास्थ्य पत्रकारका संगठनहरुले रिपोर्टिङमा सहयोग गरेको मलाई खासै सम्झना छैन। महामारीको बेला स्वास्थ्य पत्रकारका संगठन निष्क्रियजस्तै छन्। उनीहरुसँग स्वास्थ्य पत्रकार कति संक्रमित भए भन्ने विषयमा तथ्यांक पनि छैन होला। आफू कार्यरत मिडिया हाउसले बाहेक संगठनले त्यस्तो सम्झनलायक सहयोग गरेको छैन।
रिपोर्टिङ गर्दाका चुनौती धेरै छन्। स्वास्थ्य पत्रकार भएको नाताले फिल्डमा नगई चित्त बुझ्दैन। पहिलो लहरमै मैले उपत्यकाको कोभिड वार्ड र आइसियु छिरेर रिपोर्टिङ गरेको थिएँ। पहिलो लकडाउनको सुरुवाती चरणमै टेकु अस्पताल पुगेर ‘टेकु अस्पतालमा तीन घन्टा’ भनेर स्थलगत रिपोर्टिङ गरेको थिएँ।
दोस्रो लहरमा पनि धेरै अस्पतालका आइसियु छिरेर रिपोर्टिङ गरें। आइसियुभित्र छिर्दा एक किसिमको डर त हुन्थ्यो नै, त्यहाँका दृश्यहरुले मानसिक रुपमा विक्षिप्त पार्थ्यो। तर समाचार लेख्नै पथ्र्यो। कोभिड वार्डभित्र कतिपय संक्रमितहरुले हामी बोल्छौं भनेर आग्रह गर्थे। तर उहाँहरुको अनुहार नदेखाउने नीति भए पनि उहाँहरुको आग्रह टार्न सकिँदैनथ्यो। त्यसैले समाचार प्रस्तुत गर्दा सधैं तनाव हुन्थ्यो।
फिल्ड रिपोर्टिङ बाहेक अन्य चुनौती भनेको कतिपय विषयमा रिपोर्टिङ गर्न आफ्नो अध्ययन र ज्ञान पुग्दैन। विज्ञहरुले भनेका कुरा राम्रो नबुझी प्रेसरमा काम गर्नुपर्ने अवस्था कहिलेकाहीँ आउँछ। समग्रमा भन्नुपर्दा त्यस्तो चुनौती नै हुने किसिमको काम गर्न सकिरहेको छैन। काम गर्दै, सिक्दै जाने क्रम जारी नै छ।
मेरो पत्रकारिता अनुभव छोटो भएकाले नेपाली पत्रकारिताको बारेमा धेरै भन्न त सक्दिनँ तर अन्य क्षेत्रझैं यहाँ पनि समस्या छ। केही प्रवृत्ति देख्दा पत्रकारिता गर्न पनि एउटा मापदण्ड तय होस् भन्ने लाग्छ। किनकी, कसले बदमासी गर्योभन्दा पनि बदमासलाई कसले पत्रकारिता गर्ने अनुमति दियो भन्ने महत्वपूर्ण हुन्छ।
(उकेराको नियमित कोलम चौथो अंगका लागि अनलाइनखबरका स्वास्थ्य रिपोर्टर बुढाथोकीसँगको कुराकानीमा आधारित।)
चौथो अंगका पुराना श्रृंखला