यो कोभिड–१९ महामारीको दोस्रो वर्ष हो। गत वर्ष यो रोगबारे अहिलेजति थाहा थिएन। सञ्चार माध्यमले नै सचेत तरिकाले सूचना प्रवाह गरेर कोरोना भाइरसबारे आम नागरिकलाई सुसूचित गरे।
क्वारेन्टाइन, आइसोलेसन बनाउनुपर्नेदेखि पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्नेमा उनीहरुले निरन्तर विज्ञसँग कुराकानी गरे। छिटोभन्दा छिटो यो समाचार फैलियो।
गत वर्ष पनि सञ्चारकर्मीले जोखिम मोलेरै रिपोर्टिङ गरे। विडम्बना के भने, यो वर्ष दोस्रो लहरको कोरोना फैलदा पनि गत वर्षको जस्तै जोखिम मोलेर रिपोर्टिङ गरिरहेका छन् सञ्चारकर्मी।
विज्ञहरुले दोस्रो लहर फैलने सम्भावना पहिल्यै औंल्याइसकेका थिए। यस्तो अवस्थामा आम सञ्चारगृहले विपद् पत्रकारिता कसरी गर्ने भनेर तालिम दिनेदेखि केही रकम नै छुट्याउनु पर्थ्यो। यहाँ त्यो देखिएन। विगतबाट पाठ सिकिएन। उल्टो पत्रकारका जागिर खोसिए। एकातिर जीविकाको त्रास, अर्कातिर महाव्याधीको त्रास, पत्रकार दोहोरो अत्यासमा रहे।
पत्रकारहरु फ्रन्टलाइनर हुन्। फ्रन्टलाइनर वर्कर हुन् भनेर सरोकारवालादेखि समाजबाट पनि मान्यता पाउन सकेको अवस्था छैन। फ्रन्टलाइनरकै मान्यता नदिएपछि कभरेज गर्न त गाह्रो भइहाल्छ। यद्यपि, पत्रकारले काम गरिरहेका छन्। चाहे त्यो अस्पतालमा पुगेर गर्नुपर्ने रिपोर्टिङ होस्, सरकारले गरेको भ्रष्टाचारको कुरा होस् वा पीडितको रोदन नै किन नहोस् सबै कभरेज गरेका छन्। आफैंलाई जोखिममा राखेर रिपोर्टिङ गर्ने पत्रकार धेरै भए।
अहिले जुन समाचार आइरहेका छन्, व्यक्तिगत रुपमा सम्पादक र रिपोर्टरहरु मिलेर गरिरहेका छन्। सरकारले सही तथ्याङ्क भन्छ भन्ने विश्वास हुँदैन। त्यसकारण पत्रकारको ‘वर्क फ्रम होम’ हुन्न।
फिल्डमा खटिने पर्ने भएपछि सेफ्टी हुनुपर्छ। त्यो नेपाली पत्रकारलाई यो सुविधा छैन। मास्क त लगाउलान् भनेको बेला स्यानिटाइजर हुँदैन, हात धुने ठाउँ हुँदैन। पत्रकारलाई चाहिने सुरक्षा प्रविधि, सेवाहरु छैनन्। संस्थागत रुपमा पनि ध्यान दिएको पाइएन। त्यसमाथि स्रोतलाई मनाएर समाचार लेख्न त उस्तै संकट छँदै छ।
स्रोतको सहयोग कम
सरोकारवालाहरु सूचना दिन झर्को मान्छन् यो बेला। सार्वजनिक पद होल्ड गरेकोले सूचना दिन्न भन्न मिल्दैन। तपाईंलाई यो सूचना किन चाहियो? सङ्क्रमितको संख्या किन चाहियो? मृत्यु संख्या किन चाहियो? भनेर उल्टो स्रोतले प्रश्न गर्छ तर त्यो त नागरिकको अधिकार हो। पत्रकारको कामलाई स्रोतले सहयोग गरेको छैन।
स्रोतलाई नकारात्मक टिप्पणी त गरेको होइन तर भएको यस्तै छ। स्रोतले सूचना त दिनुपर्छ। दिनुपर्छ भन्ने सोच भएको देखिँदैन। आफूले दिन सकिँदैन भने कहाँबाट सूचना प्राप्त गर्न सकिन्छ पत्रकारलाई भनिदिनुपर्छ।
विपद्को बेला झन धेरै सूचना प्रवाह हुनुपर्छ। व्यक्तिहरु डराइरहेका हुन्छन्। उनीहरु अब के होला भनेर त्रासमा बाँचिरहेका हुन्छन्। यति बेला सञ्चार माध्यमले सही सूचना सम्प्रेषण गर्दा के भइरहेको छ, अब के हुन्छ, सरोकारवालाहरुले के गरिरहेका छन्, आफूलाई आपत पर्यो भने के गर्नुपर्दोरहेछ भन्ने कुराको जानकारी पाउँछन्। जसले गर्दा आम नागरिकलाई धैर्य धारण गर्ने ऊर्जा मिल्छ।
डर फैलाउँछन् मिडियाले?
यस्तो बेला आम नागरिक डराइरहेका हुन्छन्। कतिपयले पत्रकारले भ्रम फैलाए। डर फैलाए भनेको पनि सुनिन्छ। मिडियाले भ्रम फैलाएको हैन। सत्य तथ्यमा आधारित रहेर लेखेको समाचारले भ्रम फैलाउँदैन। जति धेरै सुचना थाहा पाइन्छ उति धेरै समाज सशक्त हुँदै जान्छ। सही सूचना दिँदै गइयो भने आम नागरिक बलिया हुन्छन्। ढुक्क भएर बस्छन्।
पत्रकारले पनि यस्तो बेला समाचार दिँदा केही कुरामा अवश्य ध्यान पुर्याउनुपर्छ। तर पत्रकारले हौवा फैलाए भन्नु सही होइन। सामाजिक सञ्जाल प्रयोगकर्ताले हो हौवा फैलाएको।
पत्रकारले पनि यो बेला विचार पुर्याउनु पर्ने के हो भने, सनसनीपूर्ण लेख्नु हुँदैन। नैराश्यतापूर्वक लेख्नु हुँदैन। आतंक फैलाउनु हुँदैन। सामान्य जानकारीमुलक सत्यतथ्यमा आधारित भएर समाचार लेख्नुपर्छ।
सरकारको तर्फबाट भएका कमजोरी लेख्यो भने सरकारले पनि मिडियाले भ्रम फैलायो भनेको सुनिन्छ। सरकारले त आफूले गरेको काम सबै ठिकठाकै देख्छ। सरकारले गरेको कामको कमजोरी देख्ने पत्रकारले हो।
उदाहरणको लागि, भैरहवामा केही दिनअघि अक्सिजन आधा घन्टा ढिलो भएर ८ जना कोरोना संक्रमितको मृत्यु भयो। पत्रकारले त अवश्य पनि आधा घन्टा ढिलो अक्सिजन पुग्यो भनेर लेख्छ नि।
अर्को उदाहरण, मानौं सरकारले सय जनालाई भ्याक्सिन लगायो। तर त्यो भ्याक्सिन वितरण कस्तो थियो?अपांग, वृद्धवृद्धालाई कसरी लगाइयो? त्यो विश्लेषण त पत्रकारले गर्छ। अस्पतालमा १०० बेड छ भन्ला सरकारले तर त्यहाँ बिरामी कति छन् उनीहरुलाई बेड पुगेको छ छैन त पत्रकारले हेर्छ नि।
सरकारले त सबै ठिकठाक देख्छ, कमजोरी देख्ने आँखा नै पत्रकारको हुन्छ। सामान्य अवस्थामा त सरकारले आलोचना रुचाउँदैन भने असमान्य अवस्थामा त रुचाउने कुरै आए। मिडियाको काम सरकारको प्रचारप्रसार हैन, सरकार नागरिकप्रति उत्तरदायी भयो कि भएन भनेर प्रश्न उठाउने निकाय हो।

पत्रकारले प्रश्न उठाउने र प्रश्नको उत्तर दिने सरकारले हो। सरकारको कमी–कमजोरी नै औंल्याउने हो। आलोचना खप्न नसक्ने प्रजातान्त्रिक हुँदैनन्।
गत वर्ष पनि स्वास्थ्य सामाग्री खरिदमा अनियमियतता भएको खबर बाहिरियो। यसपालि भ्याक्सिन खरिदमा कमिसनको खेल भएको समाचार बाहिरियो। पत्रकारले के याद गर्नुपर्छ भने विपद् परेको बेला झन् धेरै भ्रष्टाचार र अनियमियतता हुन्छ।
समय छउन्जेल काम नगर्ने, समय घर्किएपछि काम गर्दा भ्रष्टाचार गर्न पाइन्छ भन्ने उनीहरुको नियत देखिन्छ। सूक्ष्म रुपमा सबैतिर गडबडी गर्ने, काम गर्न नजान्ने अनि दोष जति पत्रकारलाई थोपर्ने सरकारको नियत प्रष्टिन्छ। त्यसकारण विपद् परेको बेला पत्रकारको भूमिका धेरै हुन्छ।
फ्रन्टलाइनर हो पत्रकार
स्वास्थ्य संकट हुँदा अहिले जसरी स्वास्थ्यकर्मीले काम गरिरहेका छन्। पत्रकारले सूचना प्रवाहमा पनि त्यसरी नै काम गरिरहेका छन्। स्वास्थ्यकर्मीले सेवा कसरी पुर्याइरहेका छन्? अस्पतालको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी दिइरहेका छन् ।तर समस्या के भने अस्पताल र सञ्चारकर्मीको रिकजनाइज भएको छैन। आम नागरिकलाई कसले के गरिरहेको छ बोध हुँदैन। पत्रकारले स्थानीय सरकारले के गरिरहेको छ, प्रदेशले के गरिरहेको छ, संघले, अस्पतालले, प्रहरीले के गरिरहेका छन् भन्ने जानकारी दिइरहेका छन्।
अहिले जोखिम मोलेर काम गरिरहेका छन् पत्रकार। सायद सक्रिय पत्रकारिता गरिरहेको भए म आफैं पनि गर्थे। किनभने, पत्रकारलाई दायित्व बोध हुन्छ, बिग्रेको देख्दादेख्दै नलेखिरहन सक्दैन पत्रकार। त्यसैले मिडिया हाउसले पत्रकारलाई सुरक्षा अपनाउन कुनै ध्यान नदिँदा पनि उनीहरुले रिपोर्टिङ गरिरहेका छन्।
आम सञ्चारगृहले विपद् योजना बनाउनुपर्छ
अन्तर्राष्ट्रिय मिडियामा संकट योजना हुन्छ। संकट परेको बेला बिदा बस्न पाइँदैन। व्यवस्थापकले योजना नै बनाएका हुन्छन्। कस्तो विपद्मा कसरी काम गर्ने भनेर। विपद् हेरी सुरक्षाका उपाय अपनाउनेदेखि समाचार संकलन कसरी गर्ने कसरी सम्प्रेषण गर्ने भनेर पहिल्यै योजना बनाउने र विप्द रिपोर्टिङ गर्नेलाई तालिमको व्यवस्था गर्छन्। मिडिया व्यवस्थापकको काम भनेकै रिपोर्टिङ सहज बनाउने हो।
नेपालमा यसको अभाव देखिन्छ। नेपाली आम सञ्चारगृह चलाउनेले पत्रकारको सुविधालाई ध्यान दिनुपर्छ। आम सञ्चार चलाउनु भनेको जोक हैन। रिपोर्टिङ गर्न जाँदा यातायातको सुविधा, स्वास्थ्य सेफ्टी सामाग्री, विपद् भत्ता (जति खर्च हुन्छ त्यसको १० प्रतिशत) छुट्याउनुपर्छ।
संकट परेको बेला आम सञ्चारगृहले ऋणै गरेर भए पनि चलाउनुपर्छ। खानाको व्यवस्था पनि गर्नुपर्छ। यसको व्यवस्था नभएको हुँदा जति रिपोर्ट आउनुपर्ने हो त्यति आइरहेको छैन। जति आइरहेको छ, त्यो उच्च जोखिम मोलेर आइरहेको छ। त्यसकारण रिपोर्टरले उच्च जोखिम मोलेर ल्याएको समाचार सम्पादकले प्रकाशन नगर्न हुन्न।
सम्पादकलाई चित्त बुझेन भने अर्को रिपोर्ट गर्दा सल्लाह दिनसक्छ तर रिजेक्ट गर्नुहुन्न। अघिपछि रिजेक्ट गर्नसक्छ। अघिपछिको रिपोर्ट रिजेक्ट गर्दा मिहिनेत मात्रै खेर जान्छ यो बेलाका रिपोर्ट रिजेक्ट गर्दा मिहिनेत र जोखिम दुवै जान्छ।
यो बेला सूचना प्रवाहलाई सहयोग पुर्याउन सरकारले पनि सहयोग गर्नुपर्छ। सुविधाबारे सोधखोज गर्नुपर्छ। मिडिया हाउसले सहयोग नगरेको अहिलेको अवस्थामा सरकारले गर्ने कुरै आएन। पत्रकारहरु अप्ठ्यारोमा छन्। जोखिम लिएर काम गरिरहेको छन्। सञ्चार प्रवाह जोगाउन हामी सबै लाग्नुपर्ने अवस्था आएको छ।
पत्रकार भनेको पुल हो। धेरैले उसैलाई सोधिरहेका हुन्छन्। उसले बुझ्ने कोसिस पनि गरिरहेकै हुन्छ। पत्रकारिताबाट आम नागरिकले धेरै आशा गरिरहेका हुन्छन् सूचना पाउने सवालमा। विश्वास र धैर्यताको प्रभाव परिरहेको छ। यो संकटको घडीमा मिडिया व्यवस्थापक, सरकार सूचनाका स्रोतहरुले पत्रकारलाई पनि फ्रन्टलाइनर नै सम्झी व्यवहार गरी सूचना प्रवाहलाई व्यापक बनाउनुपर्ने आवश्यकता देखिएको छ।
अहिले सीमान्तकृत समुदायका कुराहरु आएका छैनन्। उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ, यसबारे काम भएको छैन। रिपोर्टहरु अझै धेरै अपडेट हुन आवश्यक देखिन्छ।
सम्पादकीय, आलेख, टिप्पणी जस्ता विविधतामा ध्यान पुर्याएको देखिँदैन। को पहिलो भन्ने होडमा सत्यतथ्य बिर्सन हुन्न। सत्यतथ्यलाई ध्यान दिने, क्रस चेक गर्ने, स्रोतको सम्बन्धमा ध्यान दिने, लहलहैमा नलाग्ने, सूचनामा चुस्तता र पत्रकारको सेफ्टीमा ध्यान दिनु आजको आवश्यकता देखिन्छ।
(वरिष्ठ पत्रकार रेग्मीसँग उकेराको चौथो अंग कोलमका लागि उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)
चौथो अंगका पुराना श्रूंखला