उकेरा कोलम

चौथो अंगमा दिनेश आचार्य : दिनभरि सेयर बजारका खेलाडी, साँझ पत्रकार


तस्बिर : कृष्पा श्रेष्ठ

केही महिनाअघि धितोपत्र बोर्डले ५१ वटा खराब कम्पनीको सूची सार्वजनिक गर्‍यो। धेरै मिडियाले यसलाई समाचार बनाए। तर सही के थियो, गलत के थियो, प्रतिवेदनमा के थियो, कसैले लेखेनन्। 

पहिलो कुरा, खराब कम्पनी भनेर सूची सार्वजनिक गर्ने धितोपत्र बोर्डको कार्यक्षेत्र पर्दैनथ्यो। दोस्रो, धितोपत्र बोर्डले जम्मा पाँच कम्पनीको मात्र अध्ययन गरेको थियो। प्रेस विज्ञप्ति निकाल्ने बेला षडयन्त्रपूर्वक ४६ कम्पनी थपिएको थियो। 

अर्को उदाहरण, नेप्सेको जुन सफ्टवेयर चल्छ, त्यो सफ्टवेयर एक निजी कम्पनीको छ। त्यो कम्पनीमा सफ्टवेयरका लगानीकर्ता भर्खरै बरखास्त भएका धितोपत्र बोर्डका पदाधिकारी नै हुन्।

स्वार्थ बाझिदा त सो सफ्टवेयरले तपाईंले चाहेको सेयर किनबेच गर्न नसक्ने बनाइदिन्छ नि। यो समाचार जति प्राथमिकताका साथ आउनुपर्ने हो किन आएन? मुलधारका मिडियालाई यस्ता कुराले किन छोएन?

दैनिक यो कम्पनीको सेयरको भाउ यति बढ्यो। सर्किट ब्रेक लाग्यो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारबारे गरेको टिप्पणीले सेयरको कारोबार यतिले घट्यो भनेर लेख्ने काम मात्रै हो त सेयरसम्बन्धी लेख्ने पत्रकारको? यसका भित्री खेल किन आउँदैन?

केही पत्रकारले नियमित लेखेर धितोपत्र बोर्डका अध्यक्ष बरखास्तीमा पनि पर्नुभएको छ। तर जुन रुपले सेयर बजारको विश्लेषण हुन्छ, त्यो प्रकारले सेयर भित्रका बदमासीबारे लेख्न किन हात काम्छन्? 

एक कोलमदेखि फ्रन्ट न्युजसम्म 
२०५१ सालमा नेप्सेको स्थापना भएपछि नेपाली पत्रपत्रिकाले सानो कोलममा सेयर बजारको समाचार दिन थाले। पहिले प्राथामिक बजारमा (आइपिओ) मा सेयरको आवेदन फारम भर्ने नै हुँदैनथे।

हिमालयन डिस्टलरीको अहिले सेयरको भाउ प्रतिकित्ता ७ हजार छ। आइपिओ खुल्दा ४० प्रतिशतले मात्रै आइपिओ भरेका थिए। जुन कम्पनीको आइपिओ पूरा बिक्दैनथ्यो सो कम्पनीले बैंकलाई किन्न भन्थे। सो कम्पनीका कर्मचारीहरु बैंक-बैंक जान्थे। कति बैंक त डुबे पनि। 

पत्रकार भगवान खड्का सेयर बजारबारे समाचार लेख्नुहुन्थ्यो। म पनि पत्रिकामा काम गर्थें। त्यतिबेला सगरमाथा र एभिन्युज टिभी भर्खरै खुलेका थिए। मैले यी टिभीमा सेयर बजार सम्बन्धी कार्यक्रम चलाउने प्रस्ताव लगे। उहाँहरुले सेयर बजारको समाचार भन्न दुई मिनेट पनि लाग्दैन, आधा घण्टा के गर्ने भन्नुभयो। मैले यो कार्यक्रम म गर्छु भनें। कार्यक्रम चलाएँ पनि। त्यो कार्यक्रम त यति चर्चित भयो कि टेलिभिजनले तीन पटकसम्म पुनः प्रसारण गर्नुपर्‍यो। जुन क्षेत्रमा लोडसेडिङ छ, त्यस क्षेत्रका मान्छेहरु अर्को क्षेत्र गएर कार्यक्रम हेर्थे। सगरमाथा टेलिभिजनमा एक वर्ष धेरै राम्रो चल्यो यो कार्यक्रम। 

२०६५ सालबाट ‘सेयर बजार’ पत्रिका निस्कयो। त्यतिबेला बिटवाइज पत्रिका निकाल्ने लहरै चलेको थियो। कति चले, कति चलेनन्। तर मैले निकालेको सेयर बजार पत्रिका यति चल्यो कि वार्षिक २५ लाखसम्म फाइदा लिएँ। अहिले यो पत्रिका भए पनि मैले सक्रिय भएर काम गरेको छैन। यद्यपि, सम्पादक म नै छु। तर आफैंले नयाँ कम्पनी खोलेपछि अब म यो पत्रिका छाड्दैछु। 

सेयर बजार पत्रिकामा स्टोरी दिने चलन फेरियो। कुन कम्पनी कस्तो छ भन्नेदेखि त्यो कम्पनीको आन्तरिक खटपटसम्म छापिन थाल्यो। हामीले पाँच वर्षअघि एउटा बैंकको आन्तरिक अवस्थाबारे लेखेका थियौं। त्यो बैंकमा के-के बदमासी भए भन्नेमा केन्द्रित थियो समाचार। संयोगले उनीहरुको विज्ञापन पनि फ्रन्ट पेजमा आएछ। जति मान्छे साधारण सभामा जान्थे, सबैले यही कुरा बोले। त्यही बदमासीलाई लिएर सञ्चालक समीतिका पदधिकारी र सिइओ बर्खास्तीमा त परे तर यस्तो समाचार बाहिर पनि जाने, स्पोन्सर पनि दिने भनेर विरोध भयो। हामीले समाचार ५/७ अंक निकाल्यौँ, विज्ञापनको पैसा दावी गरेनौँ। तर त्यो स्पोन्सर थिएन समाचार लेख्ने र विज्ञापन ल्याउने स्वतन्त्र थिए। 

पत्रकार पनि ‘हावामा’ लेख्ने भए
आइपिओ र सेकेन्डरी मार्केटका सेयर धनीहरु ३ सय ४ सय जना हुन्थे। अहिले ४६ लाख छन्। ९ लाख त सेकेन्डरीका छन्। ब्रोकर कम्पनी ३२ वटा थिए। आम्दानी नभएर कर तिर्न नसकेर १० वटा बन्द भएका थिए। अहिले ब्रोकर ५० वटा छन्। १० करोडमा त ब्रोकरको लाइसेन्स बिक्री भएको छ। यस्तो समाचार खै आएको? यस्ता काम त कति भएका छन् कति।

सेयर बजार पत्रिकामा कम्पनी किन डुबे भन्नेदेखि त्यो कम्पनीको प्रष्ट चित्र आउने गरी लेख्थ्यौं। तर अहिले सूचना जति आउनुपर्ने हो, आएको देखिँदैन। समाचार नै अपूर्ण छन्।  विभिन्न कम्पनीका एसोसिएसनहरुले दिएको सूचनाको आधारमा कुनै कम्पनीबारे समाचार लेखिन्छन्।

पहिले ब्रोकरले लगानी गर्न पाउँदैनथ्यो। अहिले त ब्रोकर आफैं लगानीकर्ता छन्। अनि कस्तो हुन्छ बजार? धितोपत्र बोर्डमा बस्ने व्यक्ति नै इथिक्समा बसेको देखिँदैन।

सचेत लगानीकर्ताले वासलात हेरेर, कम्पनीको सम्पूर्ण विवरण हेरेर सेयर किन्ला। तर मास नै लगानीकर्ता भएपछि ह्विम जाने भयो नि। अहिले सेयर बजारमा भएको यही हो। यसलाई मिहिन ढंगले केलाएर लेख्ने पत्रकार भएनन्।

अस्ति प्रचण्डले आइएमफ, वर्ल्ड बैंक र नेप्से उस्तै हो भने। यसको सत्य आउने गरी कसले लेख्यो? उनले सेयर बजारबारे जे टिप्पणी गरे सोही आधारमा घट्नुपर्ने थियो त सेयर बजार? प्रचण्डले यसो भने अब सेयरबजार घट्न सक्छ भन्ने आधारमा हामीले लेख्यौं। हामीले कसैले भनेको आधारमा सेयर बजार घटबढ हुने होइन भनेर लेख्नुपर्ने हो नि। तर उनले के बताए मात्रै लेख्छौं। जसले गर्दा गलत म्यासेज गइरहेको छ। पत्रकारले त बुझ्नपर्‍यो नि। हावाको भरमा समाचार लेखेर त भएन।

लगानीकर्तापिच्छे अनलाइन
पहिलेका लगानीकर्ता एक्लो पत्रकारदेखि डराउँथे। कारण, पत्रकारले जे देख्यो, बुझ्यो कतैबाट प्रभावित नभई समाचार लेख्थ्यो। लगानीकर्ता बाठा भए भनौं या पत्रकार तथा मिडियाको आवश्यकता बढ्यो भनौं अब पत्रकार पत्रकार रहेनन्। पत्रकार त लगानीकर्ताका साथी भए। अझ भनौं कर्मचारी भए।

अहिले १५/२० वटा आर्थिक अनलाइन व्यापारी, व्यावसायी र लगानीकर्ताले चलाएका छन्। व्यावसायिक ग्रुपका पनि ग्रुपले चलाएका छन्। अनि कस्तो आउँछ विश्लेषण? जसलाई जस्तो समाचार लेखाउनु छ, उसले त्यस्तै अनलाइन खोलेको छ।

एउटा कम्पनीको दुई दिनअघि एकदमै नराम्रो लेखिदिने, दुई दिनपछि आफ्नो स्वार्थ मिल्यो भने धेरै राम्रो भनेर लेखेको पनि पाइयो। यसमा त मिडिया र पत्रकारको दुरुपयोग भयो नि। 

साना मिडिया मात्र होइन, ठूला मिडिया नै उस्तै छन्। ठूलो मिडियाका एक पत्रकारले एक डिस्टिलरीको एकदमै नराम्रो विश्लेषण गरेर लेख्यो। उसले जुन तहमा लेखेको थियो सो तहको सही थिएन। त्यसको एक/दुई दिनमा फेरि राम्रो लेख्यो। त्यहाँ इथिक्स भन्ने कुरा नै भएन। अघिल्लो समाचार किन यस्तो लेखियो, त्यसलाई पूरै बेवास्ता गरियो। मिसयुज्ड भइरहेका छन् पत्रकार। 

मैले सबै पत्रकारलाई भन्न खोजेको भने होइन। प्रवृत्ति जे देखिएको छ, त्यसलाई मात्र इंगित गर्न खोजेको हो। सेयर बजारको रिपोर्टिङ गर्ने पत्रकार सबै स्वार्थले भरिएका हुन्छन् भनेको होइन। धितोपत्र बोर्डका अध्यक्षले अहिले गरेजस्तो बदमासी पहिलेकाले पनि गरेका थिए। पहिले समाचार आएन, अहिले आयो। यस अर्थ लेख्ने साथी पनि उस्तै हुनुहुन्छ। तर हावी नराम्रोको भएको देखिन्छ। 

‘इनसाइडर’ पत्रकार खेल्ने भए 
एउटा बिटमा मात्र होइन, धेरै बिटमा दलाली गर्ने पत्रकार भए। उनीहरुसँग लगानीकर्तादेखि सिइओसम्मको हिमचिम भयो। नत्र किन धेरै पत्रकारका श्रीमती बैंकमा जागिरे छन्? उनीहरुका आफन्त निजी बैंकमा किन जागिरे छन्? यसको अर्थ उहाँहरुले नामै निकालेर काम गर्न सक्नुहुन्न भनेको होइन।

अर्को, पत्रकारले लगानीकर्तासँग मनग्गे सूचना लिने, आफू र आफू आबद्ध मिडियाको बोसलाई यो कुरा भन्ने र सेयर किनाउने अनि मात्रै समाचार लेखेको पनि देखिन्छ। यो त सिधै वित्तीय अपराध भएन र? 

बिबिसी, सिएनएनमा अर्थ रिपोर्टिङ गर्ने पत्रकारले सेयर बजारमा लगानी गर्न प्रतिबन्ध जस्तै छ । यदि कुनै कम्पनीको सेयरमा लगानी गरिए पनि त्यो कम्पनीसँग आफ्नो स्वार्थ नबाझिएको स्वघोषणा गरेर अफिसमा बुझाउनुपर्ने हुन्छ। हाम्रो त दिनभरिका सेयर बजारका खेलाडीले नै साँझ समाचार लेख्ने भए। अझ सामाजिक सञ्जाल र क्लब हाउसमा पनि आफूले लगानी गरेको कम्पनीको बढाइचढाइ कुरा गरेको सुन्छु। कम्पनीका सञ्चालकहरूसँगको बस उठबाट आएको सूचनाबाट आफैले चलखेल गर्छन्। *

अनि त्यस्ता रिपोर्टरलाई निरुत्साहित गर्नुको साटो केही सम्पादकले तीनै रिपोर्टरसँग कुन चैँ सेयर किन्दा राम्रो हुन्छ भनेर सल्लाह लिइराखेको पनि देखिन्छ। मिडियाले विज्ञापन बार्गेनिङ गर्ने भए भनेर लगानीकर्ताले सिधै केही लाख त्यो मिडियाको सेयर होल्डर नै भएका पनि छन्। 

प्रायोजित समाचार
सेयर बजारको रिपोर्टिङ पनि विज्ञान प्रविधिको रिपोर्टिङ गरेजस्तै हो। तर हाम्रा कति सम्पादकले सेयर बजारको उत्तरचढाव बुझ्छन्? बुझ्ने भए त अघि भनेकै कुरा प्रचण्डले सेयर बजारबारे गरेको टिप्पणीको सत्य के हो भनेर पनि छाप्थे नि। अह्राएको काम गर्ने रिपोर्टर, सेयर बजार नबुझ्ने सम्पादक, सेयरको लगानीकर्ता मिडिया साहु अनि कसरी आउँछ यथार्थ समाचार? 

पत्रकारका पनि आफ्नै आवश्यकता होलान्। मिडियाले एक पत्रकारलाई समाचारको लागि कति लगानी गर्छ भन्ने कुराले प्रभाव पार्छ। सँगै पत्रकार कति सिक्न खोज्छ भन्ने कुराले पनि प्रभाव पार्छ। अहिले सम्पादक धेरै छन्। रिपोर्टर त छन् तर पहुँचमा पुगेका रिपोर्टर एकदमै कम छन्। यसो हुँदा ठूलाठूला स्टोरी आउँदैनन्। स्कुप भनिएका समाचार पनि सम्पादकको इमेलमा आउँछन् अहिले त। कसको रिपोर्टरले सो समाचार पहिले खोज्नेभन्दा पनि कसले त्यो इमेल पहिले हेर्छ भन्ने पो भएको छ। 

प्रायोजित समाचारको त बाढी नै छ। एक जना फ्रिलान्सरले लेखेको समाचार नामी भनिएका अनलाइन तथा पत्रिकामा त्यहींका रिपोर्टरको बाइलाइन सहित फ्रन्ट पेजमा आएको पनि छ। ती साथी भन्दै थिए, यो समाचार कहाँ पुग्छ मलाई नै थाहा थिएन। पत्रकारहरु समाचारका इस्यु बुझ्दैनन्, इस्यु खोज्दैनन्। 

अड्कलेर आउँछ सूचना 
रिपोर्टरहरुमा पनि समस्या छ। पहिले-पहिले आर्थिक पत्रकारको इज्जत थियो। सबैले दूरी बनाएको देखिन्थ्यो। अहिले त उद्योग वाणिज्य महासंघको चुनाव हुन लाग्यो भने खुलेरै भोट मागेको देखिन्छ। नाडाको अधिवेशनमा मिडियाको लेखाइ देख्दा छक्कै परिने खालको थियो। लक्ष्मीपूजा गरेकोदेखि व्यवसायीका जन्म दिन, वैवाहिक वर्षगाँठमा समेत शुभकामना दिएको देखिन्छ पत्रकारले। यो हदसम्म गिर्न आवश्यक छ?

राजनीतिक दलका कार्यकर्ताले उनीहरुको नेताको ढाकछोप गरेभन्दा हनुमान भन्ने हामी कुन हिसाबले उद्योग वाणिज्य महासंघमा भोट मान सकेको? यसरी त व्यवसायीका हनुमान भएनन् र पत्रकार? 

व्यापारी-व्यवसायीलाई दाइ भन्ने, विदेश जान लागे पनि बधाई दिने, महावाणिज्य दूत बनाए पनि बधाई दिने भएपछि कस्तो आउँछ समाचार? यो त पूरै दास मानसिकता भएन र?

खोज्नेले नखोजेपछि समाचार पूरै आउँदैन। अड्कलेर आएको सूचनाले पत्रकारिता हुँदैन। 

मिडिया दलबाट कर्पोरेट हाउसतिर
पहिले कुन दलका पत्रिका कुन भन्ने प्रष्ट थाहा हुन्थ्यो। दृष्टि पत्रिका एमालेको र देशान्तर कांग्रेसको भन्ने समाचार हेरेर थाहा हुन्थ्यो। अहिले राजनीतिक दलको पञ्जाबाट फुत्किएर कर्पोरेट हाउसतिर पुगेका छन् मिडिया।

पहिले ठाडै यो नेताको नभने पनि उनीहरुको अप्रत्यक्ष लगानी देखिन्थ्यो। अहिले व्यवसायीको त्यस्तै देखिएको छ। कुन ग्रुपको, कुन ब्रोकरको, कुन गुटको लगानी भनेर समेत प्रष्ट छुट्टिन्छन्। सेयर बजारका हुन् या अन्य व्यवसायी, लगानीकर्ता त्यता पो गएका छन् मिडिया। 

अन्त्यमा, समस्या जताततै छ। त्यसको प्रभाव पत्रकारितामा पनि परेको हो। सेयर बजारमा लेख्नेले पनि केही ध्यान दिन जरुरी छ। कसैले बोलेको आधारमा होइन, वासलातमा के छ, कम्पनी कस्तो छ? फन्डामेन्टल कुरा के हो भन्नेमा ध्यान दिएर समाचार लेख्न जरुरी छ। 

* सच्याइएको

(सेयर बजार साप्ताहिकका सम्पादक आचार्यसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....