चौथो अंगमा अजय फुयाल : सम्पादक क्लिकमै रमाउने, रिपोर्टरले मात्रै के गरोस् ?

चौथो अंगमा अजय फुयाल : सम्पादक क्लिकमै रमाउने, रिपोर्टरले मात्रै के गरोस् ?
तस्बिर : कृष्पा श्रेष्ठ

गोरखापत्र मात्रै दैनिक पत्रिका हुँदा एक/दुई कोलममा आउँथे खेलसम्बन्धी समाचार। त्यतिबेला अग्रज पत्रकार अजय राणा, श्याम केसी, पी खरेलहरुले खेलकुदसम्बन्धी समाचार लेख्ने गरेको पाइन्छ।

२०४६ पछि प्रकाशनमा आएका दैनिक पत्रिकामध्ये सबैभन्दा पहिले नेपाल समाचारपत्रले खेलकुदको लागि पेज नै छुट्याउन थाल्यो। यसो हुनुमा पत्रिकाका प्रधानसम्पादकले खेल बुझ्नुभएको थियो। उहाँ आफैं फुटबल पनि खेल्नुहुन्थ्यो। त्यसपछि विस्तारै अन्य दैनिक पत्रिकाले पनि खेललाई अलग्गै पेज छुट्याउन थालेको देखिन्छ। 

सन् २००१ भन्दाअघि म राजनीति, अपराध तथा सुरक्षा बिटमा काम गर्थें। मैले प्रायः बिटमा समाचार लेखेको छु। त्यतिबेला नेपाल समाचारपत्रमा काम गर्थें। खेलकुद बिटमा काम गर्ने साथीहरु कोही विदेश गए र कोही बिरामी भए एकै पटक। प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले मलाई खेलकुद पत्रकारिता गर्न भन्नुभयो केही समयका लागि। सुरुमा मैले सक्दिनँ कि भनेको थिएँ। तर उहाँको जोडबलले लेख्न थालियो। 

तर, ए डिभिजन लिगको समाचार लेख्न भने पाइनँ सुरुमा। त्यो समाचार लेख्न मेरो ज्ञान पुग्दैन भनिन्थ्यो। फुटबल म खेलौंला तर पत्रकारको दृष्टिकोणबाट खेल बुझ्नुपर्छ भन्नुहुन्थ्यो अग्रज पत्रकारहरु।

एक वर्षपछि कार्यालयमा फेरि म्यानपावरको सर्टेज भयो। खेलकुदमा मैले लेख्न थालेको पनि एक वर्ष भइसकेको थियो। रंगशालामा खुकुरी कप चलिरहेको थियो। ए डिभिजनको पहिलो समाचार लेखें। सुरुमै बाइलाइन त्यसमाथि फुटबल बुझ्दैमा ए डिभिजनको समाचार लेख्न पाइँदैनथ्यो। खारिन आवश्यक थियो त्यो बेला। अहिले त एक लाइन लेख्न आउनेलाई पनि प्रमुख समाचार लेख्न लगाउनुपर्ने स्थिति सिर्जना भएको छ। 

फिल्डमा जाने चलन हराउँदै गयो
राति ८ बजेतिर कसैले टेलिभिजन खोलेर हेर्यो भने समाचार कक्षमा हामीले राजनीतिक रिपोर्टरहरु फिल्डमा जाँदैनन् भनेर उडाउँथ्यौँ। खेलकुद पत्रकार जस्तो हुनुपर्छ फिल्डमै जाने भन्थ्यौँ तर अहिले खेलकुद पत्रकार पनि फिल्डमा नजाने भए। टिभी हेरेर खेलेको रिपोर्टिङ गर्ने भए। टेलिभिजन हेरेर के थाहा हुन्छ, खेलाडीको इमोसन, ग्राउन्डको अवस्था अनि कोचको मनस्थिति? जुनसुकै बिटको पत्रकार पनि फिल्डमा कम जाने भए।

एक त अहिले प्रविधिले पनि सहयोग गरेको छ। पहिले निकै दुःख थियो। हामी आरआरमा पढ्दै गर्दाको समयमा एक जना विदेशी प्राध्यापक आएका थिए। उनले त्यतिबेला नेपालका जस्ता पत्रकार संसारमा कहीँ छैनन् भनेका थिए। किन? भनेर सोध्यौँ हामीले। 

उनले जवाफ दिए, ‘दुई रुपैयाँको डटपेन र न्यापकिनमा टिपोट गरेको रिपोर्टिङले ७/८ सय शब्द लेख्न सक्छन् नेपाली पत्रकार। लगानी नै छैन नेपाली पत्रकारमा।’

अहिलेका रिपोर्टरले प्रविधिलाई अधिकतम उपयोग गर्नुपर्ने हो। हामी स्टार स्पोर्ट्स पत्रिका हुलाकबाट मगाएर पढ्थ्यौँ। दैनिक पत्रिका तीन दिनपछि आइपुग्दा पनि पढ्थ्यौँ। कारण, उनीहरुले विभिन्न क्लबका समाचार कसरी लेख्छन् भनेर नै हो। हाम्रोमा थ्रिस्टार र मनाङ मस्र्याङ्दीको लेख्न पर्यो भने उताका यस्तै दुई क्लबको समाचार पढ्यो भने आइडिया आउँछ भनेर हेर्थ्यौं हामी। 

लरतरो रिपोर्टर खेलकुद रिपोर्टर हुन सक्दैन
२० वर्ष लामो पत्रकारिताको मेरो अनुभवले भन्छ, खेलकुद पत्रकारले अन्य रिपोर्टिङ गर्नसक्छ तर अन्य रिपोर्टरले खेलकुद रिपोर्टिङ गर्न सक्दैन। उदाहरणको लागि, राजनीतिक समाचार लेख्नेले नेपालका प्रमुख दल ५/६ वटा र प्रत्येक दलका ५/६ जना नेता चिने पुग्यो। तर खेल समाचार लेख्नेले यति थोरै मात्रै मान्छे चिनेर पुग्दैन। 

फुटबलको लागि कोच, खेलाडी, रेफ्री, एन्फा, तिनको गुटका दुई/चार जना मान्छे चिनेर मात्रै पुग्दैन। पेनाल्टी के हो? कुन सट हो? जान्नै पर्छ। अझ नेपालमा त खेलकुद रिपोर्टरले एक खेलको मात्रै जानकारी राखेर हुँदैन। ३ सयभन्दा बढी खेलको समाचार लेख्नुपर्छ। कति मात्रै जान्ने? कम्तीमा ८/१० वटा गेम त बुझेको हुनैपर्छ।  

लगानी छैन रिपोर्टिङमा
सन् २००२ मा एसियामा विश्वकप फुटबल भयो। त्यो बेलामा बेलायतको द सन पत्रिकाले एक खेलाडी डेबिड बेकह्यामको लागि मात्र १२ जना रिपोर्टर खटायो। कारण थियो, उसको बारेमा केही नछुटोस्। 

सन् २०१४ मा न्युयोर्क टाइम्सका एक जना लेखक लिओनल मेस्सीको बारेमा ५/७ हजार शब्द तयार गर्नका लागि बार्सिलोना गएर बसे एक हप्ता। क्याटलान गएर बसे एक हप्ता अनि मेस्सी जन्मेको स्थानमा गएर एक हप्ता बसे। त्यसपछि  अमेरिका बसेर उनीबारे फिचर लेखे। के हामीले यसरी लगानी गर्न सकेका छौँ? लगानी नै छैन समाचारमा। पत्रकारिता खिइँदै गयो।

नेपालमा खेलकुद पत्रकारिताको लागि स्वर्णीमकाल आएकै छैनभन्दा फरक पर्दैन। ६० को दशकमा मिहिनेत गर्ने टिम त थियो तर अहिले त्यो देखिँदैन। अहिले कस्तो समाचार भाइरल हुन थालेको छ भने, खेलाडीको तलब १८ हजार, सिइओको तलब एक लाख। यस्तो पनि समाचार हुन्छ? खेलकुद पत्रकारलाई संसारमा खेलाडीले तलबै खाँदैन भन्ने थाहा छैन। क्लबबाट खेलाडीले तलब खाने हो अन्य स्थानबाट हो र? यति सामान्य ज्ञान पनि नराख्ने। केही खेलकुद पत्रकारमा सामान्य ज्ञानको समेत कमजोरी रहेको पाइयो।

केही समयअघि क्रिकेट खेलाडीले फुटबल खेले, खेलकै बेइज्जत भयो भनेर समाचार आयो। त्यो पत्रकारलाई के पनि थाहा भएन भने नेपालमा इनडोर क्रिकेट खेल्ने सुविधा छैन। ज्यान फिट राख्न फुटबल खेल्नुपर्छ तर उनीहरुले एंगल अर्कै दिए। 

यसमा पनि रिपोर्टरको मात्रै कमजोरी देख्दिनँ म। कुनै पनि सम्पादकले मलाई जान्ने, अध्ययनशील पत्रकार चाहिन्छ भनेनन्। समाचारको गुणस्तरबारे कति समाचार कक्षमा कुराकानी हुन्छ? तिम्रो समाचार यति हजारले हेरे भन्ने सम्पादकले तिम्रो समाचारको गुणस्तर यस्तो छ भन्दैन अनि कसरी उत्साहित होस् रिपोर्टर? सम्पादक क्लिकमै रमाउने अनि रिपोर्टरले मात्र के गरोस्? 

पत्रकार भनेको एन्टिकरेन्ट हुनुपर्छ तर एन्टिकरेन्ट पत्रकारको खडेरी छ अहिले। 

सम्पादकले रिपोर्टरलाई समय दिँदैनन्
आलोचनात्मक चेतका लागि पत्रकार अध्ययनशील हुनुपर्छ। एउटा खँदिलो समाचारको लागि दुई/तीन दिन लाग्न सक्छ। धेरै मान्छे भेट्नुपर्ने हुनसक्छ तर कुन सम्पादकले दिन्छन् समय? दिनको ३/४ वटा समाचार देऊ भन्छन् सम्पादक। 

मैं पनि एउटा अनलाइनको सम्पादक हुँदा राम्रै पत्रकारलाई पनि खै समाचार भन्थें दिनहुँ। मिडिया व्यवस्थापकले लगानी नगर्ने, सम्पादकले केही भन्न नसक्ने अनि कसरी आउँछ समाचार? हाम्रा कति रिपोर्टरले कफी सपमा भेटेर समाचार ल्याउन सक्छन्? के समय र आर्थिक स्रोत जुटाइदिन्छन् सम्पादकले? 

खेलकुद रिपोर्टरले दिनहुँ फिल्डमा जानैपर्छ। हामीले रिपोर्टिङ गर्दा राष्ट्रिय टिम घोषणा भोलि हुँदैछ भने आजै नाम थाहा हुन्थ्यो। कारण तालिमको समयभरि दिनहुँ म रंगशाला पुग्थें। हरेक खेलाडीले कस्तो खेलेको छ भनेर विश्लेषण हुन्थ्यो कोचसँग। अनि आफैं विश्लेषण गर्न सकिन्थ्यो।

गणेश थापा नै एन्फाको अध्यक्ष हुँदा भोलिपल्टको साधारण सभामा कति बजेट पेस हुँदैछ भनेर छाप्यौँ अगाडि नै। त्यतिबेला थापाले पैसा भए पनि परिवर्तन गर्न लगाएका रहेछन्। पछि उनी आफैंले भने। निरन्तर सम्पर्कमा बस्ने र क्लोज रिलेसनमा बस्ने पत्रकारले यस्ता समाचारहरु बनाउन सक्छ। 

नीतिगत प्रभाव पार्ने समाचार कम भए
हरेक विषयको रिपोर्टिङमा खोज पत्रकारिता गर्नु धेरै राम्रो हो। तर खेल समाचार भनेको खेल समाचार नै हो। इभेन्ट बेस बढी हुन्छन् नै। पछिल्लो समय कुनै क्लबका डाइहार्ट फ्यानहरु, खेलकुद समाचार निरन्तर पढ्नेहरु र खेल्नेहरु नै खेलकुद पत्रकार हुन थालेका छन्। यसो हुँदा खेल त बुझिएला तर पत्रकारिताको आलोचनात्मक चेत कम हुनसक्छ। एउटा क्लबको डाइहार्ट फ्यानले अर्को क्लबको राम्रो पक्ष नलेख्न सक्छ। 

त्यस कारण नीतिगत रुपमा प्रभाव पार्ने समाचार कम आएका हुन सक्छन्। पहिले म ब्युरो चिफ हुँदा विदेशमा बाहिरका खेलाडीलाई वर्क पर्मिट लिएर मात्रै खेल्न पाउने नियम थियो, हाम्रोमा थिएन। हामीले निरन्तर समाचार लेखेपछि यो निर्णय यहाँ पनि भयो।

त्यस्तै कुनै समाचार गलत भयो भने माफी पनि माग्नुपर्छ। केही वर्षअघि कतारमा वर्ल्डकप हुने/नहुने भन्नेमा भोटिङ भएको थियो। फिफाका सदस्यले भोट हाल्थे। मै ब्युरो चिफ भएको पत्रिकाले गणेश थापाले पनि घुस लिए भनेर समाचार लेख्यो। जब कि गणेश थापाले भोट हाल्न पाउने नै थिएनन्। उनले मलाई पटकपटक यो समाचार लेख्यौ भनेर भन्थे। म होइन भन्थें। उनले त एक दिन पत्रिकाको कटिङ नै ल्याए त्यसपछि हामीले सच्यायौं। म बाहिर गएको बेला समाचार आएको थियो। 

रिपोर्टरको आत्मविश्वास त्यतिबेला मात्रै बढ्छ जतिबेला सम्पादकले समाचार लेखेपछि आउने लफडामा चट्टानसरी उभिएर रिपोर्टरलाई ढाडस दिन्छ। केही वर्षअघि नेपाल डिभिजन वानमा नजाने भयो क्रिकेटमा। मेरो स्रोतले मलाई नेपालको अवस्था हेरेर टुर्नामेन्ट खेल्न पाउने आइसिसीले निर्णय गर्ने बतायो। 

मैले समाचार दुई/तीन दिनअघि लेखेको थिएँ। यतिसम्म उडाए कि एक विदेशी रिपोर्टरलाई समेत अनुवाद गरेर पठाएछन् नेपाली साथीहरुले। त्यो क्रिकेट पत्रकार थियो। उसले त ट्विटरमा थ्रेड नै लेखेछ, क्रिकेटबारे ज्ञान नै नभएको पत्रकार भनेर। तर त्यतिबेला मलाई सम्पादकले थम्थम्याए। पछि आइसिसीले निर्णय गर्यो पनि।

राखेप, एन्फा, क्यानको विवादबारे समाचार नै नआएका होइनन्। तर अझै उधिनेर ल्याउनुपर्ने स्थिति भने छ। माओवादी द्वन्द्वकाल नै थियो। एक जना विदेशी गायक नेपाल आउने भएका थिए। राखेपका पदाधिकारीले गर्दा उनी आउने कुरा क्यान्सिल हुन लागेको थियो। कारण थियो, रंगशालाको पैसा माग्नु। 

अन्य संस्थाको बेथितिबारे पनि पत्रकारले समाचार लेखिरहेका छन्। लगानी अनुसार रिपोर्टिङ आएका छन्। भारतीय खेलाडीलाई नेपालले किन हराउन सक्दैन भन्दा लगानी कम भएर भनेर लेख्ने पत्रकारले उनीहरुको समाचारमा कति लगानी भएको छ भनेर नसोच्ने? 

विकृति कम छ खेलकुद पत्रकारमा
विकृति-विसंगति हरेक क्षेत्रमा छ, पत्रकारितामा मात्रै होइन। तर खेलकुद पत्रकारिता अन्य पत्रकारिताभन्दा सङ्लो छ। म दावीका साथ भन्छु, अन्य क्षेत्रका असल र खेलकुद क्षेत्रका खराब पत्रकार एकै हुन्। एक/दुई प्रतिशतले विदेश जाने लोभले कसैलाई खुइल्याउने, कसैलाई उचाल्ने नगरेका होइनन् तर समग्रतामा त्यस्तो छैन। 

प्यासन भएका केही पत्रकारले राम्रै पनि गरिरहेका छन्। राति फुटबल म्याच हेर्दा हाई गर्ने अथवा बिहान हाइलाइट हेरेर समाचार लेख्ने पत्रकार खेलकुद पत्रकारमा फिट हुन सक्दैन। केही नयाँ पत्रकार यस्ता पनि छन्, रातभर खेल हेरेर उतिबेलै समाचार पठाउने। खेलकुद पत्रकारितामा मात्र लगानी र समयको खाँचो देख्छु म।

(खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयालसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)  

चौथो अंगका पुराना श्रृंखला

९ कात्तिक, २०७८, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।