उकेरा काेलम

चौथो अंगमा राजकुमार बानियाँ : सम्पादकहरु झोलुङ्गे पुल जस्ता भए, काम नगर्ने हल्लिने मात्रै

लेख्न पनि नजान्ने र काँटछाँट गर्‍यो भने मुटु-कलेजो नै निकालेझैं गर्ने रिपोर्टर पनि छन्

राजकुमार बानियाँ


तस्बिर : कृष्पा श्रेष्ठ ।

खासमा कपी एडिटिङ भनेको समाचार, विचार या फिचरमा गुणवत्ता स्थापित गर्नु हो। समाचार सामग्रीलाई सकेसम्म वस्तुनिष्ठ, स्पष्ट र खोट वा त्रुटिरहित बनाउनु हो।

कपी एडिटिङमा प्राविधिक ज्ञानमात्र नभएर सिर्जनशीलता देखाउने अवसर पनि हुन्छ। समाचार सामग्रीलाई रुचिकर, विश्वसनीय र पठनीय बनाउने काम कपी एडिटरको हो। त्यसका लागि उसमा शब्दशिल्पी मात्र भएर पुग्दैन, सूचना र ज्ञानकोष पनि उत्तिकै चाहिन्छ। त्यसैले न्युज रुममा कपी एडिटरको जिम्मेवारी गहकिलै हुन्छ।

त्यसो त हामीकहाँ कपी एडिटिङलाई त्यति महत्व दिएजस्तो लाग्दैन। प्रुफ रिडिङ, रिराइटिङ, फ्याक्ट चेकिङ लगायतका काम एउटै व्यक्तिले धानिरहेको देखिन्छ। कतिपयले कपी एडिटिङ र प्रुफ रिडिङलाई एउटै काम सम्झन्छन्। वास्तवमा प्रुफ रिडिङ त कपी एटिडिङको एउटा हिस्सा मात्र हो।

कुशल कपी एडिटरले सरस समाचारमा शुष्क शीर्षक राख्दैन। सफ्ट न्युजमा हार्ड न्युजको जस्तो हेडलाइन राख्दैन। आफैं सर्वज्ञ हुँ भन्ने खालको अहंकार पनि राख्दैन। रिपोर्टरभन्दा म ठूलो हुँ भन्ने भ्रम पनि पाल्दैन। आफैं राम्रो लेख्ने पत्रकारले नै राम्रो कपी एडिटिङ गर्नसक्छ।

पछिल्लो समय पत्रकारितालाई जागिर मात्र ठान्ने प्रवृत्ति मौलाएको छ। जागिरे मानसिकताका पत्रकारहरुले आफ्नो भाषा, शैली या पेसागत दक्षतामा खासै ध्यान दिँदैनन्। कतिपय त दुई सय शब्दसम्मका लम्बेतान वाक्य बनाउँछन्। अस्पष्ट सूचना, निरर्थक पृष्ठभूमि दिइरहेका हुन्छन्। तिनलाई छिमोल्ने काम कपी एडिटरकै हो। त्यसका लागि धैर्यवान् र प्रतिबद्ध सञ्चारकर्मी चाहिन्छ।

कर्मकाण्डी कपी एडिटिङ
२०४६ सालपछि नेपाली मिडियाको लागि शुभ अवसर रह्यो। पत्रकारिताका धेरै आयाम परिर्वतन भए। व्यावसायिक मिडिया हाउसहरु आएपछि परिवर्तन त हुने नै भयो। तर जतिसुकै व्यावसायिक मिडिया आए पनि कपी एडिटिङलाई भने कर्मकाण्डी मात्रै बनाए।

दैनिक पत्रिका होस् वा साप्ताहिक, म्यागेजिन। अनलाइन नै किन नहोस् कपी एडिटिङका लागि पर्याप्त समय नै पाइएन। जुनसुकै माध्यममा काम गरे पनि रिपोर्टरको काम गर्ने शैली उही रह्यो। पत्रिकाबाट अनलाइनसम्म आउँदा माध्यम फेरियो तर प्रवृत्ति फेरिएन। काम गर्ने शैली, पस्कने विषयवस्तु उही रह्यो।

पत्रिकाको कुरा गर्दा ११ बजे प्रेस पठाउने हो भने साढे १० बजे हस्याँङफस्याँङ गर्दै रिपोर्टर समाचार लिएर आइपुग्छ। जसले गर्दा हेर्ने र सोच्ने फुर्सद नै पाउँदैन कपी एडिटरले।

प्रुफ रिडर कपी एडिटर होइन। एउटा पत्रिकाको कुरा गरौँ, जुन पत्रिकामा प्रुफ रिडर राखिएको थिएन। ब्युरो सिस्टम ल्याइयो। रिपोर्टिङको हिसाबले ब्युरो सिस्टम राम्रो पनि हो तर हिज्जे समेत राम्रोसँग नजान्ने व्यक्ति ब्युरो चिफ भए।

त्यहाँ काम गर्दा मैले कन्टेन्ट, प्रुफ, फ्याक्ट चेकदेखि डिजाइनसम्म हेरेको छु। नेपाली समाचार कक्ष वान म्यान आर्मीको भरमा चलेको छ। कन्टेन्ट हेर्नेदेखि प्रुफ फ्याक्ट चेकिङ एउटैको काम नै हैन। पत्रकारिता त सामूहिक काम हो। यो कुरा न रिपोर्टरले बुझेका छन् न त सम्पादकले नै।

कपी एडिटर नाली या भकारो सोहोर्ने कारिन्दा
जो कोही कपी एडिटर हुन सक्दैन। बाइलाइन, पहिचान, सम्मान, पुरस्कार, भोजभत्तेर, विदेश सयर या अन्य आकर्षक चिज उसका लागि होइनन्। पर्दा पछाडि नै रमाउन सक्ने मानिस मात्र कपी एडिटर हुनसक्छ। तर हामीकहाँ कपी एडिटरलाई न पुग्दो पैसा छ, न त माग्दा बिदा नै पाउने स्थिति छ।

पिटर जे कार्थक भनिरहन्थे, रिपोर्टरहरु बारीबाट माटोसहित मुला उखेलेर ल्याउँछन्। तिनलाई धोइपखाली गर्ने, काटकुट गर्ने अनि मिठो व्यञ्जन बनाएर पस्किने सबै काम कपी एडिटरकै हो भन्ने सम्झन्छन्। मेरो अनुभवमा कपी एडिटर नाली या भकारो सोहोर्ने कारिन्दा हो।

संसारभरि नै कपी एडिटिङको कामलाई ‘थ्याङ्क्सलेस जब’ नै मानिन्छ। कपी एडिटर सिद्ध राक्षस होइन, उसले पनि गल्ती गर्नसक्छ। उसले राम्रो काम गरेवापत कहिल्यै श्रेय पाउँदैन। सम्पादकले उसलाई खोज्ने नै गल्ती भएका बेला हो।

रिपोर्टरहरुमा पनि राम्रो हुँदा आफैंले गरेको भन्ने अनि बिग्रँदा डेस्कले बिगारेको भनेर पन्छने प्रवृत्ति हुन्छ। त्यस्तो बेला सम्पादकहरु प्रायः कपी एडिटरकै कान समाउन मन पराउँछन्। केरकारदेखि झपार खाने कपी नै एडिटर हुन्छ।

माध्यम फरक, काम गर्ने शैली उस्तै
दैनिक अखबार, म्यागेजिन होस् या अनलाइन, न्युज रुममा काम गर्ने शैली प्रायः उस्तै छ। अन्तिम समयमा आएको सामग्रीलाई हेडलाइन राखेर पठाउने बाहेक केही गर्न नसकेको अनुभव पनि छ। डेडलाइनका कारण फिडब्याक दिने या पुनर्लेखन गराउने समय नै हुँदैन। न्युजरुम संस्कृतिको विकास हुने हो भने यी कुराहरु स्वतः कम हुँदै जान्छन्।   

हामीकहाँ पत्रकारहरु आफ्नो पेसामा मात्र छैनन्, राजनीति, व्यापार, सेयर बजार, स्कुल–कलेज, घरजग्गा दलाली, सहकारी जताततै उपस्थिति जनाउँछन्। एउटा मात्र काम गरेर सायद कसैले चित्त बुझाएको छैन।

रिपोर्टरहरुलाई आफूले खोजबिन गरेर ल्याएका सामग्री महत्वपूर्ण लाग्छन्। तर कपी एडिटरलाई ती सबै आवश्यक नलाग्न सक्छ। आफूले ल्याएका सामग्री काँटछाँटमा पर्दा उनीहरु मुटु-कलेजो नै झिकेको अनुभूति गर्छन्। कतिपय अवस्थामा मनोमालिन्य पनि हुन जान्छ। वास्तवमा उनीहरुलाई कपी एडिटरका सीमा नै थाहा हुन्न।

म एउटा पत्रिकामा कपी एडिटर थिएँ। एक जना रिपोर्टरले स्वास्थ्य मन्त्रालयको औपचारिक कार्यक्रमको समाचार ल्याएर दिनुभयो। उहाँले फिचर आउँछ भन्ने सोच्नुभएको रहेछ। त्यो समाचार फिचरमा जान लायकको थिएन। छोटकरी बनाएर राखिदिएपछि बम्किँदै ‘यो समाचार कसले हेरेको? मेरो समाचार कसले काटेको?’ भनेर कराउनुभयो। यो त एउटा उदाहरण मात्र हो। यस्ता समस्या धेरै आउँछन्।

अर्को, संविधान सभाको दुई पटककै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ भए। उनीसँग एक पटक लिएको अन्तर्वार्ताको कोट आठ वर्षसम्म चल्यो। एउटै कोटलाई ओल्टाइपल्टाई गर्ने काम भए। कहिलेकाहीँ त मिति पनि पुरानै राख्थे रिपोर्टरहरु। राजनीति समाचार लेख्नेले ‘दाइ आज के राखौं’ भनेर कोट माग्छन्। यस्ता प्रायोजित रिपोर्टहरु धेरै भए हाम्रो समाचार कक्षमा।

समाचार कक्षमा रिपोर्टरहरु चलायमान भइरहेका हुन्छन्, नयाँदेखि १०औं वर्ष काम गरेकासम्म। कुनै समाचार पूरै पुनर्लेखन नै गर्नुपर्छ भने कुनै भाषादेखि लिडसम्म मिलाउनुपर्ने हुन्छन्। केही समाचार मात्रै सरसर्ती हेरे पुग्ने हुन्छन्। १०औं वर्ष काम गरेका रिपोर्टरले लेखेको समाचार पनि पुनर्लेखन गरेको छु मैले। व्यक्तिको नामदेखि मितिसम्म गलत लेख्ने रिपोर्टर पनि झेलियो।

अरुको ज्ञानलाई उपहास गर्ने सम्पादक

म आफूलाई उम्दा या विज्ञ कपी एडिटर सम्झन्नँ। औसत या कामचलाउ भने पनि हुन्छ। सैद्धान्तिकभन्दा पनि व्यावहारिक ज्ञान होला अलिकति। म नाम कमाउने भ्रममा पत्रकार भएको हुँ। लेख्नमै रुचि थियो। तर पत्रकारिताको सुरुवाती दिनमा नै सम्पादकहरुले कपी/डेस्कको जिम्मेवारी दिए। त्यसमै बानी पारेँ। मलाई त्यही जेल जिन्दगी नै प्यारो भयो।

तर, कतिपय रिपोर्टर डेस्क वर्क गर्नुलाई एकै ठाउँमा कुहिनुजस्तै ठान्छन्। यो त बुढो भएपछि फिल्डमा जान नसक्ने भएपछि गर्ने कार्य भन्ठान्छन्। कपी एडिटिङको सिप भएको रिपोर्टर हुनु सुनमा सुगन्ध थपेजस्तै हो। यी दुवैथरी कामको अनुभव लिएको पत्रकार सम्पादक भयो भने सायद उसले न्युज रुममा न्याय गर्नसक्छ।

त्यसो त म मात्र होइन, यहाँका सम्पादक पनि औसत नै देख्छु। कपी एडिटर मात्र नभएर अनुभवी र योग्य सम्पादकको पनि अभाव नै छ। रोचक के भने, सम्पादक नै नभएका ठाउँमा पनि प्रधानसम्पादक भेटिन्छन्।

सम्पादकले आफ्नो टिमलाई व्यवस्थित गर्नुभन्दा पनि प्रायः आफ्नो जागिर थमौतीका लागि धेरै समय खर्चनुपरेको हुन्छ। न्युज रुममा भन्दा पनि साहुजीहरुकै सेवामा हाजिर हुने सम्पादकबाट खासै आशा गर्न सकिँदैन।

साढे दुई दशकको पत्रकारितामा धेरै सम्पादकको संगत गर्न पाएँ मैले। आफ्नो सुरले आफ्नै डेस्कमा बसेर अनुवाद गर्नेदेखि कामै नगर्ने सम्पादकसम्मको संगत गरेको छु।

अब केही बेर सम्पादकका कुरा गरौँ।

भाषामा, फोटोदेखि डिजाइनरसम्मको कामलाई हस्तक्षेप गर्छन् सम्पादकले। डिजाइनरलाई काम गर्न दिँदैनन्। डिजाइनरले एक तरिकाले बनाएको हुन्छ, सम्पादकले भत्काइदिन्छन्। एक पटक भत्काएपछि मोरल्ली डाउन हुन्छन् डिजाइनर। अर्को पटकदेखि सिर्जनात्मकभन्दा पनि सम्पादकले भने जस्तो बनाउन ऊ बाध्य हुन्छन्।

भाषा पनि सम्पादकले आफू अनुकुल बनाउन खोज्छन्। हुँदाहुँदा ह्रस्व-दीर्घ ‘अरुले जेसुकै लेखून्, हामीले यसरी लेख्ने’ सम्म भन्छन्। कुनै पनि व्यक्तिको विज्ञताको उपहास गर्ने काम सम्पादकले गर्छन्। त्यस्ता सम्पादक धेरै भेटें मैले।

कपी एडिटरको काम असाध्यै ठूलो जिम्मेवारी हो। हाम्रो बजारमा कपी एडिटरको हाहाकार नै छ। प्रुफ रिडरलाई सम्भावित कपी एडिटर भनेर काम दिइएको छ। नेपाली पढाउने शिक्षकलाई समेत कपी एडिटरको काम दिइएको पाइन्छ। जसलाई पत्रकारिताबारे थाहै हुन्न।

प्रुफ रिडरलाई पनि भार छ, हाम्रो समाचार कक्षमा। अचेलका समाचार पढ्दा लाग्छ, रिपोर्टरले लेखेको समाचारलाई प्रुफ रिडरले हेरेर राखिदिएको छ। न त त्यो समाचारमा सम्पादक भएको आभाष हुन्छ न त कपी एडिटर नै।

सम्पादकले समाचार कक्षमा पुलको काम गर्ने हो। तर हाम्रा नेपाली सम्पादकहरु झोलुङ्गे पुल जस्ता भए। काम नगर्ने हल्लिने मात्रै।

सम्पादकले त मेकानिजम बनाउनुपर्ने हो, त्यो बनाउँदैनन्। केही आफ्नो कोटरी भित्रका साथी लिने, चिया खाने, बस्ने काममा मात्रै सीमित देखेको छु सम्पादक। आजसम्म डेस्कमा के–कस्तो छ भनेर सम्पादकले सोधेको मैले भेटेको छैन। समाचार कक्षमा कामै नगरे पनि हाम्रा सम्पादक यति व्यस्त हुन्छन् कि सधैं हस्याँङफस्याँङ गरिरहेका हुन्छन्।

सम्पादकको तलब धेरै हुन्छ त्यत्ति हो। १०औं वर्ष सम्पादक हुने, एक दिन बाइलाइन नजाने सम्पादक धेरै छन् यहाँ। एकाध सम्पादक बाहेक समाचारमा मिहिनेत गर्ने सम्पादक देखेको छैन मैले। समसामयिक विषयमा कडा टिप्पणी सम्पादकले गर्नुपर्ने हैन? लेख्ने सम्पादक नै कम भए हाम्रोमा।

कपी एडिटिङको गाम्भीर्यता बुझेको सम्पादक नै छैनन्। राम्रै लेख्ने सम्पादकले समेत प्रुफ रिडर राखेनन्। आफूलाई पनि नआउने, सहायक  सम्पादकलाई पनि प्रुफ हेर्न नआउने। यस्तो हुँदा हिज्जे र भाषा नमिलेको डमी जस्तो पत्रिका आउँथ्यो। मान्छे धेरै राख्ने, डेलिभरी नहुने। सनकको भरमा काम गर्ने सम्पादक धेरै झेलियो।

पत्रकारितामा भएन परिवर्तन

सम्पादकहरु त धेरै भए। तर पत्रकारिताको मेनु वा सर्जाम दशकौंदेखि उस्तै छ। त्यस्तो उत्पात परिवर्तन भएजस्तो लाग्दैन। पत्रकारितामा नयाँ आयाम थपिएको भन्ने कुनै उदाहरण पनि छैन। हाकिम भएपछि त आफूलाई यसै सर्वज्ञ ठान्ने सम्पादक धेरै भए। फुर्तीफार्ती, चुरीफुरीमा नयाँ सम्पादकले जित्ने भए पुरानालाई।

रिपोर्टर पुरस्कार, विदेश भ्रमणदेखि तालिमसम्म सहभागी हुन्छन्। तर सिक्न खोज्ने र जान्नका लागि चाहिने धैर्यता र लगन रिपोर्टरमा देखिँदैन। जान्नको लागि समय छुट्याउन सकेका छैनन्। बेफुर्सदी छन् हाम्रा रिपोर्टर। ‘मिलेन फेरि लेख’ भन्दा चित्त दुखाउने रिपोर्टर बढी भए।  

समाचार कक्षहरु बढी चाकडीबाजमा गए। एउटा घटना सझौं, म एउटा दैनिकमा काम गर्थें। रिपोर्टरले गरेको गल्ती मैले एक जना प्रुफ रिडरलाई सुनाएँ। उनले सम्पादकलाई सुनाएछन्। गल्ती थाहा पायो, भनेर उनको पो नम्बर चढ्यो। गल्ती पत्ता लगाउने एउटा नम्बर पाउने अर्को।

चाकडीमा रमाउने सम्पादक छन् यहाँ। कसले के काम गर्‍यो, मतलब हुँदैन। आज गजब भयो भन्ने, प्रियजनसँग बस्ने गफ गर्ने। गजब भने केही भएको हुँदैन। भजनमण्डली राखेका हुन्छन् सम्पादकले। प्रधानमन्त्रीदेखि प्रधानसम्पादकसम्मले भजनमण्डली राख्ने भए हाम्रो देशमा।

नवीन काम गर्ने सोच र ऊर्जा भएको सम्पादक नपाउनु दुर्भाग्य हो हाम्रो। हामीले समाजलाई चलायमन गराउन सकेनौं। एउटै पदमा धेरै पटक दोहोरिए भनेर हामी नेतालाई गाली गर्छौं तर सम्पादकले पनि त त्यही गरेका छन् नि।

‘मेरो पालो पुग्यो, मैले दिने डेलिभरी यति नै हो, अब नयाँ पुस्ताको लागि छोड्छु’ भन्ने संस्कृति पत्रकारितामा पनि छैन। जसले गर्दा मिडियाले समाजलाई चलायमान जति बनाउन सक्नुपर्ने हो त्यति बनाएको छैन।

फेरि कपी एडिटिङमा नै फर्कौं

मैले नेपाल प्रेस इन्स्च्यिुटबाट तालिम लिएको हुँ। यद्यपि, यसभन्दा अघि पनि म पत्रकारिता नै गर्थें। पत्रकारिताको आधारभूत ज्ञान १० महिने तालिमले दियो। कपि एडिटिङको त कक्षा नै हुँदैन हाम्रोमा।

अहिले बजारमा पत्रकार त फालाफाल छन्। तर कपी एटिडिङका लागि सञ्चार माध्यमसँग स्तरीय जनशक्ति छैन। एकैथरी मान्छेको तानातान छ। त्यसका लागि विश्वविद्यालय, प्रशिक्षण प्रदायक सञ्चार संस्था, सञ्चार गृहहरुको ध्यान नपुगेको जस्तो लाग्छ। तिनले कपी एटिडिङका कोर्स बनाएर या कार्यशाला चलाएर जनशक्ति उत्पादनतिर ध्यान दिनुपर्ने हो।

मिडिया अध्ययन या मिडियाको समालोचना पनि खासै भएको देखिँदैन। त्यसले गर्दा पनि मिडियामा सुधार नआएको हुनसक्छ। समय क्रममा त्यो सुधार अवश्य आउने छ।

(साढे दुई दशकदेखि  पत्रकारिताको लेखन र सम्पादन विधामा क्रियशील बानियाँसँग उकेराको नियमित स्तम्भ चौथो अङ्गका लागि उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी....

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त....

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि....

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे।  सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन....

‘श्रीमतीको सपना पूरा गर्न सहरमा पसिना बगाउँदै छु’

सहरमा कोही व्यस्त छन्, घडेरी खन्न। कोही कौसीमा करेसाबारी बनाउँदै छन्। कोरोनाले सहरका मानिसलाई समय दिएको छ। उनीहरु समय कटाउन अनेक हर्कत गरिरहेका छन्। सरकारले....