उकेरा कोलम

चौथो अंग : प्रकाशकलाई फोटो पत्रकारले बिगारे

सर्वे त भएको छैन। तर, दाबीका साथ भन्न सक्छु– अहिलेको ९० प्रतिशत फोटो पत्रकारले समाचार पढ्दैनन्। उनीहरूले हेर्ने भनेको आफ्नो फोटो छापियो की छापिएन अनि नाम आयो कि आएन भन्ने मात्रै हो।


तस्बिर : कृष्पा श्रेष्ठ।

२०४६ सालअघि फोटो पत्रकारिता राम्रो थिएन। गोरखापत्रमा ब्लक बनाएर फोटो राखिन्थ्यो। वर्षाैं अघिको फोटो दोहोर्याएर प्रयोग गरिन्थ्यो। ४०-४५ वर्ष पुगेको मान्छेको २० वर्षअघि उसको फोटो ब्लकमा छ भने त्यही फोटो छापिन्थ्यो।

त्यसमा पनि ‘गोरखापत्र’मा कुन फोटो छाप्ने भनेर दरबारको स्वीकृति चाहिन्थ्यो। दरबारबाट स्वीकृत नभई फोटो नै छापिँदैनथ्यो।

समाचारमा फोटो राम्रोसँग ‘प्ले’ हुन थालेको २०४६ सालपछि नै हो। त्यति बेला फोटो पत्रकार र पत्रकारहरूले धेरै मिहिनेत गर्नुपथ्र्याे। फोटो पत्रकारिता त झनै प्रविधिले एकदमै चुनौतीपूर्ण बनाएको थियो।

अहिलेजस्तो यातायातको सुविधा थिएन। टाढासम्म हिँडेरै जानुपथ्र्याे। तर, विश्वसनीयता उच्च थियो। त्यस आधारमा अहिले फोटो पत्रकारिता गर्न सहज छ। तर, विश्वसनीयता गुम्दै गएको छ।

अहिलेका फोटो पत्रकारको दिमागमा मिहिनेत गरेर खिच्ने भन्दा पनि क्रप गरेर मिलाउँला भन्ने पहिल्यै दिमागमा राख्छन्। अनि गुणस्तर खस्किने नै भयो।
०००
फोटो पत्रकारितालाई सहज बनाउनुमा डिजिटल क्यामेरा र अफसेट प्रेसको महत्त्वपूर्ण भूमिका छ। यी दुवै प्रविधि आएपछि पत्रिकामा राम्रो फोटो छापिन थाले।

मलाई याद हुनेचाहिँ २०४६ पछि खुलेको ‘जनमञ्च’मा एकदमै राम्रो फोटो छापिन्थ्यो। संयोगले मैले केही समय त्यसमा काम गर्ने अवसर पाएँ। नेताहरूसँग फोटो माग्दा ‘जनमञ्च’मा आएको छ, त्यहीबाट लिनु भन्थे। फोटो हेर्नकै लागि पनि ‘जनमञ्च’ किन्नेहरू थिए।

त्यति बेला कुनै पनि साप्ताहिक पत्रिकाले फोटो पत्रकार राखेका थिएनन्। त्यो बेला स्रोत, साधन र अवसर कम थियो फोटो पत्रकारलाई। अहिले स्रोत र साधन बढी छ। प्रतिष्पर्धा पनि धेरै छ। तर, स्वस्थ प्रतिष्पर्धा छैन। गुणस्तरीय प्रतिष्पर्धा छैन।

क्यामेरा राम्रो हुँदैमा राम्रो फोटो आउँदैन

पुरानै दिन सम्झौं है।
फुटबल खेल भइरहेको फोटो ‘गोरखापत्र’मा छापियो भने दुई जनाको टाउको जोडिएको वा दौडिएको जस्तो मात्रै फोटो आउँथ्यो। फुटबलको फोटो नै आउँदैनथ्यो।

सबैलाई फुटबल खेलबारे थाहा हुन्छ भन्ने हुँदैन नि। अनि त्यति बेलाका फोटो समाचार अनुसारको पनि नहुने।

निजी सञ्चारमाध्यम आएपछि फुटबल खेलको फोटो खिच्न गइयो। फोटो खिच्दा फुटबल समेत आउने गरेर खिच्न थाले। जे भएको हो त्यो सबै जानकारी दिने फोटो खिच्ने प्रयास भयो। निजीमा छापिने फोटो फरक हुन थालेपछि सरकारी पत्रिकाले पनि आफूलाई सुधारे।

मेरो व्यक्तिगत अनुभवमा सार्प र छिटो फोटो खिच्ने कलाको विकास गर्ने हो भने खेलकुदको फोटो खिच्नैपर्छ। यसले मुभमेन्ट क्याच गर्ने क्षमता बढाउँछ।

राम्रो क्यामरा हुँदैमा फोटो राम्रो आउँदैन

तस्बिरको गुणस्तरबारे छलफल हुँदा धेरैले क्यामराबारे कुरा गरेको सुन्छु। फलानाको कस्तो राम्रो तस्बिर भन्यो भने ‘अहँ त्यसको क्यामरा राम्रो छ नि त’ भनेको सुन्छु।

तर, यो वाहियात कुरा हो। क्यामेरा माध्यम मात्रै हो। फोटो खिच्न त कला चाहिन्छ। क्यामरा राम्रो हुँदैमा राम्रो एंगल पनि त्यसै मिल्छ र ? मुभमेन्ट सट आफैं मिलाउँछ महँगो क्यामराले?

गुणस्तरमा केही फरक पर्छ नै। तर, राम्रो तस्बिरमा लागि राम्रो क्यामरा मात्र भएर हुन्न, लगनशीलता, सोच्ने क्षमता अनि कुन विषयमा फोटो खिचिरहेको हो त्यसबारे राम्रो जानकारी पनि हुनुपर्छ।

क्लिक गर्ने एंगल मिलाउने त आफ्नो क्षमताले हो नि। फोटो खिच्नुअगाडि जसले क्लिक बटम थिच्ने हो ऊ कन्भिन्स हुनुपर्यो। अनि मन लगाएर खिच्नुपर्यो। फोटोसँग मन जोडियो भने राम्रो फोटो पक्का आउँछ।

अधिकांश फोटो पत्रकार समाचारै पढ्दैनन्

धैरैलाई लाग्छ– फोटो खिच्न जाने फोटो पत्रकार भइहालिन्छ। अहँ गलत हो यो सोच। फोटो खिच्न जाने फोटोग्राफर भइन्छ। तर, फोटो पत्रकार हुन फोटो खिच्न जानेर मात्रै हुन्न। फोटो पत्रकार र फोटोग्राफर एकदमै फरक हो।

अहिले फोटो पत्रकारलाई फोटोग्राफर र फोटो पत्रकारबीचको भिन्नतै थाहा छैन। त्यसैले त अहिलेका फोटो पत्रकार फोटोग्राफर जस्ता भएका छन्।

यसको भिन्नताबारे केही कुरा गरौं।

फोटोग्राफी दुवैले सिक्न त पर्छ। फोटोग्राफर र फोटो पत्रकारमा फरक के हो भने फोटो पत्रकारले विषयवस्तु पनि बुझ्नुपर्छ। समाचारको लेख्दा एंगल भन्छौं नि। हो, फोटोको पनि एंगल हुन्छ नि। त्यो सीप फोटोग्राफरलाई चाहिँदैन। उसले ‘लाइट’, ‘सटर स्पिड’, ‘अपाचर’ लगायतको प्राविधिक ज्ञान मात्र पायो भने पनि हुन्छ। यति जानेर फोटो पत्रकार हुन सकिन्न।

फोटो पत्रकार फोटोग्राफर हुनबाट जोगिन समाचार पढनु पर्याे। फलोअप फोटो गर्नुपर्याे। समाचारै पढ्दैनन्। समाचार पढ न भन्यो भने फोटो खिच्न किन समाचार पढ्नुपर्यो भन्छन्।

सर्वे त भएको छैन। तर, दाबीका साथ भन्न सक्छु– अहिलेको ९० प्रतिशत फोटो पत्रकारले समाचार पढ्दैनन्। उनीहरूले हेर्ने भनेको आफ्नो फोटो छापियो की छापिएन अनि नाम आयो कि आएन भन्ने मात्रै हो।

क्यामरा समात्नै नआउने व्यक्ति फोटो पत्रकार बन्न पक्कै आउँदैनन्। उनीहरूमा क्यामराको प्राविधिक ज्ञान हुन्छ नै। अँध्यारोमा कसरी खिच्ने, उज्यालोमा कसरी खिच्ने, पोर्टेट फोटो कसरी खिच्ने ? त्यो त प्रायःलाई थाहै हुन्छ नि।
तर, एकै ठाउँमा धेरैले खिचेको फोटो पनि किन फरक–फरक आउँछ ? आफ्नोभन्दा अरुको फोटो कसरी फरक आयो? अरुको फोटोभन्दा आफ्नो किन फरक छ भन्न सक्दैनन् अहिले।

साँच्चै, गम्भीररूपमा समाचार पढ्ने र बुझ्ने १० प्रतिशत फोटो पत्रकार होलान् नेपालमा। ९० प्रतिशत फोटो पत्रकारलाई त समाचारको हेडलाइन पनि थाहा हुँदैन।

अनि ती फोटोग्राफर नभए के हुन्छन्?
०००
सबैभन्दा पहिलो महत्त्वपूर्ण पक्ष प्यासन हो। प्यासनै भएन भने फोटो पत्रकारिता कसरी हुन्छ र ? यो भनेको बानी, लगाव र धैर्यता हो। धैर्यता नभएको व्यक्ति फोटो पत्रकारिता क्षेत्रमा नआएकै राम्रो।

समाचारको विषय के हो ? रिपोर्टले केलाई बढी फोकस गर्र्दैछ ? व्यक्तिको स्टोरी फोटो खिच्ने हो भने पनि कुन पृष्ठभूमिको व्यक्ति ? उसको रुचि के हो ? आनीबानी कस्तो छ ? यति मात्र पहिल्यै बुझेर फोटो खिच्न जाने हो भने राम्रो फोटो आइहाल्छ नि।

विषय के हो ? व्यक्ति को हो ? मतलबै हुन्न। रिपोर्टरलाई सोध्ने नि हैन। पछि लागेर गयो, खिचिक्क खिच्यो, हिँड्यो। यस्तो पाराले फोटो पत्रकारिता हुन्छ ?

‘सोर्स’ भनेको कति फोटो पत्रकारलाई थाहै छैन। ‘सोर्स’ त रिपोर्टरलाई पो चाहिने हो हामीलाई किन चाहियो र भन्छन्। भयो त अब ! यस्तो नि हुन्छ ?

फोटो पत्रकार बन्ने हो भने पत्रकारको पनि क्यारेक्टर त हुनपर्याे नि। क्यामरा भिरेर, कार्ड मात्रै देखाएर के हुन्छ ? पत्रकारिताको क्यारेक्टर हुनु पर्दैन ?

अन्य प्राविधिक कुरा त गर्दै गएपछि सिकिहालिन्छ नि। वाइल्ड लाइफ फोटोग्राफी सहरमा बसेर हुन्छ कि जंगल जानुपर्छ ? मधेसमा गएर माउन्टेन फोटोग्राफी सम्भव छ ? हो, यस्तै हो। फोटो पत्रकारितामा लाग्ने हो भने पत्रकारको क्यारेक्टर चाहिन्छ।

झ्याप्प मञ्चको फोटो खिचेपछि जागिर पाक्यो

दसैंपछि धेरै आमसभा भए। तर, कमै मात्र सिर्जनशील फोटोहरू आए। उही मञ्चमा नेता लहरै बसेका, माइकअगाडि भाषण गरेका उही पोजिसनका तस्बिर जताततै।

यो विषयवस्तुको अभाव हैन, फोटो पत्रकारको बुझ्ने क्षमताको अभाव हो। कार्यक्रम कुन सन्दर्भमा हुँदैछ ? त्यसको महत्त्व के हो ? को–को बोल्दैछन् ? सबै जानकारी लिएर गयो भने आमसभाको पनि राम्रो फोटो खिच्न सकिन्छ।

आमसभाको फोटो खिच्नु छ भनेर ब्याग बोकेर लखरलखर गयो, झ्याप्प–झ्याप मञ्चको फोटो खिच्यो, हिँड्यो। अनि कहाँबाट गतिलो फोटो आउँछ?

पुरानो प्रसंग भन्छु।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएपछि दिनहुँजसो जुलुस हुन्थे। कांग्रेसको जुलुस निस्कयो असनतिरबाट। बलबहादुर राई निस्कने हुनुभयो। त्यति बेला पत्रिकाहरुमा दिनहुँ प्रहरीले समातेको, लाठी हानेको फोटो मात्र जान थालेको थियो। मैले जुलुसलाई भन्दा पनि बलबहादुर राईलाई पछ्याएँ।

उहाँ झण्डा बोकेर प्रहरीलाई छल्दै संयोगले धेरै पर्चा उड्दै गरेको स्थानमा पुग्नु भयो। मैले मात्रै त्यो फोटो खिचेँ। ब्याकग्राउण्डमा पर्चा, हातमा झण्डा अनि माथितिर पर्चा उडेको। त्यो फोटो दिनहुँ आइरहने प्रहरी र प्रदर्शनकारीको फोटोभन्दा भिन्न भयो नि।

यस्ता कुरामा फोटो पत्रकारहरू ध्यान दिँदैनन्। फोटोग्राफी सिकाउँदा नियमहरू सिकाइन्छ। फोटो पत्रकारितामा नियम हुन्न, कला हुन्छ। नियम त भत्काउन सकिन्छ। भत्काउने आँट पनि गर्नुपर्छ। तर, राम्रोका लागि।

सम्पादकलाई फोटो बुझाउने फोटो पत्रकारले हो
समाचार कक्षको अर्को समस्या भनेको फोटो बुझ्ने सम्पादक कम छन्। कुन राम्रो तस्बिर, कुन झुर फोटो भनेर ठम्याउन सक्ने सम्पादक कम छन्। हेर्दा सबै फोटो उस्तै लाग्न सक्छ।

यो समस्या सम्पादकको होइन, फोटो पत्रकारको हो। फोटो पत्रकारले कहिल्यै सम्पादकलाई फोटो बुझाउने कोसिस गरे ? बुझे ठिकै छ, नबुझे सम्पादकलाई बुझाउन सक्नुपर्याे नि। बुझाउँदा पनि नबुझाउने अनि सम्पादकले फोटै बुझ्दैनन् भनेर आलोचना मात्र गरेर सुधार हुन्छ ?

बुझाउन खोज्दा कहिलेकाहीँ विवाद पर्न सक्छ। मेरो धेरै पटक सम्पादकसँग विवाद भएको छ। त्यो विवाद राम्रोको लागि हो नि। राम्रोको लागि विवाद गर्दा केही फरक पर्दैन। सम्झाउन सकियो भने त राम्रो फोटो छापिन्छ। खिच्ने पनि सन्तुष्ट, पाठक पनि सन्तुष्ट। छापिएको फोटो राम्रो देखिएपछि सम्पादक पनि सन्तुष्ट।

अनि किन विवाद गरेको रहेछ भनेर बुझिहाल्छन् नि। ह्या ! विवाद के गर्नु भनेर चुप लागेर सुधार हुन्न। नबुझ्नेलाई बुझाउनैपर्छ। त्यो जिम्मेवारी फोटो पत्रकारको हो।

फोटो डिजाइनरले छान्ने हैन

कुन समाचारमा कुन फोटो राख्ने भनेर डिजाइनरले फाइनल गर्छ भने त्यो अफिस मिडियाको अफिस हैन।

सबैको हकमा लागू नहोला। तर, डिजाइनरले समाचार बुझ्छन् भन्ने हुन्न। उनीहरूले डिजाइनमा जुन फोटो सहज हुन्छ त्यही छान्न नि सक्छन्। स्टोरीको थिम के हो भन्ने बुझ्ने उनीहरूको जिम्मेवारी पनि हैन।

त्यसैले समाचार कक्षमा समाचार अनुसार फोटो छान्ने जिम्मेवारी र दायित्व फोटो पत्रकारको हो। यसमा डेक्स पनि मिसिन्छ नै। फोटोबारे समेत ज्ञान भएको ब्यक्ति डेस्कमा भयो भने राम्रो हुन्छ।

उदाहरणको लागि : म काम गर्ने पत्रिकामा नै एउटा अन्तर्राष्ट्रिय फोटो थियो। माउ चराले बच्चो चरालाई चारो खुवाउँदै गरेको। डेस्कका साथीहरूले माउले बच्चा खाएको भन्ने अर्थ लाग्ने क्याप्सन राखिदिनुभएछ। यसले त अनर्थ भयो नि। साधरणतया कुनै पनि माउले बच्चा खाँदैन। माउले बच्चा खायो भने त सकियो नि। यति कुरा पनि नबुझेपछि के हुन्छ ? यो फोटो बुझ्ने ज्ञानको कमी हो।

प्रकाशकलाई फोटो पत्रकारले बिगारे
फोटो पत्रकारिता महँगो पेशा भयो भन्ने गुनासो पनि सुन्छु। फोटो पत्रकारितामा प्रवेश गर्न लाखौंको क्यामरा किन्नुपर्छ। तर, तलबचाहिँ १५ हजार रूपैयाँ आउँछ भन्ने सुन्छु।

ए बाबा, किन खाने त जागिर ? अनि जागिर खान जाँदा किन लाने इक्युपमेन्ट ? तिम्रै क्यामरा चाहिन्छ भन्ने अफिसमा हुन्न, रिपोर्टरलाई कलम र डायरी दिएजस्तै हो फोटो पत्रकारलाई क्यामरा दिनु भनेको। क्यामरा सहितको उपकरण नदिए आउन्न भन्न सक्नुपर्यो नि।

म दुईवटा मिडिया हाउसमा काम गर्दा अफिसले नै दिएको थियो चाहिने उपकरण सबै। आफैं लाखौं खर्च गरेर क्यामरा लगायतका सामग्री किनेर गएपछि प्रकाशकले किन खर्च गर्छन् त आफ्नो पैसा ? लगानीकर्ता भनेको लगानीकर्तै हुन् नि। उनीहरूलाई त हाइसञ्चो भएन र फोटो पत्रकार आफैंले चाहिने सामान किनेपछि ?

त्यसैले प्रकाशकलाई केही हदसम्म बिगार्ने क्यामेरा बोकेर जागिर माग्न जाने फोटो पत्रकार हुन्।

बाहिरको कामले बानी बिगार्यो

मिडिया हाउसमा काम गर्ने पत्रकारहरू बाहिरको काम पाए भने राम्रो काम गर्छन्, आफ्नै मिडिया हाउसमाचाहिँ लटरपटर गर्छन् भन्ने पनि सुन्छु। यो झुठो हो म भन्दिनँ।

तर, सबैले यस्तै गर्छन् भन्ने होइन। कसैले यसो गर्छ भने त्यो फोटो पत्रकार होइन, बेइमान हो। अब जोसँग इमान्दारिता नै छैन भने तिनीहरूको बारेमा थप कुरा के भन्नु मैले। बाहिरको काम गर्नै हुन्न भन्ने होइन। गरेको हो भने सम्बन्धित मिडिया हाउसको जिम्मेवार व्यक्तिलाई जानकारी दिनुपर्छ।

मैले नेपालका प्रायः सबै ठाउँ घुमेको छु। यसरी घुम्दा ९० प्रतिशत प्रोजेक्टमार्फत हो। ५ प्रतिशत अफिस अनि ५ प्रतिशत आफै। घुम्न जाँदा पनि अफिसलाई फोटो पठाउँथें।

प्रोजेक्टमा उनीहरूले भनेजस्तो गर्नुपर्छ, गर्ने हो नि। तर, समय त निस्कन्छ नि त्यसमा नि। बाँकी समय न्युज स्टोरी गर्ने हो। मैले कतिपय साथीलाई काज मिलाएर पठाउँदा पनि फोटो नपठाएका धेरै उदाहरण छन्। म जहाँ–जहाँ गएँ, सम्पादकलाई भनेरै गएँ। ढाट्नु किन ?

नैतिकता अनि इमानदारिता भन्ने कुरा आफ्नै मनबाट आउने कुरा हो। अरुले सिकाउने होइन।

फोटो कथाको कथा
‘नागरिक’ दैनिकमा मैले फोटो कथा प्रयोग गरेको थिएँ। त्यसको प्रभाव राम्रै भयो। अहिले पनि फोटो कथाहरू आउँछन्। तर, एकै विषयका धेरै फोटो हाल्नु भनेको फोटो कथा हो भन्ने भइसक्यो अहिले। तर, यस्तो होइन।
फोटो कथा भनेको प्रहरीले अपराधीलाई दायाँ फर्की, अब बायाँ फर्की, अगाडि अनि पछाडि भन्दै खिचेजस्तो हैन।

फोटो कथा खिच्न त एक घण्टादेखि वर्ष पनि लाग्छ। फोटो कथा त्यसै भनेको हैन। फोटोमा कथा हुने भएर त फोटो कथा भनिएको हो। त्यसैले फोटोले कथा बोक्यो भने मात्र त्यो फोटो कथा भयो। कथै नबोक्ने फोटो के फोटो कथा ? जुलुसमा लाठी हानेको पाँचवटा फोटो राखेर फोटो कथा हुन्छ ?

हिजोका फोटोहरू बोल्थे
एक फोटोले नै हजार शब्दको कथा बोल्छ भनिन्छ नि। हो त फोटो बोल्छ। तर, सबै फोटो आफैं बोल्न सक्दैनन्।

बोल्ने फोटो खिच्न ‘सबकन्सियस माइण्ड’मा पुग्नुपर्छ  फोटो पत्रकार। मैले यसो भन्दा केही फोटो पत्रकारहरू हाँसेका पनि छन्। फोटो पत्रकारलाई भित्रै मनमा छोएको फोटो खिचेर हेरे हुन्छ, फोटो बोल्छ कि बोल्दैन भनेर।

यस्तो फोटोको लागि मन, मस्तिष्क दुवै एक बनाउन सक्नुपर्छ।

६०-६१ सालमा खिचेको दुई फोटो सम्झिन्छु म, रामेछापको पहिरो र दैलेख नौमुलको माओवादी आक्रमणको। रामेछापको पहिरोमा घटनास्थलसम्म पुगेर भनेजस्तो फोटो खिच्न पाइएन। हेलिकोप्टरबाट नै फोटो खिच्नु पर्यो।

पाइलटलाई पहिरो गएको स्थानबारे सोधेँ। उसले भनेको साइडमा बसेर झ्यालबाट फोटो खिचेँ। सयाैँ घर भत्किएको थियो।

दुईतिर पहिरो, बीचमा एउटा घर भत्किएको देखेपछि भटाभट त्यही फोटो खिचेँ। त्यो फोटोको राम्रो प्रशंसा भएको थियो। पहिरोको बीचमा भत्किएको घरको फोटोले कथा बोल्यो नि त अवस्थाको। हेर्नेको मन छोयो।

त्यस्तै, दैलेखको नौमुलेमा माओवादीले ३४ जना प्रहरीलाई मारेका थिए। त्यो फोटो खिच्न जाँदा म त एक तमासको भएछु। लासैलासको फोटो खिच्दा के–के महसुस भयो।

वरपरको अवस्थाको फोटो पनि खिचेको थिएँ। फोटो ‘प्ले’ गर्दा नेपाली माध्यमको पत्रिकामा बाहिरी पृष्ठमा गाउँले रोएको र भित्री पृष्ठमा लासको फोटो राखेँ। नेपाली माध्यमको पत्रिकामा सिधै लासको फोटो राख्दा रिडर रिसाउँथेँ। अंग्रेजी माध्यमकोमा भने लासकै राखियो।

पाठक अनुसार पनि फोटो राख्न जान्नुपर्याे। फोटो छान्न नजान्दाको एक घटना पनि भने है त।

काठमाडौंको एक गार्मेन्टमा आगलागी भयो। सम्पादकले क्षतविक्षत तस्बिर राखे। मैले हुन्न भनेको थिएँ। तर, त्यही फोटो छापियो। भोलिपल्ट सम्पादकको चर्काे आलोचना भयो। मैले छानेको फोटो राखेको भए आलोचना हुन्नथ्यो। त्यो पाठक अनुसारको फोटो छान्न नसक्दाको परिणाम थियो।

प्रविधि अनुसार बदलिनु पर्छ
अहिले त जसले पनि फोटो खिच्छन्। अब सामान्य व्यक्तिले खिच्ने फोटो र फोटो पत्रकारले खिच्ने फोटोमा भिन्नतै नहुने हो भने कसरी टिक्ने पेशामा ?

प्रविधिको ज्ञान हुनुपर्यो। नयाँ–नयाँ प्रविधि आएका छन्, सिक्नुपर्यो।

फोटो सबैले खिच्छन्। तर, फोटो पत्रकारले खिच्ने फोटो सबैले खिच्न सक्दैनन् भन्ने नबनाउने हो भने म फोटो पत्रकार हुँ भन्नुको अर्थ छैन।

(तीन दशकदेखि फोटो पत्रकारितामा संलग्न चन्द्रशेखर कार्कीसँग उकेराको नियमित स्तम्भ ‘चौथो अंग’का लागि उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित। कार्की अहिले सदृश्यका सम्पादक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....