चौथो अंग : ...बरु भेडा चराउन सजिलो

चौथो अंग : ...बरु भेडा चराउन सजिलो
तस्बिरहरू : कृष्पा श्रेष्ठ।

सुरुसुरुमा सबै प्रकारका पत्रकारितालाई खोज पत्रकारिता भन्ने चलन थियो। सबै समाचार खोजेरै लेखिन्थ्यो। सामान्य पत्रकारिता र खोज पत्रकारिताबीच भिन्नता देखिँदैन्थ्यो। नखोजेको विषयवस्तु हाम्रो मिडियामा छापिन्छ भने त्यो त विज्ञापन हो नि, समाचार हाेइन।

पछि सरकारी ओहोदा र जिम्मेवार तहमा बसेका व्यक्तिले गरेका गलत काम बाहिर आउन थाल्यो। यसरी लुकाएर राखिएका गलत काम खोजेर सार्वजनिक गर्ने कामलाई खोज पत्रकारिता भन्न थालियो।

अहिले खोज पत्रकारिता पत्रकारिताको मूल मर्म बनिसकेको छ। खोज पत्रकारिताबिनाको पत्रकारिता त सही अर्थको पत्रकारिता हुनै सक्दैन भन्ने स्थापित भइसकेको छ।

खोज पत्रकारिताबारे चर्चा गर्दा अमेरिकाको वाटरगेट काण्डलाई उदाहरणको रूपमा लिइने गरिन्छ, जसले तत्कालीन राष्ट्रपतिलाई राजीनामा गर्न बाध्य बनायो। त्यो रिपोर्ट लामो समय लगाएर तयार पारिएको थियो। तर, मेरो दृष्टिकोणमा वाटरगेट काण्ड खोज पत्रकारिताको लक्षण भएको पत्रकारिता मात्र हो। पूर्ण खोज पत्रकारिता होइन। किनभने त्यहाँ पनि एउटा व्यक्तिले दिएको सूचनाको आधारमा यो सार्वजनिक भएको थियो।

नेपालको सन्दर्भमा हेर्ने हो भने यहाँ खोज पत्रकारिता राम्रोसँग मौलाउन पाएन। सायद स्वतन्त्र पत्रकारिता गरेको थोरै समय भएर पनि हुन सक्छ। पञ्चायतकालमा राजनीतिक उद्देश्यले प्रभावित भएर व्यवस्थाविरुद्ध समाचार लेखिन्थ्यो। पञ्चायतकालमा पनि गलैँचा काण्ड सार्वजनिक भएको थियो। यद्यपि यो काण्ड तत्कालीन शासकलाई मन नपरेको व्यक्ति तह लगाउन सार्वजनिक भएको थियो।

२०४३ सालपछि नेपाल वातावरण पत्रकार समूह स्थापित भयो। यो समूहले खोज अनुसन्धान गरेर समाचार प्रकाशित गर्ने उद्देश्य राखेको थियो। पत्रकारलाई फेलोसिप पनि प्रदान गथ्र्याे। 

वातावरणसम्बन्धी भएकाले फरक–फरक स्टोरी आउन थाले। खोज पत्रकारिताको अर्काे माइलस्टोन भनेको खोज पत्रकारिता केन्द्रको स्थापना हो। पहिलो सम्पादक राजेन्द्र दाहाल हुनुभयो। त्यसपछि नेपालमा खोज पत्रकारिताको औपचारिक सुरुआत भयो भन्दा फरक पर्दैन। यसको अर्थ केन्द्र स्थापना हुनु अगाडिसम्म खोज पत्रकारिता भएकै थिएन भन्नेचाहिँ होइन।

पुरानो घटना अहिले लेख्नु खोज होइन

सनसनीपूर्ण समाचारलाई पनि खोज पत्रकारिता भन्न थालिएको छ। तर, म यो मान्दिनँ। एउटा स्रोतले दिएको निश्चित सूचनामा आधारित भएर लेखिएको समाचारलाई खोज पत्रकारीता मान्ने कुरा पनि आउँदैन।

मानाैै, एउटा कम्पनीले १० वर्षदेखि गलत काम गरेको कसैले सूचना दियो। त्यही आधारमा समाचार बन्यो भने त्यो खोज पत्रकारिता होइन। कम्पनीले १० वर्षसम्म बदमासी गर्दा खोज पत्रकार के गरेर बसेको थियो?

१० वर्षदेखि बदमासी गर्दा पनि अर्काेले निश्चित स्वार्थको लागि सूचना चुहाएपछि मात्र थाहा भएको विषय खोज हुन्छ र ? यो त पत्रकारको काँधमा बन्दुक राखेर अर्कैले पड्काएको मात्र हो।

जस्तो कि : ललिता निवास प्रकरण धेरै पछि थाहा भयो। यसलाई खोज पत्रकारिता मान्ने कि नमान्ने ? यसमा मेरो जवाफ हुन्छ, ‘प्रतिष्पर्धीले जति बेला तह लगाउन खोजेको छ त्यति बेला मात्रै त्यो सूचना थाहा पाउने पनि पत्रकार हुन्छन् त ? समाजमा जे जस्ता नराम्रा काम भएका छन् १० वर्षसम्म आँखा चिम्लेर बस्ने ? अरुले दिनेबित्तिकै ब्रह्मज्ञान त आउने होइन होला ?

१० वर्षसम्म त्यो मिडिया हाउस र पत्रकार के गर्दै थियो ? यस्तोलाई म खोज पत्रकारिता होइन कि पत्रकारलाई अर्कोले आफ्नो स्वार्थमा उपयोग गरेको मान्छु।
यस्तोमा म विनोद मेहताको भनाइ सम्झन्छु, ‘तपाईंलाई कसैले प्लेटमा पस्केर ल्याइदिएको सूचना खोज पत्रकारिता होइन।’ 

सूचना पाउँदा सूचना दिने व्यक्तिको व्यक्तिगत स्वार्थ, आर्थिक स्वार्थ, राजनीतिक स्वार्थ हेरेर विवेक प्रयोग गरेर समाचार लेखिए मात्र त्यो पत्रकारिता हो, नत्र हैन।खोज पत्रकारिताको स्थिति संसारभर हेर्दा, कति वटा विषयमा हामीले राम्रा गरेका पनि हुन सक्छौं। कारण– हाम्रोमा व्यावसायिक कम्पनी विदेशमा जस्तो बलिया छैनन्। आफ्नो गलत कुरालाई लुकाउन प्रोफेसनल भइसकेका छैनन्, जसरी हामी पत्रकार प्रोफेसनल छैनौं।

विदेशमा नियम लुकाउनको लागि धेरै काम भएका छन्। हाम्रोमा त्यस्तो नियम भए पनि पालना नगर्ने चलन भेटिन्छ। नियम भए पनि पालना नगर्ने, स्रोत पनि भेटिने हुँदा अन्यत्र हेरी यहाँ सहज पनि हुन सक्छ। 

त्यति हुँदाहुँदै पनि समग्र पत्रकारितामा खोजी गर्ने र कठोर बाटो हिँड्ने बानी नभएकाले खोजी पत्रकारिता हुन सकेको छैन।

विदेशमा हराउँदै गयो, नेपालमा सुरु नै भएन

अहिले संसारभर पत्रकारिताको मूलधारले खोज पत्रकारितालाई छाड्दै गएको मानिन्छ। छोडे भन्न पनि लाज लाग्ने, खोज पत्रकारिता  गराउन पनि नसक्ने अवस्था छ अहिले। त्यसको कारण आर्थिक वा मानव स्रोत साधनको कमी हुन सक्छ। स्वार्थवस आएका मिडियाका कारण पनि हुन सक्छन्। 

संसारभर नै खोज पत्रकारिता गर्न मिडिया हाउस र सम्पादकीय नेतृत्वको अभाव छ अहिले। 

बाहिरतिर मिडिया हाउसले पहिले खोज पत्रकारिता गरे, अहिले छाडे। तर, हाम्रोमा सुरुआत नै भएन। त्यसको कारण सुरुवातमा राजनीतिक थियो, अहिले आर्थिक कारण देखियो। समग्र मिडिया क्षेत्र नै फस्टाउन सकेको छैन। यस्तोमा खोज पत्रकारिता कसरी फस्टाओस् ?

यसमा जनशक्ति पनि कारण छ है। जस्तो एउटा ठूलो दैनिक पत्रिकाले खोज पत्रकारिता ब्युरो स्थापना गर्ने भनेर विज्ञापन नै गरेको थियो। तर, त्यो निरन्तर हुन पाएन।

कारणबारे सम्पादकीय नेतृत्वसँग बुझ्दा हार्ड न्युज लेख्ने पत्रकारकै खडेरी पर्ने भयो रे। जसले न्युज लेख्न जानेका छन् अब उनीहरूलाई नै खोजतिर लगाए पनि हार्ड न्युज कसले लेख्ने भन्ने समस्या भएछ। जनशक्तिको अवस्था यस्तो छ। अनि कसरी फस्टाउन सक्छ खोज पत्रकारिता ?

अल्छी पत्रकारिता 

हामी नेपालीको बानी के रहेछ भने, जानेको काम नगर्ने। शिक्षकलाई पढाउन आउँछ नपढाउने। त्योबाहेक सबै काम गर्ने।

पत्रकारलाई पनि त्यही रोगले गाँजेको छ। आफ्नो पेशामा त जान्ने मान्छे हुनुपर्याे नि। पत्रकारिता गर्नेलाई पत्रकारिताबाहेक सबै आउँछ। तर, उसलाई पत्रकारिता आउँदैन। म दाबीका साथ भन्छु– ८० प्रतिशत पत्रकार यो क्षेत्रमा लाग्न फिट छैनन्। तिनले जागिर खाए जति काम पनि गर्दैनन्। चिया खायो, अल्मलियो। 

मलाई कसैले पत्रकारलाई काम लगाउन र भेडा चराउने काममध्ये कुन सजिलो भन्यो भने म भेडा चराउन सजिलो छ भन्छु।

शिक्षा क्षेत्र खत्तम भएकाले सबै क्षेत्र प्रभावित भएको छ हाम्रोमा। काम गर्नुपर्छ भन्ने धारणै छैन। जीविका चलाउने सामान्य काम पनि गर्दैनौं हामी।

म अहिले पनि च्यालेन्ज गर्छु, पत्रकारिता गर्ने कति मान्छेलाई पत्रकारितामा चाहिने आधारभूत ज्ञानसमेत थाहा छ ? पत्रकारितामा हुने गुण ६ महिना वा १ वर्षभित्र पूरा गर्छु भन्ने कति छन् ? पत्रकार हुनलाई त न्यूनतम योग्यता पुगेका मान्छे मात्रै पस्नुपर्छ। जसलाई पढ्न र लेख्न अल्छी लाग्छ उसको लागि पत्रकारिता क्षेत्र नै हैन। अन्य काम गरे हुन्छ।

त्यसैले नेपालमा खोज पत्रकारिता फस्टाउन नसक्नुका कारणमा म मिडिया हाउसलाई मात्र दोष दिन्न। त्यसमा पत्रकार अनि पत्रकारितासँग जोडिएका संस्था पनि उत्तिकै जिम्मेवार छन्।

केही समयअघि एउटा कार्यक्रम भएको थियो। प्रोफेसर र पत्रकारहरू कार्यक्रममा हुनुुहुन्थ्यो। त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले टेलिभिजनमा समाचार वाचन शुद्ध नभएको गुनासो गर्नुभयो। 

त्यति बेला एक पत्रकारले भन्नुभयो, ‘विश्वविद्यालयले नेपालीमा स्नातक गरेको व्यक्ति लिँदा पनि नेपाली शुद्ध उच्चारण गर्न जान्दैन भने विश्वविद्यालयको गल्ती की सम्पादकको ?

सम्पादकले पत्रकारिता सिकाउँछ कि नेपालीको आधारभूत ज्ञान ? आधारभूत ज्ञान छ भनेर नै दिने होइन विश्वविद्यालयले सर्टिफिकेट? यो कुरा मलाई एकदमै ठीक लागेको थियो। 

विद्यालय, क्याम्पसमा पढाइ नहुने अनि कसरी सिक्छ ? त्यसैले गुणस्तरीय जनशक्तिमा मिडियाभन्दा बाहिरको कुराले पनि प्रभाव पारेको छ यो पेशामा। 
समग्र शिक्षाको दोष त छँदै छ, सँगै रिपोर्टरको पनि टन्नै कमजोरी छन्।

मिडिया हाउसमा खोज पत्रकारिता कसरी गर्ने, गराउने भन्नेमै अलमल देखिन्छ। रिपोर्टरहरूमा पनि म यसरी खोज पत्रकारिता गर्छु भन्ने तागत देखिएको छैन।

महिनामा दुईवटा मात्रै खोज पत्रकारिता गराउँछु भन्ने सोचका साथ ४/५ जना रिपोर्टर र उसलाई गाइड गर्ने सम्पादक त चाहिन्छ नै। यो रिपोर्टरको एकल काम हैन। जतिसुकै राम्रो रिपोर्टर भए पनि दह्रो ब्याकअप त चाहिन्छ।

जसरी खेलाडीलाई कोच चाहिन्छ, त्यसरी नै पत्रकारलाई पनि कोच चाहिन्छ। नेपालमा यसको अभ्यासै हुन सकेन। त्यतातिर सम्पादकहरूको ध्यान जानै सकेको छैन।

नेपालमा खोज पत्रकारिता फस्टाउन नसक्नुको अर्को कारण अल्छी पत्रकार भएर पनि हो। 

सम्पादकले रिपोर्टरलाई सहयोग गरेन, चाहिएको बेलामा बिदा दिएन अनि समयमा पैसा पनि दिएन भने खोज पत्रकारिता हुन्छ ?

कतिपय खोजीमा पैसा नै चाहिन्छ भन्ने पनि हुन्न। ल दैनिक रिपोर्टिङले व्यस्त बनाउँदा महिनैपिच्छे खोजी रिपोर्टिङ सम्भव नहोला। तर, ६ महिनामा एउटा त हुन सक्छ नि।

एक विषयलाई दिनको एक घण्टा दिए हुन्न ? यसरी समय दिँदा त ६ महिनामा १ सय ८० घण्टा हुन्छ। यस्तो रिपोर्टर को छ यहाँ ? बताए, उल्लेख गरे भन्ने समाचार लेखेर बसेर मात्र हुन्छ त ? आफ्नै सन्तुष्टिका लागि पनि वर्षमा दुईवटा भए पनि खोजी रिपोर्टिङ गरे हुन्छ नि। तर, गर्ने कसले ?

केही पत्रकारचाहिँ असन्तुष्ट मात्रै हुन्छन्। उनीहरूको काम भनेकै सम्पादकको कुरा काट्यो, अर्काे साथीको कुरा काट्यो, यो भएन, त्यो भएन भन्यो, बस्यो। यो त विषाक्त मानसिकता भयो। 

जसरी एउटा राम्रो पत्रकारले मिडिया हाउसलाई माथि पुर्याउन सहयोग गर्छ, यस्तो विषाक्त सोच भएकाले तल झार्छन्। त्यसैले सधैं गुनासो मात्रै गर्ने रिपोर्टरलाई सञ्चार संस्थाले बिदाइ गर्नु नै उत्तम हो। बरु सानो समूह बनाउने तर चुस्त बनाउने।

यी कुराहरू गरिरहँदा मैले न्यूनतम तलब पनि नदिने सञ्चार संस्थामा कार्यरत साथीहरूको कुरा गरेको हैन। राम्रो तलब, नियमित र काम गर्ने वातावरण भएको मिडिया हाउसमा काम गर्दा पनि गुनासो मात्रै गर्नेहरूलाई भनेको हो।

इच्छा भए मात्र पनि सम्भव छ

२०४६ सालपछि मैले नै म्याद नाघेको विषादीबारे स्टोरी गरेको थिएँ। गोदाममा आगलागी हुनसक्ने, जसरी धुल्याइनुपर्ने थियो त्यसरी नधुल्याइएको, माटोमा गाड्न नहुनेलाई गाडिएकोबारे खोजी गरेको थिएँ।

त्यसबारे सकेसम्म धेरै सूचना संकलन गरिरहेको थिएँ। एउटा लेख छापिएको पनि थियो।

राजेन्द्र दाहालजीले पाँच हजार रूपैयाँको फेलोसिपको व्यवस्था गरिदिनुभयो। रेडियो, टिभी र प्रिन्ट तीनै विधामा हुने गरी समाचार तयार पारेँ। बाँकेदेखि अमलेखगञ्जसम्म गइयो। 

एसियाली विकास बैंकबाट सूचना पाउन मैले धेरै प्रयास गरें। तर, पाइनँ। एउटा रिपोर्टमा ५० मेट्रिक टनभन्दा बढी विषादी भनेर उल्लेख गरेको थिएँ। त्यसपछि भने एडिबीले बोलायो र सूचना नै हातमा दियो। 

मैले लेखेको तथ्यांकमा ०.०९ मेट्रिक टन मात्रै फरक पर्याे। उसले बुझ्यो मैले नदिए पनि यसले जसरी पनि ल्याउँछ। पछि रिपोर्ट पत्रकार सम्मेलनबाट सार्वजनिक भयो। धेरै मिडियामा छापियो। सम्पादकीय लेखिए।

मलाई सुरुमा यो स्टोरी गर भनेर कसैले भनेको थिएन। पैसा नभइकन या सम्पादकले नभनिकन खोज पत्रकारिता गर्दिन भनेर बस्नु भएन। त्यसको उदाहरण यही समाचार हो। काम गर्दै गएपछि अवसर आउँछन्।

खोज पत्रकारले के बुझ्नुपर्छ भने, सम्पादकले सहयोग नगरे पनि असहयोग गरेनन् भने त खोजी पत्रकारिता गर्नै पर्छ। पत्रकार भएको नाताले पनि गर्नै पर्छ। पत्रकार भएको कार्ड झुण्ड्याउन मात्र होइन। सम्पादक वा प्रकाशकले दियो कि दिएन, भन्यो कि भनेन त्यसको मतलव हुन्न।

स्टिङ अप्रेसन कति जायज

विश्व चर्चित पुरस्कार पुलित्जरले स्टिङ अप्रेसन गरेको स्टोरीलाई पुरस्कारको लागि पेस नगर्नु भनेको छ। अन्य केही संस्थाले पनि स्टिङ अप्रेसन गर्न सक्ने तर के–के सर्त भनेर तोकेका छन्। 

मैले केही स्टोरीमा मात्रै स्टिङ अप्रेसन गरेको छु। पहिलो भारतका बाघका छाला, हड्डी तिब्बतमा नेपालको बाटो भएर लाने गरिएको विषय थियो। त्यसमा म ‘रिसर्च इकोनोमिस्ट’ भएको थिएँ भने मगंलजी ‘पाटनको वाणा’ हुनुभएको थियो। एउटा गहना बनाउन यो प्रयोग हुने रहेछ। यही स्टोरीले गर्दा छाङरुसम्म पुग्ने अबसर पाएँ। रिपोर्टिङ पनि राम्रो गरियो।

अर्काे म खोज पत्रकारिता केन्द्रको सम्पादक हुँदा यातायात व्यवस्था विभागमा स्टिङ गरियो। आँखा नदेख्ने व्यक्तिलाई लाइसेन्स दिएको भनेर कतिपय कुरा गर्नैपर्ने हुन्छन्। हुन त यो काम गर्ने नै हो भने गुप्तचर विभागमा गए हुन्छ भन्ने पनि नभएका हैनन्। तर, गर्नै नहुने भने होइन। 

राजनीतिक खोज पत्रकारिता सम्भव छ

हुन्छ। राजनीतिक विषयमा खोजी गर्नुपर्ने धेरै विषय छन्। तर, नेपालमा हुन सकेको छैन। पहिले हामीले पजेँरो काण्ड, पुरुषले सुत्केरी औषधीको लागि भत्ता लिएको कुरा लेखेका थियौं। 

राजनीतिक रिपोर्टिङमा ‘दाइ’ र ‘कमरेड’ भन्ने पत्रकारकै बाहुल्यता भएकाले खोजी रिपोर्टिङ हुन नसकेको हो।

जुटिसकेको नेकपा सर्वोच्चको आदेशबाट फुट्दै छ भनेर कसले लेख्यो ? अप्रत्याशित भनेर समाचार लेखे। पछि नेताहरूबाटै थाहा भयो नि पहिलेदेखिको तयारी रहेछ भन्ने।

यसले हिजोआज स्रोतले जे लेखाउन चाहन्छ पत्रकारले त्यही मात्र लेख्छ भन्ने देखियो नि। यसले राजनीतिक रिपोर्टिङ गर्नेहरू रिपोर्टर कम दलका ‘भरिया’ बढी भए भन्ने देखियो नै।

अझ पत्रकार पनि गुटगत भएका छन्। आफ्नो गुटको मात्रै लेख्ने। राजनीतिलाई माया गर्नेले त राजनीतिक दलको आलोचना पनि गर्छ नि। त्यो पार्टी कसरी चलेको छ भनेर पनि खोज्छ। यस्तो रिपोर्ट किन आउँदैनन् ? केले रोकेको छ पत्रकारलाई ?

यस्तोमा धेरैको उत्तर मालिक र सम्पादकको इन्ट्रेस्टका कारण रोकिएको भन्ने सुनिन्छ। लौ हो भनौ न त। त्यसो भए सम्पादक र प्रकाशकको चासो नभएका क्षेत्र पनि त छन् नि। त्यसबारेचाहिँ किन खोजमूलक समाचार आउँदैनन् त ?

किनभने पत्रकार अल्छी भए। काम नगर्न हजार बहाना छन् उनीहरूसँग। तर, काम गर्ने जाँगर छैन।

प्रश्नले नै रिपोर्ट जन्माउँछ

रमेश खरेलले भने, ‘हाम्रा हाकिम आइजिपी हुन बिफ्रकेस बोकेर हिँडे।’ 

अनि प्रहरीले उनलाई स्पष्टीकरण सोध्यो। 

म पत्रकारलाई सोध्छु, ‘बिफ्रकेस आएपछि मात्र तिम्रो सम्पादक र प्रकाशकले समाचार लेखे, छापे भन्यौं भने तिम्रो जागिर हुन्छ कि हुँदैन ?

अझ त्यस्तो भन्नेको पछि लाग्ने ? खरेललाई ‘त्यस्तो कहाँ भेटेको’ भनेर सोध्ने आँट किन भएन ?

कोरोनाको समयमा सरकारका कमी–कमजोरी, भ्रष्टचारबारे समाचार आए। तर, अनुसन्धान फ्लप भएका रिपोर्ट सार्वजनिक भएको छैन। 

जस्तो : अक्सफोर्ड युनिभर्सिटीको अध्ययनले नेपालमा ५० हजार मान्छेको यो समयसम्म मृत्यु हुन्छ भन्यो। हामीले छाप्यौं। तर, कोरोनाले कारण यसको हाराहारीमा जति पनि मान्छे मरेनन्। यो किन त ?

कुन पत्रकारले सोधेको छ तिम्रो अनुसन्धानलाई हामीले किन पत्याउने भनेर ? अनुसन्धान कहाँ–कहाँ गलत भएको हो भनेर लेख्नुपर्ने हैन र ? विज्ञलाई प्रश्न सोध्नुपर्ने हैन ? तर, कसले सोध्यो र त्यो प्रश्न। सोध्दैनन्। जाँगरै छैन।

त्यसैले त अहिले त मलाई पत्रकार मरेको जस्तो लाग्छ। जिउँदो पत्रकार हो भने सोध्नुपर्ने हैन ?

के पढेर आएको हो पत्रकारितामा ? सामान्य प्रश्नको अवस्था त यस्तो छ। अब प्रश्नै गर्न डराउने ठाउँमा खोज पत्रकारिता कसरी होस्।

पत्रकारिता परिवर्तन हुनै पर्छ

अहिले हाम्रो पत्रकारिता सामाजिक सञ्जाल, फेसबुक, ट्विटर र युट्युबरसँग रमाएर बसेको छ। उनीहरूले भन्दा फरक दिन सकेको छैन। १५ वर्ष यस्तै रहन्छ। अझ उनीहरू अघि हुन्छन् पत्रकारभन्दा।

जब मिडियाले रियलाइज गर्छन्, हार्ड न्युजमा मोनोपोली हाम्रोमा छैन भन्ने बुझ्छन् त्यही दिनदेखि मिडिया जित्छ। नभए त सामाजिक सञ्जालले मिडियालाई हराउँछ।

यसो भन्दै गर्दा सबै मिडियाले खोज पत्रकारिता गर्नु पर्छ भनेको हैन। महिनामा तीनवटा खोज पत्रकारिता गरे मात्रै पनि पुग्छ। वर्षको ३६ वटा खोजमूलक समाचार भए पुगिहाल्छ। त्यसको अलवा प्रोफाइलदेखि अन्य स्टोरीहरू हुन सक्छ। तर, खोज पत्रकारितालाई बेवास्ता गरेर पत्रकार हुँ भनेर भन्नचाहिँ सकिन्न।

माथि धेरै निराशाको कुरा भए। तर, केही आशाका किरण पनि छन् है।

हाम्रोमा खोज पत्रकारिताको सम्भावना नै नभएको हैन। राम्रो छ। अन्य देशमा धेरै मिहिनेत गर्नुपर्छ। हाम्रोमा थोरै मिहिनेत गर्याैं भने धेरै अघि पुग्छौं। पहिला खोजमूलक पत्रकारिता नगरिदिएकाले सजिलो छ।

अहिलेको पुस्ताले राम्रो गाइडेन्स पाउन सक्यो भने गर्नसक्ने जनशक्ति छ।

(खोज पत्रकारिता केन्द्रका पूर्वसम्पादक, हाल हिमाल मिडियाको सग्लो समाज भिडियो म्याग्जिनको निर्देशक मैनालीसँग उकेराकर्मी प्रजु पन्तले उकेराको नियमित स्तम्भ चौथो अंगका लगि गरेको कुराकानीमा आधारित)

२४ चैत, २०७७, १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।