चौथो अङ्ग : पलायन भएनन् भने १० वर्षमा महिला पत्रकारले ठूलै मिडिया लिड गर्छन्

चौथो अङ्ग : पलायन भएनन् भने १० वर्षमा महिला पत्रकारले ठूलै मिडिया लिड गर्छन्

कतिपयले नेपाली पत्रकारितामा सन् १९८० देखि महिलाहरूको सहभागिता भएको दाबी गर्छन्। तर, ऐतिहासिक तथ्यले त्यसो भन्दैन। 

२००७ सालअघि नेपाली पत्रकारितामा महिला थिएनन्। प्रजातन्त्र आएपछि अवस्था फेरिएको हो। २००७ सालको राजनीतिक परिवर्तनदेखि राजा महेन्द्रले ‘कू’ नगरुन्जेलको अवधि नेपाली पत्रकारितामा महिलाको उपस्थिति राम्रो थियो।

त्यो बेला पत्रिका खोल्ने लहरै चल्यो। पढेलेखेका महिलाले पनि पत्रिका खोले । कोही आफै प्रकाशक, आफै सम्पादक पनि भए। 

२००८ सालमा साधना प्रधान र कामाक्षादेवी महिला म्यागेजिनको सम्पादक थिए। यो महिला सङ्घले प्रकाशित गरेको मासिक पत्रिका थियो। उक्त पत्रिकामा सलवन्ती, मधुकरी र प्रमीला सह–सम्पादक थिए। व्यवस्थापनसमेत मायादेवीले गरेकी थिइन्।

२००८ सालमा नै प्रियम्बदा शर्माको प्रधानसम्पादकत्वमा प्रभा मासिक प्रकाशित भयो भने कुन्ती देवीको सम्पादकत्वमा २००९ सालमा प्रतिभा मासिक प्रकाशित भयो। 

त्यसैगरी, २०१० मा रमादेवी सम्पादक तथा प्रकाशक रहेको जनविकास पत्रिका निस्कियो। २०११ सालमा रमादेवीले नै जनसाहित्य द्वैमासिक पत्रिका पनि प्रकाशन गरेकी थिइन्। 

मुलुकमा राजनीतिक माहौल बदलियो। ३० वर्षे पञ्चायतकालमा  राधा शर्मा, प्रेम कुमारी पन्त, आशा सिंह शाह लगायतका दिदिहरु हुनुहुन्थ्यो। 

बहुदलको पुन:स्थापनापछि नेपालमा मिडिया खोल्न सहज भयो। व्यावसायिकरूपमा पत्रिकाहरू खुल्न थाले, एफएम रेडियोहरू र टेलिभिजन पनि खुलिसकेको थियो। निजी मिडियाको उभार आयो। 

२०४७ मा ‘नेपालीपत्र’बाट पत्रकारिता सुरुवात गर्दा ‘गोरखापत्रमा’ र ‘दि राइजिङ नेपाल’मा केही महिला पत्रकार हुनुहुन्थ्यो। डेस्कमा महिला भए पनि रिपोर्टिङमा एकदम कम। 

व्यावसायिकरूपमा नयाँ पत्रिकाहरू खुल्न थालेपछि बिस्तारै महिलाको उपस्थिति बढ्दै गयो। राजनीति, सरकारी सेवा तथा पत्रकारिता नै किन नहोस् महिलाहरू थोरै सङ्ख्यामा भए पनि आउन पाए। 

महिलामैत्री छैन न्युज रुम 

२०४७ पछि न्युज रुममा जाँदा पुरुष साथीहरूले महिला आएपछि न्युज रुम सभ्य भए भन्नुहुन्थ्यो। सायद न्युज रुममा महिलाको प्रवेशपछि बोल्ने शब्दहरू परिवर्तन भए होलान्। तर, पत्रकारितामा महिलाको सङ्ख्या बढे पनि अझै न्युज रुम महिलामैत्री हुन सकेको देखिँदैन। 

सन् २००६ मा सञ्चारिका समूहले गरेको अनुसन्धानमा २ प्रतिशत महिला पत्रकार यौन हिंसामा परेको देखिएको थियो।

त्यसपछि रिपोर्ट खासै आएका छैनन् । 

मुख्य गरी नराम्रो शब्द बोलेर, ब्याड टच गरेर महिला पत्रकारमाथि दुर्व्यवहार हुने गरेको देखिएको थियो। रेडियोमा काम गर्ने महिलाहरू काम गरिरहेको अवस्थामा स्टेसन म्यानेजरले ‘तिमी कति धेरै काम गर्छौ गाह्रो भयो होला है’ भनेर काँधनिर सुमसुम्याइदिने खुलेको थियो त्यो रिपोर्टमा। 

बोलेर हुने हिंसाको एउटा उदाहरण दिन्छु।

मेरै समकालीन पुरुष पत्रकार साथीहरू ठूलै सञ्चार गृहमा काम गर्नुहुन्थ्यो। उहाँहरूले आफू सरहका महिला पत्रकारले सुन्ने गरी छाती ठूलो भएको महिलालाई फलानी त आएकै राम्रो भन्ने अनि ‘हिप’ ठूलो भएकीलाई फलानी त गएकै राम्रो भन्नुहुन्थ्यो। 

यस्ता कुरा त कति छन् कति। 

पछिल्लो समय यौन दुर्व्यवहारका कुरा उठ्ने गरेका छन्। केहीले लेखे पनि। यौन हिंसामा परेको छ भने उजुरी नै गरेर कानुनी हिसाबमा जानुपर्छ। तर त्यतातिर पहल भएको देखिएन। भए राम्राे।

स्रोत बनाउन सजिलो, टिकाउन गाह्रो 

मेरो अनुभवमा महिला पत्रकारलाई स्रोत बनाउन सजिलो छ तर  टिकाउनै गाह्रो। मेरै अनुभव भनौँ है त। 

बुधबार ‘घटना र विचार’ पत्रिका प्रेसमा जान्थ्यो। सोमबार एउटा ठूलै पार्टीको नेतालाई विकसित घटनाक्रमबारे सोधेर रिपोर्ट बनाइन्थ्यो। सन् २००९ को कुरा है यो। 

म दुई हप्ताको लागि केन्या गएँ। आएपछि फेरि उहाँलाई अपडेटको लागि फोन गरेँ। मैले ‘दुई हप्ता नेपाल नभएकाले यो बीचमा के–के भयो भन्नुस् न भनेँ। उहाँले त मलाई ‘ह्वेर ह्याभ यु विन बबिताजी’ भन्नुभयो । मैले केन्या गएको बताएपछि फेरि पनि उहाँले ‘मलाई खबरै नगरी किन गएको?’ पो भन्नुभयो।

यतिसम्म त ठिकै थियो। ‘आउनुस् न यार कफी खाएर गफ गरौँ, यति धेरै दिनपछि भेट भएको छ’ भन्नुभयो। मलाई असहज लाग्यो। त्यसपछि मैले उहाँलाई फोन नै गरिनँ। 

दसैँमा चियापान समारोहमा भेट हुँदा मैले नर्मल तरिकाले नै नमस्कार गरेँ। उहाँले तपाईँको नम्बर फेरिएको हो भन्नुभयो। हैन भनेँ । कुरा यतिकै सकियो। भेटेर कफी खाएर गफ गरौँ भन्नुभयो भनेर टिकाउन गाह्रो भनेको हैन। तर, जुन तरिकाले भन्नुभएको थियो नि त्यो निकै असहज लाग्यो मलाई।

कतिपय दबाब भन्ने कि के भन्ने, अनसिन फ्याक्टरहरूले महिलालाई सताएको हुन्छ। प्रोफेसनल सम्बन्धहरूलाई पर्सनलझैँ व्यवहार गर्न खोज्छन् स्रोतहरू।

यद्यपि राम्रा स्रोत पनि नहुने भने हैनन्। 

सबै बिट मूलधार

महिला पत्रकारलाई बढी महिला, बालबालिका, स्वास्थ्य, शिक्षाजस्ता विषय दिइन्छ लेख्न। राजनीति, अर्थतन्त्र, सुरक्षा, परराष्ट्र लगायतका विषयको जिम्मा किन महिलालाई दिइन्न ? 

महिलाहरू सहज जिम्मेवारी खोज्छन्, विकासे काममा मात्रै लाग्छन् भन्ने सुनिन्छ। तर, यो सत्य होइन । टार्न भनिएका हुन्।

कोरोनाको समयमा स्वास्थ्यमा हुने गरेको भ्रष्टाचारदेखि लकडाउनको बेला फिल्डमा उत्रेर समाचार लेख्ने, फोटो खिच्ने महिला पत्रकारहरू देखेँ। महिला पत्रकारहरूले लेखेको कोरोनाकै बेला अर्थ, राजनीतिसँग जोडिएका समाचारहरू फ्रन्टलाइनमा आयो। यसले महिलाहरू च्यालेन्ज स्विकार्दैनन् भन्ने गलत हो भन्ने पुष्टि भयो नि।

जिम्मेवारी पाउने हो भने महिला पत्रकारहरूले जुनसुकै बिटमा पनि काम गर्न सक्छन् भन्ने देखियो। क्षमता छ छैन भन्नलाई पहिला जिम्मेवारी त दिनुपर्यो। जिम्मेवारी नै नदिई कसरी सक्दैनन् भन्न मिल्छ?

न्युज रुममा महिला नेतृत्व 

नेपालमा मात्रै हैन, विश्वभर नै न्युज रुमको नेतृत्व गर्ने महिला कम छन्। सिएनएनमा काम गर्ने साथीले त्यहाँ पनि गाह्रो छ भनेकी थिइन्। नेपालको अवस्था पनि उस्तै हो। नेपालमा समाचार कक्षको नेतृत्वमा महिला छैनन्।

नेतृत्वमा महिला पुग्न नसक्नुमा एउटा मात्र कारण छैन। सामाजिक संरचना, राज्यको शान्ति सुरक्षाको अवस्था पनि केलाउनु पर्ने हुन्छ । 

क्रियाशील महिला पत्रकारलाई हेर्दा उनीहरू क्षमता नभएर नभई विश्वासको कमीले गर्दा नेतृत्वको जिम्मेवारी पाउन नसकेको हो भन्ने देखिन्छ। २०४७ देखि २०७७ सम्म हेर्दा, जुनरूपमा महिला पत्रकारको सङ्ख्या बढ्यो त्यो रूपमा नेतृत्वदायी भूमिकामा पुगेनन्। सरकारी मिडियामा पनि पुगेनन्।

त्यसो भए प्रकाशकले विश्वास गर्दैनन् त भन्ने प्रश्न पनि उठ्ला। त्यो पनि एक कारण त हो। तर अहिले प्रकाशकले विश्वास गर्ने वातावरण बन्दै गएको छ। 

अर्को समस्या पनि छ। महिला पत्रकार थोरै छन्। त्यसमा पनि पेसाबाट पलायन हुनेहरूको सङ्ख्या बढी छ। काम गरिरहेको भए राइजिङ नेपाल र काठमाडौँ पोस्टको सम्पादक हुन सक्ने महिला पत्रकार थिए। तर, धेरैले छोडेर अन्य काममा जानुभयो। लामो समय काम नगरी एकै पटक नेतृत्वको जिम्मेवारी पाउन सम्भव हुन्न। 

महिलाहरूलाई कामको तेहेरो मार छ। पत्रकारिता पेसामा पैसा थोरै हुन्छ। त्यो पनि नियमित आउँदैन। यसले गर्दा घर खर्च धान्न गाह्रो हुने भइहाल्यो। अर्को घरको सबै काम धान्नुपर्छ। आफूले काम गरेको स्थानबाट आम्दानी नभएपछि अन्य क्षेत्रमा पनि काम गर्न बाध्य छन् महिला। रिपोर्टहरू लेख्ने अन्य काममा यसरी हेर्दा महिलालाई कामको तेहरो मार छ।

समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै पनि बदलिएको छैन। पुरुष पत्रकार छ भने अबेला जाँदा पनि माया नै पाउँछ। त्यही ठाउँमा भएको महिलाले भने ‘पत्रकार हुँ भन्छे खै कता जान्छे’ भन्ने प्रतिक्रिया सुन्नुपर्छ। 

मेरो बुझाइले के भन्छ भने हाम्रो सामाजिक संरचनाले महिलाहरूले काम त गरुन्। तर, १० देखि ५ को काम गरुन् भन्ने सोच्छ। निश्चित समय नहुने सेना, प्रहरी अनि पत्रकार नबनुन् भन्ने चाहन्छ। 

सामाजिक संरचना त हुँदै हो समाज कतिको सुरक्षित छ भन्नेले पनि महिलालाई नेतृत्वमा पुग्न असर गरिरहेको छ। समाचार लेखेर अबेर फर्किँदा पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको सुरक्षाको चुनौती हुन्छ नै। आफूले जिम्मेवारी लिएको विषयबारे समाचार सङ्कलन गर्न जुनसुकै समय, जहाँ पनि पुग्नुपर्ने हुन्छ। यस्तोमा महिलालाई समस्या पर्छ नै। यसले कार्यक्षमतामा असर गर्छ।

अर्को घर–परिवार, बच्चाको रेखदेख लगायतका जिम्मेवारी छ।

अहिले महिला या पुरुष पत्रकार मात्रै हैन,समग्र पत्रकारितामै ह्रास आएको छ। गुणात्मक समाचार कम छन्। अहिले मिडिया सङ्क्रमणकालीन अवस्थामा छ। यसले गर्दा समग्र पत्रकारिता क्षेत्रकै भविष्य के हुन्छ भन्ने नि छ। 

यद्यपि मिडियामा महिलाको अवस्था भने सन्तोषजनक छ अहिले। तत्कालै त भन्दिनँ, केही महिला पत्रकारले बीचैमा पेसा नबदले १० वर्षपछि बिग मिडिया हाउसकै न्युज रुमको लिडर महिला हुने पक्का छ।

(घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेतसँग उकेराको नियमित स्तम्भ चौँथोँ अङ्गका लागि प्रजु पन्तले गरेको कुराकानी ) 

२५ फागुन, २०७७, २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।