गत वर्ष कोरोना महामारी फैलिएदेखि नै निरन्तर रुपमा मैले फिल्डमै खटिएर रिपोर्टिङ गरेको छु। मेरो स्वास्थ्य बिट नै भएकाले यो महामारीमा फिल्डमा खट्नुको विकल्प पनि छैन।
उकेरा कोलम
टेलिभिजनमा काम गर्ने भएपछि फिल्ड रिपोर्टिङ गर्नैपर्छ। अडियो-भिडियो लाइभ रिपोर्टिङ गर्नैपर्छ। जस्तोसुकै विपद् परे पनि टेलिभिजनको रिपोर्टरले फिल्डमा खटिन्न भन्न मिल्दैन।
कसैले यो अवस्थामा के रिपोर्टिङ गर्ने र? भने पनि मलाई अफिसमा बस्न मन लाग्दैन। डराइ-डराइ अस्पतालहरुमा गएर रिपोर्टिङ गरेको छु।
टिभीमा रिपोर्टिङ गर्ने भएपछि रिपोर्टर एक्लै गएर हुँदैन। भिडियोको लागि टिम नै जानुपर्यो। गत वर्ष निकै गाह्रो भयो। रिपोर्टिङ गर्न टिमको सहयोग जति हुनुपर्ने हो, त्यति भएको थिएन। फिल्ड रिपोर्टिङ नगरे पनि हुने भन्ने आसय प्रकट हुन्थ्यो साथीहरुबाट।
अस्पतालबाट रिपोर्टिङ गरेर आएको छ भने पनि उसको नजिक नजाउँ है भन्थे। यो सुन्दा नरामाइलो लाग्थ्यो। गत वर्ष जोखिम कम, डर बढी थियो। यसपालि जोखिम बढी, डर कम जस्तो भएको छ।
यो पालि भने टिमको राम्रो सहयोग भइरहेको छ। स्वास्थ्यको कुरा भएको हुनाले आफूले यो रिपोर्टिङ गर्छु भन्न पनि डर लाग्ने रहेछ, मैले गर्दा टिमका अन्य साथीहरुलाई कोरोना संक्रमण भएको आरोप लाग्छ की भन्ने। तनावै–तनावबीच रिपोर्टिङ भइरहेको छ।
अस्पतालको लाइभ रिपोर्टिङ गर्दा
हाम्रो कार्यालयले निषेधाज्ञा सुरु भएपछि एक दिन बिराएर कार्यालय आउने नियम बनाएको थियो, पालैपालो। धेरै साथीहरु संक्रमित हुनुभएपछि भने एक हप्ता बिराएर कार्यालय जानपर्ने भयो।
मेरो पालो वैशाख चौथो हप्ता पर्यो। यो बेला कोरोना भाइरसको संक्रमणदर उच्च, अस्पतालमा बेडको कमी र अक्सिजन कमी भएको अवस्था थियो। यो बेला अस्पतालको फिल्ड रिपोर्टिङ गर्नुको विकल्प थिएन हामीहरुको। हाम्रो समूह नै अस्पतालको फिल्ड भिजिटमा निस्कने भयो।
हाम्रो कार्यालयले मास्क र स्यानिटाइजरको व्यवस्था गरेको छ। यसैको भरमा हामी शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकु, वीर अस्पतालको ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज गयौं। यी अस्पतालमा जुन अवस्था देख्यौं, मलाई अहिले पनि आङ सिरिङ्ग हुन्छ।
बेड नपुगेर खचाखच संक्रमितलाई बाहिरै राखेर उपचार गर्न बाध्य थिए स्वास्थ्यकर्मी। संक्रमितमा बालबच्चा, युवादेखि वृद्धवृद्धासम्म सबै थिए। अस्पतालको स्थिति कोलाहलपूर्ण थियो। श्वास फेर्न गाह्रो भएर छटपटाइरहेका बिरामी, आत्तिइरहेका आफन्त देखेर मेरो मन पनि अत्तालिएको थियो।
पहिलो पटक मलाई गत वर्ष नै कोरोना संक्रमण भइसकेको थियो। गाह्रो हुन्छ भन्ने थाहा भएर नै डर लाग्यो। घरमा औषधि खाने ससुरा-बुबा हुनुहुन्छ। म यस्तो ठाउँमा आएर मैबाट कोरोना लाग्यो भने के गर्ने भन्ने डर पनि लागेको थियो।
खोप लगाएको छु भन्ने ढुक्क भए पनि खोप लगाएकालाई पनि कोरोना लागेकै थियो। क्यामेरा पर्सनले तस्बिर, भिडियो लिइरहनुभएको थियो। सुरुमा अत्तालिए पनि पछि भने मलाई डर लागेन। मैले त्यहाँ रेकर्डडेड लाइभ रिपोर्टिङ गरें।
ट्रमामा बेडको अभाव थियो। कोलाहल धेरै मच्चिएको थियो। संक्रमितहरु बाहिरै थिए, मैले थाहा पाइनँ। संक्रमितहरु मास्क नलगाई बसेका रहेछन्। उनीहरुको नजिक पुगिएछ, अरुले भनेपछि मात्र थाहा पाएँ। त्यहाँ पनि रिपोर्टिङ गरियो।
त्रिवि शिक्षण अस्पतालमा पनि बिरामी बाहिरै थिए। एक जना आमा एक्लै बाहिर बस्नुभएको थियो। मलाई लाग्यो, उहाँहरुको छोरा अथवा परिवारको सदस्य संक्रमित हुनुहुन्छ। म नजिक पुग्नै लाग्दा उहाँ पर जानुभयो। पछि थाहा भयो, उहाँलाई पनि कोरोना लागेको रहेछ।
प्राइभेट अस्पतालको अवस्था कस्तो छ भनेर अल्का अस्पताल जाँदा अक्सिजनको फोटो खिच्ने क्रममा आइसियु नजिक पुगियो। श्वास फेर्न गाह्रो भएर एक जना बिरामी छट्पटाइरहनुभएको थियो। केही मिडियाका साथीहरुले संक्रमितसँग नै अन्तर्वार्ता लिइरहनुभएको थियो। मलाई त्यतिबेला लाग्यो, कुनै पनि मिडिया हाउसले संक्रमितको अन्तर्वार्ता लेऊ त पक्कै भनेन होला। त्यसरी लिन आवश्यक थिएन भन्ने लाग्यो मलाई।
दिनभरि मृत्युसँग लडिरहेकाहरुको दृश्य, उपचार गर्ने स्थान अभावको कारण प्यासेजमै बिरामी राख्न बाध्य अस्पताल प्रशासन, आफन्तको चित्कार, स्वास्थ्यकर्मीको दौडधुप अस्पतालको अवस्था हेरिसक्नु थिएन। यही विषयलाई समेटेर गरेको रिपोर्टलाई सम्पादन गरें कार्यालय आएपछि। भोलिपल्ट प्रसारण भयो।
यो रिपोर्टको मलाई राम्रो रेस्पोन्स पनि आयो। धेरै तारिफ भयो। तर धेरैले मास्क मात्रै लगाएर रिपोर्टिङ गरेको रहेछ, फेससिल्ड, पञ्जा किन नलाएको भनेर सम्झाउनुभएको थियो। घरबाट पनि अस्पताल जाँदोरहेछौ, त्यसरी त नजाऊ है, कोरोना सर्छ र घरमा पनि सर्छ भन्नु भयो। कामै रिपोर्टिङ गर्ने भएपछि जसले जे भने पनि सुरक्षित साथ रिपोर्टिङ गर्नुको विकल्प थिएन।
रिपोर्टिङमा मास्क, स्यानिटाइजर, फेससिल्ड लगाएर जाने गरियो। भौतिक दूरी कायम राख्ने हाम्रोमा सम्भव नै छैन। अस्पतालमा खचाखच बिरामीले पाइला राख्ने स्थान नहुने हुँदा यो सम्भव भएन। हरेक दिन रिपोर्टिङ सकेपछि नुवाइधुवाइ गर्थें। परिवारका सदस्यसँग अघिपछि जस्तो घुलमिल भइनँ।
एक हप्तासम्म लगातार रिपोर्टिङ गरेपछि घरमै आइसोलेसनमा बसेँ। धेरै संक्रमितसँग आमने–सामने भएको भएर मलाई पनि हल्का डर लागेको थियो। घाँटी पनि दुखेको, सञ्चो नभएको जस्तो भएपछि पिसिआर गराएँ। रिपोर्ट निगेटिभ आयो।
स्वास्थ्य मन्त्रालय सहयोगी छैन
सबै पत्रकारले जोखिम मोलेर काम गरिरहेका छन्। सूचना प्रवाह द्रुत गतिमा भइरहेको छ। जति सूचना आउनुपर्ने हो त्यति आइरहेको छैन। स्वास्थ्य मन्त्रालयले दिनुपर्ने सूचना नदिएर ५/७ वटा रिपोर्टिङ किल भएका छन् मेरो। सूचनामैत्री छैनन् हाम्रा निकायहरु। टेलिभिजनमा कि त स्रोतको बोली, कि त भिजुअल राख्न पर्यो तर बोल्नै नमान्ने। फोन नउठाउने, कुराएर पनि नबोल्ने जस्ता अनप्रोफेसनल छन् हाम्रा स्रोतहरु।
सूचना कसलाई दिने भन्नेमा पनि ठूलो सिन्डिकेट छ हाम्रोमा। पत्रकारलाई सूचना दिनेभन्दा पनि कसलाई दिने भन्नेमा उनीहरु केन्द्रित हुन्छन्। मैले फेरि अन्य पत्रकार साथीहरुको पिआरलाई नजरअन्दाज गरेको हैन तर स्रोतले भने सिन्डिकेट गर्छन्।
फिल्ड रिपोर्टिङ जोखिम त छँदैछ, त्यसमाथि सम्बन्धित व्यक्ति नबोलिदिएर पनि रिपोर्टिङ गर्न कठिन भइरहेको छ।
चौथो अंगका पुराना श्रृंखला
टिम वर्क गर्ने चलन छैन, नेपाली मिडियामा
कोरोना महामारीमा जोखिम मोलेर रिपोर्टिङ गरेकाहरुको हकमा थप सुविधा हुनुपर्ने हो तर धेरै पत्रकारको जागिर नै खोसियो। तलब आधा दिए धेरै मिडियाले। हाम्रो कार्यालयले भने तलब अघिपछिको जस्तै दियो।
हाम्रा मिडिया हाउसहरुमा रिपोर्टरले जोखिम मोलेर गरेको कामलाई एप्रिसिएट गर्दैनन्। कम्तीमा हामी तिम्रो साथमा छौं, तिमी भोलि इन्फेक्टेड भयौ भने तिम्रो साथमा हामी छौं, सहयोग गर्छौं मात्रै भनिदिए पनि मनोबल बढ्थ्यो। रिपोर्टरको मनोबल बढ्ने गरी मिडिया हाउसले ढाडस दिए जस्तो लाग्दैन।
अरुको मिडियामा यो आएछ, हाम्रोमा खै? भन्ने तर गरेका कामलाई एप्रिसिएट नगर्दा भने चित्त दुख्ने रहेछ। रिपोर्टिङ भनेकै टिम वर्क हो। हाम्रा मिडिया हाउसहरुमा टिम वर्क छैन। यो बेला स्वास्थ्यसँग जोडिएका इस्युहरु प्रत्यक्ष राजनीतिसँग पनि जोडिएका हुन्छन्। ती कुराहरुमा समन्वय हुँदा राम्रो रिपोर्टिङ हुनसक्छ। तर भएको छैन। एक्लो रिपोर्टरको दृष्टिले जति भ्याउँछ, त्यति मात्रै भएको छ। जुनसुकै मिडिया हाउसमा पनि महामारीमा कसरी रिपोर्टिङ गर्ने भन्ने गाइडलाइन र टिम वर्क छैन।
उल्टो फलानोमा यस्तो रिपोर्टिङ आएछ, हाम्रोमा किन आएन भन्ने तर रिपोर्टिङ गर्दा उसको स्रोतले नभ्याउने स्थानमा कतै अड्क्यो की भनेर सोध्ने चलन नै छैन।
मिडिया हाउसले जोखिम मोलेर रिपोर्टिङ गरिरहेका पत्रकारलाई ढाडस दिने, हामी छौं भन्ने, गाइडलाइन बनाइदिने, टिम वर्क गराउने, इन्फेक्टेड भइहाले पत्रकार महासंघ लगायतका पत्रकारका संघ-संस्थाले उपचारको व्यवस्था गर्ने हो भने रिपोर्टिङ गर्न सहज हुने थियो।
(इमेज टेलिभिजनकी स्वास्थ्य रिपोर्टर तिम्सिनासँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)
२०७८ जेठ ११ गते ११:४८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।