चौथो अंगमा पत्रिका बिक्रेता रामकृष्ण धिताल : ग्राहक पैसा दिँदैनन्, मिडिया हाउसले चिन्दैनन्

चौथो अंगमा पत्रिका बिक्रेता रामकृष्ण धिताल : ग्राहक पैसा दिँदैनन्, मिडिया हाउसले चिन्दैनन्
तस्बिर : कृष्पा श्रेष्ठ

पञ्चायतकालमै सिन्धुपाल्चोकबाट काठमाडौं छिरेको मैले कामको सुरुवात नै पत्रिका बिक्रीबाट गरें। त्यतिबेलाका दैनिक पत्रिका थिए, गोरखापत्र र राइजिङ नेपाल। यी पत्रिका दिनको दुई सय बिक्री हुन्थे। पुकार, सन्देश, नेपाल आवाज लगायतका साप्ताहिक पत्रिका पनि बेच्थें। यी पनि ठिकै जान्थे।

गोरखापत्रको एकाधिकार थियो त्यतिबेला। अहिलेको जस्तो एकाबिहानै पत्रिका निस्कदैनथे। साढे सात बजे हामी न्युरोड पुग्दा बल्ल पत्रिका झर्ने बेला हुन्थ्यो।

त्यो बेला पत्रिकामा साइकल ब्वाई राख्ने चलन थिएन। मिडिया हाउसले बिक्रेता तोक्थे। गोरखापत्रका बिक्रेता सुरेन्द्रप्रकाश मानन्धर र उमेश वैद्य हुनुहुन्थ्यो। उहाँहरुमार्फत नै म पत्रिकामा जोडिएको हुँ।  

हामी न्युरोड, भोटेबहाल, सुन्धारा, डिल्लीबजार, कमलपोखरीसम्म हिँडेरै  पत्रिका बेच्न पुग्थ्यौं। त्यतिबेला काम गर्ने थोरै नै थिए। अहिले जस्तो घरघरै ग्राहक बन्ने चलन थिएन।

पत्रिकाको १० वर्ष उर्वर समय 
निजी क्षेत्रको पत्रिका नआइन्जेल बिहान साढे सात बजे न्युरोड पुगे हुन्थ्यो। पछि भने बिहान ४ बजे नै नपुगे पत्रिका नपाइने स्थितिसम्म पुग्यो। न्युरोडको रौनक नै अर्कै हुन्थ्यो।

मैले ३१ वर्ष पत्रिका बेचेँ। दुई छोरी, एक छोरा, म र श्रीमती गरी ५ जनाको परिवार यसैले पालियो। पत्रिकाको उर्वर समय भने हाम्रोमा धेरै भएन। ठ्याक्कै १० वर्ष भन्दा हुन्छ २०५४ देखि ०६४ सालसम्म।

माओवादी द्वन्द्व र दरबार हत्याकाण्ड भएको बेला धेरै पत्रिका बेचियो। दिनमा हजार पत्रिका त मैले नै बेचेँ। आफैंले सबैतिर पत्रिका पुर्याउन नभ्याउने हुँदा दुई जना भाइ राखें। अहिले पनि उनीहरु बिहान यो काम गर्दैछन्। 

२०४९ साल फागुन ७ गते कान्तिपुर दैनिक खुल्यो। नेपाल समाचारपत्र, स्पेस टाइम दैनिक खुले। अलि पछि अन्नपूर्ण पोस्ट खुल्यो।

पत्रिका धेरै हुँदै गएसँगै ग्राहक पनि बढेकै थिए। कान्तिपुरले आफैं साइकल ब्वाई राख्न थाल्यो। त्यसपछि खुलेका धेरैजसो पत्रिकाले साइकल ब्वाई राख्न थाले। हामी भने कम्पनीले तोकेको अधिकृत बिक्रेतामार्फत पत्रिका बेच्ने भयौं। कान्तिपुर पत्रिका त मैले ४ सय ५० जति बेचेँ। यसको बिक्री संख्या अझै पनि २ सय ३५ छ। अरु पत्रिकाको बिक्री अनुपात पनि राम्रै थियो। 

विस्तारै पत्रिकाले ग्राहक बढाउन स्किमहरु ल्याउन थाले। सुरुमा केबलकार टिकट, घडी, टिसर्ट क्याप जस्ता स्किम आए। हामीले यो स्किम आएको छ भनेर ग्राहक बनाउँथ्यौँ। यो पत्रिकाले यस्तो समाचार लेख्छ भन्नुभन्दा स्किमले पत्रिका बढी बिक्थे। पहिले राजनीति दलबारे लेख्ने पत्रिका बिक्री हुन्थे। अहिले त राजनीतिकभन्दा सामाजिक समाचार लेखिएका बढी खोज्छन् ग्राहकले। यसमा पनि अहिले त पत्रिका पढ्ने पाठक नै धेरै कम भए। 

अनलाइन आएपछि गयो पत्रिकाको बजार 
अहिले मेरा ग्राहक ५ सयको हाराहारीमा हुनुहुन्छ। त्यसमा आधा त कान्तिपुरकै हुनुहुन्छ। अरु गोरखापत्र, नयाँ पत्रिका, अन्नपूर्ण, नागरिक दैनिकका हुनुहुन्छ। ३१ वर्षदेखि मैंसँग मात्र पत्रिका लिने ग्राहक पनि हुनुहुन्छ। पत्रिकाको कारणले भन्दा पनि सम्बन्धका कारणले पत्रिका किन्नेहरु पनि हुनुहुन्छ। 

नयाँलाई त स्किम बिना पत्रिका बेच्न पहिलेदेखि नै गाह्रो हो। वार्षिक ग्राहक स्किमबिना कोही पनि बन्दैनथे। नयाँ प्रकाशन प्रालिले फन पार्क र चन्द्रागिरिको टिकट दिएको बेला धेरै ग्राहक बनेका थिए। तर अब समय त्यस्तो रहेन। युवा पुस्ता पत्रिकाको ग्राहक बन्दैन। धेरैले पत्रिका नै हेर्दैनन्। पहिले न्युरोडको पिपलबोटमा पत्रिका हेर्ने, किन्ने, पढ्नेको लाइन हुन्थ्यो। अब त्यो दृश्य देख्न गाह्रो भइसक्यो। सायद अब देखिँदैन पनि। 

पत्रिका नै हेर्ने भनेको मोबाइलमा हेर्न नजान्ने र पत्रिका नै पढ्नै पर्नेले मात्रै हो। नत्र अहिले पत्रिकाको बजार डामाडोल छ। 

३१ वर्ष काम गरेँ, उपलब्धि भएन
सिन्धुपाल्चोकबाट काठमाडौं आएपछि पत्रिका बेच्न सुरु गरेँ। डेरामा बसियो। त्यतिबेला एउटा पत्रिका बेचेवापत ५० पैसा पाइन्थ्यो। २०४९ सालपछि पत्रिका बेचेर महिनाको ५ हजारसम्म कमाइयो। त्यो बेलाको ५ हजार धेरै ठूलो रकम थियो। पछि यो रकम बढेर ४८ हजारसम्म पुग्यो। तर महँगी पनि आकाशिँदै गयो।

यो कामले जीविका मात्रै चल्ने भयो। केही परेको बेला पैसा नै नहुने भयो। बरु पैतृक सम्पत्ति बेचेर कति काम चलाइयो। यो काम गरेर कुनै फाइदा भएन। मिडिया हाउसले ग्राहकको घरसम्म पुर्याउने हामीलाई हेरेनन्। हुँदाहुँदा उल्टै हामीबाट ग्राहक खोस्ने कामसम्म गरे। 

एउटा उदाहरण दिउँ- केही दिनअघिको कुरा हो। वर्षौंदेखि मैले पत्रिका पुर्याउँदै आएको ग्राहकको पसलमा मिडिया हाउसले आफैं ग्राहक बनाउन पठाएछ र मैले पठाएको भनेर रसिद काटेछ। पछि पो अर्को पसलको मान्छेले थाहा पाएर मलाई फोन गरे। त्यसपछि उनीहरुको रसिद च्यातिदिएछन्। मिडिया हाउसले हामीमार्फत नै ग्राहक बनाउन लगाए हुने हो। तर नयाँ राख्ने र हाम्रो ग्राहक खोस्ने काम उनीहरुले गरिरहेका छन्। 

२०४६ सालपछि खुला रुपमा मिडियाका गतिविधि हुन थालेदेखि नै हामीले काम गर्न थालेका हौं। हामीले घरघर पत्रिका पुर्याउने काम गर्यौं तर मिडिया हाउसले हाम्रो पिरमर्का, सञ्चो–विसञ्चो, चाडपर्वमा कहिल्यै वास्ता गरेकै छैन। 

झन्डै आधा उमेर बिताइयो, तर कम्पनीले हामीले गरेको काम देखेनन्। विभिन्न हार्डवेयर कम्पनीले हामीजस्तै बिक्रेतालाई दसैं-तिहारमा कमिसन दिएका हुन्छन्। तर पत्रिकाका अफिसले हामीलाई वास्ता गरेनन्। 

ग्राहकले पनि ठग्ने हामीलाई नै
यतिका वर्ष पत्रिका बेचें। तर ग्राहकबाट थुप्रै पैसा उठ्न बाँकी छ। ग्राहकले मलाई दिनुपर्ने पैसाको हिसाब गर्दा साढे चार लाख जति पुग्दो रहेछ। चार/पाँच सय नदिने त कति छन् कति, पाँच हजार नदिने पनि १५/२० जना छन्।

एउटा ग्राहक सम्झिएँ। बागबजारमा विद्यालय चलाउँथे उनी। अहिले बागबजारमै पाँच तलाको घर किनेका छन्। उनीसँग मैले १० हजार लिनु छ। ३/४ वर्ष भयो तिरेका छैनन्। अहिले पनि कहिलेकाहीँ भेटघाट हुन्छ। ‘तपाईंको पैसा दिनुपर्ने’ भन्न कहिल्यै छाड्दैनन् तर कहिल्यै दिँदैनन्। अहिले त आश नै मारिसकेँ। 

संगठन बनाउन सकिएन
मैले लकडाउन अघिसम्म ९ सय पत्रिका बेच्थें। तर अहिले झन्डै आधा घट्यो। आम्दानी घट्यो। उमेरका कारण पनि सधैं हिँडेर काम गर्न सकिँदैन। त्यसमाथि पत्रिकाको बजार पनि छैन। बुढेसकालमा के खाने भन्ने चिन्ता पर्ने रहेछ। 

२०५४ सालतिर हामीले पत्रिका बेच्नेहरुको पनि संगठन बनाउने कुरा उठाएका थियौँ तर बनाउन सकेनौँ। साथीहरु कोही एमाले, कोही कांग्रेस, कोही माओवादी, कहाँ दर्ता गर्ने भन्ने विवादले संगठन खोल्न सकेनौँ। केही पैसा हामीले पनि जम्मा गर्ने र मिडिया हाउसले पनि केही जम्मा गर्न लगाउने परिकल्पना थियो। संस्था बन्न सकेन जसले गर्दा हाम्रो आर्थिक भविष्य सुरक्षित भएन। अब त धेरै साथीहरु पलयान नै भइसके।

अहिले म उपराष्ट्रपति कार्यालय, राष्ट्रिय महिला आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्रिका पुर्याउँछु। यो काम गर्न नसकेको दिन के गर्ने हो, मलाई नै थाहा छैन।

मिडिया हाउसले यति ग्राहक पुर्याएवापत घरायसी सामान त दिए तर हाम्रो दीर्घकालीन व्यवस्था गरिदिएनन्। श्रमजीवी मान्छेको भोलि श्रम गर्न नसकेको अवस्थामा के हुन्छ, कसरी जीविका चलाउँछ भनेर मिडिया हाउसले सोचेको जस्तो लाग्दैन। कम्तीमा उनीहरुले यो कुरा सोचिदिए हुन्थ्यो।

चौथो अंगका पुराना श्रृंखला

(३१ वर्ष पत्रिका बेचेका धितालसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।) 

२२ भदौ, २०७८, १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।