उकेरा कोलम

चौथो अंगमा भानुभक्त आचार्य : त्रिवि पत्रकारिता विभागमा सिन्डिकेट छ


नेपालमा पत्रकारिता शिक्षा वि.सं. २०३३ बाट सुरु भयो। त्यसबेला पत्रकारिता शिक्षा सुरु हुनुमा लाल देउसा राई, भारतदत्त कोइराला, गोकुल पोखरेल लगायतका व्यक्तिहरूको अग्रणी भूमिका छ। 

 

त्यसबेला प्रवीणता तह (इन्टरमिडियट) सुरु भएको पत्रकारिता शिक्षाको स्नातकोत्तर तह खुल्न भने धेरै समय लाग्यो। विसं २०५७-२०५८ मा आइपुग्दा मात्रै स्नातकोत्तर सुरु भयो। अहिले नेपालमा पत्रकारितामा एमफिल र विद्यावारिधि तहहरू पनि सञ्चालनमा छन्।

नेपालमा पत्रकारिता शिक्षाको विभिन्न आयामहरूबारेमा यो लेख केन्द्रित छ। लेखको सुरुआत स्नातकोत्तर तह सञ्चालन हुँदाका केही रस्साकस्सीबाट गरौँ।

‘इन्ट्रा डिसिप्लिनरी’ कि ‘इन्टर डिसिप्लिनरी’? 

दुई दशकअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पूर्वाञ्चल विश्वविद्यालयले पत्रकारितामा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्दा एउटा विवाद सतहमा आयो—पत्रकारिता शिक्षालाई अन्तरशांकायिक बनाउने कि नबनाउने। 

त्रिविका प्राध्यापकहरूले स्नातकोत्तर तहमा पत्रकारिता पढ्न चाहने विद्यार्थी स्नातक पढ्न अनिवार्य पत्रकारिता पढेकै हुनुपर्ने (इन्ट्रा–डिसिप्लनरी) शिक्षाको वकालत गरे भने रामकृष्ण रेग्मी लगायतका प्राध्यापकहरू भने स्नातकमा अन्य विषय पढेको भए पनि स्नातकोत्तर तहमा पत्रकारिता पढ्न पाउनु पर्छ भन्ने अन्तरशंकायिक (इन्टरडिसिप्लनरी) पत्रकारिता शिक्षाको पक्षमा देखिए।

परिणाम स्वरूप त्रिविले इन्ट्रा–डिसिप्लिनरी शिक्षा पद्धतिलाई अङ्गाल्यो भने पूर्वाञ्चल विश्वविद्यालय लगायतले इन्टर–डिसिप्लिनरी प्रणालीलाई अँगाले।

व्यक्तिगत रूपमा मलाई त्यसबेला त्रिभुवन विश्वविद्यालयले ‘इन्टरडिसिप्लनरी’ शिक्षा नअँगालेर गलत गर्‍यो भन्ने लाग्छ। किनभने त्यसबेला पत्रकारिता गरेका तर पढ्न नपाएका धेरै पत्रकारहरू थिए। उनीहरूलाई आफ्नो अनुभवलाई प्राज्ञिक ज्ञानसँग जोड्नु थियो। उनीहरूले चाहेर पनि त्यो अवसर पाउन सकेनन्। यसको कारण हो त्रिविको पत्रकारिता शिक्षामा ‘इन्ट्रा–डिसिप्लिनरी’ नीति। 

संसारका अधिकांश राम्रा विश्वविद्यालयमा पत्रकारितामा स्नातकोत्तर गर्न प्रवीणता प्रमाणपत्र तह वा स्नातकदेखि नै पत्रकारिता पढेकै हुनुपर्छ भन्ने छैन। 

कानुन पढ्ने, सूचना विज्ञान पढ्ने वा वाणिज्य शास्त्र पढ्ने विद्यार्थीले पनि पत्रकारिता वा सञ्चारका कुनै विषयमा तान्न सकिन्छ। त्यस्तै तलैदेखि पत्रकारिता पढेका र एकै पटक स्नातकोत्तर तहमा पत्रकारिता पढ्न आइपुगेका विद्यार्थीहरुबीच विषयवस्तुको तालमेल मिलाउन उनीहरू त्यो तहमा अध्ययन गरेकै बेला स्नातक तहका खास विषयहरू अनिवार्य रूपमा पढ्न लगाउन सकिन्छ। 

उदाहरणका लागि स्नातकोत्तर तहमा अर्कै सङ्कायबाट पत्रकारिता पढ्न आएको विद्यार्थीलाई पत्रकारिताको सैद्धान्तिक ज्ञान र मिडिया रिसर्च स्नातक तहको पनि उत्तीर्ण गर्न लगाउन सकिन्छ। तर त्यसो गरिएन। 

उनीहरूको बाटै छेक्ने काम भयो। अझ रमाइलो त के भने त्रिविमा जो—जो प्राध्यापकहरू पत्रकारिताको पृष्ठभूमिबाट आएका होइनन्, उनीहरूकै जोड बलले ‘इन्ट्रा–डिसिप्लिनरी’को बाध्यकारी व्यवस्था राखियो। यसले त्रिविको पत्रकारिता शिक्षालाई बृहत्तर विकास हुन दिएन। 

किनभने प्रतिस्पर्धी विश्वविद्यालयहरुले आमसञ्चार र पत्रकारिता शिक्षामै स्नातकोत्तर खोल्ने मौका पाए। त्रिविले पत्रकारिता शिक्षामा देशैभरि आफैँले नेतृत्व गर्ने अवसर थियो तर गुमायो। यस्तो हुनाको कारण त्रिवि पत्रकारिता विभागका केही उपप्राध्यापक, प्राध्यापकहरूको सङ्कीर्ण  सोच मात्र हो। उनीहरूले पत्रकारिताको विकासलाईभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिए। 

पत्रकारिता शिक्षाको गुणस्तर

हुन त नेपालमा पत्रकारिताको मात्रै होइन, समग्र पढाइको गुणस्तरमा सुधार गर्नु पर्ने धरै कुराहरू छन्। त्रिविकै कुरा गर्दा मेडिकल र इन्जिनियरिङ बाहेक अन्य विषयमा प्रभावकारी अध्ययन–अध्यापन पाउन कठिन छ। 

पत्रकारिता शिक्षा पनि त्यस्तै हो। पत्रकारितामा एमए सुरु भएको समयदेखि हिसाब गर्ने हो भने बितेका दुई दशकमा अधिकांश समय पत्रकारिता शिक्षाको विकास गर्नेभन्दा पनि आफ्नो पन्जाबाट विभाग फुत्किन्छ की भनेर नियन्त्रण गर्न खोज्नेहरूको पकडमा पुग्यो पत्रकारिता शिक्षा। त्यसैले गुणस्तरका बारेमा सोच्ने समयै पुगेन।

विगत दुई दशकलाई समग्रमा हेर्ने हो भने अन्य कलेजलाई पत्रकारिता पढाउन सम्बन्धन दिने सिलसिलामा पनि पत्रकारिता विभागको सिन्डिकेट देखिन्छ। उपत्यका बाहिरको कुरै छाडौँ, उपत्यकाभित्रको मदन भण्डारी कलेजले निकै पापड बेलेर स्नातकोत्तर पढाउने अनुमति पाएको थियो। फलानो प्रधानमन्त्री नभए देशै सिद्धिन्छ भनेजस्तै गरी हामी नभए पत्रकारिता शिक्षा रहँदैन भन्ने भ्रम पालेका मानिसहरूले विभागलाई नियन्त्रण गरे।

अर्थात् पुरै केन्द्रीकृत मानसिकता थियो। पछि राजनीतिक सोर्सफोर्स लगाएर त्यो सिन्डिकेट आंशिक रूपमा तोडियो तर पुरै तोडिएको छैन। आफ्नो पकडमा रहेको पत्रकारिता शिक्षा अन्य स्थानमा गयो भने हामी सकिन्छौँ भन्ने मानसिकताले जरो गाडेको छ। यो गलत हो।

हिजोका वर्षहरूमा सम्बन्धन पनि नदिने, विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय जर्नलहरूमा पहुँच नदिने, विद्यार्थीहरूलाई कम्प्युटर र इन्टरनेटको व्यवस्था नगर्ने, आफू पनि राम्रो नपढाउने, विभागका शिक्षकहरूलाई अनुकूल वातावरणको सिर्जना पनि नगर्ने र अन्य विषयको स्नातकलाई पनि पत्रकारितामा मास्टर्स गर्न नदिने जस्ता हर्कतहरू थिए। यस्ता हर्कतले पत्रकारिता शिक्षा उँभो लाग्दैन।

अहिले नयाँ त्रिवि पत्रकारिता विभागमा पनि नयाँ शिक्षकहरू थप्ने, इन्टर डिसिप्लिनरी पद्धतिलाई क्रमशः अङ्गाल्दै जाने र देशभित्र र बाहिर पनि पत्रकारिता शिक्षा पढाउन सम्बन्धन दिने काम भइरहेको छ। तर पनि उत्साहप्रद शैक्षिक वातावरणको सिर्जना गरी पत्रकारिता शिक्षालाई गुणस्तरीय बनाउने कामका लागि धेरै गर्न बाँकी छ। 

गुणस्तरकै कुरा गर्दा अलिकति पाठ्यक्रम अपडेटका बारेमा पनि चर्चा गरौँ। विदेशका विश्वविद्यालयमा हरेक सेमेस्टरमा पाठ्यक्रम अपडेट हुन्छ। सम्बन्धित शिक्षकले पुरानो विषयवस्तुको सट्टा नयाँ विषयवस्तु थपेर डिनको कार्यालयलाई इमेल पठाउँछ। उसले हप्ता दश दिन भित्र इमेलबाटै स्वीकृति पाउँछ। त्यसपछि त्यो पाठ्यक्रम लागु हुन्छ। कुनै प्रशासनिक झन्झट छैन।  

नेपालका विश्वविद्यालयमा पत्रकारिताको समयानुकूल पाठ्यक्रम पाइँदैन। सके हरेक वर्ष नसके पनि कम्तीमा दुई वर्षमा अपडेट भइरहनु पर्ने पत्रकारिता जस्तो विषयको पाठ्यक्रम १० वर्षमा पनि फेरिन गाह्रो भइरहेको छ। पाठ्यक्रम अपडेट गर्न राजनीतिक र प्रशासनिक झन्झटहरू छिचोल्नु पर्ने हुन्छ।

हामीले यस्तो पढेका थियौँ, त्यो नै सही थियो भन्ने किसिमको पुरातनवादी मानसिकता छ। अपडेट भइरहनुपर्ने काम हो पत्रकारिता तर यही विषयको पाठ्यक्रम नै अपडेट छैन भने हामीले पढाइरहेको पत्रकारिता शिक्षाले समयानुकूल जनशक्ति कसरी उत्पादन गर्न सक्छ?

कमजोर र अमिल्दो सिकाइ 

नेपालमा त्रिविको मात्रै होइन, अन्य विश्वविद्यालयमा पत्रकारिता पढाउने तौरतरिका पनि मिलेको छैन। हाम्रो विश्वविद्यालयमा पढाएका धेरैजसो कुराहरू कोरा सैद्धान्तिक छन्, जो व्यावहारिक जीवनमा लागू हुँदैनन्। उदाहरणका लागि रेडियो विषय पढाउँदा कतिपय कलेज तथा विश्वविद्यालयमा प्रोग्राम प्रोडक्सन सिकाएकै हुँदैन। 

विद्यार्थीलाई समाचार लेख्न पर्याप्त अभ्यास गराइएको हुँदैन। पत्रकारिता शिक्षामा सिकाउनै पर्ने पहिलो कुरा प्रश्न गर्न सिकाउनु हो। तर, कतिपय शिक्षकहरू विद्यार्थीले सोधेका आलोचनात्मक प्रश्नहरूबाट तर्सिन्छन्, रिसाउँछन्। विद्यार्थीलाई उत्सुक होइन, निरुत्साहित बनाउँछन् । 

अरू देशमा पत्रकारिता, मिडिया र आमसञ्चार विषयहरू फरक–फरक उद्देश्यका लागि पढाइ हुन्छ। नेपालका सबै विश्वविद्यालयमा यी तिनै विषयलाई सँगै मिसाइएको पाइन्छ। यसले विषयगत विज्ञता अर्थात् ‘एक्सपर्टिज’ आउँदैन।

हाम्रो पत्रकारिता शिक्षाले विषयविज्ञ हुनभन्दा सबै कुरा एकै ठाउँमा राखेर पत्रकारितामा साक्षर मात्रै हुन सिकायो। यसो भन्दै गर्दा मैले त्रिविको पत्रकारिता विभागलाई मात्र दोष दिएको हैन। नेपालका अधिकांश विश्वविद्यालयमा पढाउने शैली अस्पष्ट र कर्मकाण्डी छ।

विकसित देशमा कलेज र विश्वविद्यालयले पढाउने पाठ्यक्रम फरक हुन्छ। कलेजले प्रयोगात्मक पढाउँछ भने विश्वविद्यालयले एकेडेमी। हाम्रो विश्वविद्यालयले कुन तहबाट कस्तो कस्तो जनशक्ति उत्पादन गर्न खोजेको भन्ने कुरा प्रस्ट छैन। 

उदाहरणका लागि प्लस टुमा जे पाठ्यक्रम छ, त्यो सबै स्नातक तहमा दोहोरिन्छ। स्नातक तहको फेरि स्नातकोत्तर तहमा दोहोरिन्छ। अब प्लस टु उत्तीर्ण गरेपछि पत्रकार हुने हो कि, स्नातक तह उत्तीर्ण गरेपछि पत्रकार हुने योग्यता पुग्ने हो? थाहा छैन । पढिसकेपछि फलानो तह उत्तीर्ण गरेको सर्टिफिकेट त पाइन्छ तर त्यसले कुन स्तरको र कस्ता कामका लागि योग्य जनशक्ति दिन्छ भन्ने प्रस्ट छैन। 

हामीले अझै के बुझाउन सकेका छैनौँ भने मिडियामा काम गर्ने भन्ने बित्तिकै सबै पत्रकार नै हुने होइनन्। त्यहाँ व्यवस्थापक, प्रविधि, विज्ञापन, ग्राफिक्स, डिजाइन अन्य पाटोमा दक्ष जनशक्ति पनि चाहिन्छ। समग्र मिडियालाई चाहिने दक्ष जनशक्ति उत्पादन विश्वविद्यालयले गर्नुपर्ने हो। तर हाम्रोमा जे विषयमा विशिष्टीकृत ज्ञान लिएको भए पनि त्यो फिल्ड रिपोर्टर पाराका टिपिकल पत्रकार हो भन्ने बुझाइ छ। त्यसलाई चिर्न जरुरी छ।

अर्कातिर पत्रकारिता पढाउने कलेज वा विश्वविद्यालय र मिडिया हाउसको सम्बन्ध विच्छेद जस्तै छ। पत्रकारितामा विश्वविद्यालय नै टप गरेकाले राम्रो मिडियामा जागिर पाउन गाह्रो छ। किन? 

किनभने उनीहरूलाई प्रयोगात्मक शिक्षा दिन सकिएको छैन। कतिपयले ढङ्ग पुर्याएर समाचारको आमुख लेख्न समेत जानेका हुँदैनन् वा उनीहरू समाचार कक्षका लागि तयार भइसकेकै हुन्नन्। लेक्चर विधिमा पढाएर प्रयोगात्मक अभ्यास हुँदैन। यो त स्विमिङको सैद्धान्तिक कक्षा जस्तो मात्रै भो। 

हाम्रो पत्रकारिता शिक्षाले पत्रकारिता वा सञ्चार विषयमा मानिसलाई साक्षर पक्कै बनायो होला। तर, समाचार कक्षलाई आवश्यक पर्ने प्रयोगात्मक सिप सिकाएन। विदेशतिर प्राध्यापकहरू आफैँले प्रोजेक्ट प्रपोजल हालेर रिसर्च गर्ने पैसा खोज्छन्। पत्रकारिताका विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन मिडिया ल्याब खोलेका हुन्छन्, जहाँ पत्रकारिता वा सञ्चारका विभिन्न आयामबारे विषयगत रूपमा सिकाइ हुन्छ। नेपालमा त्यो अभ्यास कहिले सुरु हुने हो थाहा छैन। 

झारा टार्ने रिसर्च र शोधपत्र

विकसित देशमा प्राध्यापकहरू आफ्नो विषयसँगै आफूलाई चासो लागेको अन्य विषयमा शोध अनुसन्धान गर्छन् । अर्थात् विद्यार्थीका थेसिस र टर्म पेपर बाहेक पनि प्राज्ञिक अनुसन्धान भइरहन्छन्। नेपालमा यो किनै कमजोर छ। यो फलानो विश्वविद्यालय वा फलानो विभागको मात्रै समस्या होइन, प्रायः धेरै रिसर्च वा शोधहरू झारा टार्ने किसिमका छन् । 

अधिकांश प्राध्यापकहरू विद्यार्थीलाई थेसिस वा टर्म पेपर लेखाउने बाहेक आफैँ विभिन्न अनुसन्धानमा सहभागी हुँदैनन्। नियमित रिसर्च गर्ने, स्वदेशी वा विदेशी जर्नलहरूमा नयाँ अवधारणा, सिद्धान्त वा अभ्यासका बारेमा नेपालका अभ्यासहरूबारे अनुसन्धानमूलक लेखहरू प्रकाशन हुँदैनन्। 

त्यसो हुनुमा एकातिर अङ्ग्रेजी भाषामा पकड कम छ, अर्कातिर विश्वविद्यालयले त्यसलाई उचित र व्यवस्थित तवरले प्रोत्साहन गर्न सकेको छैन। अरूले गरेका अनुसन्धानका नतिजा पढाउनुभन्दा आफैँले गरेका अनुसन्धानका नतिजा पढाउन सकेमा शिक्षकको मान र विश्वविद्यालयको गरिमा बढ्छ। कतिपय प्राध्यापकहरूका पत्रपत्रिकामा लेखहरू आइरहन्छन् तर तिनले पत्रकारितामा स्नातकोत्तर तह वा त्योभन्दा माथिको अनुसन्धानलाई सघाउँदैनन्। 

विद्यार्थीले गर्ने शोधपत्रहरू नाम मात्रैका छन्। अधिकांश शोधपत्रमा पहिल्यै रिसर्च गरिसकिएका विषयहरू दोहोरिएका छन्। अधिकांश विद्यार्थीले सर्भे र अन्तर्वार्ता विधिहरू अपनाएर रिसर्च गरेका छन्। नयाँ कुरा पत्ता लगाउने भन्दा पनि हेर्दा थेसिस जस्तो देखिने दस्ताबेज तयार पारिएको छ र विश्वविद्यालयका कुनै कोठामा थन्क्याइएको छ।

विद्यार्थीहरूलाई नयाँ शोधपत्र लेख्ने बेलामा पुराना शोधपत्रहरू हेर्न, विषयवस्तुहरू नदोहोर्याउन आवश्यक निगरानी पुगेको छैन। अरू त अरू, पाँच वर्षअघि आफैँ सुपरभाइजर भएर स्वीकृत गरेको शोधपत्र पाँच वर्षपछि अर्को विद्यार्थीले सरक्कै सारेर आफैँलाई सुपरभाइजरको रूपमा बुझाउँदा समेत थाहा नपाउने प्राध्यापक रहेछन् त्रिवि पत्रकारिता विभागमा। 

शोधपत्र लेख्दा शिक्षक र विद्यार्थीबिच नियमित संवाद र अन्तरक्रिया भएको पाइँदैन। प्रपोजल बुझाएपछि विद्यार्थी एकै पटक थेसिसको ड्राफ्ट लिएर आइपुग्छ। सुपरभाइजरको प्रत्यक्ष र लगातार निगरानी नहुँदा शोधकर्ता विद्यार्थीले अन्य स्रोतबाट डाटा वा विषयवस्तु चोर्ने सम्भावना हुन्छ। विद्यार्थीलाई चोर्न दिनु वा उसले चोरेको अनदेखा गर्नु वा विद्यार्थीले चोरेको विषयवस्तु थाहा नपाउनु सम्बन्धित सुपरभाइजरको दोष हो। हामीकहाँ सुपरभाइजरलाई जबाफदेही बनाउने संयन्त्र गतिलो छैन। 

आफ्ना विद्यार्थीका शोधपत्रलाई विभिन्न जर्नलमा छोटकरी स्वरूपमा प्रकाशन गर्न सम्बन्धित सुपरभाइजरले सघाउनु पर्छ। सिकाउनु पर्छ। यी जर्नलहरूमा यो थेसिसका शोधलेखहरु छापिन सक्छ भनेर सल्लाह दिनुपर्छ। कतिपय अवस्थामा आफैँ दोस्रो लेखक भएर पनि विद्यार्थीलाई आफूले गरेका शोधहरू संसारलाई देखाउन अभिप्रेरित गर्नुपर्छ। तर, त्यसो भइरहेको छैन। कारण, शिक्षकहरू आफैँ त्यो मामिलामा धेरै पछाडि छन्। 

जनशक्तिको विकास

पत्रकारिता शिक्षाको समयानुकूल विकासका लागि दक्ष जनशक्तिको छनोट र उनीहरूको वृत्ति विकास अपरिहार्य हुन्छ। नेपालका सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने भए पनि पत्रकारिता शिक्षाको सन्दर्भमा भन्नुपर्दा नेपालमा दुई किसिमका पत्रकारिता विश्वविद्यालयहरू छन्। पहिलो समूहका विश्वविद्यालयहरूमा आफ्नै पत्रकारिता विभाग छ, जसले विभागकै मातहतमा रहेका कलेजहरूमा पत्रकारिता पढाउँछन्। शिक्षकहरूलाई स्थायी नियुक्ति गर्छन् र उनीहरूको वृत्ति विकासमा सघाउँछन्। 

तर यी विश्वविद्यालयमा पनि जनशक्तिको विकासमा समस्या छ। लेक्चर विधिबाट पढाउने, प्रयोगात्मक कामका लागि खर्च नगर्ने, समय समयमा शिक्षकहरूलाई क्षमता अभिवृद्धिका लागि अवसरहरू उपलब्ध नगराउने, क्षमताले भन्दा पनि समय गुजारेर पदोन्नति हुनु पर्ने अवस्था छ। फेरि सिनियरले जुनियरलाई नगन्ने। अवसरहरुबाट वञ्चित गराइदिने, ‘आफ्ना मान्छे’ च्याप्ने। नयाँलाई सिकाउने भन्दा पनि मोरल डाउन गराइदिने लगायतका समस्या छन्। यस्तो अवस्थामा पत्रकारिता शिक्षा प्रभावकारी बन्न सक्दैन।

अर्काथरि विश्वविद्यालयहरू छन्, जसले पत्रकारिता पढाउन कलेजलाई सम्बन्ध त दिन्छन् तर उनीहरूको आफ्नै पत्रकारिता विभाग छैन। त्यहाँ पढाउने शिक्षकहरूलाई सम्बन्धित विश्वविद्यालयले चिन्दैन। जति वर्ष पढाए पनि उनीहरू सम्बन्धित कलेजका पार्ट—टाइम शिक्षकका रूपमा चिनिन्छन् उनीहरूको नियुक्ति, वृत्ति विकास केही हुँदैन। 

रिटायर्ड हुने बेला भएका शिक्षकलाई थिंक ट्याङ्क र नयाँलाई रिसर्चमा विद्यार्थीसँगै खटाउनुपर्ने हो। जसले गर्दा नयाँ–नयाँ अनुसन्धान हुन्थे जस्तो लाग्छ। तर यसो हुन सकेको छैन।

विश्वविद्यालयमा जनशक्ति कम भए बाहिरबाट अनलाइन पढाउन मगाउन सकिन्छ। बाहिरका विश्वविद्यालयहरूलाई आफ्नो विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर लगायत स्रोत साधनका लागि सहयोग माग्न पनि सकिन्छ। तर यो काम गर्ने कसले? 

ठुला मिडियाले पत्रकारलाई बेलाबेला तालिम वा अध्ययन आवश्यक हुन्छ भन्ने बुझेका छैनन्। उनीहरूले आफ्नो संस्था मातहतका पत्रकारलाई पत्रकारिता शिक्षा वा तालिमको लागि कुनै पहल गर्दैनन्। नेपालमा मिडिया सञ्चालकहरूका पनि मिडिया सोसाइटी जस्ता संस्थाहरू छन्। तिनले बेलाबेला मिडियालाई सङ्कट पर्‍यो, तोकिएको तलब दिन नसकिने भयो भनेर विज्ञप्ति निकाल्ने बाहेक अन्य काम गर्दैनन्। 

मिडिया हाउस र विश्वविद्यालयमा आधारभूत तालिम समेत नपाएपछि धेरैजसो पत्रकारहरू एनजिओ, आइएनजिओको तालिममा निर्भर हुन्छन्। एउटै मिडियामा धेरै थरी संस्थामा तालिम लिएका पत्रकार भएपछि उनीहरूको सोच, लेखन शैली, प्रस्तुति पनि फरक फरक हुने नै भयो। फरक–फरक भ्याक्सिनको फरक फरक रियाक्सन भएजस्तै। त्यसले गुणस्तरीय कन्टेन्ट उत्पादनमा सघाउँदैन। 

अब के गर्न सकिन्छ ? 

पत्रकारिता शिक्षा सुधार्ने वा यसलाई अझ व्यापक बनाउने हो भने अरू विश्वविद्यालयमा झैँ त्रिविमा पनि ‘इन्टर डिसिप्लिनरी’लाई बढाउँदै लानुपर्छ ताकि सम्बन्धित विषयको विज्ञलाई पत्रकारितामा सामेल गराउन सकियोस्।

लामो अनुभव भएका पत्रकाहरुलाई प्राज्ञिक उन्नयनमा समावेश गर्न सकियोस्। यसको मतलब अब स्वास्थ्य बिटको रिपोर्टिङ गर्ने पत्रकारले स्वास्थ्य विषय पढेकै, जानेकै वा राम्रो दक्खल राख्न सक्ने हुनुपर्छ भन्ने हो। 

पत्रकारिताको पाठ्यक्रमलाई हरेक वर्ष वा दुई वर्षमा परिमार्जन गर्ने व्यवस्था गर्नुपर्छ। पाठ्यक्रम परिमार्जनलाई कर्मकाण्डी र प्रशासनिक झन्झटको विषय बनाउनु हुँदैन। 

सानातिना कलेज धेरै भएकाले खर्चिला मिडिया ल्याब खोल्ने कुरा सबैका लागि उपयुक्त नहुन सक्छ। तसर्थ, सानातिना मिडिया कलेजलाई एकीकृत गरेर वा विद्यार्थी आदानप्रदान कार्यक्रम राखेर वा एउटा विषयको विशिष्टीकृत पठनपाठनका लागि एउटा कलेज भन्ने अवधारणा ल्याएर श्रोतको उचित व्यवस्थापन गर्नुपर्छ। 

पत्रकारिताका आधारभूत मूल्यमान्यतामा सम्झौता नगर्ने, पत्रकारितालाई राजनीतिक वा कमाऊ धन्दाको आधार नबनाउने प्रतिबद्ध पत्रकारको उत्पादन गर्ने शिक्षाका लागि प्रयास जारी राख्नुपर्छ। यी सबैका लागि गुणस्तर शिक्षा, प्रतिबद्ध शिक्षक र पर्याप्त अभ्यास गर्ने वातावरण हुनु जरुरी छ।

(पूर्वउपप्राध्यापक आचार्य क्यानडास्थित ओटावा युनिभर्सिटीका अनुसन्धाता हुन्। उनीसँग उकेराको चौथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

*कुराकानीको आधारमा मङ्गलवार प्रकाशित सामग्रीमा आचार्यले केही विषय थप गर्न र केही विषय हटाउन चाहेकाले यो सामग्री पुन सम्पादन गरी प्रकाशित गरिएको छ।-सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....