उकेरा कोलम

चौथो अंगमा दिलभुषण : टिभी पत्रकार अल्छी, सञ्चालक बोधो


तस्बिर : कृष्पा श्रेष्ठ।

पञ्चायतकालमा खुलेको नेपाल टेलिभिजनले गणतन्त्रसम्म आइपुग्दा पनि आफ्नो तौरतरिका बदलेको छैन। जो सत्ता र शक्तिमा थिए, उसैलाई समर्थन गर्ने मात्र काम गर्‍यो नेपाल टेलिभिजनले। सवाल-जवाफ गरेर सरकार र यसका अंगलाई जवाफदेही बनाउन सक्थ्यो, तर त्यो काम गरेन।

सरकारको कामको जानकारी दिने उसको दायित्व हो। सँगै, नागरिकलाई आलोचनात्मक तरिकाले सु-सूचित गर्ने जिम्मेवारी पनि हो। तर नेपाल टेलिभिजनले त्यसो गरेन।

विस्तारै निजी क्षेत्रमा पनि टेलिभिजन खुल्न थाले। इमेज टिभीको सानो इकाइ थियो। कान्तिपुर पब्लिकेसनले पत्रिका निस्केको १० वर्षपछि कान्तिपुर टेलिभिजनको सुरुवात गर्‍यो।

त्यतिबेला म कान्तिपुर दैनिकमा काम गर्थें। १० वर्ष भइसकेको थियो काम गर्न थालेको। द्वन्द्वकालमा रोल्पा, रुकुम, सल्यान र जाजरकोटमा बसेर रिपोर्टिङ गरें।  पत्रिकामा काम गर्दागर्दै टेलिभिजनमा काम गर्ने अफर आयो। अनि कान्तिपुर टेलिभिजनमा संस्थापक न्युज को-अर्डिनेटर भएर काम गरें।

त्यो बेला टेलिभिजनको लेआउट, डिजाइनदेखि न्युज रिडिङसम्म कसरी गर्ने भनेर एक खालको ‘सेट अप’ बसाइयो। कान्तिपुर टेलिभिजनमा अहिलेसम्म पनि त्यही तरिका अपनाइएको छ।

टेलिभिजनको ठूलो क्रेज थियो त्यतिबेला। विद्यालयमा पढ्ने विद्यार्थीहरु  प्रधानाध्यायपकलाई भनेर न्युज एंकरको अटोग्राफ लिन आउँथे। स्टुडियो हेर्न आउँथे। टिभीमा देखिनु ठूलो कुरा थियो। मिडियाकै क्रेज थियो। टिभिमा देखिनु ठूलो कुरा हुन्थ्यो। त्यो बेला मिडिया, त्यसमा पनि टेलिभिजनको ठूलो विश्वास थियो। प्रमाणिक मानिन्थ्यो। मिडियामा आएको कुरालाई गम्भीर रुपमा लिइन्थ्यो।

अहिले पनि अडियन्सले मिडियाप्रति पहिलेकै जस्तो विश्वास गर्छन् त?, समाचारले पहिलेझैं प्रभाव पार्छन् त? म अहिले पनि टेलिभिजनमै काम गर्छु। तर यी प्रश्नको सकारात्मक उत्तर आउनेमा मलाई शंका लाग्छ।

पहिला साँझ सुत्नुभन्दा अघि नगरी नहुने काममा टेलिभिजनको समाचार हेर्नु पनि पर्थ्यो। तर अहिले समय बदलियो। प्रविधिमा धेरै परिवर्तन आयो। समाचार हेर्न टेलिभिजन नै कुर्नुपर्ने बाध्यता हट्यो। बिहानदेखि बेलुकीसम्म समाचार हेर्न, सुन्न र पढ्न पाइने भयो। समाचारको पहुँच सबैमा पुग्यो। अब जतिबेला पनि हेर्न, सुन्न  पाइने भयो।

यसमा बढेको मिडियाको संख्या पनि एक कारण हो। मिडिया त धेरै आए तर मिडियामा व्यावसायिकताको अभाव देखियो। मिडिया बुझेकाहरुको अभाव सुरु भयो न्युज रुममा।

जति मिडियाको संख्या बढ्यो उति राम्रो, विश्वसनीय र गुणस्तरीय सामग्री हुनुपर्ने हो नि। तर विश्वसनीय अनि गुणस्तरीय कन्टेन्टकै अभाव देखियो।

पुरानै ढर्रामा समाचार कक्ष
हामीले रिपोर्टिङ गर्दा दिउँसो पाएको सूचना प्रमाणित गरेर लेखेर पठाउँदा रातिको ८/९ बज्थ्यो। कपी इडिटरलाई दिएर प्रेस जाँदा १२/१ बज्थ्यो। त्यो समाचार बिहान पत्रिकामा छापिएपछि मात्रै थाहा हुन्थ्यो अडियन्सलाई। टेलिभिजनमा भने घन्टैपिच्छे डेडलाइन हुन्थ्यो। समाचारको प्याकेजिङ, फ्ल्यास राख्ने लगायतका काम गर्नुपर्थ्यो।

तर, अहिले त समय बदलियो।

पहिले समाचारका स्रोतहरु एकदमै कम थिए। सिन्डिकेट नै त नभनौं तर स्रोतहरु ब्लक गरिएका थिए। अहिले प्रायः कार्यालयहरुमा सूचना अधिकारीहरु छन्। उनीहरुमार्फत सूचना पाउन सकिन्छ। फोनबाटै पनि धेरै काम हुन्छ।

अहिले सूचना पनि एकैछिनमा फैलिन्छ। सामाजिक सञ्जाल फेसबुक, ट्विटरमार्फत कहाँ के भयो फैलिइहाल्छ। तर हाम्रा मिडिया अझै पनि उही शैलीमा अल्झिरहेका छन्। न्युज रुम अपग्रेड हुनै सकेका छैनन्।

अहिले अडियन्सहरु पनि स्मार्ट भइसके। सञ्चारकर्मीले भन्दा पहिला उनीहरुले सूचना थाहा पाउन थालिसके।

एकताका मिडियावालाहरुलाई जे बेच्दा पनि हुन्छ भन्ने लाग्थ्यो होला। तर अब त्यो सम्भव छैन। संसारभरिका न्युज रुमलाई समाजको जुनसुकै मान्छेले पनि चुनौती दिनसक्छ अहिले। यसो हुनुको कारण अडियन्सहरु अपग्रेड भए। तर हाम्रो न्युजरुम उही रह्यो।

अहिलेको अवस्थामा अब सूचना मात्र दिएर पुग्दैन मिडियाले। सिर्जनशील पत्रकारले सूचनालाई प्रभावकारी तरिकाले प्रस्तुत गरेर, विश्लेषण गरेर प्रसारण गर्नुपर्ने चुनौती छ। के भयो मात्रले पुग्दैन अब। किन भयो पनि चाहिन्छ। तर यसमा चुकिरहेका छन् हाम्रा न्युज रुम।

अहिले घटनाको भिडियो त जसले पनि खिचेर राख्नसक्छ। तर त्यसको विश्लेषण र रचनात्मक प्रयोग सबैले गर्न सक्दैनन्। त्यो सिपका लागि त आमसञ्चारको ज्ञान चाहिन्छ नि। त्यसलाई फरक तरिकाले प्रस्तुति दिन थप काम गर्नुपर्ने हो टेलिभिजनले। तर हुन सकेको छैन।

दुःखको कुरा, अहिले प्रायः सबै मिडियामा कपी-पेस्टको रोग सल्किएको छ। एउटाले समाचार ब्रेक गर्छ। अन्यले त्यही समाचार लिएर यसो कोड गर्ने, भाषा हल्का बदल्ने र एंगल बदल्ने बाहेक थप केही गरेझैं लाग्दैन मलाई।

रिफ्ररेन्स लिने अनि टालटुल समाचार बनाउने काम भइरहेको छ। कतिपय अवस्थामा त सामाजिक सञ्जालमा आएका सूचना भेरिफाई समेत नगरी प्रकाशन-प्रसारण हुन्छन्।

वास्तवमै सूचनाको बाढी छ अहिले। सूचना टिप्न हतारो छ मिडियालाई। तर त्यही सूचनालाई टेकेर विश्वसनीय रुपमा समाचार बुन्ने काम हुन सकेको छैन। प्रमाणीकरणमा चुकेका छन् मिडिया।

टेलिभिजनमा पनि यस्ता रोग छन्। पुरानै ढर्राले चलिरहेका छन्, टेलिभिजनका न्युजरुम। सामान्य सूचनालाई समाचारको भाषामा ढालेर प्रसारण गर्ने अनि टक शो  चलाएरै धानिएको छ, नेपालमा टेलिभिजन पत्रकारिता।

नयाँ आउनेहरु पनि उस्तै आए। जनशक्ति नयाँ तर मानसिकता चाहिँ उही पुरानै। नयाँ जनशक्तिमा ९० प्रतिशत पुरानै ढर्राका छन्। लौ वर्षौं काम गरेकाहरुको मानसिकता बदलिएन रे। तर नयाँ आउनेमा त केही सिर्जनशीलता हुनुपर्ने हो नि। तर हुन्न। यो चाहिँ हाम्रा शैक्षिक संस्थाको पनि कमजोरी हो। शैक्षिक संस्थाको शिक्षण विधि परम्परावादी छ। अनि जनशक्ति पनि उस्तै निस्किए।

पत्रकारलाई तालिम चाहिन्छ भन्दैनन् सम्पादक
विश्वविद्यालयले त राम्रो पढाएन। पत्रकार आफैंले समयानुकुल ज्ञान लिने प्रयास गर्नुपर्दैन? भन्ने प्रश्न पनि उठ्न सक्छ।

तर, पत्रकार अपग्रेड हुन समाजले कति लगानी गर्‍यो? काम गरिरहेको संस्थाका मालिकले कति खर्च गरे भन्ने पनि सँगै प्रश्न उठ्नुपर्छ।

तालिमको अवसर आउँदा कति पत्रकारले जान्ने इच्छा राखे? मेरै अनुभव छ। ३ वर्ष एक टेलिभिजनको नेतृत्व गरें। सन् २०१५ देखि २०१८ सम्म। ४ वटा तालिम दिने वातावरण सिर्जना गरें। अन्य देशमा न्युजरुम कस्तो छ भनेर विदेशबाट आएकालाई अनुभव सुनाउन बोलाएँ। त्यो दिन जम्मा ७ जना मात्रै सहभागी भए। न्युज रुममा भएका एक तिहाई पनि आएनन्। किन? खै त जिज्ञासुपन सिक्नलाई?

वास्तविकता हेर्ने हो भने केही अपवाद बाहेक सिक्न चाहने पनि छैनन् न्युज रुममा। हामीलाई सबै थाहा छ भन्ने भ्रम छ। सिकेर हे हुन्छ र भन्ने घमण्ड छ।

सिक्न चाहने केहीका हकमा न्युज रुममा तालिम दिने चलन पनि छैन। अनि नयाँ गरौं भनेर सिकाउन खोज्दा पत्रकार नसिक्ने, अनि सिक्न चाहने थोरै भए पनि उनीहरुलाई सिकाउनुपर्छ भन्ने दायित्वबोध नहुने प्रकाशक भएपछि न्युज रुम कसरी अपग्रेड हुन्छ?

पत्रकारमा अर्को समस्या पनि देखेको छु। विदेश घुम्न जान सबै तयार तर सिक्नका लागि होइन। कुन नेपाली पत्रकार १०००/१५०० डलर तिरेर विदेशमा पढ्न तयार भएका छन्? यसो छात्रवृत्ति पाए हो। नत्र आफ्नै पैसा खर्चिएर को पढ्न गएका छन्?

दुई वर्ष भयो लकडाउन भएको। डिजिटल क्लासहरु टन्नै भइरहेका छन्। कसैले डिजिटल ज्ञान लिए त यो बेला? मलाई लाग्दैन। पत्रकारिता भनेको सधैं अपग्रेड हुनुपर्ने पेसा हो। तर सिक्ने प्यासन नै छैन।

यसमा लगानीकर्ता, न्युज रुमको प्रमुखको पनि कमजोरी छ। मिडिया हाउसले अध्ययन र अनुसन्धानका लागि फेलोसिप, स्कलरसिप दिनुपर्ने हो। तर दिँदैनन्। तलब दिए पुग्यो भन्ने छ उनीहरुमा। न्युज रुमको लिडरले पनि यसमा पहल गरेको देखिँदैन। पत्रकारहरुले पनि घच्घच्याउन सक्छन्। तर उनीहरुमा नयाँ सिक्ने जाँगर पनि छैन।

टेलिभिजन भनेको भिज्युअल मात्र होइन
म शब्दमा पनि रमाएँ। कान्तिपुरको १ देखि ८ पेजसम्म नै काम गरेको छु। हरेक विषयको रिपोर्टिङ गर्न मलाई सकस पर्दैन। पत्रिकामा लेख्दा २४ घन्टाको डेडलाइन हुन्थ्यो। तर म टेलिभिजनमा रमाएँ। टेलिभिजनमा काम गर्नुको अर्थ ‘एक्सप्रेसन’ मनपर्ने भएर हो।

टेलिभिजनमा नेचर फरक भयो। समाचार घन्टा-घन्टाको भयो। समाचार सरसर्ती लेखेर मात्रै पुगेन, त्यसलाई स्क्रिप्टमा ढाल्नुपर्‍यो। सँगै भिज्युअल पनि हुने भयो।

तर धेरैले टिभी भन्ने बित्तिक्कै भिज्युअल मात्र भन्ने बुझ्छन्। तर त्यतिमात्रै त हैन टेलिभिजन। त्यसमा त साउन्ड सिस्टमदेखि प्रस्तुत गर्ने कला, ग्राफिक्स डिजाइनसम्म हुन्छ।

मेरो व्यक्तिगत चाहना त टिभीका रिपोर्टरहरु ‘वान मेन’ होस् भन्ने हो। रिपोर्टिङदेखि क्यामेरा चलाउनेसम्म ज्ञान होस्। किनकी टेलिभिजनमा प्राविधिक पक्ष धेरै जोडिएको हुन्छ। रिपोर्टिङ, क्यामेरा, सम्पादन, भिडियो सम्पादनदेखि समाचार प्रस्तुत गर्नेसम्म हुन्छ। रिपोर्टर यी सबै पक्षबारे जानकार भए भने राम्रो हुन्छ।

हाम्रो टेलिभिजनका सामग्रीमा पनि समस्या छ। टेलिभिजनहरु बढी नै सहर केन्द्रित भए। सहर केन्द्रित सामानहरु मात्र उत्पादन गरे। अन्यत्र देशमा केही ग्रामीण केन्द्रित, केही सहर केन्द्रित हुन्छन्। तर हाम्रोमा त्यस्तो हुन सकेको छैन।

सम्पादकमा पनि समस्या छ। परिभाषित र लक्षित समाचार कक्षहरु छैनन्। सम्पादक अनुसार नीति-नियममा प्रभाव पार्छु भन्ने हुन सक्छन् केही। तर कुनै सम्पादकका लागि नीति-निर्माण तहको मतलब नहुन सक्छ। ‘मलाई ताली चाहिन्छ, भाइरल खालको कन्टेन्ट आउनुपर्छ’ भन्ने पनि नभएका हैनन्।

ठूलो-ठूलो स्वरमा कराउने, आफैं न्यायाधीश बन्ने कार्यक्रम प्रस्तोता पनि छन्। कन्टेन्टमा विविधिता कसरी दिने भन्ने सोच भएका कमै भेटिन्छन्।

भिज्युअल बुझ्ने रिपोर्टर नै छैनन्
पत्रिका/अनलाइनमा शब्द धेरै हुन्छ। अहिले अनलाइनमा पनि भिडियो राख्न थालेका छन्। तर शब्द नै हावी हुन्छ। टिभीमा भने भिज्युअल बढी, शब्द कम हुन्छ।

अन्य मिडियम र टेलिभिजनका शब्द पनि फरक छन्। टेलिभिजनमा प्रयोग हुने शब्द सबैले बुझ्नुपर्छ भन्ने मान्यता हुन्छ। त्यसैले टेलिभिजनमा बोलीचालीको भाषा प्रयोग गरिन्छन्। यहाँ भाषाको विज्ञझैं भारी, अमूर्त शब्द प्रयोग गर्नेहरु पनि छन्।

अर्को महत्वपूर्ण पक्ष, टिभीमा काम गर्नेले ‘भिज्युअल ल्याङ्वेज’ बुझ्न सक्ने हुनुपर्छ। दृश्यहरुको पनि व्याकरण हुन्छ। कतिबेला वाइड सट, कतिबेला क्लोज अप, कतिखेर मिड, कति खेर लङ सट भन्ने कुरा ख्याल गर्नुपर्छ। कुन खिचाइको अर्थ के भन्ने पनि हुन्छ।

यसबारे हामीलाई अहिलेसम्म पढाइएकै छैन। टिभी पढाइ कहाँ हुन्छ र? पत्रकारिता पढाउने विश्वविद्यालय छ तर टिभी पढाइँदैन। क्यामेरा पढाउने कलेज छ तर पत्रकारिता पढाइँदैन। कहीँ पनि पढ्न नपाएपछि कसरी राम्रो काम गर्ने रिपोर्टरले? समस्याको जरो यहाँ छ।

काम गर्दै जाँदा क्यामेरा पर्सनको संगतले केही सिके मात्र हो। नत्र भिज्युअल पहिल्यै बुझेर आउने यो क्षेत्रमा छँदै छैनन्।

एउटा उदाहरण
मुगु जिल्लामा कुनै रोग फैलियो। दर्जनौं मानिस बिरामी भए। रिपोर्टरले अस्पताल भरिएको, कुन रोग फैलिएको, अवस्था कस्तो छ भन्नेबारे समाचार पठाउँछन्। भिडियो पनि अस्पतालको मात्रै हुन्छ। टिभीमा प्रसारण भइसकेपछि मुगु कस्तो जिल्ला हो भनेर थाहा नहुनेले सोध्न सक्नुहुन्छ। मुगु हिमालको हो कि तराई?

भिडियोमा पहिले गाउँको भिडियो, त्यसपछि अस्पतालको आउने हो भने यो त हिमाली जिल्ला रहेछ भन्ने थाहा हुन्छ नि। तर स्थान त देखाउने चलन नै छैन। मान्छेको अनुहार देखाएपछि पुग्छ भन्ने ठान्छौं। तर त्यो हैन।

यो समस्याको कारण हामीसँग भिज्युअल सेन्स नै छैन। आज पनि कुनै मिडियाले कुनै नेताबारे लेख्नुपर्‍यो भने १० वर्षअघिको फोटो राखिरहेका हुन्छन्। समाचार नयाँ भएपछि नयाँ फोटो राख्नुपर्‍यो नि। अर्काइभ त प्रयोग गर्ने नै होइन नि। भिज्युअल सेन्स पनि छैन ज्ञान पनि छैन।

टेलिभिजनमा प्यासन देखिँदैन
हिजोआज न्युज रुममा आवश्यक जनशक्तिको लागि भ्याकेन्सी खुलायो भने कोही आउँदैनन्। टेलिभिजनमा त झनै आउँदैनन्। त्यसैले प्रोफेसनल टेलिभिजनहरु दिनहुँ मरिरहेका छन्। व्यावसायिक रुपमा ह्रास आइरहेको छ। पहिला यस्तो थिएन। बडो क्रेज थियो टेलिभिजनको। तर अहिले त्यो छैन।

अहिले नयाँ जनशक्ति नै छैन टेलिभिजनमा। पुरानै व्यक्तिहरुको ओहोर-दोहोर हो। नयाँ रिपोर्टरहरु पनि आएका छैनन्। अबको केही वर्षपछि टेलिभिजनमा सम्पादककै अभाव देख्छु म त। कोही न कोही त होला। तर के ऊ त्यो पदका लागि सक्षम होला? व्यावसायिक होला?

यो समस्याको कारण पारिश्रमिकमा गएर जोडिन्छ। टेलिभिजनमा आकर्षक पारिश्रमिक छैन। अर्को समस्या, नियमित पारिश्रमिक पनि छैन। अनि कसरी आउँछन् नयाँ जनशक्ति?

खोई भूगोलको प्रतिनिधित्व?
समाचार कक्षहरुले आफ्ना प्राथामिकता के हुन्, परिभाषित गर्नुपर्छ। त्यसमा हामी चुकेका छौं। जस्तो अहिले हामी संघीयतामा गयौं। तर टेलिभिजनमा त्यो संघीयताको आभाष हुन्छ? हुँदैन।

टिभीले आधा घन्टा एउटा प्रदेशलाई दिएर मात्रै पुग्छ? टिभीको संरचना र कार्यक्रमहरु संघीयता अनुसार जानु पर्दैन? अधिकांशले काठमाडौंबाट अन्य प्रदेशको रिपोर्टिङ गरिरहेका छन्। यस्तो पनि हुन्छ कहीँ?

बाहिरतिर चुनावको बेला देश हाँक्ने उम्मेदवारलाई मिडियाले सवाल-जवाफ गराउँछन्। हाम्रोमा खोई? अमेरिकामा जो वाइडेन र डोनाल्ड ट्रम्पबीच त्यहाँका टिभीले धेरै पटक सवाल-जवाफ गराए। तर हाम्रोमा खोई भएको?

हामीले किन बहस गरेनौं? नयाँ नेता चाहियो त भन्छौं तर हामीले नयाँ नेताको खोजीका लागि बहस गराएका छौं त?

अहिले स्थानीय तहमा राम्रा काम गरेका मेयरहरु पनि छन्। तर उनीहरुको काम हाइलाइट भएकै छैन। धेरैले टेलिभिजन पैसावालाहरुको मात्रै हो पनि भन्छन्। त्यो देखिन्छ पनि। अर्बपतिको अन्तर्वार्ता लिन तयार हुने टेलिभिजनहरुले कुनै प्रदेशमा प्रभावकारी काम गरिरहेका पिँधको व्यक्तिको अन्तर्वार्ता किन लिँदैनन्? टेलिभिजनमा भिजन छैन। त्यसैले अहिले दर्शकको रोजाइमा टेलिभिजन पर्न सकेको छैन।

टेलिभिजनका दर्शक घट्नुको कारण युट्युब हो त?
युट्युब पत्रकारिता नै होइन। युट्युब माध्यम मात्र हो। टेलिभिजनमा काम गर्नेहरु पत्रकारिताको न्यूनतम ज्ञान बोकेर आएका हुन्छन्।

टेलिभिजन टिम वर्क हो। टेलिभिजनमा समाचार राख्दा प्रमाणीकरण भएपछि मात्रै राखिन्छ। तर युट्युबमा यो सम्भव छैन। युट्युबमा कुनै च्यानल सञ्चालन गर्नु पत्रकारिता होइन। युट्युबले पनि त्यसलाई पत्रकारिता भन्दैन नि। उसले आफ्नो प्लेटफर्म प्रयोग गर्नेलाई कन्टेन्ट क्रियटर भन्छ। पत्रकार र कन्टेन्ट क्रियटर एकै हैनन्।

तर, सत्य के हो भने केही युट्युब च्यानलले टिभीले दिन नसकेको सामग्री दिएका छन्। तर ती अपवाद हुन्। टेलिभिजन कमजोर भएकाले युट्युबका च्यानलको क्रेज बढेको हो।

टिभीको गुणस्तर खस्किएको बेलामा केही युट्युब च्यानलहरु चर्चित हुनु ठूलो कुरा पनि होइन। तर टेलिभिजन पत्रकारिताको विकल्प युट्युब हैन। हुन सक्दैन।

नेतृत्वको खडेरी छ टेलिभिजनमा
पत्रिकाको सम्पादक भन्ने बित्तिक्कै ८/१० जना, अनलाइन भन्ने बित्तिक्कै ९/१० जनाको अनुहार याद आउँछ। तर दर्जनौं टिभी भइसक्दा पनि टिभीको सम्पादक भन्दा किन अनुहार याद आउँदैन?

किनभने, नेपाली मिडियामा टिभीमा प्रधानसम्पादकको परिकल्पना गरिएको छैन। न्युज चिफ मात्रै भन्ने चलन भयो। मेरो मान्यता के हो भने, टेलिभिजनमा पनि प्रधानसम्पादक चाहिन्छ। न्युज चिफले चल्दैन अब टेलिभिजनको न्युजरुम।

जुन टेलिभिजनले २४सै घन्टा ९५ प्रतिशतभन्दा बढी समाचार प्रसारण गर्छ, त्यहाँ प्रधासम्पादक नहुने? लगानीकर्ताहरुले टिभीको गहनता नबुझेर सम्पादक राखेनन्। अरुहरुले जागिर जोगाउनलाई न्युज चिफ राखेका हुन्।

न्युज रुम शक्तिशाली भएको च्यानलमा त सम्पादक हुनैपर्छ नि। सानो मिडियामा त प्रधानसम्पादक हुन्छ भने दर्जनौं स्टाफ, दर्जनौं दृश्य सम्पादक, भएको टिभीमा किन प्रधानसम्पादक नहुने?

तर, टिभीको भविष्य छ
अबको जमाना भनेको भिज्युअलको हो। त्यसैले टेलिभिजनमा समस्या भए पनि सम्भावना पनि छ। प्रविधिले जसरी फड्को मारेको छ, त्यसरी नै युवा पुस्ता पनि टेलिभिजन पत्रकारितामा आउँछ।

पहिलेभन्दा अहिले धेरै फरक पनि भएको छ टेलिभिजनमा। म कान्तिपुर टिभीमा छँदा सुरुवाती दिनमा २ वटा लाइभ गर्न महाभारत थियो। तर २०७४ को चुनावताका १ सय २० सम्म लाइभ गर्न सकियो। २४ घन्टा नै खुला गर्न सकियो।

तर, गुणस्तर बढाउन भने धेरै काम गर्नुपर्ने धेरै छ। आशा गर्ने ठाउँहरु पनि छन् नि।

भोलि अहिलेका जस्तै विश्वविद्यालय नहोलान्। टेलिभिजनका अहिले जस्तै पत्रकारले तलब नै नपाउने समस्या नरहला। कम्प्रमाइज गरेर काम गर्नुपर्ने बाध्यता हट्ला। भिज्युअल बुझेका जनशक्ति न्युज रुममा आउँलान्। पत्रकार अल्छी नहोलान्। सञ्चालक सधैं बोधो नहोलान्।

(कान्तिपुर टेलिभिजनका पूर्वप्रधानसम्पादक एवं न्युज २४ का प्रधानसम्पादक पाठकसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....