उकेरा कोलम

चौथो अंगमा भिडियोग्राफर देवआनन्द : तलबबिना पनि कसैले काम गर्नसक्छ ?

टेलिभिजनमा काम गरेपछि न्युज सेन्स बुझ्ने भिडियोग्राफर र भिज्युअल बुझ्ने रिपोर्टर हुनुपर्छ। तर यी दुवैको अभाव छ नेपालमा। न न्युज बुझ्ने भिडियोग्राफर छन् न त भिज्युअल बुझ्ने रिपोर्टर। रिपोर्टरहरुमा छिटो बोल्ने वक्तालाई बोल्न समय नदिने जस्ता समस्या धेरै छन्।


नेपालमा टेलिभिजनको इतिहास लामो छैन। २०४० सालपछि टेलिभिजनको स्थापना भयो। टेलिभिजनमा देखिनु मात्रै ठूलो कुरा थियो त्यतिबेला। भिडियो खिच्नेहरु पनि निकै कम हुन्थे।

निजी स्तरमा पत्रिका छ्यास्छ्यास्ती भए पनि टेलिभिजन भने लामो समय निकै सीमित संख्यामा रहे। क्रेज बढ्दै गएपछि टेलिभिजनमा जागिर खान खोज्नेहरुको संख्या पनि बढेको थियो।

मैले २०४७ सालमा क्यामेरा समातें। अहिले जस्तो सबै सुविधा भएको क्यामेरा हुँदैनथ्यो त्यो बेला। निकै गह्रौं हुन्थे भिडियो खिच्न चाहिने सामानहरु। क्यामेरामा पाल क्यासेट राखेर भिडियो खिच्ने चलन थियो। यो भिडियो खिचेपछि सम्पादन गर्न पर्दैनथ्यो।

त्यसपछि डिजिटल क्यामेरा आयो। सोनीका क्यामेरा खुब चले त्यो बेला। क्यामेरा पर्सन बनाउन फोटोग्राफी सिकाउने कुनै इन्स्टिच्युट थिएन। आफूभन्दा सिनियरलाई सोधी–सोधी खिच्नुपर्थ्यो।

पहिले विवाह तथा प्रोडक्सनमा काम गरिरहेको थिए। २०५६ सालमा च्यानल नेपाल टेलिभिजनमा काम सुरु गरें। यो निजी संस्थाले चलाएको स्याटेलाइट टिभी थियो। त्यतिबेला टेलिभिजनको संख्या औँलामा गन्न सकिने मात्र थिए। भिडियोग्राफर नगई पत्रकार सम्मेलन नै सुरु हुँदैनथ्यो। समाचारका भिडियोहरु पत्रकार सम्मेलन अथवा कसैको अन्तर्वार्तामा सीमित थियो। पछि इमेजले नेपाल टेलीभिजनसँग समय मागेर कार्यक्रम चलाउन थाल्यो। म्युजीक भिडियो देखि अन्य भिडियोहरु स्टेज बाहिर गर्ने सुरुवात इमेजले गरेको हो।

विस्तारै टेलिभिजनको संख्या बढ्दै गयो। एनटिभी, च्यानल नेपाल, इमेज च्यानल, नेपाल वान, कान्तिपुर टिभी लगायतका टेलिभिजन निजीस्तरमा खुल्न थाले। अहिलेसम्म आउँदा धेरै टेलिभिजनहरु खुलेका छन्। क्यामेरा पसर्नहरु पनि बढेका छन्। टिभी र भिडियोको संख्या त बढ्यो तर भिडियोको क्षेत्रमा राम्रो काम हुन सकेको छैन।

न्युज भिडियो गर्नु र अन्य भिडियो खिच्नु धेरै फरक हुन्छ। एंगल र लाइटको समस्या हुँदैन समाचारमा। बाइट आउनुपर्छ जसरी पनि। भीडभाडमा एंगल मिलाउने भन्ने सम्भव पनि हुँदैन। प्रोडक्सनमा र समाचारमा काम गर्दा फरक त हुने नै भयो। टेलिभिजनमा काम गर्ने रिपोर्टरलाई भन्दा क्यामेरा पर्सनलाई गाह्रो हुन्छ।

१५ सेकेन्डको लागि ६ घण्टा !
टेलिभिजनमा काम गरेको सुरुवातमा क्यामेरा पर्सनको सान नै भिन्दै हुन्थ्यो। कार्यक्रममा गएका बेला वक्ताहरुले भिडियोमा आफूले पनि बोलेको आओस् भन्ने चाहन्थे। कतिले त सोध्थे पनि मेरो पनि खिच्नुभएको छ? भनेर। आफूले खिचेको भिडियोमा आउने दिनमा परिवारै लिएर हेर्न बसिन्थ्यो। त्यतिबेला आफ्नो नाम मात्रै आउँदा पनि ठूलो कुरा लाग्थ्यो।

नाम आउँदा खुसी त भइन्थ्यो। तर १५ सेकेन्ड भिडियोको लागि ६ घन्टासम्म कुर्नुपर्थ्यो। त्यो क्रम अहिलेसम्म उस्तै छ। प्रायः राजनीतिक कार्यक्रमहरु तोकिएको समयमा सुरु हुँदैनन्। त्यो बेला कुर्नुपर्छ नै। बैठक बसिरहेको बेलामा पनि कुन बेला सकिन्छ थाहा हुँदैन। घन्टौं कुर्नुपर्छ, १५ सेकेन्डको बाइटको लागि।

पहिले क्यामेराम्यानको भूमिका बढि, अहिले क्यामेराको
पहिले भिडियो खिच्दा लाइट मिलाउन तीन–चार किलोको सामान बोक्नुपर्थ्यो। क्यासेट डेक त छँदै छ। गह्रौं हुने भएकाले क्यामेरा सुरक्षित गर्नका लागि भए पनि कार्यालयले गाडी दिन्थ्यो।

त्यतिबेला क्यामेरा माध्यम त थियो। तर धेरै काम क्यामेरा पर्सनले गर्नुपर्थ्यो। अहिले पहिलेभन्दा धेरै फरक भइसक्यो। पहिले क्यामेरा पर्सनले काम गर्थ्यो, अहिले क्यामेराले धेरै काम गर्छ।

कतिले त अटोमा राखेर काम गरेको देखेको छु पछिल्लो समय। केही आइडिया लगाएको देखिँदैन। खासमा अटोमा राखेर खिचेर त क्यामेरा पर्सनको धारणा आउँदैन। तर सहजताको लागि प्रविधिको दुरुपयोग गर्दै आफू सिक्नबाट वञ्चित भइरहेका छन् अहिलेका भिडियोग्राफरहरु।

टेलिभिजनको संख्या पनि पछिल्लो समय बढेको छ। त्यसमाथि युट्युब र अनलाइनमा पनि राख्ने भए भिडियो। मोबाइलले खिचेर डिस्टर्ब गर्नेको संख्या उस्तै छ। औपचारिक कार्यक्रममा निकै झमेला छ हाम्रोमा। कोरोनाको समयमा पनि भौतिक दूरी कायम गरेर काम गर्न सकिएन। विदेशतिर क्यामेरा पर्सनको लागि छुट्टै स्थान तोकिएको हुन्छ। हाम्रो यसरी बसौँ भनेर सल्लाह गर्दा पनि सकिएन। व्यवस्थित भएनन् हाम्रा क्यामेरा पर्सनहरु।

रिपोर्टर र भिडियोग्राफरको आई कन्ट्याक्ट हुनुपर्छ
राम्रो भिडियो बनाउन भिडियोग्राफरले भिडियो खिच्दैमा हुँदैन। जतिसुकै सिनियर भिडियोग्राफर भए पनि रिपोर्टरसँग समन्वय भएको छैन भने राम्रो भिडियो बन्दैन। रिपोर्टरलाई छल्न हुँदैन भिडियोग्राफरले। रिपोर्ट बनाउँदा के–के चाहिन्छ, भिडियोग्राफरले रिपोर्टरसँग बुझ्नुपर्छ।

नेपालका अधिकांश भिडियोग्राफर र रिपोर्टर एक अर्कासँग समन्वय गर्दैनन्। सिनियर क्यामेरा पर्सनले जुनियर रिपोर्टरको एंगललाई मान्दैनन्। जुनियर रिपोर्टरले सिकाउने भन्ने इगो पनि देखिन्छ।

टेलिभिजनमा कसरी काम गर्ने भन्ने थाहा नभएका रिपोर्टरहरुले पनि सहर्काय गर्दैनन्। भिडियोग्राफरलाई आफैं खिचिदिनूस् भन्छन्। यसरी त राम्रो भिडियो नै बन्दैन। उस्तै उमेरका रिपोर्टर र भिडियोग्राफर छन् भने उनीहरुबीच सहकार्य भएको देखिन्छ।

रिपोर्टरले भन्न सक्नुपर्छ, कुन सर्ट खिच्ने, कुन नखिच्ने भनेर। क्यामेरा पर्सनको ध्यान त सर्टर, फोकस भ्यु प्वाइन्टमा गएको हुन्छ। त्यो बेला रिपोर्टर र भिडियोग्राफरबीच आई कन्ट्याक्ट भयो भने कुन एंगलमा समाचार प्रस्तुत गर्न खोजेको हो त्यो मात्रै खिचिन्छ। जसले गर्दा घन्टौंको कार्यक्रम रहेछ भने अनावश्यक दृश्य खिचिँदैन। त्यसो गर्दा सम्पादन गर्ने बेला रिपोर्टरलाई सहज हुन्छ।

हाम्रोमा समस्या भनेकै रिपोर्टर र क्यामेरा पर्सनको आई कन्ट्याक्ट नहुनु हो। रिपोर्टर र क्यामेरा पर्सनबीच इगोको समस्या पनि छ।

टिभीको संख्या बढ्यो, गुणस्तर बढेन
टिभीको संख्या बढेको छ। तर टिभीमा काम गर्नेलाई क्यामेराको लेन्स कति डिग्री हुन्छ भन्ने मतलबै भएको देखिँदैन। म प्रायः नेपाली टिभीहरुले खिचेको भिडियो हेर्छु। एउटै पनि आहा ! यो पो त भिडियो भन्ने नै देखिँदैन।

क्यामेरा सहज छ तर क्यामेरा पर्सनले काम गरेको देखिँदैन। भिडियोमा पनि रिपोर्टर बसेको स्थान र अन्तर्वार्ता दिने व्यक्ति बसेको स्थानमा ख्याल गरेको देखिँदैन। फ्रेमिङमा समेत ध्यान दिएको देखिँदैन। न्युज सेन्स त पटक्कै आउँदैन भिडियोमा।

टेलिभिजनमा काम गरेपछि न्युज सेन्स बुझ्ने भिडियोग्राफर र भिज्युअल बुझ्ने रिपोर्टर हुनुपर्छ। तर यी दुवैको अभाव छ नेपालमा। न न्युज बुझ्ने भिडियोग्राफर छन् न त भिज्युअल बुझ्ने रिपोर्टर। रिपोर्टरहरुमा छिटो बोल्ने वक्तालाई बोल्न समय नदिने जस्ता समस्या धेरै छन्। यो भनेको भिज्युअल नबुझेको हो।

भिडियोग्राफरलाई पनि एकदमै हतार देख्छु म। कुनै पनि काम राम्रोसँग नगर्ने अल्छी। एउटा टेलिभिजनमा केही समयअघि म भिडियो चिफ थिएँ। एउटा भिडियो खिचेर ल्याऊ भनेर सिकाउन खोज्यो, सिक्नै नखोज्ने।  जहिल्यै बिदा बस्ने। जान्नँ भन्ने, काम पन्छाउने स्वभाव बढी देखिन्छ।

प्यासन कम भयो भिडियोग्राफरमा। मैले काम सुरु गर्दा बिहानको ८ बजे घरबाट निस्केपछि ११ बजे घर पुग्थें। काममा प्यासन थियो, पहिलेको पुस्तासँग। अहिलेको पुस्तासँग काममा प्यासन देखिँदैन।

८० प्रतिशत टिभी भिडियोग्राफर न्युज बुझ्दैनन्
भिडियोग्राफरहरुलाई फोटोपत्रकार अन्तर्गत राखेर नियुक्ति दिएको पाइन्छ मिडिया हाउसहरुले। फोटोपत्रकार भनेर दिए पनि उनीहरु भिडियो नै खिच्ने भए। पत्रकार भइसकेपछि भिडियो खिच्नेले पनि समाचार बुझ्नुपर्छ। भ्याली बाहिर ‘वान मेन जर्नालिजम’ छ, फोटो, भिडियोदेखि समाचार लेख्नेसम्म। यहाँ त्यो सम्भव छैन। तर भिडियोग्राफरले समाचार बुझ्न जरुरी छ। यहाँका अधिकांश भिडियोग्राफर समाचार बुझ्दैनन्। फाइभ डब्लु वान एचको समेत जानकारी हुँदैन उनीहरुलाई।

लेख्नै नआउँला तर कम्तीमा समाचार भनेको यो–यो हो भन्ने त बुझ्नुपर्यो। दावीका साथ भन्छु, न्युज सेन्स नबुझेका भिडियोग्राफर ८० प्रतिशतभन्दा बढी छन्। भिडियोग्राफरले खिचेको भिडियोले न्युज सेन्स जनाउँदैन भने उसलाई पत्रकार मान्न हुँदैन।

टिभीमा भिडियो खिच्दैमा पत्रकारमा गनिँदैन, भिडियोले समाचार भन्नुपर्छ। भिडियोग्राफरले भिडियो खिच्छ। फेरि भिडियो सम्पादकले समेत भिडियो बुझ्दैनन्। कुन सम्पादन गर्दा धेरै भिडियोको छेउ–टुप्पो नआएको समेत पाइन्छ।

एक मिनेटको भिडियो हो भने १०/१५ वटा फुटेज चाहिन्छ। खिच्ने र सम्पादन गर्ने दुवैका लाजै हुने भिडियो समेत आउँछन् टिभीमा। भिडियो सम्पादन गर्दा रिपोर्टर पनि सँगै बस्नुपर्छ। पहिले पहिलेका रिपोर्टर बस्थे पनि। अहिले त समन्वय भएको देखिँदैन।

भिडियोमा काम गर्दैमा टिभीमा काम गर्न सकिँदैन
भिडियो खिच्न जान्दैमा टिभीमा काम गर्न सकिँदैन। टिभीमा काम गर्ने भइसकेपछि समाचारको सेन्स त हुनै पर्यो। कार्यक्रम अनुसार छुट्टाछुट्टै आइडिया पनि हुन जरुरी छ। अन्तर्वार्ता, रिपोर्ट, समाचारको लागि कस्ता–कस्ता भिडियो खिच्ने हो, त्यो सिक्नुपर्छ। हाम्रोमा सिकाउने इन्स्टिच्युटको अभाव छ। वर्कसपहरु हुँदैनन् तर टिभीमा काम गर्छु भन्नेले यति कुरा सिक्नैपर्छ।

टिभीमा रियाक्ट सर्ट हुन्छ, अनलाइनमा भिडियो राख्दा यो चाहिँदैन। तर  एकोहोरो देखायो भने मोनोटोनस हुन्छ हेर्नेलाई। समाचार अनुसार फरक–फरक खिच्नुपर्छ।

पछिल्लो समय भिडियो त धेरै आएको छ तर गुणस्तर नै छैन। आइएसओ बढाउँदैमा गुणस्तर आउने हैन। प्राविधिक समस्या त छँदै छन्। त्यसमाथि कुन स्टोरी गर्ने हो, त्यसमा पर्याप्त होमवर्क भएको पाइँदैन। काम गर्नेलाई हौसला पनि छैन टिभीमा।

धेरै टिभी खुले, तलबको समस्या उस्तै
अनलाइनले पनि युट्युबमार्फत भिडियो राख्न थाल्यो। युट्युब च्यानल पनि धेरै छन् अहिले। टेलिभिजन त झनै धेरै भए। रिपोर्टरहरुको पनि तलब राम्रो छ अहिले, अनलाइनले गर्दा। तर टिभीमा काम गर्नेको समस्या भने झनै बढेको छ। मैले काम गरेको दुई संस्थामा एक ठाउँमा ५ महिनाको अर्काे ठाउँमा तीन महिनाको तलबै पाइनँ। धेरै खुलेपछि तलबमा समस्या नहुनुपर्ने हो। तर यहाँ झन् धेरै समस्या देखियो।

एउटा ठूलै उद्योगपतिले टेलिभिजन खोल्नुभएपछि टेलिभिजनमा काम गर्नेले तलब नपाएका हुन्। उहाँको टेलिभिजनले ४/५ महिनासम्म तलब नदिने। यो चलन अन्य टेलिभिजनले पनि पछ्याए। नराम्रो कामको त कपी नगर्नु नि। तलबबिना पनि कसैले काम गर्नसक्छ?

निजी क्षेत्रमा काम गर्ने पत्रकार, क्यामेरा पर्सनको आर्थिक स्थिति निकै नै दयनीय छ। मिडियाका साहुहरुको पनि आफ्ना समस्या होलान् तर काम गरेकालाई तलब नै रोक्का गर्न त भएन नि। पहिले–पहिले महिना मरेपछि पाइन्थ्यो, अहिले त एक महिनाको तलब रोक्का गर्ने नै रहेछ।

टेलिभिजनमा काम गर्ने क्यामेरा पर्सनहरुको एउटा संस्था पनि थियो। त्यो संस्था पनि भएन। त्यही भएर पनि टेलिभिजनमा काम गर्ने क्यामेरा पर्सनहरु मारमा परिरहेका छन्।  

सम्भावना छ
समाचार हेर्ने माध्यम फेरिएका छन्। हिजो पत्रिकामा धेरै समाचार पढिन्थे। आज अनलाइनमा पढिन्छन्। हिजो टिभीमा समाचार हेरिन्थे। अहिले युट्युबमा हेरिन्छन्। जहाँ पनि लेख्ने त पत्रकारले नै हो। जहाँ पनि खिच्ने त भिडियोग्राफरले नै हो।

माध्यम फेरिएका हुन्, काम फेरिएको हैन। प्रविधि फेरिएर झनै सहज भएको छ। त्यसकारण यो क्षेत्रमा आउने युवाले समाचार बुझ्ने, प्राविधिक पाटो बुझ्ने र रिपोर्टरसँग सहकार्य गरेर काम गर्ने हो भने सम्भावना अझै छ।

(वरिष्ठ टेलिभिजन भिडियोग्राफर शिल्पकारसँग उकेराको चौँथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....