उकेरा कोलम

चौथो अंगमा पत्रकार हर्ष सुब्बा : स्रोत भेरिफाइ नगरे मिडियामा अनुजा काण्ड दोहोरिइरहन्छ


अनलाइन पत्रकारिता सुरु भएपछि सूचनाको सहज पहुँच स्थापित भयो। समाचारका लागि रेडियो-टेलिभिजनको समय पर्खिनुपर्ने, बिहानसम्म पत्रिका कुर्नुपर्ने बाध्यता हट्यो।

अनलाइन पत्रकारिताले एउटा सुखद सुरुवात त गर्‍यो तर त्यससँगै पाठकका नयाँ दुखः पनि सुरु भए। कारण, समाचारको नाममा विज्ञापन पढ्नुपर्ने अवस्था आइलाग्यो।

सामान्य सूचना दिएर मुख्य समाचार बनाउने अनलाइन बढी भए। विज्ञापनलाई समाचार बनाएको देखेर त मलाई छक्क लाग्छ। समाचार पनि अपुष्ट र एकदमै छोटा। यस्तो हुनुमा कि त समाचार नबुझेर हो, कि अल्छी गरेर हो। अबको पत्रकारिताको चुनौती भनेकै पाठकलाई पूर्ण जानकारी सहितको सामग्री पस्किनु नै हो।

नेता, मन्त्री र व्यापारीको वरिपरि घुमेर समाचार लेख्ने बढी भए। पछिल्लो समय देखिएका पत्रकारहरु औपचारिकतामा केन्द्रित भए। कुनै व्यक्तिको पछाडि लागेर उसैको बारेमा बढाइ–चडाइ लेख्ने प्रचलन हावी भयो। सूचना दिएर समाचारको धाक लागाउन छाड्नुपर्‍यो भन्छु म।

अहिलेका पाठक धेरै स्मार्ट छन् भन्ने बिर्सिनु भएन। बाइलाइन हेरेरै मूल्यांकन गर्न थालिसके पाठकले। कुन पत्रकारले कुन दल वा कुन व्यक्तिको बढाइ-चढाइ गर्छ भनेर पाठक जानकार भइसके। अहिले पत्रकारबाटै पत्रकारिता बचाउनुपर्ने अवस्था आएको छ।

पत्रकारलाई चौथो अंग भनिन्छ। त्यो ठिकै पनि हो। प्रश्न गर्ने पेसाप्रतिको सम्मान होला। तर पत्रकारले के सोच्यो भने, हामी चौथो ग्रहबाट झरेका हौं। सम्मान पनि उसैलाई चाहिने, ऊमाथि प्रश्नै गर्न नहुने। अलौकिक प्राणी जस्तो भयो पत्रकार।

सम्मानको भोक बढी हुँदै गयो। सम्मान पत्रको लोभमा अनावश्यक प्रचारमा हिच्किचाउन छाड्यो। कसैले सम्मान गर्दैछ भने त्यसको विगत र नियतबारे सुझबुझ हुनुपर्छ। सम्मानको लोभमा कतै दास त बन्दै छैनौं हामी? प्रश्न यो हो।

किशोर दाइले हामीलाई पत्रकारिता सिकाउँदा कसैले खुवाएको एक कप चिया पनि नखानु भन्नुहुन्थ्यो। अहिले नेता र व्यापारीको लगानीमा पत्रकारले जीविका चलाएको देखिन्छ।

मैले पत्रकारिता सुरु गर्दा राजनीतिक विषयमा बढी रिपोर्टिङ हुन्थ्यो। अहिले पनि राजनीति नै समाचारको मुख्य स्रोत हो। हुन त, त्यो बेला सामाजिक विषय पनि अहिलेजस्तो गिजोलिएर आउँदैनथ्यो। पत्रकारले देखेको कुरा प्रष्ट लेख्थ्यो, बढाइ-चढाइ व्याख्या हुँदैनथ्यो।

ओझेलमा मोफसलका मुद्दा
मैले कान्तिपुरमा स्थापनाकालदेखि नै काम गरें। प्रजातन्त्र पुनःस्थापनापछि प्रजातन्त्रलाई संस्थागत गर्नुपर्छ भनियो। पत्रकारितामार्फत स्वतन्त्रताको अभास दिलाउनुपर्ने अवस्था थियो। त्यो बेला पनि काठमाडौं केन्द्रित इस्युहरु नै बढी प्रकाशित हुन्थे। मोफसलका मुद्दाहरु ओझेलमै थिए। हुन त, अहिले पनि खासै सुधार भएको छैन।

गणतन्त्र र संघीयता आएपछि पत्रिकामा पनि संघीयता आउनुपर्छ भन्ने मुद्दा मैले नै अगाडि सारें। प्रदेश १ का इस्युहरुलाई छुट्टै स्थान दिनुपर्ने र मोफसलमा बिट पत्रकारिताको सुरुवात गर्नुपर्छ भनेर आवाज उठाएँ। क्षेत्रीय तथा स्थानीय सवालहरुमा ध्यान दिनुपर्छ भन्ने भयो। कान्तिपुरले त्यसको सुरुवात गर्‍यो। प्रदेशका इस्युलाई प्राथमिकता दिन थाल्यो। फलस्वरुप अहिले कान्तिपुरको प्रदेश कार्यालय खुलेको छ।

तर, अहिले पनि ठूला मिडियाले काठमाडौंमा नयाँ विषय भएन भनेमात्र मोफसलका मुद्दा बोक्ने गरेका छन्। मोफसलको एउटै पत्रकारले सबै विषयमा समाचार लेखिरहेका छन्। तर काठमाडौंमा बिट पत्रकारिता निकै शक्तिशाली भएको छ। मोफसलको एउटा पत्रकारले आफ्नो रुचिको विषयमा गहिरो अध्ययन गर्न सकेको देखिँदैन।

यस विषयमा मिडिया हाउस र पत्रकार दुवैको समस्या देखिन्छ। मिडिया हाउसले काठमाडौं बाहिरलाई औपचारिकताको लागि, अझ भनौं मेलको लागि मात्र रिपोर्टर राख्ने गर्छन्।

अर्कातिर, पत्रकारमा पनि अध्ययन गर्ने बानी छैन। सूचनाको भरमा समाचार लेख्ने प्रचलन हावी छ। मिहिनेत नगर्ने अनि काठमाडौंले हेप्यो भनेर गुनासो गर्नुको अर्थ छैन।

कुनै बिटमा सक्षम भएपछि पत्रकारको माग आफैं बढ्छ। मोफसलका केही बाहेक कुनै पत्रकारले पनि आफ्नो पारिश्रमिक तोक्न सकेका छैनन्। जति भए पनि चित्त बुझाएकै छन्। यो दुखःद कुरा हो। सुरुमा त क्षमता बढाउनुपर्‍यो नि!

त्यसमा पनि कतिपय अवस्थामा पत्रकारको मिहिनेतका बाबजुद प्रकाशकको स्वार्थले ठूलो भूमिका खेल्ने रहेछ। पत्रकार स्कुप हानेर नाम कमाउन चाहन्छ तर मालिक पैसा कमाउन चाहन्छ। समाचारमा प्रकाशकको चासो बढ्यो भने पत्रकारको सिर्जनशीलता मर्ने रहेछ। धेरै साथीहरुमा मैले त्यो समस्या देखेको छु। पेसागत रुपमा दुवै सही भए पनि को-कति इमान्दार भन्ने हो। व्यावसायिक पत्रकार भनेको जागिर पाउनु मात्र होइन। त्यसको मर्यादा जोगाउनु पनि हो। त्यो बुझ्न जरुरी छ।

सूचना भेरिफाइ नगर्दा अनुजा बानियाँ काण्ड
अनुजाको केस नयाँ पत्रकारको लागि ठूलो उदाहरण भयो। त्यो बेला मैले धेरै दुःख पाएँ। त्यसमा गल्ती मेरै हो। हामी बे्रकिङ र स्कुप हान्ने नाममा धेरै हतारिन्छौं। इस्यु आयो भने साथीभाइसँग छलफल नगर्दा यस्ता घटना हुन्छन्।

त्यो बेला मैले धेरै भेरिफाइ गर्न सकिनँ। यो निकै ठूलो कुरा हो भनेर समाचार लेखिहालें। पछि बुझ्दै जाँदा त धेरै शंकास्पद भयो। त्यत्रो पैसा कसरी ल्याइन् भन्ने कुरा मैले सोचिनँ। फलोअप गर्नुपर्यो भनेर फोन गर्दा अनुजा सम्पर्कमा आउन सकिनन्। त्यो बेला भयंकर ठूलो टेन्सन भयो। सूचनाको स्रोतको क्रस भेरिफाइ नगर्दा यस्तो अवस्था दोहोरिरहन्छन्।

अब लेख्नैपर्ने र हतारमा समाचार दिने चलन हटाउनुपर्‍यो। सानो कुरा थपेर लेखौन भन्दा त्यही सानो कुराले बिगार्छ। थोरै कुरा बढाएर समाचार रमाइलो बनाउने चलनले दुर्घटना बढाइरहेको छ भन्ने लाग्छ।

यो समस्या अहिलेको अनलाइन पत्रकारितामा बढी देखेको छु। प्रमाण नजुटाउने तर कसैलाई खुसी पार्न लेखिने समाचारले विश्वसनीयता धरापमा पारिरहेको सत्य हो।  

महासंघको भर नपरौं
महासंघले क्षमता अभिवृद्धि गर्ने होइन रहेछ। पत्रकारलाई समस्या पर्‍यो भने भइपरी काम गर्ने मात्र हो। पत्रकार आफैंले आफ्नो लागि काम गर्नुपर्छ।

पत्रकार शुद्धीकरण भनेको पत्रकारको क्षमता बढाउनु हो। त्यो कसैले गर्न सक्दैन, आफैं गर्ने हो। कुनै पत्रकारले राम्रो लेख्यो भने त्योसँग सिक्ने होइन, बरु व्यक्तिगत चरित्र हत्या गर्ने काममा पत्रकार आफैं लागिपरेको छ। कुन्ठा पालेर पनि पत्रकार भइन्छ र भन्या?

न्यूनतम पारिश्रमिकले परिवार चलाउनै गाह्रो छ। नियमित आम्दानीको स्रोत नभएपछि पत्रकार हेपिन्छ। पत्रकारका नेताहरु नै सस्तोमा काम गर्छन् अनि कसरी आन्दोलन गर्न सक्छन्।

तलब नपाए पनि पाएँ भन्नुपर्ने, तलब नदिए पनि दिइरहेको छ भन्नुपर्ने बाध्यता छ। नभए लाजमर्दो हुन्छ। महासंघको भर परेर हुँदैन। पत्रकार आफैं अब्बल भएपछि वा कन्टेन्ट बलियो भएपछि मिडिया हाउस पैसा दिन बाध्य हुन्छ। तलब माग्ने हैसियत भएको पत्रकार र दिनसक्ने हैसियत भएको मिडिया हाउस हुनुपर्‍यो। अनिमात्र केही हुन्छ।

चौथो अंगका पुराना श्रृंखला

(मोफसलमा बसेर पत्रकारिता गरिरहेका सुब्बासँग उकेराको चौथो अंग कोलमको लागि विनय बाह्रकोटोले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....