चौंथो अंगमा केदार शर्मा : मिडियाको नाकको डोरी पाठककै हातमा हुन्छ, हुनुपर्छ

चौंथो अंगमा केदार शर्मा :  मिडियाको नाकको डोरी पाठककै हातमा हुन्छ, हुनुपर्छ
तस्बिर : कृष्पा श्रेष्ठ ।

म मूलरूपमा इलामको एउटा गाउँमा बस्छु, जहाँ पत्रपत्रिका सजिलै पाइँदैनन्। टेलिभिजन हेर्ने बानी छैन। पहिले रेडियो सुन्थेँ, तर केही वर्ष यता मैले रेडियो पनि सुनेको छैन। तर रेडियो नसुनेको त्यहाँ बज्ने सामग्री मन नपरेर होइन। रेडियोमा सधैँभरि एकै किसिमले दोहोरिने स्तरहीन विज्ञापन पूरै सुनेर कुनै  समाचार, सूचना वा कसैको विचार सुन्न पर्खिने धैर्य मसित छैन। शायद दोष मेरै हो।

हिजोआज म मूलतः ट्वीटरमा आफूले पत्याएका व्यक्तिहरूले शेयर गरेका सामग्री मात्र पढ्छु।  रोजीरोजी पढ्दा धेरै कुरा छुट्न सक्छन्, तर प्रायः राम्रै सामग्री पढ्न-सुन्न पाइन्छ। आखिर संसारमा भएका सबै राम्रा कुरा त कसले पो पढिभ्याउँछ र?

पाठकका रूपमा मेरा लागि (र सबैका लागि) यो ठूलो पुगिसरी हो। सूचना वा पाठ्य वा श्रव्यदृश्य सामग्री छनोटको अधिकार हामीले अहिलेको समय र प्रविधिबाट पाएका सबैभन्दा ठूला कुरामध्येको एउटा हो।  

तर, आफूलाई एउटा सञ्चारकर्मी मानेर सोच्ने हो भने सबभन्दा ठूलो चुनौती यही हो। हामी सबैले बुझ्नुपर्ने कुरा हो, पाठकका अगाडि अब जे पायो त्यही पस्केर चल्नेवाला छैन।  गम्भीरतापूर्वक गरिएको विषयवस्तुको चयन र स्तरीय प्रस्तुतीकरणले मात्र हामीलाई सान्दर्भिक बनाइराख्न सक्छ।

थोरै मात्र पढ्ने, टीभी नहेर्ने र रेडियो नसुन्ने भएकाले नेपाली मिडियामा आउने सामग्रीहरूका बारेमा टिप्पणी गर्नका लागि म साह्रै उपयुक्त पात्र हुँ भन्ने लाग्दैन। तर पनि तपाईँले यस विषयमा टिप्पणी गरिदिनू भनेपछि केही त विचार त राखिहान्छु। आखिर म पनि त नेपाली हुँ नि, 'मलाई यस विषयमा धेरै ज्ञान त छैन' भन्दै पनि एकाध घन्टा बोल्न कुन ठूलो कुरा भयो र?

यहाँ मैले भन्नै पर्ने कुरा एउटा कुरा छ, मैले यहाँ व्यक्त गरेका सबै विचार मेरो सीमित पढाइमा आधारित हुन्। संसार मैले देखेकोभन्दा धेरै फरक पनि हुनसक्छ।

निष्पक्षताको प्रश्न
देशमा भएका अरू कुरा जस्तै हाम्रो मिडिया पनि दोषरहित छैन, तर समग्रमा भन्ने हो भने यो क्षेत्र अरू धेरै  क्षेत्र र विषयभन्दा राम्रो छ।  यो आफ्नो उत्थान आफैँ गरेर, आफैँ काम गरेर, पाठक र विज्ञापनदातालाई रिझाएर पालिएको क्षेत्र हो। यति मात्र पनि यसको योग्यताको एउटा प्रमाण हो।

कुनै व्यक्ति वा वस्तु / सत्ता (एन्टिटी) जति शक्तिशाली  हुन्छ, त्यसको दुरुपयोगको सम्भावना पनि उति नै धेरै हुन्छ र जनतको विश्वासका भरमा बलियो भएको मिडिया पनि यसबाट अछुतो छैन। तर मिडियाको  शक्तिको दुरुपयोग तुरुन्तै थाहा हुने भएकाले आफ्नो विश्वासको दुरुपयोग गर्नेहरूलाई अँगाल्न वा त्याग्न पाठक सधैँ स्वतन्त्र हुन्छन्। अर्थात् मिडियाको नाकको डोरी पाठककै हातमा हुन्छ, हुनुपर्छ।

सञ्चार माध्यमहरूको कुरा चल्दा निकै आउने एउटा शब्द हो ‘निष्पक्षता’। म आफू निरपेक्षरूपमा ‘निष्पक्ष’ छैन र अरूबाट पनि निरपेक्ष निष्पक्षताको अपेक्षा गर्दिनँ। कतिपयले ‘मिसन पत्रकारिता’ भनेर पक्षधरताको विरोध गरेको पाइन्छ। म आफू पनि त्यस्तै, अर्थात् एउटा उद्देश्यमूलक पत्रकारिताबाट आएर होला, म ‘मिसन पत्रकारिता’ भनिने पत्रकारिताको पनि समर्थक नै हुँ।

संवैधानिक प्रक्रिया र संविधानको रक्षा, न्यायपूर्ण समाजको विकास, वातावरण संरक्षण आदिलाई मिसन वा अभीष्ट बनाएर काम गर्नु गलत हो र? भर्खरै पटाक्षेप भएको संसद् विघटनको प्रसंगलाई हेरौँ न, अधिकांश पत्रपत्रिका /अनलाइनले संसद विघटनको समाचार मात्र दिएनन्, स्पष्ट शब्दमा विरोध नै गरे। संसदको पुनर्स्थापना किन हुनुपर्छ भनेर कारण सहित नै लेखे। संविधानका ज्ञाताहरूलाई त्यही लाइनमा व्याख्या गर्न लगाए। यो भनेको त संविधानको रक्षा गरेको हो नि।

संविधान नै मिच्ने सरकार विरुद्ध लाग्दा मिसन पत्रकारिता हुन्छ भने मिसन पत्रकारिता नै ठीक ठान्छु म। मुलुकको सुशासन, संविधानको मर्म, सरकारको स्वेच्छाचारिता आदि विरुद्ध लेख्दा मिसन पत्रकारिता हुन्छ भने मिसन पत्रकारिता हुनैपर्छ।

म निष्पक्ष पत्रकारितामा त्यति धेरै विश्वास गर्दिनँ। केपी ओलीको (आजसम्मको) सरकारको पारालाई विभिन्न पत्रपत्रिकाले जसरी चुनौती दिए, त्यससित म सन्तुष्ट छु। तर मूल कुराको जरो लामो जान्छ। ओली जुन कुरामा आलोचित भए, सर्वोच्च अदालतको हिजोको परमादेश अनुसार आज बन्ने सरकारले पनि ती कुरामा छुट पाउनु हुँदैन।

ओलीले एउटा मेडिकल कलेजलाई चोर बाटाबाट सम्बन्धन दिलाउन खोज्दा डटेर विरोध गर्ने मिडिया भोलि देउवाले त्यही काम गरे (भने) र त्यो बेला ती मिडियाले त्यही कुराको समर्थन गरे वा मौन रहे भने, त्यो चाहिँ मेरो पक्षधरताको मान्यताभित्र नअटाउने कुरा हुन्छ।

पक्षधरता एउटा कुरा हो, नैतिकता (एथिक्स) अर्को कुरा हो। सत्तासीनहरूको अनुहार हेरेर आफ्ना मान्यता नै फेर्नु, आफूले ठीक ठानेको कुरा साबित गर्नका लागि गलत तथ्य तथ्याङ्क प्रस्तुत गर्नु, व्यक्तिको चरित्र हत्या गर्नु आदि भने गलत नै हो। नैतिकताको सीमा भित्र रहेर, पात्र हेरेर कुरा नफेरी र स्थापित आचारसंहिताको पालना गरेर ‘मिसन पत्रकारिता’ गर्दा फरक पर्दैन। अझ म त गर्ने नै त्यही हो भन्छु।

मिडियाको पक्षधरताको कुरा गर्दा छुटाउनु नहुने कुरा हो, हाम्रा प्रधानमन्त्री (आजसम्मका) केपी शर्मा ओलीको मिडियाप्रतिको सदाबहार आक्रोश। उनी पत्रकारले आफ्नो विरोध मात्रै गरे भन्छन्। तर उनले हिजो आफ्नो पक्षमा रहेका पत्रकार र प्रकाशनहरू अहिले आएर किन आफ्ना विरोधी भए भनेर विश्लेषण गरेको देखिँदैन।

वामपन्थी भनेर चिनिएका पत्रिकाले नै विरोध गर्दा पनि किन यस्तो भइरहेको छ, आफूबाट के गल्ती भयो भनेर ध्यान दिएको देखिँदैन। उल्टो आफू पक्षका मिडियालाई बोलाएर अन्य मिडियालाई गाली गर्नुमा उनको ध्यान गएको देखियो। ‘मुलुकका सम्मानित व्यक्तिहरू’ लाई मिडियाले ‘तिमी’ भनेकोमा प्रधानमन्त्री ओलीले सधैँ गुनासो गरे (‘तिमी’ र ‘उनी’ को फरक नबुझेर होइन, बुझ पचाएर,) तर आफूले भने अरूलाई मुखमा आएका सबै गाली गरे। मिडियालाई गाली गर्नेहरू प्रायः यस्तै, आफ्नो आङको भैँसी नहेरी अर्काको आङका जुम्रा हेर्ने खालका छन्।

मेरो गुनासोको क्षेत्र अर्कै छ
म नेपाली मिडियको विकाससँग धेरै हदसम्म सन्तुष्ट व्यक्ति हुँ र यसको मुख्य जस २०४७ सालको संविधानले प्रत्याभूत गरेको वाक् तथा प्रकाशन स्वतन्त्रतालाई जान्छ भन्ने मान्छु। नेपाली मिडियाले राजनीतिको  राम्रो निगरानी गरेका छन् भन्नेमा मलाई कुनै शङ्का छैन। तर गुनासो गर्ने ठाउँ र क्षेत्र पनि मनग्गे छन्। अहिले यहाँ म दुइटा मात्र गुनासाका पोका खोल्छु।

मेरो पहिलो गुनासो मिडियाले ठाउँ दिने विषयवस्तुको चयन र प्रकाशनमा छ, दोस्रो सम्पादन र भाषिक नीतिमा।

पहिले पहिलो गुनासो नै पोखौँ-

हो, हाम्रो समाजमा राजनीतिक विषयवस्तु बढी बिक्छन्, तर राजनीति मात्र त समस्या वा समाधान त होइन। समाजलाई त्यसले मात्र पुग्दैन। राजनीतिइतरका सामाजिक विषयवस्तुको अझ ठूलो महत्व छ। मिडियाको काम त महत्वपूर्ण विषयवस्तुहरूलाई ओझेलमा पर्न नदिनु पनि त हो नि! वा राजनीति समस्याहरूको मुख्य कारण हो भने त्यसको प्रभाव र परिणाम सत्ता परिवर्तनमा मात्र पर्ने त होइन, राजनीतिबाट समाज कसरी प्रभावित भइरहेको छ भन्ने कुरामा खै पत्रकारहरूले लेखेको? यी पनि विषयवस्तु छन् है भनेर खै पाठकलाई भनेको?

सिधै भन्दा नेपाली मिडियाले गाउँघरका गम्भीर समस्या र शानदार प्राप्तिहरूलाई बेवास्ता गरिरहेको छ। यसले वैदेशिक रोजगारीलाई मूलतः एकदमै खराब कुराका रूपमा चित्रण गरेको छ। तीन दशक यता नेपाली जनजीवनमा आएका परिवर्तनहरूको साङ्गोपाङ्ग चित्रण गरेर उत्साह बढाउने काम  गरेको छैन, कृषि क्षेत्रका समस्याहरू केलाएर नीतिमा प्रभाव पार्ने काम पनि गरेका छैनन्।

संघीयताको आलोचनामा समाजमा स्थापित हुँदै गएका भाका हेर्दा म छक्क पर्छु। ‘गाउँमा युवाहरू छैनन्’ भन्ने कुरा लेख्न पाउँदा के के न भेटे जस्तो गर्ने हाम्रा मिडिया पालिकाहरूले विकास गरेका पूर्वाधारका कामको रिपोर्टिङ गर्दा ‘जथाभावी बाटो निर्माण’, ‘बाटोका कारण पहिरो’ वा ‘वडा अध्यक्षका डोजर’ का भाषामा गर्छन्। तर गाउँगाउँमा बनेका सडकका कारण गाउँमै अडिएका युवाहरूका बारेमा मैले पढ्न पाएको छैन।

गाउँघरमा बढेको सुकिलोपन, त्यसको परिणामका रूपमा प्राप्त निरोगिता, बढ्दो आत्मविश्वास, महिला सहभागिता आदिका बारेमा तपाईँले कतै पढ्नुभएको छ? उपमेयरहरूको अध्यक्षतामा पालिकाहरूमा स्थापित न्यायिक इजलासहरूले ल्याएको परिवर्तनका बारेमा हामीले शहरमा कतिलाई थाहा दिन सकेका छौँ? हाम्रो देश धेरै हिसाबले साँच्चै नै राम्रो हुँदैछ, के यो कुरा थाहा पाउनका लागि चाहिँदो मिहिनेत गर्न र स्वीकार्न हामी सक्छौँ? सक्दैनौँ भने किन?

यसको अर्थ मैले राम्रा कुरा वा विकासे ‘सफलताका कथा’ टाइपका स्टोरी मात्र खोजेको होइन।  ‘गाउँ रित्ता भए’ वा ‘श्रीमान् विदेश जानासाथ छोराछोरी पढाउने निहुँले महिलाहरू शहर पसे’ भन्ने समाचार पठाउने ‘स्थानीय संवाददाता’ हरूलाई “ती समस्या कारणहरू यसरी र यहाँ खोज” भनिदिने कसले? “खेतबारी बाँझिए” भन्ने समाचार पठाउनेहरूलाई कृषि औजार बनाउने गाउँका आरन वा आरनकर्मीहरूको समाचारबाट शुरु गर भन्ने कसले? वा, शताब्दीयौँदेखि डिजाइन नफेरिएका हँसिया जा कोदालोका कारण पो त्यसो भएको हो कि भनेर सोच्न र सोध्न सिकाउने कसले? राजनीतिमा पूर्वाग्रहको कुरा म गर्दिन तर सामाजिक विषयमा मिडिया चुकेकै हो। यस हिसाबले भने मिडियाले  दिने सामग्री दिने  पूर्वाग्रही नै छ। यसमा परिवर्तन गर्न आवश्यक र सम्भव दुवै छ।

सम्पादनमा कमजोर
सबैलाई राम्रो पत्रकारिता गर्न मन हुन्छ।  नेपाली मिडियाले राम्रा र नामी लेखकलाई  राम्रो प्राथमिकतामा राखेको पाइन्छ। हिजोआज पत्रपत्रिकाले समावेशितामा पनि निकै ध्यान दिएको देखिन्छ। टेलिभिजनहरूको जस्तो दिक्कलाग्दो मनोरञ्जनबाट पत्रपत्रिकाहरू मुक्त छन्।   तर छानिएका सामग्रीहरूको सम्पादनमा भने निकै कमजोरी देखिन्छ।  प्रवाहमा कमजोरी, पुनरुक्ति, खुकुलोपना, शब्दहरूको अनुपयुक्त र गलत (कहिलेकाहीँ) प्रयोग जताततै भेटिन्छन्।

यसका समस्या पनि मैले बुझेको छु। सम्पादन (कपी एडिटिङ) राम्रै योग्यता र अनुभव चाहिने, निकै समय लाग्ने र त्यसै कारण खर्चिलो काम हो। अर्काले कति गरेर तयार गरेका सामग्रीमा उसलाई चित्त नदुख्नेगरी ‘कैँची चलाउनु’ सजिलो काम होइन। साँच्चै राम्रोसित सम्पादन गर्ने हो भने लेखकसित दोहोरो संवाद पनि गर्नुपर्छ। यो मनोवैज्ञानिक हिसाबले पनि संवेदनशील काम हो भन्ने बुझेर प्रयास गर्ने हो भने लेखक र सम्पादक बीचको दूरी कम हुन्छ।

मिहिनेती सम्पादकहरू धेरै भए भने “सम्पादकले  मेरो लेख राम्रो बनाइदिए” भन्ने लेखकहरूको सङ्ख्या बढ्छ र परिणामस्वरूप लेखकहरूकै कलममा पनि परिमार्जन आउँछ । तर त्यस्तो ज्यादै कम छ। धेरै लेखकका लागि सम्पादन भनेको ‘लेख छोट्याउने काम मात्र’ हो भने सम्पादकका आँखाबाट हेर्दा यो थकाउने खालको र अपजसिया काम हो। हाम्रो मिडियाको अर्थतन्त्रले कपी एडिटरहरूलाई राम्रो पैसा दिन, वा आउटसोर्स गरेरै सही, एकाधिक सम्पादकहरूलाई काम लगाउन सक्छ -सक्दैन मलाई थाहा छैन, तर सम्पादनमा राम्रो ध्यान दियो भने समग्र पत्रकारिताकै स्तर राम्रो हुन्छ।

यो त लेखरचना सम्पादनको कुरा भयो। पत्रकारहरूको समग्र लेखनमा पनि ठूलो कमजोरी देखिन्छ। लाग्छ, भाषिक क्षमता बढाउनु पर्छ भन्ने बारेमा सम्पादक र रिपोर्टरहरूबीच कुरै हुँदैन। पत्रिकाको भाषिक नीतिका बारेमा, वा  कुन शब्द कसरी लेख्ने जस्ता विषयमा न्युजरूममा छलफलै हुँदैन। प्रज्ञा प्रतिष्ठानको बलमिचाइँको प्रतिकारस्वरूप २०६९ सालमा भएको ललितपुर घोषणापत्रमा  हस्ताक्षर गर्ने समपादकहरूकै पत्रिकामा सहिद वा सहर लेखिनु भनेको ठट्टाको कुरा होइन। कम से कम सम्पादकहरूले त आफ्नो हस्ताक्षरको मर्यादा गर्नु पर्छ!

मलाई पत्रकारिताको क ख सिकाउने गुरु किशोर नेपालले २०४३ सालमा भनेको कुरा सधैँ सम्झिन्छु, “हाम्रो पत्रिका पाँच हजार छापिन्छ। कम्तीमा २५ हजारले यो पत्रिका पढेको हामी मान्छौँ । एउटा पनि तथ्य वा शब्द लेख्नु भनेको तिम्रो कलममा विश्वास गर्ने २५ हजार व्यक्तिको अपमान हो।” म सधैँ यही सम्झिन्छु र भाषामा हेल्चेक्र्याइँ गरेको देख्दा पाठकका रूपमा आफ्नो समेत अपमान गरेजस्तो लाग्छ।
पत्रकारिता मेरो घर हो। यसको प्रतिष्ठामा मेरो पनि प्रतिष्ठा निर्भर छ। म यसमा गर्व गर्छु र नै यसप्रति गुनासो पनि गर्छु।

(३५ वर्ष भन्दा बढि पत्रकारितामा संलग्न रहेका शर्माले छापा, रेडियो र टेलिभिजन तीनै माध्यममा काम गरेका छन्। उनीसँग उकेराको चौथो अंग कोलमको लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।) 

चौथो अंगका पुराना श्रृंखला

२९ असार, २०७८, १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।