चौथो अंगमा निशा अधिकारी : कला पत्रकार सतही भए, सिएटी क्याट लेख्न त एबिसिडी पढेकै हुनुपर्छ नि !

चौथो अंगमा निशा अधिकारी : कला पत्रकार सतही भए, सिएटी क्याट लेख्न त एबिसिडी पढेकै हुनुपर्छ नि !
तस्बिर : कृष्पा श्रेष्ठ

कलेज पढ्दा टेलिभिजनको माहोल आयो। कान्तिपुर टेलिभिजन आउँदा सबैतिर ‘वाउ’ भन्ने भएको थियो। त्यतिबेला हामीले मिडिया भनेको पहिले मनोरञ्जन त्यसपछि समाचार हो भन्ने रुपमा बुझ्यौं।

सन् २००६ को सुरुवातमा नै मैले कान्तिपुर टेलिभिजनमा काम गर्ने मौका पाएँ। एक वर्ष जति टेलिभिजनमा काम गर्दा मिडियालाई अलि गहिरोसँग बुझ्न पाएँ। 

म प्रोडक्सनतिर भए पनि न्युज रुम पनि त्यहीं थियो। अर्को भवनमा नारी, साप्ताहिक, कान्तिपुर, काठमाडौं पोस्ट थिए। त्यहाँ रहँदा समाचार कसरी लेखिन्छ, कसरी सम्पादन गरिन्छदेखि मिडिया हाउसको आमनागरिकप्रति दायित्व के होसम्म बुझ्ने अवसर पाएँ।

२०६२/०६३ को आन्दोलन चलेको बेला थियो त्यो। मैले नजिकैबाट आन्दोलन चियाउने मौका पाएँ। कान्तिपुर मिडिया हाउसले ठूलो भूमिका निर्वाह गरको थियो त्यो बेला। मलाई लाग्यो, मिडियाले हर क्षेत्रमा प्रभाव पार्न सक्दो रहेछ। एकातिर राजनीतिमा पनि प्रभाव पारिरहेको थियो भने अर्कोतिर कान्तिपुरले विभिन्न प्रकारका ग्राहकलाई आफ्ना प्रकाशनहरुबाट समाचार तथा मनोरञ्जन दिइरहेको थियो। 

मिडियामा काम गरेपछि नै नेपालमै केही गर्न सकिन्छ भन्ने लागको हो मलाई। त्यसकारण म आफूलाई मिडियाबाट प्रेरित र प्रभावित व्यक्ति ठान्छु। मिडियामा काम गरेको भरमा नै मैले नेपाललाई कर्म थलो बनाउने निर्णय लिएको हुँ। 

हामी सानो हुँदा नेपाल टेलिभिजनबाट ‘कलम’ भन्ने टेलिसिरियल आउँथ्यो। त्यो टेलिसिरियलमा सरोज खनालले पत्रकारको भूमिका निर्वाह गर्नुभएको थियो। यो सिरियलले पनि मलाई कलमको महत्व सिकाएको थियो। झन् कान्तिपुर टेलिभिजनमा काम गरेपछि त म यो देशको नागरिक हुँ, निष्पक्ष रुपमा सार्वजनिक सरोकारको विषय थाहा पाउनु मेरो अधिकार हो भन्ने लाग्न थाल्यो।

मिडियामा नै काम गर्दा मैले नेपाली तथा पाकिस्तानी सिरियलमा अभिनय गर्ने मौका पाएँ। आफैँ कार्यक्रम चलाउँथे पनि। यो हुँदा मैले धेरै-थोरै कलाकारितामा आउनुअघि मिडिया बुझ्ने अवसर पाएँ। 

सोसल मिडिया हावी भइरहेको छ
मिडिया हाउसभित्र रहेर काम नगरे पनि हामी प्रत्येक नागरिक मिडियाकै हिस्सा हौँ। किनभने प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हामी मिडियासँग जोडिइरहेका छौँ। 

सोसल मिडियामा हामीले सबैको राय धारणा बुझिरहेका छौँ। टिकटकले नयाँ कलाकार बनाएको छ। ट्विटरमा धेरै प्रकारका विचारहरु सम्प्रेषण भइरहेको छ। टिकटक हेर्दा मलाई लाग्छ, सबै जनालाई कन्टेन्ट बनाउन उत्तिकै आउने रहेछ। हामी मिडियाबाट कहिल्यै पनि टाढा हुन सक्दैनौँ। 

मुलधारको मिडियाको आफ्नो प्रभाव त छँदै छ, योसँगै सोसल मिडिया पनि हावी भइरहेको छ। त्यसकारण मुलधारका मिडियाले समाचार प्रवाह गर्दा सोसल मिडियालाई अधिकतम उपयोग गर्न जरुरी छ। नत्र त आधिकारिक समाचारले भन्दा हौवाले जित्ने भइसक्यो। आखिर सबै मिडियाले फेसबुक, ट्विटरबाट समाचार ‘सेयर’ गरेकै हुनुहुन्छ । 

समय अनुसार टिकटकतिर पनि समाचार प्रवाह गर्नुपर्छ। जहाँ धेरै व्यक्तिहरु ‘इन्गेज’ हुन्छन्, त्यो माध्यमलाई मुलधारको मिडियाले उपयोग गर्नुपर्छ। तर मिडियाले नयाँ माध्यमलाई सशक्त रुपमा प्रयोग गर्न सकेको देखिँदैन। कलाकार भएको कारणले मैले कला पत्रकारितालाई नजिकबाट चियाइरहेको छु। कला पत्रकारिताले पनि माध्यम समात्न सकेको छैन। अब कला पत्रकारिताबारे केही असन्तुष्टि र केही राम्रा पक्षको चर्चा गर्नेछु।  

कला पत्रकारिताको संख्या बढ्यो, स्तर बढेन
कला पत्रकारिता पहिलेको तुलनामा संख्यात्मक रुपमा बढेको छ। तर गुणात्मक देखिँदैन। के नपुगेको, के नपुगेको जस्तो महसुस हुन्छ। उदाहरणको लागि, ‘कालो पोथी’ फिल्मका निर्देशक मीन भामको कति वटा च्यानलमा अन्तर्वार्ता आयो? कति वटा अनलाइन पत्रिकामा फिचर आए? उहाँले त नेपाललाई ‘कालो पोथी’ जस्तो राम्रो फिल्म दिनुभएको हो नि। यो फिल्म त अन्तर्राष्ट्रिय स्तरमा हिट भएको होइन त? खै कता छ कभरेज? अन्तर्राष्ट्रिय मिडियाले कभर गरेपछि मात्रै नेपालमा आएको होइन? हाम्रो नेपाली मिडियाले राम्रोसँग कभर गरेको भए उहाँलाई अन्य स्थानबाट पनि यो भन्दा बढी प्रस्ताव आउँथ्यो होला। उहाँमार्फत नेपाल झन् चिनिन्थ्यो होला। यहाँको कला, फिल्मको प्रचारप्रसार हुन्थ्यो होला नि।

मैले अभिनय गरेको ‘सुनगाभा’ फिल्म नेपालमा ‘फ्लप’ भएको होइन। त्यो त होमोसेक्सुआलिटीको पहिलो ‘फिचर मुभी’ थियो नि। यसले अवार्ड पनि जितेको हो। निर्देशक सुवर्ण थापाले घरजग्गा राखेर बनाउनुभएको हो। नराम्रो भएको भए ओस्करमा छानिन्थ्यो र? त्यसलाई प्रमोसन गर्न १० देखि २० हजार डलर लाग्थ्यो। यसको लागि त मिडियाको भूमिका हुन्थ्यो नि। त खै कहाँ देखियो मिडियाको भूमिका? ओस्कर जितेको भए त त्यो मुभी सुर्वण थापाको मात्रै हुँदैन्थ्यो नि। नेपालको हुन्थ्यो, संग्रहालयमा रहन्थ्यो । हाम्रो मिडियाले चाहिने बेला ‘पुस’ गरेको देखिँदैन।

ठिक छ, गसिपहरु पनि बनाउनूस्, कन्ट्रोभर्सी पनि बनाउनूस् तर राम्रो काम गरेको बेला त्यसरी नै लेख्न सक्नुपर्यो नि। जहिल्यै तल राख्ने सोच पाल्नुभएन। 

अर्को उदाहरण दिन्छु, गोपाल भुटानीले नेपाली कला क्षेत्रमा अमूल्य योगदान दिनुभयो। बित्नुभन्दा अघि उहाँको इच्छा नेपाली नागरिकता पाउने थियो तर यो कुरा मिडियामा जसरी आउनुपर्ने हो त्यसरी किन आएन? मिडियाले यसलाई राम्रोसँग फिचर गरिदिएको भए उहाँले नेपाली नागरिकता पाउनुहुन्थ्यो कि? यसले डिस्कोर्स बदल्न पनि त सक्थ्यो नि। यस्ता कुरामा मिडिया चुकेको छ। अन्य मनोरञ्जन दिने कुरामा त दिनुभएकै छ। 

गसिप दिनु नराम्रो होइन। तर मिडियाले ‘कन्टेन्ट’ दिँदा ‘ब्यालेन्स’मा दिनुपर्छ। बहिरतिरको मिडिया कभरेज हेर्दा मलाई त लोभै लाग्छ। उनीहरुले सेलिब्रिटीलाई राम्रोसँग परिचालन गरेका छन् हाम्रोमा छैन। कुन कुरा कसले भन्दा प्रभाव पर्छ भनेर त्यही प्रकारको सेलिब्रिटी लगे हुँदैन? सबै विषय सबैलाई थाहा नहुन सक्छ तर कसलाई के कुरा थाहा हुन्छ भन्ने त जानकारी राख्नुपर्यो नि। यहाँ त्यस्तो देखिँदैन। 

बाहिरका मिडियाले गसिप बनाएर उडाइ पनि रहेका हुन्छन् फिचर पनि गरिरहेका हुन्छन् ‘पुस’ गरिदिन पर्ने ठाउँमा गरिरहेका पनि हुन्छन् । त्यो जोसँग क्षमता छ त्यसले न गर्छ। नेपाली मिडियामा सन्तुलन मिलाएर समाचार लेखिएको देखिँदैन। कसैको नराम्रो कुरा हुन्छ भने राम्रो कुरा पनि हुन्छ एक पक्षीय हुनुभएन। 

सतही कला पत्रकार हावी भए
मैले बेलाबेला सामाजिक सञ्जालमा तथा औपचारिक रुपमा भन्ने गरेको छु, पत्रकारको पनि ग्रेडिङ हुनुपर्छ। कारण एउटै छ, ‘म जसरी विजयकुमारलाई अन्तर्वार्ता दिन्छु, त्यसरी नै कुनै कला पत्रकारलाई अन्तर्वार्ता दिन्नँ।’ गुणस्तर त सबै कामको बढाएकै राम्रो नि। प्रश्न कस्तो सोध्ने, के गर्ने सबै जानेको हुनुपर्यो नि। सधैं हलुका प्रश्न मात्रै सोधेर त भएन नि। 

तीन दिन कफी सेसन गरेर अन्तर्वार्ता पनि दिएको छु। सिएटी क्याट लेख्न त एबिसिडी पढेकै हुनुपर्छ नि हैन र? 

प्रायः पत्रकारले मुभीको प्रोमोसनको बेला अन्तर्वार्ता लिनुहुन्छ। त्यो बेला भ्याइनभ्याइ हुन्छ। कलाकारलाई पनि समय दिँदैनन् भन्ने आरोप लाग्ला। सधैं एकै विषयवस्तुमा के बोल्नु, के फरकफरक विषयमा बोल्न लगाए हुँदैन? जुनसुकै विषयमा पनि बोल्ने व्यक्ति सहज नभई बोल्न लगाउन भएन। हाम्रो त जसरी पनि बोल्दिनु भन्ने भए। क्वालिफिकेसन त जे काम गरे पनि हुनैपर्छ नि। कलाकार स्किल बेस्ड हुन्छ भने पत्रकारमा विषयवस्तुमा जानकार त हुनै पर्यो। तीन वर्ष जति भयो मैले उति गहिरो गरी हेरेको छैन तर समग्रमा कला पत्रकारिता सुध्रेको देख्दिनँ।  

जसले पत्रकारिता पढेर अथवा पत्रकारिता बुझेर आउनु भएको छ, उहाँहरुले लेख्ने र अन्यले लेख्ने त फरक देखिनुपर्यो नि। तर देखिँदैन। प्रायः कलाकारसँग अन्तर्वार्ता लिदाँ सतही अन्तर्वार्ता हुन्छ। यदि कला पत्रकारमा ज्ञान हुन्थ्यो भने त सतही हुँदैनथ्यो नि त। 

मैले सबै कला पत्रकारलाई एक डोकोमा हाल्न खोजेको भने होइन। राम्रो लेख्ने औँलामा गन्न सकिने हुनुहुन्छ। उहाँहरुले ‘ब्यालेन्स’ गर्दै ‘रिसर्च’ गरेर लेख्नुभएको देखिन्छ तर बाहिर जो सतही लेख्नुहुन्छ उहाँहरु हावी भइदिनुभयो। मलाई लाग्छ, राम्रो लेख्नेले थोरै लेख्नुहुन्छ, सतही लेख्नेले धेरै। सतही लेख्ने नै हावी भए कला पत्रकारितामा। यसले त समग्र कलालाई नै असर पर्यो नि। 

मैले पत्रकारितामा ग्रेडिङ हुनुपर्छ भनेर कुरा गर्नु पनि हाम्रो कला अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहज हुन्थ्यो भनेर नै हो। नबुझी अन्तर्वार्ता लिइदिँदा कतिपय कला क्षेत्रमा काम गर्ने साथीहरु हतोत्साहित हुनुभएको छ। मलाई त खासै आलोचनाले छोएन पनि। मैले नभनेको नगरेको कुरा आयो भने मैले सम्पादकलाई फोनै गरेर खण्डन छाप्न पनि लगाएको छु। 

मैले जति पनि मिडियाबारे भनेको छु, सबै मिडियालाई एकै स्थानमा राख्न मिल्दैन। राम्रो लेख्ने पनि हुनुहुन्छ तर हुँदै नभएको घटना लेख्ने पनि हुनुहुन्छ। म सगरमाथा चढ्न गएको बेला म बितेको समाचार आएछ। पछि सगरमाथा चढेर आएपछि पो मैले थाहा पाएँ। 

अर्को, म कुनै फिल्मको सुटिङमा थिएँ। ‘निशा अधिकारी ब्लु फिल्ममा’ भनेर समाचार आएछ। मामुले समाचार खोलेर हेर्दा भित्र केही थिएन। उहाँले मलाई सोध्नुभयो, ‘छ कि छैन भन न।’ तल सुटिङ भइरहेको छ, माथि छतमा बसेर एक घण्टा मामुलाई कन्भिन्स गर्नुपर्यो। छोरीप्रतिको अविश्वासभन्दा पनि असुरक्षा महसुस गर्नुभयो उहाँले। 

एक दैनिकमा हुँदै नभएको कुरा छापियो। सम्पादकलाई फोन गरेर मेरोबारे यस्तो आएछ, खण्डन छापिदिनु भनेर अनुरोध गरें। त्यसो गर्दा प्रधानसम्पादकले ‘ए हो र, हाम्रोमा त्यस्तो समाचार गएको छ’ भन्नुभयो। प्रधानसम्पादकलाई त सबै थाहा हुनुपर्ने हो। पछि मैले यो पेजमा, यो अनुच्छेदमा भनेर खण्डन छपाएँ। 

कला पत्रकारिताको दायरा साघुँरो भयो
कला पत्रकारिता फिल्मी पत्रकारितामा मात्र रुमल्लिइरहेको छ। कला पत्रकारिताको दायरा साँघुरो देखिन्छ। कला भनिसकेपछि त कलाको समग्र पाटोको रिपोर्टिङ आओस् न त्यो देखिँदैन। हाम्रो देशको अमूल्य मूर्तिहरु चोरी भएका छन्। धेरै समयपछि एउटा पत्रिकाले कभर गरेको थियो। मूर्तिबारे पढ्नुपर्यो भने खोज्नुपर्छ। छ्यापछ्याप्ती आओस् न कलासम्बन्धी समाचार। कलाको दृष्टिकोणमा त नेपाल स्वर्णभूमि हो नि। 

पेन्टिङ गर्नेहरुको मूल्य बुझेको खोई? उहाँहरुको कलाको रिपोर्टिङ भएको देखिँदैन। एकाध पत्रकारले गर्नुहुन्छ तर व्यक्तिगत रुपमा भएको देखिन्छ। उहाँले लेख्नुभएन भने कसले लेख्ने त? संस्थागत रुपमा नै भयो भने त रिपोर्टिङ राम्रो हुन्छ। तर कलाको रिपोर्टिङ भएको छैन।

कुनै अभिनेता अभिनेतृ, माटोको भाँडा बनाउने कुमाले, चित्र बनाउने चित्रकार, मूर्ति बनाउने मूर्तिकार सबैको कला नै हो। लेख्ने तरिका, भाषा फरक हुन्छ होला तर उहाँहरुबारे लेखिनु त पर्यो नि। भूकम्पपछि हाम्रो कला कहाँ पुग्यो? खै समाचार?  

गहिराइमा पुगेर समाचार लेख्नुपर्ने होइन? सतही भइदिने? कलाकारलाई राष्ट्रको गहना भन्ने गरिन्छ। अन्य शब्द लेख्ने ढंग नभएर गहना लेखियो। यदि गहना शब्द नभएको भए राम्रो पहिचान पो हुन्थ्यो कि। गहना शब्दले कलालाई ‘डेकोरेसन’ गर्ने मात्र हो भन्ने तरिकाले बुझियो। कलाकार भनेको गहना भनिनु नै गलत हो। 

पत्रकारले आफ्नो पेसाको सम्मान गर्नुपर्यो
कला पत्रकारिता पनि खोजमुलक हुन्छ। रिपोर्टिङका विषयहरुको अर्काइभ हुनुपर्यो। व्यवस्थित रुपमा ती सामग्री राखिनुपर्यो। 

मैले एक पटक एक प्लेट मोमो दिएर समाचार लेख्ने पत्रकार भनेर लेखेको फेसबुक स्टाटसबारे सोध्नुभयो। मैले बुझेरै यसो भनेको हुँ। यस्तो प्रबृत्तिका पत्रकार सुध्रिनु पर्यो। दुई/तीन वर्ष जे पनि लेख्छु, त्यसपछि ग्रिन कार्ड अप्लाइ गर्छु भन्ने पाराले काम गर्न भएन। कला पत्रकारले आफ्नो प्रोफेसनलाई माया गर्नुपर्छ। कला पत्रकारिता गरिरहनुभएकाहरु कत्तिको सिरियस हुनुहुन्छ? ग्रिन कार्ड अप्लाई गर्न माध्यम बनाएको पो हो कि?

मैले चलचित्र ‘झ्यानाकुटी’ मा प्रोड्युसर भएर काम गरेँ। त्यतिबेला मैले पत्रकारलाई पैसा दिएको साँचो हो। पोस्टर राखेको पैसा दिनु त स्वभाविक थियो तर यो समाचारको यति पैसा भनेर बकाइदा दिएको छु।

समाचार लेखेवापत कुन पत्रकारलाई कति दिएँ त म भन्दिनँ तर लिस्ट आएको थियो। समाचारको लागि पैसा बाँडेकै हो। लेख अनुसार पैसा दियौं। पैसा नदिने भनेको थिएँ मैले तर प्रोड्युसर भएपछि पो थाहा पाइयो पैसा नदिई त समाचारै नआउने रहेछ। 

हामीले पनि प्रोमोसनमा बोलाएका हुन्छौँ। त्यत्रो खर्च गरेर कार्यक्रम आयोजना गरेका हुन्छौँ। उहाँहरुलाई बोलाउँछौँ। त्यही अनुसार आएका हुन्छौं तर पनि समाचारको लागि पैसा दिनुपर्दा नमज्जा लाग्यो। 

यसमा फेरि कलाकारले पनि गुटबन्दी गर्ने कलाकारले नै पैसा दिएको भने होइन, माग अनुसार नै पूर्ति भएको हो। 

कलामा बौद्धिक पत्रकार पनि हुनुहुन्छ तर यो जमात सानो छ। तर जसले यसरी पैसा मागेर समाचार लेख्नुहुन्छ उहाँहरु हावी हुनुभयो। पहिले पहिले यसरी दिनुपर्दैनथ्यो रे। तर समय फेरिएको छ।

समाचार सम्प्रेषणमा चुकेका छौँ
कलाकारको हरेक गतिविधिको समाचार सम्प्रेषण गर्दा सधैं उस्तै तरिकाले हुँदैन। दुर्व्यवहारको समाचार भयो भने त्यसलाई सेन्सेटिभ भएर प्रस्तुति दिइँदैन। एउटा उदाहरण भन्छु, एउटा फिल्मको सुटिङमा प्युठान गएका थियौं। त्यहाँ एक बहिनीलाई दुर्व्यवहार भयो टिमबाटै। 

त्यो फिल्म दुई वर्ष रोकियो। प्रहरीमा केस पनि गरियो। तर समाचार बाहिर ल्याइएन। कारण त्यही हो जुन तरिकाले सम्प्रेषण हुनुपर्ने हो, त्यो तरिकाले हुँदैन। पीडितको एंगलबाट आउँदैन। फलानोलाई दुर्व्यवहार भयो भनेर लेख्दिने सिधै? सही तरिकाले समाचार सम्प्रेषण भएको छैन यहाँ। मेन स्ट्रिम मिडियामा त भएको छैन, अरुको त के कुरा गरौँ?

यसो भन्दै गर्दा सबै बिग्रेको भनेको होइन, राम्रा पनि धेरै छन् तर पनि मलाई लाग्छ, कला समाचार यसरी आओस् भोलिको पुस्ताले पढ्दा पनि आज जस्तो छ त्यो छर्लङ देखियोस्। खोजमुलक विषयवस्तुबारे जानकारी राम्रोसँग होस् लेख्ने पत्रकारलाई पनि।

हामीलाई चिनाउने नै कलाले हो। त्यसलाई गहन हिसाबले लिएर अंग्रेजी र नेपाली दुवै माध्यममा रिपोर्टिङ होस्। अध्ययनको दायरा बढोस्। आफ्नो पेसाको इमानदारिता नै बेच्ने त हो। 

चौथो अंगका पुराना श्रृंखला

(नेपाली कला पत्रकारिताका विषयमा उकेराको चौथो अंग कोलमका लागि कलाकार निशा अधिकारीसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

१२ असोज, २०७८, ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।