उकेरा कोलम

चौथो अंगमा स्तम्भकार सरिता तिवारी : लेख्ने अग्रगामी, व्यहोरा भने पश्चगामी


तस्बिर : कृष्पा श्रेष्ठ

स्तम्भकारको दृष्टिकोणमा नेपाली मिडिया कस्तो छ भन्ने विषयमा बोल्नुअघि हाम्रा मिडियामा काम गर्ने केही सम्पादक, केही रिपोर्टर र केही लेखकको चरित्रबारे प्रष्ट पार्न चाहन्छु।

एउटा कुहिएको आलुले सिंगो बोराकै आलुलाई असर पारेझैं मिडियामा काम गर्ने केही पुरुष सम्पादक, रिपोर्टर र स्तम्भकारको महिलालाई हेर्ने दृष्टिकोणले समग्र मिडियालाई नै असर पार्छ।

ठूलै मिडियामा काम गर्ने एक रिपोर्टरले आफ्नै सहकर्मीलाई ‘मिसबिहेभ’ गर्नुभएको कुरा आयो। तर त्यो कुरा त्यत्तिकै सेलायो। उहाँ काम गर्ने मिडियाले कस्तो प्रकारको मिसबिहेभ हो भनेर सोधी-खोजी गरेको पाइएन। उहाँ अहिले सम्पादक हुनुहुन्छ।

जुन मिडिया अरुलाई अन्याय परेको लेख्छ, सोही मिडियामा काम गर्ने सहकर्मीलाई मिसबिहेभ गर्दा त्यसलाई सामाधान गर्नेभन्दा पनि ढाकछोप गर्नतर्फ अघि लाग्छ। यसरी त मिडियाको आवाजविहीनको आवाज भयो भनेर कसरी मान्नु? 

एउटा मिडियाका स्तम्भकार/लेखकले आफूभन्दा जुनियरलाई मिसबिहेभ गरेको यस्तै अर्को घटना पनि छ। उहाँले सामाजिक सञ्जालमा माफी पनि माग्नुभयो। सो पत्रिकाले तीन महिनाका लागि निलम्बन पनि गर्‍यो। उहाँले आफू सुध्रेको पनि बताउनुभयो। तर महिलालाई मिसबिहेभ गर्न भने छोड्नुभएन। उहाँका यस्ता हर्कत बाहिर आइरहे।

मैले बुझेको पत्रकारिताले समाजलाई अग्रगामी दिशातिर लैजानुपर्ने हो। तर लेख्ने अग्रगामी परिर्वतनकारी, लेख्नेको व्यहोरा भने पश्चगामी पितृसत्तात्मक देखिन्छ। महिलालाई त वस्तु नै ठान्ने सम्पादक पनि छन् यहाँ। 

एक जना पुराना सम्पादक हुनुहुन्छ। अहिले भइरहेका धेरैजसो सम्पादकले उहाँलाई ‘गुरु’ पनि मान्ने गरेका छन्। उहाँले प्रोडक्ट गरेका अहिलेका सम्पादकले कतिपय कुरालाई फिल्टर गरेर लिएका होलान्, त्यो आफ्नो ठाउँमा छ। तर प्रभाव त केही न केही परिहाल्छ। 

उहाँले ठूलै मिडिया लिड गर्नुभयो। मनोरञ्जनात्मक पत्रिका पनि निकाल्नुभयो। तर उहाँले एउटा पत्रिकालाई दिएको अन्तर्वार्ता पढ्दा भने नेपालका लेखक/पत्रकारले महिलालाई कसरी हेर्छन् भनेर छर्लङ्ग हुन्छ। उहाँले महिलालाई भोग्य वस्तुको रुपमा चित्रित मात्रै गर्नुभएन, महिलाको त बुद्धि नै हुँदैन भनेर अवैज्ञानिक कुरा समेत गर्नुभयो। 

उहाँले पत्रकारितामा ठूलो योगदान गर्नुभयो होला। तर आधाभन्दा बढी जनसंख्याको त अपमान मात्रै होइन, अवमूल्यन पनि गर्नुभयो नि। त्यसकारण मलाई डर लाग्छ, उहाँको छत्रछायाँमा हुर्केका अहिलेका सम्पादकले पनि त्यही सोचे भने। अहिलेका सम्पादक त्यस्तै सोचाइ राख्नुहुन्छ जस्तो मलाई लाग्दैन। तर त्यही व्यक्तिलाई गुरु मानेको देख्दा भने मलाई अचम्म लाग्छ।  

पुरुषले पुरुषका लागि बनाइएको सामग्री
मनोरञ्जनात्मक भनेर केही पत्रिका निस्कन्थे कोरोना अघिसम्म। ती पत्रिका कस्ता हुन्थे भने ३०/३२ पानामा १५/१६ पाना त महिलाको नग्न तस्बिर र गसिपका नाममा महिलालाई होच्याउने सामग्री।

यी सामग्रीको विरोध गरियो भने गसिप नबुझ्ने भन्थे यस पत्रिकामा काम गर्नेहरु। महिलालाई होच्याएर अथवा पितृसत्ताको कुरुप अनुहार देखाउने अनि उल्टै विरोध गर्नेलाई नबुझेको भन्ने? अहिले यी पत्रिका निस्कदैनन्।

यस्ता सामग्री पुरुषले पुरुषका लागि बनाइएका हुन्। महिलाको नग्न तस्बिर छापेर के मनोरञ्जन हुँदो हो, म अहिले पनि बुझ्दिन। त्यस्तै कन्टेन्टका हिसाबले पनि पुरुषले पुरुषका लागि मात्रै बनाइएका जस्ता देखिन्थे। अहिले केही परिर्वतन त भएको छ तर मिडियाले सुधार गर्नुपर्ने अझै धेरै छ।

स्वदेशमा रोजगारी नभएर नेपालका धेरैजसो पुरुष र केही महिला रोजगारीका लागि विदेश गएका छन्। ‘श्रीमानले विदेशबाट पठाएको पैसा सकी, अरुसँग लागी’ जस्ता शब्दहरु मिडियाले प्रयोग गरेको देखिन्छ। यसले त समाजमा कस्तो सोचाइ जन्मियो भने महिलाले गर्दा नै समाज भाँडिएको हो। उमरमै श्रीमान–श्रीमती सँगै नहुँदा परेको सामाजिक मनोवैज्ञानिक तनाव र आर्थिक रुपमा सक्षम भएपछि महिलालाई आउने आँटबारे कुराकानी भएको पाइँदैन। 

अझ सम्बन्धविच्छेदको समाचार लेख्दा त समाज भाँड्ने महिला हुन् भनेर चित्रित गरिन्छ। पुलिंगवाद प्रभुत्वशाली छ मिडियामा। 

स्तम्भकारकार हुनुको नाताले कहिलेकाहीँ आउने स्केचमा मलाई नै चित्त बुझ्दैन। मनोरञ्जनको कुरा लेख्दा महिलाको स्केच बनाइनु, घरायसी काम गर्दा महिलाको स्केच बनाइनु, आन्दोलनको स्केच बनाउँदा पुरुषको मात्रै बनाइनु केही उदाहरण हुन्। 

महिलाले चलाएको मिडियामा पनि पुरुष हावी
२०५६ सालदेखि हो मैले लेख्न सुरु गरेको। पोखराबाट प्रकाशित हुने आदर्श समाज पत्रिकामा लेख्थें। बीचमा एक दशक ग्याप भयो। कविता भने लेखिरहन्थे। पोखरामा हुर्किएको र आफ्नै घरमा स्टेसनरी हुँदा पत्रिकासँग नजिक त भएँ तर आफैं पत्रकार भएर काम भने गरेको छैन। 

स्तम्भकारको हैसियतले लगभग सबै मिडिया उस्तै लाग्छ। ठूला केही मिडियाले सम्पादक नै बनाउने गरी महिलालाई ‘ट्रेन’ गरेको पनि देखेको छु। त्यस्तै पहिलेभन्दा अहिले विचार पृष्ठमा पनि महिला स्तम्भकारहरु आउने क्रम बढेको देखेको छु। तर दिने सामग्रीमा भने पुरुषत्व हावी देखिन्छ।

कुनै पार्टीको बारेमा समाचार लेख्नुपर्‍यो भने महिला नेतृको कोट बिरलै गरिन्छ। त्यस्तै अन्य रिपोर्टमा पनि त्यही समस्या देखिन्छ। महिलाले मात्रै चलाएको मिडिया पनि नभएको होइन तर महिलाले चलाएको मिडियामा पनि ‘आइडोलोजी ब्रेक’ गर्ने गरी समाचार विचार आएको देखिँदैन। त्यही परम्परागत पत्रपत्रिका जस्तो समाचारहरु आउने गरेको छ। 

मैले भन्न खोजेको के भने, महिलाले चलाएको पत्रिकाले सबै राजनीतिक दलमा संविधानले तोकेको ३३ प्रतिशत समावेश गरेका छन् कि छैनन्? पुरुष बराबर अधिकार किन चाहिन्छ? खोई बहस चलाएको? खोई रिपोर्ट बनाएको?

त्यस्तै नागरिकताको सवाल छ। त्यसमा भएको असमानताबारे मौन देखिन्छन् मिडिया। अहिले युवा बहिनीहरु लेखकको रुपमा उदाउनुभएको छ। उहाँहरुलाई अथवा स्थापित भइसेकेका लेखकहरुलाई समेत विचार लेख्न लगाउन सकिन्छ तर यतातर्फ काम भएको देखिँदैन। स्रोत र साधन नभएर हो या आइडोलोजी ब्रेक गर्नुपर्छ भन्ने मान्यता नभएर हो, महिलाले सञ्चालन गरेका मिडिया पनि महिलामैत्री देखिँदैनन्। महिलाले चलाएको मिडियामा पनि महिलाको सोचाइ, विचारभन्दा पनि पुरुषत्व हावी भएको देखिन्छ। 

महिला-पुरुष बराबर बनाउनु मात्र समावेशीता होइन
बाहिरबाट हेर्दा केही मिडियाले समावेशी बनाउन खोजेको जस्तो देखिन्छ। महिला लेखकलाई प्राथामिकता दिने उनीहरुको विचार, भावनालाई स्थान दिने गरेको पनि देखिन्छ। केही अनलाइनले त लेखकको रुपमा स्थापित गराएका पनि छन्। समावेशी भन्नाले महिला र पुरुष मात्रै बराबरी बनाउनु होइन। भूगोल, जात र समुदाय कतिको समावेशी छ भन्ने कुराले पनि प्रभाव पार्छ। 

एक मिडियामा पत्रकार-लेखक आधा पुरुष, आधा महिला हुँदैमा समावेशी हुँदैन। समावेशी हुन दलित कति छन्? कुन क्षेत्रका बढी छन्? यसले पनि प्रभाव पार्छ। मिडियाले समावेशी बनाउन त खोजेको छ तर सकिरहेको जस्तो देखिँदैन। 

भूगोल किन पनि महत्वपूर्ण हुन्छ भने त्यहाँको घटना र विषयवस्तुबारे ऊ जानकार हुन्छ। जस्तो मैले भीम विश्वकर्मा जो मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेकै आधारमा मारिए उनीबारे लेखें। काठमाडौं बसेकोले पनि लेख्न त सक्नुहुन्छ तर त्यही बसेर लेख्दा धेरै फरक पर्छ। 

मैले समग्र विचार पढ्दा दलितको कुरा दलितले मात्रै लेख्नुपर्ने, महिलाको कुरा महिलाले मात्रै लेख्नुपर्ने मान्यताको विकास भएको देखिन्छ। किन कोही होनाहार मानिएका स्तम्भकारले बालिका बलात्कार भएको विषयमा आफ्नो विचार प्रकट गर्दैन? किन जातको आधारमै कोही व्यक्तिको हत्या हुँदा दुख्दैन? के दलितका मुद्दा महिलाका मुद्दा राष्ट्रिय मुद्दा होइनन्? महिलाको मुद्दा महिलाले मात्रै लेख्ने हो र? 

केही परिवर्तन भए पनि समस्या छ 
पहिलो समस्या, मिडियाको कमजोरी भनेको आफ्नो स्वार्थ मिलुन्जेल मात्रै स्तम्भकारलाई लेख्न आग्रह गर्नु। जब मिडियाको स्वार्थ बाझिन थाल्छ, तब स्तम्भकार बाहिरिएको देखेको छु। यसमा सम्पादकभन्दा पनि प्रकाशकमा समस्या हो कि जस्तो लाग्छ। 

दोस्रो, पारिश्रामिक। हामी लेखक महिला फुटबल खेलाडी र पुरुष फुटबल खेलाडीलाई असमान पारिश्रामिक भयो भनेर लेख्छौं तर हाम्रो आफ्नो पारिश्रामिक नि? हुन त मैले कुनै स्तम्भकारलाई कति पारिश्रमिक भनेर सोधकी छैन। तर मलाई लाग्छ, नेपाली मिडियामा उस्तै काम गरे पनि महिला र पुरुषलाई फरक पारिश्रमिक दिन्छन् कि भन्ने शंका लाग्छ। 

तेस्रो समस्या भनेको महिला लेखकले लेखेका कुरालाई विश्वास नगर्नु। जसको लेखलाई पनि भेरिफाइ त गर्नुपर्छ तर यो यिनैले लेखिन् होला र? भनेर भेरिफाइ गरिरहनु अविश्वास नै हो। 

त्यस्तै महिलाको लेखलाई स्पेस नदिने, कुनामा राखदिने समेत गरिन्थ्यो एकताका। अहिले यसमा केही परिर्वतन भने भएको छ। पहिला हेरी अहिले विषयवस्तुलाई प्राथामिकता दिइन्छ कि जस्तो लाग्छ। महिला, पुरुष कसले रिपोर्ट गर्‍यो, के लेख्यो भन्दा पनि विषयवस्तु पनि प्राथमिकतामा पर्ने गरेका छन्। 

आशा गर्ने ठाउँ धेरै छ
समग्रमा हेर्दा सार्वजनिक ज्ञान निर्माणमा राम्रो बनाएको छ मिडियाले। प्रजातन्त्र आएपछि र भूमिगतकालमा पनि। प्रिन्ट मिडियाले जोखिम उठाएर धेरै काम गरेको हो। सचेत व्यक्तिहरुले मिडिया चलाउने गर्थे। अहिले अर्को समस्या भनेको सामाजिक सञ्जाल हो। समाजिक सञ्जालमा के हेर्ने, के नहेर्ने पाठक आफैंले फिल्टर गर्नुपर्ने अवस्था छ। पछिल्लो समय मिडियाले बलात्कार तथा हिंसाका मुद्दामा भने संवेदनशीलता देखाएको छ। 

अझै संवेदनशीलता बढाउँदै लैजाने र भविष्यमा महिला सम्पादक, दलित सम्पादक बनाउने गरी ट्रेन गर्ने हो भने नेपाली मिडियाबाट आशा गर्न सकिन्छ। 

(कवि तथा स्तम्भकार तिवारीसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....