उकेरा कोलम

चौथो अंगमा राजेन्द्र महर्जन : विचार जे भए पनि समाचार कक्षमा छिरिसकेपछि स्वतन्त्र हुनुपर्छ


कुरा सुरु गरौं, नेपालमा बौद्धिक दरिद्रता कुन हदसम्म छ भन्ने विषयमा ८ वर्षअघिको एउटा प्रसंगबाट।

२६ पुस २०७० मा लेखक सौरभले ‘फिरंगी मिथक ‘नसकटापुर’’ शीर्षकमा एउटा लेख लेख्नुभयो। लेखमा दुई विदेशी लेखक ककपेट्रिक र डेनियल राइटले पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा नाक काटेको प्रसंग उल्लेख गरेको विषय उठाइएको थियो।

ती दुई लेखकले ८६५ जना कीर्तिपुरबासीको काटिएको नाकको तौल १७ धार्नी रहेको उल्लेख गरेकोले यो तथ्य र तथ्यांक सही नभएको सौरभको मूल्यांकन थियो। नेपालका कम्युनिस्टहरुले यसैलाई आधार मानेर पृथ्वीनारायण शाहलाई दुत्कारेको आरोप समेत लेखक सौरभको थियो।

त्यसपछि मैले ९ माघ २०७० मा सौरभको लेखको अंश समेत उल्लेख गरी ‘म नकटो कीर्तिपुर नाक माग्दैछु' शीर्षकमा लेख लेखें। पृथ्वीनारायण शाहका दरबारिया कवि ललितावल्लभ अर्ज्याल कुनै फिरंगी थिएनन्। उनले समेत ‘पृथ्वीन्द्रवर्णोदय’ काव्यमा कीर्तिपुरबासीका नाक आदि काटिएको तथ्य स्वीकारेका थिए।

त्यस्तै १८०१ देखि १८६६ सालसम्मका घटनालाई समेट्दै नेपाली भाषामा लेखिएको ‘ठ्यासफु’ का लेखक पनि पक्कै अंग्रेज थिएनन्। ठ्यासफुमा उल्लेख छ, ‘कीर्तिपुरका प्रजा सबैको नाक काटेको’ इतिहासकारद्वय तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्रको ‘आधुनिक नेपालको राजनीतिक इतिहास’ अनुसार कीर्तिपुरेको नाक-कान काटिएको घटना सत्य नै प्रतीत हुन्छ।’  

विदेशीको आँखामा मात्रै नभएर स्वदेशी त्यतिबेलाकै लेखकको पुस्तक उद्धृत गरेर मैले लेख लेखेँ। सोचेको थिएँ, बौद्धिक विर्मश हुन्छ। विगतमा महेशराज पन्तले लेखेको पुस्तकमा आधारित भएर कमलप्रकाश मल्लले काउन्टर दिनुभएको थियो। मल्लको काउन्टर किताब आएपछि सोही शैलीले पन्तले पुनः जवाफ दिनुभएको थियो।

यसरी गहिराइमा पुगेर विर्मश हुन्थ्यो पहिले। सौरभले त यो कुरालाई मतलबै गर्नुभएन। उल्टो अरु लेखकहरुले मेरो लेख आएपछि काउन्टरमा सौरभको लेख आएको बुझ्नुभयो। उहाँले लेखेको १५ दिनपछि आएको थियो मेरो लेख। बौद्धिक चिन्तन, वैचारिक तहमा बहस करिब-करिब शून्य भएको छ हाम्रोमा। 

पत्रकारिता नयाँ विचारका लागि 
अहिले जुन प्रकारको विचार छ, त्यसैमा प्रश्न गर्ने अर्थात् यथास्थितिमा प्रश्न गर्ने, पुरानो संस्कार, परम्परा, विचारमाथि प्रश्न गर्ने, विचार, बहस गर्दै नयाँ खालको विचार निर्माण गर्ने हो, वैचारिक पत्रकारिताले। यही हेतुले २०४२ सालदेखि नै वैचारिक पत्रकारितामा आबद्ध भएँ। पञ्चायतकालमा एक प्रकारले भन्ने हो भने मिसन पत्रकारिता चलेको थियो। प्रायः राजनीतिक दलका पत्रिका थिए।  

म नेकपा चौथो महाधिवेशन (चौम) मा आबद्ध थिएँ। ‘मूल्यांकन’ पत्रिकाको प्रधानसम्पादक हाम्रै पार्टीका नेता वर्तमान नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ प्रकाश हुनुभयो। म सहसम्पादक भएँ। पञ्चायतकालमा पत्रिका बन्द हुन बेर लाग्दैन्थ्यो। पत्रिकाको नाम फेरेर हामी काम भने गरिरहन्थ्यौँ। 

वैचारिक पत्रकारितामा आबद्ध हुनुको एउटै कारण थियो, नयाँ खालको विचार निर्माण गर्नु। २०४८ मा मूल्यांकन मासिकको उद्देश्य नै थियो, सनातनदेखि चल्दै आएका हरेक विषयमा प्रश्न उठाउनु।

सोभियत संघमा समाजवादी व्यवस्था ढलेपछि पुँजीवादी प्रजातान्त्रिकहरुले समाजवाद ढलेको भनेर प्रचारप्रसार गरेका थिए। के समाजवाद ढलेकै हो त भन्ने बहस सुरु भयो। त्यसपछिका दिनमा पनि हामीले विश्व कम्युनिस्ट आन्दोलनमा भएका विवादित विषयलाई उठायौं र नेपालको सन्दर्भमा जोड्यौं। 

जसले आफूलाई मुलधारको पत्रकारिताले पनि वैचारिक पत्रकारिता नै गर्ने हो। केहीले गरेका पनि छन्। अधिकांश मिडियाले केही न केही विचार त बोकेकै हुन्छन्। 

एक तहसम्म नयाँ विचारको लागि पत्रकारिता गर्ने र त्यसपछि यथास्थितिमा नै रुमलिएका पनि देखिन्छन् केही पत्रकार। खैर, त्यतिबेला मूल्यांकन निस्कनुको मुल कारण वामपन्थी विचारलाई माझेर नयाँ विचार बनाउनु नै थियो। एक तहमा बन्यो पनि। वैचारिक पत्रकारिताको विश्लेषण गर्दा मूल्यांकनको उदाहरण दिँदा उपयुक्त होला। 

वैचारिक ‘छुवाछुत’ लाई मेट्ने सेतु
मूल्यांकन विल्कुल फरक थियो। २०४८ सालमा नै पार्टी र पत्रकारिता के रोज्ने भन्दा पत्रकारिता नै रोजेका थियौँ। मूल्यांकनको पहिलो कभर स्टोरी ‘समाजवाद ढलेकै हो?’ भन्ने आयो। त्यो स्टोरी डा. महेश मास्केले लेख्नुभएको थियो निरभ शेरचनको नाममा।

कम्युनिस्ट पार्टीका आ-आफ्ना मुखपत्र थिए। तिनले वामपन्थी विचारलाई कसरी सघन छलफल गर्नेभन्दा पनि आफू इतरका समूहलाई तल्लै स्तरसम्म गाली गरेर लेखिन्थे। यतिबेला कम्युनिस्ट नेताहरुले देखिने गरी मूल्यांकन पढ्नुभएन ६ अंकसम्म।

सन् १९९२ मा पेरुका गोञ्जालो गिरफ्तारीमा परे। मूल्यांकनले त्यसलाई कभर स्टोरी बनायो। कभर स्टोरी बनाउँदा रिपोर्ट र टिप्पणी सँगसँगै आएका हुन्थे। यो अंकले धेरैको ध्यान खिच्यो। वैचारिक छुवाछुत गर्ने कम्युनिस्टहरु पनि मूल्यांकन पढ्न थाले। 

वैचारिक पत्रिका चलाउनु निकै सकसको काम हो। सबैभन्दा धेरै गाह्रो आर्थिक रुपमा हुन्छ। मूल्यांकन निकाल्न पनि धेरै आर्थिक संकट भयो। 

यसका बाबजुद पनि महाकाली सन्धीको सांगोपांगो रिपोर्ट लेखियो। त्यस्तै माओवादीको ‘जनयुद्ध’को पनि सकेसम्म तटस्थ रहेर लेखियो। 

वामपन्थ विचारधारा भए पनि कसैको पक्षपोषण गरेर रिपोर्टिङ हुँदैन वैचारिक पत्रकारितामा। मूल्यांकनमा पनि माक्र्सवाद जिन्दावाद भन्ने प्रकारको आएन। एउटै विचार लाद्ने वैचारिक पत्रकारिताको उद्देश्य हुँदै होइन। चलिरहेका, बहसमा भएका विचारहरुको मन्थन गरेर नयाँ विचार सिर्जना गर्नु हो। 

‘मूल्यांकन’ कम्युनिष्ट आन्दोलन बुझेकालाई र कम्युनिष्ट आन्दोलन बुझ्न चाहनेलाई ‘नवयुवा’ थियो। ४० हजार प्रतिसम्म बिक्री हुन्थ्यो यो पत्रिका। 

एउटा राजनीतिक-वैचारिक छुवाछुत भएको समयमा पनि मूल्यांकनमा सबैका विचार आउँथे। सानोभन्दा सानो कम्युनिष्ट पार्टीको विचार पनि छुटाउने गरिएको थिएन। 

पिताम्बर शर्मा, चैतन्य मिश्र आदिको उपस्थितिले विचारहरु मथ्ने काम हुन्थ्यो।

मुलधारका मिडिया पहिलेभन्दा अहिले वैचारिक
अहिले मैले वैचारिक पत्रकारिताको अभाव महसुस गरिरहेको छु। महाकाली सन्धीमा सांगोपांगो केलाएका हामीले त्यति नै ठूलो एमसिसीबारे अहिले छलफल नै गरेका छैनौं। एकपक्षीय कुरा आएको छ। सघन रुपमा यसबारे बहस भएको छैन। वैचारिक पत्रकारिता यस्तै कारण चाहिने हो। 

वैचारिक पत्रकारिताले धर्म निरपेक्षता र संघीयताको विषयमा सघन छलफल गर्थ्यो तर यहाँ विचार मन्थन नहुँदा यथास्थिति विचारले स्थान पाइरहेको छ।

यद्यपि, मुलधारका मिडियाले पनि पछिल्लो समय विचार निर्माण गर्ने काम गरेका छन्, भलै काउन्टर आएका लेखलाई लेखकले बेवास्ता गरे पनि। मिडिया विस्तारै समावेशी हुँदैछन्। बलात्कार जस्ता जघन्य अपराधका घटना मुल समाचार बन्दैनथे पहिले। अहिले बन्न थालेका छन्।  

विचारकै सवालमा पनि वामपन्थ विचारधारा राख्नेहरुको लेख छाप्न गाह्रो हुन्थ्यो। प्रजातान्त्रिक विचारधाराका भने छापिन्थ्यो मिडियामा। अहिले यो सिन्डिकेट छैन मिडियामा। सहजै छापिन्छन् प्रजातान्त्रिक इतरका विचार पनि।

तर, विचारमा अझै पनि समावेशी हुन सकेको छैन मिडिया। ब्राह्मण त्यो पनि पूर्वका पुरुष मात्रै धेरै छन् सम्पादक। दलित, जनजाति, महिला लेखकहरुको नगन्य मात्रै आउँछन् विचार। तर पनि फरक ढंगले हस्तक्षेप गर्नेहरु बढेकै छन्। 

पहिले र अहिले मुलधारका मिडियामा देखिने गरी फरक आएको भनेको डेप्थ रिपोर्टिङ हो। ‘बताउनुभयो’ वाला पत्रकारिता अलि कम भएको छ। लामा-लामा रिपोर्ट प्रकाशित हुने गरेका छन्। 

इस्यु उठाउँदा कमजोरी अझै छन्। दलितमाथि विभेद भएका समाचार लेखिँदैनन्। लकडाउनको बेलामा हिरासतमा दलितहरु मारिएका छन्। खै आएको डेप्थ समाचार? निर्मला पन्तपछि पनि धेरै दलित किशोरी बलात्कृत भए। खै आएको डेप्थ समाचार? भीमबहादुर विश्वकर्मा मारिए। खै आएको डेप्थ समाचार? मिडियाले सबै जात, लिंगको बारेमा समान तरिकाले रिपोर्टिङ गर्न सकेको देखिँदैन। 

छठमा दलितलाई छुट्टै स्थान बनाइएकोबारे मैले विरोध गरेँ। विरोध गर्दा समाजमा विग्रह आउँछ भन्ने भयो। यो भनेको जातबीच विभेदले नछोएको हो। पुरानै विचारको पक्षपोषण गरेको देखियो। 

वैचारिक पत्रकारिता आवश्यक छ२०६४ सालमा म मूल्याङ्कन पत्रिकाबाट बाहिरिनुको कारण हो पद ओगटिराख्ने तर काम चाहिँ नगर्ने साथीहरूको गुटबन्दी । पछि गएर एक पार्टीसँग नजिकिएका मित्रहरूको दबाब थेग्न नसकेपछि श्याम श्रेष्ठ र म उनीहरूलाई पत्रिका र प्रकाशन संस्था जिम्मा लगाएर बाहिरियौँ । मूल्याङ्कन प्रकाशन गृह दर्ता गर्दाका पाँचमध्ये तीन जना एकातिर भए।

उनीहरूले हामीसँग कुनै पनि हालतमा सहकार्य गर्न नसक्ने र अलग्गिने मत राखेपछि हामी अलग भयौँ । सम्पादक र पत्रकारको निजी विचार जे भए पनि समाचार कक्षमा छिरिसकेपछि स्वतन्त्र र आलोचनात्मक हुनुपर्छ भन्ने हाम्रो विचार थियो। तर आलोचनात्मकता मरेपछि विचारको देहान्त हुन्छ र संस्थाको पनि मृत्यु हुन्छ ।

हामीले छाडेपछि देखियो, त्यहाँ त जुनसुकै विषयमा पनि पार्टी विशेषका विचार प्रवाह गर्ने र नेता विशेषको अन्तर्वार्ता पनि छापिइने दृश्य देखियो।

विचारमा देखिएको ग्यापले पनि अहिले वैचारिक पत्रकारिता आवश्यक देखेको छु। राज्यको संरचना होस्, कानुन निर्माणको कुरा होस्, कम्युनिस्ट पार्टीका नेताहरुमा आएको विचलनबारे होस् या लोकतान्त्रिक नेतामा भएको चरित्रबारे होस् प्रश्न उठाउने गरी र विचार निर्माण गर्नेगरी पत्रकारिता गर्नु आवश्यक देखेको छु। 

(हाल लेखन तथा अनुसन्धानमा सक्रिय रहेका मूल्यांकन पत्रिकाका पूर्वसम्पादक महर्जनसँग उकेराले चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....