चौथो अंगमा सुन्दर खनाल : प्रवक्ता जस्ता पत्रकार, किस्सामा समाचार लेखाउने सम्पादक

चौथो अंगमा सुन्दर खनाल : प्रवक्ता जस्ता पत्रकार, किस्सामा समाचार लेखाउने सम्पादक
तस्बिर : कृष्पा श्रेष्ठ

घटना २०६५ सालतिरको हो।

बाफलको एउटा विद्यालयमा विद्यार्थीबीच मोबाइलको निहुँमा झगडा हुँदा एक जना विद्यार्थीले आफ्नै सहपाठीको गोली हानेर हत्या गरेको समाचार बाहिरियो।

गोली हान्ने विद्यार्थीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। मारिने विद्यार्थी हाम्रै सहकर्मीका नातेदार रहेछन्। पारिवारिक डिटेल थाहा भयो।

त्यतिबेला म दैनिकीडटकममा काम गर्थें। पत्रकार गिरिश गिरि मभन्दा सिनियर हुनुहुन्थ्यो। उहाँले यो घटनाको स्टोरी गर्न मलाई भन्नुभयो।

पत्रकारिता गरेको ७ वर्ष भए पनि मैले अपराध तथा सुरक्षाको विषयमा रिपोर्टिङ गरेको थिइनँ। कसरी स्टोरी गर्ने भनेर आइडिया लिन पत्रकार विकास लम्सालसँग कुराकानी गरें। उहाँले मलाई नवराज सिलवालको नम्बर दिनुभयो। सिलवाललाई फोन गरें। फोन उठेन। म महानगरीय प्रहरी परिसर पुगें। साँझ परेकाले उहाँ हिँड्न लाग्नुभएको रहेछ। 

मैले भेट्न खोज्नुको कारण बताएपछि उहाँ फोनै नगरी आउने? भनेर कराउनुभयो। ‘घटना प्रहरीलाई खबर गरेर आउँदैन। पत्रकारलाई पनि के लेख्नुपर्छ थाहा हुँदैन। त्यो घटना के भएको हो मलाई भन्नुस्। मैले लेखेको समाचार हेर्नुहोला।’ यति भनेपछि उहाँ कन्भिन्स हुनुभयो।

उहाँले सोही मुद्दा हेरिरहेका अनुसन्धान अधिकृतलाई भेटाइदिएपछि मैले सबै कुरा थाहा पाएँ। अभियुक्तलाई पनि भेटें। उनी कक्षामा प्रथम हुने विद्यार्थी रहेछन्। उनका कपीहरु पनि हेरें। जीवन सम्बन्धी लेखेको निबन्धले मलाई तान्यो। जीवनबारे उनले लेखेको निबन्ध कुनै दार्शनिकको भन्दा कम थिएन। उनीसँग कुरा गर्दा आफूलाई पश्चाताप भएको बताए। भोलिपल्ट मैले त्यही निबन्धबाट सुरुवात गरेर पक्ष–विपक्ष दुवैको मिसाएर स्टोरी तयार गरें। त्यो स्टोरी सबैले रुचाए पनि। 

अहिलेको अपराध तथा सुरक्षा रिपोर्टिङमा पक्ष-विपक्षको साङ्गो-पाङ्गो समेटेर कति स्टोरी आएका छन् भनेर हेर्नुपर्ने हुन्छ। ओभरल हाम्रो रिपोर्टिङ हेर्दा एकपक्षीय देखिन्छ। त्यसको प्रभाव स्वभाविक रुपमा अपराध तथा सुरक्षा रिपोर्टिङमा पनि परेको छ। 

पत्रकारलाई बदनाम गराउने प्रहरी हुन्
पहिले र अहिलेको क्राइम रिपोर्टिङ धेरै फरक भएको छ। पहिले प्रहरीको संगत गर्नुलाई क्राइम रिपोर्टिङ भनिन्थ्यो। हवलदारलाई दाइ भन्ने, इन्स्पेक्टरलाई आइस्यो–गइस्यो लगाएर बोल्ने, डिएसपीसँग भेट भए ‘भगवान’ जस्तो ठान्ने, डिआइजी त झन् महान नै भइहाल्यो। आइजीलाई भेटेर फोटो खिच्न पाए त लाइफ टाइम मेमोरी नै भएको ठान्ने प्रबृत्ति थियो। प्रहरी गतिविधिको समाचार लेख्ने, प्रहरीसँगको सामिप्यताको कारण समाज र न्युज रुममा समेत क्राइम रिपोर्टर ‘स्पेसल’ मानिन्थ्यो।

लाइसेन्स प्रहरीले समात्यो भने पनि प्रहरीलाई भनेपछि छुटाइदिने जस्ता स–साना कुरामा उपयोग गर्न खोजिन्थ्यो। कति साथीहरु उपयोग हुन्थे पनि। त्यतिबेला आमपत्रकारिता नै त्यस्तै थियो। व्यावसायिक दायरा नाघेर बढी संगत गरेको देखिन्थ्यो। पेसाको गरिमालाई चटक्कै बिर्सेको पाइन्थ्यो। 

२०४६ अघि प्रहरीहरु कमजोर थिए। पछि प्रहरी समाजसँग घुलमिल हुनेमा पर्यो। प्रहरीले नेतासँग पनि हिमचिम बढाउन थाले। प्रहरीमा राजनीतिकरण भयो। राजनीतिबाट हस्तक्षेप पनि भयो प्रहरी संगठनमा। केही प्रहरी तस्करी गरेर कमाउने भए। पत्रकारलाई सूचना चाहिने, प्रहरीसँग नजिक हुनुपर्ने। नजिक हुँदा केही पत्रकारहरु त्यसैमा रंगिने पनि भए।

त्यो बेलाका पत्रकारलाई बदनाम गराउने प्रहरी नै हुन्। यी पत्रकारहरु यस्तै हुन् भन्ने न्यारेटिभ स्थापना भएको देखिन्छ। यसको अर्थ सबै प्रहरीलाई भनेको होइन। एक पक्षको कमजोरी नभई अर्को पक्षले बदनाम त गराउँदैन नै। तर क्राइम रिपोर्टिङ जुन तहमा बदनाम छ त्यो तहमा बदमासी छैन। एकाधको गैर व्यवसायीक चरित्रको भार अन्यले बोक्नु परेको चेैँ सत्य हो।

२०४६ देखि ०६० सम्मको कुरा गरें मैले। त्यो बेलामा पनि राम्रो क्राइम रिपोर्टिङ गर्ने पत्रकार नभएका भने होइनन्। सबैलाई एउटै डोकोमा राखेर बुझ्नुहुन्न। उनीहरूको संख्या कम भने थियो।

जब अपराधभित्र कथा देख्न थालियो
२०६० सालपछि भने प्रहरीले दिएको सूचनाको आधारमा मात्रै समाचार लेख्ने तरिका बदलियो। अपराधभित्र कथा खोज्न थालियो। जुनसुकै घटनालाई आलोचनात्मक दृष्टिकोणले हेर्न थालियो। मानौं, श्रीमतीलाई श्रीमान्ले बञ्चरोले हान्यो भन्ने समाचार आयो। यसैलाई महिमामण्डन गरेर लेख्ने गरिन्थ्यो पहिले। पछि अपराध हुनुमा के कारण हुनसक्छ खोतल्न थालियो। सामाजिक अपराधलाई मनोविज्ञानसँग र संगठित अपराधलाई अर्थ राजनीतिसँग जोडिएर हेरियो।

यसरी हेर्दा रिपोर्टिङको दायरा फराकिलो भयो। कुन कनेक्सनले कसलाई छुन्छ र घटना हुन्छ भन्ने कुरा बाहिर आयो। महिमामण्डन कम हुन थाल्यो। 

यसरी समाचार लेख्न थालेपछि राज्य कानुन बनाउन बाध्य भयो। सुरक्षा निकायलाई पनि कानुन बनाउनुपर्ने आवश्यकता बोध हुँदै गयो। २०६० पछि नै सिआइबीको गठन भयो। मलाई लाग्छ, यसो हुनुमा संगठित अपराधबारे लेखिएका समाचारको प्रभाव पनि एक कारण हो। 

रञ्जन कोइरालाले श्रीमती मारेपछि उसलाई पक्राउ गर्नुमा हाम्रो रिपोर्टिङले सहयोग गरेको छ। त्यतिबेला मैले सुडेनी भेटें बाटोमा। त्यस्तै अरु स्थानीयले केही भेटे। सत्य र तथ्य पुगेपछि समाचार लेखियो।

अनुसन्धानात्मक स्टोरीहरुमा प्रहरीभन्दा पत्रकारले पहिल्यै पुगेर अनुसन्धान गर्ने पनि गर्छन्। नेपालमा यस्ता धेरै रिपोर्टिङहरु छन् जो पत्रकारले पहिले पछ्याएर पछि प्रहरीले पछ्याएका।

अहिले स्रोतमा धेरै पहुँच भएर पनि अन्तरदृष्टि र मिहिनेत बिनाको रिपोर्टको बिगबिगी छ। अपराधको प्रकृति फेरिएको छ, तर समाचार उस्तै छ। हामी  पहिलेभन्दा पनि कमजोर रिपोर्टिङ गरिरहेका छौं।

राष्ट्रिय सुरक्षालाई चुनौती दिनेगरी थिति विरुद्धका अपराध भएका छन् अहिले। पोलिसी करप्सन, कर छलेर पोलिसीलाई कमजोर बनाउने र त्यसबाट अकुत सम्पत्ति कमाउने, सम्पत्ति विदेश लगेर जम्मा गर्ने प्रकारको अपराध देखिएको छ।

कस्तो भ्रष्टाचार भइरहेको छ राज्यले आकलन गर्न सकेको छैन। राज्य चलाउनेहरुको संरक्षणमा यस्ता काम हुने गरेका छन्। खोई हामीले यसलाई उधिनेर लेख्न सकेको? राजनीतिक, आर्थिक शक्तिको दुरुपयोग भएको छ। खेै त्यसमा ध्यान दिन सकेको? अहिले सुरक्षा रिपोर्टिङ र पत्रकारको क्षमताबीच दूरी बढ्दै गएको देखिन्छ। 

यसमा रिपोर्टरको मात्रै भूमिका भने हुन्न। मिडिया सक्षम हुनुपर्यो। पत्रकारलाई सेवा-सुविधा दिनुपर्यो। स्टोरीलाई पर्गेल्न सक्ने सम्पादक हुनुपर्यो। नेपालका अधिकांश सम्पादकले जसरी राजनीतिक समाचार पर्गेलेका छन्, अन्य समाचार पर्गेल्छन् भन्नेमा मलाई शंका छ।  
प्रवक्ता जस्ता पत्रकार

धेरैले उठाउने प्रश्न भनेको पत्रकारहरु प्रहरीका प्रवक्ता जस्ता भए भन्ने हो। केही हदसम्म सत्य पनि हो। तर पूर्ण सत्य भने होइन। सक्षम पत्रकारलाई काम लगाइदिने हो भने यो समस्या देखिँदैन। पत्रकारितामा जोसँग प्यासन छ, काम कसरी गर्ने बुझ्छ, उसैलाई काम अह्राइदिनुपर्ने हो। तर समस्या के छ भने, पहिले-पहिले गाउँमा फुटबल खेल्दा नजान्नेलाई गोलकिपर बनाएजस्तै गरी बिट वितरण गरिन्छ। पत्रकारितामा रहर गर्नेलाई क्राइम बिट दिएर टार्ने चलन अझेै छ।

यसको अर्थ पत्रकारको क्षमतेै छैन भनेको पटक्कै होइन है। एउटा फ्याक्टरले मात्रै काम गर्दैन भन्न खोजेको मात्र हो। जसरी वैज्ञानिकले अनुसन्धान गर्छ, विभिन्न रसायनहरुको समीकरणबाट नयाँ कुरा बनाउँछ, त्यसरी नै पत्रकारले घटना थाहा पाउने, सो घटनाको सत्य-तथ्य जाँच गर्ने र त्यसलाई सहज तरिकाले पस्कने गर्छ। अनुसन्धान एकै प्रकारले गरिन्छन्। अनुसन्धानमा खुबी र रुचि भएकालाई अपराध र सुरक्षा रिपोर्टिङ सुरु गराउँदा पत्रकार खारिएर निस्कन्छ। अपराध र सुरक्षाको गुरुत्वलाई नबुझी रिपोर्टिङ गर्ने चलन भएकाले जानेर/नजानेर प्रहरीको प्रवक्ता जस्ता देखिएका हुन् पत्रकार। 

जताततै हिरोइजमको रोग
प्रहरीको सरुवा-बढुवा भएको समाचार यति प्राथमिकताका साथ छापिन्छन् कि लाग्छ यो देशमा अन्य सरकारी संयन्त्रमा काम गर्नेको सरुवा-बढुवा नै हुँदैन। प्रहरीको सरुवा-बढुवामा यति धेरै इन्ट्रेस्ट किन? जब कि यो सामान्य प्रशासनिक काम मात्र हो।

अर्को, घुस नखानेलाई प्रहरीलाई हिरो बनाइरहेका छौं। कुन चाहिँ काममा घुस खान हुन्छ? अझ कतिपय साथीहरुले सिधै आएको मात्र खान्छ, लुटेरै त खाँदैन नि भनेर स्वीकारेको समेत पाइन्छ। बदमासी गरेर खाओस् कि जसरीसुकै खाओस्, घुस त घुस नै हो नि। अब प्रश्न उठाउने नै यसरी कन्भिन्स भएपछि के लाग्छ? 

हाम्रो प्रहरी सक्षम छ। न्यून स्रोत र साधनमा पनि प्रहरीले धेरै ठूला अनुसन्धान गरेर सफलता पाएको छ। तर कुनै अपराधको आरोपी पक्राउ गर्दैमा त्यो प्रहरीलाई हिरो बनाउनुपर्ने त हैन। प्रहरीले नै त हो आरोपी पक्राउ गर्ने। हामी सिस्टमभन्दा नायक खोज्न लागिरहेका छौं। पत्रकारले बनाएका नायकहरु जिम्मेवारीमा पुगेपछि खलनायक भएका पनि छन्। त्यसैले हाम्रो काम कसैलाई नायक बनाउने हैन। अब पत्रकारले नायक छान्ने काम छाड्नेैपर्छ।

पत्रकारले एजेण्डा सेट गर्ने मात्र होइन, प्राथमिकता निर्धारण पनि गर्ने हो। पाठकको एजेण्डा छोडेर प्रहरीको जागिरको एजेण्डामा लागेर हुँदैन पत्रकारले। बरु प्रहरीलाई नेताबाट आएको दबाब, उनीहरुको मनोविज्ञानलाई मिहिन पाराले लेख्दा हुन्छ। त्यहाँ भित्रका विभेद लेख्न सक्नुपर्छ। 

यो सत्य हो, सुरक्षा रिपोर्टिङ जुन तहमा हुनुपर्ने हो, त्यो तहमा भएन।  गुणस्तर बढ्नुपर्ने झन् घट्यो। नयाँ पुस्तामा कम प्यासन देखियो। यो सुखद लक्षण हैन। अन्य विषयमा चेैँ बबाल रिपोर्टिङ भइरहेको भन्ने हैन। अन्य बिटको हालत नि उस्तै हो।

अहिलेको क्राइम रिपोर्टिङमा अभियुक्तको बयान फुत्काउने प्रतिस्पर्धा छ
प्रहरीका गुटअनुसार पत्रकार छन् भन्ने आरोप पनि लाग्ने गर्छ। हाम्रो समाजको चरित्र हो यो। यसैको प्रभाव मिडियामा पनि पर्छ। परेको छ। नेताको बारेमा लेख्दा, धार्मिक गुरुको बारेमा लेख्दा हाम्रो पक्षधरता खुलाएर लेखिदिन्छौं। तर समाचारमा यस्तो हुनुहुन्न। पत्रकारले पेसागत मर्यादा नाघेर सम्बन्ध बनायो भने जुनसुकै बिटमा पनि गुटका पत्रकार निस्कन्छन्। हाम्रोमा कुनै एक बिटलाई दोष देखाउनै पर्दैन। व्यक्तिगत सम्बन्ध धेरै नजिक भएपछि यस्ता समाचाहरु अनियन्त्रित रुपमा आउँछन्। आएका छन्।

यसको कारण हाम्रोमा सम्पादकीय विवेक कमजोर छ। पहिलेभन्दा अहिले झन् कमजोर भएको पाउँछु म। कुन अर्थमा भने, अर्को मिडियाले उठाएको गम्भीर इस्यु अर्को मिडियाले उठाइदिँदैन। जसले गर्दा लेख्ने मान्छे बेबकुफ बन्छ। जस दिन सार्है कन्जुस छौ हामी। 

सशस्त्र प्रहरी बलमा भएको बेथिति विरुद्ध मैले समाचार लेखें। सो समाचार अन्य मिडियामा आएन। उल्टो समाचार लेखिएकाहरुको चाकडी गर्न जाने चलन पो देखिएको छ। पत्रकारिताको लागि यो राम्रो होइन। यसले पत्रकार हैन दलाल मात्र बढाउँछ।

अर्को  समस्या राष्ट्रिय सुरक्षा बुझ्ने सम्पादक एकदम कम छन्।  सम्पादकको योग्यता राजनिती बुझ्ने अनी नेता चिन्ने जस्तो भो। सशस्त्र प्रहरीलाई सीमा सुरक्षा बलमा लान सकिन्छ भनेर कति मिडियाले उठाएका छन्? पार्टीमा जाने, दारु खाने, फलानो एसपी त यस्तो छ रे भनेर सुनेको किस्साका आधारमा समाचार लेखाउने सम्पादक पनि छन्। फलानो एसपी फलानोभन्दा राम्रो रे, त्यसैलाई हिरो बनाएर लेख भन्ने पनि छन्। समाजको चरित्र रोल मोडल बनाउने छ। मिडिया पनि यतै धकेलिएका छन्। 

४/५ जना क्राइम र सेक्युरिटी लेख्ने अब्बल पत्रकार नभएका होइनन्। तर अहिले कसले चाँडो अभियुक्तको बयान फुत्काउने भन्ने होडबाजी चलिरहेको छ।सम्पादक र रिपोर्टर सबैमा यस्तै देखिन्छ।

३३ किलो सुन काण्डमा एक निर्दोषलाई प्रहरीले समात्यो। उसले अत्यन्तै दुःख पायो। तर कसैलाई छोएन यो कुराले। यसले समाचार कक्षबाट मानवीय विवेक हराइरहेको देखायो।

न्याय समेत मरेको छ सुरक्षा रिपोर्टिङमा। मानवीय संवेदना नदेखिँदा निर्मला पन्तको बलात्कार जस्ता हुन्छन् रिपोर्टिङ। प्रहरीको मात्रै विश्वास गरेर लेख्दा छोरीमैयाँको केस जस्ता हुन पुग्छन् समाचार। त्यसैले त पत्रकारले आलोचनात्मक तरिकाले सोच्ने गर्नुपर्छ। 

भनसुन गर्ने होइन क्राइम रिपोर्टरले
हामीले समाचार लेख्दा कुनै पनि घटना घट्नुमा त्यसको सांगोपांगो केलाएर लेख्नुपर्छ। कुनै महिलाको अपहरण भएर अवस्था पत्ता नलाग्नु, बलात्कारपछि हत्या हुनुमा त्यो घटना मात्रै प्रमुख हुँदैन। हाम्रो देशको लैंगिक समानता कस्तो छ भन्ने कुराले पनि प्रभाव पर्छ। यो एंगलबाट रिपोर्टिङ आएका छन् त? हामी पत्रकार आफैं न्यायाधीश बन्छौं। आफैं प्रहरी बन्छौं। आफैं अभियन्ता बन्छौं। केही भएन भने पत्रकार बन्छौ। अनि कसरी डेप्थ रिपोर्टिङ आउँछ? 

प्रहरीले गेस्ट हाउसबाट प्रेमी-प्रेमिका पक्राउ गर्छ। कुनै पनि व्यक्तिलाई अनैतिक-नैतिक भनेर सार्वजनिक रुपमा बेइज्जत गर्छ। यस्तो अधिकार उसले कहाँबाट पायो? खोई हामीले यसलाई लेखेको? हामीले लेख्नुपर्ने यस्ता धेरेै विषय छन्। तर यसका लागि पत्रकारको सोचाई फराकिलो हुन आवश्यक छ। प्रहरीको विज्ञप्तीमै रमाउँदा यस्ता विषय ओझेेलमा परेका छन्।

पत्रकारलाई मिसयुज्ड गर्न खोज्नेबाट जोगिनुपर्ने अवस्था छ। आफन्त, साथीभाइ सबै लाग्न सक्छन्। एक जना अलि गन्यमान्य व्यक्तिले मलाई थानकोटदेखि स्कर्टिङका लागि प्रहरीलाई भन्दे न समेत भनेका थिए। एक जनाले सरुवा गरौं, मिलेर ५/५ लाख रुपैयाँ खाउँ भनेर समेत अफर गरे।  यस्ता अफर आउँछन्। जोगिने आफेै हो। पत्रकारले लबिङग गर्ने होइन। प्रहरीले पनि घुस खुवाउन सक्छन्। रिपोर्टर यस्ता प्रलोभनबाट जोगिन सक्नुपर्छ।

स्टोरी खोज्दै मिडिया 
पत्रकार रामकृष्ण रेग्मीले एउटा सिकर्मीले राम्रो रुख देख्यो भने दराज–पलङ, झ्याल–ढोका यस्तो बनाउँछु भन्ने सोच्छ। अल्छी खाले पर्यो भने रुख काटेर बेच्छु भन्छ भन्नुहुन्थ्यो। हामी पत्रकार दोस्रो खाले भएका छौं, स्टोरी दिने मामिलामा। 

तर, पछिल्लो समय डिजिटल मिडियाको संख्या बढेसँगै  अनलाइन हो, अपडेट दिए हुन्छ भन्ने सोचाइ फेरिँदै  छ। डेप्थ, इन्भेस्टिगेटिभ स्टोरी दिनुपर्छ भन्नेमा मिडियाहरु लगेका छन्।

स्टोरी खोज्दै जाने जागिरे मानसिकता त्यागेर प्यासनमा लाग्न सकियो भने नेपालमा हरेक बिटमा स्टोरी नै स्टोरी छ। त्यसमाथि अपराध तथा सुरक्षामा त धेरै छ। 

(आयोमेल डटकमका प्रधानसम्पादक खनालसँग उकेराकर्मी प्रजु पन्तले उकेराको चौथो अंग कोलमका लागि गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

६ पुस, २०७८, १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।