उकेरा कोलम

चौथो अंगमा सुवास ढकाल : टेब्लोइड पत्रिकाको क्रेज अब फर्किंदैन 


तस्बिर : कृष्पा श्रेष्ठ

कान्तिपुर पब्लिकेसनले सह-प्रकाशनको रुपमा 'साप्ताहिक' निकाल्ने भएपछि किशोर नेपालले प्रोपोजल हाल्नुभयो। प्रोपोजल पास पनि भयो। तर राजनीतिक समाचार बिना पत्रिका निकाल्नु निकै चुनौतीपूर्ण काम थियो।

कभर स्टोरी राजनीतिक नै निकाल्ने साप्ताहिकका भित्री पेजहरु भने ग्ल्यामर थिए। त्यो बेला ग्ल्यामर पत्रिका अरु थिएनन्। पञ्चायतकालमा रमेशनाथ पाण्डेको नयाँ सन्देश पत्रिका भने थियो।

निस्केको केही वर्षपछि नै आँट गरेर साप्ताहिकले राजनीतिक कभर स्टोरी पनि छाप्न छोड्यो। राजनीति र मनोरञ्जन भएको पत्रिका अब सोसल र मनोरञ्जन हुने भयो। यो काम निकै चुनौतीपूर्ण थियो। तर एक सटमै थाहा भयो, राजनीतिक समाचार बिना पनि पत्रिका चल्छन् नेपालमा भन्ने कुरा। 

कोलमले चलेका साप्ताहिक 
साप्ताहिक सबैको लागि मन परेको पत्रिका थियो। केटा र केटी दुवैको रोजाइमा पर्थ्यो। कलाकारको अन्तर्वार्ता मुलधारको मिडियामा आए पनि साप्ताहिकमा आइदिए हुन्थ्यो भन्ने उनीहरुको चाहना हुन्थ्यो। कलाकारमाझ पनि उत्तिकै लोकप्रिय थियो साप्ताहिक।  

टेब्लोइड पत्रिका चल्ने हो भनेको कोलमले पनि हो। साप्ताहिकमा सन्देश, यौन जिज्ञासा, पत्रमित्रता, कान्तिपुर गाथा जस्ता कोलम थिए। पत्रमित्रता भन्ने कोलमबाट साथीहरु बन्ने गर्थे। केटाले केटीलाई केटीले केटालाई पत्र पठाउँथे। यो कोलममार्फत कतिको त विवाहसम्म भएको थाहा पाइयो।

त्यस्तै, अर्को कोलम थियो सन्देश। मानौं, तपाईंले कतै हिँड्दा कोही मान्छे देख्नुभयो। ऊ तपाईंलाई मन पर्‍यो भने पत्रिकामा उसको बारे लेख्न पाइन्थ्यो अर्थात् सन्देश पठाउन पाइन्थ्यो। फलानो ठाउँमा फलानो कपडा लगाएकी÷लगाएका व्यक्ति मन परेको हुँदा सम्पर्क गर्नुहुन भनेर लेखिन्थ्यो। यो कोलम पनि निकै चल्यो। कतिको भेटघाट पनि भयो भन्ने सुनियो। 

सन्देश भन्ने कोलम रेडियो टेलिभिजनमा यो गीत फलानोलाई डेडिकेटेड भन्नेबाट प्रभावित भएर राखिएको थियो। त्यस्तै विद्यार्थीलाई कस्तो पढ्ने, के गर्ने भन्नेमा केन्द्रित थियो। १४/१५ वर्षदेखि २५ वर्षसम्मका युवाको लागि टार्गेटेड थियो पत्रिका।

यौन जिज्ञासा भन्ने कोलम यति चल्यो कि तीन वटा पत्र आएका छन् भने दुई वटा त यौनसँग सम्बन्धित हुन्थे। दावीका साथ भन्न सकिन्छ, साप्ताहिकले समाजलाई खुलापनमा लैजान धेरै सहयोग गर्‍यो। 

अश्लिल हैन टेब्लोइड 
साप्ताहिकले ‘श्रीमानले विदेशबाट पठाएको पैसामा श्रीमतीको मोज मस्ती’ शीर्षकमा समाचार छाप्यो अन्तिम पृष्ठमा। यो समाचारले हंगामा भयो। समाचारको बीचतिर लाहुरेनी शब्द परेछ। ब्रिटिस लाहुरेको श्रीमतीको चरित्र हत्या गरेको आरोप लाग्यो।

साप्ताहिक निस्केको धेरै समय भएको थिएन। बस नै रिजर्भ गरेर कान्तिपुर पब्लिकेसनको कार्यालय घेर्न आए। प्रहरीहरु पनि थिए। उनीहरुले समाचारमा आपत्ति मात्रै जनाएनन्, माफी माग्नुपर्ने पनि बताए। हामीले भोलिपल्ट कान्तिपुरमा नै माफी माग्यौँ। त्यो समाचारमा गल्ती भएकै थियो। 

अर्को घटना- ३३ किलो सुन काण्डमा सनम श्रेष्ठको मृत्यु भएको समाचार लेखियो। समाचार त लेखियो, फोटो भने गुगलको प्रयोग गरियो। सनम श्रेष्ठ त ललितपुरका व्यापारी पो परेछन्। नाम जुधेकोले फोटो उनको परेछ। उनी त दलबल सहित आए अफिस घेराउ गर्न। माफी मागेर उनलाई सम्झाएर पठाइयो। 

टेब्लोइडलाई अश्लिल पत्रिकाको उपमा पनि दिइयो। तर नबुझ्नेले त्यस्तो भन्ने गर्थे।

सुरुमा गसिप बुझ्ने व्यक्तिहरु थिएनन्। गसिप कलाकारहरु विरुद्ध भएको जस्तो देखियो भने धेरै विरोध आउँथ्यो। साप्ताहिकमा छापिएको तस्बिरलाई लिएर विरोध पनि नभएको होइन। म तिनलाई भन्थें, साप्ताहिक साकाहारी पत्रिका होइन भनेर। 

यौन व्यवसायीका व्यथा जस्ता मुलधारका पत्रिकाले स्थान नदिने स्टोरी ट्याब्लोइडका आँखामा परे। आफ्ना कथा छापिएपछि उनीहरुलाई पनि आफ्नो पेसामा आत्मसम्मान हुनुपर्छ भन्ने बनायो भन्ने मलाई लाग्छ। 

टेब्लोइडले महिलालाई वस्तुकरण गरेको, 'नारी' जस्ता पत्रिकाले महिलालाई होच्याएको भन्ने कुरा पनि आए। तर यी पत्रिकाको प्रकृति नै जीवनशैलीसँग सम्बन्धित हो र पढ्ने बानी नभएकालाई पढाउन बनेको हो। ब्युटिसियन बनेर आत्मनिर्भर भएका, लेख्न सिक्दै गरेका युवाहरुलाई प्राथामिकता दिने पत्रिका कसरी वस्तुकरण हुन्छ? महिला-युवा बढी टार्गेटेड पत्रिका थिए यी।   

ब्ल्याकमा बिक्री हुने पत्रिका बन्द
एकै घरमा पाँच सदस्यीय छन् भने पाँच जनाले किन्थे पत्रिका। यसको अर्थ के भने ओपन थिएन समाज। त्यहाँ प्रकाशित सामग्री सेयर गरेर पढ्ने चलन थिएन। पाँच हजार डमीमा निस्केको साप्ताहिक १ लाख ६५ हजारसम्म बिक्री भयो। जिल्लातिर त ब्ल्याकमा पनि बिक्री भयो। १० रुपैयाँ मूल्य भएको पत्रिका १५/२० रुपैयाँसम्ममा बिक्री भएको खबर पनि हामीलाई आउँथ्यो। 

साप्ताहिकको क्रेज हेर्दा के बन्द होला र भन्ने लाग्थ्यो। तर जसै २०७० सालपछि  स्मार्ट फोन आयो, त्यसपछि भने ट्याब्लोइड पत्रिकाको बजार उठ्नै नसक्ने गरी थला पर्यो्। 

सैलुनदेखि बेड रुमसम्म टाँसिन्थे ट्याब्लोइड पत्रिका। मध्यपृष्ठमा केटीहरुको फोटो छापिने हुँदा केटा र केटी दुवैको रोजाइँमा पर्थ्यो साप्ताहिक। पाठकले किन केटीको मात्रै भनेर सोधेर हैरान पार्थे। मध्यपृष्ठ र कभर स्टोरीमा भने महिलाकै तस्बिर रुचाइन्थ्यो। पुरुषको पनि कोसिस नगरेको होइन, तर पाठकले रुचाउँदैनथे। बिक्री नै हुँदैनथ्यो पत्रिका। समय अनुसार परिर्वतन हुन नसकेर बन्द भए ट्याब्लोइड पत्रिका। 

ग्लोज पेपर र समय अनुसारको कन्टेन्ट दिन सकेको भए अझै चल्थ्यो भन्ने लाग्छ मलाई्। लगानी गर्न डराएपछि र पुरानै ढर्राले पत्रिका चलेपछि नचल्नु त स्वभाविक नै हो। अहिले त नेपालका ट्याब्लोइड पत्रिका सबै नै बन्द भए। 

अनलाइनमार्फत फर्काउन सकिन्छ
भारतीय मिडिया हेर्न हो भने ट्याब्लोइड पत्रिका अझै पनि छन् अनलाइनको रुपमा। उनीहरुले दिने गसिपदेखि अन्य कन्टेन्ट चलेकै छन्। तर नेपालका अनलाइन मिडिया भने एकलकाटे भए। 

नेपाली पत्रकारितामा राजनीतिले पहिलेदेखि नै अन्य सबै प्रकारका कन्टेन्टलाई डोमिनेसन गर्दै आएको हो। अहिले पनि त्यही नै छ। एउटा कुनै न्युज एजेन्सीको समाचार किन्यो, कुन नेताले के भन्छदेखि सबै किनेर समाचार हाल्यो, यस्तो पत्रकारिता कसरी चल्ला र? 

लाइफस्टाइल सम्बन्धी सामाजिक गसिप, फिल्म सम्बन्धी समाचार उत्पादन गर्न सकेका छैनन् हाम्रा मिडियाले। ट्याब्लोइड पत्रिका शैलीका अनलाइन भने चलाउन सकिन्छ। 

लगानीकर्ताले आम्दानीको दृष्टिकोणले मात्रै लगानी गर्न चाहन्छ। तर पत्रकारले पाठकलाई के–के कन्टेन्ट चाहिन्छ, त्यसमा ध्यान दिएर लेख्नुपर्छ भन्ने मलाई लाग्छ। पत्रकार पत्रकारभन्दा पनि करिन्दा भएका कारण धेरै कन्टेन्ट आउन सकेका छैनन्। अह्राएको काम ग¥यो, सकियो। खास पत्रकारले त आफ्नै बलबुद्धिले भ्याएर नयाँ सिर्जना गर्नुपर्ने हो, यो देखिँदैन। 

त्यस्तै अहिलेका पत्रकारको कन्टेन्ट, भाषा र प्रस्तुति चित्तबुझ्दो छैन। प्रविधिमा अगाडि छन् अहिलेका पत्रकार। राम्रा पक्ष पनि धेरै नै छन्। तर सुधार गर्नुपर्ने पनि उत्तिकै छन्। टाँप बाँधेको घोडा जस्तो हुनुभएन पत्रकार। पाठकको रुचि अनुसार कन्टेन्ट दिने हो भने ट्याब्लोइड कन्टेन्ट चल्ने बजार अझै छ भन्ने लाग्छ। 

(ट्याबलोइड पत्रिका ‘साप्ताहिक’ का पूर्वसम्पादक एवं नेपाल खोजका प्रधानसम्पादक ढकालसँग उकेराको चौथो अंग कोलमका लागि गरेको प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....