चौथो अंगमा दीपक अधिकारी : ब्रेकिङ दिने होडमा तथ्यलाई नै बेवास्ता गर्छन् हाम्रा मिडिया

चौथो अंगमा दीपक अधिकारी : ब्रेकिङ दिने होडमा तथ्यलाई नै बेवास्ता गर्छन् हाम्रा मिडिया

पहिलो उदाहरण, २०७७ चैत २९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे धेरै भ्रम फैलाए। सातै प्रदेशका मुख्यमन्त्रीसित कोरोना भाइरसको रोकथामबारे भिडियो कन्फरेन्समा उनले आफ्नो धारणा राखेका थिए। उक्त भिडियोमा ओलीले कोभिड-१९ बाट बच्न केही उपाय अपनाउनुपर्ने बताएका थिए। भाइरस भनेको निर्जीव तत्व हो भनेका थिए । 

यो निर्जीव तत्वमा जुन बोसो हुन्छ, त्यसले जीवित तत्वको रुपमा सक्रिय गराइदिन्छ। तातोपानी खाने, बाफ लिने गर्यो भने ठिक हुन्छ। यसबाट बच्न चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने, तातोपानीले हात धुने लगायतका विधि उनले सुझाएका थिए। 

आफ्नो कार्यकालभरि उनले कोरोना भाइरसलाई हल्का रुपमा लिए। उनले जे बोलेका थिए, कुनै विज्ञसित छलफल गरेर बोलेका थिएनन्। सरसर्ती हेर्दा गलत सूचना फैलाउने उद्देश्यले नै उनले गलत कुरा बोलेका हुन् जस्तो देखिएको थियो।

कोरोनाबारे ओली मात्रै होइन, ब्राजिलका सरकार प्रमुखदेखि भारतीय सरकार प्रमुखले भ्रामक कुरा बोलेका थिए। 

अर्को उदाहरण, २०७६  मंसिर २३ मा प्रधानमन्त्री भएकै बेला ओलीले भने, 'नेपाल सबैभन्दा कम कर लाग्ने देश हो।' जबकी हामीले तथ्य जाँच गर्दा अरु नै देशमा कम कर लाग्ने देखियो। 

उनीमात्र होइन, राजनीतिज्ञले बोलेका अनावश्यक कुरालाई प्राथमिकताका साथ छाप्ने, प्रसारण गर्ने गरेका छन् नेपाली मिडियाले। कति मिडियाले उनीहरुले बोलेका सही हुन् कि होइनन् भनेर तथ्य जाँच गरेका छन्? आफूले लेखेको समाचारमा मात्र होइन, नेताले बोलेका भाषण जस्ताको तस्तै छाप्ने बाहेक तथ्य जाँच गरेर उनले यो बताए पनि वास्तवमा सही कुरा यो हो भनेर समाचार प्रकाशन एकदमै कम हुन्छ। 

हतार किन? 
२०७२ सालमा संविधान जारी भएपछि तराई-मधेसमा  आन्दोलन भयो। सो आन्दोलनमा भएको आन्दोलनकारीको मृत्यु संख्यामा नेपाली मिडिया चिप्लिए। गलत तथ्यांक लेखे। 

त्यस्तै आफूलाई अर्बपति बताउने रसेन्द्र भट्टराईबारे नेपाली मिडियाले प्रोफाइल लेखे। अनुजा बानियाँले ठूलो रकम भेटेको र सम्बन्धित मान्छेलाई दिएको भनी चर्चामा आइन्। उनीबारे प्रोफाइल लेख्न हतारिने मिडियाले खास कुरा के हो त? साँच्चै भट्टराई अर्बपति हुन् त? बिल क्लिन्टनलाई भेटेकै हुन् त? अनुजाले जे दावी गरिन् सो सही नै हो त? हामीले यतातर्फ खोजीभन्दा पनि ब्रेकिङ दिन हतार गर्यौं। जसले गर्दा मिडिया आफैंले अफवाह फैलाउने माध्यम झैँ भए।  

मिडियाले सत्य-तथ्य जाँच नगरी समाचार प्रकाशन गर्दा कत्तिको चरित्र हत्या भएको छ, कत्ति साँच्चैको दोषीको आउनुपर्ने कुरा छुटेका छन्। त्यसकारण हरेक समाचार कक्षमा लेखिसकेपछिका समाचारमा तथ्य जाँच हुन आवश्यक छ। 

फ्याक्ट चेक कसरी गर्ने भन्नुभन्दा अघि सूचना कस्ता हुन्छन् त्यतातर्फ जाउँ। ‘मिस इन्फर्मेसन’नराम्रो नियत नराखी फैलाएको मिथ्या सूचना हुन्। समाचार दिने परम्परागत मिडिया मात्रै नभएर सोसल मिडियासम्म पर्यो ।

अर्को छ, ‘डिसइन्फर्मेसन’गलत नियत राखी हानि अथवा क्षति गर्ने उद्देश्यका साथ फैलाएका सूचना। 

कुनै यातायात दुर्घटना भयो भने पनि हामी लेख्न हतारिन्छौं। कति जनाको ज्यान गएको हो, गाडी कति मिटर तल खसेको हो, कुन ठाउँ हो, यसमा हाम्रो ध्यान गएको देखिँदैन। ब्रेकिङ दिने होडमा तथ्यलाई बेवास्ता गरिरहेका छन्। धेरैले तथ्यलाई मतलब गरेको देखिँदैन। 

अरुको एजेण्डा बोकेका हाम्रा मिडिया 
पत्रकारलाई कुनै सूचना आयो भने भेरिफाइ गर्ने हो न कि त्यसका पछाडि दौडने र ब्रेकिङ गर्ने। यसमा हामी प्रष्ट हुन जरुरी देखिन्छ। सूचना भेरिफाइ नगर्ने प्रमुख समस्या रहेको हाम्रा मिडियामा एजेण्डा नै अर्काले सेट गरिदिइरहेका छन्। 

नेपाली मिडियामा एजेण्डा सेट गर्ने काम राजनीतिज्ञले गरेका छन्। मिडियाले सार्वजिनक पदमा बसेका व्यक्तिलाई जवाफदेही बनाउने हो। तर उसैको कुरालाई जस्ताको तस्तै छापिदिएर हामीले उसको एजेण्डा स्थापित गर्न सहयोग गरिरहेका छौं। 

राजनीतिक दलहरुको महाधिवेशन सम्पन्न भए। मिडियाले कसले कुन पदमा जित हासिल गर्यो , कसले के भन्यो भनेर लेख्यो, खेलकुद र मनोरञ्जनको रिपोर्टिङ गरे जसरी गर्यो। तर जसले नेतृत्व गर्दैछ, उसका एजेण्डा के हुन्? उसको शिक्षामा, स्वास्थ्यमा, वातावरणमा के एजेण्डा छन्? भ्रष्टाचारबारे उसको धाराणा के हो? खै हामीले प्रश्न गरेको? 

सार्वजनिक शिक्षा हाम्रोमा राम्रो छैन सबैलाई थाहा छ। एमाले अध्यक्षले यसलाई सुधार्न के गर्ने भने? कांग्रेस सभापतिले सार्वजनिक शिक्षाबारे के बोले? अथवा मिडियाले साधे उनीहरुलाई? कि उनीहरु कहिलेदेखि राजनीति गरे, कुन कुन पदमा बसे भनेर मात्र छाप्ने?

महाधिवेशनमा मिडियाले सरकारले गर्नुपर्ने काम राजनीतिक दलले गर्ने कामलाई किन भएर तिमीहरुको महाधिवेशनले कस्तो बाटो समात्छौँ भनेर एजेण्डा सेट गर्नुपर्ने होइन? मिडियाले त प्रश्न गर्नुको साटो तथ्यहीन नेताका गन्थन छापेर, उनीहरुको एजेण्डा स्थापित गर्यो।

पाठकले यो समाचार किन पढ्ने भन्ने सन्दर्भमा अंग्रेजीमा शब्दावली प्रयोग गरिन्छ, ‘सो ह्वाट?’ यसलाई यता प्रयोग गरौँ, केपी ओलीले प्रचण्डलाई गाली गरे, सो ह्वाट्? रामचन्द्र पौडेल र प्रकाशमान सिंहको झगडा भयो, सो ह्वाट? हामीले जनताको प्रत्यक्ष जीवनसँग नजोडिने नेताका गालीयुक्त भाषणलाई प्राथामिकता दिइरहेका छौँ। यो दिएर के हुन्छ? हामीसँग स्पेस कम छ। पाठकको सरोकार अर्कै विषय छ, समय थोरै छ पाठकको। अनि हामी भने नेताको अनावश्यक भाषण पढिन्छ भनेर जबरजस्ती पढाउने? 

जसरी नेताले २० वर्षदेखि खासै नयाँ कार्यक्रम ल्याएका छैनन्। जनताको जीवनस्तरमा परिवर्तन ल्याउने काम गरेका छैनन्, हामी पनि त्यही लेखिरहेका छौं। नयाँ समाचार लेख्न सकेका छैनौं।  

भ्रष्टाचार छैन भन्छन् नेताहरु तर उनीहरुकै वरिपरि भ्रष्टाचारी छन्। खै त हामीले लेखेको/देखेको? 

यो नै हो त पत्रकारिता? प्रश्न गर्नुपर्ने बेला आएको छ। मन्थन गर्नुपर्ने बेला भएको छ। नेताले गरिदिने हो र एजेण्डा सेटिङ? पत्रकारिता भनेकै फिल्टर सिस्टम हो। के दिने, के नदिने, कुन समाचार हो, कुन होइन त्यो छान्नुपर्छ। कुन महत्वपूर्ण हो, कुन होइन त्यो त पत्रकारले छान्न पर्यो नि। राजनीति बिक्छ भनेर सधै बोलेको एकै कुरालाई किन स्पेस? मिडियाले बिक्ने कुरा दिने कि राजनीतिलाई जवाफदेही बनाउने? 

एक वर्षअघि नै आनन्दराज बतासबारे समाचार आएको रहेछ। अहिले फेरि एक्कासि कसरी आयो? बतासको डिफेन्स गरेको होइन, तर पहिले उठेको विषयलाई त्यतिबेलै मिडियाले किन कभर गरेनन्? केही घटना हुन्छ, राज्यले रियाक्सन गर्छ अनि मात्र समाचार बन्छ। यस्तो किन हुन्छ? राजनीतिक दलले एजेण्डा सेट गर्ने अनि त्यस्तै समाचारको बाढी नै आउँछ  हाम्रोमा।

राजनीति मात्र होइन, सबै रिपोर्टिङमा समस्या देखिन्छ। आर्थिक रिपोर्टिङ गर्दा कुनै कम्पनीको प्रोफाइल गर्ने कि उसले सामाजिक उत्तरदायित्व बहन गरेको छ कि छैन भनेर रिपोर्टिङ गर्ने? बैंकहरुको प्रोफाइल गर्ने कि ती बैंकहरुमा भएको श्रम शोषण, ती बैंकहरुले सामाजिक उत्तरदायित्व नव्यहोरेको कुरा पनि लेख्ने? 

कुनै कम्पनीको वार्षिक प्रतिवेदन केलाउन सक्ने टेक्निकल स्किल भएका पत्रकार एकदमै कम छन्। यसबारे समाचार र विश्लेषण पनि एकदमै कम। 

अपराधमा पनि उस्तै समस्या छ। जस्तो केही दिनअघि पब्जी खेल्ने एक जोडी दुवै मृत अवस्थामा फेला परे। सबैले सनसनी समाचार त लेखे तर त्यसको एक/दुई दिनमा नै हामीले त्यो घटनालाई बिर्सन्छौं। त्यसको सामाजिक, मनोवैज्ञानिक लगायतका सम्पूर्ण पक्ष केलाएर अदालतमा पुगुन्जेलसम्मको फलोअप आउनुपर्ने होइन। तर यस्ता समाचार अन्तिम समयसम्म आउँदैनन्। 

समाचारले नै पूर्ण आउँदैनन् भने त्यसमा तथ्य जाँच हुने भनेको एकदमै कम हुने नै भयो। 

संख्याभन्दा गुणस्तरमा ध्यान दिउँ
फ्रान्सेली समाचार एजेन्सीमा काम गर्थें म। तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएको बेला थियो। त्यहाँ समाचार लेख्दा लोकमानको भनाइ पनि राख्नुपर्ने हुन्थ्यो। जतिसुकै दोषी होस्, पत्रकारले दुवै पक्षको भनाइ राख्नुपर्छ। 

क्रस बोर्डरको स्टोरी गर्दा खोजपत्रकारिताले भन्छ, जतिको नाम हामीले उल्लेख गरेका हुन्छौं, सबैको प्रतिक्रिया राख्नुपर्छ। सम्बन्धित मान्छेले बोलेन भने पनि पत्रकारले ऊसँग सोबारे जानकारी लिन गरेको प्रयास झल्कनुपर्छ। 

सो प्रयास भएको देखिँदैन। १० वटा न्युज अपडेट गर्नुभन्दा थोरै छापौँ गुणस्तरीय छापौँ। हाम्रोमा धेरै दिने होडबाजी भयो। यो पनि, त्यो पनि भनेर दिइरहेका छौँ। यसरी त हामीले स्टोरीलाई मारिरहेका छौँ। स्टोरीको स्रोत सरकारी कर्मचारी, प्रहरी, प्रशासन मात्र होइन, स्थानीय व्यक्ति वा छिमेकी पनि हुन्, हामी त्यसलाई बेवास्ता गरिरहेका छौँ। 

शिक्षा, स्वास्थ्य, वातावरण, राजनीतिकै भाषणभन्दा ऐन, नियम, कानुन कति बनाए, काम कति गरे, कति ठगे यी विषयमा गहिरो खोज गरेर समाचार दिनु बेस। बरु दिनको एउटै मात्र समाचार होस् तर त्यसले दीर्घकालीन प्रभाव पर्ने समाचार दिनुपर्यो। 

पत्रकारिता प्रभावकारी हुन स्टोरी टेलिङमा जोड दिनुपर्छ
तथ्यमा सम्पादकले, डेस्क सम्पादकले रिपोर्टरलाई शंका गर्नैपर्छ। त्यो पनि स्वस्थ अर्थात् हेल्दी स्केप्टिसिजम हुनुपर्छ। यो हाम्रो पेसाको चुरो हो। के हो त यो साँच्चै हो त? भनेर प्रश्न गर्नुपर्छ। नाम, संख्या, हिसाबमा हामीले धेरै गल्ती गरेका हुन्छौँ। जे हो, त्यही नलेख्ने। ओभर अल यो भो लेख्ने बानी परेको छ हामीलाई। १०/१५ लाख जस्ता शब्द प्रयोग गरिरहेका हुन्छौँ। यति धेरै ग्याप किन? जति हो त्यति भने हुँदैन, अंक लेख्दा। पत्रकारिता भनेको स्टोरी टेलिङ हो। अंकलाई पनि हामीले सहजै बुझ्न सकिने गरी लेख्न सक्छौँ। तर त्यतातिर प्रयास एकदमै कम भएको देखिन्छ। 

दहीलाई मथेर नौनी निकाल्नु हो, स्टोरी लेख्नु भनेको। त्यसकारण कस्तो रिपोर्टिङ गरिन्छ, कसरी प्रस्तुत गरिन्छ भन्नेले त्यो स्टोरीको प्रभावकारिता निर्धारण गरेको हुन्छ। 

हाम्रा समाचारहरुमा कोटलाई अनुच्छेदमा लेख्ने, अनुच्छेदमा लेख्नुपर्नेलाई कोटमा लेखिरहेका हुन्छौँ। सिलसिला मिलेको हुँदैन। त्यसमा डेस्कले सम्पादन गर्यो भने मुटु-कलेजो नै झिके भन्ने साथीहरु पनि थिए, म नेपाल साप्ताहिकमा काम गर्दा। पत्रकारिताको उद्देश्य राम्रो तरिकाले स्टोरी टेलिङ गर्ने भएको हुँदा सम्पादनलाई रिपोर्टरले सहज लिनुपर्छ। तथ्यमा भने डेस्कको भर पर्ने होइन, आफैंले सबै खोज्नुपर्छ। 

स्टोरीहरु हेर्दा के देखिन्छ भने हाम्रोमा प्रुफ रिडिङ बाहेक सम्पादन  भएको देखिँदैन। सम्पादन गर्दा संरचनागत सम्पादन र ह्रस्व-दीर्घ शुद्ध-अशुद्ध हेर्ने हुन्छ। तर दोस्रो मात्र भएको छ यहाँ। त्यो पनि ठिकै। रिपोर्टरको पूरै भावना नै मारेर पुनर्लेखन गर्ने केही सम्पादक नभएका होइनन्। संरचना नबदल्नु, थपघट नगर्नु पनि गलत हो। रिपोर्टरले लेखेकोलाई पूरै रिप्लेस गर्नु पनि गलत हो। त्यसकारण हाम्रा मिडियाले स्टोरी टेलिङमा ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशनपूर्व र पछि तथ्य जाँच हुनुपर्छ
स्टोरी टेलिङ प्रभावकारी तरिकाले भन्ने भन्दै गर्दा नाटकीकरण गर्ने भनेको होइन। तथ्यलाई समातेर प्रभावकारी तरिकाले दिमागमा बस्न सक्ने गरी लेख्ने/प्रसारण गर्ने भनेको हो। 

कुनै समाचार आयो, जुन धेरैको सरोकार भएको छ। प्रस्तुतीकरण पनि राम्रो छ भने झन् बढी तथ्य जाँच गर्नुपर्छ। यसको अर्थ अरुको तथ्य जाँच नगर्ने भनेको होइन। प्रकाशन हुनु पहिले हो कि होइन, प्रकाशन भइसकेपछि के रहेछ त भनेर समेत तथ्य जाँच गर्नुपर्छ। नेपाली मिडियामा दुवै जाँच एकदमै कम गरिन्छ। 

अरुले गलत हो भनिदियो भने पनि सच्याइएको भनेर लेख्न एकदमै मुस्किल पर्छ। विश्लेषण गर्न त परको कुरा, तथ्यांक नै गलत लेखे पनि सच्याउन कन्जुस्याइँ गरिन्छ। 

त्यसकारण हाम्रा मिडियाले तथ्य जाँच गर्ने छुट्टै सेक्सन बनाउन जरुरी छ। जसले सोसल मिडिया पनि हेरोस्। सोसल मिडियामा फैलिएका भ्रामक गलत सूचनाले धेरै असर गरिरहेको छ हाम्रो जीवनमा। सोसल मिडिया यसरी फैलिएको छ कि हामीले यो बिटमा काम गर्ने पत्रकार चाहिन्छ भन्ने पनि सोचेका छैनौँ। तर अबको आवश्यकता भनेको सोसल मिडियाको बिट हेर्ने पनि हुनुपर्छ।

मिडिया हाउसले फ्याक्ट चेकर वा मिसइन्फर्मेसन रिपोर्टर राख्न ढिला भइसकेको छ। यसो भयो भने मात्र सोसल मिडियामा फैलिएका अफवाहलाई मिडियाले चिर्न सक्छ। 

(नेपाल साप्ताहिक, कान्तिपुर, फ्रेन्च न्युज एजेन्सी, फ्रिलान्सरको रुपमा अल्जजिरा न्युयोर्क टाइम्स लगायतका मिडियामा रिपोर्टिङ गरिसकेका अधिकारी हाल साउथ एसिया चेकको सम्पादक छन्। अधिकारीसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।) 

चौथो अंगका पुराना श्रृंखला

२७ पुस, २०७८, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।