चौथो अंगमा हरि अधिकारी : च्याँखे थाप्ने मिडिया, साहुको मुनिम जस्ता सम्पादक

चौथो अंगमा हरि अधिकारी : च्याँखे थाप्ने मिडिया, साहुको मुनिम जस्ता सम्पादक
तस्बिर : कृष्पा श्रेष्ठ

केही वर्ष पहिले म एउटा दैनिक पत्रिकामा पुस्तक समीक्षा लेख्थें। खुलेको छोटै अवधिमा त्यो पत्रिका पाठकको रोजाइमा परेको थियो। मेरो समीक्षा पढेर पुस्तक किन्ने गरेको छु भन्ने पाठकसम्म भेटिन्थे।

त्यो पत्रिकामा मैले समीक्षा लेख्न थालेको करिब एक वर्ष भएको थियो। एक जना साहित्यकारले आफ्नै अन्तर्वार्ताको संग्रह निकाले। सो पुस्तकमा उनको महिमामण्डन गाइएको थियो।

मैले त्यति राम्रो पुस्तक लेख्ने मान्छेले आफ्नै अन्तर्वार्ता छापेर किन पुस्तक निकालेका होलान्? आफ्नै महिमामण्डन पनि गाउने हो? यो त गल्ती भयो भनेर लेखेको थिएँ। भोलिपल्ट पत्रिका हेर्दा समीक्षा थिएन। मेरो समीक्षा छापिने स्थानमा त पेट दुखेको बेला के खाने भनेर पो छापिएछ। 

मैले डेस्क हेर्नेलाई फोन गरेरे सोधें। उनले भने- मैले हेरेर पठाएको थिएँ, किन छापिएनछ त। फाइनल पेज पठाउने बेलामा जसले हेर्थे, उनैको फोन नम्बर दिए उनले। मैले फोन गर्दा थाहा पाएँ, प्रधानसम्पादकले नै नछाप्न भनेका रहेछन्। 

पछि प्रधानसम्पादकलाई भेटेर मैले ‘तपाईंको पत्रिकाको समीक्षा हेरेर किताब किन्ने पाठक थिए। उनीहरुले गाली गरे पनि कि मलाई गर्थे कि लेखकलाई गर्थे। किन रिजेक्ट गर्नुभएको, अबदेखि तपाईंको पत्रिकामा म लेख्दिनँ’ भनें। लामो समय त्यो पत्रिकामा लेखिन पनि।

अर्को उदाहरण- एक जना नाम चलेकै सम्पादक हुन्। उनी अहिले पनि लेखिरहन्छन्। म राष्ट्रिय स्तरको साप्ताहिक म्यागेजिनमा पुस्तक समीक्षा लेख्थें। मैले तिनै सम्पादकको दोस्रो पुस्तकको समीक्षा लेखेर पठाएँ। समीक्षा त पठाएँ तर ती सम्पादकले म्यागेजिनका सम्पादकलाई ‘फलानो पत्रकारलाई मैले समीक्षा लेखेर पठाउँछु त्यो छाप्नु, हरिले पनि पठाउँछ होला, त्यो नछाप्नु’ भनेछन्।

त्यहाँ पनि मैले लेखेको समीक्षा छापिएन। यसबाट प्रष्ट हुन्छ, नेपाली पत्रकारितामा समीक्षाको अवस्था कस्तो छ भनेर। 

समीक्षा पनि पत्रकारिता हो
गोरखापत्रको शनिबारको अंकमा पहिलेदेखि नै पुस्तकको समीक्षा आएको देखिन्छ। यद्यपि, ती पुस्तक समीक्षा परिचयमुखी र प्रवर्द्धनमुखी हुने गर्थे। गोरखापत्रकै सह-प्रकाशन मधुपर्कमा नियमित पुस्तक समीक्षा आउँथ्यो। विशुद्ध साहित्यकारहरुले लेख्ने भएको हुँदा कहिलेकाहीँ आलोचनात्मक पनि आउँथ्यो।

जब निजी क्षेत्रका पत्रिका आए तब समीक्षा अलि फस्टाएको देखिन्छ। म्यागेजिन, साप्ताहिक र दैनिक पत्रिकाका शनिबारे अंकले पुस्तक समीक्षा छाप्न थाले। त्यति मात्र होइन, सिनेमाका पनि समीक्षा छापिन थाले। म्यागेजिनहरुमा गुण र दोषलाई चिनेर आलोचनात्मक पनि छापिन थाले। 

मैले गम्भीर समीक्षा गर्नेभन्दा पनि पाठकीय अनुभूति लेखेको हो सुरुमा। लेखक पनि भएको कारणले किन गम्भीर समीक्षा नलेख्ने भनेर समीक्षा लेख्न सुरु गरें अलि पछि।

समीक्षा पुस्तक र सिनेमाको मात्रै भएको देखिन्छ हाम्रो देशमा। नाटकको कमै हुन्छन्। हुन त सिरियस नाटक नै कम छन् हाम्रोमा। नाटक समीक्षा मित्रलाभ र प्रचारात्मक तरिकाले भएको देखिन्छ। अनुप सुवेदी, यज्ञशले सिनेमा समीक्षा अलि गम्भीर गर्ने गर्छन्। अन्यले भने साथीभाइ रिझाउन गरेको देखिन्छ कन्टेन्ट हेर्दा नेपालमा राम्रा सिनेमा बन्दैनन्। होपलेस सिनेमा बन्छन् धेरै। सिनेमा नै होपलेस बनेपछि समीक्षा गर्नु र नगर्नुको कुनै तुक भएन। हजारौं नेपाली सिनेमा बने तर दावीका साथ भन्छु, नेपालमा राम्रो सिनेमा बनेकै छैनन्। कतिपयले नयाँ विषय उठान गरेकालाई राम्रो सिनेमा भनेर लेख्छन्। सिनेमा भनेको नयाँ विषय उठान गर्नु होइन। आर्ट क्राफ्ट त मिल्न पर्योन नि। घत पर्ने र चर्चा गर्नुपर्ने नेपाली सिनेमा छैनन्। 

नेपाली मिडियामा पुस्तकका समीक्षा आइरहन्छन्। नेपालका साहित्यिक पुस्तकको हविगत उस्तै छ। ९० प्रतिशत पुस्तक रद्धी हुन्छन्। मान्छेको सारा कुरालाई समेटेर पूर्ण संवेदनाको साथ छापिने पुस्तक १० प्रतिशत मात्रै हुन्छन्। 

जुनसुकै विधाको समीक्षा गर्दा पनि कुन बेला लेखेको छ, भाषाको लालित्यलाई बढाएको छ कि घटाएको छ, कस्तो विषयवस्तुबारे लेखिएको छ, मानव हितबारे छ कि छैन हेर्नुपर्ने हुन्छ। मैले किताबको समीक्षा गर्दा यसरी नै हेर्छु। यो नभएपछि आलोचना त स्वभाविक रुपमा आउँछ नै। 

नेपालमा पुस्तक, सिनेमा र नाटकको मात्रै समीक्षा हुने गरेको छ, जस्तोसुकै प्रकारको समीक्षा आए पनि। तर बाहिर भने फेसनको, म्युजिकको पनि समीक्षा हुन्छ। हामी समीक्षा गर्न निकै पछि छौं बाहिरको तुलानामा। सायद फेसनप्रति हाम्रो बुझाइ, संगीतप्रति हाम्रो बुझाइको कारण पनि हुनसक्छ। 

हर क्षेत्रको समीक्षा हुनु पत्रकारिता हो किनभने समीक्षाले सूचना दिन्छ। कुनै पनि विषयप्रति बायस नभई समभावमा रहेर लेखिने हुँदा पत्रकारिताको महत्वपूर्ण भाग हो समीक्षा। 

समीक्षकले बाटो देखाउँछ
मलाई धेरैले नकारात्मक समीक्षा गर्छ भन्छन्, यो झुट हो। समीक्षकले जहिल्यै बाटो देखाउँछ। संख्यात्मक रुपमा पुस्तक पनि बढेका छन्, समीक्षक पनि बढेका छन्। समीक्षा लेखिएको हो कि लेखाइएको हो प्रष्टै झल्किने धेरै छन्। गुण-दोषमा आधारित भएर पनि लेखिएका छन्। प्रचारका लागि पनि लेखाइएका छन्।

मैले समीक्षा लेख्दा कसैलाई बोक्ने र कसैलाई डाँडा कटाउने गरिनँ। पुस्तकमा जे देख्छु, समभावमा बसेर लेख्छु। सघाउने र गिराउने, लाभ लिने गरेको छैन।

जतिसुकै नकारात्मक समीक्षा लेख्छ भने पनि मलाई समीक्षा लेख भन्नेहरु नभएका होइनन्।

एक जना पुराना प्रकाशकले अंग्रेजी र नेपाली मिसाएर लेख्ने लेखकको पुस्तक समीक्षा गर्न भने। मैले गरे पनि। यो किताब मलाई फिटिक्कै मन परेन। फेन्टासीको नाउँमा गरुड पुराण जस्तो पुस्तक भनेर लेखिदिएँ। पछि त्यो पुस्तकका प्रकाशकले समीक्षा नलेख्दा एक सय कपी नबिकेको पुस्तक अहिले त एक हजार कपी बिक्री पो भयो भने। ती लेखक अहिले ‘ठूला’ लेखक भएका छन्। 

अर्को पुस्तकको समीक्षा गरें। ती लेखकले मदन पुरस्कार पनि पाए। नियात्रा, निबन्ध यस्तै लेख्ने ती लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पुरस्कार लिन अमेरिका गएछन्। पुरस्कार थापिसकेपछि भिजिट भिसामा गएको मान्छे भारतीयको रेस्टुरेन्टमा काम गरेछन्।

नेपाल आएपछि उनले पुस्तक लेखे। पुस्तकमा त लेख्न हुने, नहुने सबै लेखेछन्। गैरकानुनी काम गरेको कुरा पनि गर्वका साथ लेखेका। त्यो किताब किताबको रुपमा कलंक हो भनेर लेखें मैले। आपराधिक मानसिकताको मान्छे रहेछ भनेर समेत लेखें।

मैले लेखेपछि त्यो पुस्तकका प्रकाशकले भन्दै थिए, बिक्री गर्न भनेर लगेका पुस्तक पसलेले सबै फिर्ता गरिदिए। गलत र नराम्रो पुस्तक नलेखियोस् भनेर समीक्षा लेखिन्छ। शब्द खेलाउन आउँछ भन्दैमा जे पनि लेख्न त भएन नि। 

अहिले पत्रिका/अनलाइनमा आएका समीक्षा हेर्छु, धेरै प्रचारमुखी देख्छु, सिनेमा र पुस्तक दुवैको। राम्रो समीक्षा गर्नेहरुले नेपाली सिनेमाको समीक्षा नगरी विदेशीको मात्रै गर्ने गरेका छन्। सायद साथी-भाइ रिसाउँछन् भनेर पनि होला। तर पत्रकारिता भनेको सही सूचना सम्प्रेषण गर्ने भएको हुँदा समीक्षा हुन आवश्यक छ।

जागिर छुटाउने त्यो अन्तर्वार्ता
पञ्चायतकालमा सरकारी जागिरे थिएँ म। बहुदलवादी भएको कारण काममा सकस भयो। विस्तारै कांग्रेसको राजनीतिले तानिरहेको थियो। नेपाली आवाज पत्रिकामा काम गर्थें। पञ्चायतकालमा भूमिगत भएका सिपी मैनालीदेखि मोहनविक्रम सिंहसम्मको अन्तर्वार्ता लिएँ। भूमिगतसहित ९० जना राजनीतिज्ञको अन्तर्वार्ता लिदाँ म ‘ठूलै’ पत्रकार भएँ। त्यतिबेला मरिचमान सिंह प्रधानमन्त्री थिए। उनको क्याबिनेटमा जलस्रोत मन्त्री थिए केशवकुमार बुढाथोकी थिए। 

म त्यतिबेला अमेरिकी न्युज एजेन्सी युपिआईमा पनि काम गर्थें। त्यसैको लागि लिएको अन्तर्वार्तामा बुढाथोकीले आन्दोलनकारीसँग सरकारले वार्ता गर्नुपर्छ भनेर बोले। मैले सोही लेखेर पठाइदिएँ। टाइम्स अफ इण्डिया लगायतले छापेछन्। प्रधानमन्त्री सिंहले बुढाथोकीलाई बोलाएर सरकारको लाइन बेगर किन बोल्नुभएको भनेर थर्काएछन् र राजीनामा गर्न भनेछन्। उनले दिन्न, मैले जे देखें, त्यही बोलें, सही बोलें भनेछन्। त्यतिबेलाको सरकार आन्दोलनकारीसँग वार्ता गर्ने पक्षमा थिएन। राजाले बुढाथोकीलाई मन्त्री पदबाट बर्खास्त गरे। 

२०५४ देखि २०५७ सालसम्म मैले देउराली दैनिक पत्रिका निकालें। प्रकाशक र सम्पादक मै थिएँ। ३२ लाख ऋण गरेर पत्रिका निकाल्न थालेको केही वर्षमा ७७ लाख तिर्नुपर्ने भयो। घर-खेत बेचेर ऋण तिरियो। मलाई त्यतिबेला लाग्यो, म व्यवसाय गर्ने मान्छे होइन रहेछु।

मिडियाको व्यवसायमा दिनहुँ खर्च हुने तर आम्दानी कम हुने रहेछ। त्यतिबेला मैले मिडिया चलाएको भए पनि सम्पादकीयको मर्म मर्न दिएको थिइनँ। मिडिया भनेको सत्ताको निरन्तर प्रतिपक्षी हो। यसमा कहिले पनि चुकेन हाम्रो पत्रिका। तर अहिलेका पत्रिका/अनलाइनका सम्पादक हेरौं न, मलाई त इथिक्स नभएको पत्रकारिता जस्तो लाग्छ। 

दासी भए सम्पादक
अहिले पसल खोलेजस्तो बग्रेल्ती मिडिया खुलेका छन्। ती मिडियामा सत्य-तथ्य नै फरक-फरक आउँछन्। साना मिडिया च्याँखे थापेर बसेका छन् भने ठूला मिडियाका सम्पादक दास जस्ता भएका छन्। मालिकले जे भन्यो त्यही छाप्छन्, आदेशले चल्छन् उनीहरु।

एउटा ठूलो मिडियाको समाचार म बारम्बार हेर्छु। एउटा न एउटालाई खेद्ने, मुद्दा-मामिला गर्ने गरिराखेको छ। मिडिया झगडिया हो? प्रकाशकको पो स्वार्थ हुन्छ, सम्पादकले त सम्पादकीय मर्म मर्न दिन भएन नि। त्यो मिडियाले पहिले अजेय सुमार्गी र गोपाल पराजुली, अहिले चोलेन्द्रशमशेरलाई खेदेको देखेर छक्कै पर्छु म।

उनीहरुको गल्ती नै थिएन भनेको होइन। तर मिडियाले खेद्ने होइन, गलतलाई गलत भनेर लेख्ने हो। मिडियाले झगडिया बनेर मुद्दा-मामिला गर्दै हिँड्ने होइन। व्यक्तिलाई खेद्दै हिँड्ने यो मिडियाले एक मात्र अर्बपतिको भने लेख्दैन भन्ने सुनें। अहिलेसम्म ती अर्बपतिको नराम्रो गतिविधिबारे लेखेको देखेको र पढेको पनि छैन। 

कताबाट निर्देशित भएर लेख्छन् पत्रकार? अझ ओपेड पेज त हेरिनसक्नु छ। मालिकका अनेक धन्दा हुन्छन्। ती धन्दासँग जोडिएकाहरुको पुङ न पुच्छरका लेख आउँछन् अनि त्यही छाप्छन्। त्यस्तो पनि लेख हुन्छ? गरिमा हुनुपर्दैन? 

भाषाका हिसाबमा निम्छरा रिपोर्टर
आज बिहान एउटा समाचार हेरें। त्यो समाचारमा माथि जे लेखिएको थियो, तलसम्म पनि त्यही वाक्य घुमेको थियो। समाचारमा एकै वाक्य दोहोरिने । भाषा, प्रस्तुति र तथ्यका हिसाबमा रिपोर्टरले लेखेका समाचार निम्छरा छन्। समाचारमा त दुविधा हुनुपर्दैन नि। जे हो त्यही लेखे हुन्छ। समाचारले के भन्न खोजेको हो समेत थाहा नहुने हुन्छन्। यसमा डेस्क सम्पादकको प्रस्तुति पनि कमजोर देखिन्छ।

त्यस्तै मिडियाले कुन समाचारलाई प्राथामिकता दिने भनेर बुझेको देखिँदैन।  एउटै समाचारलाई रंग्याउने कुन खालको पत्रकारिता हो? रिपोर्टर र सम्पादक साहुको मुनिम जस्ता भए, लाए/अह्राएको काम गर्ने। यो हिसाबले पत्रकारिता अघि बढ्दैन। 

पहिले एउटा ठूलो मिडिया खुल्दा सुरुका लगानीकर्ता साँच्चैको मिडिया बुझेका थिए। उनको उद्देश्य पत्रकारिता गर्ने नै बुझिन्थ्यो। जब व्यापारीको हातमा गयो, तब मिडिया दूषित भयो। 

यहाँ भन्नैपर्ने कुरा के हो भने, राजनीति विशाक्त भएको छ। यो देशमा बिचौलिया, भ्रष्टाचारी र दलालीको हालीमुहाली छ। तिनैले सबै चलाएका छन्। कसरी जोगिन्छ देश? देशको अवस्था यस्तो भएकाले पत्रकारले राम्रोसँग आफ्नो भूमिका निर्वाह गर्न सकेका छैनन्। 

यस्तो बेलामा पत्रकार झन् चनाखो हुनुपर्छ। यो संविधानको मेरुदण्ड संघीयता हो। संघीयता फेल भयो भने धेरैका टाउका सडकमा हुनेछन्। भ्रष्टाचार र विकृति बढ्ने छ। पत्रकारले लोकतन्त्र, स्वतन्त्रता जोगाउनुपर्छ। त्यस कारण स्वार्थबाट प्रेरित नभई पत्रकारिता चल्नु आजको आवश्यकता हो।

(पत्रकार, लेखक तथा समीक्षक अधिकारीसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

२० पुस, २०७८, १५:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।