चौथो अंगमा रमेश भुसाल : दाताले उठाएको इस्युमा लेखौँला तर फाइलिङ कपी देखाउँदिन भन्ने पत्रकार कति छन्?

चौथो अंगमा रमेश भुसाल : दाताले उठाएको इस्युमा लेखौँला तर फाइलिङ कपी देखाउँदिन भन्ने पत्रकार कति छन्?
तस्बिर : कृष्पा श्रेष्ठ

यही फागुन ७ गते पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिद्धलाई अशुभको संज्ञा दिए। उनले भने, ‘पाँच वटा गिद्ध धुरीमा बसेका छन् अनि देशमा कसरी राम्रो हुन्छ? एउटा मात्रै गिद्ध धुरीमा बस्दा त अशुभ मानिन्छ, अहिले त पाँच/पाँच वटा छन्।’

हाम्रा मिडियाले ओलीको यो भनाइलाई प्राथामिकताका साथ प्रकाशन गरे। ओलीले सत्ता-गठबन्धनलाई इंगित गर्दै गिद्ध भनेका हुन् भनेर लेखे तर यसको वातावरणीय पक्षबाट कसैले सोचेन। सोचेको भए त्यही अनुसार समाचार आउँथ्यो।

यो त गज्जबको वातावरणको स्टोरी हो नि। यसलाई प्याकेजिङ गरेर समाचार निकाल्न किन सकेनन् हाम्रा मिडियाले? 

ओली गिद्द जोगाउने रेस्टुराँ भएको देशको प्रधानमन्त्री भएका हुन् । संरक्षणको लागि बजेट बिनियोजन गरेका थिए। जसले गिद्ध जोगाउन पैसा खर्च गर्यो, उसैलाई गिद्धप्रति किन यति धेरै घृणा? गिद्धलाई घृणा गर्नेले आफ्नै पालामा किन बजेट बिनियोजन गरेको?

किन चराचुरुङ्गी, पशुलाई नेपाली समाजमा शुभ/अशुभ मानिन्छ? बिरालोले बाटो काट्दा अशुभ हुन्छ, कुकुरले काट्दा किन हुँदैन? काग सुकेको हागाँमा बस्दा अशुभ हुन्छ, हरियोमा बस्दा किन हुँदैन?

ओलीले बाघ, गैँडाबारे के-के भनेका थिए? ओलीले जे भन्यो त्यही मान्ने उनका लाखौँ कार्यकर्ता छन्। कुनै कार्यकर्ताले ओलीले भनेको गिद्ध अशुभ हो भनेर मार्यो भने?

मान्छेले विकास गर्दै गएपछि पृथ्वी तात्यो, त्यसकारण गिद्ध मर्दै गए। हामीले यसलाई जलवायु परिवर्तनसँग पनि जोड्न सक्थ्यौँ। तर हामी मिडियाले ओलीले जे बोले त्यही छाप्यौं। 

सम्पादकले अलि सोचेको भए प्याकेजिङ गर्न सकिन्थ्यो स्टोरीको। गिद्धबारे लेख्न गिद्ध दिवस कहिले भनेर खोज्नु पर्दैनथ्यो। नेताले पनि बोल्दा के बोल्ने, के नबोल्ने विचार पुर्याउँथे। मनलाग्दी बोल्नेहरु खुइलिन्थे।

राजनीतिक समाचार खपत गर्ने दुर्व्यसनी बढायो
सन् १९३० ताका नै न्युयोर्क टाइम्सले के पृथ्वी तात्दै छ भनेर स्टोरी गर्न थालेको रहेछ। नेपालमा भने झण्डै ९० वर्षपछि वातावरण सम्बन्धी समाचारले स्थान पाउन थालेका छन्। विस्तारै कार्बनडाइअक्साइडले पृथ्वीको ताप बढाउँछ भन्ने कुराहरु बाहिरिन थाले।

सन् १९८० मा जलवायु परिवर्तनको मुख्य कारण कार्बनडाइअक्साइड हो भन्ने प्रष्ट पार्यो। सन् १९८८ मा संयुक्त राष्ट्र संघले वैज्ञानिक समूह बनायो। ती समूहले रिपोर्ट दिन थाले। 

विश्वमा यस्ता परिर्वतन हुँदै गर्दा त्यसैको प्रभावले नेपालमा नेपाल वातावरण पत्रकार समूहको खुलेको देखिन्छ। यो खुल्दा नेपालको राजनीतिक दलमा समेत वातावरण सम्बन्धी उति ज्ञान थिएन भन्ने एउटा उदाहरण हेरौँ, 

सन् १९९२ मा त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रियो सम्मेलनमा जाने भएछन्। वातावरण सम्बन्धी बोल्नुपर्ने भएपछि कोइरालाले नेफेजमा गएर बिफ्रिङ लिएका थिए रे। बिफ्रिङ त लिए तर उनलाई ‘इनभाइरोमेन्ट’को उच्चारण गर्न आएन छ। भनेछन्, ‘अरु त ठिक छ उच्चारण चाहिं कसरी गर्ने?’ पछि उनलाई सिकाइएछ। 

भन्न खोजेको के भने, नेपालमा वातावरण सम्बन्धी समाचार आउन त केही आउँथे तर प्राथमिकतामा थिएन। नेपाल वातावरण पत्रकार समूहको इतिहास हेर्दा दक्षिण एसियामा नै हामी अघि छौँ तर जुन गतिले वातावरणका इस्यु उठाइनु पर्थ्यो त्यो गतिले उठेन। संख्यामा त छापियो होला, गुणस्तरको हिसाबले कति आयो?

राजनीतिले सबै परिर्वतन गर्छ भन्ने भयो हाम्रो देशमा। त्यसैको प्रभाव पत्रकारितामा पनि देखियो। सम्पादकहरु पनि राजनीतिक दलसँग नजिक भए। विषय विविधता दिन सकेनन्।

नेपाली पत्रकारिताले राम्रो पनि गरेको छ, सँगसँगै राजनीतिक समाचार खपत गर्ने दुर्व्यसनी बढाएको छ। मान्छेहरु एडिक्सन भएका छन्। कुन नेता कहाँ गयो, के बोल्यो एकोहोरो समाचार दिइरहेका छौँ हामी। पत्रकारिता गर्न राजनीतिक रिपोर्टिङ गर्नैपर्छ भन्ने बनाइदिएको छ।

अहिले नेपाली पत्रकारिताको मुख्य चुनौती भनेको राजनीतिक समाचारको दुर्व्यसनबाट बाहिर निकाल्नु हो। राजनीतिक अपडेट बिहान-बेलुकी दिँदा हुन्छ। त्यसपछिको समयमा वातावरण, विज्ञान, स्वास्थ्य, शिक्षाको विषयमा काम गर्न सकिन्छ। 

अहिलेको पत्रकार अति व्यस्त छ। कुन नेता बालुवाटार गयो, बालकोट गयो, खुमलटार गयो भनेर लेखेको लेख्यै छ। रमाइलो पनि भयो होला। फुर्सद पनि हुँदैन। अन्य विषयमा सोच्ने, विचार गर्ने मान्छे भेट्ने अवसरै पाउँदैन। यो प्रकारको पत्रकारिताले अब हुँदैन। 

स्टोरी प्लान गर्ने समय नै हुँदैन सम्पादकलाई
राजनीतिक समाचारको अपडेट दिँदादिँदै सम्पादकलाई पनि स्टोरी प्याकेजिङ दिने समय नै हुँदैन। भइहाले पनि राजनीतिक समाचारको मात्र प्याकेजिङ भएको देखिन्छ। सम्पादकले नसोचेपछि स्टोरी आउने कुरै भएन। यदि सम्पादकले प्लान गरिहाल्यो भने पनि प्रकाशकको प्राथमिकतामा नपर्ला।

अहिले गिद्धको बारेमा लेख्नुभन्दा त एमसिसीको बारेमा लेख्दा खपत बढी हुने भएर पनि हुनसक्छ। यसो भन्दै गर्दा अहिलेका कुनै पनि सम्पादकले वातावरण सम्बन्धी सिरियस छैनन् भनेको होइन। केही त छन् तर धेरै छैनन्। वातावरण इस्यु बुझ्नेले पनि प्याकेजिङ गरेर स्टोरी दिन सकेको देखिँदैन। 

१५ वर्ष भयो मैले वातावरण तथा विज्ञान पत्रकारिता गरेको। नेपालका मुलधारका मिडियाले ४/५ वर्षदेखि मात्रै वातावरणको इस्युलाई गम्भीर रुपमा लिन थालेजस्तो लाग्छ मलाई। नत्र त वातावरण सम्बन्धी लेख्नेलाई डलरे, एनजिओको एजेण्डा भन्ने चलन थियो। केही मत्थर भए पनि अझै पनि भन्ने गरिन्छ। फेलोसिप लिएर स्टोरी लेख्न नहुने, त्यही पैसा लिएर घुम्न जाने चाहिं हुने? अधिकांशले गरेको त्यही होइन? दाताले पैसा दिने भएपछि सर्त राख्न सक्नुपर्यो नि। दातालाई भन्न सक्नुपर्यो नि, स्टोरी बनाउने जिम्मा मेरो हो। म रुजु गरेर छाप्दिनँ भनेर। दाताले उठाएको इस्युमा लेखौँला तर फाइलिङ कपी देखाउँदिन भन्ने कति छन्? 

नेफेजमा पनि दाता हावी भएको हो कि? दाताले त आफ्नो गुणगान गाएर लेख्न लगाउँछ नि। के हामीले त्यसरी नै लेख्ने त? मुलधारको मिडियाका पत्रकारलाई फेलोसिप दिएर सम्पादकीय स्वतन्त्रता दिएर स्टोरी गराए हुँदैन? 

डेप्थ स्टोरी नै भएन 
मेलम्ची खानेपानीको पर्खाइ ३० वर्ष भयो। निर्माण सम्पन्न हुनै लागेको बेला पहिरोले पुरिदियो। अहिले त्यो स्थानमा जाने बाटो छैन। त्यत्रो ठूलो परियोजना बनाउँदा त्यहाँभन्दा माथि कस्तो छ भनेर अध्ययन गर्नुपर्दैन? गेग्र्यान छ भन्ने थाहा भएपछि सोही अनुसार काम हुनुपर्ने होइन? पहिरो गएपछि रिपोर्टिङ गर्दा हामीले नदीले दु:ख दियो, नदी बहुलायो यस्तै यस्तै शीर्षक दिएका हुन्छौँ। तर किन पहिरो गयो भनेर डेप्थ रिपोर्टिङ गर्नुपर्ने होइन? 

त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बहस चर्कंदै गर्दा रुख काट्ने कि नकाट्ने भन्नेतिर बहस सोझियो। रुख काट्नै नहुने हो त? संसारमा रुख बेचेर धनी भएका देश छैनन् र? रुख काट्दा पहिले रोप्ने हुर्काउने अनि कुन रुख कहाँ, कसरी काट्ने भनेर अध्ययन गर्नुपर्ने होइन?

हामी मलेसियाबाट काठ आयात गर्छौं, आलमोनियमका झ्याल-ढोका प्रयोग गर्छौं। हामीले हाम्रै स्रोत-साधन प्रयोग गर्नुपर्ने होइन?

निजगढ विमानस्थल बनाउँदा रुख काट्ने कि नकाट्ने भन्ने विषयलाई पनि राजनीतिक मुद्दा पो बनाइयो। जसलाई पनि राजनीतिक विश्लेषक बनाइदियो मिडियाले। 


 
तपाईंको सेरोफेरोमा के भइरहेको छ? हिजो पोखरामा असिना किन आयो? यस्ता विषयमा गफ भएका छन् त? राजनीतिक समाचारले हामीलाई गफाडी त बनायो तर सेरोफेरो बुझ्न सिकाएन। मिडियाले जलवायु परिर्वतनबारे भ्रम चिर्ने गरी समाचार दिन नसक्दा जलवायु परिर्वतन भनेको अमेरिकाको षडयन्त्र हो भनेर हल्ला फिँजाउने धेरै भए। 

विकास भन्ने बित्तिक्कै वातावरण विरोधी भन्छन्, होइन नि। अरुण तेस्रो आयोजना नबन्नुमा वातावरणको कारणले हो भन्छन्, होइन नि। त्यो राजनीतिक कारणले हो। जेमा पनि राजनीति हावी भयो। जसलाई केही ज्ञान नै छैन, ऊ विना आधार बोलिरहेको छ- षडयन्त्र, साम्राज्यवाद, विस्तारवाद। उसैको कुरालाई पो प्राथामिकता दियौँ कि? 

कुनै जलविद्युत परियोजना बन्यो तर त्यहाँ १० प्रतिशत सिंचाइको लागि पानी छोडेन। मत्स्यपालनको लागि पानी छोडेन भने यो राम्रो इस्यु होइन समाचारको लागि? हाम्रा जलविद्युत परियोजनाले कतिले मापदण्ड पूरा गरे, कतिले गरेनन्, हाम्रा मिडियाले डेप्थ रिपोर्टिङ गरे त? तल बगेको खोलाबाट बिजुली निस्केको छ, किनार छेउको खेतले पानी पाएन। यो प्रमुख मुद्दा होइन? यो एजेण्डा होइन मिडियाको? 

काठमाडौँको फोहोर-मैला उठेको छैन। यसबारे समाचार पनि आयो। तर यसमा संलग्न माफियाबारे खै समाचार? वायु प्रदूषण, फोहोर-मैला तथा अन्य क्षेत्रमा राम्रो रिपोर्टिङ नै भएन। सूचना सम्प्रेषण नै नभएपछि कसरी हुन्छ बहस? 

काठमाडौँमा बिहान कुकुर डुलाउने नेपालीले फोहोर बाटोमै छोडेको हुन्छ। यहीँ बस्ने विदेशीले आफ्नो कुकुरले गरेको फोहोर उठाउँछ। आलिसान घरमा बस्ने तर घर बाहिर कुकुरलाई फोहोर गराउने। त्यसको असर त धेरै पर पुग्छ नि। 

आफ्नो सेरोफेरोको समाचार दिन सकिरहेका छैनौँ? यसका लागि रिपोर्टरलाई तालिम पनि दिएको देखिँदैन। समाचार कक्षमा संसार घुमेको गफ दिने, स्टोरी भने नलेख्ने भए केही पत्रकार। प्रकाशकले पनि यस्ता समाचारमा लगानी नगर्ने भए। सम्पादकहरु पनि जेलिएका छन्। सम्पादक भएर जाँदा नै समाचार (कन्टेन्ट) दोस्रो  प्राथामिकतामा राखेर जाने हुन् कि? शंका गर्ने ठाउँ छ। जसले जे भने पनि नेपालको मुलधारको पत्रकारिता भनेकै प्राकृतिक स्रोत र वातावरण हो।

हामीले स्टोरी प्ले गर्न सकेनौं। नदी बगिरहेको छ, के स्टोरी भनेर बस्छौँ। तर नदीको मुहानदेखि समुद्रमा मिसिने स्थानसम्म पुग्दा नदीले जीवन सिकाउँछ।

हाम्रो टोली ४५ दिन लगाएर कर्णालीको मुहान तिब्बतदेखि बनारससम्म घुमेको थियो। त्यसको डकुमेन्ट्री बनायौं र पनि समाचार लेख्यौं। मलाई के थाहा भयो भने मुहान वरपरको बस्तीमा १२ घर थिए। तल बनारसमा आइपुग्दा करोडौँ। 

हिमाली भेगलाई नदीले खासै फाइदा दिँदैन मानवीय दृष्टिकोणले। खोला बग्छ ,पानी गाउँमा हुँदैन। लिन जाँदा ६/७ घण्टा लाग्छ। हाम्रो देशमा त्यही नदी आइपुग्दा बिजुली, सिंचाइदेखि हरेक कुरामा उपयोग गर्न सकिन्छ। यही पानी भारत पुग्दा बाढी हुन्छ। ठाउँ अनुसार नदीले पार्ने प्रभाव फरक हुन्छ।

हामी भन्छौँ, भारतमा हाम्रो पानी सित्तैमा खेर गएको छ। पानी खेरै जाँदैन। फर्केर आउँछ नि। वाफ बन्छ, फेरि पानी हुन्छ। तर हामी कुनै नेताले पानी भारतमा सित्तैमा गएको छ भन्दा त्यसैलाई आधार मानेर समाचार लेख्छौँ। जेमा पनि राजनीति जोड्ने भयौँ हामी। 

रिपोर्टरमाथि छैन लगानी 
सुरुवातमा म रेडियोमा काम गर्थें। विज्ञान सम्बन्धी मेरो रिपोर्ट बिहान-बेलुकाको समाचारमा प्रसारण हुन्थ्यो। त्यो अन्तर्राष्ट्रिय प्रोजेक्टको कार्यक्रम थियो।

त्यसको अलावा मैले सडक र सफारी कार्यक्रम पनि चलाउँथे। त्यस कार्यक्रममा एभरेष्टमा म्याराथन चलाउने गेष्टलाई निम्त्याएको थिएँ। उहाँसँग कुराकानी गरिसकेपछि एभरेष्टमा गएर लाइभ रिपोर्टिङ गर्ने अफर गर्नुभयो। दुई वर्ष काम गर्दा मैले कतै जाने अवसर पाएको थिइनँ। मैले सहजै स्वीकारेँ। तर मेरा हाकिमले किन जानुपर्यो डुल्न? भनेर बिदा दिनुभएन। म राजीनामा दिएर एभरेष्ट गएँ। 

हाम्रोमा रिपोर्टिङ भनेको काठमाडौँ वरपर, स्टेसन/कार्यालयमा बसेर मात्रै गर्ने हो भन्ने छ। सबैलाई भन्न भने खोजेको होइन। द हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनालसँग काम गर्दा भने मैले धेरै अवसर पाएँ। रिपोर्टर डुल्नुपर्छ, बुझ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो उहाँ। कुनै देशको फेलोसिप पाएँ भने सहजै उहाँले बिदा दिनुहुन्थ्यो। 

तर, अधिकांश मिडियामा रिपोर्टरलाई लगानी आफू पनि नगर्ने अरुले गरेको लगानीमा जान पनि नदिने धेरै छन्।

म एउटा अंग्रेजी दैनिकको ५ महिना जति सोसियल ब्युरो चिफ थिएँ सन् २०१३ तिर। त्रिवि शिक्षण अस्पतालमा आन्दोलन चलिरहेको थियो। मैले रिपोर्टरलाई रिपोर्टिङ गर्न जाऊ भनें। रिपोर्टरले सिधै भने, मसँग पैसा छैन। कार्यालयले तलब नदिएको लामो समय भएको थियो। तलबै नदिने मिडिया हाउसले समाचारमा लगानी किन गरुन्? 

अब स्रोत भएन भन्ने होइन
हिमालयन टाइम्समा काम गर्दा नै मैले ९/१० वटा देश जाने अवसर पाइसकेको थिएँ। तर कसैलाई हात जोडेर होइन, आफैं अप्लाई गर्दै गएको हो। यसरी घुम्न मात्रै विदेश गइएन। युरोप, अमेरिका र भारतमा कसरी रिपोर्टिङ गरिन्छ सिकियो पनि। त्यति नै बेलाको संगत र मेरो रिपोर्टिङ मेन्टरिङ स्किलले सम्पादक भएको हो।

म केही साथीहरुको रिपोर्ट हेर्छु। कमेन्ट गर्यो भने हैन सर यति मात्रै गर्न सकिन्छ भन्छन्। यसरी त कसरी हुन्छ क्षमता अभिवृद्धि? मलाई लाग्छ, अधिकांश रिपोर्टरले आफूले लेखेको कुरा दोहोर्याएर पढ्दैनन्। जसले गर्दा मिसइन्फर्मेसन बढी हुन्छ। शुद्धाशुद्धी हेरेर समाचार प्रकाशित गर्ने सम्पादक र दोहोर्याएर नपढ्ने रिपोर्टर हावी भए। 

रेडियोका पत्रकारलाई तालिम दिने क्रममा मैले बंगालको खाडीबाट आएको वायुले पानी पर्यो भनेर बिहान-बेलुकी समाचार पढ्ने साथीलाई सोधेँ, यो पूर्व पर्छ कि पश्चिम? यसको उत्तर आएन। भन्न खोजेको के भने, हामी रिपोर्टर दिनहुँ पढेको समाचारको पनि पूर्ण जानकारी राख्दारैनछौं। कमजोरी हाम्रै भएन र? 

अरुलाई ढाँटेर त नाफै होला तर आफूले आफैंलाई ढाँटेर त के फाइदा र? अहिले नेपाली मिडियामा आफैंलाई ढाँट्ने हावी भए। 

न्युज रुममा छलफल नै हुँदैन
ब्यानर न्युजमा बाहेक अन्य इस्युमा छलफल नै हुँदैन हाम्रो मिडियामा। छलफल भए पो मथिन्छ। मथिएपछि पो समाचार आउँछ। छलफल भइहाले पनि वातावरण सम्बन्धी समाचार प्राथमिकतामा पर्दैनन्। आमनागरिक तहको समस्या प्राथमिकतामा पर्दैनन्।

ग्रामीण भेगको ठूलो समस्या भनेको बाँदरले बाली खाइदिनु हो। यस्ता विषयमा हाम्रा न्युज रुममा छलफल भएको छ? घनीभूत छलफल नै हुँदैन।

ढोरपाटनमा झारललाई सिकार गरिन्छ। बाँदरको मामिलामा के गर्ने हो? सिकार गर्ने हो कि, बन्ध्याकरण गर्ने हो कि? बाँदर र बाघलाई उस्तै दृष्टिकोणले हेर्न भएन। यस्ता विषयले हाम्रा न्युज रुममा प्रवेश पाउने कहिले?

काठमाडौँको रिङरोड एकदमै खतरनाक छ। बाटो काट्दा डर लाग्दो छ। जसले गर्दा दुर्घटना बढिरहेको छ। साइकल लेन छैन। वरपरको रुख काटिएको छ। इस्यु त यो पनि हो नि, होइन र? 

हाम्रो पेसाले अरुलाई प्रश्न सोध्छ। अब आफैंलाई प्रश्न सोध्ने बेला आएको छ। मेरो पेसाको मुल मर्म के हो? के कुरा मैले लेखिरहेको छु? जवाफदेही हुनुपर्दैन? सोधौँ आफैँलाई। 

रिपोर्टर ‘सिरियस’ हुनुपर्यो
वातावरण/विज्ञान पत्रकारिता गर्ने हो भने पत्रकारिता पढाउँदा नै एक वर्षको बेसिक विज्ञानको कोर्ष राखे हुन्छ। हाम्रो विश्वविद्यालयका सरलाई मैले सुझाव पनि दिएको थिएँ। उहाँले भन्नुभयो, 'हामीसँग नेपालीमा पढ्ने/पढाउने सामग्री नै छैन।'

मार्क्सवादका ठेलीका ठेली अनुवाद गरेर पढ्न मिल्छ, वातावरण, जलवायु परिर्वतन जैविक विविधताबारे सामग्री नहुने हुन्छ? अरु नै थ्यौरी पनि अनुवाद नै भएका त हुन्। 

नेपालका रिपोर्टर आफैं सिरियस हुनुपर्यो। आफ्नै सेरोफेरो बुझ्नु पर्यो। उदाहरणका लागि, हामी कतै घुम्न जान्छौँ। तर घर आएपछि फोटो हेर्दा ए यो ठाउँ पनि रहेछ भन्ने थाहा पाउँछौँ। हुरुहुरे पाराका छौँ हामी। हाम्रो मिडियाको कन्टेन्ट पनि त्यस्तै भएको छ। हुरहुर्ती कन्टेन्ट आउने, के आएको छ थाहा नहुने।

जलवायु परिर्वतनले हाम्रो देशलाई ठूलो असर परेको छ। तर सानो देश भएको कारण हाम्रा मुद्दाहरु ओझेल पर्छन्। यही कुरा चीन र भारतलाई जोडेर लेखियो भने अन्तर्राष्ट्रिय समुदायको पनि चासो हुन्छ।

अघिल्लो वर्ष वन्यजन्तु ओसार-पसारमा संलग्नहरुको रिपोर्ट गरेको थिएँ। त्यो समाचारमा अमेरिकी राजदूतावासले चासो देखाएको थियो। भन्न खोजेको, हाम्रोमा इस्यु धेरै छन्। तर ठूला देश नजोडी त्यो मुद्दा अन्तर्राष्ट्रियकरण गर्न गाह्रो रहेछ। 

यसो भन्दैमा हामीले इस्यु उठाउन छोड्ने होइन। झन् ध्यान खिच्ने गरी उठाउने हो। विज्ञानको आधारभूत ज्ञान लिएर वातावरण पत्रकारिता गर्ने हो भने पत्रकारिताको भविष्य उज्वल छ। किनभने, अबको नेपाली मुलधारको मिडियाले उठाउने इस्यु भनेकै वातावरण, प्राकृतिक स्रोत र जलवायु परिर्वतनका इस्यु हुन्। 

(उज्यालो नाइन्टी नेटवर्क रेडियो, द हिमालयन टाइम्स, रिपब्लिकामा काम गरेका भुसाल अहिले द थर्ड पोल नेपालका सम्पादक छन्। भुसालसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।) 

चौथो अंगका पुराना श्रृंखला

१० फागुन, २०७८, २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।