उकेरा कोलम

चौथो अंगमा बिनाज गुरुबाचार्य : प्रकाशकले मिडियालाई नाफा कमाउने हतियार बनाए


तस्बिर : कृष्पा श्रेष्ठ

मैले ‘एपी न्युज एजेन्सी’मा काम गरेको २३ वर्ष भयो। अमेरिकामा हेड अफिस भए पनि सन् १९९७ को अन्तिममा एपी न्युजको क्षेत्रीय कार्यालय भारतको नयाँदिल्लीमा दुई महिना तालिम लिएँ। नेपालमा मेरै बुबा हुनुहुन्थ्यो एपी न्युजको नेपाली पत्रकार। 

भारतमा दुई महिना काम गरेपछि उनीहरुले तिमी नेपालको रिपोर्टिङ गर्न सक्छौ भनेर मलाई यता पठाए।

सन् १९९० मा नेपालमा बहुदल पुनर्स्थापना हुँदा बुबासँगै मैले पनि रिपोर्टिङ गरेको थिएँ। कम्प्युटर साइन्स पढ्ने योजना बनाएको मैले पछि विषय परिवर्तन गरेर पत्रकारिता नै पढें। एपीको तालिम लिनुअघि मैले काठमाडौं पोस्टमा दुई वर्ष काम गरिसकेको थिएँ। 

तथ्य र छिटो चाहिने  
काठमाडौँ पोस्टमा काम गर्दा सुरुआतमा नै मैले राजनीति रिपोर्टिङ गरेको हुँ। राजनीतिका समाचार प्राय: फ्रन्ट पेजमा नै छापिन्थे। 

नेपालमा पत्रकारितालाई राजनीतिले प्रभावित सुरुदेखि नै पारेको हो। सामाजिक, आर्थिक क्षेत्रका जतिसुकै ठूला इस्यु भए पनि प्राथामिकतामा राजनीति नै भयो। अहिले केही परिर्वतन हुन खोजेको देखिए पनि राजनीतिले नै डोमिनेट गरिरहेको छ। 

पहिले-पहिले त पत्रकार कम र राजनीतिक कार्यकर्ता बढी हुन्थे। अहिले भने अवस्था फेरिएको छ। पहिले पत्रकार अनि मात्रै अन्य अन्य कुरा जोडिन्छन्। स्वतन्त्र विचारधारा राख्नेहरु पत्रकारितामा बढिरहेका छन्। 

‘एपी न्युज’ न्युज एजेन्सी हो। एजेन्सी भएका कारण समाचारमा द्रुत गति र तथ्यपरक हुनुपर्छ। कुनै पनि घटना भएपछि अपडेट दिइहाल्नुपर्छ।

मिडिया हाउस भएको भए तुरुन्तै अपडेटभन्दा पनि अलि लामै समाचार दिन्छु भनेर काम गर्न सकिन्छ। एक किसमले भन्दा अहिलेको अनलाइन जस्तो हो न्युज एजेन्सी। 

२०५८ सालमा राजदरबार हत्याकाण्ड भयो। यो समयमा राति नै मैले समाचार अपडेट दिनुपरेको थियो। त्यसपछि बढाउँदै लेख्दै दिनुपर्थ्यो।

त्यस्तै माओवादी युद्धका समाचारहरु पनि धेरै लेखियो। भूकम्प गएको बेला पनि धेरै खट्नु पर्‍यो। दिनको १८ घण्टासम्म काम गर्नु परेको थियो त्यो बेला। 

नेपालमा राजदरबार हत्याकाण्डका बेला लोकल मिडिया हाउसका लागि समाचार लेख्दा घटनाको विवरण लेखे पुग्यो। तर विदेशी मिडिया भएपछि भने अलि धेरै पृष्ठभूमिमा ध्यान दिनुपर्छ।

राजदरबार हत्याकाण्ड भयो। यो-यो मारिए भनेर लेखेर मात्रै पुगेन। नेपाल भन्ने देश दक्षिण एसियामा पर्छदेखि त्यहाँ संवैधानिक राजतन्त्र छ भनेर समेत खुलाएर लेखियो। 

त्यस्तै भूकम्प गएको बेलामा पनि नेपालको परिचय दिँदै समाचार लेखियो भने माओवादी युद्ध भएको बेला पनि त्यस्तै। त्यतिबेला हामीले ‘कम्युनिस्ट रिभोल्ट’ भन्ने शब्द प्रयोग गर्थ्यौं। आर्थिक, सामाजिक, राजनीतिक हरेक कोणबाट व्याख्या गर्नुपर्थ्यो। कारण, १ सय ५० देशमा सब्सक्राइबर छन् एपी न्युजका। ती सबै देशले बुझ्ने समाचार लेख्नुपर्‍यो। त्यसैले त कहिलेकाहीँ समाचारभन्दा पृष्ठभूमि धेरै हुन्थे। 

राजनीति हावी छ नेपाली पत्रकारितामा 
सन् १९९३ पछि नेपालमा निजी मिडियाको व्यावसायिक चरित्र देखा पर्‍यो। तर राजनीति निकै हावी। पत्रकारितालाई प्रोफेसनको रुपमा लिने चलनै थिएन। पत्रकारले पनि घर बनाउन सक्छ गाडी किन्न सक्छ भन्ने कल्पना बाहिरको कुरा थियो। अहिले लेखाइ र प्रोफेसनको हिसाबमा पत्रकारिता धेरै अघि बढेको छ। 

त्यतिबेला न्युजरुम गतिलो थिएन। अहिले त्यस्तो छैन। तर समस्या अझै के छ भने, राजनीतिबाट अलि धेरै प्रभावित भए हाम्रा मिडिया। कांग्रेस-कम्युनिस्ट भनेर छुट्टिन्छन् समाचार।

पत्रकार महासंघमा त झनै छरपष्टै छ। पत्रकार कतातिर ढल्केको छ, अलग्गै थाहा हुन्छ। हामीले जुन विषयको समाचार लेखे पनि राजनीति जोडिहाल्छौँ। तर विदेशमा यस्तो हुन्न। 

विदेशी मिडियामा राजनीतिक समाचार नजाने भनेको होइन। हामीले जसरी पार्टीको सामान्य झगडालाई इस्यु बनाइरहेका छौँ, त्यो चाहिँ गर्दैनन् भनेको हो।

विदेशमा धेरै उठ्ने इस्यु भनेको सीमा-नाकाका विषय, कुटनीति, आर्थिक अवस्था, जनस्वास्थ्यका इस्युहरु हुन्। हाम्रोमा पनि पहिलेको तुलानामा यो विषयमा अहिले लेखिन त थालेको छ तर पर्याप्त छैन। 

‘एक्स्ट्रा कन्टेन्ट’ खोज्छन् विदेशी मिडिया 
नेपालमा विदेशी न्युज एजेन्सी/मिडियाका रिपोर्टर धेरै छन्। विदेशी मिडियाले जहिले पनि एक्स्ट्रा कन्टेन्ट खोज्छन्।

पहिले सशस्त्र संघर्ष, ठूला-ठूला राजनीतिक परिर्वतन, प्राकृतिक विपत्ति र अहिले कोरोना भाइरसको रिपोर्टिङ धेरै भयो। मेजर घटनालाई जोडेर अन्य क्षेत्रमा के प्रभाव पर्‍यो, विश्लेषण सहितको समाचार पनि खोज्छन् अझ।

अहिले नेपालको इस्यु जाने भनेको कुमारी, छाउपडी, हिमालयको बारेमा नै हो। यहाँ भएको दैनिक राजनीतिक घटना आवश्यक पर्दैन त्यता। 

जसले रिपोर्टिङ गरे पनि यसैको पेरिफेरिमा जाने हो। काठमाडौँमा वायु प्रदूषण छ, बाहिर ठूलो समाचार हुँदैन। किनभने यो भन्दा धेरै प्रदुषित सहर अन्यत्र बढी छन्। तर सगरमाथाको हिउँ पग्लयो भने ठूलो समाचार बन्छ। किनभने हिमाल त हामीसँग मात्रै छ। र, पाठकलाई योप्रति चासो पनि छ। 

नेपालका प्रकाशकहरु व्यावासायिक अझै भइसकेका छैनन्। अन्तर्राष्ट्रिय न्युज एजेन्सीमा काम गर्दा स्वतन्त्रता बढी छ। समाचार के लेख्ने भन्ने रिपोर्टरको स्वतन्त्रता हुन्छ। इस्युबारे छलफल त हुन्छ तर न्युज रुममा छलफल हुँदैन। 

नेपाली न्युज रुममा पनि अहिले पहिले जस्तो अवस्था छैन। पहिले मेल डोमिनेट थियो, प्रोफेसनालिजम थिएन। अहिले विस्तारै यो हटेको देखिन्छ। 

हाम्रोमा सुधार्नुपर्ने भनेको राजनीतिबाट डोमिनेट हुनु भएन समाचारहरु। नेपालमा प्रकाशकहरुले मिडियालाई हतियारको रुपमा लिएको देखिन्छ। पावर कसरी गेन गर्ने यसैमा ध्याउन्न देखिन्छ। मिडिया हाउसलाई कर्पोरेट हाउस ठानेर आफ्नै कम्पनी हो, नाफा कसरी लिने भनेर सोचिरहेका हुन्छन्।

सम्पादकले प्रोफेसनालिजम त देखाउन खोजिरहेका छन् तर कर्पोरेट हाउसको हस्तक्षेपको अगाडि सम्पादकीय स्वतन्त्रता समेत बचाउन सकेका छैनन्। धेरै स्ट्रङ छैनन् नेपालका सम्पादक। 

कर्पोरेट हाउसले नियन्त्रण गरे हाम्रा मिडियालाई। मिडिया हाउसले पनि कर्पोरेट हाउस जसरी ट्रिट गरे।  

हाम्रोमा सुधार्नुपर्ने अर्को विषय भनेको रिपोर्टर बिट वाइज स्पेसलाइजेसन गरेको हुनुपर्‍यो। यसले हाम्रोमा हुन नसकेको खोजी पत्रकारिता गर्न सजिलो हुन्छ। डेप्थ रिपोर्टिङ हुन नसक्नु बिट वाइज पत्रकारिता नभएर पनि हो। बिट वाइज पत्रकारिता गरेकाले ठूला-ठूला इस्यु समातेर खोजी पत्रकारिता गरिरहेका छन्। 

अन्त्यमा, विदेशी न्युज रुम र नेपाली न्युज रुममा तुलना गरेको होइन। सबैका आ-आफ्नै सीमितता छन्। तर हाम्रो सुधार्नुपर्ने केही कुरा छन्। जस्तो, पत्रकार पोलिटिकल बायस्ड नहुने र प्रकाशकले कर्पोरेट हाउस सम्झेर मिडियालाई हतियारको रुपमा नसम्झिने।

मिडिया हाउसलाई चौथो अंग सम्झेर प्रोफेसनल्ली व्यवहार गरे हाम्रो मिडियामा पनि विदेशीभन्दा कम हुँदैन। 

(काठमाडौं पोस्टमा दुई वर्ष र २३ वर्षदेखि अमेरिकी न्युज एजेन्सी एपी न्युजमा काम गरिरहेका गुरुबाचार्यसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....