चौथो अंगमा थिरलाल भुसाल : विश्वविद्यालयको गोल्डमेडलिस्टले नेपालको मिडियामा किन करिअर देख्दैन ?

चौथो अंगमा थिरलाल भुसाल : विश्वविद्यालयको गोल्डमेडलिस्टले नेपालको मिडियामा किन करिअर देख्दैन ?
तस्बिर : कृष्पा श्रेष्ठ

भाषागत माध्यमको कुरा गर्दा नेपालमा स्वभाविक रुपमा नेपाली माध्यमको प्रभावकारिता बढी छ। यसको अर्थ यो होइन कि, अंग्रेजी माध्यमको पत्रकारिताको कुनै प्रभाव नै छैन।

यो आकलन कुन माध्यममा समाचार प्रकाशित हुँदा बढी प्रभाव पर्छ भन्ने दृष्टिकोणबाट मात्र गरिएको हो। 

एउटा उदाहरणबाट सुरु गरौँ,

२०६८ सालमा पिरामिड शैलीमा चल्ने नेटवर्किङ व्यवसाय ‘युनिटी नेटवर्क’को ठगीबारे श्रृङ्खलाबद्द समाचार आयो एक अंग्रेजी माध्यमको पत्रिकामा। उक्त कम्पनीले बैंक, स्वास्थ्य, विमान, पर्यटन, ट्राभल एण्ड टुर्समा लगानी गरेको दावी गरेको थियो। 

देशव्यापी रुपमा बिमा, औषधि सुविधा र जीवनभर पेन्सनको आशा दिलाएर नागरिकबाट पैसा उठायो। उसकै शैली पिरामिड नै थियो। पैसा बुझाएका तर सेवा-सुविधा केही नपाएकाबारे फाट्टफुट्ट मिडियामा समाचार आइरहेकै थियो। हामीले भने त्यसलाई श्रृङ्खलाबद्ध स्टोरी छाप्ने भयौँ। 

महत्वपूर्ण इस्यु नेपाली र अंग्रेजी दुवै प्रकाशन भएका सञ्चारगृहले दुवै माध्यममा छाप्थे। हामीले भने यो समाचार अंग्रेजी माध्यममा मात्रै छाप्ने निर्णय गर्यौं। अंग्रेजीमा मात्रै छाप्दा कतिको प्रभावकारिता हुन्छ भन्ने मूल्याङ्कन गर्ने अवसर पनि थियो त्यो। 

अंग्रेजी माध्यममा श्रृङ्खलाबद्ध स्टोरी आयो। तर कुनै प्रभाव परेन। सम्बन्धित निकायले चासो देखाए पनि आम पाठकमा त्यसको बलियो प्रभाव देखिएन। बहसको विषय बन्न सकेन। त्यसपछि भने नेपाली माध्यमको पत्रिकामा सोही समाचार अनुवाद गरेर प्रकाशित भयो। सो समाचार छापिएकै दिन युनिटीका कर्मचारीहरु सो मिडिया हाउसको कार्यालय घेर्न आए। 

तर, पीडितहरु अझै खुल्दै आए। २०६२ देखि २०६८ सम्म चलेको युनिटी नेटर्वक नामको धन्दा बन्द भयो। यो मुद्दा अदालतसम्म पुग्यो। संलग्नहरु कारबाहीको दायरामा आए।

एक हप्तासम्म अंग्रेजी माध्यममा प्रकाशित हुँदा आम रुपमा प्रभाव परेन। जसै नेपाली माध्यममा आयो तब यसको प्रभाव जताततै पर्न थाल्यो। 

यो १० वर्षअघिको कुरा भए पनि भाषागत माध्यमको विषयमा कुरा गर्दा अहिले पनि अवस्था यो भन्दा फरक नहोला। 

अन्तर्राष्ट्रिय विषय जोडिएका र प्राज्ञिक विषयमा भने अंग्रेजी माध्यममा प्रकाशित समाचारको प्रभाव बढी देखिन्छ। तैपनि, जुन रुपमा अंग्रेजी सञ्चार माध्यम फस्टाउनु पर्ने हो त्यो रुपमा भने फस्टाउन सकेन। यसका कारणहरु टन्नै छन्।

आम्दानी थोरै, कटौती धेरै  
सन् १९९० अघिसम्म राइजिङ नेपालको एकाधिकार रह्यो अंग्रेजी माध्यमको पत्रकारितामा। १९९० पछि भने दैनिक पत्रिकाले सह-प्रकाशनको रुपमा अंग्रेजी माध्यमको पत्रिका पनि प्रकाशित गर्न थाले। तर अंग्रेजी माध्यमको पत्रकारितालाई भने अनुवादको ट्याग लागिरह्यो, जुन अहिलेसम्म पनि छ। 

अंग्रेजी माध्यमको पत्रकारिता अनुवाद मात्रै हो त? कामै केही नभएको हो त? यसमा केही प्रष्ट पारौँ। राष्ट्रिय/अन्तर्राष्ट्रिय इस्युबाहेक अन्य अनुवाद भएको पाइँदैन। जिल्लाको समाचार राख्दा एकै पत्रकार हुने भएकाले अनुवाद हुनु स्वभाविक होला। तर केन्द्रमा भने विषय अनुसार पत्रकार खटाइन्छ। राजनीतिक घटनाक्रम उस्तै हुने भएकाले इभेन्ट कभर गर्दा नेपाली र अंग्रेजी माध्यमको समाचार उस्तै हुन सक्छन्। तर त्यसैलाई अनुवाद भन्न मिल्दैन। 

अंग्रेजी माध्यमको पत्रकारिता फस्टाएको २०६५ सालपछि नै हो। ६/७ वर्ष राम्रो भयो। जब नाकाबन्दी भयो, भूकम्प आयो अंग्रेजी माध्यमको पत्रकारिता ओरालो लाग्यो। कोरोनाले त झण्डै बन्दै गरायो नि। 

यस्तो किन हुन्छ त? स्वभाविक रुपमा लगानीकर्ताले नाफा खोज्छन् नै। अंग्रेजी माध्यमको पत्रकारिताबाट लगानीकर्तालाई फाइदाभन्दा घाटा बढी भयो। त्यसकारण धेरै पत्रिका बन्दै भए। या त नाम मात्रकै संख्यामा निस्किने भए। 

१२ पेजको नेपाली माध्यमको पत्रिका प्रकाशन गर्नु र १२ पेजकै अंग्रेजी माध्यमको पत्रिका प्रकाशन गर्नु जनशक्तिको हिसाबले अंग्रेजी माध्यमको महँगो पर्न आउँछ। नेपाली माध्यमको तुलानामा आम्दानी भने थोरै हुन्छ। त्यसकारण लगानीकर्ताले कटौती गर्नु पर्दा अंग्रेजी माध्यम नै रोज्ने भए। 

नेपालको अंग्रेजी माध्यमको पत्रकारिता बीचमै ब्रेक लाग्नुको अर्को कारण इन्टरनेटको विस्तार पनि हो। यहीँ बसेर न्युयोर्क टाइम्स, बिबिसी, द इकोनोमिस्ट पढ्न सकिने अवस्था भयो। त्यहाँको स्तर र यहाँको स्तर मिल्दैन पनि।  

नेपालमा अंग्रेजी माध्यमको सेलेक्टिभ रिडर हुने हुँदा ती डाइभर्ट भए। हामीले अन्तर्राष्ट्रियस्तरको कन्टेन्ट पस्कन सकेनौँ। सोही अनुसारको भाषा पनि दिन सकेनौँ। त्यसकारण अंग्रेजी माध्यमको पत्रकारिता नेपालमा दयनीय बन्न पुगेको छ। यी पक्षमा पनि मेहनतका साथ राम्रो गरिरहेका केही अंग्रेजी मिडिया त अहिले पनि चलिरहेका छन् ।

पाठक नै फरक 
मुख्य कुरा नेपाली र अंग्रेजीका पाठक नै फरक हुन् भन्ने बुझ्न जरुरी छ। एकै विषय भए पनि हेर्ने दृष्टिकोण भिन्न हुनसक्छ। भाषाले पाठकको दायरा फराकिलो र साँघुरो बनाउँछ नै।

अंग्रेजी माध्यमका पाठक अंग्रेजीमा पहुँच भएका, एनजिओ, आइएनजिओ, एम्बेसी, विदेशी, अनुसन्धानकर्ता तथा नेपाल बुझ्न चाहनेहरु बढी हुन् नि। के हामीले यो ग्रुपलाई टार्गेट गरेर पत्रकारिता गर्न सकेका छौँ त? 

अंग्रेजी माध्यमको पत्रकारले नेपालीमा बुझेर पाठकलाई अंग्रेजीमा बुझाउन सक्ने क्षमता राख्नुपर्छ। नेपालीमा लेख्दा सो घटनाको पृष्ठभूमि नलेखे पनि हुन्छ तर अंग्रेजी माध्यममा भने पृष्ठभूमि चाहिन्छ। लेख्नै पर्छ। 

उदाहरणको लागि नेपालका प्रधानन्याधीशलाई महाअभियोग लगाइयो। नेपालीमा लेख्ने र अंग्रेजीमा लेख्नेले फरक गर्नैपर्छ। हिजो प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्नेलाई महाअभियोग कस्तो अमिल्दो भन्ने सम्झन सक्छ अडियन्सले। 

तर, यो जेलिएको नेपाली राजनीतिलाई चिर्ने गरी लेख्न सक्ने हुनुपर्छ अंग्रेजी माध्यममा। नेपालको राजनीतिबारे केही थाहा नभएको पहिलो पटक पढ्नेले पनि सहजै बुझ्न सक्ने हुनुपर्छ। अर्काइभतिर जानु नपरोस् न। तर यहाँ त्यस्तो देखिन्न।

हाम्रोमा नेपालीभाषीलाई केन्द्रित गरेर जसरी कन्टेन्ट निर्माण हुन्छ, अंग्रेजी माध्यमको पत्रकारितामा पनि उस्तै हुँदा उनीहरुलाई आकर्षित गर्नै नसकेको सत्य हो।

अर्को समस्या, राष्ट्रिय इस्युमा कम जानकारी भएका अंग्रेजी पत्रकार अनि अन्तर्राष्ट्रिय इस्युमा कम जानकारी भएका धेरै नेपाली माध्यमका पत्रकार छन्। यसको प्रभाव पनि पत्रकारितामा पर्छ नै। परेको छ। दुवै विषयमा पोख्त पत्रकारहरु नभएका होइनन्। तर संख्या कम छ।

यो समस्या अहिले फस्टाएको अनलाइन सञ्चारमाध्यममा पनि छ। अनलाइनले समेत अंग्रेजी माध्यमको पत्रकारितामा फड्को मार्न सकेका छैनन्। यसको कारण घटनाक्रम एकै हुनसक्छ तर पाठक विल्कुल भिन्न हुन् है भनेर बुझ्न नसक्नु नै हो भन्ने मेरो ठम्याइ छ।

अंग्रेजी भाषाको अनलाइनमा लगानी गर्ने आँटै छैन
नेपालमा अनलाइनको विकास भएदेखि साना-ठूला मिडियाको प्रभावकारिता झन्डै उस्तै-उस्तै देखिएको छ। ठूला मिडिया हाउस अनि साना मिडिया हाउसभन्दा पनि कसले कस्तो इस्यु दियो भन्नेले फरक पार्न थालेको छ। बहालवाला मन्त्री, बहालवाला सभामुखदेखि स्वास्थ्य क्षेत्रमा भएका भ्रष्टाचार अनलाइन सञ्चारमाध्यबाटै बाहिरिए। प्रिन्टले त फलो गरेका न हुन्। प्रभावको हिसाबमा कुन माध्यममा र कहाँ आएको भन्नेले त्यति ठूलो अर्थ राखेन त्यो बेलामा। यसले पनि अब कुनै मिडिया हाउसको नामभन्दा पनि कामले बढी प्रभाव पार्ने देखियो नै।

पहिले सानो लगानीमा, थोरै सर्कुलेसनमा प्रकाशित भएका पत्रिकाले लेखेका ठूला-ठूला भ्रष्टाचारका समाचारको कुनै प्रभाव पर्दैनथ्यो। ठूला मिडियाको एकाधिकार थियो। सानो मिडियामा काम गर्नेहरु त्यही समाचार आफूले पहिल्यै लेख्दा प्रभाव नपरेको तर पछि ठूला मिडियाले लेख्दा प्रभाव परेको भन्दै फ्रस्ट्रेसनमा पुग्थे। 

अहिले अवस्था त्यस्तो रहेन। अहिले समाचारको गुणस्तरले प्रभाव पार्न थालिसक्यो। मिडिया हाउस गौण समाचारको प्रभाव ठूलो पर्ने भयो। हिजो दूरदराजमा पत्रिका पुग्दैनथे। आज धेरैको पहुँचमा पुगेको छ सूचना। त्यसरी दुर्गमसम्म र देशैभर छरिएका मोबाइलमा जोडिएकाहरु नेपाली अनलाइनमा निकै सक्रिय छन्। 

कुनै नेपाली युवा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छ र अनलाइन भोटिङ हुन्छ भने त्यहाँ देशभित्रै र संसारभर रहेका नेपालीले जनाउने सहभागिताले देखाउँछ, नेपालीहरु अनलाइनमा कति सक्रिय छन् भन्ने। अर्ब जनसंख्या रहेका भारतीयलाई समेत नेपालीले पछि पारेका छन् अनलाइन भोटिङमा। 

अहिले अनलाइन माध्यमका लागि लागि नेपाली समाज उर्बर छ। त्यस्तो सक्रिय जनसंख्यालाई उपयोगी बहसमा सहभागी बनाउन सके र उपयोगी सूचनामार्फत नवीन र उत्पादनमुलक कामतर्फ जोड्न सके समाज र अर्थतन्त्रलाई योगदान पुग्छ।

तर, अनलाइनको व्यापक विकास भइरहेको अहिलेको अवस्थामा पनि अंग्रेजी माध्यमका अनलाइन भने आउन सकेका छैनन्। मिडिया हाउसले भन्दा समाचारले प्रभाव पार्ने आजको समयमा अंग्रेजी अनलाइन आउनुपर्ने होइन र? प्रश्न उठ्नु स्वभाविक हो।

त्यसमा पनि नेपालका केही अंग्रेजी माध्यमको पत्रिकाले सुरुवातमा नै अनलाइन संस्करणबाट अभ्यास पनि गरेका हुन् नि। अनलाइनमा धेरै आइडिया प्रयोग गरिएको थियो पनि। तर त्यसले निरन्तरता भने पाउन सकेन।

यसमा समस्या पाठकको हो भन्ने लाग्दैन मलाई। समस्या अंग्रेजी माध्यमको अनलाइन न्युज पोर्टल कसरी चलाउने भन्ने आइडिया र लगानी गर्ने हैसियत भएका लगानीकर्ताको अभाव हो।

पाठकको कुनै समस्या छैन। झन् बढ्दैछ। युरोप- अमेरिकातिर गएका नेपाली मुलका दोस्रो पुस्ताका लागि नेपाली माध्यम कठिन हुन्छ। अंग्रेजी सहज हुन्छ। उनीहरुलाई पनि नेपालबारे पक्कै चासो त हुन्छ नै। के हामीले उनीहरुलाई लक्षित गरेर सामग्री पस्किन सकेका छौँ त? छैनौँ भन्न लाज मान्नुपर्ने अवस्था छैन।

अंग्रेजी माध्यमका नयाँ पाठकलाई आकर्षित गर्ने गरी हामीले योजना नै बनाउन सकेका छैनौँ। भाषा अनुसारको पाठकको रोजाइ र सोचाइ फरक हुनसक्छ भन्ने जानेर या नजानेर हामीले स्वीकार गर्न सकेका छैनौँ।

विदेशी मिडिया पनि छ नि भन्ने लाग्न सक्छ। हो, छन्। तर अधिकांश विदेशी मिडियाकाले नेपालका असामान्य कन्टेन्ट हो नि खोज्ने। जस्तो यहाँका कुप्रथा। छाउपडीका समाचार कति धेरै विदेशी मिडियामा आए। किड्नी बेचबिखनबारे विदेशी मिडियामा आएको समाचारले काभ्रेको होक्से नै बदनाम भयो। तर त्यो रुपमा सकारात्मक समाचार आएका छन् त?

अन्य विषय आए भने कुमारी, हिमाल अनि गैंडाबारे आउने त हो विदेशी मिडियामा नेपालको समाचार। नेपालको आर्थिक अवस्था, बदलिँदै गएको नेपाली समाज, नेपालमा गर्न सकिने नयाँ व्यवसाय, नेपाली समाजका सकारात्मक पक्ष विदेशी मिडियामा पढ्न पाइन्छ र? नेपालको भू-राजनीतिबारे पढ्न पाइन्छ र? 

एमसिसीको विवाद कुन रुपमा छ नेपालमा। तर विदेशी मिडियामा त्यसको चिरफार आएका छन् र? छैन। उनीहरुलाई यस्ता विषयमा धेरै चासो पनि हुन्न। जसलाई चासो छ उनीहरुले कहाँ पढ्ने त? पछिल्लो समयमा नेपालबाट विदेशी मिडियामा काम गर्ने पत्रकारहरुले प्रयास गरेका छन् यस्ता कन्टेन्टमा। तर पर्याप्त छैन।

नेपालमा जैविक विविधता, जलवायु परिर्वतन, धार्मिक स्थल, पर्यावरण, यहाँको रहनसहन, नेपालको भू-राजनीतिबारे प्रष्ट र कडा रिपोर्टिङ गर्ने अनलाइन हुने हो भने मज्जाले चल्छ।

तर, यहाँ भइरहेका नेपाली माध्यमका अंग्रेजी साइटको समेत राम्रो अर्काइभ छैन। यो नहुँदा विदेशी अनुसन्धानकर्ताले त्यसलाई सन्दर्भ स्रोतको रुपमा समेत प्रयोग गर्न डराएको देखिन्छ। साइटेसन गर्यौं १० वर्षपछि त्यही साइट राखेर खोल्दा खुल्दैन। साइट खुलेन भने त्यो अनुसन्धानकर्ताले फ्रड काम गरेको जस्तो हुनसक्छ नि। 

त्यसैले कन्टेन्ट अर्काइभिङ, इन्टरनेसनले लेभलको रिपोर्टिङ गर्ने हो भने नेपालमा अंग्रेजी माध्यमका अनलाइनको भविष्य राम्रो देख्छु म त।

अन्य माध्यम किन अंग्रेजी भएन?
नेपालमा पत्रिका र केही अनलाइन मात्रै अंग्रेजी माध्यमका भए। रेडियो र टेलिभिजन मिडियाका अन्य माध्यम भने अंग्रेजी हुन सकेनन्। बुलेटिन बाहेक टक शोहरु पनि आएका छैनन्। मलाई लाग्छ, भू-राजनीति र कुटनीतिको राम्रो रिपोर्टिङ अंग्रेजी माध्यमका मिडियाले धेरै काम गर्न सक्थे।

टक शो नै विदेशी कुटनीतिज्ञ, मन्त्री तथा अन्य व्यक्ति आएको बेला हाम्रा मिडियाले अंग्रेजीमा नै गर्न सकेका छन् त?  केही पहिले चुच्चे नक्सा, अहिले एमसिसीको विषयमा न त अंग्रेजीमा हाम्रा नेताको अन्तर्वार्ता लिन सक्यौँ न त विदेशीको। 

त्यो अनुसार टेलिभिजननै विकास भएनन् नि। अब यसमा लगानी मात्रै नभएर जनशक्तिको पनि उत्तिकै महत्व हुन्छ नै। नेपाली माध्यममा काम गर्ने पत्रकार जसरी टिकिरहेका छन्, अंग्रेजी माध्यमका काम गर्न पोख्न पत्रकार त्यसरी टिक्न सकेका छैनन्। यो पनि मुख्य समस्या हो।

टेलिभिजनले सकेनन् ल। अनलाइनले त गर्न सक्छन् नि। तर प्राथमिकता नै छैन। टक शो अनि महत्वपूर्ण विषयका रिपोर्टिङहरु अंग्रेजीमा गर्न सकिन्छ नि। जसले हाम्रो भूराजनीति र कुटनीतिमा चासो राख्ने अनि जिज्ञासा राख्नेलाई सहयोग पुग्न सक्छ। तर यतातिर धेरैलाई चो भएझैँ लाग्दैन मलाई।

मिहिनेती छन् पत्रकार
नेपाली माध्यमको अनलाइन भने लोभलाग्दो गरी विकास भएको छ। आइतबार प्रधानन्याधीशलाई महाअभियोग लगाइयो। साँझसम्म महाअभियोग लगाउनुपर्ने कारणदेखि यसका प्रक्रियासम्मका साइड स्टोरी अनलाइनले दिए। 

अहिले अनलाइन पत्रकारले निकै मिहिनेत गरिरहेका छन्। फिडब्याक पनि उत्तिखेरै आउँछ। एक हिसाबले भन्दा अनलाइनले पत्रकारलाई ऊर्जावान बनाएको छ। गाह्रो काम दिनको ४/५ घण्टाभन्दा बढी गर्न सकिन्न। तर १२ घण्टासम्म खटेर काम गर्ने पत्रकार छन्। 

तर, यत्रो खटाइलाई केही गल्तीले भने छायाँमा पार्ने काम गरेको छ। हो, कहिलेकाहीँ ब्लण्डर नभएका होइनन्। तर त्यो हिजो छापा माध्यममा पनि भएका थिए। रेडियो अनि टेलिभिजनमा पनि ठूला गल्ती नभएका हैनन्। तर अहिले अनलाइन सञ्चार माध्यमले मात्र गल्ती गर्छ जस्तै माहोल बनाउने प्रयत्न भएको छ।

काम गर्ने सिलसिलामा मानवीय त्रुटिमा हुने सामान्य गल्तीलाई देखाएर पत्रकारले गरेका ठूला कामलाई सेबोटाज गर्ने प्रयासहरु भइरहेका छन्। यो चाहिँ त्यति चित्त बुझिरहेको छैन मलाई।

विश्वविद्यालयको गोल्डमेडलिस्टले मिडियामा करिअर किन देख्दैन?
पहिले-पहिले विदेशमा पढेर नेपाल फर्केर पत्रकारिता गर्नेको संख्या धेरै थियो। राम्रै सरकारी जागरी छाडेर पत्रकारितामा आउनेहरु पनि थिए। केही अझै छन्। मानविकी, विज्ञान, अर्थशास्त्र पढेकाहरुले मिडियामा आफ्नो करिअर देखेका थिए।

तर, अहिले यस्तो अवस्था छ त? हामी टप फाइभ मिडियामा पर्छौँ भन्ने मिडिया हाउसले नै खोजेजस्तो जनशक्ति किन पाउन सकेको छैन?  त्यहाँ त तीव्र प्रतिस्पर्धा हुनुपर्ने हैन र? कुनै बैंक, इन्सुरेन्स कम्पनीमा कलेज टप गरेकाहरु रोजगारका लागि प्रतिस्पर्धामा देखिन्छन्। मासिक २५/३० हजार मात्रै पारिश्रमिक दिने अन्य निजी संस्थामा जनशक्तिको कुनै अभाव देखिन्न। 

तर, पत्रकारितामा अहिले प्रारम्भिक पारश्रमिक नै ३५ हजारमाथि भइसकेको छ। तर आइरहेका छैनन् दक्ष जनशक्ति।  अर्थशास्त्र पढेका दक्ष जनशक्ति किन आर्थिक रिपोर्टिङमा आउनुको साटो वित्तीय संस्थातिरै केन्द्रित छन्। नेपालका टप पाँच बैंकले जनशक्ति नपाएको कहिल्यै सुनिएको छैन। तर नेपालका टप मिडिया हाउसको समाचार कक्षमा सधैं जनशक्तिको अभाव किन?

अब यो पाटोमा निर्मम समीक्षा गर्ने बेला आइसकेको छ।

यसका विविध कारण छन्। मुख्य कारण, प्रकाशन गृहले आकर्षित गर्न नसकेका हुन्। आर्थिक सुरक्षा छैन। सामाजिक सुरक्षा छैन। एक हजार नभएर एक पत्रकारको उपचारै नपाई मृत्यु भएको समाचार भाइरल हुने क्षेत्रमा कसरी आकर्षित हुन्छन् दक्ष जनशक्ति? अनि दक्ष जनशक्तिको अभावमा कसरी उत्पादन गर्न सकिन्छ गुणस्तरीय सामग्री?

मेरो दृष्टिकोणमा मिडिया क्षेत्रमा दक्ष जनशक्ति नआउनुमा पत्रकार दोषी हैनन्, मिडियाको व्यस्थापनको दोष हो। जनशक्ति रणनीतिमा हाम्रा ठूला मिडिया हाउसहरु कहीँ न कहीँ चुकिरहेका छन्। त्यसैले नयाँ सक्षम जनशक्ति यो क्षेत्रमा आउन चाहिरहेका छैनन्। विश्वविद्यालयका मिडिया विभागहरु बन्द हुन थालेका छन् विद्यार्थीको अभावमा। 

हामी प्रभावशाली मिडिया हौँ भनेर दावी गर्ने मिडिया हाउसहरुले अब यो पाटोबारे गम्भीर विश्लेषण गर्न जरुरी छ।

कानुन नलाग्ने प्रकाशक
महामारीको बेला प्रकाशकले राज्यबाट सुविधा लिएको छ। तर न त सम्पादकले त्यस्तो सुविधा लिएको हुन्छ न रिपोर्टरले। नेपालका अधिकांश प्रकाशकहरुले सूचना सम्प्रेषणको लागि चाहिने सूचना विभागको कार्ड बनाउन आवश्यक कानुन समेत पूरा गरेका छैनन्।

समयमा तलब नदिने, २०औँ वर्ष काम गरेर अवकाश पाएकाहरु रित्तै जानुपर्ने अवस्था त पत्रकारले बनाएका पक्कै हैनन्।

अर्को पाटो, नेपालका सम्पादकहरुको लोभलाग्दो क्षमता छ। कसैको लेखनशैली गजब छ। कसैको भाषा अथवा प्रस्तुति शैली निकै राम्रो छ। धेरैले राम्रो काम गरिरहनुभएको छ। केही राम्रा सम्पादक अवश्य छन्। तर राम्रा र सक्षमभन्दा अदक्ष सम्पादकहरु अलि बढी नै हावी भएको हो कि जस्तो पनि लाग्छ बेलाबखत।

सम्पादक पद जोक हैन। तर अहिले हेर्दा नेपालमा रिपोर्टरभन्दा सम्पादकहरुको संख्या धेरै भएझैँ देखिन्छ। संख्यात्मक रुपमा मात्र बढेको देखियो। तर त्यो रुपमा गुणस्तर बढ्यो त?

यसो भन्दा आफैंलाई अप्ठ्यारो लाग्छ। किनकी, २० वर्ष बिताएको क्षेत्र हो नि मिडिया। तर अन्तर्राष्ट्रिय मिडियामा भएका सम्पादकसँग तुलना गर्न सकिने नेपालका सम्पादकको संख्या दुर्लभ छ। 

सम्पादक धेरै भए र स्तर पनि कायम हुन सकेन। सम्पादक भनेको चानचुने कुरा होइन। नेपालमा आखिर त्यही कुरा आउँछ। महत्वाकांक्षाले आएका सम्पादक नेपालमै छँदा त वरपर आउरे-बाउरे राखेर गफ दिन सक्ने भए तर बाहिर देशमा गएको बेला आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने भएनन्।

सम्भावना छ है
सम्भावना अझै छ। तर समीक्षा गर्ने बेला भने भयो। हाम्रो मिडिया कहाँ चुकिरहेको छ? हाम्रो कन्टेन्टमा के समस्या छ? सामान्य मानवीय त्रुटि हुँदा पनि किन लखेटाइमा परिरहेका छन् पत्रकार?  हामीले समाचार कक्षको नेतृत्व र व्यवस्थापकको नेतृत्वलाई किन अलग गर्न सकिरहेका छैनौँ ? किन दक्ष जनशक्तिभन्दा काम चलाउ जनशक्ति हावी भएका छन् हाम्रो पेसामा? 

अब यी प्रश्नबारे निर्मम समीक्षा गर्न जरुरी छ। ट्रान्जिसनल फेजमा छौँ हामी। तर यो अवस्था सधैं कायम रहे हुने दुर्घटना नै हो। दुर्घटनाबाट जोगिने हो भने अब फड्को मार्नै पर्छ। व्यवस्थापनमा देखिएको समस्या चिर्नै पर्छ। अब मिडियाको संस्थागत विकास गर्नै पर्छ।

(राजधानी दैनिक तथा काठमाण्डु पोस्टमा काम गरेका भुसाल रिपब्लिपका दैनिकका पूर्व सहसम्पादक र नेपालखबरडटकमका पूर्व कार्यकारी सम्पादक हुन्। उनीसँग उकेराको नियमित स्तम्भ चौथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

३ फागुन, २०७८, २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।