उकेरा कोलम

चौथो अंगमा देवेन्द्र भट्टराई : रिपोर्टरले राजनीतिक दलको धारणा बोल्दा कुटनीतिक पत्रकारिता कमजोर


तस्बिर : कृष्पा श्रेष्ठ

नेपालमा कुटनीतिक पत्रकारिताको अवस्था कस्तो छ भन्ने विषयमा केही उदाहरण दिँदै कुराकानीको सुरुवात गर्न चाहन्छु।

कात्तिक १६ गते ‘ह्याप्पी इण्डेक्सको भुटान-भ्रम’ शीर्षकमा रिर्पोटिङ गरेँ। सन् ९० को दशकमा एक लाखभन्दा बढी नागरिकलाई देशनिकाला गरेको र सयौंलाई जेलमा कोचेर ‘जातीय सफाया’ गरेको भुटानले सुखी र खुसी देश दावी गरेकोमा विश्वभर छरिएका नेपालीभाषी भुटानी आश्चर्यचकित भएको रिपोर्टिङको थिम थियो। सँगसँगै त्यही जेलमा सजाय काटिरहेकाहरुको पनि स्टोरी गरिएको थियो।

यो स्टोरी गर्दा मलाई गन्यमान्य व्यक्तिले नै भन्नुभयो, ‘तँ कसको इशारामा चलेको छस्?, कसको नुन खाएर लेख्छस्?’

ह्याप्पी इण्डेक्समा  संसारमा नै आफू अगाडि रहेको दावी गर्ने भुटान त्यसमाथि त्यहाँका नेपाली भाषीमाथि भएको अत्याचारबारे लेख्दा सबैबाट समर्थन हुनुपर्नेमा केहीबाट आलोचित पनि भएँ।

इस्युमा व्यापक छलफल गर्नेभन्दा पनि पक्ष-विपक्ष लिने चलन छ हाम्रोमा।त्यसैको प्रभावको उदाहरण हो यो। कुटनीति अथवा अरु कुनै पनि बिटको पत्रकारिता गर्दा कसैको पक्ष/ विपक्ष लिने होइन, सुझबुझका साथ इस्यु उठान गर्ने हो। यसमै समस्या छ हाम्रोमा।

अहिले विद्युतीय प्रसारण लाइन अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे पनि कि खुलेर विरोध गर्नेले मिडिया स्पेस पाइरहेका छन् कि खुलेर समर्थन गर्नेले। यसमा व्यापक छलफल हुनुपर्नेमा कित्ताकाट पो भएको छ नेपाली समाज। यसमा कतै हामी मिडियाकै कमजोरी त छैन? समिक्षा आवश्यक छ।

कुनै पनि देशको जुनसुकै सहयोगलाई हामीले छलफलको दायरामा ल्याउने हो। सहयोग दिने देशको समर्थन अथवा विरोध गर्ने होइन। विज्ञले समेत यसमा ध्यान दिएको पाइँदैन। कि समर्थन कि विरोध गर्नै पर्छ र!

अघिल्लो सरकारको पालामा भारतीय खुफिया एजेन्सीका सामन्त गोयल नेपाल आए। यसबारे समेत मिडियामा कित्ताकाट भयो। ‘स्कुप’ मार्ने शैलीमा रिपोर्टिङ भए। जब कि कुटनीति रिपोर्टिङमा स्कुप मार्ने भन्ने हुँदैन। निकै संवेदनशील हुन्छन् यस्ता विषय। तर सचेत देखिएनौ हामी।

भारतको विषयमा हाम्रो रिपोर्टिङको केन्द्रविन्दु इपिजीमा हाम्रो सरकारको अडान के हो? हामीले जुनसुकै विषयमा कुटनीतिक नोट दिँदा भारतले किन सुन्दैन? जयसिंह धामीकै केसमा होस् या हाम्रा सीमा मिचिएको सम्बन्धमा। 

स्कुप मार्ने शैलीले भन्दा पनि तथ्यमा आधारित रहेर प्रमाण सहित लेख्नुपर्नेमा सनसनी मच्चाउने अनि केही घण्टापछि भुलसुधार गर्ने शैलीमा लेखियो। यसको अर्थ सबैले गलत तरिकाले रिपोर्टिङ गरेका छन् भनेको होइन। सनसनी मच्चाउनेभन्दा पनि कुटनीतिक तबरबाट लेखिनुपर्छ मात्रै भन्न खोजेको हुँ। 

‘मिसन’ भएन भने के पत्रकारिता?
२०५३ सालमा पुसदेखि मैले हिमालय टाइम्स दैनिकमा काम गरेँ। तीन वर्ष काम गरेपछि हिमालय टाइम्सको रिपोर्टरको रुपमा मैले शिक्षा सम्बन्धी पुरस्कार पाएँ। त्यसपछि पत्रकार नारायण वाग्लेले मलाई कान्तिपुरमा बोलाउनुभयो र २०५६ देखि हालसम्म कान्तिपुरमै कार्यरत छु।

साहित्यकारसँगको संगतका नाताले प्रत्येक हप्ता शनिबारको अंक कोसेलीमा साहित्यकारको प्रोफाइल लेख्न पनि नारायण दाइले नै सुझाउनुभयो।  साहित्यले सेन्टिमेन्ट बुझ्न सघाउँछ। कोसेलीको लेखाइले अझैसम्म मलाई गहिराइमा पुगेर स्टोरी गर्न सहयोग पुर्‍याइरहेको छ। 

नेपालीहरु खाडीमा काम गर्न जाने धेरै नै भइसकेका थिए। नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान बढ्दो थियो। यसैलाई मध्यनजर राखेर कान्तिपुरले कतार इडिसन प्रकाशित गर्ने भयो। नारायण दाइले मलाई कतार पठाउनुभयो। सुरुवातमा म एक्लै गएको थिएँ। पछि श्यामसुन्दर शशि पनि कतार पुगे। कतार जाँदा सुरुमा पत्रकारको भिसा नभई अफिसर लेभलको इलोक्ट्रोसियन भनेर पठाइएको थियो। 

६० प्रतिशत खाडीको न्युज र ४० प्रतिशत नेपालको न्युज राखेर सुरुमा हप्ताको दुई दिन र पछि हप्ताको एक दिन साप्ताहिक प्रकाशित गरियो। कतार इडिसन भए पनि दुबई, ओमान, बहराइन र कुवेतसम्मका स्टोरी छाप्थ्यौँ हामीले। 

नेपाली समाजमा छोरा खाडीमा छ भन्थे तर कहाँ छ के गर्दै छ? अत्तो-पत्तो हुँदैनथ्यो। खाडीमा पुगेका महिला पनि झुटा मुद्दामा फसेका हुन्थे। यताबाट म्यानपावर कम्पनीले श्रामिक पठाउँथे। उताका कम्पनीले बाचा गरेभन्दा अर्कै काम लगाइदिने गर्थे। मानव व्यवसायी हुन्थे त्यहाँ केही एजेन्सीहरु।

एउटा उदाहरण, कतार र बहराइनको सीमा विन्दुमा समाल भन्ने ठाउँ छ। त्यो ठाउँ यस्तो कि, कुनै पनि दिशा नछुट्टिने। चारैतिर मरुभूमिबाहेक केही नदेखिने।

लमजुङ जिल्लाका सोमबहादुर विश्वकर्मा त्यो स्थानमा एक्लै भेडा चराउने र गधाले जोत्ने काम गर्ने रहेछन्। उनी बाहेक त्यो स्थानमा कोही थिएन। भेडालाई श्याम भनेर बोलाउँदा समेत आउने भइसकेको थियो। उनका साथी भनेका त्यही भेडाहरु थिए। हाम्रो सम्पर्कमा आएपछि उनीबारे समाचार मात्रै लेखिएन उद्धार समेत गरियो। 

त्यस्तै डोल्मा शेर्पा कुवेतमा जेल परिन्। एक फिलपिनी सहकर्मीको हत्याको बात लागेर १० वर्ष उनी जेल बस्न बाध्य भइन्। उनलाई मृत्युदण्ड सुनाइएको थियो। तर पछि भने सजाय फेरियो। घरेलु कामदार रहेकी डोल्मालाई मृतकको शरीरमा जबरजस्ती छुन लगाएर फसाइएको थियो। मृत्युदण्डको चौतर्फी विरोध भएपछि भने उनी बाँच्न पाइन्। उनका बारेमा पनि समाचार लेखिएन मात्रै, उनलाई सहयोग जुटाउनेसम्म काम गरियो।

त्यस्तै भारत बस्दा भुपालमान दमाई जो पन्जाबमा १५ वर्ष जेल बसेका थिए, उनलाई उद्धार गर्नेसम्मको काम गरियो। 

मैले गरेँ भन्न खोजेको होइन। एक जनाले गरेर हुने पनि होइन। तर पत्रकारले सम्बन्धित पीडितको समस्या लेखेर मात्रै होइन, सम्बन्धित निकाय कति जवाफदेही भए त भनेर सोधपुछ गर्‍यो भने मात्रै पनि पीडितले न्याय पाउँछन्। 

व्यक्तिगत रुपमा म यस्तै मिसन पत्रकारिता गर्न रुचाउँछु । एक्टिभिजम भनेको आन्दोलन भयो। त्यो आन्दोलनलाई सही ट्रय्याकमा ल्याइयो भने मिसन हुने रहेछ।

नेपालमा मिसन पत्रकारिता गर्ने भनेर भारतदत्त कोइराला र किशोर नेपाल चिनिनुहुन्थ्यो। । किशोर नेपालको काम गर्ने शैलीबाट म सुरुदेखि प्रभावित छु जस्तो लाग्छ।

पत्रकारिता समाचार लेख्ने मात्रै होइन, मिसन पनि हो। सरोकारवाला निकायलाई जवाफदेही बनाउँदै गर्दा ती निकायलाई पीडितलाई न्याय दिलाउन अभिप्रेरित गराउनु पनि हो पत्रकारको काम।

भारतीय पत्रकारको कुटनीतिक सुझबुझ 
कतारबाट फर्केर आउँदा कान्तिपुरमा ठूलै ‘भेल-बाढी’ आइसकेको थियो। नेपालमै भएको भए म कता काम गरिरहेको हुन्थें भन्न सक्दिनँ। कान्तिपुरको फेरिएको नेतृत्वबाट बहकाउने, तेरा मान्छे छैनन् भन्ने कुनै व्यवहार भएन। मलाई २०६८ साल देखि दिल्लीमा रिपोर्टरको रुपमा पठाइयो। दिल्ली बसे पनि मैले दक्षिण एसिया नै करिब-करिब हेर्नुपर्छ भन्ने थियो। 

नेपालको परराष्ट्र मन्त्रालयमा केही सोध्नु भयो भने हामीलाई थाहा छैन भन्ने गैरजिम्मेवार जवाफ आउँछ। जसको देशको जिडिपी ३० प्रतिशतभन्दा बढी रेमिट्यान्सले धानिन्छ। त्यो देशको मन्त्रालयलाई आफ्ना श्रामिकबारे केही जानकारी हुँदैन।

अस्तिकै कुरा गरौँ न, 'टर्कीमा चिसोले केही विदेशी नागरिकको मृत्यु, नेपाली पनि पर्नसक्ने' भन्ने समाचार बाहिरियो। हामीले गैरआवासीय नेपालीसँग कुराकानी गर्‍यौं। यसबारे मन्त्रालयमा सोध्दा हिउँ परेकै थाहा छैन भन्ने जानकारी आयो।

तुइन काटिएर मृत्यु भएका जयसिंह धामीबारे सरकारले लामो समयसम्म अनविज्ञ रहेजस्तो नाटक गर्‍यो। पत्रकारले जानकारी लिनसक्ने, हाम्रा संयन्त्रले लिन नसक्ने भन्ने हुँदैन। तर हाम्रा संयन्त्र निकै कमजोर भए। परराष्ट्रका प्रवक्तालाई केही थाहै नहुने? प्रवक्ताको काम के हो ? परराष्ट्रका प्रवक्ताले आफ्नो जिम्मेवारी सम्झेकै छैनन्। 

यसको विपरीत भारतमा भने हरेक हप्ता विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्छ। केही विशेष घटना भए पनि नभए पनि पत्रकारले आफूलाई लागेका प्रश्न सोध्न पाउँछन्। यसो हुँदा के भइरहेको छ भनेर मन्त्रालयले पनि नयाँ जानकारी लिन पायो। पत्रकारले पनि जवाफ पाउने भए। 

नेपालमा भन्दा भारतमा सतही पत्रकारको बिगबिगी नभएको होइन। तर कुटनीतिक मामिलामा भने उनीहरु एकदमै संवेदनशील छन्। उनीहरु चाँडै लेखेर माफी मागिहाल्न पर्ने कुटनीतिक रिपोर्टिङ गर्दैनन्। यसमा भारतीय पत्रकारको सुझबुझ देखिन्छ। अझ भारतमा केही सिनियर पत्रकारको कुटनीतिक सुझबुझ निकै उच्च स्तरको पाएँ।

कुटनीतिक रिपोर्टिङमा सधैं स्कुप हुँदैन
हाम्रा कुटनीतिक निकायका संयन्त्र कमजोर छन्। सहजै सूचना पाइँदैन। स्कुप मार्ने भन्ने पनि हुँदैन। त्यसकारण जति कुटनीतिक रिपोर्टिङ हुनुपर्ने हो, जसरी हुनुपर्ने हो त्यसरी भएको पाइँदैन। 

नेपालका श्रामिक अलपत्र परेको समाचार अझै पनि आइरहन्छन्। तर जसरी उद्धार हुनुपर्ने हो, त्यसरी भएको पाइँदैन।

कतारका राजदूत सूर्यनाथ मिश्र हुनुहुन्थ्यो। हामीले लेखेका समाचारलाई साँच्चिकै गम्भीर रुपमा लिएर हरसम्भव सहयोग गर्नुभयो उहाँले। सरकारी निकायमा एक जना मात्रै पनि सुझबुझ र मानवीय संवेदना भएका मान्छे भए भने कसैको जीवन नै परिवर्तन हुनसक्छ। 

भारतमा बस्दा अफगानिस्तानको नेपाली सेल्टरमा बसेर मैले रिपोर्टिङ गरेँ। त्यतिबेला नै तानजनिया र केन्यामा मुजुरा डान्स गराउन लगेका महिलाको बारेमा स्टोरी गरियो। जसले गर्दा उनीहरुको उद्धार भयो। 

खासमा कुटनीति, सीमा सुरक्षाको रिपोर्टिङ गर्नेले सधैँ  कन्भिन्स भए हुन्छ। यहाँ सधैं स्कुप हुँदैन। तर विचार पुर्‍याएर लेखिदिँदा कोही मृत्युको मुखबाट फर्किएर बाँच्न पाउँछन् श्रामिकको केसमा । अन्तर्राष्ट्रिय रुपमा परिपक्व हुन्छ हाम्रो कुटनीति, हाम्रो सुझबुझको लेखाइले। 

सीमाकै कुरा गर्दा नेपाली कांग्रेसले चीनबाट सिमाना मिचिएको कुरा उठाउँछ भने कम्युनिष्ट पार्टीले भारतबाट। समस्या दुवै सिमाना छन् भने कुटनीतिक तबरबाट काम गर्ने हो। पत्रकारले आफू नजिक भएको पार्टीको बोली बोल्ने होइन। तर सरकार फेरिएपिच्छे भारत र चीनको पक्ष-विपक्षमा लाग्छन् पत्रकार। हामी पत्रकार नै राजनीतिक नेतृत्वको भुलभुलैयमा फस्यौँ कि जस्तो लाग्छ। सुझबुझ भएर लेख्ने पत्रकार नभएका होइनन्। तर भारत र चीनको पक्ष-विपक्षमा लाग्ने हावी भए। 

सन् २०१५ मा भारतको ऋषिकेशमा बाढी-पहिरो गयो। १ सय ८३ जना नेपाली श्रामिकको मृत्यु भयो भनेर नामै लेखियो। उनीहरुले क्षतिपूर्ति पाएनन्। कारण के थियो भने, उनीहरु भारत गएको कुनै प्रमाण थिएन। हाम्रो रिपोर्टिङ केमा हुनुपर्ने थियो?

भारतमा कति नागरिक काम गर्छन् भन्ने तथ्याङ्क सरकारसँग छैन। कुन नेपाली नागरिकको हत्या भयो, कुन नेपाली नागरिक जेल परे हाम्रो सरकारलाई केही थाहा छैन। जबकी, भारतले चाह्यो भने १ घण्टाभित्र हाम्रो सेन्ट्रल जेलमा पहुँच राख्न सक्छ। खोई हामीले यतातिर रिपोर्टिङ गरेको?

अफगानिस्तानमा फसेका नेपालीलाई पनि भारतले ल्याइदियो। खै त हाम्रो मेकानिजम? इराकमा काम गर्ने नेपाली हुन् या सरकारले प्रतिबन्ध लगाएका मुलुकमा काम गर्ने नेपाली हुन्, उनीहरुबारे सरकारले केही चासो राख्दैन। यसबारे हाम्रो ध्यान किन जाँदैन?

कसैले पनि रिपोर्टिङ गरेकै छैनन् भन्न खोजेको होइन। तर जति हुनुपर्ने हो त्यति भएको छैन। कुटनीतिक रिपोर्टिङमा आर्कषण पनि कमै देखिन्छ। सायद सधैं स्कुप नहुने भएर पनि हुनसक्छ। तर स्कुप नभए पनि विषयवस्तुको संवेदनशीलतालाई बुझेर रिपोर्टिङ गर्नु जरुरी छ। 

मिडियाको प्लेटफर्म प्रयोग गर्ने हावी
पत्रकार किशोर नेपालले ५० वर्ष पुग्न लागिसक्यो पत्रकारिता गरेको। उहाँको रिपोर्टिङ गर्ने ऊर्जा देखेर म निकै लोभिन्छु। जुनसुकै क्षेत्रको रिपोर्टिङ गरे पनि, सम्पादकीय नेतृत्वमा पुगे पनि आजको मितिसम्म बझाङ-बाजुरा पुग्नु भएको छ उहाँ रिपोर्टिङ गर्न। त्यसकारण मलाई लाग्छ, पत्रकार सधैँको रिपोर्टर हो। 

एउटा सक्रिय रिपोर्टरले उठाएको इस्युले राज्यको नीति निर्माणमा पनि प्रभाव पारेका छन्। पत्रकारितामा आउनेले यति कुरा बुझ्नुपर्‍यो। 

पत्रकारितामा आउनेहरु प्लेटफर्म प्रयोग गर्न आएको जस्तो देखियो। मैले हाम्रो पालामा बबालै राम्रो थियो भन्न खोजेको होइन। तर आफू पत्रकारितामा किन आइरहेको छु भनेर सोच्नभन्दा पनि पत्रकारिता गरे यो-यो सुविधा पाइन्छ भन्ने दृष्टिकोणले आउने बढे भन्न खाजेको हुँ। 

सम्पादक पनि राम्रै बढिरहेका छन्। मलाई लाग्छ, सम्पादकले जुन बिटमा पर्फेक्ट भए पनि सबै विषयमा केही न केही त जान्नै पर्‍यो। हार्ड न्युज र सफ्ट न्युजमा पकड भएको सम्पादक भए भने नेपाली पत्रकारिताको भविष्य राम्रो हुने देख्छु म।

जसरी भारतले सीमा मिच्दा हामीले प्राथामिकता दिन्छौँ, त्यसरी नै सामाजिक सरोकारका विषयमा चासो राख्ने सम्पादक हुनुपर्‍यो।

उदाहरणको लागि, कलाकार टेकवीर मुखियाले लामो समय साझा प्रकाशनमा काम गर्नुभयो। तर उहाँले उपदानको नाउँमा २०/२५ हजारभन्दा केही पाउनु भएन। त्यतिमात्रै होइन, सरकारले दिने भनेको १ लाख राशिको पुरस्कारमा पनि १५ हजार मात्रै पाउनुभयो। ९० वर्षको हुनुभयो उहाँ। अहिले उहाँ अस्वस्थ हुनुहुन्छ, उपचार गर्नुपर्ने छ तर पैसा छैन।

सम्पादकलाई जति सीमा मिचिएको कुराले दुख्छ, त्यति सामाजिक सुरक्षाका विषयले छुनुपर्छ। नेपालमा हार्ड र सफ्ट न्युज बुझ्ने सम्पादक केही छन् तर सबैमा यो गुण हुन जरुरी छ। 

नफस्टाएको मिडिया उद्योग 
गोरखापत्रको स्थापनादेखि आजसम्म हेर्ने हो भने नेपाली मिडियाको आयाम फराकिलो भएको छ। माध्यमको हिसाबले पनि र पहुँचको हिसाबले पनि। राणाकाल र पञ्चायती व्यवस्थालाई छाड्ने हो भने ४० वर्ष भइसक्यो मिडिया क्षेत्रले स्वतन्त्र काम गर्न पाएको। तर हाम्रो मिडियाको आर्थिक हैसियत के छ? यो क्षेत्रमा काम गर्नेको सुरक्षा कस्तो छ? पत्रकारको आर्थिक हैसियत कस्तो छ?

उदाहरणको लागि कोरोना भाइरस सङ्क्रमण सुरु भएदेखि अहिलेसम्मको अवस्थामा १ सयभन्दा बढी पत्रकार यो पेसा छाड्न विवश भए किन? हाम्रा मिडिया कति कमजोर रहेछन् त? 

पत्रकारको सामाजिक सुरक्षा खै? ५०औँ वर्ष पत्रकारितामा बिताउनुभएका किशोर नेपालहरुको सामाजिक सुरक्षा खै? त्यो त जेष्ठ नागरिकले पाउनुपर्ने होइन? मलाई लाग्छ, मिडिया संख्यामा मात्रै बढेर हुँदैन। आर्थिक हैसियत के हो ? भोलि पत्रकारको हात बस्दै गर्दा उसको जीवनको सुरक्षा कसले गर्छ? बहस यता पनि हुनुपर्ने हो कि।

(हिमालय टाइम्स दैनिकमा तीन वर्ष र २२ वर्षदेखि कान्तिपुरमा कार्यरत भट्टराई कुटनीति, सीमा सुरक्षा, सम्पदा लगायतका विषयमा रिपोर्टिङ गर्छन्। भट्टराईसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....