चौथो अंगमा विश्वदीप लामिछाने : ज्योतिष हेराएर रङ छान्ने लगानीकर्ताले टिभीको स्वरुप बिगारे

चौथो अंगमा विश्वदीप लामिछाने : ज्योतिष हेराएर रङ छान्ने लगानीकर्ताले टिभीको स्वरुप बिगारे
तस्बिर : कृष्पा श्रेष्ठ

हिट्स एफएम एण्ड म्युजिकले २०५५ सालतिर एक कार्यक्रम गर्ने भयो। सो कार्यक्रमको प्याकेजिङ नयाँ थियो, हाम्रो र उनीहरुको लागि पनि। 

कार्यक्रमको पूरै प्याकेज बनाइयो, जुन ब्रोडकास्ट डिजाइन भयो। हामीलाई ग्राफिक्स बनाउन आए पनि प्रोजेक्टरमा कसरी लैजाने र राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा कसरी देखाउने भन्ने चुनौती थियो। किनभने, यसबारे जान्ने हाम्रो समूहमा दोस्रो मान्छे कोही थिएन। हामी सबै नयाँ थियौं।

यो कार्यक्रम सफल भएपछि भने म मिडियासँग जोडिए। भुषण दाहालसँग पछिसम्म काम गरियो। त्यतिबेला ८/१० जना थियौँ ग्राफिक्स जानेको। केही साथीहरु विज्ञापनमा, केही साथीहरु म्युजिक भिडियोमा लाग्नुभयो। म भने टेलिभिजिनतिर लागें। 

मैले च्यानल नेपालमा एउटा काम गरें। च्यानल नेपालका सञ्चालक हुनुहुन्थ्यो जमिम साह। त्यो टिभी कुनै प्याकेजिङका साथ अघि बढेको थिएन। आफ्नै सुरले टेलिभिजिन चलाइरहेका थिए साहले। 

च्यानल नेपालको एउटा काम मात्रै गरियो। साहले टेलिभिजन प्याकेजिङको लागि ८५ लाख दिने बताए। मैले सोचेँ, यो आउने पैसा होइन। यहाँ काम नगर्ने। भुषण दाहालले कान्तिपुर टेलिभिजन आउँदैछ, काम गर्ने हो भनेर सोध्नुभयो। ग्राफिक्स प्याकेजिङको १५ लाख दिने भनेपछि यो पैसा मलाई रिजनेबल लाग्यो। साढे दुई महिना दिनहुँ १० घण्टाका दरले केही साथीले काम गर्नुपर्ने थियो। 

सोही अनुसार काम गरियो। ग्राफिक्सले कुन कार्यक्रम कसरी बनाउने, त्यसको सिम्बोल के राख्ने, कम्पनीको लोगो के राख्ने, टिभीको आइडेन्टिटी कसरी छुट्याइदिनेदेखि समाचार र अन्य कार्यक्रमको डिजाइन गरिदिन्छ। कान्तिपुरको  सुरुवातमा नै हामी भएको हुनाले ब्राण्डिङदेखि प्रोग्रामको प्याकेजिङसम्म हामीले गर्यौं।

त्यतिबेला औपचारिक ग्राफिक्स पढेका कोही थिएनन्। एक हप्ता ननस्टप टेलिभिजन हेरेर आइडेन्टिटी के रहेछ, ब्राण्डिङ कसरी बनाउने रहेछ, कार्यक्रमको ओपनिङ, क्लोजिङ कसरी गर्ने रहेछ भनेर बुझियो। त्यसपछि भने कान्तिपुर टेलिभिजनको ग्राफिक्स बन्यो। 

हाकिम भएपछि सबै जानेको ठान्ने सम्पादक 
प्रोग्रामले टेलिभिजन बिकाउँछ भन्छन्, यो होइन। टेलिभिजन आफैं ब्राण्डिङ हो। बिना लोगो पनि तपाईंको टेलिभिजन कसैले चिन्छ भने त्यो तपाईंको सफलता हो। कुनै पनि कार्यक्रम प्रस्तोताले ग्राफिक्स डिजाइनरलाई कस्तो कार्यक्रम बनाउने भनेर ब्रिफिङ गर्न सकेनन् भने कार्यक्रम राम्रो बन्दैन।

एक जना व्यक्तिले अर्थसम्बन्धी कार्यक्रम चलाउँछु, ग्राफिक्स बनाइदेऊ भन्नुभयो। उहाँले भन्न त भन्नुभयो तर अर्थको कस्तो कार्यक्रम भन्न सक्नुभएन। हाम्रोमा ग्राफिक्स डिजाइनरलाई स्क्रिप्ट भन्ने चलन नै छैन। 

स्क्रिप्ट जसले भन्छ, त्यो कार्यक्रमको ग्राफिक्स राम्रो हुन्छ। जसले भन्दैन, त्यो कार्यक्रमको ग्राफिक्स उँट जस्तो हुन्छ। 

उदाहरणको लागि कान्तिपुरको फायर साइड कार्यक्रमको ग्राफिक्स हेर्नु, त्यहाँ साइडमा आगो बलिरहेको छ। सिम्बोलिक रुपमा आगोको अघि बसेर कसम खाइरहेको हो नि त्यो कार्यक्रमको गेस्टले। आगो छोएर कसम खानु हाम्रो संस्कृति हो।

भन्न खोजेको के भने कुनै पनि कार्यक्रमको ग्राफिक्स, टिभीको लोगो, उसको नाम र त्यहाँको संस्कार-संस्कृति झल्कने बनाउने हो ग्राफिक्स। 

मैले धेरै टेलिभिजनको ग्राफिक्स बनाउने अवसर पाएँ।  केही सम्पादकसँग काम पनि गरियो। काममा स्वतन्त्रता दिनेदेखि न्युज हेड भएपछि सबै जानेको छु भन्ने घमण्ड भएकाहरु पनि देखियो। रिपोर्टर छँदा मिहिनेत गर्नेहरु नै समाचार प्रमुख/सम्पादक भएपछि काम नगर्ने, धरातल बिर्सने भए। आफूभन्दा सेकेण्ड ‘एस म्यान’ राख्ने अनि आफूले गरेको हरेक कार्य उसैलाई सोध्ने। एस म्यानले आलोचना त गर्दैन नि। यो सबै माध्यमका मिडियाको समस्या हो।

न्युज रिडरले सम्पूर्ण टेलिभिजन धानेपछि कस्तो हुन्छ टेलिभिजनको गुणस्तर? अझ धरातल नै बिर्सेर अन्य सहकर्मीलाई हेप्नेदेखि हियाउनेसम्मकाले टेलिभिजनको नेतृत्व गरेका छन्। 

टेलिभिजिनमा पनि न्युज हेड भएदेखि सबै टिमले आफूले भनेको मान्नुपर्छ भन्ने देखिन्छ। हाकिम भएपछि काम मात्रै होइन, कार्यालयको सबै चिज मेरो हो भन्ने घमण्ड देखिन्छ। जान्न केही पर्दैन तर सबै जानेको टोपलिने देखिन्छ।

नेपालका धेरैजसो सम्पादकलाई ग्राफिक्सबारे जानकारी नै छैन। भिडियो होस् या पत्रिकाको डिजाइन, अन्तिममा आउने, बनाइसकेकोलाई यो भएन, त्यो भएन भन्ने, हटाउन लगाउने र भद्रगोल बनाइदिने सम्पादक छन्। हाकिम हो, मैले भनेको हुनुपर्छ भन्ने धारणा ज्यादा, टिमवर्क हो सल्लाह गर्नुपर्छ भन्ने भावना कम देखिन्छ। 

मिडियाको काम नै यसै टिमवर्क हो। तर टेलिभिजनको त रिपोर्टिङदेखि सम्पादन, कार्यक्रम प्याकेजिङदेखि सम्पूर्ण काममा टिमर्वकको भावना कम देखिन्छ। समाचार बुझ्नेले ग्राफिक्स नबुझ्ने, ग्राफिक्स बुझ्नेले समाचार नबुझ्ने समस्या देखिन्छ। 

कलर छान्दा ज्योतिषलाई देखाउने लगानीकर्ता 
नेपालका टेलिभिजनहरु भारतबाट प्रभावित देखिन्छन्। बिबिसीको रातो रङ, आजतकको रातो रङ र नेपाली टेलिभिजनको रातो रङ। बिबिसीको रङ शालिन देखिन्छ तर आजतकको भद्दा किन त? त्यो त प्रस्तुतिको शैलीले हो नि।

नेपालका केही टेलिभिजनका रङहरु भने तिरिमिरी बनाउने खालका छन्। 

आजतकको शैली आक्रमक छ। त्यहाँको चलन अनुसार कुनै पनि कुरालाई त्यसरी नै प्रस्तुति दिनुपर्ने हुन्छ बुझाउनलाई। उनीहरुको लागि ठिक छ त्यो रङ। तर नेपालको लागि त्यो रङ ठिक छैन। 

तर, ग्राफिक्स भने सफ्ट देखिन्छ हाम्रोमा। ब्राण्डिङ जसलाई गरिएको छ, उसको शैली आक्रमक तर ग्राफिक्स भने नरम देखिन्छ। यस्तो हुँदा के नमिले, के नमिले जस्तो देखिन्छ। टेलिभिजन प्रस्तोताले ग्राफिक्स नबुझेर यस्तो भएको हो।

अर्को उदाहरण, एउटा टेलिभिजनले मलाई ग्राफिक्स बनाउन भन्यो। मैले लोगो कस्तो बनाउने तपाईंहरुको थिम के हो भन्नूस् भनें। उहाँहरुले त खतरा बनाउने भन्नुभयो। के हो खतरा भनेको? खास गुदीमा जानुपर्यो नि । खतरा चाहिँ चाहिने तर कस्तो हो थाहा नहुने। बनिसकेपछि मेरो परिवारलाई यस्तो कलर मनपर्थ्यो, यो राखिदेऊ भन्ने। थोडी परिवारलाई मन परेको अनुसार टेलिभिजनको रङ राख्ने हो र? थिम अनुसार हो नि।

अझ ज्योतिषले कालो रङ राख्नै हुन्न भनेका छन्, हटाइदेउ भन्ने पनि आए। अफाप हुन्छ भनेर रङ बदल्ने? यहाँभन्दा मजाक के हुन्छ?

हाम्रा टेलिभिजन सहर केन्द्रित छन्, शैली भने आक्रमक भयो। त्यसकारण दर्शकले मन पराउँदैनन्। अनि अर्को, बढि फुर्ती देखाउने शैली पनि रुचिकर मानिँदैन। नेपाली टेलिभिजन प्रस्तोता त अन्तर्वार्ता दिएका हुन् कि लिएका हुन् नै पत्तो हुँदैन। अन्तर्वार्ताकारले आफ्नो शैली बनाउन सकेको देखिँदैन। 

मिडिया भनेको ‘पावर’ हो भन्ने भ्रम छ
मिडियामा लगानी गर्नेलाई मिडिया भनेको पावर हो भन्ने भ्रम छ। मिडियामा कन्टेन्ट पावरफुल हुनुपर्ने हो, यो भएको देखिँदैन।

पत्रकारिता पारिश्रामिकको समस्या बल्झिरहने क्षेत्र हो। अनावश्यक मिटिङ राख्ने, काम के भयो भन्ने तर तलब नबढाउने। अहिले भएको समस्या यही हो। जनशक्ति कम, पारिश्रमिक पनि कम अनि कसरी हुन्छ काम? 

नेपालमा जति ग्राफिक्स भइरहेका छन् ती राम्रै छन्। किनभने, लगानी अनुसार काम हुने हो। एक त थोरै तलब दोस्रो नियमित पनि नआउने अनि कसले गर्छ काम? 

नेपालका टेलिभिजनमा अटोमेसन बाहेकको अरु सफ्टवेयर पाइरेसी नै हो। करोडभन्दा बढी पर्छ, कसले खर्च गरेर किन्छ? यहाँ न त टेलिभिजन बुझेका लगानीकर्ता छन्, न त मिडिया। देखाउने भाँडो भएको छ मिडिया। अनि कसरी हुन्छ राम्रो काम?

यसो भन्दै गर्दा मिडिया बुझ्ने, काममा हस्तक्षेप नगर्ने लगानीकर्ता नै छैनन् भन्न खोजेको भने होइन। तर ती अपवाद मात्र हुन्।

टेलिभिजनको अन्त्य हुँदैछ
अघि भनेँ, ग्राफिक्स कार्यक्रमको अर्थ बोल्ने गरी बनाउने गरिन्छ। हरेक स्टोरी प्रस्तुत गर्दा ग्राफिक्स बोल्ने हुन्छ। तर नेपालमा भने न्युज स्टोरी टेलिङमा समस्या देखिन्छ। पहिले-पहिले त समाचारको सेन्स बुझेर भिडियो आउँदैनथ्यो। अहिले भने भिडियोग्राफरले राम्रो समाचारको सेन्स बुझेका छन्। तर समस्या के छ भने एक मिनेटको प्याकेज छ भने चार वटा फोटो मात्रै प्ले गर्नुपर्ने अवस्था धेरै ठाउँमा देखिन्छ। यसले गर्दा रिपोर्ट नै अधुरो हुन पुग्छ। 

मिडियाको कुरा गर्दा, टेलिभिजन अब सुत्ने बेला भएको जस्तो देखिन्छ। त्यसै कारण टेलिभिजन बढी नै चमक-चमक गर्दैछन्।

एक घण्टाको टक शो कसले हेरेर बस्न सक्छ? त्यसैको राइट अप २० मिनेटमा पढेर सकिन्छ, किन हेर्ने? १० वर्षपछि त्यो धैर्यता झनै मरेर जाने देखिन्छ। 

मिडियाको एउटा कमजोरी के भइदियो भने, व्यवसायको हिसाबले हेर्ने भए। अहिले बतास कम्पनी र पर्यटन मन्त्री प्रेम आलेको जसरी समाचार आइरहेको छ, प्रष्ट बुझिन्न र?

मिडियाले के भएको छ, सोको जानकारी पो दिने हो त। कुनै अमुक व्यक्ति, व्यवसायीको संरक्षण गर्ने त होइन नि।

मिडियाका लगानीकर्ता भन्छन्, हामीलाई बाध्यता छ। बाध्यता छ भने नैतिकताको कुरा गर्न भएन नि। गलतलाई गलत लेख्न सकिन्न भने मिडियाको नाउँमा दलाली गरेर बस्न भएन नि। 

कुनै सामाजिक इस्यु सर्वसाधरणले उठायो भने मिडियाले स्पेस नदिने तर प्रभावशाली व्यक्तिले व्यक्तिगत कुरा लेख्दा पनि स्पेस पाउने? मिडियाले आफ्नो स्पेसलाई किन सस्तो बनाइरहेको छ? 

अर्को, नेपाली सम्पादकबीच इगो देखिन्छ। समकालीनले त कमसेकम इस्यु उठाइसकेपछि फलो गर्नु नि। अर्कोले गरेको मैले किन गर्ने भनेर इगो लिएर बसेको देखिन्छ। सिण्डकेट लादेर बसेको देखिन्छ।

अन्त्यमा
मिडिया भनेको टिम वर्क हो। टेलिभिजनमा प्रोडक्सन र न्युजको एकदमै टसल-मसल पर्छ। न्युजवालालाई रेभिन्यु हामीले धानेका छौँ भन्ने हुन्छ भने प्रोडक्सनलाई हामीले कन्टेन्ट रिक्रिएट गरेका छौँ भन्ने हुन्छ। जनशक्ति थोरै हुँदा यी दुईको पेलानमा पर्छन् ग्राफिक्सहरु। 
ग्राफिक्सहरुको स्यालरी तथा सेवा-सुविधाको कुरा आउँदा बोल्ने कोही हुँदैनन्। आफ्नो संघ-संगठन बनाउन नसक्नु पनि ग्राफिक्सको कमजोरी देखिएको छ। 

ग्राफिक्सको बजार नभएको भने होइन। संगठित हुन नसक्दा नदेखिएका मात्र हुन्। टेलिभिजन भोलि रहला/नरहला तर ग्राफिक्स भने रहिरहन्छ। त्यसकारण म ग्राफिक्सको भविष्य राम्रो देख्छु । 

(कान्तिपुर टेलिभिजनमा सिनियर ग्राफिक्स डिजाइनर र त्यसपछि फ्रिलान्सरको रुपमा काम गरिरहेका लामीछानेसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

१८ माघ, २०७८, १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।