चिनियाँ मिडिया शालीन र सौम्य हुन्छन्, हाम्रोमा झाडापखालाले मान्छे मर्दा पनि मिडिया नताती हुँदैन

चिनियाँ मिडिया शालीन र सौम्य हुन्छन्, हाम्रोमा झाडापखालाले मान्छे मर्दा पनि मिडिया नताती हुँदैन

सामान्यतया पत्रकारिताको नियमन हेतु हरेक मुलुकमा आ-आफ्नै शैली हुन सक्छन्।

देशअनुसार प्रजातन्त्रको मोडल फरक फरक हुन्छ भनेर शाहीकालमा नेपालका कुनै मन्त्रीले भनेका थिए। उनले तत्कालीन सत्ताको आवश्यकताअनुरूप अन्तर्राष्ट्रिय समाजलाई विश्वस्त तुल्याउन त्यसो भनेका हुन सक्छन्, तर त्यो मोडलको प्रजातन्त्रमा नेपालको पत्रकारिता नै धुलीसात् पारिएको थियो।

स्वतन्त्र पत्रकारिताको वकालत गर्दै आएको नेपाली पत्रकारितामा अचानक लगाइएको अंकुश जोकोहीका लागि सुपाच्य थिएन, अतः कडा विरोध भएर चौथो अंग पूर्ववत् फर्किएको हो।

के भन्न सकिन्छ भने, कुनै पनि पत्रकारिताको अभ्यास कुनै माटोमा जसरी अंकुरित भएको छ, जसरी हुर्किँदै आएको छ, सोहीअनुरूप फल्दै-फुल्दै जाने हो।

विश्वका विभिन्न मुलुकमा पत्रकारिताको अभ्यास हुँदै आएको छ। यो कर्ममा लागेका मानिसहरूले आफ्नो सीमामा रहेर निर्भीकताका साथ काम गर्न पाउनुपर्छ, त्यही नै पत्रकारिता कर्मको चाहना हो। 

चीनमा पनि पत्रकारिताको अभ्यास लामो समयदेखि भइरहेको छ। विश्वका विभिन्न मुलुकका समाचार एजेन्सीका पत्रकारहरू चीनमा रहेर काम गरिरहेका हुन्छन्। उनीहरूले पनि आफ्नो परिधिमा रहेर पत्रकारिताको अभ्यास गर्दछन्।

नेपालमा जस्तै पत्रकारले गर्न पाउने/नपाउने आचारसंहिता हुन्छ, सोहीअनुरूप काम गर्छन्। सुधार तथा खुलापनको ४ दशक पार गरिसकेपछि, चरम गरिबीबाट उन्मुक्ति पाइसकेपछि र विज्ञान प्रविधिमा फड्को मारिसकेपछि चीनले विश्वका लागि खुलापनको आफ्नो ढोका अझै फराकिलो पारेको छ।

सोहीअनुरूप नेपालबाट अनेकन् पत्रकारहरूले चीन भ्रमण गरेर त्यहाँको पत्रकारिताको धेरथोर अनुभूति गरेको हुनुपर्छ। रहस्यमयी मानिने चीन अहिले विश्वका पत्रकारका कलममा क्रमशः खुला हुँदै गएको कुरा जोकोहीले महसुस गरेको हुनुपर्छ।

नेपालका राष्ट्रप्रमुखले चीन भ्रमण गर्दा चीनमा आएका बेला पत्रकारहरूले प्रत्यक्ष अनुभव गरेको हुनुपर्छ, दुई छिमेकी मुलुकमा रिपोर्टिङका आ-आफ्नै विशेषता रहेछन्। सोहीअनुरूप स्वीकारिएको पनि छ। 

एउटा कुरा के छ भने, चिनियाँ पत्रकारको स्वभाव अन्य मुलुकका भन्दा अलिक भिन्न अवश्य नै छ। उनीहरू लामो समयदेखि पत्रकारितामा अनुशासन र निर्देशिका पछ्याउँदै आइरहेका देखिन्छन्। उनीहरूमा सञ्चारकर्म गर्दा गर्न हुने र नहुने विषयबारे राम्रो हेक्का हुने गर्दछ।

उनीहरूले अनुशासित हुने र अग्रज पुस्ताबाट शालीनता अपनाउने आदत सिकिसकेको जस्तो लाग्छ। एक दशक लामो चीन बसाइका सिलसिलामा देखेको के हो भने चिनियाँ पत्रकारहरू सकेसम्म लापरवाही गर्दैनन्, राज्यको दिशानिर्देश के छ भन्ने कुरा भुल्दैनन् र उत्तेजना फैलाएर ‘भाइरल’ होऊँ भन्ने भ्रम पाल्दैनन्। 

मानौँ चीनमा सडकबाट कुनै व्यक्तिलाई उठाएर लग्यो भने त्यहाँको समाचार नगरपालिकाले व्यक्ति उठाएको भन्ने हुन्छ। तर हाम्रोमा केन्द्रदेखि संघीय, जातीय, लैंगिक के के हो के के जोडिएर बबाल मच्चिन्छ। जे कुरामा पनि आलोचना गरिहाल्ने चिनियाँको बानी हुँदैन।

स्वभावका हिसाबले चिनियाँ मिडियाहरू शान्त, सौम्य र शालीन हुन्छन्। हाम्रोमा झाडा पखालाले मान्छे मर्दा नाराजुलुस गर्नुपर्छ। नत्र सरकारी निकायले सुन्दैन। यसैकारण मिडियाविना सरकार अधुरोजस्तो भएको हो। जुन देशमा सरकारले आफ्नो ढंगले काम गर्दैन, त्यहाँ मिडिया नताती हुँदैन। 

चीनको शासकीय बनोटका कारण पनि हुन सक्छ,  महामारी आउन दिइँदैन, आयो भने कडा नियमका साथ नियन्त्रण गरिन्छ।  एक त नियन्त्रित मिडिया, दोस्रो चीन सरकारले समस्या बुझेर आफैं काम गर्ने हुँदा सरकारको आलोचना गर्नुपर्ने आवश्यकता उति पर्दैन जस्तो लाग्छ। चीन आफैंमा ठूलो देश हो। चीनभरिका असंख्य मिडियाबारे म भन्न सक्दिनँ तर म काम गरेको मिडिया र मैले अध्ययन गरेका केही मिडियाबारे भने म केही भन्छु। 

चिनियाँहरू प्रविधिमा पोख्त, हाम्रा मिडिया स्वतन्त्र

मैले नेपालबाटै पत्रकारिता सुरु गरेको हो, २०५९ सालमा रेडियोमार्फत। १० वर्षअघिदेखि सीएमजीको चाइना रेडियो इन्टरनेशनल (सीआरआई) नेपाली सेवामा काम गर्दा यहाँको भन्दा धेरै फरक पाइयो।

नेपालमा त्यतिबेला घण्टैपिच्छे समाचार दिने प्रचलन सुरू भएको थियो। समाचारमा नयाँ के दिने भन्ने चिन्ताले कार्यरत समयभरि एक किसिमको मानसिक दबाब रहन्थ्यो। चीनमा यो तनाव त ९० प्रतिशतले नै घट्योभन्दा पनि हुन्छ। किनभने त्यहाँ केन्द्रले समाचार वितरण गर्छ। आफूखुशी समाचार बनाइराख्न परेन। घण्टैपिच्छे समाचारको प्रतिस्पर्धामा पनि होमिनुपरेन।

​​​​​​​

नेपाली सेवाले नेपाल र चीन जोडिएका विषयलाई बढी प्राथमिकता दिने भएकाले नेपाल वा दक्षिण एसिया र विश्वका प्रभावशाली समाचार हाम्रो विभागमा आउँछन्। नेपालीभाषी चिनियाँ सहकर्मीहरूले उल्था गर्छन् र हामी नेपाली विशेषज्ञले अनुवादलाई सम्पादन गर्ने गर्छौं। त्यसैलाई समाचारको ‘फर्म्याट’मा भए/नभएको सच्याएर वाचन गर्ने हो, अनलाइनमा राख्ने हो। चिनियाँ पत्रकारले समाचार खोजी गर्न सक्छन्। उनीहरूले पनि अनुशासनमा बस्ने बानी बसालेका हुन्छन्। हामी पनि कहिलेकाहीँ रिपोर्टिङ गर्छौं। 

जसरी चिनियाँहरू प्रविधिमा पोख्त हुन्छन्, नेपाली मिडिया स्वतन्त्रताका सवालमा अगाडि छन् भन्न सकिन्छ। हामी यहाँ दैनिक पत्रकारितालाई कसरी व्यवसायिकता दिने भनेर बहस गरिरहेका हुन्छौं, सोहीअनुसार अभ्यास पनि गरिरहेका हुन्छौं। चीनमा समाचार कक्ष प्रायः एउटै रूपरेखामा चलिरहेको हुन्छ। 

समाचार एउटा द्वारबाट आउँछ र सम्बन्धित क्षेत्रमा फैलिन्छ। समाचार संकलनका लागि जिम्मेवारी पाएकाहरूले त्यो काम गर्छन्। निर्धारित प्रारूपमा रहेर उनीहरूले पत्रकारिताको अभ्यास गर्छन्। चिनियाँ सञ्चारमाध्यम हेरिरहेको विश्वजगतले आफैँ पनि यसको विश्वसनीयता र प्रवृत्ति अनुभव गर्न सक्छ। एउटा कुरा के हो भने जे कुरालाई पनि राजनीतिसँग जोड्ने अभ्यासबाट यिनीहरू उन्मुक्त देखिन्छन्।

चिनियाँ समाचारमा प्राथमिकताका विषय

नेपालमा  समाचारकक्षमा समाचारबारे जुन हलचल हुन्छ, प्रकाशित भएपछि झन् बाहिर हलचल मच्चिन्छ। चीनमा प्रायः स्थिर वातावरण प्रतीत हुन्छ। चीनभित्र  प्रभावका हिसाबले टेलिभिजनकै बोलवाला छ। टेलिभिजन माध्यम नै स-सानो स्वरूपमा सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको देखिन्छ।

प्रिन्ट मिडियाचाहिँ चीनमा पनि लोकप्रिय हुन छाडेको जस्तो लाग्छ। चीनमा केही विषयगत मिडिया पनि हुन्छन्, जसले कुनै एउटा विषयमा केन्द्रित रहेर काम गर्छन्। जस्तो कि : 'चाइना इकोनोमिक डेली’, ‘एडुकेसन डेली’, ‘पब्लिक सेक्युरिटी डेली’ इत्यादि। केही निजी मिडिया नभएका होइनन् तर सीमित मात्रामा। उनीहरू त्यस्तो चर्चामा आउँदैनन्। सायद उनीहरू एउटा निश्चित समूह लक्षित पत्रकारिता गर्छन् तर सरकारी निर्देशिका ‘फलो’ गर्नैपर्छ। 

अनुशासित छन् चिनियाँ मिडिया 

‘चाइना डेली’, ग्लोबल टाइम्स’ ‘पिपुल्स डेली’, ‘बेइजिङ रिभ्यू’लगायत अंग्रेजी प्रिन्ट तथा अनलाइन मिडिया त विश्वव्यापी नै भइगए। हालको चाइना ग्लोबल टेलिभिजन नेटवर्क  (सीजीटीएन) चाइना रेडियो इन्टरनेसनल लगायत सरकारी सञ्चारमाध्यमबारे विश्व परिचित नै छ। उनीहरूको ‘एडिटोरियल’बारे सबै मिडियासम्बन्धित व्यक्तिहरूले बुझ्दछन्।

उनीहरूले विदेशमा के भइरहेको छ। वैदेशिक कूटनीतिलाई मुखरित गर्छन्। जस्तो किः कोभिड महामारीका बेला पश्चिमा जगतले एकतर्फी रूपमा लगाएका आक्षेपलाई तार्किक रुपले प्रतिकार गरेका थिए।

उनीहरूको स्वास्थ्य नीति के हो ? कुन देशको अर्थतन्त्र कस्तो छ ? विपत्ति व्यवस्थापनमा प्रतिस्पर्धी मुलुकको क्षमता के कस्तो रहेछ भनेर विश्लेषण गर्छन्। नेपालजस्ता साना र गरिब छिमेकी मुलुकलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने कोणबाट विदेशी पत्रकारहरूसँग सम्पर्क पनि गरिरहेका हुन्छन्। 

हुन त हरेक देशका आ-आफ्नै विशेषता र समयका माग हुन्छन्। नेपालको पत्रकारिताले दशकौंदेखि राजनीतिलाई केन्द्रबिन्दु बनाएको छ। किनभने हाम्रो राजनीतिले कहिल्यै ‘ट्रयाक’ समात्न सकेन। मिडियाको खबरदारी नहुने हो भने यो जतिखेर पनि प्रत्युत्पादक हुन सक्छ। चीनमा निकै मिहिनेतका लागि राजनीतिक व्यवस्थापन गरिएको छ। स्थिरता र खुलापनको क्रमिक नमुना पस्किँदै गएको छ। उनीहरू  राजनीतिमा भन्दा पर सामाजिक सुरक्षा आर्थिक विकास, शिक्षा, स्वास्थ्य, प्रविधि र विकासमा केन्द्रित भएका हुन्छन्। 

मेरो विचारमा यहाँका मिडियाले इस्यु निकालेर सरकारलाई जवाफदेही बनाउनराख्नै पर्दैन। सानोभन्दा सानो तहमा पनि पार्टीका सदस्यहरू हुन्छन्, जसले पार्टीमा रिपोर्टिङ गरिरहेका हुन्छन् र स्थानीयस्तरमै समस्याको निरुपण गरिन्छ।

हाम्रोजस्तो मिडिया खपतका लागि नेताले माइक समात्ने भन्ने हुँदैन। हाम्रोमा स्वतन्त्र पत्रकारिताका नाममा ‘पार्टीकारिता’ हाबी भएको सबैले बुझेका छन्। अतः आफूइतरका लागि खुइल्याउने खालको ‘दोषी पत्रकारिता’ फस्टाएको छ। यसलाई वाक् स्वतन्त्रताअन्तर्गत नै व्याख्या गर्न थालिएबाट चरित्र हत्याका कारण तलदेखि माथिसम्मका कैयन् मानिसहरू तनावमा भएजस्तो लाग्छ। समाज नै विभक्त हुन खोजेजस्तो लाग्छ।  चीनमा सरकारी विभिन्न विभागले नियमितजस्तो पत्रकार सम्मेलन गरिरहेका हुन्छन्, जुन अत्यन्त व्यवस्थित हुन्छन्।

चिनियाँ मिडियाले खोजी पत्रकारिता नै गर्दैनन् भन्ने होइन। उनीहरूको आफ्नै पाराको खोजी पत्रकारिता छ। जस्तो किः भूकम्प गएको कैयौं वर्ष बितिसक्दा पुनर्निर्माणदेखि जीवनशैलीबारे खोजी गरिरहेका हुन्छन्। सम्बन्धित विषयमा ध्यान केन्द्रित गरिरहेका हुन्छन्। उनीहरूको खोजीको प्राथमिकता सामाजिक विषयवस्तु ज्यादा भएजस्तो लाग्छ। अन्तरदेशीय द्वन्द्व, विपद् व्यवस्थापनमा अन्य देशको सीप प्रविधिका कुरामा रुचि राख्छन्। विश्वका धनी देश जस्तोः युरोप-अमेरिकीको लवाईखवाई, जीवनशैलीमा चिनियाँ सर्वसाधारणको रुचि देखेर यस्ता विषयहरू पनि अनुसन्धान गर्छन्।

चीनमा उपलब्ध विदेशीहरूसँग बहस गरेर त्यहाँको वस्तुस्थिति, सांस्कृतिक, सामाजिक पक्षबारेमा पनि चर्चा गर्छन्। त्यस्तो बेला कहिलेकाहीँ नेपाली पनि सहभागी हुन्छन्, त्यसो नहुँदा नेपालसम्बन्धी जानकार चिनियाँले पनि बोलिरहेका हुन्छन्।

त्यस्तै बहसबाट पालुङ्गो तत्कालीन ‘निपोलो’बाट चीन भित्रिएको थाहा पाएर चिनियाँ दर्शकहरू छक्क पर्छन्। थोरै सही तर पनि नेपालबारे चर्चा भइरहेको भेट्न सकिन्छ। 

सामूहिकता नै शक्ति भएकामा चिनियाँ विश्वास 

चिनियाँहरू ‘कम्युन’मा विश्वास गर्ने कुरा त त्यहाँ स्थापित राजनीतिक विचारधाराले सिद्ध गर्छ। अचेल चिनियाँहरू ‘चिनियाँ विशेषतायुक्त’ भन्ने नयाँ ‘टर्मिनोलोजी’ प्रयोग गर्न थालेका छन्। अर्थात् उनीहरू जडसूत्रवादलाई संशोधन गरेर लचक हुन खोजेका होलान्।

चिनियाँ मिडियाबाट नेपालले केही कुरा सिक्न सक्छ। सिकाइको कुरा राख्दा नेपालजस्तो मिडियाका अग्रजहरूलाई नमीठो लाग्न सक्छ। चिनियाँमा एउटा भनाइ छ, जसको आशय ‘हरेक तीन जनामा एक जना गुरु हुन सक्छ।’

चिनियाँ मिडियाकर्मीहरू सामूहिकतामा विश्वास गर्छन्। चिनियाँ प्रविधि धेरै उन्नत भइसकेको छ। चिनियाँ मिडिया सकारात्मक बाटो अपनाइरहेका हुन्छन्। 

मैले काम गरेको एउटा मिडियामा केही सकारात्मकताको अभ्यास भएको याद छ। जनआन्दोलनताका-‘८ दलको बैठक बिनानिष्कर्ष सम्पन्न’ भन्नुको सट्टा ‘८ दलको बैठकमा छलफल जारी, ठोस निर्णय हुन बाँकी’ भनिदियो भने श्रोता-पाठकको मनमा थोरै भए पनि आशा जाग्दछ। मिडिया भनेका जनताका आवाज भएकाले उनीहरूमा सकारात्मक भाव जगाएर आशा छर्नु पनि एउटा दायित्व हुन सक्छ। 

मिडियाले जतिखेरै कमजोरी कोट्याउने मात्रै होइन, बरू भइरहेका सानातिना प्रगतिलाई पनि उछालेर केही सकारात्मक समाचार दिन सक्छन्। कहिलेकाहीँ नेपाली मिडिया केही ‘अराजक’ पनि हुन् कि जस्तो लाग्ने। सकारात्मकताको त खडेरी नै पर्ने। 

केही नेपाली पत्रकारहरू चीन भ्रमणमा गएका हुन्छन्। उनीहरूले भारतमा जस्तै उपल्लो तहका चिनियाँ नेतासँग सहजै पहुँच होला, साथै उभिएर फोटो खिच्न पाइएला भन्ने अपेक्षा गरेका हुन्छन् जुन त्यति सहज हुँदैन। 

सामाजिक सञ्जालको भेलबाढी आइरहेका बेला नेपाली मिडियाले आत्मसंयम अपनाउनु जरुरी देखिन्छ। समयमै हामीले आफूलाई नियन्त्रण गरेनौँ भने धराशायी हुन्छौँ। पत्रकारिताको मर्यादा राख्न सक्न पर्यो। समाजमा असरल्ल परेका विषयवस्तुलाई प्रमाणीकरण गर्ने काम यिनै मिडियाको हो।

सामाजिक सञ्जालमा उभिएर  हल्काफुल्का पत्रकारिता गर्नुहुँदैन। नकारात्मक  वातावरण छ यहाँ तर पत्रकारले आशा जगाउने पत्रकारिता गर्नुपर्छ। हामीले पत्रकारिता गर्ने छेलोखेलो वातावरण छ। परिष्कार गर्दै अगाडि बढौं।

​​​​​​​(एचबीसी ९४ एफएम, सामुदायिक रेडियो प्रशारण संघको (सीआईएन) र गोर्खा एफएममा काम गरेका लक्ष्मी लम्साल विगत एक दशकदेखि बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा नेपाली भाषा विशेषज्ञका रूपमा काम गरिरहेका छन्। उनीसँग ‘चिनियाँ पत्रकारिताको संक्षिप्त झल्को’ बारे प्रजु पन्तले चौथो अंगका लागि गरेको कुराकानी।)

चौथो अंगका पुराना श्रृंखला 

 
 

१६ साउन, २०८०, १६:१२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।