चौथो अंग : अहिले पत्रकारले हैन स्रोतले समाचार लेखिरहेका छन्, थाहा पाएर पनि सम्पादक मौन छन्

चौथो अंग : अहिले पत्रकारले हैन स्रोतले समाचार लेखिरहेका छन्, थाहा पाएर पनि सम्पादक मौन छन्
तस्बिर : कृष्पा श्रेष्ठ

कमला राजवंशीलाई राती सुपारी भारतमा लैजाने क्रममा मेची नदीले बगाएको समाचार बिहानै पढेँ। केही समयअघि झापामा भएको घटना हो यो। उनी को हुन् अनि के हुन्, उनको आर्थिक, सामाजिक अवस्था के थियो ? केही पनि खुलाइएको थिएन समाचारमा।

मैले समाचार लेख्नेलाई पनि सोधेँ, प्रसारण गर्नेलाई पनि सोधेँ। त्यही माथिको दुई लाइन बाहेक कसैले केही भन्न सकेनन्। प्रहरीले जति जानकारी राखेर इमेल गर्यो, लेख्नेले कुनै सोधखोज नै नगरी जस्ताको तस्तै समाचार राखेका रहेछन्। स्थानीय समाचार भएकाले आधा घण्टा बढि समय खर्च गरेर सोधिखोजी गरेको भए त्यो अर्कै एङ्गलको समाचार बन्न सक्थ्यो।

यो त एउटा उदाहरण मात्रै हो। यस्ता बग्रेल्ती समाचारको बाढी छ अहिले राष्ट्रियस्तरकै मिडियामा पनि। पुन: प्रश्न नगर्ने, स्रोतले दिएको सूचना भेरिफाइ नै नगरी जे आएको छ अनि जे भनेको छ जस्ताको तस्तै लेख्ने प्रवृत्ति अलि बढि नै मौलाएको देखिन्छ।

पत्रकारले समाचार लेखिरहेका छैनन् अहिले। अधिकांश समाचारस्रोतले पत्रकारलाई आफू अनुकूलका समाचार लेखाइरहेका छन्। चाहे ती प्रहरी हुन् वा नेता अथवा व्यापारी नै किन नहुन्। उनीहरूले आफ्नो स्वार्थ अनुकूल समाचार पठाइरहेका छन्। अनि पत्रकारले आफू प्रयोग भएर त्यसैलाई समाचार बनाइरहेका छन्।

समाचारको गुणस्तर हेरियो भने पत्रकारले लेखेको समाचार कम अनि स्रोतले लेखेको समाचार नै बढि देखिन थालेका छन्। समाचार हेर्दै थाहा हुन्छ, पत्रकारले लेखे कि लेखाइयो भन्ने कुरा।

पत्रकारले आफैँ लेखेको भए त भेरिफाइ हुन्थ्यो, तथ्य र दाबी छुटिन्थ्यो नि। केही इतिहास  पनि आउँथ्यो। केही नआउने अनि एक जनाले भनेको भरमा सरसर्ती समाचार लेखेपछि कसरी गुणस्तरीय समाचार आयो भन्नु?

समाचार कक्षमा स्वार्थ समूह हाबी भइरहेको उदाहरण यही नै हो। योबारे समाचार कक्षको नेतृत्त्व सम्पादक जानकार नभएको हैन। नियन्त्रण गर्न नसकेको हो। उनीहरू जानकारी भएर पनि मौन छन्।

सजिलो भयो, खँदिलो भएन

कञ्चनजङ्घा एफएमबाट सुरूवात भयो मेरो पत्रकारिता। झापामा भुटानी शरणार्थीहरू भएकाले त्यहाँको रिपोर्टिङ गरियो। द्वन्द्वकाल भएकाले द्वन्द्वलाई नजिकबाट चियाउने काम पनि भयो त्यो बेला। सँगै गोर्खाल्याण्डको आन्दोलनलाई पनि नजिकबाट हेरेर सक्दो समाचार प्रसारण भयो।

२०६० सालदेखि पत्रकारिता सुरू गरेको भए पनि लामै समयपछि काठमाडौं आएँ। उज्यालो नाइन्टी नेटवर्कमा केही समय र काठमाडौं पोस्टमा लामै समय काम गरेँ। अहिले सक्रिय पत्रकारितामा त छ-छैन तर नियमित पाठक भएकाले कन्टेन्टको आधारमा भन्न सकिन्छ नेपाली पत्रकारिता फैलियो कन्टेन्ट खँदिलो भएन। जुन दिनसम्म पत्रकार आफैँले समाचार लेख्दैनन् तबसम्म पत्रकारिता खँदिलो हुन सम्भवै छैन।

पहिलेको तुलनामा मिडिया पनि सहज भयो। स्थानीय तहमा सञ्चालन गर्न पनि सकस नै थियो पहिला त। सहर केन्द्रित चलाउँदा पनि सहज थिएन पहिले। प्रविधिले गर्दा अहिले मिडिया सञ्चालन गर्न सहज छ पहिलाको भन्दा।  स्थानीयस्तरमै पनि मिडियाहरू खुलेको देखिन्छन्। थोरै लगानीमा चलेका अनलाइनले पनि राम्रै काम गरिरहेको छन्।

पत्रकारिता आम पहुँचमा पुग्यो। यो सकारात्मक हो। युट्युब-अनलाइन चलाउन परम्परागत मिडिया चलाउन लाग्ने जति खर्च लाग्दैन। प्रविधिले यति सहज बनायो कि एउटै कन्टेन्ट अडियो भिडियोदेखि फोटोसम्म मस्त प्ले गर्न सकिन्छ।

पत्रकारिता त फैलियो तर खँदिलो भने हुन सकेन। पत्रिका, अनलाइन पढेर पछिल्लो समय चुनावकै समाचारबारे पनि सग्लो चित्र आउँदैन। मिडियाहरू एजेन्डाविहीन हुँदै गएको प्रस्टै देखिन्छ।

भर्खरै सकिएको निर्वाचनमा हेरौँ न, मिडियाको आफ्नो अजेन्डा के थियो त? कुन मिडियाले अबको संसद् कस्तो हुने भनेर प्रभावकारी बहस चलायो? सरकार कस्तो बन्नुपर्छ भनेर बहस कसले चलायो? सबै राजनीतिक दलका नेताहरूलाई सोध्न सकिन्थेन र?  स्थानीय सरकारबारे के सोचियो ? प्रदेशमा के हो एजेन्डा? खै मिडियाले नेतृत्त्वलाई प्रश्न सोधेको?

आम रूपमा प्रदेशको कामै छैन भन्ने धारणा व्याप्त देखिन्छ अनि मिडिया पनि आम भनाइको हुइयाँमा लागेको छ। के प्रदेशको कामै नभएको हो त? कि सङ्घीय सरकारले प्रदेशलाई पङ्गु बनाएर प्रदेशले काम गर्न नसकेको हो? विश्लेषण आयो र! शासकको दृष्टिकोणले हेरेर सेवाग्राहीको दृष्टिकोणले हेर्न नसकेको हैन र मिडियाले प्रदेशको संरचनालाई?

शासकीय स्वरूपलाई त मिडियाले प्रश्न सोधेन नै अब पालो विकास भन्दै हिँडेका नेतालाई कस्तो विकास हो भनेर प्रश्न गरे त? यत्रो महामारी भयो फेरि अर्को महामारी पनि आउनसक्छ। यसमा हाम्रा राजनीतिक दलको अजेन्डा के हो?  स्थानीय, प्रदेश र सङ्घीय सरकारको नीति के हुन्छ? बजेट थपघट के हुन्छ? स्वास्थ्य बीमा हुन्छ कि हुँदैन? सांसद बन्छु भनेकालाई जवाफदेही बनाउनुपर्ने हैन?

तर, सांसदलाई अजेन्डामा मिडियाले एकोहोर्याउन नै सकेन। उम्मेदवार र दलहरूले अजेण्डाविहीन योजना अगाडि सारे। पत्रकारहरूले त्यही सारे। उनीहरूको योजना कति व्यावहारिक छ भनेर विश्लेषण गर्ने कामै भएन। देश परिवर्तनको नारा बोकेर हिँडेकाहरूलाई 'कसरी' भनेर समेत सोध्ने आँटसमेत गरेन मिडियाले।

नारायण वाग्लेले पत्रकारिता भएन, मिडियाबाजी भएको छ भन्नुहुन्थ्यो। म पनि त्यही देख्छु अहिले। सुसूचित बनाउने हिसाबले समाचार आएको देखिँदैन।

उदाहरणको लागि, हाम्रोमा कार्यकारी प्रमुख प्रधानमन्त्री हुन्। उनले नियमित पत्रकार सम्मेलन किन गर्दैनन्? केही सम्पादक बोलाएर प्रवचन सुनाउने अनि पत्रकार त्यसैमा मख्ख परेर बस्ने भइरहेको छ। त्यतिबेला सम्पादकले सोध्नुपर्ने होइन खै प्रेस मिट भनेर?

२०७४ देखि अहिलेसम्म दुई जना प्रधानमन्त्री भए। दुवैले प्रेस मिट गरेनन्। पत्रकारले पनि सोधेनन्। सत्तालाई कुन हदसम्म छुट दिएको मिडियाले?

अर्को उदाहरण। केपी ओली र शेरबहादुर देउवा दुवै प्रधानमन्त्रीको हैसियतमा संसदीय समितिमा गएनन्। तर, कुनै पत्रकारले यो प्रश्न किन सोधेनन् उनीहरूलाई? शक्ति पृथकीकरणको धज्जी उडाएका होइनन् प्रधानमन्त्रीले?

पार्टीका शीर्ष भनिएका नेताले देशलाई उँभो लाउने प्रक्रियालाई अवरुद्ध गरिरहेका छन् तर उनीहरूले नै भारी मतान्तरले जिते। उनीहरू शक्तिशाली भएकाले चुनाव जितेका हुन्। मिडियाले शक्तिशाली नेता भएको क्षेत्रमा बजेट कति गयो अनि शक्तिशाली नेता नभएको क्षेत्रमा कति बजेट गयो तुलना गरेर हेरे त? अँह हेरेन। मिडिया अजेन्डाविहीन भएको तथ्य यी नै हुन्।

भारतीय टिभी र नेपालका अनलाइनको कर्कश उस्तै

धेरैले नेपाली मिडिया भारतको तुलनामा राम्रो छ भनेको सुनिन्छ। तर, यो पूरै सत्य होइन। भारत देश ठूलो छ। त्यसकारण ठूलै रूपमा त्यहाँको मिडियाको आलोचना हुन्छ। यहाँ पनि त्यस्तै कर्कश मिडिया नभएको हैन।

नेपालमा हल्लाबाज मिडिया नभएको होइन। देश सानो भएकाले त्यस्ता मिडियाले सानै रूपमा हल्ला गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा अहिले निर्वाचित सांसद रवि लामिछाने त्यही हल्लाबाजबाट उदाएका होइनन्? कर्कश स्वरमा बोल्ने भारतीय पत्रकार भन्दा कम थिए र उनी? आखिरमा मत पनि त्यहीअनुसार आएन र? तथ्यमा रहेर समाचार लेख्ने कुनै पत्रकार चुनावमा उठ्दा विजयी हुन सम्भव होला?  मलाई त शङ्का लाग्छ।

नेपालका मिडिया हेर्दा टेलिभिजनभन्दा अनलाइनको कर्कश बढि नै देखिन्छ। सनसनी मच्चाउने होडमा छन् साथीहरू।

केही मिडिया सरकारले लिएको नीतिलाई आफ्नै जसरी ढाकछोप गरिरहेका छन्। अब सरकारको भारी बोक्न छाड्नुपर्छ पत्रकारले। मिडियाले त पोलीसीमा खोट देखाउने हो न कि बोक्ने।

उदाहरणको लागि ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा वर्ष व्यक्ति नै बनाएका होइनन्? सत्तामा बसिसकेपछि कसरी काम गर्छन् जवाफदेही हुन्छन् कि हुँदैनन् भनेर मिडिया चनाखो हुनुपर्नेमा प्रधानमन्त्रीकै गुणगान गाइदिने?

यदि मिडियाले सचेत गराएको भए यो स्थिति पो आउँदैन थ्यो की ! मिडियाले राज्यका सबै अंगलाई जवाफदेही बनाउने हो न कि बोकेर हिँड्ने।

समाचार उत्पादन र क्षमता विकासमा लगानी नै छैन

किन राज्यका अङ्गलाई जवाफदेही बनाउन सकिएको छैन त? किन पत्रकारले एजेन्डा सेट गर्न सकेका छैनन्? किनकि समाचारमा लगानी नै कम भएको देखिन्छ।

कुनै पत्रकारले राम्रो इस्युलाई २५ दिन लाग्छ, ४-५ वटा किताब पढ्नुपर्छ र केही स्थान जानुपर्छ भन्दा यो खालको समाचारलाई लगानी गर्ने कति मिडिया हाउस छन् र हाम्रोमा।

पत्रकारलाई इस्यु बुझ्न सक्ने, प्रस्तुति शैलीमा निखरता ल्याउने, चिन्तनशील बनाउने विशेष क्षमताको लागि वातावरण सिर्जना गरिदिने लगायतका काम मिडिया हाउसले गरेको छ र?

समाचारमा पनि लगानी नहुने, पत्रकारको क्षमता अभिवृद्धिको लागि पनि लगानी नहुने अनि कसरी गुणस्तरीय हुन्छ र पत्रकारिता?

स्रोतमा लगानी गर्न सक्नपर्यो नि मिडिया हाउसले। कसैले बोलाएर भनेको आधारमा खोज पत्रकारिता भइरहेको देखिन्छ। तर, मिडिया हाउसले स्रोतमा लगानी गरेर पत्रकारलाई खटाएर समाचार खोजिएको छ त? पत्रकारलाई अन्य क्षमता जस्तै तथ्याङ्क प्रस्तुति गर्ने शैली, इन्फोग्राफिक्सदेखि भाषा तिखार्न लगानी गरेको खै?

अन्य देशको मिडियामा कोल्याब्रेशन गरेर आफ्नो पत्रकार सिक्न पठाउने अनि उताका पत्रकार यता ल्याएर राख्न कति नै लगानी लाग्छ र?

उदाहरणको लागि भारतीय वायर मिडियाका पत्रकारलाई ल्याएर न्युजरुममा उनको अनुभव लिन सकिन्छ। त्यहीँका मिडियामा हाम्रा पत्रकारलाई पठाउन सकिन्छ इन्टर्न गर्न। यसमा मात्र समन्वयको खाँचो त हो। खासै धेरै लगानी पनि लाग्दैन नि!

बाहिरी मिडियासँग समन्वय त परको कुरा समाचार कक्षमा नयाँ निस्केको किताबबारे कहिले छलफल हुन्छ र? कुनै इस्युमा पटक-पटक मिटिङ बस्छ र? स्थानीय स्तरमा पनि भएको छैन पत्रकारिता।

नेता अथवा व्यवसायीको खल्तीमा हुन्छन् अधिकांश स्थानीय पत्रकार। ती पत्रकारको खल्तीमा अनलाइन हुन्छ अनि खल्ती पत्रकारिता भइरहेको छ। खल्तीको खेती भएपछि समाचारको खेती कसरी हुनु? खल्तीको खेती भएपछि प्राकृतिक स्रोत दोहनका गम्भीर विषय पनि देख्दैनन् पत्रकारले। अहिले भइरहेको यही होइन?

मिडिया कन्टेन्टमा बहसै हुन छाड्यो

मिडियामा आएका कन्टेन्टहरूबारे छलफल, बहस र विश्लेषण हुनुपर्ने हो तर अहिले भएकै देखिँदैन। केही समयअघिसम्म मार्टिन चौतारीले गर्थ्यो। यो काम विश्वविद्यालयको हो तर विश्वविद्यालयले कसरी समाचार लेख्ने भन्नेमा बाहेक मिडियाको कन्टेन्टको बारेमा छलफलै चलाएको देखिएन।

यस्तो हुनुको कारण मिडियालाई सिरियस रूपमा नलिएको पनि हो। जसरी विश्वविद्यालयले ज्ञान उत्पादन गर्छ, जसरी अनुसन्धान केन्द्रहरूले रिसर्च पेपरहरू उत्पादन गर्छन् त्यसरी नै मिडियाले समाचार उत्पादन गर्ने हो। अहिले मिडियाले समाचार उत्पादन गरेका छैनन्। जे आउँछ त्यही प्रकाशन र प्रसारण गर्ने गरेका छन्। सत्य यही हो।

समाचार उत्पादन गरेको भए त्यहाँ पुँजीको लगानी हुन्छ। पत्रकारले गहिरो अध्ययन अनुसन्धान गरेर समाचार लेख्छन्। एक तहमा पुगेपछि फेरि त्यो भेरिफाई हुन्छ अनि सम्पादकले फाइनल गर्छन्। यहाँ यस्तो भइरहेको छ र? उत्पादन भइरहेको सामग्रीले यस्तो भएको देखाउँदैन।

धेरै आलोचना मात्र भयो। तर, यसको अर्थ नेपाली मिडियामा केही पनि भएको छैन भन्ने पनि हैन। केही राम्रा काम मिडियाले नगरेका होइनन्। अहिले आम रूपमा सुकुम्बासीलाई हुकुम्बासीको बिल्ला भिराइएको छ।

मिडियाले यसलाई आम रूपमा भन्दा खास समस्यालाई नियाल्न खोजेको देखिन्छ। यस्तो हुनुको कारण थापाथलीका सुकुम्बासी पहिलेदेखि नै पत्रकारलाई यो समस्यालाई बताइरहेका थिए। नत्र त हाम्रो मिडियाले पनि सत्ताको भाषा नबोल्ने कहाँ हो र?

टीकापुरमा थारुमाथिको दमन, मधेश विद्रोह मिडियाले भेउ नपाउँदै भएको होइन र? यस्तो हुनुको पछाडि राजनीतिक आन्दोलनमा मिडियाले सहयोग गरेर हो।

सत्तालाई प्रश्नबाट छुट दिएको हो। मिडिया प्रमुख प्रतिपक्षी भयो २०६२-०६३ ताका. तर त्यसपछि मिडिया प्रतिपक्षी हुनुपर्नेमा आफ्नो गन्तव्य नै बिर्सियो।

खट्किरहने म्यागेजिन

एकताका हाम्रोमा राम्रै थिए म्यागेजिन। अहिले नेपाली पत्रकारितामा अभाव महसुस हुने भनेकै म्यागेजिनको हो। म्यागेजिनमा कुनै इस्यु लामो समय लगाएर गहिराइमा पुगेर गरेका रिपोर्टिङ हुन्छ। त्यसको विचार विश्लेषण पनि हुन्थ्यो।

विस्तारित समाचार जसले कुनै विषयको गहिराइमा पुग्न पाठकलाई सहज हुन्थ्यो। तर, अहिले यो भएन। म्यागेजिन चाहिन्छ भन्नुको अर्थ कागज नै चाहिन्छ भनेको होइन। अनलाइनहरू पनि म्यागेजिन फर्म्याटमा जान सक्छन्। अपडेटमा दगुर्नुभन्दा मिडियाले म्यागेजिन फम्यार्टमा काम गर्ने हो भने भविष्य राम्रो देख्छु। तर, अपडेटमै दौडिरहेका छन् अधिकांश अनलाइनहरू।

सनसनी मच्चाउने भन्दा इस्यु सिर्जना गरेर त्यसमा गहिराइमा पुगेर रिपोर्टिङ गर्ने, विचार विश्लेषणसहित समाचार लेख्ने भयो भने अनलाइन झनै सबैको पहुँचमा पुग्नसक्छ। केहीले प्रयास गरिरहेको पनि देखिन्छ। तर, अधिकांश अनलाइन उही प्रिन्टका छायाँजस्ता भए। सुधार गरे राम्रो हो।

(पूर्व पत्रकार प्रसाईं रेडियो कञ्चनजंघा, उज्यालो नाइन्टी नेटवर्क तथा काठमाडौं पोस्टमा काम गरेका पत्रकार हुन्। करिब एक दशक पत्रकारितामा बिताएका उनले अहिले पाक्षिक रूपमा हुलाकी स्तम्भ लेख्छन्। उनैसँग उकेराको चौथो अंग कोलमको लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

२० मंसिर, २०७९, १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।