चौथो अंग : विषय उठाएपछि वारको पार लगाउने टिभी शो भएनन्

चौथो अंग : विषय उठाएपछि वारको पार लगाउने टिभी शो भएनन्
तस्बिर- कृष्पा श्रेष्ठ

टेलिभिजन पत्रकारिता कुनै समय सुन्दरतासँग मात्र जोडिन्थ्यो। हेर्दा आकर्षक देखिनुपर्ने मुख्य मापदण्ड थियो। अनि मात्र अन्य मापदण्ड पार गर्नुपर्ने अवस्था थियो। महिलालाई प्रायः टेलिभिजनमा सारी अनिवार्य जस्तै  थियो।

नेपाली समाजमा ‘सुन्दर नारी’ भन्ने बित्तिकै सारी लगाएको मानिने समय थियो। टेलिभिजनले पनि त्यही सोच राखे। बिस्तारै समय बदलियो। टेलिभिजनमा काम गर्न सुन्दरता मापन गर्ने आधार अनुहार मात्र रहेन अब।

रंगका आधारमा, शारीरिक बनावटको आधारमा कोही पनि राम्रो वा नराम्रो हुँदैन भन्ने मान्यता संसारभर फैलँदो छ। सडकमा हिँडिरहेकी ‘राम्री महिला’लाई ल्याएर सामान्य प्रशिक्षणकै भरमा समाचार वाचन गर्न लगाउन सकिन्छ अनि टेलिभिजन चलिहाल्छ नि! भन्ने सोचाइ अहिले करिब–करिब हटिसकेको छ।

जिउडाल र अनुहारले मात्र समाचार बुझ्ने र भन्ने होइन, विषयवस्तु कत्तिको खार्न सक्छन् भन्नेमा केन्द्रित हुन थालेको छन् अहिले टेलिभिजनहरू। यो राम्रो पक्ष हो।

ग्ल्यामर नै हो टेलिभिजन पत्रकारिता 
महेन्द्रनगर कञ्चनपुरबाट हो मैले पत्रकारिता गरेको। सुरुमा ‘चुरे टाइम्स’ दैनिक पत्रिकामा काम गरेँ। २०६१ सालमा पत्रकारिता सुरुवात गर्दा माओवादी द्वन्द्व उत्कर्षमा थियो। सुदूरपश्चिममा महिला रिपोर्टर एकदम कम थिए।  त्यहीँबाट मैले ‘हिमाल खबर’ र ‘नेपाल साप्ताहिक’को लागि लेख्थेँ।

२०६४ मा निर्वाचनताका सुदूरपश्चिमका संवेदनशील क्षेत्र भनेर रिपोर्टिङ पनि गरेको थिएँ। विद्यार्थी आन्दोलन चर्किएको थियो। डिजिटल क्यामेरा बोकेर जिल्ला प्रशासन कार्यालय पुगेर फोटो खिच्दा आन्दोलनकारीको ढुंगाले क्यामेरा फुट्यो।

पत्रकारको सामान त्यसरी नास हुँदा पत्रकारका संघ अनि संगठन हुन्छन् र हाम्रो लागि बोल्छन् भन्ने पनि थाहा थिएन। एक सुरले काम गरियो। समाजमा तमाम विकृति समाचार लेखेर/प्रसारण गरेर परिवर्तन गर्न सकिन्छ भन्ने लाग्थ्यो।

एभिन्युज टेलिभिजन खुलेपछि मेरो पत्रकारिता टेलिभिजनबाट अघि बढ्यो। काठमाडौं आएर केही समय तालिम लिएपछि जिल्ला नै फर्केर जिल्ला संवाददाता भएर काम गरेँ।

अहिले जस्तो इन्टरनेट थिएन ६६ सालतिर। कतै बाढीपहिरो गएमा फोटो र भिडियो खिचेर प्लेनमा पठाउनुपर्थ्यो। भोलिपल्ट आइपुग्दा असान्दर्भिक हुन्थ्यो। रिपोर्टरको मिहिनेत खेर जान्थ्यो।

काठमाडौं आएपछि भने मेरो भूमिका बिस्तारै बदलियो। पर्दामा देखिने भएँ अब। रिपोर्टिङ गर्दा खासै ख्याल गर्नु नपर्ने पहिरनदेखि पर्सनालिटीमा ध्यान दिनुपर्ने भयो। एक कोणबाट हेर्दा टेलिभिजन पत्रकारिता ग्ल्यामर पनि हो अर्को पक्षबाट हेर्दा होइन पनि। तर टेलिभिजन पत्रकारितामा समय अनुसार ग्ल्यामरको परिभाषा फेरिनुपर्छ। फेरिँदै छ।

ग्ल्यामर भन्ने बित्तिकै मिलेको जिउडाल र अनुहार मात्र भन्ने हैन। अनुहार र जिउडाल मात्र होइन, काम र कन्टेन्ट पनि ग्ल्यामर हो। पर्सनालिटी र कन्टेन्टको संयोजन नै ग्लामरको हो टेलिभिजन पत्रकारितामा। राम्रो देखिएर मात्र हुन्न। राम्रो उच्चारण क्षमता, सम्बन्धित विषयको ज्ञान पनि आकर्षक हुनुपर्छ।

कन्टेन्ट राम्रो त हुनैपर्छ त्यसमा राम्रो प्रस्तुतीकरणले सुनमा सुगन्ध थप्छ।

समाचार वाचक पत्रकार हुन् पनि, हैनन् पनि
एक जना समाचार वाचकले दुर्घटनाको ‘लाइभ’ गर्दा ‘यो उत्सवमा’ भन्ने शब्द प्रयोग गरे। पछि बुझ्दा उनलाई उत्सव शब्दको अर्थ नै थाहा रहेनछ। त्यो त दुर्घटना थियो। दुर्घटना उत्सव हैन नि। यो शब्दको ज्ञानको अभावको परिणाम थियो।

एक समय केही समाचार वाचकलाई समाचारको स्क्रिप्टमा के पढेँ भनेर समेत थाहा हुँदैनथ्यो। रिपोर्टिङ पृष्ठभूमिबाट नआएका र समाचार पढ्ने मात्रले धेरै कुरा ख्याल गर्दैनथे। उनीहरूका लागि समाचार वाचक भनेको कार्यालयमा जाने, क्यामरा अगाडि खरर पढ्ने अनि हिँड्ने भन्ने मात्र लाग्थ्यो।

यो काम पत्रकारिताको अंग हो अनि यसमा पत्रकारिताको आधारभुतसम्म भए पनि ज्ञान चाहिन्छ भन्ने सोचै देखिँदैनथ्यो। यसको कारण न्युज रुमको लिडरको सोच पनि थियो। राम्रो देखिने अनि राम्रो बोल्ने क्षमतालाई मात्र प्राथमिकता दिनुको परिणाम थियो त्यो।

अहिले पनि अवस्था पुरै बदलियो भन्न सक्ने अवस्था बनिसकेको छैन। उच्चारणमा अहिले पनि समस्या देखिन्छ। रेडियोदेखि टेलिभिजनसम्ममा शब्द नै शुद्ध उच्चारण नगर्ने तथा पूर्णविराम र प्रश्न वाचक कहाँ हुन्छ भनेर थाहा नपाउने पनि छन्। तर समाचार वाचक समाचार नै नबुझ्ने त छैनन्। 

तै पनि समाचार वाचक पत्रकार हुन् कि सञ्चारकर्मी मात्र भन्ने अहिले पनि विवाद भने छ। जो समाचार पढ्नेसँगै स्थान अनुसार रिपोर्टिङ पनि गर्छन् भने ती पत्रकार पनि हुन्। केवल समाचार मात्र पढ्ने हो भने सञ्चारकर्मी हुन्, पत्रकार होइनन्।

पत्रकार भन्नाले जो समाचारको उत्पादनमा प्रत्यक्ष जोडिन्छन् ती हुन्। सञ्चारकर्मी भनेको सञ्चार गृहमा काम गर्नेहरू हुन्। यति बुझे यो अन्योल हट्दै जान्छ।

मिडियाको बारेमा प्रशिक्षणसमेत नदिएर सिधै समाचार वाचन गर्न लगाउँदा समस्या देखिन्छ। समस्या देखिएका छन्। 

समाचार वाचकको प्रस्तुति दमदार बनाउन समाचार सेन्स बुझाउने जिम्मा त मिडिया हाउसको पनि हो नि! अर्का पाटो समाचार वाचकले पनि मेरो काम पढ्न मात्रै हो भनेर बुझ्न भएन।

एकातिर मल्टिमिडियाले टेलिभिजनका दर्शक घटेको स्वीकार्ने अनि अर्कातिर कन्टेन्ट र प्रस्तुतिमा अलमल गर्दा त्यसले टेलिभिजनको महत्त्व घटाउँदै लैजान्छ।

त्यसका लागि पनि टेलिभिजन अझै खारिएर आउनुपर्छ। किनकी अझै पनि टेलिभिजनको समाचार कुरेर बस्ने दर्शकहरू धेरै नै छन्।

टेलिभिजन फिल्डमा नपुगेको होइन
पहिले समाचार हेर्ने माध्यम टेलिभिजन थियो। अहिले माध्यम फेरिएका छन्। यो सँग–सँगै टेलिभिजनले पनि आफूलाई परिमार्जन गर्दै लैजानुपर्छ। अब परम्परागत शैलीमा मात्र चलेर टेलिभिजन पत्रकारिता टिक्न सक्दैन। केही टेलिभिजनले त्यसको अभ्यास पनि गरिरहेकै छन्।

टेलिभिजनलाई फिल्डमा नपुगेको आरोप पनि लाग्छ। समस्या नै छैन भनेर भन्न सकिन्न। टेलिभिजनको खर्च ठूलो हुन्छ। जति सक्छन् उति प्रयास गरेकै छन्। तर सुधार गर्नुपर्ने पक्ष धेरै छन्। सुधार्नुपर्ने कमजोरी टन्नै छन्।

अहिले अनलाइनलाई जसरी ब्रेकिङ दिन हतार हुन्थ्यो, पहिलेका टेलिभिजनलाई त्यही हतार थियो। अहिले ब्रेकिङमा हतार गर्नु पर्दैन। पहिला फर्मल समाचारका लागि आफ्नै जनशक्ति खटाउनुको विकल्प थिएन। अहिले त फर्मल समाचारका उपलब्ध गराउने एजेन्सीहरू खुलेका छन्।

यसले आफ्नो जनशक्तिलाई विशेष प्रकृतिको सामाग्री उत्पादन अनि कन्टेन्टलाई अझ माझेर परिपक्व बनाउने अवसर छ। टेलिभिजनले यो समयको सदुपयोग गर्नुपर्ने देखिन्छ।

हाम्रोमा एकैप्रकारका टेलिभिजन पनि धेरै भए। समाचार, टक शो र मनोरञ्जनका कार्यक्रम। टेलिभिजन फिचर भिडियोमा अझै जान सकेका छैनन्। निरन्तर एउटै इस्यूलाई उठाएर वारको पार लगाउने शोहरू एकदम कम भए।

टेलिभिजन नेतृत्वले अझै पनि घटना केन्द्रित हुन सिकाइरहेको छ रिपोर्टर र प्रस्तोतालाई। विषयको विश्लेषणमा ध्यानै दिइएको देखिँदैन। न्युज रुमको दायरा सम्पादकको दृष्टिकोणभन्दा पर गएको देखिँदैन। सम्पादकको आँखाले जति हेर भनेका छन् त्यति नै हेर्ने भए रिपोर्टरहरू पनि।

टेलिभिजनको अर्को समस्या अर्थाेपार्जनमा देखिन्छ। देशभरमै एक वा दुई टेलिभिजनले मात्र नियमित तलब दिइरहेका छन्। टेलिभिजनमा काम गर्नेहरूले तलबले मात्र जीविका चलाउन गाह्रो छ। टेलिभिजनमा कार्यरत पत्रकार र कर्मचारीले तलब नपाएर हत्तू भएका छन्।

टेलिभिजन सेलिब्रिटी महिलालाई बनाइएन
अहिले टेलिभिजनका सेलिब्रिटीहरू भन्नेबितिक्कै केही पुरुष पत्रकार मात्रै आउँछन्। किन? समाचार वाचकको रूपमा धेरै जसो महिलालाई किन थन्क्याइयो? यसको कारण प्रभाव जमाउन सक्ने टक शो र कन्टेन्ट उत्पादनमा महिलालाई अवसर दिइएको छैन। सामान्य समाचार वाचकको रुपमा मात्र प्रस्तुत गरियो।

महिला सम्बन्धी कार्यक्रम भए चलाउन दिने तर अन्य विषयमा नदिने समस्या देखियो। महिलाको कार्यक्रममा मात्रै महिला पत्रकारलाई सीमित गराएर के काम!

सुरुवातमा मैले समाचार लेख्दा सम्पादकले १६ पटकसम्म कागज गुटुमुटु पारेर फालिदिएका छन्। तै पनि सिक्ने हुटहुटी मरेन। त्यो मेरै लागी थियो। यो पेसामा पढेर मात्र हुन्न, सिक्ने जाँगर र क्षमता पनि हुनुपर्छ। लगाव थियो पत्रकारिताप्रति त्यसैले सिकियो। पत्रकारमा सिक्ने चाहना अनि ‘प्यासन’ चाहिँ हुनैपर्छ। अहिलेको नयाँ पुस्तामा सिक्ने चाह अनि प्यासन दुवैको अभाव देख्छु।

अहिले र पहिलेका सम्पादकहरूमा पनि धेरै फरक छ। समाचार कक्षमा सिक्ने, सिकाउने वातावरण बिग्रँदै गएको देख्छु म।

कुनै समय पुरुषको तुलनामा महिलाको पोस्चरलाई बढि ध्यान दिइन्थ्यो अहिले कन्टेन्टलाई पनि ध्यान दिन थालिएको छ। यो खुसीको कुरा हो।

तर अझै पनि महिलाले गल्ती गर्दा पुरुषको तुलनामा धेरै प्रश्न गरिन्छ। महिला हुँदैमा माफी दिनुपर्छ भन्ने मान्यता राख्दिन म। तर महिला भएकै कारण क्षमतामा प्रश्न उठाइरहनु पनि ठीक हैन। सामान्य त्रुटीमा पनि महिला यस्तै हुन् भनेर प्रतिक्रिया दिन आवश्यक छैन। मानवीय त्रुटीमा पुरुष पनि उस्तै त हुन्। त्रुटी र क्षमतालाई लिगंको आधारमा हेरिनु हुन्न।

(चुरे टाइम्स, एभिन्यूज टेलिभिजन, नेपाल टेलिभिजनमा काम गरिसकेकी काफ्ले र अहिले इमेज टेलिभिजनमा ‘द मर्निङ शो’ कार्यक्रम चलाउँछिन्। उनैसँग ‘टेलिभिजन र सुन्दरताको सम्बन्ध’ शीर्षक वरपर रहेर चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला

७ चैत, २०७९, १८:३७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।