चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

२०५२ सालमा माओवादीले हतियार उठाउँदा माओवादीबारे फिल्डमै गएर रिपोर्टिङ गर्ने पत्रकार थोरै थिए। उनीहरूले उठाएको मुद्दालाई नजिकैबाट हेरेर यो पनि गम्भीर छ है भनेर मिडियाले कहिल्यै लेखेन। जहिले सत्ताको भाषा बोल्यो।

त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘दुई चार जनाको हल्ला हो’ भन्नु भएको थियो। त्यसैलाई मिडियाले आधिकारिक मान्थ्यो। फिल्डमा गएन। मिडियाले जहिले अण्डरस्टमेट गर्याे सत्ता इतरका आवाजलाई।

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन। तर, युवा र महिला मतदाताले रुचाएको पाइएको थियो रास्वपालाई।

२०४६ सालपछि मिडिया स्वतन्त्र भएको मान्दा पनि ३२ वर्ष पुगिसक्यो। पत्रकार र मिडिया कोही न कोहीबाट प्रभावित भइरहे। कहिले सत्ताको, कहिले कर्पाेरेट हाउसको। फरक विचार र फरक सोचाइलाई मिडियाले किन ‘इन्डोर्स’ गर्दैन भन्नेतर्फ छलफल गर्नु आजको आवश्यकता हो।

सत्ताको छत्रछायाँमा मिडिया
‘मूल्यांकन’मा पाठक पत्र लेख्न थालेपछि सुरुवात भयो मेरो पत्रकारिता। ‘मूल्यांकन’ले विभिन्न विचार विर्मश गर्दथ्यो, सोही लेखहरू छापिन्थे पत्रिकामा। भारतमा पढेको हुनाले भारतीय राजनीतिलाई नजिकबाटै चियाइरहेको थिएँ। भारतीय कम्युनिष्ट पार्टीले ५० वर्षअघि भिमराव अम्बेकडवरले कम्युनिष्ट पार्टीको समिक्षा गर्नुपर्छ भनेको कुरालाई ‘इन्ट्री’ गरेका थिए।

नेपाली पार्टीहरूले चाहिँ गर्नुपर्छ कि पर्दैन भनेर लेखेको थिएँ। मैले लेख्नु र अर्काे एक दुई अंकपछि मूल्यांकनले छलफल गरायो पनि। संयोग भयो कि के भयो मलाई थाहा छैन। मलाई के लाग्यो भने पत्रकारिता गरेपछि आफ्नो कुराहरू स्थापित गराउन सकिँदोरहेछ भन्ने लागेपछि मैले पत्रकारिता सुरुवात गरेँ।

अर्काे कारण, मेरो बुबा भारतीय आर्मीमा हुनुहुन्थ्यो। नेपालमा विदेशमा सुरक्षा निकायमा काम गर्नुहुँदैन भन्ने एक पक्ष र अर्काे गराउनुपर्छ भन्ने पक्ष थियो। यसको आन्तरिक पाटोहरूको कथा उधिनेकै थिएन। आफ्ना कुरा भन्न पत्रकारिता गर्नुपर्छ भन्ने लागेपछि बुटवलमै जनसत्ता नामको पत्रिका निकालेर पत्रकारिता सुरुवात गरेँ। पछि मैले हिमाल लगायतका मिडियामा काम गरेँ।

नेपाली समाज विविधताले भरिपूर्ण छ भन्छौँ तर सोबारे व्यापक छलफल अझै पनि भएको छैन। मिडियाले यहाँका वर्ग संघर्षका कुरा, जातिय विभेदका कुरा, लिंगमा विभेद भएको कुरालाई मुद्दा स्थापित गर्ने गरी उठाएकै छैन। घटनालाई उठाएको छ तर प्रवृत्तिलाई उठाएको छैन। सतही तरिकाले लेखेको देखिन्छ मिडियाले।

उदाहरणको लागि २०७२ मा संविधान जारी हुँदा मधेशले गरेको आन्दोलनलाई नजरअन्दाज गर्याे। तत्कालीन गृहमन्त्रीले पारीबाट मान्छे आएर आन्दोलन गरेका भने। यसैलाई मिडियाले बोकेर हिँड्यो। जबकी यो गलत थियो। फिल्डमा गएर चिरफार गरेर लेख्ने पत्रकार थोरै मात्र भए।

मिडियाले मधेशको विषयमा सत्ताको दृष्टिकोणबाट हेर्याे। मधेश आन्दोलन अकस्मात् भएको भनेर समेत लेख्यो मिडियाले। अकस्मात् भएकै हैन मधेश आन्दोलन। मधेस आन्दोलनको बिउ त ७ सालमै रोपिएको थियो। अध्ययनको कमी पनि देखियो पत्रकारमा।

अर्काे, टीकापुरमा भएको थरुहट आन्दोलन। यसमा पनि मिडियाले सत्ताको दृष्टिकोणले हेर्याे। थारुहरू हिंस्रक हुन्छन् जसरी चित्रित गरे कतिपय मिडियाले। जब की यो गलत थियो। संस्कृती मासिएकोदेखि पहिलेदेखि पछाडि पारिएको समुदाय हो थारु। उनीहरूले आवाज उठाउँदा मिडियाले मझदारमा बसेर काम गर्नुपर्नेमा सत्ताको दृष्टिकोण बोल्यो।

किन यस्तो हुन्छ त? 
पहिलो कुरा पत्रकारहरूको स्कुलिङ्गमा भर पर्छ। पञ्चायतकालमा पढेकाहरूबाट निर्देशित छ अहिलेको मिडिया। एक भेष एक देशवाला सोचाइले ग्रसित देखिन्छन् धेरै व्यक्तिहरू। यसैको रिफ्लेक्सन मिडियामा देखिएको छ। कुनै समुदायले आफ्नो समुदायको आवाज उठाउँदा सम्प्रदायिकता भाँडिएको देखिने भएपछि कसरी सबैको अस्तित्व कायम हुन्छ।

विचारको घषर्ण र असहमतिलाई साम्प्रदायिकता भाँडिएको देख्नु भएन मिडियाले। अझै पनि त्यो सोचाइ देखिन्छ। बहुलतामा आधारित लोकतन्त्र भएपछि सबैको अस्तित्वलाई स्वीकार्ने हुनुपर्ने हो। तर, पहिलेदेखि ‘प्रिभिलेज’ पाएका वर्गको हातमा मिडिया भएकाले पनि सिमान्तकृतको आवाज नआएको हो।

पछिल्लो समय मिडियाले सिमान्तकृत समुदायको आवाज ल्याउन त खोजेको छ तर सफल भएको छैन।

वहस भएन मिडियामा
नेपालमा पत्रकारितासँग जोडिएका धेरै राजनीतिक दलका नेताहरू छन्। राजनीतिले पत्रकारितालाई सँगै हिँडायो। जब राजनीतिक परिर्वतन भयो तब पत्रकारहरू दलका भ्रातृसंगठनमा आबद्ध भए। दलको छत्रछायाँमा पुगेपछि उनीहरूको आवाज बोल्ने नै भए।

अर्काे भनेको पत्रकारहरू अहिले कर्पाेरेट हाउसको दास भए। चालचलन र पत्रकारको रवैया कर्पाेरेट अफिसरहरूको जस्तो देखियो। भारतका मिडियामा पनि विभिन्न वहसहरू हुन्थ्यो पहिले। मिडिया हाउसले राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरूमा वहस गराउँथे। नेपाली मिडियाले पनि विभिन्न विचारकहरूलाई ल्याएर वहस गराउँथ्ये।

प्राध्यापक पिताम्बर शर्मा, चैतन्य मिश्र महेश मास्केहरूको विचार मिडियाले नै इन्डोर्स गरेको हो। अहिले मिडियाले विचारक जन्माउन सकेको छैन वहस विहिनताको अवस्थामा छ हाम्रो मिडिया।

अहिले नयाँ राजनीतिक विश्लेषक नयाँ आर्थिक विश्लेषक, भू–राजनीति, अर्थ नीति र समाज बुझेको नयाँ विश्लेषकहरू किन आएनन् त? मिडियाले यतातर्फ ध्यान दिएको देखिँदैन।

मिडियामा वहसै भएको छैन। जब कि मिडियाले वहस–छलफल गरेर दिशानिर्देश गर्नुपर्ने हो। जसरी राजनीतिमा विचारविहीनता देखिएको छ, त्यसरी नै मिडियाले विचारक जन्माउन चुकेको देखिन्छ।

रेडियो, टिभी, पत्रिका हुँदै अनलाइन आइसक्यो। मिडियाको माध्यम फेरियो तर प्रवृत्ति फेरिएन। कन्टेन्टमा काम भएको देखिँदैन। खोज पत्रकारिता भएकै छैन। परम्परागत मिडियाले आफ्नो चरित्र बदल्न सकेनन्। अनलाइन मिडिया अपडेटमा मात्र केन्द्रित भए।

सम्पादकहरू म्यानेजर मात्रै भए। सम्पादक भएनन्। रिपोर्टर सम्पादकले भनेबमोजिम काम गर्ने भए। खास पत्रकारहरू स्वतन्त्र भएर काम गर्न सक्नुपर्ने हो, सकेनन्। अध्ययनमा निखारता, प्रस्तुतिमा परिर्वतन र अनुसन्धानमा पोख्त हुन जरुरी देखिन्छ।

(हिमाल खबरपत्रिकाको पूर्व समाचार सम्पादक, खोज पत्रकारिता केन्द्रको पूर्व सम्पादक, शिक्षक मासिक पत्रिकाको सहप्रकाशन नीति विर्मशको पूर्व सम्पादक रहेका पुन अहिले नेपालखबर डटकमको इलेक्सन सम्पादक छन्। उनैसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित) 

१३ मंसिर, २०७९, १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।