उकेरा कोलम

चौथो अंग : सम्पादक भएर एउटै समाचार नलेख्ने अनि रिपोर्टर बिग्रिए भनेर कराउने?


केही समयअघि उपत्यका बाहिरबाट वैदशिक रोजगारमा जाने अधिकांश श्रीमानका श्रीमतीले अर्कैसँग विवाह गर्छन् भन्ने समाचार आयो। त्यो समाचारलाई सम्पादन गर्ने जिम्मा मेरै थियो।

मैले त्यो समाचार प्रकाशित हुनुभन्दा अघि त्यो समाचार लेख्ने रिपाेर्टरलाई सोधेँ,'तपाईंले ती महिलाहरूसँग कुराकानी गर्नुभयो?’

ती रिपाेर्टरले इमान्दार भएर जवाफ दिए,‘ती महिलाका श्रीमान् र परिवारसँग कुराकानी गरेको हुँ।’

मैले थप भनेँ,‘त्यसो भए फेरि एकपटक ती महिलाहरूसँग कुरा गर्नुस्।’

पछि ती रिपाेर्टरले महिलासँग कुरा गर्दा समाचारको एंगल नै परिर्वतन भयो। ५ जना परिवारको समाचार थियो त्यो। ५ जनाले २० वर्ष भन्दामुनि विवाह भएको थाहा भयो।

६-७ महिना प्रेम भएर विवाह गरेका अनि विवाह गरेको केही महिनापछि नै श्रीमान् विदेश गएका। श्रीमतीहरूले बुहार्तन खप्न नसकेर हिँडेको पाइयो। एक त २० वर्ष मुनिका किशोरीहरूले अन्य महिलाले जस्तो काम गर्नसक्ने भएनन्। अर्को घरायसी कामदेखि टर्चर उनीहरूले खेप्नै सकेनन्। समाचार एकपक्षीय थियो। कुरा गरेपछि समाचारको एंगल बदलियो।

त्यस्तै उमेर पुगेका जोडीको श्रीमान् विदेश गएका छन् भने पनि श्रीमतीले छाडेर गएको कुरालाई श्रीमान् परिवारको खुसीको लागि विदेश गएको श्रीमतीले नबुझेर अन्तै लागेको भन्ने न्यारेटिभ समाजमा बसेको छ। यो गलत हो।

केही फिल्मका गीतले पनि यस्तै धारणालाई प्रश्रय दिइरहेका छन्। विदेश जाने कामदारको श्रीमती हुँदा-हुँदै अन्यसँग भएको अफेयर कहिल्यै चर्चाको विषय भएन। महिलालाई मात्रै दोषी बनाइयो। एकताका त मिडियाले नै यस्तै एंगलमा समाचार दिने गरेका थिए। अहिले यस्तो समाचार घटेका त छन् तर समाजमा बसेको न्यारेटिभ हट्न सकेको छैन।
 
हाम्रो समाचार कक्षमा वैदशिक रोजगारमा गएका महिला तथा पुरुषबारे समग्र पक्ष आउने गरि रिपाेर्टिङ भएकै छैन। स्वास्थ्यमा आएको परिर्वतन, शिक्षामा आएको परिर्वतनदेखि सम्बन्धहरूमा आएको परिर्वतनसम्मका आयमहरूबारे छलफल भएकै छैन।

शव गन्ने रिपाेर्टिङ
२०६१ साल देखि नै हो मैले मिडियामा लेख्न थालेको। केही रिपाेर्टिङ र लेखहरू लेख्थेँ चितवनकै स्थानीय मिडियामा। २०६३ सालपछि भने मैले वरिष्ठ पत्रकार किशोर नेपालसँग काम गर्ने अवसर पाएँ।

६-७ वर्ष काम गर्दा ६० भन्दा बढि जिल्ला जाने अवसर पाएँ। यसले मलाई भूगोल बुझ्ने बनायो। भर्खरै द्वन्द्व सकिएको र शान्तिप्रक्रिया सुरू भएकाले नागरिकका कस्ता-कस्ता प्रश्न छन्, उनीहरूको धारणा के छ भन्नेमा केन्द्रीत थियो कार्यक्रम। अभियान भन्ने कार्यक्रम पनि चल्थ्यो रेडियोमा। त्यस्तै रूपान्तरण भन्ने जर्नलमा पनि काम गरेँ।

वैदशिक रोजगार, बसाईंसराइ र मानवतस्करीको रिपाेर्टिङ गरेको झण्डै एक दशक जति भयो। बसाईंसराइप्रति मेरो रुची हुनुको कारण मेरो आफ्नै परिवार पनि हो। मान्छे रोजीरोटीकै लागि मात्रै एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्ने होइन कतिको त रोजीरोटी मात्रै नभएर बानी पनि हुन्छ।

पैसा एक तहमा कमाएपछि त्यो भन्दा राम्रो अवसर खोज्नु मान्छेको स्वभाव हो। रिपाेर्टिङकै क्रममा वैदशिक रोजगारमा गएकाहरू कसरी तस्करीमा परेका छन्, कसरी उनीहरूमाथि ठगी भइरहेको छ भन्ने तथ्यहरू खुल्दै गए।

नेपाली मिडियामा खाली वैदशिक रोजगारमा गएका यति जनाको शव नेपाल आइपुग्यो भनेर गणकको बाहेक अन्य काम भएकै थिएन केही समयसम्म। अहिले शव गणकबाट केही माथि उठेको देखिन्छ रिपोर्टिङ। तर यो क्षेत्रको रिपोर्टिङ अझै सम्मुनत हुन सकेको छैन।

जीडीपीकाे एक तिहाइभन्दा बढि योगदान रेमिटेन्सको छ तर यही क्षेत्रमा काम गर्नेहरू असुरक्षित छन्। यो विषयमा हामीले पर्याप्त रिपाेर्टिङ गर्न सकेका छैनौँ।

विस्तारै मिडियामा नीतिगत रूपमा मेनपावर एजेन्सीले पारेको प्रभाव, फ्रि-भिषा फ्रि-टिकट भनिए पनि ठगीमा परिरहेका कामदार अनि कसरी मेनपावर व्यवसायी एजेन्ट नै श्रममन्त्री भए अथवा प्रभावमा पारेका छन् भनेर समाचार त आएको छ तर कसरी तस्करीमा जोडिएका छन् भनेर नेक्सस उधिन्नै सकेका छैनौँ हामीले।

मानवतस्करीका संरक्षकहरू को-को हुन्? ५० प्रतिशतभन्दा बढि मेनपावर कम्पनीहरू मानवतस्करमा संलग्न छन् तर हामीले मसिनो गरि यो-यो संलग्न छन् भनेर लेख्न सकेका छैनौं। कहिले कलाकारको आवरणमा, कहिले खेलाडीको आवरणमा त कहिले नेताको अघिपछि लागेर लगिएकाहरू समेत मानवतस्करहरूको जालोमा पर्ने गरेका छन्।

हामीले योबारे पर्याप्त उधिन्नै सकेका छैनौँ। छिपछिपे रिपाेर्टिङ भयो। तर, सम्मुनत हुन सकेको छैन रिपोर्टिङ।

मानव तस्कर भनेको सर्त बमोजिम काम नपाउनु पनि हो। योबारे खोजी भएकै छैन। अर्को, जुन-जुन देशमा नेपाली कामदार छन् त्यो-त्यो देशमा हामीले रिपाेर्टिङ गर्न सकेका छैनौँ।

केही पत्रकारहरू विदेश गएका छन् रिपाेर्टिङ गर्न तर मेनपावर कम्पनीले लगेको देखिन्छ। मिडिया हाउसले पठाउने हो कि मेनपावर कम्पनीले? अब जो तस्कर हो उसैले पठाएपछि कामदारको एंगलबाट समाचार आउँछ की कम्पनीको?

श्रम गन्तव्यमा नेपाली पत्रकारहरू जान सक्दैनन्। उनीहरू काम गरेको मिडिया हाउसले पनि पठाउँदैन वा सक्दैन। त्यसकारण पनि यो क्षेत्रमा भएको बेथिती उधिन्नेगरी समाचार कमै आएका छन्।

यसको अर्थ नेपाली पत्रकारले केही नै गरेका छैनन् भन्न खोजेको हैन। सन् १९९० पछि धेरै पत्रकारले धेरै राम्रो काम गरेका छन् आ-आफ्नो बिटमा। राजनीतिक दलका पत्रकार हुन्थे पहिले। अहिले धेरै व्यावसायिक भएका छन्। राजनीतिक दलका भ्रातृ संगठनमा नबसी व्यावसायिक पत्रकारिता गर्नेको संख्या पछिल्लो समय बढेको छ।

एउटा पत्रकारलाई पाँच विषय दिएर के हुन्छ?
एउटा पत्रकारलाई ५ वटा क्षेत्र(बिट) दिने चलन अझै हराएन। यसरी त राम्रो समाचार आउन सक्दैनन्। विदेशी मिडियाले मानवतस्करीका नेक्सस उधिन्नलाई उनीहरू कुन-कुन बाटो भएर गन्तव्य पुग्छन् भनेर कामदारसँगै पुगेका हुन्छन्।

यस्तो रिपोर्टिङमा १०औँ लाख खर्च गर्नसक्ने मिडिया हुन्छन्। तर हाम्रोमा त यही भारतको कालापहाड जानेहरूसँगै गएर समेत रिपाेर्टिङ गर्न सकिँदैन।

हाम्रा देशका अधिकांश भागका व्यक्तिहरू दुई छाक खानकै लागि भारतमा गएर ज्याला-मजदुरी गर्छन्। यदि उनीहरूको हत्या भयो अथवा निधन भयो भने समाचार आउँछ नत्र कुन तहमा कसरी काम गरिरहेका छन् अनि कति छन् यसरी काम गर्ने भन्ने समाचारसमेत आउँदैन।

यसमा एक्लो पत्रकारले मात्रै गरेन भन्न मिल्दैन। फिल्ड रिपाेर्टिङ गर्नसक्ने पनि बनाइदिनुपर्छ सम्बन्धित संस्थाले। तलब दिएर मात्र यस्ता रिपोर्टिङ सम्भव हुन्न। अनुसन्धानमा सधैँ रिपोर्टरले आफ्नो मासिक तलब खर्च गर्न सक्दैन।

मासिक पारिश्रमिक खोजी रिपोर्टिङका लागि हैन, उसको दैनिक जीवनयापनका लागि हो। अब दैनिक जीवनयापनकै पैसा खोजीमा खर्च भयो भने उसले कसरी व्यवहार चलाउन सक्छ! त्यसैले नेपालमा ट्राभल रिपाेर्टिङ नै हुन सकेको छैन।
 
अर्को द्वन्द्वग्रस्त क्षेत्र अफगानिस्तान, युक्रेन अनि इराकमा पनि नेपालीहरू पुगिरहेका छन्। त्यहाँ उनीहरूको अवस्था कस्तो छ भनेर योबारे समाचार आउन सकेको छैन।

राज्यले बनाउने नीति-नियमले कामदारलाई भन्दा मेनपावर एजेन्ट र मानवतस्करीलाई सहयोग पुग्ने गरी आइरहेको छ। कहिले महिलालाई प्रतिबन्ध लगाउँछ, कहिले कति सम्पत्ति देखाउनपर्ने भन्छ। यसले तस्करहरूले कमाउने मौका पाइरहेका छन्।

महिलालाई वैध रूपमा वैदेशिक रोजगारीमा जानबाट रोक्ने नीति बनाए लगत्तै हाम्रो विमानस्थलमा सेटिङ खुल्छ। भारत हुँदै जोखिमपूर्ण रूपमा जानेहरूको संख्या बढ्छ अनि सरकारले कडाइ गरेको छ भन्दै तस्करले पैसा बढि-बढि असुल्छ। अनि यो निर्णय कामदारको हितमा भयो त?

पछिल्लो समय केही नेक्ससहरू उधिन्ने काम भएको छ तर त्यसले नीतिगत तहमा भने प्रभाव पार्न सकेको छैन।

केही समय पहिले मैले केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांक केलाउँदा प्लस टु पास गरेकाले मास्टर्स पास गरेकालाई बेचविखन गरेको देखिएको थियो। मानवतस्कर थाहा नपाएर होइन, थाहा पाएर पनि भएको छ।

यसको कारण मनोविज्ञान पनि हो। पैसा कमाउन मात्रै यो भएको होइन। ३-४ वर्ष खाडी बसेर आएको व्यक्तिले अमेरिका जाने लोभमा दलालीलाई ५०औं लाख रकम बुझाएको छ।

मध्यमवर्गले खोज्ने सुविधाले पनि प्रभाव पारेको देखिन्छ। यस्ता पाटाहरूले हाम्रा समाचार कक्षमा विशेष प्राथामिकता पाएका छन् त?

अघि पनि भने, नेपाली पत्रकारले गर्दै नगरेका होइनन् तर पर्याप्त नगरेको भने हो। कतिले भन्ने गर्छन्- नेपाली पत्रकारले कामै गर्दैनन् तर मलाई त्यस्तो लाग्दैन। छिपछिपे होला तर काम गरेका छन्। तर खै किन हो हिजोआज रिपोर्टरले कामै गरेनन् भन्ने गलत भाष्य बनाउन खोजेको अनुभव हुन्छ।

कहिलेकाहिँ सम्पादक तहका व्यक्तिले पत्रकारलाई गाली गरेको देख्दा म छक्क पर्छु। उहाँहरू नै नेतृत्वमा हुनुहुन्छ। यदि कमजोरी छ भने त उहाँहरूको हैन र?

सम्पादक भएपछि आफैँ एउटै समाचार नलेख्ने अनि रिपाेर्टर बिग्रिए भनेर कराउने? अधिकांश पत्रकार सम्पादक भएपछि अन्तर्वार्ता लिएर बसेको देख्छु। पत्रकारिताको मेरुदण्ड त रिपाेर्टिङ होइन र?

विदेशतिर त सम्पादकले पनि मज्जाले रिपाेर्टिङ गरेको देख्छु। नेपालमा पनि केही सम्पादक छन् जसले रिपोर्टर बराबर समाचार लेख्छन् अनि अन्य सम्पादकहरूलाई चैँ समाचार लेख्न के ले रोक्ने रहेछ?
 
मलाई त सम्पादकले 'पत्रकार खत्तम भए' भनेको सुन्दा उहाँले आफैँ खत्तम भएँ भन्न त खोज्नु भएको त हैन भन्ने लाग्छ। आफ्नो अक्षमतालाई ढाक्न रिपोर्टरलाई गाली गरेर हुन्छ र?

पत्रकारको दुई समूह
म जहिले पनि दुई प्रकारका पत्रकार देख्छु। एउटा साच्चैका पत्रकार। अनी अर्को ‘पत्रकार’ आवरणमा धन्दा गर्ने। पत्रकार हुँ भनेर अर्कै धन्दा गर्नेहरूका कारण साच्चिकै पत्रकारले बेकारमा गाली खाइरहेका छन्।

नेपाली पत्रकारितामा त्यही पेशागत मर्यादामा बसेर पत्रकारिता गर्नेहरूकै कारण त अलिअलि भए पनि सुधार भएको। अब सम्पादकहरूले नै सबैलाई एकै डालोमा राखेर गाली गर्न थालेपछि काम गर्नेको मनोबल कताबाट आउँछ? को धन्दावाला हो अनि को साच्चिकै रिपोर्टर हो भनेर पहिल्याउने काम सम्पादककै त हो।

विदेशी मिडियाले आफ्नो एजेण्डामा लेखाउने भए पनि भारत, बेलायत अमेरिकाका मिडियामा पनि हामीले एक्सपोजर पाइरहेका छौं। यो फड्को होइन नेपाली पत्रकारको?

जो मनैले यो पेशामा लागेका पत्रकार छन् तिनले समाचार मात्रै लेखेका छैनन्, सकेसम्म आफूले रिपोर्टिङ गरिरहेको क्षेत्रको अनुसन्धानमुलक पुस्तक पनि लेखेका छन्।

उदाहरणका लागि अपराधको, संसदबारे, भ्रष्टचारबारे, वैदशिक रोजगारबारे किताब आएका छैनन् र पत्रकारको!

पत्रकारको आवरणमा अर्कै धन्दा गर्नेले नै हो पत्रकारिता बिगारेका। जो यही पेशामा काम गर्छु भनेर आएका छन् उनीहरूले जस्तोसुकै प्रतिकुलतामा पनि गहिरो मिहिनेत गरेको देख्छु म त। त्यसैले सबैलाई एकै डालोमा राखेर सबै पत्रकार खत्तम छन् भन्नु भएन। छुट्टयाउन जरुरी  हुन्छ। 

समाचारको सलहको पछि कुँदेका मिडिया 
जसरी अन्य क्षेत्रको कमजोरी छ मिडियाको पनि कमजोरी नभएको होइन। नेपालका अन्य क्षेत्रमा जनशक्तिकाे अभाव छ। पत्रकारितामा पनि जनशक्तिकाे अभाव त छ तर मिडियामा जनशक्ति नआएको भने हैन।

अहिले माध्यम बदलिएको छ। परम्परागत मिडियामा नयाँ पुस्ताको आकर्षण कम देखिन्छ। बरु युट्युब अनि पडकाष्टमा उनीहरूको रुचि बढिरहेको देखिन्छ। राम्रोसँग काम गर्ने हो भने, यी माध्यमले पनि राम्रै आम्दानी गरिरहेका छन् पनि। केही पत्रकारले आत्मनिर्भर भएर यही माध्यमबाट पनि राम्रो काम गरेका पनि छन्।

हाम्रो परम्परागत मिडियाका समाचार कक्ष भने एकदमै असमावेशी छ। महिला, जनजाती, अल्पसंख्यक, एलजिबिटिआई समुदायप्रति सहिष्णु देखिँदैन समाचार कक्ष।

समाचार कक्षमा ओरिन्टेशनको अभाव देखिन्छ। नयाँ-नयाँ विषयमा काम सिकाउने प्रचलन हराउँदै गयो। व्यक्तिगत सम्बन्ध भएकाले त सोधेरै सिक्लान् तर प्रणाली बस्न सकेको छैन।

अधिकांश अनलाइन मिडिया छापाका डिजिटल संस्करण जस्ता मात्रै देखिए। केहीले प्रयास नगरेका हैनन्। तर, अधिकांशको काम पत्रिकामा आउने समाचार छिटो हाल्ने प्रतिष्पर्धा मात्रै देखिन्छ। डिजिटल मिडिया भनेको छिटो समाचार दिने मात्र पक्कै हैन होला।

समाचार लेख्ने रिपाेर्टर छन्। तर न्युजमेकरहरू छैनन्। लेख्नेले लेखोस्, खिच्नेले खिचोस् अनि त्यसलाई फरक तरिकाले प्रस्तुति दिनुपर्नेले दिनुपर्‍याे नि! तर त्यस्तो देखिँदैन।

न्युज मेकिङ र प्रोडक्सन नै भएको देखिँदैन। रिपोर्टरले जस्तो ल्यायो त्यस्तै प्रकाशित हुने त पक्कै हैन नि! रिपोर्टरले लेखेको कति ठिक छ, के-के पुगेको छैन, सन्तुलित छ कि छैन भनेर हेर्ने संरचना पनि छ नि! तर त्यो अहिले निकै निस्क्रिय देखिन्छ।

अनि नयाँ आउनेहरूलाई छापा होस् या अनलाइन होस् या रेडियो या टेलिभिजन उनीहरूलाई पेशाप्रति उत्साहित गराएर टिकाउन सकेको नै देखिँदैन। सिकाउने संस्कार हरायो समाचार कक्षको।

निश्चित वर्ष पुगेपछि पत्रकार अपग्रेड हुनुपर्छ नै। तर मिड करियरमा पुगेकालाई अपग्रेडकाे निकै समस्या देखिन्छ। समाचार कक्षको जनशक्तिलाई कसरी अपग्रेड गर्ने नीति नै देख्दिन म त।

अनलाइनभन्दा आरओएनबी हिट किन?
अहिलेको पुस्ता छोटो-छोटो समाचार पनि हेर्न रुचाउँछ। तर हामीले त्यसमा प्रविधिको उपयोग गर्न सकेका छौँ त। सोचै छैन हाम्रो। अहिलेको युवापुस्तामाझ कुनै मिडियाको आउटलेट भन्दा रुटिन अफ नेपाल बन्दको फेसबुक पेजको प्रभाव बढि छ। किन?

सबै डिजिटल मिडियाको फेसबुक पेज छ त! उनीहरूको कामै समाचार उत्पादन गर्ने हो। तर रुटिन अफ नेपाल बन्दको काम समाचार उत्पादन र सम्प्रेषण थिएन नि! तर उही मिडिया हो अहिलेको युवापुस्तामाझ।

त्यसकै उदाहरण दिएर छलफल गर्ने हो भने 'अब रुटिनेको पछि लाग्ने त?' भन्ने प्रतिक्रिया आउँछ। उनीहरू कसरी सफल भए अनि आफ्नोमा के कमजोरी देखियो भनेर समीक्षा गरे पो सुधार हुने हो। 'पहिल्यै ए त्यो' भनेपछि सुधार कसरी हुनसक्छ!

दिनकै ३ सयदेखि ४ सय वटा समाचार दिने अनलाइन पनि देखेको छु। यति धेरै समाचार किन? भिजिटर टिकाउन भन्ने जवाफ सुन्छु केहीबाट। तर, यसरी सलहको पछि दगुरेर मिडियाको दायित्व पूरा हुन्छ र?

अहिले अधिकांश मिडिया यसरी नै सूचनाको सलहको पछाडि दुगुरेका मात्र देख्छु। सूचना र समाचार फरक हो। यही सलहको प्रतिष्पर्धाले सूचना मात्र पनि समाचार बनेर आउँछन् अनि भक्कु गाली खान्छन् सचेत पाठकबाट।

मिडियाको आम्दानी दीगो छैन
विज्ञापनले मात्रै मिडिया चल्न सक्दैनन् अब। पैसा तिरेर पढ्ने संस्कार हराइसक्यो। प्यासनेट पाठकको खडेरी देखिन्छ।

भारतका केही मिडिया र अन्य देशका मिडियाले फन्ड संकलन गरेर पनि मिडिया चलाएका छन्। तर, नेपालमा त्यस्तो गर्‍याे भने दलालको ट्याग लागिहाल्छ।

सुरुमा तामझाम सहित खुलेका मिडिया केही समयमै मासिक पारिश्रमिकसमेत दिन नसकेर अलपत्र पनि परेका छन्। अब श्रम ऐन कार्यन्वयन गर्ने मिडिया त दुर्लभ भइहाले। यी सबै समस्याको कारण दीगो आर्थिक स्रोतको अभाव हो।

समाचारको स्रोत, पाठक अनि आम्दानी सबै माध्यम बदलियो अब तर मिडिया हाउस अनि पत्रकार अझै बदलिन सकेको देखिँदैन। यदि समयमै नबदलिने हो भने नेपाली मिडिया क्षेत्रको भविष्य अझ कठिन देख्छु म।

(रूपान्तरण जर्नल, यो साता, नेपाल साप्ताहिकमा काम गरिसकेका पत्रकार सापकोटा अहिले कान्तिपुर दैनिकमा आवद्ध छन्। वैदशिक रोजगार र मानव तस्करीबारे विशेष रिपाेर्टिङको अनुभव भएका उनैसँग उकेराकाे चौथो अंगको लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....