उकेरा कोलम

चौथो अंग : राजाले टीका लगाएर बनाएका मन्त्री जस्ता भए अहिलेका सम्पादक


तस्बिर : कृष्पा श्रेष्ठ

२०४८ सालदेखि मन्त्री तथा प्रधानमन्त्री भएकाहरूको निर्मम समीक्षा किन हुँदैन नेपाली पत्रकारितामा? दुई दर्जन भन्दा बढि नेताहरू २०४८ सालको निवार्चनदेखि निरन्तर उम्मेदवार भएका र राज्यका विभिन्न ओहोदामा पुगेका छन्। उनीहरूलाई मत हाल्ने मतदाताहरूको सम्पत्ति कति बढ्यो र नेताहरूको कति बढ्यो निर्मम रिपोर्टिङ भएको छ? सबैको सकिन्न होला कम्तिमा प्रधानमन्त्री/मन्त्री भएका नेताहरूको र उनीहरूलाई मत हाल्ने केही मतदाताको सर्वेक्षण गर्न सकिँदैन र?

खोज पत्रकारिता गर्छु भन्नेहरूले, विदेशीले दिएको कागजातलाई कनिकुथी अनुवाद गरेर खुलासा भनेर समाचार छाप्ने तर देश भित्रकै ठूला–ठूला काण्डदेखि सर्वेक्षणहरू किन गर्दैनन्? २०७४ पछि प्रधानमन्त्री भएका केपी ओली र शेरबहादुर देउवाले राष्ट्रपतिलाई भेटिरहेका हुन्छन्, किन भेट्छन् आखिर?

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबीच भेटघाट हुँदा नागरिकले थाहा पाउनुपर्ने होइन? रिपोर्टिङ किन भएको छैन यो बारे? असंवैधानिक तवरबाट दुई पटक संसद विघटन गरेका केपी ओलीलाई ‘संसद विघटन गर्नुभयो, ९ महिना भन्दा बढि संसद अवरुद्ध गर्नुभयो, अब तपाईंहरूलाई किन भोट दिने? आधार दिनुस्।’ भनेर प्रश्न सोध्नुभन्दा, ‘पुष्पलाललाई कमरेड भने हुने मनमोहन अधिकारीलाई बा भन्नु नपर्ने तपार्इंंलाई किन भन्नुपर्ने भन्ने प्रश्नले अर्थ राख्छ?’ उनका कार्यकर्ताले जे सुकै भनुन् स्थापित पत्रकारले गर्ने प्रश्न यस्तो हुन्छ?

नेपाली पत्रकारिताको मुल समस्या भनेको रिपोर्टिङ सेक्सनको देखिएको छ। कुनै पनि न्यूज मिडिया हाउसको मेरुदण्ड नै रिपोर्टिङ हो। रिपोर्टिङ नै कमजोर भएपछि पत्रकारिता कस्तो हुन्छ? रिपोर्टिङ सेक्सन बलियो बनाउन छलफल गर्नु आजको टड्कारो आवश्यकता हो।

फिल्ड रिपोर्ट बरबाद भयो
२०५५ सालदेखि हो मैले पत्रकारिता सुरुवात गरेको। त्यतिबेला बुधबार साप्ताहिक पत्रिकामा काम गरे पनि मैले सामाजिक विषयको रिपोर्टिङ गरेँ। नेपाल प्रेस इन्सिच्युटले तालिम पनि लिएँ। यो तालिमले मलाई स्थापित पत्रकारहरूसँग संगत उहाँहरूले रिपोर्टिङ गर्ने तरिकाबारे जान्ने अवसर पाएँ। उहाँहरूकै मेन्टरिङमा स्टोरी पनि गरियो।

मैले ३ वर्ष जति दलितहरूको पत्रिका दलित खबरमा सम्पादक भएर काम गर्ने पाएँ। त्यस्तै उत्थान म्यागेजिनमा पनि काम गरेँ। म्यागेजिनमा काम गर्दा डेप्थ स्टोरीमा बानी पर्दै गयो। दैनिक अपडेट दिनुभन्दा समय लागोस्, बरु खोजी गरेर लेख्न थालेँ। इन्सेकमा काम गरेकाले श्रीलंकामा भएको द्वन्द्वको बस्तुस्थिति हेरेर रिपोर्टिङ गरेँ। यो अन्य भन्दा फरक थियो। उताबाट फर्केर आएपछि केही समय रेडियो र शिक्षक मासिक पत्रिकामा काम गरियो। समय लगाउने बरु डेप्थ स्टोरी गर्नुपर्छ भन्ने मलाई लागिरहने कुरा हो। 

अहिले नेपाली मिडियामा रिपोर्टिङको खडेरी नै परेको छ भन्दा हुन्छ। वस्तुनिष्ठ तरिकाले रिपोर्टिङ भएको देखिँदैन। पत्रकारले गरेको रिपोर्टिङ त यति इभिडेन्स होस् कि गल्ती गर्नेहरूले उम्किनै नपाउन्। अदालतले अनुमानका भरमा लेखिएको समाचार नभनोस् न। स्टोरी नै नभएको भनेको होइन तर पर्याप्त चाहिँ भएन।

मिडिया हाउसले स्टोरीमा लगानी नै गरेनन्। यत्रो बेथिति रहेको मुलुकमा यत्रो भ्रष्टाचार भएको मुलुकमा ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट हेरे पनि थाहै हुन्छ भ्रष्टाचारमा हाम्रो देश कुन स्थानमा छ भनेर। तर, सो अनुसार समाचार किन आएका छैनन्? दिनहुँ काण्डहरू सार्वजनिक हुनुपर्ने होइन? मानवतस्करको जालो माफियाबारे क्रस बोर्डर स्टोरी आउनुपर्ने होइन? किन आउन सकेको छैन?

केही वर्षअघि हामीले एनआएरएनएका तेजप्रसाद पुन कसरी मानजतस्करीका माफिया हुन् भनेर स्टोरी गरेका थियौँ। राष्ट्रिय पदक बाट सम्मानित उनलाई अदालतले समेत दोषी ठहर गरेको थियो।

हामी शसस्त्र द्वन्द्वबाट १० वर्ष गुज्रियौँ। यसको निर्मम समीक्षा भएर रिपोर्टिङ भएको छ? १५ वर्ष गणतन्त्र कार्यकालमा समाजमा धेरै विग्रह ल्यायो भन्नेहरू छन्। विग्रह नै ल्याएको हो कि आफ्नो कुरा भन्न सक्ने अवस्थामा पुगेका हुन् नागरिकहरू? यसबारे आम मान्छेले धारणा बनाए जस्तो हो विग्रह नै ल्याएको हो भनेर पत्रकारले भन्न मिल्छ? मलाई अझ अचम्म लाग्ने कुरा त, आम मान्छेले जसरी सबै नेता उस्तै हुन् भनेर पत्रकार साथीहरूले लेखिरहेको हुनुहुन्छ हो त? शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहालमा केही फरकै छैन त? पत्रकारले चिरफार गरेर लेख्नुपर्ने होइन?

फिल्ड रिपोर्टिङ एकदमै कम भएको छ। जहाँ घटना हुन्छ त्यहाँ पत्रकारहरू पुग्नुपर्ने होइन? द्वन्द्वकालमा हामीहरूले दलितहरू कसरी राज्य र विद्रोही पक्षबाट पीडित भएको छ भनि ‘बुट, बर्दी र बन्दुक’बारे स्टोरी गरेका थियौँ। माओवादीलाई चाहिने लुगादेखि हतियार समेत दलितहरूले बनाउँथे र उनीहरू मारमा थिए। माओवादीलाई सहयोग नगरे माओजवादीले र सहयोग गरे राज्य पक्षबाट सिकार हुन्थे उनीहरू। माओवादीले दलितहरूलाई चरम यातना दिएको समाचारहरू फिल्डमा रिपोर्टिङमा गएका समाचारहरू आउँथ्यो त्यो बेला। अहिले परिस्थिति सहज छ। तर, स्टोरी आएको छैन। 

मिडियाको संख्या जसरी बढेको छ गुणस्तर पनि त्यसरी नै बढ्नु पर्ने हो तर बढेको देखिएन। डेडिकेटेड पत्रकारहरू अत्यन्तै कम भयो। वर्षको कम्तीमा ५/६ जना एकदमै सम्भावना भएका पत्रकारहरू आउनुपर्ने किन आइरहेका छैनन्? फिल्ड रिपोर्ट अपवाद भएका छन्। इभेन्ट बेस पत्रकारितामा इभेन्टको कभर पनि कपि गर्ने भएपछि कस्तो हुन्छ पत्रकारिता?

राजाले टीका लगाएर मन्त्री बनाए जस्तै अहिलेका सम्पादक 
अघि पनि भनेँ, मिडियाको जुन रफ्तारमा विकास भयो सो अनुसार रिपोर्टरको हुन सकेन। स्टोरीमा त झनै भएन। जागिरे मानसिकता देखियो पत्रकारमा। मिडिया हाउसले कर्पाेरेट हाउसहरूको नक्कल गर्न थाल्यो। १० बजे हाजिर लगाउनुपर्ने, टाइम कार्ड छिराउनुपर्ने के प्रणाली हो यो? रिर्पोटरले कुन काम गरिरहेको छ भन्ने थाहा भए हुन्न? रिर्पोटरहरू त हराउँछन् हप्तौँ दिन स्टोरी अनुसार। टाइम कार्ड छिराएर सरकारी कर्मचारीले जसरी हाइ काढेर बिताउने हो र पत्रकारले?

पत्रकारिता जागिर होइन पेशा हो। स्वतन्त्र भएर सोच्ने लेख्ने अरुको स्वतन्त्रताको लागि पनि पैरवी गर्ने हो। हात गोडा बाँधिदिएर रिपोर्टिङ गर्न लगाएर रिपोर्टिङ कसरी हुन्छ? पत्रकारको काम उ कति बेर कार्यालयमा बस्यो भनेर होइन उसको स्टोरी कस्तो आयो भन्नेमा हुन्छ। निश्चित समय तोकिदियो भने, पत्रकारले गुणस्तरीय र इभिडेन्समा आधारित समाचार लेख्न सक्दैनन्।

अहिलेको पत्रकारिताको गुणस्तर नबढ्नुमा विश्वविद्यालयको पढाइ पनि जिम्मेवार छ। व्यावहारिक पत्रकारिता गर्न सक्नेभन्दा पनि एनजीओ आइएनजीओको मिडिया एडभाइजर बनाउने तरिकाले पढाएर हुन्छ? अब पनि कोर्ष परिर्वतन गराउनुपर्दैन? अन्तर्राष्ट्रिय पत्रकारितामा के भइरहेको छ, कसरी काम भइरहेको छ, सोही अनुसार विश्वविद्यालयले जनशक्ति उत्पादन गर्नुपर्ने होइन? पत्रकारितामा मास्टर पास गरेका धेरैलाई दुई लाइन समाचार लेख्न किन आउँदैन? शुद्धसँग किन लेख्न सक्दैनन्?

रिपोर्टरमा कमजोरी देखिनुमा पढाइ, मिडिया हाउस र कस्ता सम्पादकसँग काम गरेको छ रिपोर्टरले, त्यसमा भर पर्छ। राजाको पालामा टीके मन्त्री हुन्थे राजाले टीका लगाइदिएर। आज मालिकका स्वार्थको लागि सम्पादक हुने भए। योग्यताले भन्दा पनि मालिकले मनोनित गरेका सम्पादकहरू। यसको अर्थ आफ्नै मिहिनेतले सम्पादक भएकाहरू छैनन् भनेको होइन। उनीहरू पाखा पारिएका छन्, मालिकले मनोनित गरेर टीका लगाइदिएकाहरू हावी भएका छन्।

लगानीकर्तासँग चोचोमोचो मिलाएर सम्पादक भएको देखिन्छ। अलिकति गमेर सोचौँ न, रिपोर्टरलाई २५ हजार पनि नियमित तलब नदिने सम्पादकलाई रिपोर्टरको भन्दा ६/७ गुणा बढि तलब दिनुपर्ने? कारण के हो? कि रिपोर्टरको तलब बढाउनुपर्याे कि सम्पादकको घटाउनु पर्याे। यत्रो फरक राख्न भएन। सम्पादक साहुको स्वार्थ पूरा गरिदिने पद हो? रिर्पोटरहरू सम्पादकका दास होइनन्। प्रकाशकहरूको एजेन्ट होइनन् सम्पादकहरू पनि। 

अहिले निवार्चनको समय छ, कुन मिडियाले वाच डगको रूपमा हेरेका छन् निवार्चनलाई? किन कस्ले मार्ला बाजी भनेर अलमलिएर बसेका छन्? निवार्चनको खर्चदेखि उम्मेदवारहरूको ट्रयाक मिडियाले पर्दाफास गर्नुपर्ने होइन? अन्यले दिएको कागजातलाई खुलासा भनेर अनुवाद गरेर छाप्ने अनि यहाँको समाचार नलेख्ने? समाचारमा लगानी हुनुपर्दैन? रिपोर्टरलाई जागिर खानुपर्ने, सम्पादकलाई  मालिकको चाकडी गर्नुपर्ने, लगानीकर्तालाई स्वार्थ समूह रिझाउनुपर्ने अनि कसरी हुन्छ पत्रकारितामा सुधार?

रिर्पोटरले कोटेशन र सामाजिक सञ्जाल स्टाटसमा आधारित समाचार लेख्ने भएका छन्। योग्य पत्रकारहरू पाखा लगाइँदै गएका छन्। सामाजिक उत्तरदायित्व हुन्छ मिडियाको खै पूरा भएको? पत्रकारको कुनै जात, धर्म, वाद भन्ने हुँदैन हाम्रा पत्रकारहरू जात, धर्मवादबाट मुक्त हुन सकेका छैनन्। व्यवसायी र राजनीतिक दलको स्वार्थमा कहिलेसम्म सम्पादक बनाउने?

प्रोजेक्ट पत्रकारिता भयो खोज पत्रकारिता
अहिले नर्मल रिपोर्टिङ पनि भएको छैन, खोज पत्रकारिताको के कुरा गर्नु। यो त भएकै छैन। सर्टेन डोनरले भनेको स्टोरी बाहेक अन्य स्टोरी भएको देखिँदैन। नेपालमा फन्डिङ स्टोरीले केही परिर्वतन भए जस्तो लाग्दैन। 

मिडिया हाउसले पनि खोज पत्रकारितामा लगानी गरेको देखिएन। रिपोर्टरलाई ३५/४० हजार दिएर रिपोर्टिङ आउँदैन। न्यूनतम तलब, त्यो पनि समयमा नदिने प्रकाशकलाई हाइसञ्चो, सम्पादक पिआर म्यानेज भनेर दुगुर्ने अनि पत्रकारिता धानिदिनुपर्ने रिपोर्टरले?

प्रिन्ट मिडिया हाउसले प्रिन्टमा कम लगानी गर्दा पनि हुने भएपछि स्टोरीका लागि रिपोर्टरलाई लगानी गर्नुपर्थ्यो। तर, रियलस्टेटमा लगानी गर्ने मिडिया हाउस भएपछि पत्रकारिताको कसरी विकास हुन्छ?

रिपोर्टिङमा लगानी गर्ने रिपोर्टरलाई बिटमुक्त गर्नु आजको प्रमुख काम हो सम्पादकको। बिटमुक्त बनाइदिँदा जुन बिटमा पत्रकारिता गरिन्छ त्यसको दलाली गर्ने अहिलेको समस्या बाट मुक्त हुन्छ पत्रकार। कुनै बिटमा २० वर्ष रिपोर्टिङ गरेकाले त्यस क्षेत्रको विज्ञता भन्दा पनि दलाली/ठेकेदारी गरेर निस्कने भएको छ अनि कसरी विकास हुन्छ पत्रकारिताको?

अहिलेको खोज पत्रकारिता भइरहेका छ्र्रैन। प्रोजेक्ट बेस भए भए रिपोर्टिङ। डोनरलाई रिपोर्टरलाई दिनु भनेर पठाइदिएको पैसा समेत कोषमा गएर थन्किएको देखिन्छ। स्टोरी मेन्टर गर्ने नै छैनन्। स्टोरी मेन्टर नै नगरी पैसा लिइरहेको हुन्छ। यो पत्रकारिताको विकृत पाटो हो। पत्रकारको संस्थामा यो भन्दा ठूलो भ्रष्टाचार के हुन्छ? नेपालमा राम्रोसँग रिपोर्टिङ गर्न सक्ने रिपोर्टर नभएका होइनन्, उनीहरू पाखा पारिएका हुन् उनीहरूमाथि लगानी नभएको हो। फण्डहरू अन्यत्रै लगानी भएको हो। यो चिर्नु आवश्यक छ। 

पत्रकार जहिल्यै प्रजातान्त्रिक 
एउटा कुरा भन्नैपर्ने भएको छ, कतिपय साथीहरूलाई कम्युनिष्ट भएर स्वतन्त्र पत्रकारिता गर्न सकिन्छ भन्ने लागेको छ, यो गलत हो। पत्रकार जहिल्यै स्वतन्त्र हुन्छ र प्रजातन्त्रको पक्षधर हुन्छ।

चीनमा बसेर सी जिनपिङबारे सांगोपांगो लेख्न सक्ने पत्रकार छन्? त्यहाँ बसेर आलोचनात्मक पत्रकारिता गर्न सकिन्छ? उनीहरूको विचारधारा फैलाउनु पत्रकारिता हो? प्रजातान्त्रिक मुलुकहरूका पत्रकारहरूले सत्ताका पत्र–पत्र केलाएर समाचार लेख्न सक्छन्।

कम्युनिष्ट विचारधाराले स्वतन्त्रताको रक्षा गर्दैन र कहि गरेको पनि छैन। प्रिडम अफ एक्सप्रेसन जहिले पनि प्रजातन्त्रमा हुन्छ। कम्युनिस्ष्ट भइराख्दा पत्रकार त भइन्छ। तर, प्रोफेसनल पत्रकार भइँदैन। 

अन्त्यमा, मिडियामा सम्पादक कमजोर भइदिँदा समग्र पत्रकारिता कमजोर हुन्छ। स्रोत र रिपोर्टरको पुल हो सम्पादक। केही सम्पादकले यो काम गरिरहेका पनि छन् तर पर्याप्त छैन। भनेको सुनेको भरमा नभइ इभिडेन्सको आधारमा समाचार लेख्ने पत्रकार नै आजको आवश्यकता हो। यो पूरा प्रोफेसनल सम्पादकले मात्रै गर्न सक्छ।

(२०५५ सालदेखि पत्रकारिता गरेका विश्वकर्माले बुधबार साप्ताहिक, दलित खबर, शिक्षक मासिक, नेपाल साप्ताहिक र खोज पत्रकारिता केन्द्रमा काम गरेका छन्। उनी सोधखोज पत्रकारिता गुठीका सह संस्थापक समेत हुन्। उनैसँग चौथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....