चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

पत्रकार, चिकित्सक अनि इन्जिनियरिङ पेशा भनेको उस्तै हो, सधैँ अपडेट भइरहनुपर्ने। नयाँ-नयाँ रोग अनि नयाँ-नयाँ औषधि आइरहन्छन्। त्योबारे जानकार हुन चिकित्सकले पढिरहनै पर्यो। अभ्यास गरिरहनुपर्यो।

अब इन्जिनियरिङ क्षेत्रमा पनि नयाँ प्रविधि र डिजाइनहरू आइरहन्छन्। त्यसमा अपडेट हुन सिक्नै पर्यो। 

अब पत्रकारिता पनि यस्तै पेशा त हो। एक पटक फाइभ डब्लु वन एच पढेर, हेडलाइन, लिडलाइन अनि बाइलाइन भनेको के हो भनेर सिकेर जीवनभर पत्रकारिता गर्ने सीप पक्कै आउँदैन। त्यो आधारभूत सीप मात्रै हो। 

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो। 

अहिले त के-के आइसक्यो के-के। डेटा जर्नालिजम आएको छ, मोजो (मोबाइल जर्नालिजम) आयो। पडकास्ट आइसक्यो। अब यी सबै नयाँ प्रविधिमा पोख्त नहुने हो भने पक्कै पछि परिन्छ।

अब यीबारे जान्न सिक्नै पर्छ। ह्या समाचार लेख्न आइहाल्छ नि के सिक्नु भनेर हुन्न अहिले।

तर एक पटक समाचार कक्षमा प्रवेश भइसकेपछि अब सबै जान्ने भइयो अनि सिक्नै पर्दैन भन्ने सोच अलि बढी नै हाबी भएको देख्छु पत्रकारिता क्षेत्रमा।

सम्पादक हुन् कि रिपोर्टर समयानुकूल आफूलाई दक्ष बनाइराख्न पत्रकारिताको तालिम लिन हिचकिचाउनै पर्दैन। तर हिचकिचाउनेहरू टन्नै देखिन्छन्।

समाचार कक्षमा छिर्दैमा दक्ष भइन्छ भन्ने भ्रम

मैले पत्रकारिता सुरु गरेको तरुण साप्ताहिकबाट हो। पढ्दै, काम गर्दै गरियो। सुरुवाती दिनमा खेलकुद र मनोरञ्जन बिटमा लेखियो। त्यसपछि आर्थिक पत्रकारिता पनि गरियो। 

अङ्ग्रेजी माध्यमको पत्रकारिता गर्न काठमाण्डु पोष्टमा गइयो। पहिले देखि नै अङ्ग्रेजी माध्यमको पत्रकारिता नेपालीको अनुवाद जस्तो थियो। बिचमा केही परिवर्तन हुन खोजे पनि भएको देखिएन। 

मिडिया हाउसले पनि मूलधार नसम्झी बाइप्रोडक्टको रूपमा सम्झिएको देखिन्छ अङ्ग्रेजी माध्यमलाई। पछिल्लो समय बाइप्रोडक्टको रूपमा हेर्ने दृष्टिकोण केही बदलिएको छ तर अझै पनि अङ्ग्रेजी माध्यमको पत्रिका तथा अनलाइनले नेपाली माध्यमभन्दा फरक छौँ भनेर देखाउन अनि अनुभव गराउन सकेका छैनन्।

यसो हुनुको पछाडि रिपोर्टिङभन्दा अनुवाद गरिएका स्टोरी हाबी हुनु अनि मार्केटिङ समेत छुट्टै नहुनु पनि हो।

जनशक्तिको हिसाबले पनि कमै देखिन्छ अङ्ग्रेजी माध्यममा र पत्रकारिता गर्दा तलब लगायतका समस्या झेलेर मिडिया हाउसमा काम गर्नभन्दा पनि एनजीओ आईएनजीओमा काम गर्न रुचि राख्नेहरू बढी देखिन्छ। यसले अङ्ग्रेजी माध्यमको पत्रकारितामा जनशक्ति जोगाउनै हम्मेहम्मे परेको देखिन्छ।

बिचमा माइरिपब्लिका डटकम, अन्नपूर्ण पोस्ट डटकम अनि बीबीसी नेपाली सेवामा पनि काम गरेँ। जहाँ-जहाँ काम गरेँ दक्ष जनशक्तिको अभाव देखेँ।

एक थरी सिक्न चाहने तर सिक्ने ठाउँ नै नपाउने। अनि अर्को थरी एक पटक समाचार कक्षमा प्रवेश पाएपछि दक्ष भएँ भन्ने भ्रममा रहने। यी दुवै समस्याले नेपाली पत्रकारिता क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको देखेपछि बिस्तारै पत्रकारिता प्रशिक्षणमा संलग्न भएँ। अहिले भने म जर्नालिजम एकेडेमीमा आबद्ध छु।

टुक्रे समाचारमा रमाइरहेका अनलाइन

विभिन्न समस्याहरू भए पनि नेपाली पत्रकारिता १९९० पछि समयानुसार बदलिन खोजेको देखिन्छ। माध्यमहरू पनि बदलिए। छापाबाट सुरु भएको अनलाइनमा पुगिसक्यौँ हामी। अनलाइनबाट पनि अब कता-कता पुगिने हो भविष्यमा थाहा छैन।

हाम्रोमा अनलाइनको अभ्यास १९९६ देखि नै सुरुवात भयो। काठमाण्डु पोष्टले अनलाइन सुरु गरेको थियो। नेपालबाट छानिएर पठाएको स्टोरी अमेरिकाबाट पोस्ट हुन्थ्यो। कस्तो सामग्री अनलाइनमा राख्ने भनेर छुट्टाउने गरिएको थियो।

पछि दैनिकी र रिपब्लिका सुरु भएपछि अनलाइनमा केही सकारात्मक काम भए। जतिखेर समाचार आउँछ त्यतिखेर नै समाचार अपलोड गर्नुपर्ने रहेछ भन्ने यी दुई अनलाइनले सुरुवात गरे। नत्र नेपालन्यूजले त पत्रिकाका समाचारहरू मात्र हाल्ने गरेर सिकाएको अनलाइन पत्रकारिता लामो समय त्यस्तै थियो।

अनलाइनलाई ब्रेकिङ र अपडेट दिन हतारो पनि हुने तर त्यही घटनाको सारमा के भएको थियो त भनेर समअप स्टोरी नदिने समस्या देखिन्छ।

उदाहरणका लागि पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताको सवालमा फैसला आउने दिनमा अदालतमा कुन अधिवक्ताले के भने भन्ने कुरा आयो, फैसला आउने कुरा पनि आयो अनि अदालतको फैसला पनि आयो।

तर केही अनलाइनले बाहेक कमैले समअप स्टोरी लेखे। अन्तिममा समाचार हेर्नेले ४-५ वटा समाचार पढ्नुपर्ने बाध्यता हुन्छ यस्तोमा।

अनलाइनमा काम गर्नेहरूलाई पाठकहरू स्क्रिन खोलेर मेरै अनलाइनको समाचार पढ्न रिफ्रेस गरेर बसेका हुन्छन् भन्ने भ्रम बढी भएको देख्छु म।

यसले केवल हतार मात्र देखियो। अनलाइनले पत्रिकाभन्दा फरक तरिकाले कन्टेन्ट दिनै सकेन। यसको एक कारण धेरैजसो जनशक्ति प्रिन्ट मिडियाको पृष्ठभूमिका भएकाले पनि हुनसक्छ। रिपोर्टिङ, डेक्स अनि नेतृत्वमा पनि प्रिन्टको अनुभव भएकाहरू हाबी हुँदा अनलाइनका कन्टेन्ट पनि प्रिन्ट जस्तै भए।

हाम्रोमा नजानेको कुरा सिकौँ न त भन्दा पनि चाहेको व्यक्तिबाट सिक्ने अवस्था पनि देखिँदैन। पहिला समाचार कक्षमै प्रशिक्षण हुन्थ्यो काम गर्दा-गर्दै। अब समाचार कक्षमा सिकाउने संस्कार पनि हराउँदै गएको देखिन्छ।

ट्रेनर जुनियर भएको अथवा खोजेजस्तो इन्स्टिच्युट नभएको अथवा म सिनियर भइसकेँ अब के सिक्न बाँकी छ र भन्ने भ्रम अलि बढी नै भएको हो कि भन्ने लाग्छ कहिलेकाहीँ। केही सिक्न खोज्ने तर केही भन्लान् कि भनेर हच्किनेहरू उत्तिकै भेटिएका छन्।

तर जुन रूपमा प्रशिक्षण या तालिम अगाडि बढ्नुपर्ने हो त्यो त्यसरी अगाडि बढेको पनि छैन। त्यसको नकारात्मक प्रभाव जनशक्तिमा देखिइसक्यो।

लेक्चरभन्दा माथि उठ्न नसकेको तालिम

अहिले नेपालमा खुलेका अधिकांश तालिम केन्द्र अनि एकेडेमीसँगै विभिन्न संस्थाले पत्रकारलाई तालिम दिएको देखिन्छ। ती तालिमहरू बेसिक कोर्समा नै आधारित देखिन्छन्। कोर्स परिवर्तन भएको नै देखिँदैन।

पहिले-पहिले ब्ल्याकबोर्डमा लेखेर अनलाइन पत्रकारिता तालिमसमेत दिइयो। अहिलेको तालिम यो अवस्थाबाट अलिकति भने पनि माथि त उठेको छ तर मिड करियरमा रहेकाहरूलाई अगाडि बढाउने गरी तालिमको कोर्स डिजाइन हुन सकेको छैन।

करिअरको आधारमा थप तालिम दिने संस्थाहरू एकदमै कम भए। करिअरमा फड्को मार्न सघाउने गरी तालिम हुनै सकेन।

हाम्रो पत्रकारिताको औपचारिक शिक्षामा पनि सुधार हुन सकेन। व्यवहारमुखी हो नि यो पेशा त। यसमा सिद्धान्त मात्र जानेर हुन्न। लेख्न पनि आउनुपर्यो। तर अभ्यासमा भन्दा बढी किताबमा मात्रै केन्द्रित गराएर पढाउँदा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन।

त्यसैले त युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचारसमेत लेख्न आउँदैन भन्ने गुनासो धेरै सुनिन्छ समाचार कक्षमा।

पढाउने विश्वविद्यालयले पनि अनिवार्य इन्टर्नसीपको व्यवस्था गरेन। जसले न्युजरुमभित्र बसेर सिक्ने संस्कार नै बसेन। अर्को नयाँ मिडिया हाउस खोल्दा केही दिन ओरिन्टेसन भए पनि स्थापित मिडियामा आउने नयाँ पत्रकारलाई ओरिएन्टेशन दिने कार्य समेत भएको देखिँदैन।

समाजको विषयमा आफ्नो मिडियाको धारणा के छ, आचारसंहिता के हो, महिला तथा बालबालिका अनि दलितको इस्युलाई कसरी उठान गर्ने जस्ता विषयमा ओरिएन्टेशन नै भएको देखिँदैन। त्यसले एकै समाचार कक्षबाट एकै विषयमा उत्पादन हुने समाचार पनि फरक-फरक देखिन्छ।

नयाँ पत्रकारलाई भोलिदेखि काम गर्न आऊ भन्यो अनि मिटिङमा कुन समाचार लेख्छौ भनेर सोध्यो। पहिला ओरियन्टेशन नै नदिईकन अब उसले के लेख्छु भनेर उत्तर दिने?

पहिल्यै अब के लेख्ने भनेर सोध्ने नै होइन नि! सीप सिकेरै पत्रकारितामा आउनुपर्छ भन्ने सोच हाबी भएको पनि देखिन्छ। विषयगत दक्षता अनि पत्रकारिताको आधारभूत ज्ञानको आधारमा पनि पत्रकारिता गर्न सकिन्छ। जस्तै कानूनमा स्नातकोत्तर गरेकाले फेरि पत्रकारितामै स्नातकोत्तर गर्नुपर्छ भन्ने छैन।

उसले पत्रकारिताको सामान्य ज्ञान र लेखनशैली सिक्यो भने कानूनबारे त उसले जानेकै हुन्छ नि! कसरी समाचार खोज्ने अनि कसरी लेख्ने भन्ने ज्ञान भयो भने लेख्न पनि सक्छन्।

अब बाहिर सिक्ने थलो पनि नहुने अनि समाचार कक्षमा पनि नसिकाउने भएपछि रिपोर्टरले सिक्ने चाहिँ कहाँ?

अर्को पत्रकारलाई बिदा पाउनै गाह्रो हुने लामो तालिमका लागि। मानौँ कुनै अनलाइनलाई ५ जना पत्रकार चाहिन्छ भने ३ जना राख्छन्। एउटा तालिममा गयो भने कामै हुन सक्दैन।

अनि अर्को समस्या एक विषयमा लेख्ने एक मात्र पत्रकार भएपछि उसलाई लामो समय बिदामा राख्नै नसक्ने। उसलाई बिदा दियो भने त्यो विषयका समाचारै छुट्ने भयो।

यसले गर्दा सम्पादकहरू रिपोर्टरले तालिम लिइदिए हुन्थ्यो झैँ त गर्छन् तर काम पनि नरोकिए हुन्थ्यो झैँ गर्छन्। अब दुवै त सम्भव हुँदैन।

हाम्रा कतिपय तालिमहरू कक्षाकोठामा सञ्चालन नै भएको देखिँदैन। सिक्नेभन्दा पनि रिफ्रेसमेन्टको लागि गए जस्तो देखिन्छ। यसले पनि सोचाइमै प्रभाव पारेको देखिन्छ। सिकौँ न हैन कि गइदिऊँ न २-४ दिन भए पनि रिफ्रेस हुन्छ भन्ने सोच बढी देखिन्छ।

अर्को सित्तैमा तालिम हुने भएर पनि धेरै महत्त्व नपाएको हो कि भन्ने पनि लाग्छ। स:शुल्क गर्न नसकिने हैन। तर योसँगै अर्को प्रश्न पनि आउँछ। के नेपाली पत्रकारले आफ्नो सीप विकासको लागि खर्च गर्न सक्छन् त? भोलिका दिनमा पैसा तिरेर सिक्न पर्यो भने उनीहरू तयार होलान्?

यो प्रश्नको कारण जनशक्तिको सीप विकासमा सम्बन्धित मिडिया हाउसले लगानी नगर्ने संस्कारले गर्दा हो। पारिश्रमिक पनि दिने अनि उसलाई पढाउन पनि पैसा खर्च गरिदिने भन्ने गलत सोच छ अधिकांश मिडिया हाउसको नेतृत्वमा।

जनशक्ति दक्ष हुनु भनेको उत्पादित सामग्रीको गुणस्तर बढ्नु हो अनि सामग्रीको गुणस्तर बढ्दा विश्वसनीयता बढ्छ। त्यसको सम्बन्ध कुनै न कुनै रूपमा आम्दानीमा पनि पर्छ भन्ने सोच्ने नै कम छन्।

अहिले त सिकाउने थलोको पनि अभाव छ। नेपाल प्रेस इन्स्टिच्युटले दिने तालिम राम्रो थियो। नेपाली पत्रकारिताका लागि दक्ष जनशक्ति उत्पादन भएको थियो। प्रेस इन्स्टिच्युट पढेको भनेपछि रोजगारी पनि सहज थियो। तर समय अनुसार बदलिन सकेन कोर्स अनि त्यो त्यसै सेलायो।

अर्को मिडिया पोइन्ट भन्ने पनि थियो। त्यसका जनशक्तिहरू अहिले पनि छन् मिडियामा। त्यो बिचैमा बन्द भयो। खोज पत्रकारिताको लागि पनि तालिमहरू भइरहेका हुन्छन्। तर त्यसले समाचार कक्षको गुणस्तरमै सकारात्मक प्रभाव पारेको कमै देखिन्छ।

म बीबीसीमा काम गर्दा २-२ वर्षमा तालिम लिनुपर्दथ्यो। बीबीसी एकेडेमी नै पनि छ के रे। तालिम ऐच्छिक हैन अनिवार्य थियो।

मिडिया हाउसमा तालिम विभागै छैन

मिडिया हाउसमा तालिम विभाग हुनुपर्ने हो नि! तर कुनै मिडिया हाउसमा पनि छैन। आफ्नै तालिम विभाग बनाउँदा त आफ्नै प्रोडक्टलाई राम्रो हुने हो। तर खासै इन्ट्रेस्ट नै देखिँदैन। अरू त अरू लाइब्रेरी भएका मिडिया हाउस पनि दुर्लभै होला।

नेपालमा पत्रकारिताको विषयमा तालिम मात्र दिने प्रशिक्षक पनि निकै कम छ। ट्रेनरहरू कुनै न कुनै मिडियामा जोडिएका हुन्छन्। अर्को मिडिया हाउसको समाचार कक्षमा रहेको व्यक्तिसँग अर्को समाचार कक्षमा काम गरिरहेकाले तालिम लिँदा त्यति खुल्न सक्दैनन्। ट्रेनर पनि अपडेट हुँदैनन्। उही परम्परागत शैलीमा पावरपोइन्टमा प्रिजेन्टेशन बनायो अनि कक्षामा पढाए जस्तो भररर दियो।

कि चार्टबोर्ड बनायो टाँस्यो। तालिम दिँदा तालिम लिनेहरूको उमेर समूह, उनीहरूको पृष्ठभूमि, अनुभव लगायतका क्षेत्रबारे पहिल्यै जानकारी लिएर तयारी गर्दै तालिम कक्षामा गयो भने सहभागीसँग सहज घुलमिल हुन सकिन्छ। सिकाउन खोजेको सहजै सिकाउन सकिन्छ। यसमा पनि अभावै देख्छु म।

तालिम लिइरहेकाहरूको मनस्थिति अनि उनीहरू कुन पाटोबारे जानकारी लिन बढी इच्छुक हुन सक्छन् भन्नेमा हेक्का राखेर आवश्यकता अनुसारको तयारी गरेर तालिम दिने हो भने तालिममा पत्रकारहरू आकर्षित हुन सक्छन्।

अर्को समस्या पत्रकारिताको तालिम पनि एकदमै थोरै हुन्छ। पत्रकारको सङ्ख्या काठमाडौँमा नै धेरै भएकाले स्वाभाविक रूपमा काठमाडौँमा नै धेरै तालिम हुन्छन्। काठमाडौँबाहिर हुँदै नभएका त होइनन् तर निकै कम।

अलि बदलिँदै छ स्वभाव

पत्रकारिता दिनका दिन सिक्ने पेशा हो। यो पदसँग हैन दक्षतासँग जोडिन्छ। त्यसैले सम्पादक हुन् या रिपोर्टर सबैलाई चाहिरहन्छ तालिम। रिपोर्टरलाई समाचारको शैली र नयाँ क्षेत्रबारे चाहिएला। सम्पादकलाई समूह संयोजन र समाचारको योजना निर्माणबारे पनि ज्ञान त चाहिन्छ नि! सबै आफैँले सिकेर मात्र त सम्भव हुँदैन।

उदाहरणका लागि- डेटा जर्नालिजम सिक्ने पत्रकारले समाचारसँगै डेटा पनि ल्याएर चार्टहरू, भिज्योलाइजेसन बनाउँछन्। सम्पादकले पनि यही तालिम लिएका छन् भने बनाउनै पर्छ भन्ने भएन। कसरी राम्रो बनाउने भन्ने ज्ञान हुन्छ नि! त्यसको आधारमा यसरी हैन यसरी चाहिँ बनाउँदा राम्रो हुन्छ भन्न सकिन्छ नि! सिकेको खेर गयो त?

सायद त्यसैले होला पछिल्लो समय सम्पादकदेखि रिपोर्टरसम्म तालिम लिने संस्कार पहिलाको भन्दा अलिकति भए पनि बढेको छ। मैले रिपोर्टर र सम्पादकलाई एकै समयमा, एकै कक्षामा राखेर पनि सिकाएको छु। यो सकारात्मक हो।

अब योसँगै मिडिया हाउसहरूमा पनि जनशक्तिमाथिको लगानी भनेको पारिश्रमिक मात्र हैन, उनीहरूको सीप र क्षमता बढाउनु पनि लगानी हो भन्ने सोच बढे गज्जब हुन सक्थ्यो।

यसका लागि सके मिडिया हाउस आफैँले तालिम दिने, नसके अन्य एकेडेमीसँग सहकार्य गर्ने हो भने अहिलेको दक्ष कामदारको अभाव कम हुन्छ। समाचारको गुणस्तर बढ्छ। यसले समग्र पत्रकारिता क्षेत्रलाई नै फाइदा हुन्छ। यत्ति हो सिकाउन र सिक्न हिचकिचाउनु भएन।

(तरुण साप्ताहिक, नेपाल समाचारपत्र र काठमाण्डू पोस्टमा संवाददाता, रिपब्लिकाको अनलाइन संयोजक, युनेस्कोको कम्युनिकेसन कन्सल्टेन्ट, अन्नपूर्ण पोस्टको डिजिटल सम्पादक, अन्तर्राष्ट्रिय पत्रकार महासंघको दक्षिण एशिया संयोजक र बीबीसी न्युज नेपालीमा वरिष्ठ प्रशारण पत्रकार-सोसल मिडियाको पदमा काम गरिसकेका आचार्य अहिले सीएमआर नेपाल जर्नालिजम एकेडेमीको निर्देशक छन्। उनैसँग चौथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला

१७ माघ, २०७९, १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।