चौथो अंग : अनलाइनहरु 'बैठक बस्दै, बस्यो, सकियो' पाराका ब्रेकिङको पछि मात्र कुदे

चौथो अंग : अनलाइनहरु 'बैठक बस्दै, बस्यो, सकियो' पाराका ब्रेकिङको पछि मात्र कुदे
तस्बिर : कृष्पा श्रेष्ठ

नेपालमा अहिले सञ्चालनमा रहेका अनलाइन मिडियाहरु हेर्दा यसलाई चार किसिमले वर्गीकरण गर्न सकिन्छ। पहिलो, फरक माध्यमको पत्रकारिताबाट स्थापित भइसकेका मिडिया ब्रान्डले इन्टरनेटमार्फत गरिरहेको पत्रकारिता। जस्तै इकान्तिपुर, नागरिकन्युज, इमेजखबर लगायत। यी पहिल्यै छापा या दृष्य माध्यमबाट स्थापित भएर अनलाइनमा आएका हुन्।

दोस्रो, इन्टरनेटमा मात्र आधारित भएर राम्रो लगानी र जनशक्तिसहित सञ्चालनमा रहेका अनलाइनहरु। जस्तै: अनलाइनखबर, सेतोपाटी, रातोपाटी लगायत। यसमा पनि अर्थ, खेलकुद, स्वास्थ्य लगायत विषयगत विधा छुट्टिएका अनलाइनहरु र सबै विधा समेटिने न्युज पोर्टल छुट्टा-छुट्टै छन्। 

तेस्रोमा पर्छन् कम लगानी र थोरै जनशक्ति भएका अनलाइन। अन्तिममा पत्रकारिताको भान दिने तर मिथ्या, सनसनीपूर्ण सामग्री राखेर भ्रमित पार्ने या कुनै निश्चित समूहको स्वार्थ पूरा गर्न खुलेका अनलाइनहरु। 

प्रविधिको विकासले अब लगानीका आधारमा मात्र प्रभावमा राख्ने अवस्था रहेन। चारै किसिमका मिडियाको शक्ति समान बनाइदियो प्रविधिले। ठूलो लगानी अनि ठूलो जनशक्ति भएका अनलाइन मिडियाले लेखेका समाचारले खासै प्रभाव नपारेर कम लगानी र थोरै जनशक्तिमा सञ्चालित अनलाइनहरुले लेखेको समाचारको बलियो प्रभाव परेका घटना टन्नै छन्। यो प्रविधिले सम्भव बनाएको हो। 

प्रविधिको अर्को समस्या पत्रकारिताबारे केही थाहा नभएकाहरुले अरुको कपिपेस्ट गरेर वा तानतुन पारेर सनसनीपूर्ण हेडलाइन बनाएर राखेका समाचार ठूलो लगानीका अनलाइन मिडिया वा सानो लगानीमा फरक शैली पच्छ्याइरहेकाहरु भन्दा बढी पढिने र सेयर हुने पनि भएका छन् र हुन्छन् पनि।

यसले देखाउँछ, अब मिडियामा लगानीको मात्र महत्व रहेन। अब कुन मिडिया कस्तो भन्ने कति लगानी छ भन्ने भन्दा पनि कस्तो सामग्री दिन्छ भन्नेको अर्थ रहने भयो। यसमा स्वार्थ बोकेर पसेकाहरुले फाइदा पनि उठाएका छन्। पत्रकारिता नै गर्छु भन्नेका लागि राम्रो अवसर पनि भएको छ।

लगानी बिना मिडिया अगाडि बढ्न सम्भव भने हुन्न। लगानी पनि चाहिन्छ। तर लगानी मात्रै सबैथोक हो भन्ने चाहिँ रहेन भन्ने मेरो आसय हो। तर यहाँ बलियो लगानी भएकाहरुमा अझै पनि लगानी नै सबैथोक हो भन्ने भ्रमले काम गरिरहेको छ। हो, उनीहरु लगानीमा बलिया छन्। तर लगानी बलियो भएझैँ कन्टेन्ट बलियो छ त? हामीले बहस गर्नुपर्ने पक्ष यही हो।

सतही र अस्पष्ट सामग्री हावी

अहिलेका अनलाइन मिडियामा आएका सामग्री  पढ्ने हो भने विषय 'क्लियर' नै हुन्न। टेलिभिजनका हेडलाइन जस्ता समाचार आउँछन् अनलाइनमा। अधिकांश अनलाइनका समाचार निकै सतही अनि निकै छोटो हुन्छन्। टिकटकमा १० सेकेन्डको भिडियोको बानी परेकालाई लामो समाचारमा ध्यान टिकाउन गाह्रो पर्न सक्छ भन्ने लागेको पनि होला। तर टिकटक र अनलाइन मिडिया त फरक हो नि। त्यसो भनेर छुट पनि पाइँदैन। किनकी, अनलाइनमा विषयवस्तुबारे पूर्ण जानकारी खोज्ने पाठक पनि हुन्छन्। पहिलो पटक त्यो विषयमा पढेका पाठक पनि हुनसक्छन् नि। उनीहरुका लागि त त्यो अपुरो हुन्छ। समाचार लेख्दा सबै पाठकलाई ध्यान दिएर लेख्नुपर्ने हो। तर त्यसो हुन सकिरहेको छैन।

अनलाइन मिडियाको विशेषतामध्ये एक छिटो सामग्री दिने पनि हो। तर छिटो भन्नुको अर्थ जस्तो सामग्री भए पनि  प्रकाशित गरिहाल्ने भन्ने त हैन। त्यो हो भने सामाजिक सञ्जालमा लेख्नु र पत्रकारिता गर्नु उस्तै भएन र? अहिले ठूलो समस्या नै यही भयो। 

पत्रकारितालाई 'हतारको साहित्य' भनिन्छ। त्यसरी हेर्दा अनलाइन पत्रकारिता 'महा-हतारको साहित्य' हुने भयो। तर जति हतार भए पनि सही र सत्य जानकारी दिनु पत्रकारिताको दायित्व पनि हो। कुनै सामग्री प्रकाशित हुनु अगाडि केही चरणमा क्रस भेरिफाइ हुँदैन भने त्यो कसरी पत्रकारिता? त्यसैले पत्रकारिता हुन सामग्री प्रकाशन/ प्रसारण हुनु अगाडि भेरिफाइ हुनैपर्छ। अनि मात्र पत्रकारिता हुन्छ। 

हतारको साहित्य भनेर कुनै मिडियाले छुट पाउन सक्दैन। छिटो हुने प्रतिस्पर्धामा कतिपय बेला हुँदै नभएको कुरा समाचार बन्ने गरेका छन्। यो त्यही हतारको साहित्य भन्ने ह्याङको प्रभाव हो। मैले यो समाचार हालिनँ भने त कसैले थाहै पाउँदैन या पाठक समाचारका लागि मेरो अनलाइन स्क्रोल गरेर बसेका छन् भन्ने ह्याङले पनि यस्तो भएको हुनसक्छ। जति छिटो यो ह्याङमुक्त भयो अनलाइन पत्रकारिता त्यति चाँडो सुधारको बाटोमा लाग्छ।

अर्को समस्या, शिक्षित र विकसित समाजमा समेत डिजिटल मिडिया साक्षरताको कमी छ। अमेरिकी चुनावले समेत यस्तै देखाएकै थियो। त्यसैले विस्तारै ग्रामीण तहसम्म प्रभाव पार्न थालेको  नेपाली समाजमा यसको प्रभाव पर्नु नौलो भने हैन। 

यसको नकारात्मक प्रभाव के हुन्छ भने मिडिया साक्षरताको अभावमा पाठकले कुन अनलाइन सही, अनि कुन अनलाइन गलत भन्ने थाहा नहुन सक्छ। उनीहरूका लागि सबै मिडिया बराबर, अनि सबै लेखन समाचार जस्तै हुने जोखिम हुन्छ। यसले पत्रकारिताको आवरणमा गलत मनसाय राखेर सामग्री दिनेहरूलाई फाइदा पुग्ने जोखिम हुन्छ। भएको पनि यही छ। 

कसैले डोमेन (अनलाइन पत्रिकाको नाम डट कममा डट जेसुकैमा) दर्ता गरेर त्यसमा समाचारको भान दिने केही सामग्री राखेर सामाजिक सञ्जालमा सेयर गर्दैमा त्यो अनलाइन पत्रकारिता हुँदैन। तर सामान्य पाठकलाई यस्तो के मतलब। मतलब गरेर पनि साध्य चल्दैन। सबै पाठकले हरेक समाचार कसले प्रकाशित गरेको, यसको सम्पादक को हो अनि लेख्ने पत्रकार को हो भनेर भेरिफाइ गरी-गरी पढ्न नि सम्भव हुन्न। 

यसको मुख्य कारण सबै मिडियाको सामग्री वितरणको थलो एकै हुनु पनि हो। एक पाठकले कान्तिपुरको समाचार पनि फेसबुकमा भेट्छ, यदि कसैले कान्तिपुरअनलाइनन्युज डट कम नामको क्लिकबेट समाचार राख्ने साइट खोलेको छ भने उसले हाल्ने समाचार पनि फेसबुकमै भेट्छ।

अब कुन चाहिँ पत्रकारिताको सामग्री हो अनि कुन चाहिँ पर्चाकारिता हो भन्ने सामान्य पाठकले कसरी छुट्याउन सक्छ? अधिकांश पाठकका दृष्टिमा कान्तिपुर र कनिकुथिपुरमा आउने सामग्री एकै हो भन्ने पर्न सक्छ। परिरहेको पनि छ। अनि उसले कनिकुथिपुरको समाचार पढेर कान्तिपुरलाई गाली गरिरहेको हुन्छ। यस्तै हुँदा समग्रमा पत्रकारिता क्षेत्रकै बदनाम पनि भइरहेको छ।

डिजिटल साक्षरता बढाउन मिडियाले पनि भूमिका खेल्न सक्ने हो। तर अहिलेसम्म त्यता त्यति ध्यान दिएको देखिएन। त्यसको मार वास्तविक पत्रकारिताको लक्ष्यसहित आएकामा नै परिरहेको छ। यसको समाधानका लागि सामाजिक सञ्जाल या न्युज एग्रिगेटर (जस्तै हाम्रोपात्रो आदि) मा मात्रै पूरै निर्भर भइरहेको अहिले पद्धति बदलेर पाठकसम्म आफैँ पुग्ने विकल्पको निर्माण गर्नु एक उपाय हो। अर्को भनेको अब मिडियाले पनि मिडिया सचेतना अभियान चलाउन सक्नुपर्छ।

अर्को समस्या राजनीतिक अनि आर्थिक स्वार्थप्रेरित अनलाइनको बाढी पनि हो। केही अनलाइन मिडियाको कन्टेन्ट हेर्ने हो भने त्यो कुन राजनीतिक दलको मात्रै हैन कि त्यो दलभित्रको कुन गुटको या कुन नेताको हो भन्ने कुरा अलिकति राजनीति बुझ्नेले सजिलै बुझ्न सक्छ। अहिलेका केही नामै चलेका अनलाइनका सामग्री हेर्ने हो भने पनि कुनले कुन दलका सामग्रीलाई प्राथमिकता दिन्छ अनि कुन दलको बढी आलोचना गर्छ भन्ने प्रष्टै देखिन्छ।

एमालेको लाइन बुझ्न कुन अनलाइन हेर्ने, माओवादीको लाइन बुझ्न कुन अनलाइन हेर्ने अनि कांग्रेसको लाइन कुन अनलाइनमा आउँछ भन्ने देखिनु स्वस्थ अनि निष्पक्ष पत्रकारिता हो र? पक्कै हैन।

यसरी दलैपिच्छे, नेतै पिच्छे अनि व्यापारीपिच्छे अनलाइन भएपछि के हुन्छ? यस्ता स्वार्थप्रेरित अनलाइनहरुले गर्ने काम लाइन नमिले ठोक्ने अनि मिले बोक्ने नै हो। आफ्नालाई बोक्ने, अरुलाई ठोक्ने। मन परेकोलाई बोक्ने, मन नपरेकोलाई ठोक्ने। फाइदा भए बोक्ने नत्र ठोक्ने।

उदाहरण, एनसेलले पूँजीगत लाभकर तिर्नुपर्ने विषयको समाचार एनसेलको विज्ञापन नपाइने लोभमा धेरै अनलाइनमा समाचार आएन। जबकी, यो राष्ट्रलाई फाइदा पुग्ने विषय थियो। कोकाकोलाको यस्तै इस्यु आउँदा त झन् पहिले एनसेलको समाचारको निरन्तर फलोअप गरेका मिडियामा समेत समाचार आएन। उल्टो विज्ञापन आयो। आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी एक्ला पत्रकार भए यो विषय उठाउने र निरन्तर फलोअप गरिरहने। 

बैंकले क्यालेन्डर प्रकाशन गरेको, एटिएम उद्घाटन गरेको जस्ता सामान्य विषय प्राय: सबैतिर समाचार बनेर आएका देखिन्छन्। तर बैंकमा ग्राहकहरुले पाएको दुःख, बैंकको सेवा पद्धति, उनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत के काम गरे भन्ने समाचार आएका छन्?  यो त्यही विज्ञापनको प्रभाव त हो। अधिकांश चलेका अनलाइन हेर्ने हो भने कति धेरै बैंकका विज्ञापन देखिन्छन्। यो त्यसैको प्रभाव हो। यसरी नेपाली पत्रकारितामा विज्ञापनले कुन हदसम्म समाचारको कन्टेन्टलाई नियन्त्रण गर्छ भन्ने देखाउँछ।

बदमासी लुकाउने, प्रमोट हुने सामग्री मात्र छाप्नुको कारण विज्ञापनको लोभ नै हो। विज्ञापन हट्ला भन्ने डर नै हो। यही डरका कारण सेल्फ सेन्सरसिप पनि चर्को हुन्छ। नेपाली मिडिया अझ अनलाइनमा अझ बढी छ भन्ने प्रष्टै देखिन्छ। 

उद्योगी-व्यापारीको एउटा समाचार नेपालको नाम चलेको अनलाइनले प्रकाशित भइसकेपछि पनि कसरी सम्पादन गरी प्रकाशन गर्यो भन्ने विषयमा मैले अस्ति भर्खर माइसंसारमा ब्लग लेखेको थिएँ। यो एक उदाहरण मात्र हो न्युज रुममा कर्पोरेट क्षेत्रको दबदबाको।

यसको कारण मिडियाको आयस्रोत कर्पोरेट हाउस केन्द्रित बढी हुनु नै हो। मिडिया सञ्चालन गरेपछि सञ्चालकले सधैं घाटा खाएर त चलाउन सक्दैन। सके नाफामै लैजाने अनि नसके कमसेकम खर्च उठाउन त खोज्छन् नै। कर्पोरेट क्षेत्रको बदमासी लेखे विज्ञापन आउँदैन। अनि एटिएम उद्घाटन भनेर समाचार नलेखी के गर्नु !

यो समस्या समाधानको उपाय भनेको रेभिन्यु मोडलको विकल्पको खोजी नै हो। तर स्थापित भइसकेका हुन् या स्थापित हुन संघर्षरत मिडिया हुन्, तिनले यसमा चासो राखेको देखिन्न। कमसेकम पत्रिका प्रकाशित गर्दा केही प्रतिशत रकम पाठकबाट आउँछ। अनलाइनमा पनि पाठक केन्द्रित रेभिन्युका लागि किन प्रयास नगर्ने?

कर्पोरेट क्षेत्रमा पनि समस्या देख्छु म। उनीहरु कस्तो सामग्री प्रकाशित गर्ने अनलाइनलाई विज्ञापन दिने, कस्तालाई नदिने भन्ने हेर्दैनन्। सम्बन्ध त भइनै हाल्यो। अधिकांशले प्राथमिकता दिने कति पाठक छन् भन्ने मात्रै देखियो। त्यसले गुणस्तरीय समाचारभन्दा क्लिकबेट सामग्रीतिर लागे अनलाइन। क्लिकबेटमा लागेकाहरु आर्थिक रुपमा बलिया पनि भए। जसले पाठकको संख्या नहेरी गुणस्तरीय सामग्रीलाई प्राथमिकता दिए, ती कति बन्द भए, कति आर्थिक रुपमा कमजोर अवस्थामा रहे। यसले त्यस्ता मिडियालाई पनि बाध्य भएर जस्ता कन्टेन्ट भाइरल हुन्छ त्यतै लाग्न बाध्य बनाउन सक्छ।

पत्रकारिता सुधारमा विज्ञापनदाताहरुको पनि भूमिका छ नि। उनीहरुले पाठक संख्या मात्रै हेर्न छाडेर कस्ता कन्टेन्ट प्रकाशित हुने गरेका छन् भन्ने मात्रै हेरिदिए पनि त्यसको सकारात्मक प्रभाव पर्ने थियो।

अडियन्सबाट टाढा

अनलाइन मिडिया भनेको सिद्धान्ततः अन्तर्क्रियात्मक हुन्छ, हुनैपर्छ। यसको मोडलै यही हो। यो यति छिटो प्रभावशाली अनि लोकप्रिय हुनुको एक कारण यही त हो। अडियन्स र पत्रकारबीचको दूरी जति परम्परागत मिडियामा हुन्छ, त्यो अनलाइन मिडियामा नहुनु पर्ने हो।  तर यथार्थमा अडियन्स र मिडियाबीच अन्तर्क्रिया हुनै सकेको देखिन्न नेपाली अनलाइनमा। पूर्वाग्रही त एक पाटो भयो। यथार्थपरक प्रतिक्रियाहरु पनि मिडियामाझ पुगिरहेको देखिन्न। 

परम्परागत मिडियाको तुलनामा पाठक बृहत् छन् अनलाइनमा। तर त्यो अनुसारको कन्टेन्टमा विविधीकरण हुन सकेकै छैन। प्रकाशित सामग्री हेर्दा देश चलाउने त हामी नै त हौँ भन्ने भ्रम भए झैँ देखिन्छ अनलाइन मिडियालाई। त्यसैले त उनीहरुको आँखा ठूला समस्यातिर मात्र पुग्छ। साना समस्यामा ध्यानै दिन्नन्। 

कतिपय विषय त ‘ए यस्तो त भइराख्छ नि' भन्दै पत्रकारले नै सामान्य बनाइदिन्छन्। त्यसैले न्यु मिडिया त भनियो तर पाठक/दर्शक/स्रोतासँगको सम्बन्ध र अन्तर्क्रियाको शैली भने ‘न्यु’ हुनै सकेन। ओल्ड नै भयो। 

परम्परागत मिडिया र पाठकको सम्बन्ध मिडिया उत्पादक अनि पाठक उपभोक्ता थिए। जे दिए पनि ग्रहण गर्न बाध्य थिए पाठक। तर पाठकपत्रमार्फत भए पनि पाठकसँग अन्तर्क्रियाको प्रयास हुन्थ्यो। अहिले पाठक/दर्शक/स्रोतासँग अन्तर्क्रिया गर्न सहज छ। तर अन्तर्क्रिया गरेको देखिन्न। 

जब सम्बन्धित अनलाइन प्लेटफर्ममै अन्तर्क्रियामा सेन्सर लाग्छ त्यसबारे सोसल मिडियामा बहस हुन्छ। भइरहेका छन्। तर सामाजिक सन्जालमा गल्ती औंल्याउनेलाई अनलाइन सञ्चालकहरु शत्रु झैँ व्यवहार गर्ने गरेको देखिन्छ। अब गल्ती औंल्याउँदा रिसाउने कि धन्यवाद दिने! धन्यवाद दिनुपर्ने हैन र!

अर्को समस्या गल्ती स्वीकारै नगर्ने। यो समस्या सबै माध्यममा छ। अनलाइनमा अझ बढी। ल पत्रिकामा गल्ती भयो भने भोलिपल्टसम्म कुर्नुपर्छ भनौँ। अनलाइनमा त जतिखेर गल्ती देखियो, त्यही बेला सच्याउन सकिन्छ। गल्ती औँल्याएपछि सच्याउँछन् तर समाचारमा उल्लेख गर्दैनन्। गल्ती भयो भन्दा बर्बादै हुने झैँ व्यवहार गर्छन्। के गल्ती भएको हो र के सुधारिएको हो, पारदर्शी भएर लेखे राम्रो।

गल्ती गर्दा माफी माग्दा विश्वसनीयता घट्दैन, थप बढ्छ। काम गर्दा गल्ती हुन्छ। भएको गल्ती स्वीकार गर्ने हो। लुकाउने हैन। म आफैं सम्पादक हुँदा पनि पहिलोपोस्टमा धेरै गल्ती भएका थिए। २०७२ को भूकम्पमा अमेरिकी हेलिकोप्टर हराउँदा मन्त्री र केही व्यक्तिको भनाइको आधारमा हेलिकोप्टर भेटिएको भन्ने समाचार राखेका थियौँ जसलाई विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत कोट गरेका थिए। 

तर, पछि त्यो समाचार गलत ठहरियो। हेलिकप्टर दुर्घटना भएको रहेछ। त्यतिबेला म सुदूरपश्चिमको दार्चुलामा थिएँ। तर समाचार कक्षको नेतृत्व मैले गरेको हुनाले जिम्मेवारी मेरै थियो। हामीले त्यसमा माफी माग्यौँ र पछि हेलिकोप्टर दुर्घटनास्थलसम्म पुगेर स्थलगत रिपोर्टिङ पनि गर्यौँ।  

गल्तीलाई पारदर्शी रुपमा सच्याए मात्र पनि अनलाइन पत्रकारितामाथिको आलोचना धेरै हदसम्म कम हुन्थ्यो। 

फिल्डमै जाँदैनन् पत्रकार

समाचार सामग्रीले नै देखाउँछ अनलाइन मिडियाका पत्रकारहरु स्रोतसम्म पुग्दै पुग्दैनन्। कोही अपवाद होलान्। मेरो अनुभवले अधिकांश यस्तै देखाउँछ। आफ्नै अनुभव बताउँछु।

म पहिलोपोस्टमा हुँदा निर्मला पन्तको हत्या र बलात्कारसम्बन्धी घटनाको ३० अङ्कको सिरिज लेखेको थिएँ। त्यस क्रममा थाहा पाएँ, केन्द्रको त कुरै छाडौं स्थानीय पत्रकारहरु समेत निर्मला अन्तिम पटक पुगेको बम दिदी-बहिनीको घरमा पुगेका रहेनछन्। तर बम दिदी-बहिनी बस्ने घरको आँगनमा रहेको अम्बाको रुखमा झुण्ड्याएकोदेखि घर रङ्ग्याएको र केटाहरुको आवतजावत हुनेसम्म समाचार आयो।

यसले सबैको ध्यान ती दिदी-बहिनीतिर तानियो। जब म घर पुगेँ, मूल बाटो छेउमै रहेको र बाटोमा हिँड्दै गर्दा देखिने रुखमा कसैलाई झुण्ड्याउन सम्भव देखिएन। जे-जे दावी आए ती अधिकांश गलत थिए।  ठाउँमा पुगेर हेरेको भए अन्यबाट त्यो गल्ती नहुन सक्थ्यो। बम दिदी-बहिनीहरुको त्यसरी चरित्रहत्या हुने थिएन।

ल काठमाडौंका त गएनन्/जान सकेनन्, स्थानीय पत्रकार त जान सक्थे नि। ‘ए यस्तो रे नि’ भनेकै भरमा समाचार लेख्दा अनुसन्धान बिथोलियो। आजसम्म ती किशोरीको बलात्कार र हत्यामा संलग्न कानुनी दायरामा आउन सकेको छैन। 

यो घटनालाई  मूलधार भनिने प्रिन्टले पनि बिथोल्यो। स्थानीयदेखि केन्द्रसम्मको अनलाइनको योगदान पनि कम भएन। चाहे त्यो नाम चलेका अनलाइन हुन् वा क्लिकबेटमा रमाउने अनलाइन- सबै बम दिदी-बहिनीको पछि लागे लामो समय। 

संख्या त बढ्यो तर गुणस्तर बढेन

माइसंसारमार्फत सन् २००५ मा ब्लगिङ सुरु गर्दा नेपाली भाषाका अनलाइनहरु नै थिएनन्। अहिले नेपालमा दर्ता भएका अनलाइनको संख्या ३ हजार नाघिसक्यो। संख्या बढ्यो। पत्रकारहरुका लागि रोजगारको बाटो खुल्यो। तर पाठकका लागि गुणस्तरीय सामग्री बढे त?

अहिले अनलाइनमा लाइभ गर्ने होड चलेको छ। त्यो त मैले राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्दा नै माइसंसारबाट लाइभ गरेको थिएँ। त्यतिबेला अहिले जस्तो फेसबुकबाट जस्तै सजिलै लाइभ गर्ने सुविधा पनि थिएन। युस्ट्रिमबाट सिडिएमए इन्टरनेट चलाएर ल्यापटप र ह्यान्डिक्याम बोकी लाइभ गरिएको थियो।

आज १३ वर्षपछि पनि अनलाइनहरुको लाइभ गर्ने शैली उस्तै छ। सेल्फी स्टिकमा मोबाइल झुण्ड्याएर फेसबुक पेजमा ‘रअ’ भिडियो लाइभ गर्दै रमाइरहेका छन्। १३ वर्षमा केही लाइभ बदलिएन। 

समाचारसँगै अडियो बाइटहरु त हामीले २०६२/६३ को आन्दोलनताका सञ्चालन गरेको युनिकोड नेपाली भाषाको पहिलो अनलाइन परेवा डट कममै राखेका थियौँ। अहिलेका अनलाइनमा त त्यति पनि छैन। 

यी प्रसंग उल्लेख गर्नुको कारण 'मैले यो गरेको थिएँ तिमीहरुले के गर्यौ' भन्न हैन १३ वर्षमा नि अनलाइन पत्रकारिताको कन्टेन्टमा उल्लेख्य सुधार भएको छैन' भन्न उल्लेख गरेको हुँ। यसलाई त्यही रुपमा बुझ्दा राम्रो।

अहिले प्रविधिको विकासले धेरै कुरा सहज र सम्भव बनाएको छ। तर त्यतातिर ध्यानै जान सकेको छैन। त्यतातिर ध्यान दिउँ भन्ने मेरो सुझाव हो।

खोज छैन, उस्तै सामग्रीको बाढी

पाठकको रुपमा हेर्ने हो भने अहिले सूचनाको बाढी नै छ। तर सबै एकै खालको। जुन अनलाइन खोलेर हेर्यो , कन्टेन्ट उस्तै। संख्या बढेसँगै विविधीकरण हुनुपर्ने हो। तर हुन सकेको छैन।

एउटा अनलाइन ब्रेकिङ, त्यो पनि फर्मलको पछि लाग्यो भने सबै ब्रेकिङको पछि लागेर हुन्छ त! ब्रेकिङ न्युज पढ्ने मात्र पाठक छन् त? ब्रेकिङ पनि गतिलो भए त ल हो भन्नुहुन्थ्यो- कांग्रेसको बैठक बस्दै, बस्यो, सकियो पाराको ब्रेकिङको पछि कुदेका छन् अधिकांश अनलाइन मिडिया। 

समाचारको दृष्टिले यसको के अर्थ होला यसरी दौडिनुपर्ने? यसले पत्रकारको समय अनि पाठकको समय किल मात्रै भएको छ। दौडनुपर्ने विषय आउनै सकेको छैन।

पहिलोपोस्टमा चार वर्ष सम्पादकीय नेतृत्व सम्हालेपछि राजीनामा दिएर बसिरहँदा एउटा दिव्य ज्ञान आफैंलाई पाएको जस्तो महसुस भएको थियो। न्युजरुमको नेतृत्व गर्दा मानौँ विश्वका सबैले मेरै अनलाइन हेरिरहेका छन् भन्ने भ्रम हुँदो रहेछ। न्युजरुमबाट टाढिँदा थाहा भयो, मान्छेलाई २४सै घण्टा समाचार हेर्नुपर्ने आवश्यकतै हुन्न। फुर्सदै हुन्न। 

त्यो अनुभवले भन्छ, हामी अनावश्यक कन्टेन्टमा दौडिएका छौँ छिटो हुने नाममा जसले पाठकमा ठूलो प्रभाव पार्न सकेको छैन।

अर्को समस्या पनि भनिहालौँ। डेस्कमा जे आइपुग्यो त्यही मात्र समाचार बनिरहेको देखिन्छ। सामान्य थपथाप पनि गाह्रो छ। अलि खोज गरेर समाचार लेखन नै भएन।

यसको अनेक कारण हुन सक्छन्। एक कारण- खोजका लागि कन्टेन्टमा लगानी नहुनु हो। पत्रकारले आफ्नै तलबबाट मात्र खोज/अनुसन्धान गर्न सक्दैनन्। हाम्रोमा समस्या नै यही भयो। न्युजरुम योजनामा कन्टेन्टमा लगानीको योजना नै बन्दैन। तलब दिनु नै खोजका लागि त हो भन्ने भ्रम छ लगानीकर्तामा। 

तलब पत्रकारको जीवनयापनको लागि हो, खोजमा खर्च गर्न हैन। खोजी समाचार गर्ने हो भने त्यसमा लाग्ने खर्च मिडिया हाउसले ब्यहोर्नैपर्छ। अनि आउनसक्छ खोजी रिपोर्टिङ। पत्रकारले तलब खर्च गरेर के-के गरुन् ? 

अनि बनिबनाउ सामग्रीको बाढी आउने नै भयो। आइरहेको यस्तै सामग्रीको बाढी हो। पत्रिकाले भोलिपल्ट छाप्ने समाचार तत्काल दिने भनेकै अनलाइन पत्रकारिताझैँ देखियो। तर यो त हैन। यही सोचले अनलाइन मिडियाको प्रभाव घट्दै गयो।

अनलाइन पत्रकारितामा अरु माध्यमका मिडियामा सम्भव नभएका विशेषता छन्। टेक्स्ट,फोटो, अडियो अनि भिडियो एकै थलोमा राख्न सकिन्छ। तर कसले प्रयोग गर्ने यसको? 

अनलाइनको सामग्री हेर्यो, प्रिन्टकै ह्याङ बढी देखिन्छ। नाम मात्र अनलाइन भयो, सामग्रीको पारा पूरै अफलाइन। सूचना र समाचारमा फरक छ। तर अधिकांश अनलाइनले सूचनालाई नै समाचार बनाएर पाठक झुक्याइरहेका छन्।
 
फरक देखिने  अवसर


हामीले रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता पढिरहँदा पत्रकारिता गर्ने ठाउँ नै सीमित थिए। अनलाइन मिडियाहरुका कारण अहिले अवसरको कमी छैन। पारिश्रमिक पनि राम्रो छ। 

तर, सबै पत्रकारहरुले एउटै किसिमको पत्रकारिता गरिरहेका छन्। यस्तोमा अलि फरक गर्न खोज्ने र अलि मिहिनेत गर्नेहरु भीडमा सजिलै छुट्टिन्छन्। तर त्यो अवसरको राम्रोसँग सदुपयोग भएको देखिँदैन। एकै खालको काममा रमाइरहेका छन् नयाँ पुस्ता पनि। 

यसको कारण नयाँ पुस्तालाई राम्रो गाइडेन्सको कमी हुनु पनि हुनसक्छ। पहिलाझैँ सिकाउने अनि छलफल हुने न्युजरुमको वातावरण बदलिएको देखिन्छ अहिले। त्यसको प्रभाव परेको पनि होला। 

तर, चाहनेले जसरी पनि सिक्न सक्छ। चासो राख्नेका लागि बन्देज पक्कै छैन। तर चासो त राख्नुपर्यो। देखिएको अर्को समस्या अनलाइनहरुमा डेस्क कमजोर भयो। हतारमा पोस्ट गर्ने दबाब हुँदा रिपोर्टरले लेखेको कन्टेन्टलाई राम्रोसँग नमाझिकनै प्रकाशन भइरहेको प्रष्टै देखिन्छ। 

यसले डेस्कमा बस्नेहरुलाई मान्छे हैन मेसिन बनाइदियो। त्यसैले त एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भनेर समाचार आउने गरेका छन्। यसको कारण डेस्कमा बस्नेहरुले राम्रोसँग कन्टेन्ट एकसरो पढ्ने फुर्सद पनि पाउँदैनन्। जस्तो आयो सरर हेरेर पोस्ट गरिहाल्नुपर्ने दबाब भएपछि हेरुन् पनि कसरी! 

त्यसमा दिनभर ८-१० घन्टा कम्युटर अगाडि स्क्रिनमा हेर्दै समाचार ओहिर्याएको ओहिर्याई गर्नु परेपछि दिमाग पनि थाकिहाल्छ नि। यसले सामग्रीको गुणस्तरमा असर परेको छ नै. रिपोर्टरमा पनि जे लेखे पनि हुने रहेछ भन्ने पर्ने गरेको छ।

न्युज रुममा प्रत्यक्ष संलग्न हुँदा मैले रिपोर्टर साथीहरुले लेखेको समाचारको सुरुमा केही लाइन पढ्दा चित्त बुझेन भने किबोर्डको कन्ट्रोल ए थिचेर सबै सेलेक्ट गरी डिलिट गरेर कन्ट्रोल एस सेभ गरी ‘फेरि लेख’ भन्ने गरेको थिएँ। उनीहरुका लागि कति रिस उठ्ने काम गरेँ होला मैले ! तर सुरुको लाइनमा नै पाठकको ध्यान तानिएन भने के काम त्यो कन्टेन्ट? अनलाइनमा पाठकलाई पढाउन कम गाह्रो हुन्छ ! मन परेन भने ब्याक बटन थिचिहाल्छन्। त्यसैले पाठक अडिनसक्ने त बनाउनुपर्यो। त्यसैका लागि पुनः लेख्न लगाउँथे। 

त्यतिबेला जतिसुकै रिसाए पनि अहिले अनलाइनमा ती साथीहरुको राम्रा समाचारहरु पढ्न पाउँदा खुसी लाग्छ। सम्पादकले यति मात्रै गरे पनि रिपोर्टरको लेखनमा पक्कै सुधार आउँछ। राम्रो रिपोर्टर उत्पादन हुनु भनेको कुनै एक मिडियाको मात्र हित हैन, समग्र पत्रकारिताकै हित हो भन्ने बुझ्नुपर्यो। 

सीप तिखार्ने अवसरको कमी

अनलाइन पत्रकारितामा भाषासँगै अन्य थप सिप पनि चाहिन्छ प्रिन्ट/टिभी/रेडियोको भन्दा। पत्रिका/टिभी/ रेडियोको भन्दा अनलाइनको भाषा फरक हो। पत्रिकामा लेख्न लिडलाइन जरुरी भए पनि अनलाइनमा त्यो जरुरी हुन्न। तर त्यसमा कसैले ध्यान दिएका छैनन्।

प्रिन्टबाट आएकाले त्यही शैलीमा लेख्छन्। रेडियो/टिभीबाट आए त्यही शैली। तर माध्यम फरक भएपछि शैली पनि पक्कै फरक हुनुपर्छ। तर यो पक्षमा कामै भएको छैन। थप सिप त पत्रकार आफैंले चासो राखेर सिके भने सिके, नत्र जे सिकेको छ त्यही गर्ने हो। यसका लागि उनीहरुलाई सिकाउन मिडिया हाउसले लगानी गर्नुपर्यो।

हाम्रा केही अनलाइन हेर्ने हो भने विज्ञापनले थिचेर समाचार कता छ भनेर खोज्नुपर्ने स्थिति छ। तर त्यहीँ प्रकाशित समाचारको भाषा हेरौँ त! 

नाफामूलक कम्पनीले मिडिया चलाएकाले नाफा कमाउनै पर्यो। तर त्यो नाफाको केही अंश आफ्ना पत्रकारहरुको सिप विकासका लागि पनि खर्च गरे राम्रो हुन्थ्यो। तर हामीकहाँ ‘इनहाउस ट्रेनिङ’ विरलै हुने गर्छ। पत्रकारहरुले आफैंले जति सिकेर गर्यो, गर्यो। संस्थाका तर्फबाट कुनै प्रोत्साहन हुँदैन। 

अनलाइन पत्रकारहरुले संस्था पनि छिटो-छिटो परिवर्तन गरिरहेका देखिन्छन्। विकल्प भएरै यस्तो सुविधा भएको हो। तर आजसम्म एउटा मिडियामा बाइलाइन आइरहेको पत्रकारको भोलिबाट अर्कै मिडियामा बाइलाइन आउनु चाहिँ अलि मिल्दो लाग्दैन। यो अभ्यास ठीक हैन पनि। कमसेकम केही दिन त कुलिङ पिरियड भए राम्रो हो। 

जिल्लाका अनलाइनको अवस्थै बेग्लै

तालिमका क्रममा विभिन्न जिल्लाका अनलाइन पत्रकारहरुसँग अन्तर्क्रिया गर्ने मौका पाएको छु। त्यहाँको पत्रकारिताको डायनामिक्स राजधानीको भन्दा बिल्कुल फरक छ। यो क्रममा तालिममा सहभागी साथीहरुबाट मैले धेरै-थोरै जानकारी त पाएको छु, तर अझै थप जान्न मन छ। 

मैले सीमित व्यक्तिहरुसँग मात्र बुझेको हुनाले मेरो ज्ञान अधुरो पनि हुनसक्छ। जिल्लाका अधिकांश अनलाइनहरुलाई आर्थिक स्रोतको अभाव छैन। कागजमा छापिने पत्रिकाको खर्चभन्दा अनलाइनको खर्च कम छ। निश्चित रकम तिरेपछि डोमेन दर्तादेखि होस्टिङ अनि सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता गर्नेसम्मको सुविधा छ। स्थानीय तह र जिल्लाका अन्य विज्ञापन प्रशस्त हुने भएकाले आर्थिक रुपमा उनीहरु सुविधाजनक अवस्थामा रहे पनि सिपको अभावमा कन्टेन्टमा भने ठूलो समस्या देखेँ।

अनलाइन पत्रकारिता अलि प्राविधिक विषय पनि भएकाले त्यसको ज्ञानको अभावले पनि उहाँहरुलाई गाह्रो बनाउने रहेछ। अनलाइनमा कस्ता कन्टेन्ट कसरी राख्ने, कसरी त्यसलाई अडियन्ससम्म पुर्याउने, सामाजिक सञ्जालको उपयोग कसरी गर्ने जस्ता प्राविधिक विषयले उहाँहरुलाई सताउने रहेछ। 

काठमाडौँका अनलाइनहरुको कपिपेस्ट वा चोरचार नगरी आफ्नै गाउँठाउँका मौलिक कन्टेन्टहरु कसरी बनाउन सकिन्छ भन्ने सामान्य ज्ञानमात्र दिन सके पनि जिल्लाका अनलाइनहरुले धेरै राम्रो गर्ने सम्भावना देखिन्छ। जिल्लाका अनलाइनको यस्तो क्षमता वृद्धि भए फाइदा सबैलाई हुने हो। उनीहरु सिक्न पनि आतुर छन्। तर सिकाउन खर्च गर्नेहरु छैनन्।  

सकारात्मक भएर हेर्दा 

अनलाइन पत्रकारिताको नकारात्मकता धेरैले देखाउँछन्। मेरो कुरामा पनि अलि नकारात्मकता नै बढी भयो होला।  तर यो सुधारको अपेक्षासहित गरिएको आलोचना हो। यो विधा त्यति धेरै गाली नै गर्नुपर्ने भने होइन। यसले सकारात्मक प्रारम्भ गरेको पनि छ नेपाली पत्रकारितामा। 

अनलाइन पत्रकारिताकै कारण ठूला लगानीका, स्वार्थ बोकेका मिडिया टाइकुनले मात्र पत्रकारिता गर्ने सिन्डिकेट अवस्थाको अन्त्य गरेको छ। कम लगानी र दक्ष जनशक्ति भएका मिडिया पनि बिग हाउसभन्दा बढी प्रभावकारी बन्न सम्भव छ भन्ने उदाहरण देखिसकिएको छ। अनलाइन पत्रकारिता नभएको भए यो सम्भव थियो त? एनसेल र कोकाकोलाको बदमासी सार्वजनिक हुनसक्थ्यो त?

अनलाइन पत्रकारिताकै कारण स्थानीय चासोका विषय लुक्दैनन्, सार्वजनिक हुन्छन्। स्थानीय घटनाक्रम र विषय पनि राष्ट्रिय विषय बनेका छन्। जस्तो विद्यालयमा शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेको विषय पनि राष्ट्रिय विषय बने। यो अनलाइन पत्रकारिताकै प्रभाव हो।

अनलाइन पत्रकारितामा अडियन्सले मिडियाको ब्रान्ड हेरेर हैन, कन्टेन्ट हेरेर निर्णय गर्न थालेका छन्। यो संख्या अहिले कम होला तर बढ्दो क्रममा छ। यसले जो लामो योजना बनाएर यस क्षेत्रमा आएका छन् उनीहरुलाई कन्टेन्ट सुधार्न दबाब बढेको छ। 

अहिले ब्रान्डभन्दा कन्टेन्टको गुणस्तर हावी हुनुको कारण अनलाइन नै हो। पत्रकारितामा विविधता आएको छ। नयाँ-नयाँ प्रयोग भएका छन्। रोजगारीको अवसर बढाएको छ। प्रतिस्पर्धा बढेको छ कन्टेन्टमा। केहीले आफूलाई फरक कन्टेन्टका साथ मार्केटमा ल्याइरहेका पनि छन्। त्यसको प्रभाव राम्रै देखिन्छ पनि। 

तैपनि, अहिलेको मिथ्या सूचनाको युगमा अडियन्सको विश्वास जित्नु सबैभन्दा ठूलो विषय हो। यो नै अहिले प्रमुख चुनौती हो अनलाइन मिडियाको।

अनलाइन मिडियाले अडियन्सको विश्वास जित्न सक्नुपर्छ। अडियन्सले जति विश्वास गरे उसको प्रभाव त्यही रुपमा बढ्ने हो। प्रकाशक को अनि सम्पादक को भन्नेभन्दा पनि कस्ता कन्टेन्ट आए भन्नेमा पाठकको बढी चासो हुन्छ अहिले भन्ने बुझ्नुपर्यो।

अडियन्सले पनि आर्थिक रुपमा केही भरथेग गरेर मिडियालाई अर्थमा पूर्ण कर्पोरेटमा निर्भर हुनुपर्ने बाध्यताबाट खुकुलो बनाइदिन सक्नुपर्छ। यति गर्न सके अनलाइन मिडियाको कन्टेन्टमा पक्कै सुधार आउन सक्छ। 

(१८ वर्षदेखि सञ्चालित माइसंसार ब्लगका संस्थापक तथा सामाजिक सञ्जालमा भाइरल भएका विषयवस्तु र मिडियामा आएका समाचारहरुको तथ्य जाँच गर्ने नेपालफ्याक्टचेकका सम्पादक श्रेष्ठले परेवाडटकम, नागरिकन्युजडटकम, अन्नपूर्णपोस्ट डटकम  र पहिलोपोस्ट डटकमको समाचार कक्षको नेतृत्व गरिसकेका छन्। उनै श्रेष्ठसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला

२० बैशाख, २०७९, १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।