चौथो अंग : सामाजिक सञ्जालमा मिडिया सामग्रीबारे प्रतिक्रिया दिनेहरू अराजक हैनन्, असल पाठक हुन्

चौथो अंग : सामाजिक सञ्जालमा मिडिया सामग्रीबारे प्रतिक्रिया दिनेहरू अराजक हैनन्, असल पाठक हुन्
तस्बिर : कृष्पा श्रेष्ठ

केहि दिनअघि नेपाली मिडियामा एउटा समाचार आयो खेलको। बार्सिलोना क्लबको गेम भइरहेको थियो तर, शीर्षकमा रियल म्याड्रिडबारे आयो। यो त सिल्ली मिस्टेक हैन। बल्न्डरै हो नि! यसबारे सचेत गराउँदा पनि सम्बन्धित मिडियाबाट सकारात्मक प्रतिक्रिया आएन। 

साना-साना गल्तीका त कुरै छोडिदिऊँ, नेपाली मिडियामा लाजै लाग्ने गल्तीहरू हुन्छन्। नेपाली मिडियाका समाचारहरू हेर्ने हो भने पेज अनि वेबपेजको तल यस्तो हुनुपर्नेमा यस्तो भएकोमा सच्चाइएको छ भन्ने स्थायी रूपमै राख्नेपर्ने अवस्था देखिन्छ।

पछिल्लो समय फ्याक्ट चेकको क्रम बढेको छ मिडिया कन्टेन्टको। त्यसमा एकतह व्यावसायिक छन् उमेश श्रेष्ठ, दीपक अधिकारी लगायतका। अर्कोथरीका फ्याक्टचेकर चाहिँ सामाजिक सञ्जालका प्रयोगकर्ता जो मिडियाका सामाग्रीमा रुचि राख्छन् उनीहरू हुन्। 

यी दुवै थरीका फ्याक्टचेकरहरूले नेपालका मिडिया हाउसका लागि नि:शुल्क गल्ती औँल्याउने काम गरिरहेका छन्। तर, सम्बन्धित मिडियाले तलबै दिएर गराउनुपर्ने काम नि:शुल्क गरिदिँदा धन्यवाद भन्नुको साटो दुश्मन जस्तै ब्यवहार गर्छन् केही मिडिया अनि मिडियाकर्मीले। यो देख्दा चाहिँ उदेक लाग्छ मलाई।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले दैनिक रूपमा मिडियाको हेन्डललाई नै मेन्सन गरेर यो गल्ती भएछ भनिरहेका हुन्छन्। तर, मतलबै गरेको देखिँदैन। यसले नेपाली मिडियामा काम गर्नेहरू अझै पनि 'हामीले जे लेख्छौं त्यो नै अन्तिम सत्य हुन्छ' भन्ने भ्रममा देखिन्छन्। भ्रममा बस्नु राम्रो हैन।

सूचनाको स्रोत केवल पत्रकारमा मात्रै सीमित हुने अवस्था हैन अहिले। अहिले त मिडियाको जत्तिकै पहुँच भइसक्यो पाठकहरूको पनि स्रोतसम्म। कुनै मिडियाले लेखेको विषयमा शंका लाग्यो भने पाठक/ दर्शक/ स्रोताले आफैँ सहजै स्रोतसम्म पुगेर त्यसको परीक्षण गर्न सक्छन्। यस्तो गर्दा जब गल्ती देखिन्छ अनि यस्तो गल्ती रहेछ भनिदिन्छन्। त्यसमा त धन्यवाद पो दिने हो ! रिसाउने हो र?

तर, हाम्रामा त रिसाउने मात्रै हैन म्युट गर्ने अनी ब्लक नै हानिदिने सम्पादकहरू पनि छन्। 

मिडियाले गल्ती औँल्याइदिनेहरूलाई शुभचिन्तक या असल पाठक र दर्शकको रूपमा हेर्नै सकेका छैनन्। यो नै अचम्म हो। उनीहरूको व्यवहार हेर्दा त गल्ती औँल्याइदिनेहरू सोसल मिडियाका 'अराजक झुण्ड’ मात्र हुन्। यो भन्दा ठूलो मजाक अरु के नै होला र! 

मिडियाले पाठकलाई बेबकुफ सम्झिन्छ
सन् २००९ देखि हो मैले पत्रकारिता सुरु गरेको। रत्नराज्य क्याम्पसमा पत्रकारिता नै पढेको हो मैले। मेरो पत्रकारिताको प्रारम्भ भने अंग्रेजी माध्यमबाट भयो। 'द राइजिङ नेपाल', 'रिपब्लिका' र 'दि हिमालयन टाइम्स'मा खेल पत्रकारको रूपमा काम गँरे।

खेल पत्रकारितामा पनि विशेष मलाई बास्केटबलमा रुचि हो। क्याम्पसहरूतिर खेलेको ज्ञानको भरमा बास्केटबल लेख्न थालेको। यसको टेक्निकल ज्ञान अलि कमजोर लाग्यो। अनि मैले कोचको तालिम लिए। कोचको तालिम लिएपछि यो खेलको धेरै टेक्निकल पक्षबारे जानकार भएँ। लेख्दा पनि मजा आउन थाल्यो। फिल्डमा जाँदा खेलाडी अनि प्रशिक्षकहरूले गजबको रेस्पोन्स दिन थाले।

पारिवारिक अनि आफ्नै अध्ययनका लागि म भारतको ब्याङलोर गएँ। अहिले त्यतै केही अन्तराष्ट्रिय कम्पनीहरूका लागि भाषा स्थानीयकरणको गर्ने काम गर्छु।

नेपाली भाषामा मेरो त्यति राम्रो दख्खल हैन। भारत गएर भाषा स्थानीयकरण गर्ने काम पाएँ। मेरो जिम्मेवारी नेपाली भाषाको आयो। आफ्नै नेपाली भाषा झुर छ अब अंग्रेजी भाषालाई कसरी नेपालीकरण गर्नु! भाषा त सुधार्नैपर्यो।

भाषा सुधार्ने सहज माध्यम भनेको मिडिया नै हो। अनि म मज्जाले नेपाली भाषाका समाचारहरू पढ्न थालेँ। भाषाको शुद्धाशुद्धीमा बढि ध्यान दिन्थेँ म। किनकी मैले सिक्नुपर्ने प्रमुख क्षेत्र त्यो थियो। अनि टिपिकल नेपाली शब्दहरूमा बढो ध्यान दिन्थेँ।

नेपाली भाषा सुधार्न जब मिडियाका कन्टेन्टहरू पढ्न थाले त्रुटिहरू थाहा हुन थाल्यो। ए यस्तो गल्ती पो भएछ, मैले त पत्ता लगाएँ। तर, अर्कोले यही सत्य हो भन्नसक्छ भनेर सुधारुन् भनेर सामाजिक सञ्जालमा मिडिया हाउसको ह्यान्डलमा मेन्सन गर्न थालेँ।

मिडिया हाउसको ह्यान्डलमा मेन्सन गर्दा रेस्पोन्स ढिला हुने। बरु सिधै सम्पादक वा सम्बन्धित रिपोर्टरलाई भन्दा छिटो होला भनेर सम्पादक अनि सम्बन्धित रिपोर्टरलाई मेन्सन गर्न थालेँ।

पत्रकारिता गर्ने क्रममा धेरै सम्पादक अनि पत्रकारहरूसँग परिचय भइसकेको थियो मेरो। अहिलेका अधिकांश सम्पादकहरूसँग दोहोरो चिनजानै छ। कतिपय सम्पादकसँग त सँगै काम पनि गरेको छु। आफ्नो भाषा पनि सुधारिने अनि समाचारमा भएको गल्ती पनि सच्चिने भनेरै मैले मिडियाका कन्टेन्टमा देखिएका गल्तीहरू औँल्याउन थालेको हुँ।

पहिला त ह्रश्व-दीर्घ अनि अक्षरबारे पनि मेन्सन गर्थेँ। किनकी त्यसले भाषामा पार्ने असर थाहा भयो नि! 'दिशा' र 'दिसा'को अर्थ फरक छ। अनि 'फुल' र 'फूल'को अर्थ फरक छ भन्ने ज्ञान भयो नि त मलाई। यस्तो पनि गर्नहुन्छ मिडियाले भन्ने लाग्थ्यो। मेन्सन ठोकिहाल्थेँ। तर, अधिकांशले हाम्रो गल्ती देखाएको हो अनिलले भन्ने दृष्टिकोणले भन्दा 'सञ्जालमा अटेन्सन खान साना-साना कुरामा नि ल्याङ गर्छ अनिल' भन्ने दृष्टिले पो हेर्न थाले।

अब 'दिशा' लेख्नुपर्नेमा 'दिसा' लेख्दा जो नेपाली भाषाबारे जानकार छ उसले बुझ्ने के? लेख्न खोजेको के हो भने बुझ्नेले के बुझिरहेको छ? यो सामान्य गल्ती हो भनेर छाड्ने कि सच्याउने?

गल्ती औँल्याएपछि 'ए यस्तो पो भएछ है' भनेर सच्याएर गल्ती या त्रुटि देखाइदिनेलाई धन्यवाद है भने भइहाल्यो त। पूरै क्षमतामाथि नै प्रश्न उठायो, सामाजिक सञ्जालमा यति पनि जान्ने रहेनछन् भनेर एक्सपोज गराएर हिरो बन्ने प्रयास गर्यो भनेर किन मुर्मुरिने हो? 

मलाई नेपाली पत्रकारिताको माया लाग्छ। भाषाको महत्व अनि यसको ज्ञान भयो भने कतिसम्म अवसर पाइने रहेछ भन्ने जाने मैले भारत गएर।

मैले पत्रकारिता गरेको अनि पढेको अंग्रेजी हो नि! तर, भारतमा मलाई अंग्रेजीमा काम गर्ने अफर त आएन। नेपालीमा काम गर्ने अफर आयो। यसको कारण म नेपाली भएर हो। अहो भाषाको महत्व कति रहेछ अनि अहिले इन्टरनेटको बढ्दो प्रभावसँगै सबै भाषाको महत्व कसरी बढिरहेको छ भन्ने ज्ञान भयो नि मलाई। त्यसैले सुध्रियोस् भनेर त प्रतिक्रिया दिने हो!

एउटा सामान्य वाक्य सुधारेको न्यूनतम एक हजार भारतीय रूपैँया पाउँछु मैले। सामाजिक सञ्जालमा मैले त्रुटि औँल्याइदिएको वाक्यहरू जम्मा पार्ने हो भने सानो-सानो किताबै बन्ने भइसक्यो होला। त्यो त मैले सित्तैमा गरेको हो नि! के यो नेपाली भाषाको मायाले हैन? सञ्जालमा अटेन्सनका लागि गर्ने काम मिडियाको त्रुटि र गल्ती देखाउने मात्र छ र! के-के फन्डा छ के-के अटेन्सन लिने।

अर्को तथ्य जाँच हो। मिडियाको प्रभाव जनस्तरमा बलियो छ। अहिले भ्रम फैलाउने काम मिडियाले गर्यो भन्ने आरोप व्यापक छ। अब सत्यतथ्य जानकारी दिनुपर्ने मिडिया नै भ्रम फैलाउन लाग्यो भने के होला? त्यसैलाई सुधार्न हो सामाजिक सञ्जालमा मिडियाबारे प्रतिक्रिया दिने अनि गल्ती देखाउने।

तर, पछिल्लो समय मैले सिल्ली मिस्टेक औँल्याउन छाडिसकेँ। ब्ल्न्डर मात्र देखाइदिन्छु।

जस्तो सोमबार अधिकांश मिडियाले क्रिकेटर सन्दीप लामिछानेको विरुद्धको अभियोग पत्रबारे सामाचार लेख्दै बयान कि बयान भनेर लेखे। तर, त्यो बयान हैन, बयानको संक्षेप हो नि! * अब  *बयानको सारसंक्षेपलाई पूरै बयान भनेर छाप्न पाइन्छ त? यस्तोमा पनि चुप बस्नुपर्ने हो? मेरो स्वभावले दिँदैन। जो रिसाउने हुन् रिसाउन्। मैले भएको गल्ती औँल्याइदिए। तर, म नम्बर वान, म नम्बर टु भन्ने मिडियाले पनि सच्याएको देखिन। कतिसम्मको लापरबाही हो यो, कतिसम्म हेपेको पाठकलाई? 

यसरी हेपेर पाठकलाई बेवकुफै हो भन्ने बनाएपछि 'रानीपोखरीमा डुबेर मर डाम्ना हो' भनेर लेख्न मन लागिहाल्छ। लेख्छु पनि। पटक-पटक गल्ती औँल्याइदिँदा पनि हेपेर नसच्याएपछि पाठकलाई पनि झोक चल्छ नि!

जब पाठकले सामाजिक सञ्जालबाट बारम्बार जायज सुझाव अनि गल्ती औँल्याउँदा पनि मिडिया र सम्बन्धित ब्यक्तिबाट कुनै प्रतिक्रिया आउँदैन नि अनि इगो हुन्छ। अनि प्रतिक्रिया व्यक्तिगत तहमा जानसक्छ। कुनै पाठक व्यक्तिगत तहमा नजाओस् भन्ने चाहने हो भने जायज सुझाव र औँल्याएको गल्तीमा जवाफदेही हुन सक्नुपर्छ।

कुनै मिडिया या सम्पादक या पत्रकारले राम्रो गर्यो भनेर सञ्जालमा लेख्दा लाइक गर्नेले कमजोरी देखाउँदा किन प्रतिक्रियाहीन बस्ने, किन म्युट र ब्लक हान्ने? कमजोरी देखाउँदा पनि लाइक गरे हुन्न?

फिल्डमै नजाने फोनको भरमा रिपोर्टिङ
नेपाली मिडियामा देखिएको सबैभन्दा ठूलो समस्या क्रस भेरिफिकेशन हो। स्रोतलाई बढी नै विश्वास गर्छन् पत्रकारहरूले। डकुमेन्टलाई भन्दा पनि ठूलो विश्वास देखिन्छ व्यक्तिमा। व्यक्तिले स्वार्थ बोल्नसक्छ। तर, डकुमेन्टले त बोल्दैन नि!

एक उदाहरण नै दिन्छु यसको म। केही समयअघि एउटा मिडियाले चीनले नेपाली सिमाना मिचेको समाचार प्रकाशित गर्यो। जब यस अगाडि नै सो विषय गलत रहेछ है भनेर त्यही मिडियाको अर्को माध्यमले २ वर्षअगाडि नै माफी मागिसकेको थियो। दुई वर्षपछि एकै प्रकाशन गृहको भिज्योल मिडियाले माफी मागिसकेको विषय छापामा कभर स्टोरी बनेर छापियो। अब यसलाई के भन्ने? यो ब्ल्न्डर भएन र? यसको असर कहाँ-कहाँ पर्यो त्यो धेरैलाई जानकारी नै छ।

यो भेरिफिकेशनको कमजोरी हैन? सीमा मिचिएको कुरा कृषि मन्त्रालयले भन्ने हो कि परराष्ट्र मन्त्रालयले? त्यसको भेरिफाई गर्ने कृषि विभागले कि नापी विभागले?

ओहो यो त परराष्ट्रसँग जोडिएको विषय हो, यसबारे त नापीसँग दस्तावेज हुनसक्छ भनेर सम्बन्धित पत्रकारले आएको सूचना भेरीफाई गर्ने प्रयास गरेको भए सहजै पुष्टि भइहाल्थ्यो। तर, एउटा स्रोतले दियो गजब समाचार भनेर फ्याट्टै छापियो। बबाल भयो।

अर्को पनि उदाहरण ल!
केहि दिनअघि सरकारी अधिकारीको कोटको आधारमा ‘तापक्रम घटेकाले जाडो बढ्यो’ भन्ने समाचार आएको थियो। क्या हाँसो लाग्यो। तापक्रम बढ्दा पनि जाडो भएको भए पो समाचार त! अब जाडो हुने त तापक्रम घटेर त हो।

किन तापक्रम घट्यो? अहिले जति तापक्रम घट्यो अन्य वर्षहरूमा यति नै घटेको थियो वा थपघट थियो? थपघट थियो भने अहिले त्यही अनुसार नहुनुका कारण के हुन्? यसमा खोज्ने यो हो कि 'तापक्रम घटेकाले चिसो बढ्यो' भन्ने सरकारी कोड लेखेर समाचार लेख्ने?

अहिले फिल्ड रिपोर्टिङ नै देख्दिन म। पूरै फोन रिपोर्टिङमा निर्भर भइसके पत्रकार। यसो एक जनालाई फोन गरेर 'बाहिर पानी परेको छ कि छैन' भनेर सोध्यो। 'छ-छ ठूलो परेको छ तर, नाम नलेख्नु है' भन्यो भने 'स्रोतका अनुसार ठुलो पानी परेको छ' भनेर लेखिदिने। 'पानी परेको छैन' भन्यो भने 'स्रोतका अनुसार पानी परेको छैन' लेखिदिने। यसो बाहिर निस्किएर हेरे त पानी परेको छ या छैन थाहा भइहाल्छ नि हो। यस्तै छ हाम्रो पत्रकारको पारा।

'घटना र विचार'का सम्पादक देवप्रकाश त्रिपाठी र कांग्रेस नेता अमरेशकुमार सिंहले 'जनआस्था'का सम्पादक किशोर श्रेष्ठलाई बेवकुफ बनाएको प्रसंग कितावमा लेखेका रहेछन् त्रिपाठीले। श्रेष्ठले फेसबुकमा राखेका थिए चित्त दुखाउँदै। 

प्रचण्ड प्रधानमन्त्री भएको बेलामा उनी लप्सीफेदी जाँदा सिंह पनि गएको भन्ने सूचना पाएका रहेछन् श्रेष्ठले। उनले भेरिफाई गर्न सिंहलाई फोन गरे, उठेन। त्रिपाठीलाई फोन गरेछन्। उनले 'हो' भनिदिएको आधारमा सिंह पनि प्रधानमन्त्री प्रचण्डसँगै लप्सीफेदीमा छन् भनेर समाचार लेखेछन्। एक साथीलाई झुक्याएको भन्दै श्रेष्ठले चित्त दुखाएको देखे।

यसमा त्रिपाठीको के दोष? एकल स्रोत जो न प्रचण्डको सचिवालका हुन् न सिंहको सहयोगी हुन् उनको भनाइ पत्याएर लेख्ने नै गल्ती हैन? सिंह स्वयम् वा प्रचण्डको सचिवालय वा उनी गएको रिसोर्टका व्यवस्थापक वा कामदार वा प्रचण्डसँगै गएका सुरक्षाकर्मी कसैबाट भेरिफाइ गराएको भए किताबमै बिल्ला हान्ने गरी त प्रसंग आउदैनथ्यो नि! भेरिफाई हुन नसके नलेखे के जान्थ्यो? अमरेश र प्रधानमन्त्री एकै रिसोर्टमा हुनु राष्ट्रिय मुद्दाको विषय हो र भन्या?

पत्रकार ‘ग्रे लाइन’मा बस्ने हो
पत्रकारिता पढ्दा नेपालको पत्रकारिताको इतिहास पढ्नैपर्यो। त्यसमा गोरखापत्रकालदेखि २००७ सालसम्मको पत्रकारिताको अवस्था, पञ्चतायतकालको अवस्था मज्जाले पढियो। बहुदलकालको पत्रकारिता अनि गणतन्त्रकालको पत्रकारिताको त आफैँले अनुभव गरियो।

पञ्चायतकालमा यो पत्रिका नेपाली कांग्रेसको, त्यो वामपन्थीको अनि त्यो चाहिँ दरवारियाको भनेरै पढियो नि! वामपन्थी र कांग्रेस निकट पत्रकारले निकाल्ने पत्रिकाको लक्ष्य प्रजातन्त्र ल्याउने अनि दरवारियाको चाहिँ पञ्चायत ठिक भनेर दरवारको माहोल बनाउने लक्ष्य।

बहुदलकालमा पनि पार्टीगत मिडिया हराएनन्। एमालेको दृष्टि, कांग्रेसको देशान्तर। दरवारको त्यो भन्ने नै देखियो। २०४६ पछि व्यावसायिक मिडिया भनेर पनि आए। तर, लाइन त देखिन्थ्यो। कान्तिपुरले प्रजातन्त्रवादी भन्ने समूहलाई बोकेकै हो क्यार। एमालेहरूले हाम्रो पत्रिका भएन भनेर 'श्री सगरमाथा' भन्ने पत्रिका निकालेर चलाउन नसकेकै हो क्यार।

पछि अन्य पत्रिकाहरू पनि आए। ती पूरै पहिलाका जस्ता छपक्कै नभए पनि हल्का ढल्केकै थिए। किनकि व्यावसायिक भनिएका दैनिक हुन् या साप्ताहिक या म्यागेजिन तीनको नेतृत्व गर्ने जनशक्ति त त्यही पञ्चायतकालीन पत्रकारिताकै उत्पादक त थिए। लाइन के छाड्थे र।

लोकतन्त्रपछि अनलाइन मिडिया ह्वात्तै अगाडि बढेको देखिन्छ। तीन हजारभन्दा बढि अनलाइन भएसके। तर, यो रोग अहिले पनि उस्तै देखिन्छ। कुन अनलाइन कुन पार्टी निकटको भन्ने प्रष्टै देखिन्छ कन्टेन्टबाटै। कांग्रेसको लाइन बुझ्न कुन अनलाइन पढ्ने अनि एमाले र माओवादीको लाइन बुझ्न कुन अनलाइन पढ्ने सामान्य पाठकले समेत चाल पाइसके।

अब सामान्य पाठकले पनि बदमासी चाल पाउनेगरी पत्रकारिता गर्ने उनीहरू चाहिँ सही बाटोमा अनि फलानो अनलाइन फलानो निकट रैछ भन्ने पाठक चाहिँ फटाहा? यस्तो नि हुन्छ !    

अब पत्रकारको कुरा पनि है त!

एक जना पत्रकार छन्। नाम लेख्दिन। उनी थाहाखबरमा काम गर्दा सामाजिक सञ्जालमा माओवादीको पक्षमा आफ्ना धारणा लेख्थे। ती पत्रकारले थाहाखबर छाडेर इकान्तिपुरमा गए। त्यहाँ गएको केही समयपछि त उनका सामाजिक सञ्जालमा आउने विचारहरू माओवादी विरुद्ध पो छन्। समाचार हैन है! आफ्नै विचार। 

मिडिया हाउस बदलिएपिच्छे पत्रकारको विचार पनि बदलिने भन्ने पनि हुन्छ र? जता जसको वर्चश्व छ उतैको देखिनु त चाकडी भएन र भन्या? अनी उनैलाई यो त भएन नि भन्ने पाठक चाहिँ दुश्मन।

मिडियाको कुरै छाडौँ, पत्रकार सामाजिक सञ्जालमा समेत तटस्थ हुनसक्नुपर्छ। न कालोतिर न सेतोतिर। उ त बीचमा बस्नसक्नुपर्योँ नि! बीचमा बसेर कालो अनि सेतो दुवैको निगरानी गरे पो सत्यतथ्य कुरा आउँछ त! अब कालो हावी भए कालै हुने अनि सेतो हावी भए सेतै हुने भएपछि उ कसरी पत्रकार?

ग्रे लाइनमा बसे कसले प्रश्न गर्छ ? पाठकले त उसैलाई बढि विश्वास गर्छन्। अब विचारमै पिपलपाते हुने अनि सामाजिक सञ्जालमा कुनै उम्मेदवार विशेष वा पार्टी विशेषलाई सहयोग पुग्नेगरी लेखेपछि पाठकले 'ए तँ त यस्तो रैछस्' भनिहाल्छन् नि!

पहिलाको जस्तो पाठक पत्रको जमाना हैन क्यार, आफ्नो प्रशंसा गरेको मात्र प्रतिक्रिया छाप्न। अहिले त ठाउँको ठाउँ प्रतिक्रिया आउँछ। अझ निहुँ खोजे प्रमाणसहित। यस्तोमा गल्ती स्वीकार गर्ने हो। पाठकसँग निहुँ खोज्ने नै हैन।

भएको गल्ती स्वीकार गर्यो भने कसैले ल्याङ नै गर्दैनन्। 'हैन' भनेर निहुँ खोज्न आएपछि त 'अनि यो के त' भनेर पाठकले देखाइहाल्छन् नि प्रमाण। त्यसमा पनि पहिलाको जस्तो कुनै एक पत्रिका मात्र पढ्न पाउने, सबै पत्रिका पढ्न कि पत्रिका पसलमा उभिनुपर्ने वा लाइब्रेरी जानुपर्ने जमाना हैन क्यार। दिनको एक घन्टा दिने हो भने नेपालबाट प्रकाशित हुने सबै मिडिया सरर हेर्न भ्याउने जमाना छ।

बरु पत्रकारहरूले सबै पढ्दैनन् होला। तर, पाठकले त पढ्छन्। पढ्ने पाठकले गल्ती पनि पत्ता लगाउछन् अनि भन्छन् पनि । 'ए हो! यस्तो भएछ, ल सच्याउँछु' भन्यो भने कसले निहुँ खोज्छ र। पत्रकार पनि मानिसै हो। काम गर्दा गल्ती हुनसक्छ भन्ने पाठकले पनि बुझेका छन्!

त्यसैले मिडिया अनी मिडियाकर्मीले विशेष गरी सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरू अराजक हैनन्, असल पाठक हुन् भनेर बुझ्नुपर्यो। जुन दिन यो बुझ्न सक्छन् नेपाली मिडियामा त्यही दिनबाट सुधार शुरू हुन्छ।

खत्तमै हो त नेपाली मिडिया र पत्रकार ?
अब मसँगको कुराकानीको विषय नै सामाजिक सञ्जालका प्रयोगकर्ताहरू नेपाली मिडियाप्रति किन यति धेरै नकारात्मक भन्ने भएकाले नकारात्मक हैनन्, शुभचिन्तक हुन् भन्ने आफ्ना धारणा राख्दा नकारात्मक पाटो धेरै आएको हुनसक्छ।

तर, नेपाली मिडिया खत्तमै त हैन तर, खत्तमै हुने बाटोमा हिडेको भने हो। त्यही खत्तम नहुन् भनेर नै पाठकहरूले प्रतिक्रिया दिने, सजग गराउने अनि सुझाव दिएको हो। खत्तमै भइसकेको भए कसले समय खेर फाल्छ सुझाव दिएर। पत्रकारको चाहिँ कामैकाम पाठक चाहिँ सबै बेरोजगार हुन् र ?

२०४६ सालपछि सुरू भएको व्यावसायिक पत्रकारितामा समस्याहरू भए पनि सकारात्मक पाटाहरू पनि टन्न थिए। खुल्ला प्रतिष्पर्धा सुरू भयो। सूचनामा मिडिया हाउस र व्यक्ति विशेष एकाधिकार हट्यो। कोरोनाकालपछि प्रिन्ट मिडिया थला परेकै हुन्। विस्तारै ब्यूझँदै छन्।

अनलाइन मिडियाहरू बढिरहेका छन्। अनलाइनको संख्या बढेसँगै सामाग्रीमा विविधता आएको छ। प्रतिभावान पत्रकारहरू जन्मिरहेका छन्। पाठकहरूलाई छिटो सामाग्री दिने प्रतिष्पर्धा बढेको छ। कुनै न कुनै रूपमा पाठक लाभान्वित भइरहेका छन्।

उस्तै खालका सामाग्रीको बाढी नभएको हैन। तै पनि केहीले फरक प्रकारको पत्रकारिताको अभ्यास गरिरहेका छन्। जे लेख्यो पाठकबाट तत्काल प्रतिक्रिया आउने भएकाले पत्रकारहरूले पढ्न थालेका छन्। लेख्दा सजग हुन थालेका छन्। विधागत पत्रकारिता बढिरहेको छ।

यो सकारात्मक पक्ष हो। तर, थप सुधार र व्यावसायिक बन्न भने बाँकी छ। मिडियामा जनताको आवाज हावी होस् भन्यो नेताको आवाज हावी भइराखेको छ। त्यसैले हामी पाठकले सामाजिक सञ्जालबाटै भए पनि सचेत गराइरहेका छौँ। नकारात्मक पक्ष हटाउँदै जाने हो भने नेपाली मिडियाको भविष्य राम्रो छ।

मेरो आग्रह यत्ति हो कि सामाजिक सञ्जालमा मिडियाको आलोचना गर्नेहरू सबैलाई एकै टोकरीमा राखेर हेर्नु भएन। यहाँ पढ्दै जाँदा देखिएको इरर भनिदिउँ न भन्ने असल मनका पनि छन्। कांग्रेसको नकारात्मक आए गाली गर्ने र प्रशंसा गर्ने पार्टीगत प्रभावमा प्रतिक्रिया दिनेहरू पनि छन्। हैन यसलाई चाहिँ ठिक पार्नैपर्छ भनेर मिडिया हाउस वा सम्पादक वा पत्रकार केन्द्रित भएर किचकिच गरिरहने पनि छन्।

तर, कसले कस्तो प्रतिक्रिया दिइरहेको छ भन्ने २-४ पटक प्रतिक्रिया आएपछि थाहा भइहाल्छ नि! तर, अधिकांश मिडिया हाउस हुन् या सम्पादक हुन् या पत्रकार हुन् सामाजिक सञ्जालमा समाचारबारे प्रतिक्रिया दिनेहरू कुन्ठितै मात्र हुन् भन्ने जसरी व्यवहार गर्छन्। अनि पाठक रिसाइहाल्छन् नि।

अर्को वाक स्वतन्त्रताको पक्षमा उभिनुपर्ने पेशामा रहेका सम्पादक अनि पत्रकारले प्रतिक्रिया दिएकै आधारमा कसैलाई म्यूट अनि कसैलाई ब्लकै गरेका छन्। यो मिल्यो त? मिलेन नि! वाक स्वतन्त्रता भनेको पत्रकारका लागि मात्रै हो भनेर संविधानमा लेखिएको छैन त! यदि आफ्नो अधिकारको संरक्षण गर्ने हो भने अरुको अधिकारको पनि सम्मान गरौँ।

पाठकबाट सामाजिक सञ्जालमा आउने प्रतिक्रियालाई सहज रूपमा लिउँ। प्रशंसा मात्र लाइक र शेयर गर्ने हैन आलोचना पनि लाइक र शेयर गर्ने गरौँ। कुनै सामाग्रीबारे नकारात्मक प्रतिक्रिया आयो भने पनि त्यसलाई व्यक्तिगत रूपमा नलिइ मेरै भलाइका लागि सुझाव दिएको हो भनेर बुझौँ। यति हुन सके सञ्जालमा पाठक र पत्रकारबीचको सम्बन्ध सुमधुर भइहाल्छ।

र अन्त्यमा सोसल मिडियामा जसरी नेपाली मिडियामाथि प्रश्न आउँछ त्यसको कारण मिडियाले आफ्नो प्रश्न सोध्ने धर्म निर्वाहमा कमजोरी गरेर पनि हो। राज्यसत्तालाई प्रश्न नसोध्ने मिडिया बढेकाले नै पाठकले मिडिया र मिडियाकर्मीलाई प्रश्न गर्न थालेका हुन्। मिडियाले जति छिटो आफूलाई परिर्वतन गरेर प्रश्न गर्नुपर्नेको प्रशंसा नगरी प्रश्न गर्छ पाठकले त्यति प्रशंसा गर्नेछन्।

( सामाजिक सञ्रजालमा अनिलचेका रूपमा परिचित अनिल घिमिरे राइजिङ नेपाल, दि हिमालयन टाइम्स, रिपब्लिकामा काम गरेका पत्रकार हुन्। उनी अहिले अन्तर्राष्ट्रिय संस्थाहरूका लागि भाषा स्थानीयकरणको काम गर्छन्। उनीसँग उकेराको मिडियासम्बन्धी कोलम चौथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

* सन्दीप लामिछानेको समाचार सम्बन्धी प्रसङ्गमा जिल्ला सरकारी वकिल कार्यालय नै छैन भन्ने लेखिएको तर सो नामको कार्यालय रहेकाले माफी सहित सच्याइएको छ।- प्रधान सम्पादक 

चौथो अंगका पुराना श्रृंखला

१५ कात्तिक, २०७९, २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।