उकेरा कोलम

चौथो अंग : हाम्रा मिडिया विज्ञापन आउन्जेल बोक्ने, आउन छोडेपछि ठोक्ने


२०७२ सालको विनासकारी भूकम्पपछि सरकारले भूकम्प प्रभावित जिल्लाका केही व्यक्तिलाई सहुलियतमा ट्याक्सी दिने भयो।

सहुलियत ट्याक्सी वितरणको विज्ञापनका लागि यातायात कार्यालयले २४ लाख रुपैयाँ छुट्टायो र एउटा पत्रिकामा छापियो पनि। तर त्यो पत्रिकाले विज्ञापन छापेवापत चार लाख रुपैयाँ मात्रै पायो। बाँकी २० लाख कता गयो?

विज्ञापन एजेन्सीले प्रत्येक विज्ञापनको १५ प्रतिशत नाफा लिने भन्ने हुन्छ। यहाँ त आकाश-जमिनको फरक पर्‍यो। त्यो २० लाख विज्ञापन एजेन्सीले मात्रै लियो कि विज्ञापन दाताले समेत? 

यो त एउटा उदाहरण मात्रै हो। मिडियाहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा मिडिया आफैं घाटामा गइरहेका छन्।  मिडियाले विज्ञापनको दर दिएर अडिग रहनुपर्नेमा विज्ञापनको दर घटाएर विज्ञापन माग्ने भए। अन्ततोगत्वा यसले मिडियालाई नै हानि गरिरहेको छ। 

१४ अर्बको व्यापार केही मिडियाको कब्जामा
मैले २०४२ सालदेखि विज्ञापन एजेन्सीमा काम गरेँ। त्यतिबेला विज्ञापनको बजार अहिले जस्तो थिएन। बहुराष्ट्रिय कम्पनी त थिएन भन्दा पनि हुन्छ। बिक्रीका लागि विज्ञापनलाई आवश्यकता नै ठानिदैनथ्यो। पिआर मेनटेन गर्ने र यसो दिउँ न त भनेर दिने विषय थियो विज्ञापन। विज्ञापनलाई लगानीको हिस्सा सम्झने चलनै थिएन। जसरी सन् १९९० पछि मिडियाहरु व्यावसायिक भए, विज्ञापनको बजार पनि फस्टाउँदै गयो। विज्ञापन र मिडियाबीच अन्योन्याश्रित सम्बन्ध छ नै। 

अहिले समय फेरियो, केही उद्योगहरु नेपालमा खुले पनि। विज्ञापनलाई आफ्ना उत्पादन बिक्री गर्ने प्रमुख आधार मान्नेहरु पनि भए। विज्ञापनलाई लगानीको हिस्सा सम्झने गरेका छन् लगानीकर्ताले।

विज्ञापनको लागि ७० को दशक स्वर्णकाल रह्यो भन्दा हुन्छ। जसै लोडसेडिङ भयो, टेलिभिजनमा भने विज्ञापन कम भयो।  प्रिन्टको लागि भने राम्रो रह्यो यो दशक। 

कोरोना महामारीले अन्य क्षेत्रको बजार जस्तै विज्ञापनको बजार पनि खस्केको हो। तर बजार खराब भएको छैन। फेरि र्जुमुराउने अवस्थामा पुगेको छ। 

हाम्रोमा विज्ञापनको बजार १४ अर्ब बराबरको हो। जहाँ ४ अर्ब सरकारी विज्ञापनको छ भने २५ प्रतिशत जति बहुराष्ट्रिय कम्पनीको हो।

विज्ञापन वितरण गर्दा विज्ञापन एजेन्सीले भन्दा पनि विज्ञापनदाताले जुन मिडियालाई भन्छन् सोही मिडियालाई दिने हो। दाताले टप टेन कुन-कुन भनेको अवस्थामा बुझेर भन्नु अलग पाटो भयो। विज्ञापन वितरण गर्दा विज्ञापन एजेन्सीले मिडिया हाउसको फलोअर, सर्कुलेसन, टिआरपी हेर्छ र कस्ता समाचार जान्छन् त्योसँग मिल्ने विज्ञापन पनि दिन्छ। यदि बैंकिङ समाचार आउने छ भने बैंक सम्बन्धी त्यही मिडियामा जान्छ। बैंक सम्बन्धी मिडियामा  समाचार आउँदैन  भने विज्ञापन पनि आउँदैन। छड, सिमेन्ट हार्डवेयर सम्बन्धी सामानहरु सबैलाई चाहिने हुन्छ। त्यसकारण सबै प्रकारका मिडियामा जान्छ।  

कुन स्थानको मिडिया हो त्यही स्थानलाई हुनेगरी विज्ञापन दिने हो। गाडीको विज्ञापन हुम्ला, जुम्लामा दिइँदैन। टार्गेट बजार जहाँ छ त्यहीँ दिइन्छ। मिडिया हाउस जसको पाठक-स्रोता बढी छन्, स्वभाविक रुपमा त्यता बढी विज्ञापन जान्छ नै। 

मिडियाको प्रभाव पनि अर्को आधार हो। बिक्री बढाउने हिसाबले विज्ञापन गरिने हुँदा प्रभाव त हेर्नपर्ने नै भयो। पिआरको आधारमा दिनु अलग हो।

अहिले मिडिया यति विस्तार भएको छ कि १४ अर्बको बजार नभएर २८ अर्बको बजार हुँदा समेत विज्ञापनले कुनै पनि मिडिया धानिँदैनन्। विज्ञापनको बजार बढेन, मिडिया धेरै फैलियो।

मिडिया सन्तुलित भएको पनि देखिँदैन। सरकारी विज्ञापन आधा सरकारी सञ्चार माध्यममा जान्छन्। केही प्रतिशत पत्रकार आफैंले आफूले चिनेको मिडियालाई आफैंले झोलामा बोकेर हिँड्ने एजेन्सी मार्फत पुर्‍याउँछन्। बाँकी केही प्रतिशत टेण्डर गरेर एजेन्सीहरुलाई पर्छ, डेढ अर्ब बराबरको। त्यसकारण सरकारी विज्ञापनको विज्ञापन एजेन्सीले कमै काम गर्छन्। 

यसरी आएका विज्ञापनहरु टप टेन टेलिभिजिन, टप टेन अनलाइन, टप १५ एफएम र टप ५ पत्रिका वरिपरि १४ अर्बको विज्ञापन घुमेको छ। जो उत्कृष्ट देखिए पाठक/दर्शकमा, त्यो मिडिया टिक्न सक्यो नत्र विज्ञापनबाट टिक्न सकेको देखिँदैन। केही पिआरको आधारमा विज्ञापन पाउने अलग कुरा हो। 

जसरी लोडसेडिङले टेलिभिजनको विज्ञापनमा असर परेको थियो त्यसरी नै अनलाइनले प्रिन्ट मिडियाको विज्ञापनमा असर परेको छ। धेरै विज्ञापन अनलाइनतिर जाँदैछ। 

विज्ञापनदाता मिडियाप्रति नकारात्मक 
कम्पनी नाफामा जाँदा विज्ञापनदाताले विज्ञापन दिने हो। केही दाताले अनालाइनलाई नदिउँ, यदि दिइहालेको खण्डमा मिडिया सञ्चालकहरु अर्कोलाई दिने मलाई किन नदिने भनेर टर्चर नै दिन्छन्। टर्चरका कारण पनि विज्ञापनदाताहरु मिडियाप्रति पोजेटिभ छैनन्।

कन्टेन्ट राम्रो छ र रिच पनि धेरै छ भने मिडियाले पनि आफ्नो विज्ञापन गर्नुपर्‍यो। धेरै मिडिया भएका कारण राम्रै काम गरिरहेका मिडियाले पनि बजारीकरण गर्न नजानेर थला परिरहेका छन्। 

बढी मिडिया र कम विज्ञापनका कारण तालमेल मिलेको छैन। सीमित विज्ञापनमा लुछालुछ मात्रै भइरहेको छ। यसरी त मिडिया आफैं सिध्दिने हो नि। यसतर्फ मिडिया सञ्चालकले विचार पुर्‍याउनुपर्ने देखिन्छ। 

वास्तवमै भन्ने हो भने, अहिले आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहेका मिडिया अप्ठ्यारोमा छन्। विज्ञापनको बजार बढ्दो त छ तर व्यवस्थित हुन सकेको छैन। विज्ञापनदाता, विज्ञापन एजेन्सी, मिडिया, सरकार र उपभोक्ताबीचको कुरा हो। यहाँ समस्या छ तर एक अर्कालाई दोषरोपण मात्रै भइरहेको छ। जबकी, कमजोरी सबैको छ।

विज्ञापन एजेन्सीहरुलाई सरकारले रेगुलेट गर्न सकेको छैन। विज्ञापन बोर्ड त ल्यायो तर आवश्यक कानुन आएको छैन। आचारसंहिता पनि बन्ने क्रममै छ। त्यसपछि केही होला।

सञ्चार माध्यम आफूले राखेको मूल्यमा अडिग रहने हो। विज्ञापनको बजार विज्ञापन एजेन्सीले होइन, मिडियाले बिगारिरहेका छन्। उदाहरणको लागि मानौँ, मैले ४ लाख बराबरको विज्ञपन दिन लाग्दा ४ वटा मिडियालाई बोलाएँ भने सुरुकोले ३ लाख ५० हजारभन्दा त्यसपछिका अन्य तीन मिडियाले झनै घटाएर आफ्नो रेट भन्छन्। 

विज्ञापन दिनेले त जति कम दर भयो उतै दिने भयो  फाइदका लागि। यसरी त मिडियालाई  घाटा भयो नि। विज्ञापन एजेन्सीहरुबीच प्रतिस्पर्धा हुने ठाउँमा मिडियाबीच रेट घटाउने प्रतिस्पर्धा पो भएको छ। आफ्नो रेट, सर्कुलेसन, बजार प्रभावबारे छलफल हुनुपर्नेमा विज्ञापन दर घटाउनेतर्फ लागेको देखियो। 

अर्को उदाहरण, केही समयअघि उस्तै ज्याकेट पेजको लागि विज्ञापन फरक-फरक मिडियालाई दिँदा एउटालाई २५ लाख अर्कोलाई सोही विज्ञापन ४ लाखमा दिइयो। जबकी, विज्ञापन दर, उसको बजार भ्यालु हेर्दा १८ लाखसम्म पाउने थियो। सो मिडियाले अर्को मिडियामा विज्ञापन जान्छ भनी ४ लाखमै मानेको देखियो। मिडिया हाउसले विज्ञापन दर राखेकोभन्दा यति घट्छ कि साँधी नै हुँदैन। 

त्यस्तै, सरकारी विज्ञापनको केही एजेन्सीले केही सरकारी निकायलाई केही घुस खुवाउने जस्ता अनैतिक काम पनि भएका छन्। टेण्डर आह्वान गर्दा लो बिडमा गरिदिने। मिडिया हाउसका दरभन्दा धेरै नै कममा विज्ञापन दिने, बाँकी पैसा लिने नदेखिएको होइन। तर सबै विज्ञापन एजेन्सी सबै सरकारी निकाय जसले विज्ञापन दिन्छन् ती सबैले घुस लिन्छन् भनेको होइन। एकाध एजेन्सी र एकाध सरकारी निकाय छन् यस्ता छन्। केहीको बदमासीलाई समग्र क्षेत्र डोब्न भने मिल्दैन। 

पूर्वाग्रह राख्छन् पत्रकार 
केही अपवादलाई छाड्ने हो भने मिडिया हाउस र एड एजेन्सीको सौहार्दपूर्ण सम्बन्ध छ। दुवैले आफ्नो व्यावसायिक धर्म पूरा गरेकै देखिन्छ। दिने र लिनेबीचको स्वभाविक टसल-मसल बाहेक उस्तो भएको देखिँदैन। 

विज्ञापन लगातार नआउँदा मिडियाहरुले अनैतिक कामहरु गरेको पाइन्छ। आफ्नोमा विज्ञापन आएन भने पूर्वाग्रह राखेर लेखेको देखिन्छ। विज्ञापन नदिँदासम्म बेस्सरी खेदो खन्ने अनि विज्ञापन दिएको भोलिपल्ट पूजा गरेर लेख्ने चलन छ। यो त पत्रकारको पूर्वाग्रह भयो नि। पत्रकारिताको धर्म विपरीत भयो नि।

उदाहरणका लागि, एक पत्रिकाले एउटा गाडीबारे यति नराम्रो लेख्यो कि, त्यो गाडी केही नै काम छैन भने जसरी लेख्यो। जब भोलिपल्ट विज्ञापन आयो तब प्रशंसा गरेर लेख्यो। यसरी त मिडिया आफ्नै कमजोरी देखिएन र? विज्ञापन दिएकै आधारमा समाचार ब्लक गर्न पाइन्छ? जसको आलोचना गरिन्छ त्यसको पनि भर्सन लिएर सन्तुलित पत्रकारिता गर्नुपर्ने होइन? पूर्वाग्रहपूर्वक विज्ञापनदाताको भनाइ नराख्ने हो भने त सैह्य हुने कुरै आउँदैन नि।

यसमा पनि बुझ्नु पर्ने कुरा के हो भने, सबै पत्रकार र सबै मिडियाले यस्तो कार्य गर्छन् भनेको होइन। अझै पनि यस्ता कार्य गर्ने छन्, निमिट्यान्न हुन जरुरी छ भन्ने मेरो आसय हो।

विज्ञापन एजेन्सी बिचौलिया जस्ता भए
विज्ञापन एजेन्सीका पनि कमी-कमजोरी नभएको होइन। मिडियाले दिएको स्पेसलाई दुरुपयोग गरेर म्यानुपुलेट गर्ने काम भइरहेको छ।

विज्ञापन भनेको सिर्जनात्मक प्रतिस्पर्धा पनि हो। तर विज्ञापन एजेन्सीबीच सिर्जनात्मक प्रतिस्पर्धा हुन सकेको देखिँदैन। विज्ञापन एजेन्सीले धेरै नै डिस्काउण्ट खोजेर मिडियालाई अफ्ठ्यारोमा पारेका छन्। जसका कारण विज्ञापन एजेन्सी बिचौलिया र दलाल जस्ता देखिएका छन्। मिडियाले पनि एजेन्सीहरुलाई अनइथिकल काम गर्ने मौका दिए। 

सञ्चार माध्यमले एजेन्सीलाई जति डिस्काण्ट दिइरहेका छन्, त्यो चाहिनेभन्दा बढी छ। यस्तो भारी डिस्काउन्ट नदिन म आग्रह गर्छु।

विज्ञापन लगातार नआउँदा मिडियाहरुले अनैतिक कामहरु गरेको पाइन्छ। आफ्नोमा विज्ञापन आएन भने पूर्वाग्रह राखेर लेखेको देखिन्छ। विज्ञापन नदिँदासम्म बेस्सरी खेदो खन्ने अनि विज्ञापन दिएको भोलिपल्ट पूजा गरेर लेख्ने चलन छ। यो त पत्रकारको पूर्वाग्रह भयो नि। पत्रकारिताको धर्म विपरीत भयो नि।

सुनिन्छ, कर्पोरेट हाउसले मिडियालाई हस्तक्षेप गरे। यो झुट हो। कर्पोरेट हाउसको मिडिया हाउसप्रति उस्तो लगाव देखिँदैन। किनभने, मिडिया धेरै पैसा आउने ठाउँ होइन। यो सेवा क्षेत्र जस्तै हो। धेरै पैसा खर्च हुने भाँती पुर्‍याएर काम गर्दा केही फाइदा मात्रै हुने हो। सिमेन्ट उद्योग खोल्दा ब्राण्ड बनाउन मिहिनेत गरेपछि फाइदा भइराख्छ। दिनहुँको कामले मिडिया कस्तो हो परीक्षण भइरहेको हुन्छ। 

मिडियाका लगानीकर्ताहरु आफैं कर्पोरेट हाउससँग झुत्ति खेल्न जाने अनि कर्पोरेट हाउसले हस्तक्षेप गरे भन्न मिल्दैन। केही कर्पोरेट हाउसले आफ्नो स्वार्थ नमिल्दा मिडिया प्रयोग गरेर नलोभ्याएको होइन। तर मिडिया हाउस इथिक्समा बसेको अवस्थामा त कर्पोरेट हाउसले हस्तक्षेप गर्ने भन्ने नै हुँदैन।

केही नेपाली मिडियामा समाचारको कार्टेलिङ भएको देखिन्छ। आफूलाई दिनहुँ विज्ञापन दिनेको आलोचनात्मक समाचार छाप्दैनन्। त्यो समाचार अर्को मिडियाले छाप्छ, इगो पनि देखिन्छ मिडियामा।

अर्को, सम्पादक आफैं विज्ञापन माग्न हिँड्छन् भन्ने पनि सुनिन्छ। तर मलाई त्यस्तो लाग्दैन। भेटेको बेला ल है सपोर्ट गरौं भन्ने बाहेक पेसागत मर्यादा भुलेर विज्ञापन माग्ने सम्पादक छैनन्। बरु विज्ञापन नबुझिदिनाले विज्ञापनदाताको नजरमा नराम्रो भएका भने छन्। 

मिडियाले विज्ञापनलाई विशुद्ध आम्दानीको बाटो सम्झिने, सन्तुलित समाचार लेख्ने र विज्ञापनदाताले पनि आफ्नो पनि भनाइ राखेको छ भनेर बुझ्ने हो भने मिडिया र विज्ञापनदाताको सम्बन्ध सन्तुलित नै हुन्छ। 

(गोसाईंकुण्ड विज्ञापन एजेन्सीमा केही समय काम गरेका धिताल मिडिया हबका कार्यकारी निर्देशक एवं नेपाल विज्ञापन संघका अध्यक्ष हुन्। धितालसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।) 

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सिल्क उद्यमी जानकी जो व्यवसायमा जमिन्, राजनीतिमा डुबिन्

रेशमका कपडा उत्पादन, डिजाइनिङ र व्यापारमा संलग्न जानकीले गोसाई भेन्चर र किम्बु द शेरी वर्ल्ड कम्पनी सञ्चालन गरेकी छिन्। किम्बु द शेरी वर्ल्ड कम्पनीले नेपालमा....

कान्तिपुर गाथा : कान्तिपुर पक्कै गरिब शहर होइन 

अदृश्य भावीको स्वागतमा सुत्केरी बस्ने कोठामा रातभर बत्ती बालिन्छ। भावीले नवजात शिशुको ललाटमा जन्मको छैटौं दिन केही लेख्छ भन्ने यो विश्वास नेपालको समाजमा व्यापक छ।....

नेतृ अष्टलक्ष्मीको प्रसव पीडा र खुसी : छोरा-छोरीले तिमी हाम्रो आमा होइनौ, नत्र किन छाडेर हिँड्थ्यौ भनेको सम्झिँदा भक्कानो फुट्छ

यहाँ हामीले कुरा त प्रसव पीडा र खुसीको गर्छौं। तर मेरो जिन्दगीमा भने हरेक कुरा राजनीतिसँगै जोडिन पुग्छ। त्यसैले मेरो प्रसव पीडा र खुसीको साक्षी....

डा. अच्युतबिक्रमको उपचार अनुभव : फोक्सोको ८० प्रतिशत भागमा निमोनिया भएका डिआइजी खरेल भाग्यले बाँचे

कोरोना भाइरस संक्रमण भएपछि खरेललाई श्वास फेर्न असहज भएछ। त्यसपछि उनी नेपाल प्रहरी अस्पताल पुगेछन्। बेलुका अस्पताल पुगेका उनी अस्पताल भर्ना भए।  राति करिब १०....

हिजोका कुरामा विश्वम्भर प्याकुर्‍याल : नारायण गोपाल र रानी ऐश्वर्यबीच प्रेमको हल्ला सतप्रतिशत गलत

साहित्य, संगीत, कलाका पारखी प्याकुर्‍यालले विभिन्न साहित्यिक एवं अर्थतन्त्र सम्बन्धी पुस्तक लेखेका छन्। उनको ‘इन्द्रेणीको गुम्बजभित्र’, हरिभक्त कटुवालले सम्पादन गरेको ‘बान्की’ मा ‘तीन वटा घाउ’ लखुकथा  प्रकाशित....