चौथो अंग : सम्पादकलाई चिठी लेख्न समेत नसिकेका पत्रकारिताका विद्यार्थीले प्रथम श्रेणीमा स्नातक गरेका छन्

चौथो अंग : सम्पादकलाई चिठी लेख्न समेत नसिकेका पत्रकारिताका विद्यार्थीले प्रथम श्रेणीमा स्नातक गरेका छन्
तस्बिर : कृष्पा श्रेष्ठ

मैले पत्रकारिताको सुरुवात २०५६ सालतिर गरेको हुँ। सैद्धान्तिक ज्ञानभन्दा पनि प्रयोगात्मक भएपछि मात्रै पत्रकारिता पढेको हुँ मैले।

हाम्रोमा मास कम्युनिकेसनको पढाइ हुन्छ तर पत्रकारितालाई ब्रोड तरिकाले हेर्न सकिरहेका छैनौँ। पत्रकारिता पढेपछि न्युज रुममा मात्रै काम गर्ने हो भन्ने परेको देखिन्छ। मास कम्युनिकेसनको अर्थ न्युज रुममा मात्रै काम गर्नु होइन। अन्यत्र पनि फैलिनुपर्छ। 

युएनको प्रेस सल्लाहकार भएपछि मैले के थाहा पाएँ भने, त्यहाँका सिनियरहरु एकदमै प्रोफेसनल हुने रहेछन्। सुरुमा प्रेस सल्लाहकारलाई थाहा नदिई अन्तर्वार्ता दिनुपरेको छ भने अन्तर्वार्तामा बोलेका कुरा प्रेस सल्लाहकारलाई थाहा दिन्थे। जबकी, हाम्रोमा प्रेस सल्लाहकारलाई सहजकर्ता नै ठानिँदैन। 

लेखनदास होइनन् प्रेस सल्लाहकार
पत्रकारिता गरिरहेका अथवा मिडिया पढेकालाई विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्थाले प्रेस सल्लाहकारको रुपमा राख्ने गर्छन्। कतिपयको भनाइ छ, प्रेस सल्लाहकारले झन् धेरै सूचना लुकाउँछ। तर सबै यस्तै हुन्छन् भन्ने हुँदैन। ठूला-ठूला संस्थाले नियमित पत्रकार सम्मेलन गर्छन् पनि। कुनै पनि संस्थाले गरेको काम लुकाउने होइन। झन् धेरै फैलाउने हो। प्रेस सल्लाहकार लेखनदास होइनन्, सहज कर्ता हुन् भन्ने बुझ्न जरुरी छ। 

अर्को आरोप विदेशी नियोगका संस्थालाई अर्काले ‘प्रयोग’ गर्छन् भन्ने शब्द पनि प्रयोग गरेको देखिन्छ। प्रयोगभन्दा पनि साझेदारी गरेका हुन्।

सुशासनको मामिलादेखि वातावरणसम्मका विषयमा अन्तर्राष्ट्रिय संस्थाले समाचारमा लगानी गरेको हुन्छ। समाचार लेखनमा हस्तक्षेप पो नगर्ने हो, अन्तर्राष्ट्रिय फण्ड नै नलिने त होइन नि। हाम्रोमा पश्चिमा देशलाई दोष लगाइहाल्ने चलन छ। अरुलाई दोष लगाइहाल्ने होइन, आफूलाई चाहिएको कुरा सिक्ने हो हामीले। 

उदाहरणको लागि, भारत स्वतन्त्रताको आन्दोलनको क्रममा महात्मा गान्धीले मिडियाको प्रयोग गरेका थिए, नेहरुले समेत। नेहरुले त बरु घर बेच्छु, नेसनल हेराल्ड मर्न दिन्न भनेका थिए। उनीहरुले मिडियाको शक्ति बुझेका थिए। अंग्रेजहरुले नै मिडियाको शक्ति भारतमा बुझाएका थिए। नेपालमै पनि पञ्चायतकालमा मिसन पत्रकारिता गर्नेहरु थिए। 

त्यसकारण मिडिया हाउसमा विदेशीको प्रभावभन्दा पनि कर्पोरेट हाउसहरुले प्रयोग गरेको देखिन्छ। त्यसकारण मिडियाले कसको कुरा कति राख्ने भनेर फिल्टर गर्नुपर्ने हुन्छ, चाहे विदेशी संस्था हुन् चाहे स्वदेशी कर्पोरेट हाउस। पत्रकारिताको मर्म मर्न नदिने काम सम्पादकीय क्षमताको कुरा पनि हो। हाम्रोमा विदेशी संस्थाको उस्तो प्रभाव देखिँदैन। 

नेपाली पत्रकारिता फेरिएको छ 
पत्रकारिता अभ्यास उहिले जटिल र बढी चुनौतीपूर्ण थियो। धरपकड, पत्रकार पक्राउ, अपहरण (कतिपय अवस्थामा हत्यासमेत)। स्वतन्त्र प्रेस कैद गरिएको थियो। पत्रकारका निम्ति नेपाल जेलघरजस्तो थियो। सूचनामा पहुँच थिएन। दक्ष जनशक्ति समेत थिएन। पत्रकारिता पेसा जीविकोपार्जन र सुरक्षाका दृष्टिले पनि जटिल थियो। तर अहिले अवस्था फेरिएको छ। 

रिपोटर्स विथ्आउट बोडर्सको पछिल्लो रिपोर्ट हेर्ने हो भने पनि नेपालले प्रेस स्वतन्त्रताका सवालमा धेरै प्रगति गरेको छ। दक्षिण एसियाका अन्य मुलुभन्दा हामीले धेरै प्रगति गरेका छौं। पत्रकार सुरक्षाका मुद्दामा धेरै प्रगति भएको छ। पत्रकारका निम्ति सूचनाको पहुँच बढेको छ। सूचना प्रविधिले आमसञ्चार र पत्रकारिताको फाँट फराकिलो पारिदिएको छ। सातादिने तालिमदेखि विश्वविद्यालयस्तरमा अध्ययनका निम्ति अवसरहरु छन्।

पहिले अन्तर्राष्ट्रिय सञ्चारगृहमा काम गर्ने नेपालीहरु औंलामा गन्न सकिन्थ्यो। मेरो अनुमानमा अहिले नेपालीहरु झन्डै सयको हाराहारीमा विदेशी सञ्चारगृहका निम्ति काम गर्छन्।

संख्याको दृष्टिकोणले मात्र नभएर गुणस्तरको हिसाबले पनि पत्रकारिता मौलाएको देखिन्छ। अनुसन्धानमा आधारित रिपोर्ट हेर्न सकिन्छ। पूरै राम्रो छ भनेको होइन, प्रयास भएको छ भन्न खोजेको हो।

समाचार कस्तो आउँछ भन्ने कुरा मिडिया हाउसले समाचारमा कति लगानी गर्छ, त्यसमा भर पर्छ। लगानी जस्तो छ, त्यो तुलनामा समाचार राम्रो आएको छ भन्ने मलाई लागेको छ।

अहिले सामाजिक फिचरहरु, ऐतिहासिक फिचरहरु पनि पढ्न पाइएको छ। केही मिडियाले फरक ढंगले काम गरेको देखिन्छ। 

अहिले पत्रकारिता जसरी भइरहेको छ, के पत्रकारिताको शिक्षा उपयुक्त छ त? यस विषयमा भने गम्भीर छलफल गर्नुपर्ने छ। 

प्रयोगात्मक भएन पढाइ
नेपाली पत्रकारिता क्षेत्रमा प्रगति भए पनि अप्ठ्यारा र चुनौतीहरु पनि त्यत्तिकै छन्। पत्रकारिता अध्ययन गर्ने अवसरहरु छन् तर औपचारिक पत्रकारिताको पढाइ औपचारिकतामा मात्र सीमित छ। आमसञ्चार माध्यमले पत्रकारिताको पढाइ आवश्यक छ भनेर भन्न सकेका छैनन्। किनकी, पत्रकारितामा दीक्षित भएकाहरु एउटा सानो खबर लेख्ने क्षमता पनि राख्दैनन्।

पत्रकारिताको पढाइ भनेको वर्ष दिनभर सिद्धान्त पढ्ने र घोक्ने अनि तीन घन्टामा ७/८ वटा प्रश्नको उत्तर दिने अभ्यासमा मात्र सीमित छ। ५० वर्ष पुरानो मूल्यांकन र परीक्षा प्रणाली छ। विद्यार्थीलाई पढ्न र जान्नका निम्ति हैन, परीक्षा पास गर्न र प्रमाणपत्र पाउनका निम्ति मात्र पढ्नुपर्छ भन्ने सन्देश दिइरहेका छौं। 

समाचारको त कुरो नगरौं, सम्पादकलाई चिठीसमेत लेख्न नसिकेका र एक पटक पनि क्यामेरा छुन नपाएका  विद्यार्थीले प्रथम श्रेणीमा पत्रकारितामा स्नातक गरेका छन्। अब त्यो प्रमाणपत्रले समाचार लेख्ने र सम्पादन गर्ने त हैन नि। अनि त्यो प्रोडक्ट कहाँ बिक्छ?

कोर्स अफ स्टडी, पढाइ शैली (पेडागोजी), न्यूनतम पूर्वाधार (ल्याब, क्यामेर, कम्प्युटर), पर्याप्त प्रयोगात्मक अभ्यासहरु, पढाउन दक्ष जनशक्ति, (त्यसमा पनि प्राध्यापन पेसाप्रति प्रतिवद्ध), उचित मूल्यांकन प्रणाली, सञ्चार गृह र शैक्षिक प्रतिष्ठानबीच सहकार्यजस्ता यावत् सवालमा सुधार गरिनु अत्यावश्यक छ।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समस्या छ। पत्रकारिता पढ्न आएकाहरु साँच्चैको पत्रकार बन्छुभन्दा पनि पास गर्न आएको देखिन्छ। कोही-कोही खोजी गर्ने, पढ्ने पनि देखिन्छन्। प्राय:जसोलाई भने चासो नै भएको देखिँदैन। प्यासन नभई त पत्रकारिता गरिन्नँ नि।

निजी क्याम्पस पढेका कतिपयले समाज नै बुझेका हुँदैनन्। समाज बुझाउन आवश्यक छ। पुराना प्राय: पत्रकार अपग्रेड छैनन्, नयाँले समाज बुझ्दैनन्। यो स्थिति लामो रहिरहे पत्रकारिता मौलाउँदैन। त्यसकारण हाम्रो शिक्षा प्रणाली नै फेरिन आवश्यक देख्छु म। 

क्याम्पसहरुले के गर्न सक्छन् त?
विश्वविद्यालयको कोर्ष अन्तर्गत भए पनि आफैंले प्रयोगात्मक बनाउन सक्छन्। जस्तो कि, निश्चित पृष्ठको मासिक पत्रिका प्रकाशन। पत्रकारिता पढ्नेहरुलाई कलेजको मासिक खबरपत्रका निम्ति समाचार लेख्न, सम्पादन गर्न र डिजाइनसमेत सिकाउने गर्नुपर्छ। सकेसम्म अंग्रेजी-नेपाली दुवै भाषा राखिदिए राम्रो। 

त्यस्तै अर्को, मासिक मिडिया संवाद श्रृंखला राख्न सकिन्छ। मानविकी संकायका सबै विद्यार्थी लक्षित यो संवाद श्रृंखला एक जना विज्ञलाई बोलाएर एक घन्टा प्रवचन दिने हैन। योजना, अनुसन्धान, सामग्री उत्पादन, अन्तर्वार्ता, रिपोर्ट लेखनसम्मका स्टेपहरु सिकाउन सकिन्छ।

केही दिनको समाचार लेखन कार्यशाला शिक्षकहरु नभई बाह्य विज्ञहरु बोलाएर प्रयोगात्मक खबर लेखन  गोष्ठी गर्दा प्रभावकारी देखिन्छ। सातामा दुई दिन दुई सेसन क्यामेरा ह्याण्डिल, फोटोग्राफी रुरल इमर्सन कोर्षअन्तर्गत विद्यार्थीहरुलाई सात दिनका निम्ति  गाउँ लगे अझ राम्रो। पत्रकारिताका विद्यार्थीहरु अन्य संस्थाहरुले आयोजना गरेका गोष्ठीहरुमा सहभागी हुने र क्याम्पसले निकाल्ने पत्रिकामा उपयुक्त लागे लेख्न सिकाउन सकिन्छ। 

क्याम्पसले यतिगरे भने शिक्षा त केही न केही त अवश्य सुध्रिन्छ। सँगै विश्वविद्यालयले पनि परीक्षा प्रणाली र पाठ्यक्रम नै परिर्वतन गर्न जरुरी छ। इन्टरडिसिप्लनरी आजको आवश्यकता हो। विषयगत दक्ष पत्रकार बनाउनु आजको आवश्यकता हो नकि समाचार लेख्न तालिम दिने पढाइ मात्र। 

(सेन्ट जेभियर्स कलेजमा आमसञ्चार तथा पत्रकारिताको प्राध्यापनमा संलग्न गुरुङ विगतमा राजनधानी दैनिकमा कार्यरत थिए। नेपाली र अंग्रेजी दुवै भाषामा लेख्ने उनले संयुक्त राष्ट्रसंघीय निकायहरुमा सूचना अधिकारी र सञ्चार विज्ञको रुपमा काम गरेका छन्। उनै गुरुङसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

२४ जेठ, २०७९, १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।